Monday, February 24, 2014

जनकपुर अञ्चल अस्पतालमा भ्रष्टाचार नै भ्रष्टाचार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

एकातिर जनकपुर अञ्चल अस्पतालमा विरामीहरुले सहज उपचार पाउन सकिरहेका छैनन् भने अर्को तर्फ अस्पतालको प्रशासनिक निकायका ओहदामा वसेर व्यवस्थापन गर्ने जिम्मेवारी पाएका पदाधिकारीहरु पद र अख्तियारीको दुरुपयोग गर्दै भ्रष्टाचारमा चुर्लुम्म डुवेका छन् ।

एकातिर जनकपुर अञ्चल अस्पतालमा विरामीहरुले सहज उपचार पाउन सकिरहेका छैनन् भने अर्को तर्फ अस्पतालको प्रशासनिक निकायका ओहदामा वसेर व्यवस्थापन गर्ने जिम्मेवारी पाएका पदाधिकारीहरु पद र अख्तियारीको दुरुपयोग गर्दै भ्रष्टाचारमा चुर्लुम्म डुवेका छन् । अञ्चल अस्पताल स्थापनाका लागि डा.जयबल्लभ दास, रुद्र प्रसाद गिरी, मकेश्वर प्रसाद सिंह, तुल्सी गिरी, महन्त नबल किशोर शरण, महेन्द्र नारायण निधि र रामनाथ अघोरी लगायतका व्यक्तित्वले गरेको योगदानलाई विर्सेर अहिलेका अस्पतालका प्रशासन भ्रष्टाचार गर्नमा केन्द्रित भएका छन् ।
जनकपुर अञ्चल अस्पतालका निमित्त मेसु डा.बलराम मिश्र
अस्पतालको काम कारवाहीमा आवश्यक रेखदेख गर्ने तथा निर्देशन दिने, अस्पतालको अल्पकालीन तथा दीर्घकालीन नीति, योजना तथा कार्यक्रमहरु तयार गर्ने, गराउने स्वीकृतिको लागि समितिमा पेश गर्ने,गराउने जिम्मेवारी पाएको हुन्छ विकास समितिका अध्यक्षले । त्यसैगरी अस्पतालको प्रशासकिय प्रमुखको हैसियतले अस्पतालबाट उपलब्ध गराइने सेवा लगायत अस्पतालको सबै काम कारवाहीमा आवश्यक रेखदेख तथा निरिक्षण गर्ने, अस्पतालको प्रशासन सुदृढ र सक्षम बनाउन आवश्यक नीति तथा कार्यक्रम तयार गरी विकास समितिमा पेश गर्ने र समिति तथा अध्यक्षले तोकेको, निर्देशन दिएको, प्रति आयोजन गरेको अन्य कार्यहरु गर्ने जिम्मेवारी मेडिकल सुप्रिटेन्डेन्टले जिम्मेवारी पाएको हुन्छ । 
जनकपुर अञ्चल अस्पतालका निमित्त  विकास समितिका अध्यक्ष कामेश्वर झा ।
जनकपुर अञ्चल अस्पतालमा विकास समितिको अध्यक्ष पदमा नियूक्त कामेश्वर झा र निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्रले उक्त काम, कर्तव्य र अधिकारको पालना गर्नुको सट्टा जसरी पनि रकम कमाउने उद्देश्य नै बोकेको देखिन्छ । विकास समिति तर्फ आर्थिक वर्ष २०६९÷०७० मा समितिका अध्यक्ष झाले विभिन्न शिर्षकहरु अन्तरगत कुल रु. ८ करोड २४ लाख ६६ हजार ७ सय ६७ खर्च गरेको देखिन्छ । जसमध्ये तलब, भत्ता, कार्यालय संचालन खर्चका लागि रु.४ करोड ४० लाख ३० हजार १ सय ४६, निर्माण मरम्मत तथा सम्भार शिर्षकमा रु. ६३ लाख ९९ हजार ७ सय ५३, विभिन्न उपकरणहरु खरिद शिर्षकमा रु.२४ लाख ८० हजार २०, आङ्ग खस्ने महिलाको सर्जरी वापत रु. ५ लाख, बालबालिकाको लागि पोषण सम्बन्धि खर्च वापत रु.४ लाख ७८ हजार ८ सय ९४ र आमा सुरक्षा कार्यक्रम अन्तरगत प्रसुति तर्फ औषधि, सर्जिकल, यातायात खर्च तथा इन्सेन्टीभ अन्तरगत रु.२ करोड ८५ लाख ७७ हजार ९ सय ५४ खर्च गरेका छन् । भ्रमण खर्च अन्तरगत रु.२ लाख २२ हजार १ सय १५ र इन्धन खर्च अन्तरगत रु.३ लाख खर्च गरिएको छ ।  
विकास समितिका अध्यक्ष झा भन्छन, “यो भ्रमण खर्च सम्पुर्ण कर्मचारी लगायतको खर्च हो, मेरो भ्रमणको मात्र होइन । इन्धनमा मैले त ५ लाख रुपैयाँ मात्र खर्चेको छु । म आउनु अघि रु.३२ लाख सम्म इन्धनमा मात्र खर्च हुन्थ्यो ।” वढ्दो लोडसेडिङका कारण अस्पतालमा २ वटा जेनरेटर चलाइएको छ र एउटा जेनेरेटरमा प्रति घन्टा १२ लिटर इन्धन खपत हुने गरेको उनको दावी छ । 
आम्दानी तर्फ १ वर्षमा कुल रु. ७४ लाख १२ हजार १ सय ५७ विभिन्न शिर्षकबाट प्राप्त भएको देखाइएको छ । एक वर्षमा प्रयोगशालाबाट रु.२६ लाख ४२ हजार २ सय ३६, एक्सरेबाट रु.१२ लाख २० हजार ९०, पुलिस केशबाट रु. १ लाख ८८ हजार १ सय, इसिजीबाट रु.८६ हजार ४ सय ९५, अल्टूासाउन्डबाट रु.१५ लाख ९४ हजार, इएसबाट रु.४ हजार ८सय, अप्रेसनबाट रु.४९ हजार ८ सय २०, प्लाष्टरबाट रु.१ लाख ६५ हजार ८ सय १०, केविनबाट रु.३ लाख ३ हजार ९ सय २१, डेन्टलबाट रु.४५ हजार ३ सय ४०, इमरजेन्सीबाट रु.५ लाख १७ हजार १ सय, नयाँ ओपिडीबाट रु. २हजार ५ सय ८०, पुरानो ओपिडीबाट रु.८ हजार १ सय ६५, एन्टीरेभिजबाट रु.२ लाख ३२ हजार ९ सय ६०, फिजियोथेराफिबाट रु.३ हजार र विविधबाट रु.४ हजार ३ सय २५ आम्दानी भएको आय व्यय विवरणमा उल्लेख छ ।
करोडौं बेरुजु
अस्पतालद्वारा प्रस्तुत आय व्यय विवरणमा व्यापक रकम वेरुजु ठहरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाको आलेप बेरुजु प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनमा तलबी प्रतिवेदन पारित वेगर रु.३ करोड ७२ लाख ७५ हजार ७ सय ४४ तलब खर्च गरेको पाइएको, अस्पतालको झ्याल ढोका मरम्मत आदेश तथा इष्टिमेट विना रु.१ लाख ४१ हजार ५ सय खर्च भएको उल्लेख गरिएको छ । त्यसैगरी औषधि खरिद पटक पटक दर भाउपत्रमा खरिद गरेको र खरिद ऐन तथा नियमावली अनुसार बोलपत्रको प्रकृया पु¥याई खर्च गर्नुपर्नेमा सो नभएको उक्त बेरुजु प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी रब्बानी कन्सटूक्शन जलेश्वर ११ लाई कार्य सम्झौता भएपछि मोविलाइजेशन पेश्की दिएकोमा आर्थिक वर्षको अन्तसम्म पटक पटक गरी रु. ३ करोड २५ लाख ८१ हजार ४ सय ८२ फर्छाैट नभएको उक्त प्रतिवेदनमा उल्लेख छ । अस्पतालले प्रस्तुत गरेको उक्त आय व्यय विवरणमा जानकी मेडिकल कलेजबाट रु.३६ लाख लिन बाँकी रहेको, वर्थडे सर्टिफिकेटबाट रु.२ लाख २४ हजार ९ सय, एम्बुलेन्सबाट रु.५७ हजार ४ सय, काउन्टरबाट रु.७४ लाख १२ हजार १ सय ५७, घर बहालबाट रु.२१ लाख ४१ हजार २८, ओपिडी टिकटबाट रु. ७ लाख ५१ हजार ५ सय ३० आम्दानी प्राप्त भएको उल्लेख छ । एउटा एम्बुलेन्सबाट महिनामा ५० हजार रुपैयाँ आम्दानी हुन्छ तर, अञ्चल अस्पतालको एम्बुलेन्सबाट बर्षमा ५७ हजार रुपैयाँ मात्र आम्दानी देखाउनुले पनि चालकको भ्रष्टाचार पुष्टि हुन्छ । 
यति मात्र होइन प्रसुति सेवा र परिवार नियोजन सेवा तर्फ नेपाल सरकारबाट प्रदान गरिएको औषधिलाई प्रशासनका निकायले स्टोरबाट लिएपनि बाहिर औषधि पसलबाट विल भरपाई बनाई दोहोरो रकम लिने गरेको अस्पताल स्रोतको दावी छ । मन्त्रालयको आपुर्ति शाखाबाट धेरै उपकरणहरु निकासा गरिएपनि उक्त उपकरणहरु अस्पतालमा दाखिला नगरेर निजी नर्सिङ होम र अस्पताललाई बिक्री गर्ने गरेको अस्पताल स्रोतको दावी छ । स्रोतका अनुसार आपुर्ति शाखाबाट यस अघि अञ्चल अस्पतालका लागि आएको एक उपकरण (मान्छे मृत हो वा जिवित) जाँच्नका लागि आपुर्ति गरिएपनि त्यो उपकरण अस्पतालमा छैन तर, जानकी मेडिकल शिक्षण अस्पतालमा देखिन्छ । 
जनकपुर अञ्चल अस्पतालमा स्वीकृत दरबन्दीका अनुसार विरजु मण्डल र बिनोद मण्डल चालकमा नियूक्त छन तर मेसु डा. बलराम मिश्रले शम्भु ठाकुरलाई निजी रुपमा चालक बनाएर अस्पतालबाट डोर हाजिरमा तलब भत्ता खुवाइरहेका छन् । त्यसैगरी कम्प्युटर सहायकमा विनय गोइतको दरबन्दी छ तर मेसु मिश्रले सन्तोष मिश्रालाई डोर हाजिरमा खटाएर कम्प्युटर सहायकको तलब भत्ता खुवाइरहेका छन् । त्यसैगरी विकास समितिका अध्यक्ष झाले अवैधानिक तरिकाले केही कर्मचारीहरु नियूक्त गरेको विषयमा यस अघि अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले जवाफ नै मागेको थियो । मेसु र विकास समितिका अध्यक्षले कामको खाँचो भन्दै आफ्ना आफन्त र कार्यकर्तालाई सुरुमा भोलन्टियरको रुपमा आफु खुशी भर्ना गर्छन र जाँदा जाँदै विना भ्याकेन्सी ठाडो तोक आदेशमा मोटो रकम लिएर ति नै भोलन्टियरहरुलाई ज्यालादारी, डोरहाजिर वा करारमा नियूक्ती गर्ने गर्छन् ।


२०७० फागुन ११ गते 

No comments:

Post a Comment