Monday, April 14, 2014

फरार सभाषद साहलाई पक्राउ गर्न अदालतद्वारा पक्राउ पुर्जि जारी


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

अदालतमा मुकेश चौधरीको बयान
संजय साह भुमिगत पार्टी तराई जनतान्त्रिक पार्टी मधेसका वरिष्ठ सल्लाहकार 
संजय साहको प्रस्तावमा जनकपुर बम काण्ड गराइएको हो । संजय साह आफै आएर मेरो पार्टीलाई रु.५ लाख सहयोग गरेको थियो । जिवनाथ चौधरीले पनि पार्टीलाई पटक पटक चन्दा सहयोग गरेको हो । जिवनाथ चौधरीलाई हत्या गराउनका लागि मात्रै बम काण्ड गराइएको होइन ।
प्रहरी समक्ष मुकेश चौधरीको बयान 
संजय साहको निर्देशन बमोजिम जिवनाथ चौधरीलाई हत्या गर्ने उद्देश्यले जनकपुर बम काण्ड गराइएको हो । ५० लाखमा बम काण्डको डील भएको थियो, भारु ५ लाख पेश्की पाएको थिएँ तर जीवनाथ चौधरीको हत्या नभएका कारण बाँकी रकम पनि साहले दिएनन् ।

धनुषा जिल्ला अदालतले फरार रहेका धनुषा क्षेत्र नम्बर ४ का सभासद तथा पुर्व राज्य मन्त्रि संजय कुमार साहलाई  २८ चैत्रमा पक्राउ पुर्जि जारि गरेको छ ।  जनकपुर बम बिस्फोट घटना सम्बनधमा जिल्ला सरकारी वकिलले अदालतमा दर्ता गराएको पुरक अभियोगपत्र माथि भएको बहस पछि धनुषा लोहना ७ तथा हाल जनकपुर नगरपालिका २ बस्ने ३६ वर्षिय सभासद साह लगायत ४ जना माथि ७ दिने पक्राउ पुर्जि र ७० दिने हाजिर हुने म्यादी पुर्जि जारि भएको सरकारी वकीलको कार्यालयले जनाएको छ । 
न्यायाधिश कैलास केसीको ईजलासले सबुत प्रमाण र बहस पैरबीको आधारमा २७ चैत्रमा अर्जनु सिंह भनिने मुकेश चौधरी र ओमप्रकास यादबलाई पुर्पक्षका लागि थुनामा राख्ने र सभासद साह लगायत सप्तरी भारदह(७ का ४० वर्षिय राजन प्रताप प्रफुल्ल भनिने फुल कुमार बटखेर यादब, रौतहट भुमखेल ६ का ४५ वर्षिय नांगराज भनिने उमेश तिवारी र महोत्तरी पिपरा ५ का ३० वर्षिय सुजित कुमार पाण्डे माथि पक्राउ पुर्जि जारि गर्ने आदेश दिएको हो । सरकारी वकिलको कार्यालयका अनुसार  २०६९ साल बैसाख १८ गते जनकपुरको रामानन्दचोकमा ५ जनाको ज्यान जाने गरि भएको बम बिस्फोट घटनामा संलग्न रहेको अभियोगमा अहिले सम्म ६ जना पुर्पक्षको लागि थुनामा रहेका छन भने मुख्य योजनाकार सभासद साह लगायत ७ जना अझै फरार रहेका छन् । सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार जनकपुर बम काण्डको मुल अभियोग पत्र २९ जेठ २०६९ मा अदालतमा दायर भएको थियो । उक्त अभियोग पत्रमा ८ जना प्रतिवादीहरु थिए जसमध्ये ४ जना पक्राउ परेका थिए भने ४ जना फरार रहेका थिए । फरार रहेका मुकेश चौधरी पक्राउ परेपछि फेरी सानो पार्ट छुट्यो भनेर पहिलेको मुद्दामा असर नपरिकन अरु मान्छेको संलग्नता देखियो । पाठकका अनुसार मुकेश चौधरीसँगको बयान र थप अनुसन्धान गर्दै जाँदा अरु ५ जना मान्छेलाई प्रतिवादी देखिएपछि पुरक अभियोग पत्र दायर गरिएको हो । उनका अनुसार उक्त पुरक अभियोग पत्रमा संजय साह बम काण्डका प्रमुख योजनाकार रहेको उल्लेख गरिएको छ । उनैको निर्देशनमा विभिन्न प्रतिवादीहरुले संगठित भई बम विस्फोट गराएको अभियोग लगाइएको छ । पक्राउ परेका ओम प्रकाश यादव बम काण्डको षड्यन्त्रमा सहभागी भएको आरोप लगाइएको छ । उक्त मुद्दामा अनुसन्धान अधिकारीले अनुसन्धान गर्दा प्राप्त भई पेश गरिएको प्रमाण, मुकेश चौधरीको बयान, कल डिटेलहरु, मुकेश र संजय बीचको टेप रेकर्ड र उक्त रेकर्डको प्रहरीले गरेको भेरिफिकेशन, विभिन्न एसएमएसहरु मुकेश चौधरीले जिवनाथ चौधरीलाई पठाएको एसएमएस र मुकेश चौधरीले अरुमान्छेलाई सेयर गरेको फेसबुकका प्रमाणहरुलाई आधार बनाइएको सरकारी वकिल पाठकले द एक्सक्लुसिभलाई बताएका छन् ।
जिल्ला अदालत धनुषाले विगतमा पक्राउ परेका व्यक्तिहरुको प्रहरी अधिकारी समक्ष गरेको बयान र मुकेश चौधरीको साविति बयान, प्रतिवादीको भ्वाइस रेकर्ड सनाखत, मोवाइल फोन, कल डिटेल र मिसिल संलग्न कागजातहरुलाई आधारमानी प्रतिवादी मुकेश चौधरीलाई मुद्दा पुर्पक्षको लागि थुनिवा पुर्जि दिई थुनामा बस्न जलेश्वर कारागारमा पठाइदिन आदेश दिएको छ ।त्यसैगरी अर्का प्रतिवादी ओम प्रकाश यादवको हकमा विचार गर्दा निज वारदात घटाउने कार्यका मुख्य पात्रहरु प्रतिवादी संजय टक्ला भन्ने संजय कुमार साह र प्रतिवादी मुकेश कुमार चौधरीले गरेको षड्यन्त्रमा सामेल भएको र निज यादवले अदालत समक्ष बयान गर्दा उक्त कसुरमा इन्कारी गरेपनि मौकामा अनुसन्धान अधिकारी समक्ष बयान कागज गर्दा संजय साहले दिएको भारु ५ लाख रुपैयाँ अर्जुन सिंहलाई भारतमा फोन गरी बोलाई दिएको कुरा स्वीकार गरेको हुनाले उनलाई पनि हाल थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न थुनुवा पुर्जि दिई महोत्तरी जलेश्वर कारागारमा पठाइदिन न्यायाधिश कैलाश केसीको इजलासले २७ चैत्र २०७० मा आदेश दिएको छ ।
जनकपुर बम काण्डका विषयमा पक्राउ परेका आरोपित व्यक्ति अर्जुन सिंह भन्ने मुकेश चौधरी र ओम प्रकाश यादवले प्रहरी समक्ष गरेको बयान अदालतमा इन्कार गरेका छन् । धनुषा जिल्ला अदालतका न्यायाधिश कैलाश केसीको इजलासमा २७ चैत्र २०७० मा ओम प्रकाश यादव र २६ चैत्र २०७० मा मुकेश चौधरीले बयान दिएका थिए । प्रतिवादी ओम प्रकाश यादवले प्रहरी अनुसन्धान अधिकारी समक्ष बयान कागज गर्दा प्रतिवादी मध्येका संजय साहले दिएको भारु ५ लाख प्रतिवादी मध्येका अर्जुन सिंह भन्ने मुकेश कुमार चौधरीलाई भारतको सितामढी र मोज्जफपुरको चौराहा चौक जिरोमाइलमा फोन गरी बोलाई भेटी दिएको बयान दिएका थिए ।
ओम प्रकाश यादव
प्रहरी समक्ष ओम प्रकाश यादवको बयान
संजय साहसँग सन् २००५ देखि ठेक्का पट्टा र मनिटूान्सफरको काम हेर्ने भनी काम सुरु गरेको भएपनि पछि मनिटूान्सफरको काम सुजित पाण्डेले हेर्न थाल्यो । म निर्माण व्यवसायीको काम हेर्न थालेको थिएँ ।  निर्माणको काममा संजय साह सँगै काम गर्नेहरुमा म, राजकुमार पुर्वे, छेदी भन्ने राम मिलन राउत, लट्टु भन्ने नरेश यादव र राम विनोद यादव समेत थियौं । निर्माण व्यवसायमा संजय साहले लगानी गर्ने र त्यसबाट प्राप्त भएको मुनाफामा ५० प्रतिशत संजय साहले लिने र बाँकी ५० प्रतिशतमा हामी सबैले प्राप्त गर्ने र घर खर्च बापत १५÷२० हजार रुपैयाँ मासिक लिने गरी ठेक्का पट्टाको काम सुरु गरेका थियौं । काम गर्दै जाँदा रासन ठेक्का गर्दै जादा घाटा भएकोमा मैले धादिङमा दिएको ठेक्कामा संजयले लगानी नगरेको कारण लगानी नभएपछि सरकारले मेरो जग्गा रोक्का ग¥यो । त्यसपछि संजय साहसँग विवाद भएपछि उनीसँग काम गर्न छोड्ेको थिए । अर्जुन सिंह भन्ने मुकेश चौधरीलाई ६२÷०६३ को मधेस आन्दोलनको क्रममा म पनि सहभागी भएको कारणले उनीसँग चिनजान भएको थियो । उनीसँग मेरो कुनै नीजि सम्पर्क थिएन । उनीसँग अन्तिम पटक २०६८÷११÷२ मा भारतमा भेटेको थिए । संजय साह सँगै काम गरिरहेको बेला २०६८ सालको फागुन २÷३ गते तिर भारत जान लाग्दा सँजय साहले एउटा भारतीय नम्बर दिई भारतको मुज्जफरपुरमा एक जना मान्छे आउँछन, उनलाई यो रकम दिनु भन्दै भारु रु. ५ लाख दिन भनेका थिए । सोही अनुसार उक्त व्यक्तिले मलाई रेल्वे स्टेशन बोलाएकोमा मैले चौराहा चौक जिरोमाइल सितामढी र मुज्जफरपुरमा भेटी मैले उक्त रकम दिएको थिए । रकम दिँदा रकम लिने व्यक्ति मैले पहिले देखि नै चिनेको मुकेश चौधरी थिए । 
अदालतमा ओम प्रकाश यादवको इन्कारी बयान
संजय कुमार साह सँग २०६२ साल देखि ठेक्का पट्टा सम्बन्धि कामको शिलशिलामा चिनजान भएको हो । त्यसपछि निज संजय साह राजनीति गर्न थाल्नु भो । म पनि उहाँको पार्टीमा पार्टीको कार्यकर्ताको रुपमा रही निजलाई सहयोग गर्न थाले । २०६४ सालको चुनावमा सभासदमा उहाँ निर्वाचित हुनु भयो । यसपालीको चुनाव हुनुभन्दा पहिला दुई तिन महिना अगाडी नेपाली कांग्रेस पार्टीमा गई हाल संजय कुमार साहको पार्टी छाडी दिए । प्रतिवादी सुजित कुमार पाण्डको मनिटूान्सफर काठमाण्डौमा छ । हामीले ठेक्का पट्टा सम्बन्धि पैसाको कारोवार निजैको मनिटूान्सफर मार्फत गर्ने गरेकोले २०६४ साल देखि नै निजसँग पनि चिनजान भएको छ ।
जनकपुरको रामानन्द चौकमा बम विस्फोटन बेला जनकपुरमै थिएँ । सो समयमा म फोरम लोकतान्त्रिक पार्टीको पार्टी अफिसमा थिएँ । त्यही उक्त घटनाको बारेमा पार्टी सचिव जगदीश महराले सुनाउनु भो र म पनि केयर मेडिकलमा आएँ । त्यहाँ मेरो पनि साथी कमलेश साह, देबु यादव, विजय पजियार घाइते भएको थियो । उनीहरुलाई ऐयरपोर्टमा लग्दा म पनि गएको थिएँ । उक्त घटना कसले किन गरायो मलाई थाहा भएन । संजय कुमार साहले भारु ५ लाख रुपैयाँ मुकेश चौधरीलाई दिन भनी भनेको प्रहरी प्रतिवेदन मैले सुनें, मलाई संजय कुमार साहले ५ लाख रुपैयाँ दिएको छैन । म मुकेश चौधरीलाई चिनेको छैन । म निजलाई ५ लाख रुपैयाँ सितामढीमा पुरयाउन गएको पनि छैन । संजय कुमार साह र जिवनाथ चौधरीको बीचमा आन्तरिक द्वन्द के थियो÷थिएन मलाई थाहा भएन । म संजयको पार्टीमा काम गरेपनि पार्टीका नीति निर्देशन बमोजिम गरेको थिएँ । प्रहरीमा भएको मेरो बयान अहिले सुनाउँदा सुनें, झुठ्ठा हो । प्रहरीले मलाई केही सोधेको छैन । आफैले मलाई फसाउनलाई झुठ्ठा कुरा लेखि मलाई पढेर नसुनाई जर्वजस्ती डर धाक देखाई सही छाप गराई लिएको हो । उक्त बयान कागज झुठ्ठा हो । मुकेश चौधरीलाई म चिन्दैन र निजको बयान व्यहोरा सम्म झुठ्ठा हो । म निजलाई भारु ५ लाख रुपैयाँ पुरयाउन गएको थिएन । संजय कुमार साह र मुकेश चौधरीको बीचको भएको कुराको भ्वाइस रेकर्डको बारेमा मलाई जिल्ला प्रहरी कार्यालयमा रेकर्ड सुनाइएको थियो । मैले टिभीमा पनि सुनेको थिएँ । त्यसबाट संजय कुमार साहको आवाज जस्तो लाग्छ पनि कुनै बेला निजको आवाज मिक्सिङ गरेको जस्तो पनि लाग्छ । त्यो कुरा वास्तविक के हो जाँच पछि मात्र थाहा हुन्छ । बम काण्ड सम्बन्धि संजय कुमार साह सँग मेरो कुनै कुरा भएको छैन । निजसँग मेरो पार्टीगत कुरा तथा ठेक्का पट्टा सम्बन्धि कुरा मात्र हुने गरेको थियो । बम काण्डमा मेरो कुनै संलग्नता छैन । जाहेरवालाहरुले किन मेरो नाम दिएको हो थाहा भएन ।
मुकेश चौधरी
मुकेश चौधरीले प्रहरी समक्ष गरेको कागज बयान
जीवनाथ चौधरीलाई हत्या गर्ने कार्यमा रहेका जयप्रकाश चौधरी र जितेन्द्र कर्णलाई रकम आवश्यकता भएकाले संजय साहलाई रकम पठाउन भनेकोमा निज संजय साहले काठमाण्डौबाट छद्म नाम प्रयोग गरी चौधरी र कर्णलाई क्रमशः रु १० हजार र २५ हजार पठाएका थिए । संजय साह र मेरो बीचमा नियमित रुपमा फोन सम्पर्क भइरहन्थ्यो ।  जीवनाथ चौधरीलाई हत्या गर्न तयार गरिएको बम जयप्रकाश चौधरीलाई जिम्मा लगाउन सुरेश कर्ण र जितेन्द्र कर्ण समेतका व्यक्तिहरुलाई फोन गरी मैले निर्देशन दिएकोमा सुरेश कर्णसमेतले रिपेन्द्र झाले लुकाई छिपाई राखेको अवस्थामा राखेको विस्फोटक पदार्थ पाइप बम शिवम शर्माले जयप्रकाश चौधरीलाई जिम्मा लगाएका थिए । जय प्रकाश चौधरी र जितेन्द्र कर्णलाई पाइप बमको कनेक्शन कसरी गर्ने र व्याटूी कसरी जोड्ने भन्ने सबालमा राजन प्रताप म र राजन मुक्तिले बनाएको बम कनेक्शन चार्टलाई फेसबुक मार्फत सेयर गरी जोड्न सिकाएँ । यसका अतिरिक्त जयप्रकाश चौधरी र सुरेश कर्णलाई पटक पटक फोन गरेर समेत कनेक्शन गर्न सिकाएको थिएँ । २०६९÷१÷१८ गते विहान जयप्रकाश चौधरीलाई फोन गरी जीवनाथ चौधरीलाई हत्या गर्नका लागि पाइप बम उठाइ लिई गई विश्वकर्मा चौकमा रहेका सुरेश कर्ण, मुकेश कर्ण र रिपेन्द्र झा समेतलाई भेटी जनकपुरको भित्री बाटो हुँदै रामानन्द चौक जान निर्देशन दिएका थिए । शिवम शर्मालाई जयप्रकाश चौधरीले के गर्छ, कहाँ जान्छन् भन्ने निगरानी राख्न निजको साथमा सप्तरीबाट आएका बाबुल भन्ने आदित्य देव लगायत अन्य व्यक्तिहरु रिपेन्द्र झालाई लगाएको थिएँ । घटना स्थलमा के कति मानिस जम्मा रहेको, जिवनाथ आए÷नआएको, बसे÷नबसेको समेत सुचना संकलन गरि नै रहेको थिएँ । उक्त अवस्थासम्म संजय साहसँग पनि नियमित सम्पर्क भै नैरहेको थियो । उनी जिवनाथ चौधरी कार्यक्रम स्थलमा आए पश्चात कार्यक्रममा रहेको बीच भागमा रहेको कुर्सीमा रहेको सुचना पाएपछि तत्काल मैले संजय साहसँग फोन सम्पर्क गरी जिवनाथ चौधरी बीचको भागमा छ के कसरी विस्फोटन गराउने संजय साह सँग निर्देशन माग गरेकोमा बीचमा विस्फोट नगरी साइडमा आएको अवस्थामा जिवनाथ चौधरीलाई लक्षित गरी विस्फोट गराउन भनी संजय साहले निर्देशन दिएका थिए । सोही अवस्थामा संजय साहसँग पटक पटक फोन सम्पर्क भैरहेको थियो र मैले संजय साहलाई टिभी हेर्न भनेको थिएँ । जिवनाथ चौधरीको हत्या भएको समाचार टिभीमा देखाउने नै छ भनेर संजयलाई भनेकोमा निज संजयले टिभी हेरीरहेको कुरा बताएको थियो । त्यसपछि जयप्रकाश चौधरीलाई मैले विस्फोटक पदार्थ ‘समान कुर्सीपर रखकर निक्लु’ भनी तीन पटक सम्म एसएमएस पठाएकोमा समान नीजले राखिसकेको थियो । जयप्रकाश चौधरीले निज जिवनाथ चौधरी भीडबाट बाहिर निस्कन लागेको मलाई खबर गरेको थियो । निज जिवनाथ चौधरीसँग आन्दोलन कस्तो भइरहेको छ भन्ने कुरा फोन गरी मैले सुचना लिइरहेको थिए । उक्त दिन विस्फोट गर्नु भन्दा पहिला मैले नै जिवनाथ चौधरीलाई भीडबाट निस्कन फोन गरेको थिएँ । विस्फोट गराउन जयप्रकाश चौधरी केही ढिला गरिदिएको कारण जिवनाथ चौधरीको हत्या हुन सकेन । र, निज जिवनाथ चौधरी वसेको स्थानका वरीपरीका मान्छेहरु सर्वसाधारण व्यक्तिहरु समेत मारिए, घाइते भए ।
घटना गराउनका लागि रु.५० लाख दिने भनेर संजय साहले सहमति गरेको थियो । ओम प्रकाश मार्फत रु. ५ लाख पेश्की दिएका थिए । तर घटनामा जिवनाथ चौधरीको हत्या नभएका कारण बाँकी रकम पनि संजय साहले दिएनन् ।
अदालतमा मुकेश चौधरीले गरेको बयान कागज
मेरो नाम मुकेश कुमार चौधरी हो । मेरो उपनाम अर्जुन सिंह, प्रकाश पनि हो । म भुमिगत संगठन तराई जनतान्त्रिक पार्टी मधेसको केन्द्रिय संयोजक हुँ । बुवाको नाम दिनेश चौधरी, जात कलबार, उमेर ३४ वर्ष हो । मेरो घर महोत्तरी जलेश्वर नगरपालिका वडा नं. ११ मा पर्दछ । पोलिटकल साइन्स लिई ब्याचलर गरेको छु । कम्प्युटर डिप्लोमा हार्डवेयर पास गरेको छु । 
जनकपुर बम काण्डको योजना पार्टीको केन्द्रिय समितिको वैठकमा पार्टीको वरिष्ठ सल्लाहकार संजय साहको प्रस्तावमा पार्टीको निर्णय (केन्द्रिय समिति) बमोजिम भएको थियो । उक्त बम काण्ड गराउने हाम्रो पार्टीको प्रस्तावमा अन्य ४ संगठन मधेस मुक्ति टाइगर्स तराईको अध्यक्ष राजन प्रताप ‘प्रफुल्ल’, तराई जनतान्त्रिक पार्टी मधेसको अध्यक्ष म, जनतान्त्रिक तराई मुक्ति मोर्चाको अध्यक्ष राजन मुक्ति र तराई कोबराको अध्यक्ष उमेश तिवारीको सम्मिलित स्वतन्त्र तराई मधेसी मोर्चाको निर्णयले जनकपुर बम काण्ड घटना घटाइएको हो । बम विस्फोटको हरेक सामग्री मधेस मुक्ति टाइगर्स तराईका अध्यक्ष राजन प्रताप प्रफुल्ल भन्ने फुलकुमार बटखेर यादवले उपलब्ध गराएको थियो । सो समयमा जय प्रकाश चौधरीले मलाई सोध्दा मैले राजन प्रतापसँग सम्पर्क गरी निजले पठाएको ग्राफ मैले जयप्रकाश चौधरीलाई पठाइदिएको थिएँ । र सोही बमोजिम काम भयो । उक्त बम काण्डमा कुनै व्यक्ति विशेषलाई ज्यान मार्ने हाम्रो पार्टीको निर्णय थिएन । हाम्रो चार पार्टीको बैठक भारतको सितामढीमा भएको थियो । बम काण्ड भएको दिन म लखनऊ पार्टीको कामले गएको थिएँ । संजय साहले जयप्रकाश चौधरीलाई काठमाण्डौबाट रु.१० हजार पठाएको थियो । नेपालमा वसी पार्टीको सबै म्यानेज संजय साहले नै गरेको थियो । बम विस्फोटका दिन बम विस्फोट हुनु भन्दा अघि र बम विस्फोट भइसकेपछि संजय साह सँग बम विस्फोटको म्यानेजमेन्टको सम्बन्धमा फोनमा तीन चार पटक कुराकानी भएको थियो । १ सय २२ पटक कुराकानी भएको थिएन ।  जिवनाथ चौधरीलाई ज्यान मार्ने उद्देश्यले मात्र बम विस्फोट गराइएको थिएन । हाम्रो चार पार्टीको निर्णय बमोजिम उक्त घटना घटाइएको थियो । किनभने जनकपुरका केही अपराधीले मधेसको विरोधमा विदेशीको इसारामा भाषाको नाममा मधेसलाई विखण्डन गर्ने प्रयास गरेको विरोधमा पार्टीले उक्त घटना घटाएको थियो । यो बम काण्ड कसैको व्यक्तिगत निर्णयबाट नभई पार्टीको सांगठनिक निर्णयबाट गराइएको थियो । संजय साहले पार्टी सहयोगको लागि रकम दिएको थियो । ओम प्रकाश यादव मेरो पार्टीको मानिस होइन । ओम प्रकाश यादवले रकम दिएको छैन । संजय स्वयम आई पार्टी सहयोगका निम्ति ५ लाख रुपैयाँ दिनु भएको थियो । संजय साहसँग बराबर भेटघाट भारतको सितामढीमा हुने गरेको थियो । जाहेरबालाहरु मध्ये जीवनाथ चौधरी र परमेश्वर कापडीलाई चिन्छु । जीवनाथ चौधरीसँग बराबर कुराकानी भइरहन्थ्यो । चौधरीले मेरो पार्टी सहयोगको लागि धेरै पटक चन्दा सहयोग गरेको थियो । त्यसैले निजलाई मार्ने कुनै योजना थिएन । चौधरीको सो जाहेरी झुठ्ठा हो ।

२०७० चैत्र ३० गते आईतबार

No comments:

Post a Comment