Monday, April 14, 2014

माओवादी एकीकरणको सवाल ः एक समीक्षा - किरण कर्ण



किरण कर्ण

एकीकृत नेकपा माओवादीको विभाजन हुनुको कारक तत्व प्रष्ट भइसकेको छ । यस बोरे त्यति धेरै चियोचर्चा गरिरहनु पर्ने देखिदैन । तर अचेल राजनीतिक दल र बजारमा विशेष चर्चाको विषय नै दुई माओवादीको एकीकरणको हुँदो रैछ । माओवादीको एकीकरणको चर्चाले राजनीतिक क्षेत्रमा समेत नयाँ नौलो तरंग अवश्य नै ल्याएको स्वतः र सहज अनुमान गर्नमा खासै गाह्रो हुदैन । अहिले पनि एकथरीले पार्टी फुटको औचित्य खोजिरहेका छन् भने अधिकांश नेता,कार्यकर्ता र जनता पार्टी एकीकरणको पक्षमा नै देखिएको छ । तर एकीकरण केका लागि भन्ने प्रश्न पनि यसैसंग टड्कारो रुपमा आउने गरेको छ । 
खासगरी एकीकृत नेकपा माओवादी र नेकपा माओवादी वीच भएको दुई बुँदे सहमती भए संगै यस प्रकारले नेपाली राजनीतिले कोल्टे फेरेको छ । त्यसैले पनि अधिकांश हल्ला दुई माओवादीको एकीकरण सम्बन्धमा यत्रतत्र अनेकन टिकाटिप्पणी भएको र हुने गरेको पाइन्छ । जबकी यी दुवै माओवादीले एक अर्काको अस्तित्व र औचित्य पुष्टिको सवालमा प्रश्नहरु एठाउने क्रम जारी नै रहेको छ । पार्टी एकीकरण प्रति एकीकृत माओवादी केही हद सम्म लचिलो जस्तो देखिएको छ । 
अहिले एकीकृत माओवादी कथित दोश्रो संविधानसभाको निर्वाचनमा भएको पराजयसंगै पार्टी एकताको पक्षमा रहेको जस्तो देखिएको छ । तर यी दुवै नेतृत्वदायीमा रहेका माओवादीहरु मध्ये एक पार्टी भावनात्मक रुपमा एकीकरण हुन चाहिरेका छैनन् । विचार,सिद्धान्त र जनयुद्धको उद्देश्य र पथमै रही पार्टी एकीकरणको पक्षमा रहेको कुरा प्रष्ट भइसकेकोे छ । त्यसैले होला माओवादीहरुले विभिन्न ठाउँमा पार्टी एकीकरणको सवालमा  भावनात्मक मात्रै नभएर सैद्धान्तिक तथा वैचारिक रुपमै एकीकरण चाहेको कुरा बाहिर आइरहेको छ । जसका कारणले माओवादीले वैचारिक तटस्थतालाई नै पार्टी एकीकरणको प्राथमिकताको आधार बनाएको छ । हुन त यी दुई माओवादी नजदिक हुनुमा राज्यले माओवादी कार्यकर्तालाई जथाभावी धरपकड र झुठा मुद्दा लगाई फसाउने कार्यलाई अगाडी बढाएको हुदाँ नै दुई बुँदे समहती मार्फत कार्यगत एकता सम्भव भएको हो । तर यतिले मात्रै भने काफी होइन, दुई माओवादी नजदिक हुनुमा ।
वैचारिक र सैद्धान्तिक विचलन एमाओवादीमा आएको हुनाले नै बाध्यतावश मोहन वैद्य किरणको नेतृत्वमा पार्टी विभाजन भएको हो । पार्टी विभाजनले एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हौसिएका नै थिए । पार्टी विभाजन पश्चात बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल सरकारले त्यतिबेला निर्वाचनमा अवरोध पुर्याउने हुन् भन्दै एमाओवादीले र नेपाल सरकारले संयुक्तरुपमै माओवादी विरुद्ध गम्भिर रुपमा नेपाली सेना, नेपाल प्रहरी लगायत अनुसन्धान विभागले आफ्नो बलको भरपुर प्रयोग गरे । माओवादी विरुद्धमा । त्यतिबेला पनि बाबुराम सरकारको नेतृत्वमा थुप्रैलाई धरपकड गरेकै हो । एक हिसाबले माओवादी विरुद्ध जसरी एमाओवादीको सरकारले नियोजित धरपकडको शिलशीला चलाएको थियो । त्यो वि.स.०५२ सालको पुनरावृत्ति जस्तै थियो । तर पनि माओवादी एकरत्ती पनि तलमाथि नभई विघठीत भएको संविधानसभाकै पक्षमा लागि रह्यो । जनताको अधिकारको लागि अग्रसर नै रहि रह्यो । एमाओवादीले यो कुरा बुझेर पनि अबुझ भएकै हो । सो अबुझ हुनुको कारण डलरवादीहरुको डिजाइनको शिकार हुनु नै हो । एमाओवादीलाई विस्तारवादी र साम्राज्यवादीहरुले प्रयोग गरेकै हो । 
जसको परिणाम जब कथित दोश्रो संविधानसभाको निर्वाचनको परिणाम सार्वजनिक हुन थाल्यो त्यतिबेला नै एमाओवादीले थाहा पाउनु स्वाभिकै हो । संजोगवश मुख्य नाइकेकै अगुवाई गरेका प्रचण्ड यसरी कहिल्यै पनि अर्काको डिजाइनमा फसेका थिएनन् । तर उनले भारत र अमेरिका सहितका र डलरवादी दातृ निकायकाहरुको मिसन नबुझेर नै यस्तो परिणाम आउदा मात्रै आफ्नो समीक्षामा असफल भएको भनेर पनि भन्न सक्ने अवस्था एमाओवादी सामु रहेको छैन । यसको कारण एमाओवादीको नेतृत्वमाथि प्रश्न चिन्ह लगाएर आफ्नो अस्तित्व समाप्त पार्न चाहेका छैनन्, प्रचण्डले । उक्त निर्वाचनमा अकल्पनीय परिणाम आयो अनि मात्र आफ्नो यथार्थ धरातलमा आउन बाध्य भएकै हुन्, प्रचण्ड । त्यसैले अचेल एकीकरण र कार्यगत एकताका लागि घरी कामरेड किरण र कामरेड मातृका यादवसंग विभिन्न चरणमा छलफल, वार्ता र संवादहरु निरन्तर रुपमा जारी नै रहेको छ । तर अहिले सम्म पनि प्रचण्ड माथिको अविश्वासकै कारणले न त कामरेड मातृका न त कामरेड किरणले नै उनीमाथि विश्वास गर्न सकेका छैनन् । किनभने जसरी प्रचण्डले जनयुद्ध समापनको घोषणा गरेर नेता तथा कार्यकर्ताहरुलाई अलमलमा र विभिन्न खाले षड्यन्त्र तथा भ्रममा राखि रहे । त्यसले गर्दा उनी माथि विश्वास नहुनु स्वाभाविकै हो । अहिले प्रचण्ड र बाबुरामहरुले पार्टी विभाजनसंगै औचित्यको पुष्टिको कुरा जोडतोडले उठाएकै हुन् । अहिले सायद यो जवाफ उनी रहेको नेतृत्ववाला पार्टी माथि नै प्रश्न लागेको छ । 
प्रचण्ड अध्यक्ष रहेको पार्टी एमाओवादीलाई जनताले र उही पार्टी भित्र रहेको अधिकांश नेता तथा कार्यकर्ताहरुले एमाओवादी एमालेको सिक्वेल पार्टीको रुपमा लिई रहेको छ । जसले गर्दा प्रचण्ड अहिले आफ्नो अस्तित्व र नेतृत्व बचाउनमै हम्मेहम्मे परेको छ । अहिले पनि एमाओवादीले पार्टी विभाजन केका लागि भयो र किन फुट्यो भन्ने प्रश्नको जवाफ मात्रै होइन बरु कथित संविधानसभाको निर्वाचनमा किन पराजय भयो भन्ने कुराको समीक्षा गर्न समेत डराएकै हो । भन्ने कुराको पुष्टि एमाओवादीको व्यवहारले पुष्टि गरीरहेको छ । एमाओवादीलाई किन भारी परिरहेको छ विभाजित भएका माओवादीहरु यो पनि एउटा अह्म् प्रश्न नै हो । तर यता तिर नजाउ समय सापेक्षता संगै यी प्रश्नहरुको जवाफ स्वयम् प्रचण्ड र एमाओवादीले दिने नै छन् । अहिले मुख्य चुरो भनेको आखिरमा कामरेडद्वय किरण र मातृकाले एमाओवादीसंग वा प्रचण्डसंगको एकीकरण नै रहेको छ । निर्वाचनको परिणाम र वर्तमान कांग्रेसी सरकारले पनि एमाओवादी सरकारले माओवादीलाई गिरफ्तार गर्न विभिन्न योजनाहरु बनाएका थिए । त्यसैलाई कांग्रेसी सरकारले पनि यसैलाई निरन्तरता दिएकाले उक्त अभियान हाल एमाओवादी पार्टीलाई पनि घाँडो बनेकाले पनि एमाओवादी र माओवादीहरु लगायतका माओवादीहरु अहिले एक ठाउँमा बाध्य भएर आउनु परेको पनि तथ्य सत्य नै हो ।
पार्टी एकीकरणको मुद्दामा एमाओवादी भन्दा पनि माओवादीहरु प्रष्ट रहेको पाइन्छ । त्यसैले माओवादीका नेताहरु पालुंगटारको विस्तारित वैठकले निर्णय गरेका जनयुद्धको जगामा जनविद्रोह आधार तय गर्नु नै उचित हो भन्दै एमाओवादीले सच्चिएर आएमा एकीकरण अवश्य हुने भनी रहेका छन् । हुन त एमाओवादी अहिले यति धुर्त र चतुर चलाख आफुलाई सम्झिदैन भनेर भन्नु अलिक हतार नै हुने छन् । त्यसैले यदी वास्तविक रुपमा एमाओवादी एकीकरणको पक्षमा रहेको छ भने पार्टीको समीक्षा र शुद्धिकरण अति आवश्यक सब भन्दा बढी एमाओवादीलाई नै रहेको छ । वैचारिक र सैद्धान्तिक धरातलमा उभिनु नै एमाओवादीको हितमा हुने छ भने आफ्नो अस्तित्वलाई समेत रक्षा गर्न सक्ने छ । त्यसको लागि एमाओवादीले हेटौडा महाधिवेशनको कार्यदिशा नै गलत रहेको सावित एमाओवादीकै नेतृत्वमा भएको कथित संविधानसभाको निर्वाचनले नै गरि सकेका छन् । 
तसर्थ एमाओवादीसंग आफ्नो अस्तित्व र औचित्य रक्षार्थका निम्ती पनि सच्चिएर आउनु नै बेस हुने छन् ।
यता आम नेपाली जनता, कार्यकर्ता तथा नेताहरु पनि पार्टी एकीकरणकै पक्षमा देखिएका छन् । सोको लागि एक पटक फेरी पनि माओवादी पुच्छर भएका पार्टीहरुले एक पटक फेरी पनि नौलो जनवादी क्रान्तिका लागि धु्रवीकरण आवश्यक देखिएको छ । सोको थालनीका लागि एमाओवादीले आफुलाई पुर्णरुपेण सुधार         मात्रै होइन बरु क्रान्तिकारी आँचरण र क्रान्तिकारी लाइन समात्नु जरुरी देखिएको छ ।
अबको क्रान्तिकारी कम्युनिष्टहरुको धु्रवीकरण र एकीकरणका निम्ती कार्यगत एकता मार्फत नै सम्भव रहेको भन्ने कुराको पुष्टि हुदै गएको छ । तसर्थ जनयुद्धलाई धरापमा पार्ने नेतागणहरुले आत्मलोचना गर्नै पर्ने देखिनछ । अनि मात्र क्रान्तिकारीहरुको धु्रवीकरण र एकीकरण सम्भव रहेको जस्तो मलाई लागेको छ । अस्तु


२०७० चैत्र ३० गते आईतबार

No comments:

Post a Comment