Monday, April 14, 2014

सुन तस्कर बलराम गुप्ता पक्राउ

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

कुख्यात सुन तस्कर बलराम गुप्तालाई सुनचाँदी र नगदसहित प्रहरीले २६ चैत्रमा पक्राउ गरेको छ । महानगरीय अनुसन्धान महाशाखा काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले जनकपुर(२ शिवचोकस्थित बलराम प्रसाद एण्ड ब्रदर्सबाट गुप्तासहित भारी परिमाणमा सुनचाँदी र नगद बरामद गरेको हो । विशेष सुराकीको आधारमा खटि गएको संयुक्त टोलीले गुप्ताको पसलमा छापामारी गरेर उक्त पसलबाट ६ किलो सुन, ३ सय ९० किलो चाँदी, ३० लाख दरका इन्भेष्टमेण्ट बैंकका दुई थान चेक र ७३ लाख ३० हजार ५ सय रुपैयाँ नगद बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी बरामद गरेको सुनचाँदी र नगद सार्वजनिक गरेका थिए । राजश्व छली अवैध तरिकाले करोडौंको कारोबार गर्दै आएका तस्कर गुप्तामाथि राजश्व ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि वढाइएको धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदीले पत्रकार सम्मेलनमा बताएका थिए । सुनचाँदी र भारतीय नक्कली नोटको कारोबार गर्दै आएका तस्कर गुप्ता केही वर्षमै जनकपुरमा अरबौ रुपैयाँ कमाएका छन् । 
अवैध तरिकाले आर्जन गरेको सम्पत्ति उनले यहाँ स्थित जानकी मेडिकल कलेज, सिटी अस्पतालमा लगानी गरेको बताइएको छ । गुप्ता जनकपुरमा लामो समयदेखि सुनको तस्कर गर्दै आएको बताइन्छ । यसअघि पनि उनी सुन तस्करीको आरोपमा पक्राउ परिसकेका छन् । उनले चीनबाट ल्याएको सुन नेपाल हुँदै भारत तस्करी गर्दै आएको बताइन्छ । त्यसैगरी भारतबाट ल्याएको सुन नेपालको बाटो हुँदै चीनसम्म तस्करी गर्दै आएको बताइन्छ । बुधबार बरामद गरिएको सुन चीनको तिब्बत नाकाबाट राजधानी हुँदै जनकपुर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक सुवेदीले थपे । बरामद गरिएको सुन भारत तस्करी गर्ने तयारी थियो । करोडौ मुल्य बराबरको उक्त सुनचाँदी र नगद पसलको काउण्टरबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको ६ किलो सुनको मुल्य दुई करोड ७५ लाख र तीन सय ९० किलो चाँदीको मुल्य दुई करोड ५० लाख रुपैयाँ रहेको अनुमान गरिएको छ । यस अघि पनि गुप्ताले काठमाण्डौ पठाउन लागेको दुई किलोग्राम सुन जनकपुर विमानस्थलमा बरामद भएको थियो । त्यसैगरी विगत केही वर्ष अघि उनको घरबाट पनि प्रहरीले ५ किलोग्राम सुन बरामद गरेको थियो । गुप्ता सामसुङ र एलजीको जनकपुरस्थित आधिकारिक विक्रेता हुन ।गुप्तामाथि भारतीय नक्कली नोटको कारोबार गर्दै आइरहेको पनि आरोप लाग्ने गरेको छ । यसका साथै गुप्ताले बट्टा लिएर दैनिक लाखौ रुपैयाँ साट्ने गरेको र अवैध तरिकाले हुन्डीको कारोबार गर्ने गरेको पनि आरोप लाग्ने गरेको छ । 

२०७० चैत्र ३० गते आईतबार

No comments:

Post a Comment