Monday, February 24, 2014

जागिर अञ्चल अस्पतालमा काम भने निजी प्याथोलोजिमा






द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालका मेडिकल टेक्नोलोजिस्ट अरुण कुमार मल्लिकले सञ्चालन गरेको निजी मल्लिक प्याथोलोजी ।
जनकपुर अञ्चल अस्पतालका प्याथोलोजि विभागमा काम गर्ने कर्मचारीहरु जागिर अञ्चल अस्पतालमा खाने गरेपनि काम भने निजी प्याथोलोजिहरुमा गर्नेगरेका छन । अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरुको नै जागिर अस्पतालमा भएपनि काम निजी अस्पताल तथा क्लिनिकहरुमा गरे झंै प्याथोलोजि विभागमा कार्यरत कर्मचारीहरु अस्पतालमा काम गर्ने समय अवधिमा बाहिर निजी प्याथोलोजीहरुमा काम गर्छन् । अञ्चल अस्पतालको दशौं तहमा कार्यरत प्याथोलोजिस्ट राजकुमार महत्तोको ‘प्याथो क्लिनिक’, आठौं तहमा कार्यरत मेडिकल टेक्नोलोजिस्टका रुपमा कार्यरत अरुण कुमार मल्लिकको ‘मल्लिक प्याथोलोजि’, राम विनय साहको ‘विनय डायग्नोस्टिक सेन्टर’, ल्याव टेक्निशियन ओम यादवको ‘ओम प्याथोलोजि’, राम सुफल यादवको ‘पवन प्याथोलोजि’, सन्तोष ठाकुरको मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्रको क्लिनिक नजिक एउटा प्याथोलोजि, गुनानन्द साहको पेठिया रोडमा एउटा निजी प्याथोलोजी सञ्चालनमा छ । त्यसैगरी ल्याव असिस्टेन्ट वसन्त मेहताको डा. सुर्यनारायण यादवको क्लिनिक नजिक ‘मेहता ल्याव’ सञ्चालनमा छन । 
जनकपुर अञ्चल अस्पतालका मेडिकल प्याथोलोजिस्ट डा.राजकुमार महत्तोले सञ्चालन गरेको निजी प्याथो क्लिनिक ।
जनकपुर अञ्चल अस्पतालको नियम अनुसार प्याथोलोजि विभागमा काम गर्ने कर्मचारीहरुले विहानको ९ बजेदेखि दिउँसो २ बजे सम्म काम गर्नुपर्ने हो तर, त्यहाँ कार्यरत कर्मचारीहरु १० बजे आउने र हाजिरी गरेर ११ बजे बाहिरीने गरेका छन । ११ बजे देखि १ बजे सम्म ती कर्मचारीहरु आफ्नै लगानीमा सञ्चालन गरेका निजी प्याथोलोजिहरुमा काम गर्ने गर्छन । १ बजे अञ्चल अस्पतालमा आएर २ बजे फेरी बाहिरीन्छन । यसरी २ घण्टा पनि अञ्चल अस्पतालमा काम गर्दैनन्, प्याथोलोजिका कर्मचारीहरु । कर्मचारीहरुको गैरअनुसाशनात्मक कार्य रोक्नको लागि मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्रको कुनै चासो देखिदैन । किन भने मेसु मिश्रको पनि आफ्नो निजी क्लिनिक छन् र अन्य निजी नर्सिङ होमहरुमा पनि काम गर्छन । जनकपुर अञ्चल अस्पताल विकास समितिका पुर्व अध्यक्ष कुमर कान्त झा भन्छन,“ अस्पतालको ओपिडी नै पुरा समय चल्दैन, चिकित्सकहरु नै बस्दैनन भने प्याथोलोजिका कर्मचारी बस्ने कुरै आउँदैन । अस्पताल विकास समितिका अध्यक्ष र मेसु त्यसका लागि सबैभन्दा वढी जिम्मेवार व्यक्ति हुन ।” अञ्चल अस्पतालमा बाहिरको तुलनामा प्याथोलोजि टेस्ट सस्तो छ । प्याथोलोजिस्ट, मेडिकल टेक्नोलोजिस्ट, ल्याव निरीक्षक, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट र कार्यालय सहयोगी गरी कुल १६ जना जनशक्ति कार्यरत छन । उपकरण पनि पर्याप्त छ । तर पनि त्यहाँ जाँच गराउन ओपिडीमा काम गर्ने चिकित्सकहरु डायग्नोसिस लेख्दैनन । अस्पताल स्रोतका अनुसार चिकित्सक र प्याथोलोजि दुवैको मिलेमतोमा डायग्नोसिस गर्न अञ्चल अस्पतालको ल्यावमा नपठाई कार्यरत कर्मचारीहरुका निजी प्याथोलोजिमा पठाउने गरिन्छ ।
जनकपुर अञ्चल अस्पतालका मेडिकल टेक्नोलोजिस्ट राम विनय साहले सञ्चालन गरेको निजी विनय डायग्नोस्टिक सेन्टर ।
त्यस वापत प्याथोलोजिका कर्मचारीहरुले चिकित्सकहरुलाई ५० प्रतिशत सम्म कमिशन दिने गर्छन । जनकपुर अञ्चल अस्पताल अहिले ५ सय बेडको लागि मन्त्रालयमा प्रस्तावित छ । जनकपुरको ल्यावलाइ क्षेत्रिय ल्याव बनाइने कुरा चलिरहेको छ । तर अस्पतालको प्याथोलोजिबाट एउटा गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा पाइने सुविधा पनि भेटिदैन । अञ्चल अस्पताल विकास समितिका अध्यक्ष कामेश्वर झा भन्छन,“करिब ५ महिना अघि मेसु अनुपस्थित भएको बेलामा मैले ल्यावका तीन जना कर्मचारीको हाजिरी रजिष्टरमा रातो कलम लगाएर स्पष्टीकरण सोधेको छु । आइन्दा अनुपस्थित भए कडा चेतावनी पनि दिइसकेको छु ।” तर उनको कारवाहीको चेतावनीलाई वेवास्ता गर्दै प्याथोलोजिका कर्मचारीहरु अझै सम्म पनि त्यसलाई टेर पुच्छर लगाएको देखिदैन ।

२०७० फागुन ११ गते 

No comments:

Post a Comment