Monday, February 24, 2014

यसरी भयो अञ्चल अस्पतालको स्थापना

डा. जयबल्लभ दास 
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकवंशिय राजाहरुको राजधानी जनकपुरधाममा आदी शक्ति माता जगत जननी जानकीको अविस्मरणिय गौरवशाली गाथाहरु रहेका छन् । अनेकौ विद्धत ऋषी, महर्षि, मुनी सिद्ध पुरुषहरुको अतितहरु गाँसिएका छन् । यसै पूण्य भूमीमा जन्म लिएर जानकीले संसारमा यस भूमीलाई चिनाउँदै आर्दश नारीको रुपमा आदी शीक्तको रुपमा पुजित भएकी छिन् । कैयांै ऋषि मुनीहरुले यस धर्तिबाट संसारमाझ ज्ञानको ज्योती छरेका छन् । विभिन्न दर्शनहरु दिएका छन् । यसै पूण्य भूमिमा कयौं व्यक्तित्वहरुले जन्म लिएर आ(आफ्ना कृत्य तथा कर्मद्वारा जनकपुरधामको नाउँ रोषण गरेका छन् ।
विगतका केही कालखण्ड गर्भमा रहेको जनकपुरधामलाई अठारौं शताब्दिमा सिद्ध पुरुषद्वय चतुर्भज गिरी र सुर किसोर दासले विश्वका माझ पूनः प्रकाश मा ल्याए पछि क्रमशः विकास निर्माण हुँदै आजको जनकपुरधाम सम्म आई पुगेको हो । आजको जनकपुरधाम सम्म ल्याईपु¥याउन यहाँ अनेकौं साधु सन्त, व्यापारी, उद्योगपति, नेता, समाजसेवी, पत्रकार, साहित्यकार, डाक्टर, शिक्षक लगायत धेरैको ठूलो योगदान रहेको छ । योगदान गर्नेहरुले यस धर्तीलाई सिंगारन, सजाउन, सौन्दर्यीकरण गर्न, ज्ञानको ज्योति छर्न तथा मानव स्वास्थ्यको हेरचाह गर्न अविस्मरणिय कृतिहरु गरेर यस संसारबाट विदा भएर गएका छन् । यहाँका समाजबाट बिर्सिएका तर जनकपुरधामको विकास निर्माणका सजिएर रहेको शिक्षा स्वास्थ्य क्षेत्र लगायतक विभिन्न समाजिक संघ संस्थाहरुको स्थापनामा अग्रणि भूमिका निर्वाह गरेर जीवनलाई सफल तुल्याइएका पवित्र माटोबाट मोक्ष प्राप्त गर्ने एउटा व्यक्तित्व डा. जयबल्लभ दास पनि हुन् ।

जनकपुर अञ्चल अस्पतालको हालसम्मका मेडिकल सुप्रिटेन्डेन्टहरु
१. डा.जयबल्लभ दास
२. डा. रामबहादुर सिंह
३. डा. पिताम्बर झा
४. डा. हुक्मदेव साह
५ डा.रामनन्दन सिन्हा
६ डा.इश्वरी प्रधान
७. डा. पुण्यबहादुर थापा
८. डा. केशव बहादुर सिंह कार्की
९. डा. महेन्द्र केशरी क्षेत्री
१०.डा. लक्ष्मीराज पाठक
११.डा. तारानन्द झा
१२. डा. वृजनारायण चौधरी
१३. डा.विजय कुमार सिंह
१४.डा. लखनलाल साह
१५.डा. पवन कुमार ठाकुर
१६.डा. मुकेश कुमार चौरसिया
१७.डा.सतिश चन्द्र चौधरी
१८.डा. गौराङ मिश्र
१९.डा. रामशंकर ठाकुर
२०. डा.बलराम मिश्र

विक्रम सम्बत १९९० तिर जनकपुरमा कपडाका पसलहरु सागरमल, हर्समल, वैद्यनाथको थियो भने प्रख्यात किराना पसलहरु राम एकवाल, विश्वनाथ प्रसाद, द्वोरीक चौधरी, देव सरण साहका रहेका थिए । गाँउघर र यहाँका मान्छेहरु आईतबार र बुधबार लाग्ने रामजानकी हाट (पेठिया बजार) र यहाँ रहेका किराना, कपडाका पसलहरु बाट आफूलाई चाहिने आवश्यक सामग्री किन्ने गर्दथे । औषधि उपचार गर्नुपर्दा तत्कालिन समयमा रहेका आयुर्वेदिक बैद्यहरु जगतानन्द मिश्र, जगदेव उपाध्याय, महाविर कुर्मी, सरकारी वैद्य असर्फी झाबाट र ऐलोपैथिक तर्फ ज्ञानेन्द्र रंजन (खोका बाबु) बंगालीबाट गराउँदथे ।

जनकपुर अञ्चल अस्पतालको हालसम्मका विकास समितिका अध्यक्षहरुको नामावली ः
१. लिला कोइराला
२. भोजराज धिमिरे
३. दामोदर प्रसाद उपाध्याय
४. प्रमोद गोयन्का
५. पाण्डव राज घिमिरे
६. रत्नेश्वर लाल गोइत
७. प्रकाश साह
८. गंगाराम यादव
९. पल्टु यादव
१०. कुमार कान्त झा
११. चन्देश्वर पुर्वे
१२. कुमार कान्त झा
१३. कामेश्वर झा

 औषधीहरु लादुरामका पसल र  २००५ साल तिर खुलेका विश्वनाथ प्रसाद साह बटुक गौतम साझा पसलबाट खरिद गरी स्वास्थय उपचार गराउँदथे ।
बुवालाई तिर्थ गराउन डा.दासको जनकपुर प्रवेश
यस्तै अवस्थामा २००९ सालतिर डा. जयबल्लभ दास आफ्ना पिता (स्व.मुक्तिनाथ) लाई तिर्थ गराउने उद्देश्यका साथ पवित्र पुण्य भूमि हिन्दूहरुको धार्मिक तिर्थस्थल जनकपुरधाममा प्रवेश गरे । उनको जनकपुर आगमन भन्दा पूर्व उनका साथी डा. तुलसी गिरीले आफ्नो गाउँमा प्रयाक्टिस गर्न आग्रह गर्दा बाटो अप्ठयारो भएकाले अस्विकार गरेका थिए । डा. गिरीले पूनः जनकपुर चलो भनेर आग्रह गरे । तर उनको जनकपुर आउने उद्देश्य थिएन । तर जीवनमा आफ्ना आमा (निरन्जनी देवी) को सेवा गर्ने मौका नपाएका डा. दास आफनो बुवाको सेवा गर्न बाट बञ्चित हुन चाहँदैन्थे । आफ्ना बुवाका लगि केही गरौं भन्ने भावनाबाट पे्ररित भएका डा. दास जनकपुुरधाम ठूलो धार्मिक तिर्थस्थल भएको र डा. गिरीले समेत बोलाएकाले यहाँ आईपुगे । त्यसताका जनकपुरमा चिकित्सकहरुको निकै अभाव थियो । उनी यहाँ आउँदै डि. गौरी नारायण गिरी सँग पेशागत सम्बन्ध गाँसिन गयो । बुढा कम्पाउण्डर मुकुटधारी सँग मकेश्वर सिंहको पहिले देखि नै घनिष्टता रहेका कारण डा. दासको सम्बन्ध पनि उनी सँग स्थापित हुन पुग्यो । डा. दाससँग सम्बन्ध गाँसिन पुगेका डि.गिरी, तुलसी गिरी लगायतका अन्य व्यक्तिहरुद्वारा अस्पताल खोल्न सरस्वती हाई स्कुलमा भेलाको आयोजना गरियो । सो भेलाले धर्मशालाको पश्चिम र दक्षिण पट्टिको कुनामा जानकी अस्पताल संचालन गर्न निर्णय गर्यो । डा. दासले चिकित्सा सेवा निःशुल्क प्रदान गर्ने सो भेलामा घोषणा गरे । मिक्सर आदी सामग्री राखेर अस्पताल प्रारम्भ भयो । तर मानिसहरुले उपचारका लागि रुची नलिएका कारण अस्पताल चल्न सकेन । बन्द भयो ।
अस्पताल स्थापनाका लागि अनशन
सोही बेला तुल्सी मेहर, भद्रा घले, पदमा कार्की लगायतका व्यक्तिहरुको सम्बन्ध रहेका बसहियाका गाँधी आश्रमबाट चिकित्सा सेवा दिन डा. दासलाई आग्रह भयो । आग्रह अनुसार उनले सप्ताहमा एक दिन सो आश्रममा सेवा दिन थाले । यो सेवा तिन चार वर्ष सम्म उनले त्यहाँ प्रदान गरे । एक दिन अचानक जानकी मन्दिरका महन्थ नवल किसोर दासका गुरु भाई रामनाथ अघोरी दा. दास कहाँ पुगेर सिधै उनलाई भेटी ‘हम अस्पताल खडा करेंगे, ईसमे तुमको सहयोग करना होगा’ भनेर हिंडे । सहयोग करना होगा भनेर हिडेका अघोरी सिधै जानकी मन्दिरमा पुगी अनशन शुरु गरिदिए । अनशन गरेकै दिन अघोरीले दासलाई एउटा पत्र पठाए । सो पत्रमा उनले ‘मै अस्पताल स्थापना हेतु अनशन कर रहा हँु तुम इसको प्रचार करो’ भनेर लेखेका थिए । तर डा. दासले अनशनको दोस्रो दिन नै यहाँका नेता एवं भद्र भलादमीहरुको जानकी मन्दिरको प्राङ्णमा भेलाको आयोजना गरे । भेलाले जनकपुरधाममा अस्पताल खोल्ने निर्णय ग¥यो । डा.दासले अस्पताल खोल्न महन्थ नवल किसोर दासको आँपको बगैँचामा राखेको प्रस्तावलाई भेलाले सर्वस्वीकृति प्रदान ग¥यो । महन्थ नवल किसोरजीले एक विगहा आँपको बगैंचा अस्पताल स्थापनाका लागि प्रदान गरे । अनशनमा बसेका रामनाथ अघोरीले पनि अनशन तोडे ।
जानकी अस्पताल प्रारम्भ
अस्पताल भवन स्थापनाका लागि डा. दास, गंगाधार दत्त, देवनन्द झा लगायतका व्यक्तिहरु मिलेर यहाँका समाजबाट बाँस, लकडी, खर आदी संकलन गरेर सो आपको बगैंचामा फुसको घर निर्माण गराए । निर्माण गरिएको यहि फुसको घरमा वि.स. २०११ सालको विवाह पञ्चमी देखि जानकी अस्पतालको नाउँबाट चिकित्सा सेवा प्रदान हुन थाल्यो । इन्डोर(बहिरंग विभाग) प्रथमतः संचालन भयो । विहान ७ बजे देखि ९ बजे सम्म डा. दासले सेवा दिन थाले । सहयोगका लागि बसहिया गाँधी आश्रमबाट भद्रघले, पदमा कार्की लाई समेत अस्पतालमा डा. दासले ल्याए । कम्पाउण्डर टूना दासलाई पनि सहयोगको लागि बोलाए । आक्समिक सेवा (भ्mभचनभलअथ० पनि प्रारम्भ यो । यहाँ आला, ब्लड प्रेशरका एक्युमेन्ट डेूसिङ सम्बन्धिका औजारहरुबाट उपचार गरिन्थ्यो । साना तिना अप्रेशन पनि हुन्थ्यो । सामान्य विरामीहरुको उपचार गरिन्थ्यो । विशेष चिकित्सा सेवा प्रदान गर्नु पर्ने विरामीलाई विशेषज्ञ कहाँ उपचारका लागि रेफर गरिन्थ्यो । प्रायः जसो रेफर गरिएका विरामीहरु भारतको दरभंगा, सितामढी उपचार गराउन जान्थे ।
अस्पताल संचालनका लागि विभिन्न ठाउँबाट सहयोग
अस्पताल संचालनका लागि दूई देखि दूइ सय पचास रुपैयाँ सम्म मासिक खर्च लाग्दथ्यो । अस्पताल स्थापना भएको पहिलो महिनाको खर्च डा. दासले स्वयम् व्यहोरे । दोस्रो महिनाको खर्च जनकपुरका प्रख्यात व्यापारी विश्वनाथ प्रसाद साहले प्रदान गरे । तेस्रो महिना गएर अस्पतालको सहयोगको लागि व्यवस्थापन समिति गठन भयो । उक्त व्यवस्थापन समितिका अधयक्षमा डि. गौरी नारायण गिरी र सचिवमा सरोज कोईराला रहेको थिए । आर्थिक संकलनमा महेन्द्र नारायण नीधि, रुद्र प्रसाद गिरी, मकेश्वर सिंह लगायतका व्यक्तिहरुले सहयोग गरेका थिए । यही समितिको सहयोगबाट अस्पताल संचालन हुन थाल्यो । प्रत्येक साल राम नवमी र विवाह पंचमीको मेलामा जनकपुरमा थिएटर आउँथ्यो । थिएटर सँग एक शो च्यारेटी गराएर अस्पतालको लागि सहयोग संकलन गरिन्थ्यो । यहाँको समाजको सहयोगबाट संचालित यस जानकी अस्पतालले वि.सं. २०१७ सालमा गएर सरकारी अस्पताल सरह सहयोग (ग्रान्ट) पाउन थाल्यो । अस्पतालको सहयोगको लागि जनकपुर चुरोट कारखानाका प्रत्येक कामदारसँग भारतीय २ पैसा र वन विभागबाट प्रत्येक घर संघा पूर्जी माथि २५ पैसा असूल गरिन्थ्यो । यसरी अस्पताल संचालन हुन थाल्यो । वि.स. २०१७ साल पौष १ गतेका दिन राजा महेन्द्रले संसदीय व्यवस्थाको हत्या गरेपछि अस्पतालका अधिकांश सहयोगी राजनीतिकर्मीहरु निर्वासित भए । तर सहयोगी रामपदारथ मिश्र जनकपुरमै बसे । उनले अस्पताललाई त्यस समय धेरै सहयोग पु¥याएका थिए । रामचन्द्र साह र फुलगेन साहले दुईवटा पक्की भवन निर्माण गरिदिए । निर्माण भएको भवनको उदघाटन सूर्य बहादुुर थापा सँग गराईएको थियो । उदघाटन पश्चात सो भवनमा अन्तरंग विभाग (क्ष्लमययच) संचालन हुन थाल्यो ।
श्री ५ सरकारलाई अस्पताल हस्तान्तरण
२०१८ सालमा राजा महेन्द्रको जनकपुर सवारी भएको थियो । सोही समयमा रामनाथ अघोरीले अस्पतालका विषयलाई लिएर राजासँग भेट गरे । डा. दासले पनि अस्पतालको विकासका लागि राजा महेन्द्रसँग आएका उनका साथी तुलसी गिरी मार्फत विन्ति पत्र पेश गरे । केही दिन पछि अस्पतालका लागि रु. पचास हजार निकासा भएर आएको थियो । सो रकम बाट अंन्तरग भवनको विचमा अर्को भवन निर्माण गरियो । वि.सं. २०२१ सालमा गएर मात्र सरकारका तर्फबाट पहिलो सरकारी चिकित्सक डा. विमल कुमार घोस यस अस्पतालमा आए । वि.सं २०२३ सालमा गएर यस जानकी अस्पताललाई श्री पाँचको सरकारलाई हस्तान्तरण गरियो । हस्तान्तरण गर्दा अस्पतालको तर्फबाट डा. जयबल्लभ दासले र सरकारको तर्फबाट तत्कालिन डाईरेक्टर दिनेशानन्द बैद्यले हस्ताक्षर गरेका थिए । जनकपुरको आउँदो भविष्यलाई देखेका डा.दासको जलेश्वरमा रहेको अंचल अस्पताललाई जनकपुरमा ल्याउने चाहना थियो । सोही अनुसार उनले प्रयास पनि गरे । त्यस बेला जलेश्वर अस्पतालको लागि एक्स(रे प्लान ल्याइएको थियो । तर डा. दासले सम्बन्धित व्यक्तिहरुको चित्त बुझाएर यहींको अस्पतालमा एक्सरे जडान गर्न लगाएका थिए ।
जनकपुरमा अस्पताल स्थापनाका लागि महत्वपूर्ण योगदान निर्वाह गरेका डा. दासले श्री ५ को सरकार लाई अस्पताल हस्तान्तरण गरेपश्चात पनि अवैतनीक २०२६ साल सम्म सेवा प्रदान गर्दै रहे ।
अस्पतालमा चिकित्सा सेवाबाट डा.दासको अवकास
अस्पतालको स्थापनाकाल देखि चिकित्सा सेवा अवैतनिक निस्वार्थ रुपमा सेवा प्रदान गरेका डा. दासले २०२६ सालमा अस्पतालबाट अवकास लिए । उनी अस्पतालबाट अवकास हुने बेलाको एउटा रोचक प्रसँग छ । सो बेला श्री ५ को सरकारका डाईरेक्टर यज्ञनाथ अस्पतालका निरक्षण गर्न भनेर आएका थिए । डाईरेक्टर यज्ञनाथलाई होटलमा डा. दास भेट्न गए । भेट्न होटलमा डा. दास पुग्दा यज्ञनाथले उनलाई उभेर सम्मान प्रदान गरे । डा. दास बसेपछि मात्र उनी बसेका थिए । बसे पछि कुराकानीको शिलशिलामा डाईरेक्टर यज्ञनाथले अस्पतालमा नोकरीको लागि प्रस्ताव गर्दा उनले ठाढै अस्विकार गरिदिए । डाईरेक्टरले किन ? भनेर सोध्दा उनले भने (“म जब तपाईनिर आएँ तपाई उभिनु भयो । यसको कुनै आवश्यकता थिएन । तपाईलाई उभिनु कुनै बाध्यता पनि थिएन तर तपाई उभिनु भयो । जब तलब लिएर मैले नोकरी गरें भने म अस्पतालको नोकर बन्न जान्छु तब सबैले मलाई हेर्ने दृष्टिकोण बदलिने छ । यो संस्थालाई मैले नै जन्माएको छु । मेरैद्वारा पालनपोषण गरिएको छ । यस अवस्थामा नोकरी गर्न सक्दिनँ ।” भनेर जवाफ फर्काएका थिए ।  सोही कुरा उनले लेखेर पनि पठाए ।  र, अस्पतालको चिकित्सा सेवाबाट उनले अवकास लिए ।
यसरी स्वास्थ र शिक्षा क्षेत्रमा चिन्तित रहने डा. दास जीवनका अमुल्य समय यस धर्तिको पवित्र सेवामा लगाएर सन् ६ जनवरी २००१ मा आफ्ना शरिरलाई परित्याग गर्दै अविश्मरणिय योगदान यस समाजमा छाडेर सदाका लागि यस संसारबाट विदा लिए । वहाँले गरेका योगदानहरुबाट प्रेरणा लिएर जनकपुरबासीहरुले यस धर्तिको मुहारलाई उज्यालो पार्न केही गर्न सक्यौं भने हामी पनि यस माटोको भारबाट मुक्त हुने थियौं कि ?


२०७० फागुन ११ गते 

No comments:

Post a Comment