Monday, April 14, 2014

जनकपुरमा अनियमित विद्युत आपुर्ति समस्या तत्काल समाधान नहुने

नेपाल विद्युत प्राधिकरण, जनकपुर वितरण केन्द्रको कार्यालय ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुरमा प्राधिकरणको जिर्ण संरचना, ट्रान्सफर्मर र मिटर अभाव, माग गरिएको क्षमता भन्दा अपुग ट्रान्सफर्मर र प्राधिकरणद्वारा हुने विभिन्न क्रियाकलापमा भ्रष्टाचार, अनियमितता र लापरवाहीसँगै विद्युत उपभोक्ताद्वारा हुने विद्युत चोरी जस्ता चुहावटका कारण विद्युत आपुर्तिमा अनियमितता हुने गरेको छ ।

जनकपुरमा विद्युत आपुर्तिमा हुने गरेको अनियमितता तत्काल समाधान हुने कुनै छाँटकाँट देखिएको छैन । ढल्केवर स्थित पावर ट्रान्सफर्मरको क्षमता जबसम्म ३० एमभीए हुँदैन तबसम्म जनकपुरमा विद्युत आपुर्तिको अनियमितता र भोल्टेज समस्या रहिरहने जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्रका इन्जिनियर जितेन्द्र यादवले द एक्सक्लुसिभसँगको कुराकानीमा बताएका छन् ।
विगतमा ढल्केवरमा ३० एमभीए क्षमता रहेको पावर टूान्सफर्मर जडान गरिएको थियो तर पछिल्लो समयमा उक्त ट्रान्सफर्मरको क्षमता क्रमिक रुपले कटौति हुँदै गएपछि जनकपुरमा विद्युत आपुर्तिमा समस्या भएको हो । उक्त टूान्सफर्मरको क्षमता कटौती हुँदै २० एमभीए र हाल क्षण कटौती भएर १२.५ एमभीए मात्र रहेका कारण विद्युत क्षमतामा कटौती भएको यादवको भनाई छ । अहिले एकातर्फ ट्रान्सफर्मरको क्षमतामा कटौती भयो र अर्को तर्फ विद्युत आपुर्ति गर्ने ग्राहकहरुको संख्यामा पनि उल्लेखनीय वृद्धि भएका कारण विद्युत आपुर्तिमा झनै समस्या वढेको यादवको तर्क छ । जनकपुर वितरण केन्द्र मातहत अहिले करिब ६४ हजार जति ग्राहक रहेका छन जसमध्ये जनकपुर नगरपालिका भित्र मात्र ३० हजारको हाराहारीमा ग्राहक रहेका छन् ।
यसअघि उर्जामन्त्रि भएका बेला उमाकान्त झाले २० एमभीएको ट्रान्सफर्मर खोल्न लगाई मर्मतका लागि पठाइसकेको बताएका थिए । तर, हालसम्म उक्त ट्रान्सफर्मरको के भयो भन्ने खोजखबर पनि छैन । कम क्षमता रहेको ट्रान्सफर्मरमा लोड वढन थालेपछि केवल भाइव्रेट हुन्छ र ट्रान्सफर्मर तातिन्छ । त्यसकारण सप्लाईमा कमी गर्नूपर्दछ र विद्युत आपुर्तिमा कटौती हुन जाने कारण भोल्टेज लो हुने गरेको इन्जिनियर यादवले बताए ।
ट्रान्सफर्मरको अभाव
धनुषा जिल्लामा ट्रान्सफर्मरको अभावका कारण पनि विद्युतको भोल्टेज समस्या देखिएको छ । धनुषामा कुल ३ सय ५ वटा टूान्सफर्मर जडान भएका छन् जसमध्ये १ सय ४० वटा ट्रान्सफर्मरहरु जनकपुर नगरपालिका भित्र जडान भएका छन् । जनकपुर वितरण केन्द्रका अनुसार ५ सय केभीएको एउटा मात्र ट्रान्सफर्मर जनकपुरको शिव चौकमा, २ सय केभीएको ट्रान्सफर्मर १ सय २ वटा, १ सय केभीएको टूान्सफर्मर ७५ वटा नगरपालिका भित्र र २० वटा जिल्लाका अन्य गाउँहरुमा, ५० केभीएको १ सय ८ वटा ट्रान्सफर्मर नगरपालिका बाहेक र नगरपालिका भित्र ३ वटा ट्रान्सफर्मर, १५ केभीएका ट्रान्सफर्मर ३ वटा जिल्लामा जडान भएका छन् । 
जनकपुर नगरपालिका भित्र मात्रै २ सय केभीएको ३ वटा ट्रान्सफर्मर आवश्यक रहेकोमा एउटा मात्र नगरपालिकामा जडान भएको छ । त्यसैगरी ११ सय केभीएको ५ वटा ट्रान्सफर्मर आवश्यक रहेकोमा नगरपालिका भित्र एउटा पनि जडान भएको छैन । त्यसैगरी ५० केभीएको ५ वटा आवश्यक रहेकोमा ३ वटा मात्र र २५ केभीएको २ वटा ट्रान्सफर्मर आवश्यक रहेकोमा एउटा ट्रान्सफर्मर मात्र जडान भएका छन् । यसरी आवश्यक रहेका ट्रान्सफर्मर प्राधिकरणले आपुर्ति गर्न नसकेरपनि विद्युत आपुर्तिमा समस्या भएको हो । यादवका अनुसार ट्रान्सफर्मर मागका लागि केन्द्रलाई पटक पटक पत्राचार गरिसकिएको भएपनि केन्द्रले ट्रान्सफर्मर पठाइदिने आश्वासन मात्र दिने गरेको छ ।
ट्रान्सफर्मर जडानमा अनियमितता
एसियाली विकास बैंकको परियोजना अन्तरगत जनकपुरमा विद्युत प्रणाली सुदृढिकरण कार्यका लागि टेन्डर पाएका जय माँ दुर्गे कन्सट्रक्सन कम्पनीले करार गरे अनुसार धनुषा जिल्लामा २२ वटा ट्रान्सफर्मर जडान गर्नुपर्ने थियो । तर, उक्त कम्पनीका संचालक प्रकाश लुइटेल १२ वटा ट्रान्सफर्मर मात्र जडान गरी फर्केका छन् । यसका अतिरिक्त ट्रान्सफर्मर लगाई केवल तानेर चार्ज गर्ने, पुरानो तार हटाएर नयाँ तार जडान गर्नूपर्ने लगायतका काम पनि उक्त ठेकेदारले नगरेपछि जनकपुरमा विद्युत आपुर्तिको समस्या यथावतै रहेको छ । उक्त कम्पनीले जडान गरेका ट्रान्सफर्मरको क्वालिटी पनि कमसल रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि विद्युत प्राधिकरणको केन्द्रिय प्रमुख नवराज ओझाले तीन साता अघि कपिलेश्वरमा जडान गरिएको ट्रान्सफर्मर क्वालिटी चेकका लागि झिकेर लगेका छन् ।
विगतका समयमा टूान्सफर्मरको खरिदमा भएको अनियमितता विरुद्ध अख्तियारमा मुद्दा परेपछि नयाँ ट्रान्सफर्मर खरिद नै नभएका कारण देशैभरी ट्रान्सफर्मरको अभाव रहेको इन्जिनियर यादवले बताएका छन् । एसबिआर, एसएकेइ, हुवई सनलाइट, डङफङ लगायतका कम्पनीहरु विरुद्ध मुद्दा परेको र ती कम्पनीहरुले फेरी नयाँ ट्रान्सफर्मर दिने कुरा समेत भइरहेका कारण नयाँ ट्रान्सफर्मर नकिनिएको यादवले बताए । तर, उक्त मुद्दा सम्बन्धि हालसम्म फैसला नै नभएका कारण ट्रान्सफर्मर सम्बन्धि अन्यौल कायमै छ ।
लोडसेडिङ बाहेकको समयमा पनि विद्युत कटौती जनकपुरमा लोडसेडिङका लागि निर्धारित गरिएको समय भन्दा बाहेक पनि जनकपुर प्राधिकरणले विद्युत आपुर्तिमा कटौती गर्नाले सेवा ग्राहीहरु थप मर्कामा पर्ने गरेका छन् । गर्मी वढन लाग्दा विद्युत नहुने गरेपछि मान्छेको जनजिवनमा समेत प्रतिकुल असर पर्न थालेको छ । प्राधिकरणका अधिकारीहरुका अनुसार सिस्टम फेल भएपछि काठमाण्डौबाट विभिन्न सवस्टेशनहरु हेटौडा, चन्द्रनिगाहपुर, ढल्केवर हुँदै जनकपुरसम्म विद्युत आपुर्ति गर्दा केही समय लाग्ने भएका कारण पनि विद्युत कटौती हुने गरेको छ । लोडसेडिङका समय बाहेक आउने लाइनमा सबै ग्राहकहरुले एकैसाथ मोटर चलाउने, पंखा चलाउने, इन्र्भटर चार्ज गर्ने हुनाले विद्युतको भार कम हुन गई लो भोल्टेज हुने गरेको छ । यसका अतिरिक्त कुनै ट्रान्सफर्मर जल्यो भने त्यसको मर्मत गर्न कम्तीमा दुई देखि तीन दिनसम्म लाग्ने र त्यहाँको ग्राहकहरुको लाइन अर्को लाइनको ट्रान्सफर्मरमा जडान गर्दा अभर लोडका कारण अर्को ट्रान्सफर्मर पनि जल्ने गरेको छ । कहि कतै आगलगि भयो भने तत्काल मेन लाइन नै बन्द गर्नुपर्ने हुनाले समेत लोडसेडिङ बाहेक विद्युत कटौती हुने गरेको यादवले बताए ।
विद्युत चुहावटका कारण पनि विद्युत कटौती
जनकपुर नगरपालिका भित्र र गाउँहरुमा खुलेआम हुकिङ गरेर विद्युत चारी गरि विद्युत आपुर्ति गर्ने क्रम नरोकिएकाले पनि यहाँ विद्युत चुहावट वढ्दै गएको छ । जनकपुर नगरपालिका भित्र गुठीको जग्गामा अनधिकृत रुपले घर बनाएकाहरुले विद्युत कार्यालयबाट मिटर नपाएपनि विद्युत हुकिङ गरेर विद्युत चोरी गर्ने गरेका छन् । यसका अतिरिक्त गाउँमा समेत विद्युत चोरी गर्नेहरुको संख्या दिन प्रति दिन वढ्दै गएको छ । उक्त चुहावट नियन्त्रण गर्न विगतका समयमा राजीव सिंह कार्यालय प्रमुख हुँदा छापामारी गरेर विद्युत चोर्नेलाई कानुनको दायरामा ल्याउन अभियान नै चलाएको थियो । विद्युतको महसुल लाखौं रुपैयाँ एक एक ग्राहकले तिर्न बाँकी रहेको अवस्थामा लाइन काटेर राजश्व पनि वढाएका थिए । तर, त्यस्तो कार्य हाल भएको देखिँदैन । इन्जिनियर यादवका अनुसार गाउँहरुमा छापामारी गर्न गयो भने मिटर लिन उपभोक्ताहरुको चाप कार्यालयमा वढ्ने र मिटर माग भएपनि हामीहरुसँग नयाँ मिटर नभएको अवस्थामा दिनै नसकिने भएका कारण पनि हामीले विद्युत चुहावट नियन्त्रणका लागि अभियान चलाउन सकेका छैनौं । 
विगत ४ महिना देखि सिन्गल फेज मिटरको अभाव रहेको भन्दै यादवले यस अघि नै करिब ३ सय ग्राहकले मिटर किन्नका लागि अग्रिम पैसा बुझाइसकेका छन् तर मिटर उपलब्ध नभएका कारण दिन नसकेको बताए । उनका अनुसार साउन महिनासम्म नयाँ मिटर आउने कुनै छाँटकाँट छैन ।
भोल्टेल सुधारका लागि बार्षिक ३० देखि ४० लाख रुपैयाँ बजेटको निकासा हुने गर्दछ । जसमध्ये यस आर्थिक वर्षमा रु. ३ देखि ४ लाख सम्मको मात्र काम भएको इन्जिनियर यादव बताउँछन् । 
स्रोतका अनुसार मरम्मत तथा सम्भारका लागि आउने रकम काममा खर्चनै नगरी कागजमा काम गरेको देखाएर अधिकारीहरुले पुराका पुरा रकम भ्रष्टाचार गर्ने गरेको छ । उक्त रकमको पनि इमान्दारी पुर्वक सदुपयोग गरिदिएको भए जनकपुरमा विद्युत आपुर्तिमा हुने गरेको अनियमिततामा केही राहत भने अवश्य नै हुने थियो ।


२०७० चैत्र ३० गते आईतबार

No comments:

Post a Comment