Monday, April 14, 2014

वढ्दो बेवारिसे लाश


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धार्मिक स्थलको रुपमा रहेको जनकपुरधाममा प्रत्येक महिना २ देखि ४ वटासम्म वेवारिसे अवस्थामा लाशहरु बरामद हुने गरेको छ । कतिपय अवस्थामा स्वभाविक मृत्यु हुने गरेको भएपनि केही घटनाहरुमा हत्या गरिएका तर पहिचान खुल्न नसकेका लाशहरुपनि बरामद हुने गरेका छन् । 
१ बैशाख २०६९ मा धनुषाको ढल्केवर ७ स्थित राजमार्ग देखी ५ सय मिटर पश्चिम खेतमा करिब २१ देखि २२ वर्षसम्म उमेर रहेको एउटा महिलाको लाश फेला परेको थियो । प्रहरीले लाशको जाँच गर्दा उक्त महिलासँग कुनै व्यक्तिले शारिरीक सम्पर्क स्थापित गरी घाँटी थिची हत्या गरेको पाएको थियो । उक्त लाशलाई केही दिन पछि प्रहरीले सदगत गर्न लगाएपनि सनाखत हुन नसकेको उक्त लाशको मुद्दा अझै पनि जिल्ला प्रहरी कार्यालय धनुषाले अगाडी वढाएको छ । तर, सनाखत नै हुन नसकेपछि तथ्य हालसम्म बाहिर आउन सकेको छैन ।
११ बैशाख २०७० मा धनुषाको सिमराढी स्थित नहरमा एउटा ३० वर्षिय  महिलालाई हत्या गरी वेवारिसे अवस्थामा फालिएको थियो । प्रहरीले तत्काल घटनाको अनुसन्धान गर्दा उक्त लाशको पहिचान खुल्न नसकेपनि हत्या नै गरिएको प्रमाण जुटाई लाशको सदगत गराएका थिए । घटनाको करिब ३ महिना पछि मात्र मृतकको पहिचान खुलेको थियो । प्रहरीले अनुसन्धान गर्दा मृतक पछेरवा ८ का रिजवाना खातुन रहेकी थिइन । उनलाई एकराही (८ मुरिवाका सहमद राइन, मदिक राइन समेतले धारिलो हतियारले कन्चटमा काटी हत्या गरेको पाएको थियो । प्रहरीले उक्त घटनाका प्रतिवादी २८ वर्षिय सहमद राइनलाई २८ साउन २०७० मा पक्राउ गरेको थियो । प्रहरीका अनुसार सहमद विदेशमा हुँदा घरमा टेलिफोन गर्दा रिजवाना सँग प्रेम भएको र वैदेशिक रोजगारीबाट घरफर्केर आएपछि रिजवानासँग शारिरीक सम्बन्ध स्थापित गरेको थियो । एक दिन बाहिर घुम्न जाने भनेर शारिरीक सम्पर्क स्थापना गरेर उनको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।
त्यसैगरी केही वर्ष अगाडी जनकपुरको मानकी होटेलमा एक जना महिलाको हत्या गरिएको अवस्थामा वेवारिसे शव बरामद भएपनि केही महिना पछि प्रहरीले लाशको सनाखत गर्नुको साथै हत्यारा समेतलाई पक्राउ गरी जेल पठाएको थियो । त्यसैगरी केही वर्ष अगाडी श्रीमतिलाई हत्या गरी लाशको टुक्रा टुक्रा गरी बोरामा बाँधेर एउटा पोखरीमा फालेको वेवारिसे लाशलाई धनुषा प्रहरीले पछि गएर सनाखत गर्नुका साथै हत्यारा समेतलाई पक्राउ गरेको थियो । माथिका उक्त घटनाहरुले के पनि देखाउँछ भने कतिपय हत्या गरिएको र सनाखत हुन नसकेको अवस्थामा पनि जनकपुरमा वेवारिसे लाश फेला पर्ने गरेका छन् ।
जनकपुरमा प्रायः जसो वृद्ध मान्छेहरुको लाश वेवारिस अवस्थामा पाइने गरिएको छ । छोरा छोरीले घरबाट निकाली दिएपछि तिर्थका लागि जनकपुर आउँदा, मानसिक सन्तुलन विग्रेर मृत्यु हुने, कतिपय भिख माग्ने भिखारीहरु, खान लाउन नपाउने गरिब व्यक्तिहरु, कतिपय अवस्थामा अन्य ठाउँका मान्छेलाई यहाँ ल्याएर हत्या गरेर फरार हुने र उक्त मृतक लाश लावारिस रहने गरेको धनुषा प्रहरी वताउँछन् ।
वढ्दो वेवारिस लाश
जनकपुर अञ्चल अस्पतालले उपलब्ध गराएको तथ्याङ अनुसार गत आर्थिक वर्ष २०६९÷०७० को साउन महिना देखि अषाढ महिनासम्म कुल २१ वटा वेवारिसे अवस्थामा  भेटिएको शवलाई पोष्टमार्टम गरिएको थियो । जसमध्ये १० वटा महिला र ११ वटा पुरुषको लाश वेवारिसे अवस्थामा रहेको थियो । साउनमा १ पुरुष, असोजमा १ पुरुष र १ महिला गरी कुल २, कार्तिकमा १ पुरुष र १ महिला गरी कुल २, मंसिरमा १ पुरुष, माघमा २ पुरुष, चैत्र १ महिला, २०७० बैशाखमा २ पुरुष, जेठमा २ पुरुष र ७ महिला गरी कुल ९ र अषाढमा १ पुरुष गरी कुल २१ जना मानिसको शवको सनाखत हुन सकेन । त्यसैगरी आर्थिक वर्ष २०७०÷०७१ को साउन महिना देखि चैत्र महिना सम्म १३ पुरुष र १० महिला गरी कुल २३ जनाको लाश वेवारिसे अवस्थामा फेला परेको थियो । अञ्चल अस्पतालमा पु¥याइएका ती लाशहरु मध्ये साउनमा १ पुरुष र १ महिला गरी कुल २, भाद्रमा १ पुरुष र १ महिला गरी कुल २, असोजमा १ पुरुष र १ महिला गरी कुल २, कार्तिकमा १ महिला र २ पुरुष गरी कुल ३, मंसिरमा ३ पुरुष र १ महिला गरी कुल ४, पुषमा १ पुरुष र ३ महिला गरी कुल ४, माघमा २ पुरुष र १ महिला गरी कुल ३, फागुनमा १ पुरुष र चैत्रमा १ पुरुष र १ महिला गरी कुल २ लाश रहेका थिए ।
कुनै पनि ठाउँमा मृत लाश फेला परेको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल घटना स्थलमा पुगेर घटना स्थल मुचुल्का तयार गर्दछ । स्थानिय प्रहरी त्यहाँ पुगेर लाशलाई सुरक्षित पार्नुका साथै कानुनी प्रक्रिया प्रारम्भ गर्दछ । लाश जाँचको प्रकृति मुचुल्का, सुन्ने, भन्ने र जान्ने मान्छेको कागज गरी प्रहरीले लाशको कपडा वा अन्य हुलिया वा प्रमाणहरु पहिचान गर्ने कोशिष गर्दछ । उक्त लाश कुन अवस्थामा बरामद गरिएको हो, कर्तव्य गरी मारिएको हो कि, घाउ खत छ कि छैन, आदि तत्काल घटना स्थलमा खटेका प्रहरी टोलीले अनुसन्धान अगाडी वढाई लाशको मृत्युको कारण पत्ता लगाउन आधिकारिक अस्पतालमा लाश जाँच ‘पोष्टमार्टम’ का लागि पठाउँछ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“वेवारिस अवस्थामा फेला परेको लाशको पहिचानका लागि लाशको हुलिया सहितको परिपत्र प्रहरी प्रधान कार्यालयका मार्फत देशका ७५ वटै जिल्लामा र प्रहरीका विभिन्न यूनिटमा पत्राचार गरिन्छ । यसका अतिरिक्त जिल्ला प्रहरी कार्यालय धनुषाको मातहतका ४६ वटा प्रहरी यूनिटमा समेत लाशको हुलिया सहित पहिचानका लागि परिपत्र गर्दछ ।” लाशको पहिचानका लागि सार्वजनिक स्थल, स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालयमा समेत सुचना टाँस गरिन्छ । यदि हत्या भएको हो भन्ने केही आधार र प्रमाण देखिएपछि वेवारिसे लाशको हकमा स्थानीय भद्रभलादमी, नगरपालिकाका सचिव सहितको मुचुल्का उठाई सदगत गर्न जनकपुर नगरपालिकाको कार्यालयलाई प्रहरीले अनुरोध गर्दछ ।
उक्त लाशको भौतिक सवुत सिद्धिएपछि पोष्टमार्टमका लागि भिसेरा निकालेर परिक्षण गरिन्छ । प्रहरी निरीक्षक पुरीका अनुसार नेचुरली मरेको हो कि, फिजिकली एसोर्ट भएको हो कि, विष सेवन गरिएको÷गराइएको हो कि वा के कारण मृत्यु भएको हो । घटनाका तत्कालिन अनुसन्धान अधिकृतले तत्काल यो प्रकृतिको घटना हुनसक्ने एउटा राय दिन सक्छ । हत्या भएको हो भने उक्त घटनाको अनुसन्धान अवधि २० वर्षसम्मको हुन्छ ।
प्रायः वेवारिसे लाशलाई गाडिन्छ जनकपुरमा वेवारिसे अवस्थामा भेटिएका लाशहरुलाई प्रहरीले जनकपुर अञ्चल अस्पतालमा जाँचको प्रक्रिया पुरा भईसकेपछि लाशको सदगतका लागि जनकपुर नगरपालिकालाई जिम्मा दिन्छ । लाशको नाम, थर, वतन, धर्म केही पनि नखुलेको अवस्थामा लाशलाई धेरै दिनसम्म सनाखतको लागि राख्दा लाश सडिगली जाने भएको हुनाले प्रहरीले उक्त लाशको सदगतका लागि प्रहरीले सदगत गरिदिन जनकपुर नगरपालिकालाई पत्राचार गर्दछ । जनकपुर नगरपालिकाले टूयाक्टरमा लाशलाई लादेर दुधमति खोलामा लगेर गाडिदिने गरेको पाइन्छ । 


२०७० चैत्र ३० गते आईतबार

No comments:

Post a Comment