Monday, February 24, 2014

हो, परीक्षामा खुल्लम खुल्ला चोरी चलिरहेको छ–नबेन्द्र निधि, क्याम्पस प्रमुख


 जनकपुरको राराब क्याम्पसमा क्याम्पस प्रमुखको पदमा भर्खरै नियूक्त भएका नबेन्द्र निधिसँग क्याम्पसको पठन पाठन, परीक्षा लगायतका विषयमा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको  वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ः

हिजोसम्म भौतिक शास्त्र संकायको विभाग प्रमुख हुनुहुन्थ्यो । र, अहिले रा.रा.ब.क्याम्पसको क्याम्पस प्रमुख पदमा नियूक्त भएपछि कस्तो अनुभव गर्दै हुनु हुन्छ ? प्रशासनिक जिम्मेवारी पाउँदा कस्तो लागिराखेको छ ?
प्रशासनिक जिम्मेवारी साँच्चै गाह्रो छ । क्याम्पसमा धेरै लथालिङ् छ । अहिले सबै कुरा जान्ने, खोजी नीति गर्ने र केही कामहरु पनि गर्दैछु । अहिले सुरुवात नै हो । बुझ्ने प्रयास गर्दैछु ।
प्राध्यापक, कर्मचारी, स्ववियू लगायत सरोकारवाला पक्षहरुबाट कस्तो फिडव्याक र रिस्पोन्स पाइराख्नु भएको छ ?
अहिले राम्र्रै रिस्पोन्स आइराखेको छ । सबैले राम्रै रिस्पोन्स गरिराखेका छन् । मबाट सबैले धेरै अपेक्षा गरेका छन् । केही राम्रो काम गर्छु भन्ने नै सबैको अपेक्षा रहेको पाएँ ।
केही वर्ष अगाडी सम्म मात्र जनकपुरको राराब क्याम्पस त्रिभुवन विश्वविद्यालयको ‘क’वर्गको क्याम्पसको रुपमा गनिन्थ्यो तर, अहिले ‘ग’ वर्गको झरेको छ । यस्तो किन भएको हो ?
‘क’ बाट ‘ग’ वर्गमा झर्नुको कारण विद्यार्थी संख्या हो । पहिला यहाँ ५ देखि ६ हजारसम्म विद्यार्थीहरु पढ्थे । अहिले जाँचको बेलामा हाराहारी ३ हजार सम्म पुग्छ । एडमिशनको बेलामा त्यो संख्या भने हुँदैन । कक्षामा २ सय देखि ३ सय सम्म विद्यार्थी हुन्थे अहिले १० जना २० जना र कहिले काही त्यो पनि हुँदैन ।
‘ग’ वर्गबाट ‘क’ वर्गमा उकास्नका लागि तपाईको के कस्ता प्रयासहरु हुनेछन ?
विद्यार्थीहरु पढे भने, सबैपक्षले सहयोग ग¥यो भने ‘ग’ बाट फेरी ‘क’ मा लग्न सकिन्छ । धेरै गाह्रो छैन् ।
परीक्षा प्रणाली अत्यन्तै अमर्यादित हुनु पनि ‘ग’ वर्गमा झर्नुको कारणको रुपमा लिइएको छ । खुल्लाखुल्ला परीक्षामा चीट चोरी गर्नु पनि त प्रमुख कारण नै हो, जस्तो तपाईलाई लाग्दैन ? विद्यार्थी संख्या मात्रै त आधार होइन होला नि ?
विद्यार्थी संख्या नै प्रमुख कारण हो । वर्गिकरण विद्यार्थी संख्याकै आधारमा हुन्छ । परीक्षा तपाईले भने झै खस्केकै हो । त्यो त जनकपुरवासीले चाहेरै भएको हो । एक जनाले गरेर त मात्र भएको होइन । सबै परीक्षामा चोरीकै पक्षमा देखिए । र, परीक्षा खस्कियो । अनुशासन छैन, विद्यार्थीमा । जसरी पनि पास होऊँ भन्ने चाहना छ । त्यसैले गर्दा परीक्षा फितलो भएको हो ।
नपढेर जाँच दिन आउँछन् विद्यार्थी । सित्तैमा सर्टिफिकेट खोज्छन, विद्यार्थी । जब सित्तैमा डिग्री पाउने हो भने, साइन्सकै किन नलिने भन्ने मानसिकता विकसित भएको छ, विद्यार्थीमा । जनकपुरको समाज पनि त्यही मनोविज्ञानबाट अगाडी वढेको देखिन्छ । कमै विद्यार्थी मात्र पढेर जाँच दिन आउँछन् । देशको स्थितिले गर्दा पनि त्यस्तो भएको हो । कोही नियन्त्रण गर्ने वाला पनि छैन । नियन्त्रण गर्ने आँट पनि गर्दैनन् ।
नियन्त्रण गर्ने जिम्मेवारी त तपाईको काँधमा आएको छ नि । अहिले पनि स्नात्तकोत्तर तहको दोस्रो वर्षको परीक्षा जारी रहँदा व्यापक चिट चोरी भइनैराखेको छ नि ?
एकदम, चोरी हुन्छ । यो झुठो कुरो होइन । जाँच दिने विद्यार्थीहरु सबै जागिरे मान्छेहरु, कहिल्यै नपढ्ने विद्यार्थीहरु, कहिल्यै  क्लास नगर्ने मान्छेहरु छन् । थोरै मात्र विद्यार्थी छन, जो पढेर पनि आउँछन् । अलिकति नियन्त्रण गर्न मैले खोजेको पनि छु र गरेको पनि छु । तर पुरै नियन्त्रण हुन सकेको छैन् । यो वास्तविकता हो । एकै चोटी नियन्त्रण हुन पनि सक्दैन । खास गरी स्नात्तकोत्तर तहका परीक्षार्थीहरु सबै बुजुर्ग छन् । रेगुलर विद्यार्थी भएको भए २२ देखि २५ वर्ष सम्मको हुनु पथर््यो । तर ३० देखि ५० वर्ष सम्मका विद्यार्थीहरु जाँच दिराखेका छन् । ती मध्ये कतिपय ओहोदामा बसेका मान्छेहरु पनि छन् । कतिपय त प्रशासनिक निकायका मान्छेहरु पनि छन् । प्रशासनका हाकिमहरु छन् । सुरक्षा निकायका मान्छेहरु पनि नभएको होइन । चोरी नै गर्नु पर्छ, जसरी पनि पास गर्नु पर्छ, डिग्री चाहिन्छ भन्ने मनस्थितिका कारण नियन्त्रण गर्न गाह्रो भइराखेको छ ।
त्यसो हो भने परीक्षाको अमर्यादित क्रियाकलाप रोक्न धेरै गाह्रो छ ?
छैन,छैन । त्रिविको नियमले केही पनि गाह्रो छैन् । म शिक्षकको रुपमा यस क्याम्पसमा २०४० सालमा आएँ । २०४३ सालमा परीक्षा पुर्णतः नियन्त्रण भएकै हो । त्यतिखेर पनि चोरी चल्थ्यो । गर्न सकिन्छ । स्थानीय समाजको मानसिकता भयो र सुरक्षा निकाय, स्थानीय प्रशासनले सहयोग ग¥यो भने नहुने होइन । क्याम्पसका शिक्षकहरु त्यसो गर्न सक्षम छन् ।
यस अघिका क्याम्पस प्रमुख विष्णुदेव यादवसँग सोध्दा अन्य क्याम्पसका विद्यार्थीहरुको पनि परीक्षा केन्द्र राराब मै हुँदा विद्यार्थी संख्या वढेको र एउटै  बेन्चमा धेरै विद्यार्थी भए पछि चीट चोरी गर्न नसकिएको बताएका थिए । अनि तत्कालिन परीक्षाका उप(नियन्त्रक रमेश जोशीले निजी क्याम्पसका विद्यार्थीहरुको परीक्षा केन्द्र अलग गरे पनि राराबमा चीट चोरी जारी नै रह्यो । किन भने परीक्षामा चीट चोरी गराएर विद्यार्थी नेताहरु मोटो रकम कमाउने र केही हिस्सा क्याम्पस प्रशासनकोमा पनि जाने गरेको समेत कुराहरु उढ्यो । तपाईले कस्तो अनुभव गर्नु भएको छ ?
खै, त्यो कुरा त भन्दिनँ । तर, परीक्षा आज आएर विग्रेको होइन । यो कुरा त सत्य हो ।
तपाईलाई स्थानिय प्रशासनले सहयोग गरिरहेको छैन र ? त्यहाँ त सुरक्षाकर्मीको पनि परिचालन गरिएको हुन्छ ।
छैन, स्थानीय प्रशासनले त्यसरी सपोर्ट गरेको देखिएन । तर, म अब सपोर्ट लिन्छु । विद्यार्थी यूनियन हावी छ । विद्यार्थी यूनियन मात्र नभनौं, त्यसको पछि पछि अरु तत्वहरु पनि हावी छन् । भन्नु पर्दा समाज नै चोरी चाहेको देखिन्छ ।
पैसाको चलखेल हुने गथर््यो पहिला ?
विलकुल । तपाई पत्रकारले नै भनिराख्नु भएको छ भने त्योकुरा झुठो पक्कै नहोला ।
तपाई क्याम्पस प्रमुख हुनु भनेको तपाईको लागि कति अवसर र चुनौति छ ?
चुनौति नै चुनौती छ । म त्रिवि ऐन कै परिधिमा वसेर काम गर्छु । सम्भव छ । समाज र सुरक्षा निकायको सहमति र साथ लिएर म परीक्षा त टूयाकमा ल्याउँछु, ल्याउँछु । यस्तै छोड्यो भने क बाट ग मा गएको छ अब घ मा जान वेर लाग्दैन ।
पठन पाठन पनि नियमित हुँदैन । प्राध्यापकहरु भन्छन, विद्यार्थी नै कक्षामा आउँदैन, विद्यार्थी भन्छन, सरहरु नै आउनु हुन्न । दुवैले एक अर्कालाई दोषारोपण गरिराखेका हुन्छन् । सरहरु वाहिर निजी क्याम्पसमा पढाउनु हुन्छ जवकी त्यो समय भनेको राराब क्याम्पसको रुटिनमा हुन्छ ।
दुइटै कुरा सही हो । विद्यार्थी नै आउँदैन भन्ने सरको भनाई र सर पनि नपढाउने, नआउने विद्यार्थीको भनाई पनि सही छ । राराबको टाइममै कतिपय शिक्षकहरु निजी क्याम्पसमा पढाइराखेका हुन्छन । यो त्रिविको कमजोरी हो । विश्वविद्यालयले प्लस २ र ग्रेजुएशनका लागि वाहिर जति स्वीकृति दिएको छ, शिक्षकको सिफारिसमा दिएका छन् । किनभने शिक्षकलाई वाहिर पढाउन स्वीकृति त छ । त्यसैले गाह्रो भएको हो । हार्ड एन्ड फास्ट रुल छैन् ।
तपाईलाई कारवाही गर्न के ले रोक्छ र ?
युनिभरसिटी, रेक्टारको कार्यालय, राजिष्टारको कार्यालय इत्यादी निकायले हेर्ने हो ।
तपाईको पनि त इच्छा शक्ति हुनुप¥यो नि ?
शिक्षकले बाहिर पनि पढाउन सक्ने विश्वविद्यालयबाटै अनुमति पाएका छन् । त्यसैको आडमा शिक्षकहरु रा.रा.ब.को समयमा बाहिर पढाइरहेका हुन्छन् । यसलाई कडाई गर्न विश्वविद्यालय हार्ड एण्ड फास्ट छैन । 
काठमाण्डौमा केहीलाई त कारवाही गरियो नि ?
थोरै । यहाँबाट पनि रेकर्ड लगेको थियो । तर, यूनिभरसिटीले यहाँ कारवाही गरेन । यहाँको प्रशासनले मात्र के गर्न सक्छ ?
त्रिविका उच्च पदाधिकारीहरुले निजी क्याम्पस संचालन गर्न नपाउने, गरेको छ भने राजीनामा गर्न लगाउने विश्वविद्यालयले यस अघि नै परिपत्र जारी गरेको थियो । नैतिकताको आधारमा मैथिली विभागका विभाग प्रमुख पशुपतिनाथ झाले जागिरबाट राजीनामा नै दिए । तर, अन्य कतिपय शिक्षकहरुले बकायदा आफ्नो नाउँ सहितै निजी क्याम्पस संचालित रहेको विज्ञापन नै गरिएको देखिन्छ । तर, तिनीहरुलाई किन कारवाही गर्न सकिएको छैन् ?
पशुपतिनाथ झाले नैतिकताको आधारमा राजीनामा दिनु भयो, धेरै ठुलो कुरा हो । तर, नैतिकताको स्तर सबैमा एक नासको हुँदैन । नैतिकताको इन्जेक्सन बाहिरबाट किनेर ल्याएर यहाँका शिक्षकहरुमा इन्जेक्ट गर्ने कुरा पनि होइन । युनिभरसिटीले ५ किलोमिटर भित्र कुनैपनि निजी क्याम्पसलाई स्वीकृति नदिने नियमै छ,तर पनि दिइएकै छ । टासिएकै छ । निजी क्याम्पसहरु छिमेकी बनेका छन् । धेरै चलखेल भइरहेको छ । त्यसको लागि म जिम्मेवार त होइन । नैतिकताको पाठ त समाजले न सिकाउने हो ।
तर, तपाईले कारवाही गर्नुपर्छ नि ? तपाईको योजना के हो ?
म आफ्नो प्रयास जारी राख्ने छु । क्याम्पसको पठन पाठन देखि लिएर एकेडेमिक विकासको लागि आफ्नो प्रयास जारी राख्ने छु । कुनै बाटो छोड्दिन ।
विज्ञान विषयमा स्नातकोत्तर तहको स्वीकृति लिनु हुन्छ ?
अहिले ल्याउँदिन । किनभने मैले प्रयास गरेको थिएँ । त्यतिबेलाका विषयका विभाग प्रमुखहरु पनि सकारात्मक थिए । उहाँहरु आउनु पनि भएको थियो । तर, त्यसको पुर्वाधार जुन हुनुपर्ने हो त्यो यहाँ छैन् । त्यसको लेभेल पनि मेन्टेन गर्न सकिन्न । खाली चिट चोरीको भरमा पास गराई सर्टिफिकट मात्र दिनको लागि त अनुमति लिनु भएन नि । जब पढाईको व्यवस्था सुध्रिन्छ अनि मात्र म ल्याउँछु ।
सेन्टर कमिटीमा मेरो गुरु नै हुनुहुन्थ्यो डा.लोकनारायण झा । उहाँको इच्छा पनि खोल्ने नै थियो । यहाँका सरहरुले पनि खोल्न भन्नुभयो । तर, मेरै डिपार्टमेन्ट फिजिक्सका सरहरु ६ घन्टा सम्म बस्न सक्नुभएन भने क्याम्पस कसरी चल्छ ?
नैतिकवान शिक्षकको पुरै खडेरी परेको छ र ?
त्यस्तो त छैन, तर नैतिकवान शिक्षकको अभाव भने छ । यस क्याम्पसमा । साइन्सको कहिल्यै पढाई हुँदैन । विद्यार्थीको आरोप एकदम सत्य छ । म आफै देखिरहेको छु । भोगिरहेको छु । के गर्ने ?तर अब कक्षा हुन्छ । नपढाउने शिक्षकलाई कारवाही गर्छु ।
कारवाही गर्दा प्राध्यापक, कर्मचारीहरुको यूनियनले गाह्रो पार्ला नि ?
गाह्रो हुँदैन । नियम कानुनमा वसेपछि केही गाह्रो हुँदैन । म फिजिक्सको विद्यार्थी हुँ । हेर्नै नसकिने इलेक्टूोनको इनर्जी क्यालकुलेट गर्न सक्छु भने कारवाही गर्न कुनै गाह्रो छैन ।
क्याम्पस प्रमुखका रेसमा थुप्रै जना थिए तर, तपाई महेन्द्र नारायण निधिको छोरा र विमलेन्द्र निधिको दाजु भएका कारण तपाईले खान भ्याउनु भयो भनेर प्राध्यापक वृतमै ठुलो चर्चा छ । यसलाई खण्डन गर्न चाहनुहुन्छ ?
विल्कुल खण्डन गर्छु । मेरो बुवा अहिले हुनुहुन्न त्यसकारण उहाँको कुरै भएन र विमलेन्द्रको पनि कुनै पावर लागेको छैन । म पनि त यहाँ ३० वर्ष लगानी गरेको छु नि । म काठमाण्डौको अमृत साइन्स कलेजमा पढेको हो । पञ्चायतकालमा सबै भन्दा ठुलो निजी कलेज थियो । नियम कानुन धेरै टाइट थियो, त्यतिबेला । त्यहाँबाट म हुर्केको हो । म जनकपुरमा विएससी खोल्न काठमाण्डौबाट आएको थिएँ । क्याम्पस चिफ रामप्रसाद भट्टराई सहयोगीहरु मकेश्वर प्रसाद सिंह,सबैको विएससी खोल्ने चासो थियो । उहाँहरुले जनकपुरमा टिचर छैन, आउनुस भनेपछि म आएको हो । मेरो बाउले गरेको कारण म यहाँ त्यतिबेला पनि आएको होइन । र, ३० वर्षको अवधिमा मैले कुनै लाभको पद पनि लिइन ।
तर, अहिले भाइले कृपा गरेर तपाईलाई क्याम्पस प्रमुख बनाई रिटाइरमेन्ट उपहार दिईएको हो भन्ने आरोप पनि त लाग्ने गरेको छ नि ?
मान्छेले भन्दैमा हुन्छ । मान्छेहरुले जथाभावि भनिरहेका छन् । त्यो होइन । ३० वर्षसम्म कहाँ थियो त ? खोई रेकर्ड हेराउनुस न ।
तपाईको कार्यकाल बाँकी नै नरहने बेलामा तपाईलाई किन बनाइएको होला ?
म मा कुनै क्षमता होला । केही योग्यता होला । यो विमलेन्द्र निधिले गर्दा भएको होइन । विल्कुल होइन । मेरो पनि त लगानी छ नि । यस्तो कुरा कसैले गर्दा मेरो चित्त दुख्छ । मेरो पनि आफ्नो स्वाभिमान छ । कसैले भनिदियोस कि मैले आफ्नो भाईको पावर वा पदको दुरुपयोग गरेर लाभ लिएको छु ।
अब त लाभको पदमा हुनुहुन्छ नि । अब त तपाईलाई गाह्रो पर्ला । तपाईले गरेको निर्णयको पनि विरोध होला । राजनीति होला नि ?
हुँदैन,हुँदैन । मेरो बुवा जलस्रोत र स्थानिय विकास मन्त्री हुँदा म राजनीतिक सल्लाहकारको रुपमा पनि बसेको मान्छे हुँ । जलस्रोतमा करोडौको खरिद विक्री हुन्थ्यो । त्यहाँ पनि मलाई एक पैसाको दाग कसैले लगाउन सकेन । लोभमा नफस्ने मान्छे हो म । त्यसैले मलाई कुनै गाह्रो हुँदैन ।
पार्टटाइम टिचरहरुले तलब पाइराखेका छैनन । नीजि स्तरमा संचालित कार्यक्रमहरुको अडिट हुँदैन । आय व्यय सार्वजनिक हुँदैन । किन ?
शिक्षकहरुसँग मैले अन्तरक्रिया गरिसकेको छु । विद्यार्थीहरु पढदै नपढिकन जाँच दिन खोज्छन र टिचरहरुले नपढाईकन पैसा त माग्नु भएन नि । विना पढाईको पेमेन्ट कसरी गर्ने ? पेमेन्ट गर्दिन पनि । चाहे जस्तो सुकै दवाव नै किन नआओस । म झुक्नेबाला छैन ।
विद्यार्थी आएन , पढाई भएन । अनि पेमेन्ट पनि नपाउने ? शिक्षकको के दोष ?
खोज्नुपर्छ बाटो ।
शिक्षकहरुले बन्द हडताल गर्लान नि ?
क्लास नै नभइकन त पेमेन्ट हुँदैन । निकास निकाल्नु पर्छ, बसेर निकालांैला । यो अत्यन्त गंभीर मेटर हो । रा.रा.ब.लाई खाली फर्म भरेर परीक्षा केन्द्र मात्र बनाएर त हुँदैन नि ।
तपाईको कान्छो भाई विमलेन्द्र निधिको एउटा राजनीतिक अजेन्डाको रुपमा रहेको छ, राजर्षी जनक विश्वविद्यालय । रा.रा.ब.को सम्पति र कर्मचारी सबै गाभेर उक्त विश्वविद्यालय बनाईने कुरा उठेपछि रा.रा.ब. कै कतिपय मान्छेले विरोध पनि गरे । अब तपाई क्याम्पस प्रमुख भएपछि भाईलाई साथ दिने वा रा.रा.ब.को पोजिसन लिने भन्ने धर्मसंकट आयो भने के गर्नु हुन्छ ?
राजर्षी विश्वविद्यालयको अवधारणा जुन आएको छ,त्यो त्रिभुवन विश्वविद्यालय सरह नै एउटा प्रान्तिय विश्वविद्यालय हुने हो । पुर्वाञ्चल विश्वविद्यालय स्थापना भएपनि मोरंग क्याम्पस त्यसमा गाभिएन । पोखरा युनिभरसिटीमा पृथ्वीनारायण क्याम्पस गाभिएन । तर, त्रिभुवन विश्वविद्यालयको जग्गा ती यूनिभरसिटीहरुमा कसरी दिने भने कुरा चलेको छ । त्यो सबैको समाधानको लागि राजर्षी विश्वविद्यालयको ऐन समेत कानुन छाता ऐन अन्तरगत सरकारले बनाउँदैछ । राजर्षी विश्वविद्यालय पास भएपछि सारा समस्या समाधान हुन्छ । र, अब रा.रा.ब.मा त्यसको विरोध छैन । सबै जनाले समर्थन जनाईसकेका छन् ।

२०७० फागुन ११ गते 

No comments:

Post a Comment