Monday, February 24, 2014

प्राथमिक उपचार केन्द्रमा सिमित ‘जनकपुर अञ्चल अस्पताल’


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

‘कुनैपनि अस्पतालको मुटु भनेको त्यसको इमरजेन्सी कक्ष हो । इमरजेन्सी कक्षमा भर्ना हुने गरेका रोगीहरु उपचारपछि कि त त्यस अस्पतालको वार्डमा सारिन्छन, निको भएर घर फर्किन्छन, अन्यत्र अस्पतालमा रेफर गरिन्छन वा मृत्यु भएपछि मसानघाटको यात्रा गर्छन ।’ जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी कक्षका एक जना कर्मचारी भन्छन,“ तर, हामी कहाँ आउने प्रायः रोगीहरु वाहिर नै रेफर गरिन्छन् ।” उनको यो भनाईले पनि जनकपुर अञ्चल अस्पतालको शाख दिन प्रति दिन कतिसम्म खस्किदै गएको छ भन्ने पुष्टि हुन्छ । इमरजेन्सीमा भर्ना हुने प्यासेन्टहरुलाई प्राथमिक उपचार गर्ने भन्दा वढी कार्य गर्न एक किसिमले अञ्चल अस्पताल असमर्थ सावित भईसकेको छ । सामान्य अवस्थामा भर्ना हुने रोगीहरुको उपचार हुने गरेपनि गम्भीर अवस्थामा पुगेका रोगीहरु त्यहाँ गएर मृत्युलाई कुर्नु भन्दा आफै अन्य अस्पताललाई रोज्न बाध्य भएका छन् । एक त विशेषज्ञ चिकित्सकहरु नै छैनन्, भएका चिकित्सकहरु पनि अस्पतालमा देखिनुको साटो निजी क्लिनिक र नर्सिङग होममा व्यस्त रहन्छन् । अस्पतालमा भर्ना भएपछि घन्टौं स्लाइनको भरमा कुराइन्छ विरामीलाई । अनि अनकलमा मात्र आउँछन विशेषज्ञ डाक्टर । त्यो पनि प्यासेन्टले धेरै पावर पु¥यायो भने मात्र । यस्तो अवस्थामा विरामीको मृत्यु हुन गएमा आक्रोशित परिवारले चिकित्सकलाई समेत हात पात गर्न बेर लगाउँदैनन् । त्यसैको फाइदा उठाई भर्ना हुने वित्तिकै विरामी पनि आफ्नो ज्यान जोगाउन त्यहाँबाट रेफर चाहन्छन् । र, चिकित्सक पनि जोखिमबाट मुक्त हुन रेफर गरिदिएर ढुक्क हुन चाहन्छन् । यही हो अञ्चल अस्पतालको आकस्मिक कक्षको नियति । उक्त कर्मचारी भन्छन,“कतिपय अवस्थामा यहाँ निको हुने संभावना रहन्छ तर, विरामी पार्टीले नै रेफर मागी रहेका हुन्छन् भने कतिपय हामीबाट नसम्हलिने अवस्थाका पनि हुन्छन् । अनि हामी पनि जोखिम उठाउन चाहँदैनौं र रेफर गरिदिन्छौं ।” 
हुन त इमरजेन्सी भवन आफै इमरजेन्सी ग्रस्त छ । भवनको छतबाट पानी चुहिरहेको हुन्छ । कोठा भित्र पानी नै पानी हुन्छ । स्रोत साधनको कुरा गर्ने हो भने कर्मचारी र चिकित्सकलाई बस्नका लागि कुर्सी समेत उपलब्ध हुँदैन । भने विरामी र कुरुवाका लागि हुने सुविधा त परै जाओस । आवश्यक चिकित्सकको संख्यामा पनि कमि छ । त्यसैगरी चिकित्सकले विरामी जाँच्ने उपकरण स्टेथोस्कोप (आलां) र विपी जाँच्ने मेसिन बाहेक केही उपलब्ध छैन् । ती उपकरणहरु पनि कहिले कांही विग्रेकै हुन्छन् । नयाँ सामान किनेर दिँदा पनि गुणस्तर हिन भएका कारण लामो समय टिक्दैनन् । किनभने कमसल उपकरण र सामग्री खरीद गर्दा कम्पनीहरुबाट प्रशासनिक निकायका मान्छेले मोटो रकम कमिशन वापत पाउने गर्छन् ।
अर्को तितो सत्य के हो भने इमरजेन्सीमा पुगेका प्यासेन्टहरुलाई अस्पताल रोडका औषधि पसले, एम्बुलेन्स चालकहरुले समेत तपाईको उपचार यहाँ चिकित्सकले गर्न सक्दैन, बाहिर लग्नुस नत्र भने प्यासेन्ट मर्न पनि सक्छ भनेर डराईराखेका हुन्छन् । तिनीहरुको एम्बुलेन्स रहेका कारण एम्बुलेन्सबाट रुपैयाँ कमाउन र बाहिर पठाउने अस्पतालबाट कमिशन लिन प्यासेन्टलाई दिगभ्रमित गरिरहेका हुन्छन् । यसरी बाहिर पठाउने काममा अस्पतालमा भोलन्टियरका रुपमा काम गर्ने कर्मचारी देखि लिएर थुप्रै दलालहरु सक्रिय हुन्छन् । विकास समितिका अध्यक्ष कामेश्वर झा भन्छन,“अस्पतालका कर्मचारीले कमिशनको लागि विरामी पठाउन दलालीको काम गरिरहेको प्रमाण फेला परे तिनीहरुलाई जागिरबाटै बर्खास्त गरिने छ ।”
यसरी जनकपुर क्षेत्रका बिरामीहरुको उपचार गराउने थलो नेपाल सरकारको जनकपुर अञ्चल अस्पताल आफै बिरामी परि दिन प्रतिदिन थला पर्दै गइरहेको छ । यस भेगका रोगबाट मुक्ति पाउने एक मात्र सरकारी अञ्चल अस्पताल नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन एवं डाक्टरहरुको हेलचक्रयांईले गर्दा अस्तब्यस्त बन्न पुगेको छ । परिणाम स्वरुप अञ्चल अस्पतालबाट जनताको भरोसा उठ्दै गएको छ र निजी क्लिनिक तथा नर्सिङ्ग होमहरु मालामाल भइरहेका छन् । लगभग चालीस लाख भन्दा बढी जनसंख्या रहेका क्षेत्र धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा, उदयपुर, रौतहटका केही क्षेत्र लगायत मित्र राष्टू भारतका बिहार राज्यसंग सिमा जोडिएका केही गाउँका समेत गरि बार्षिक डेढ दुई लाख रोगीहरु आर्थिक अभाव एवं समिप्ताका कारण चाँडो उपचार पाउने आशामा जनकपुर अञ्चल अस्पतालमा आउने गर्छन । तर यहाँ उपचार गर्न आएका रोगीहरु दक्ष डाक्टरहरु एवं रोगीले पाउनु पर्ने विभिन्न सेवाको अभावमा रोगीहरु छटपटाउन बाध्य छन् । 
एक सय नेपाल सरकार र एक सय विकास समितिको तर्फबाट गरी कुल बेड संख्या २०० रहेको यस अस्पतालमा नेपाल सरकारको बिभिन्न सेवाका लागि डाक्टरहरुको दरबन्दी रहे पनि विशेषज्ञ चिकित्सकहरुको दरबन्दी रिक्त नै रहेको छ । अस्पतालमा कार्यरत 
चिकित्सक को नाउँमा नेपाल सरकारको तर्फबाट नबौं÷दशौं तहका क्रमशः फिजिसियन, प्रमुख मेडिकल अफिसर, पिडियाटिूसियन, प्याथोलोजिस्ट १÷१ जना मात्र छन् । त्यसैगरी विकास समितिको तर्फबाट आठौं तहका मेडिकल अधिकृत ११ जना, डेन्टल सर्जन १ जना मात्र चिकित्सकका रुपमा कार्यरत छन् । यस्तै नेपाल सरकारको दरबन्दी अनुसार अस्पतालमा हुनुपर्ने विभिन्न सेवाका डाक्टरहरु मध्ये एघारौं तहका मेडिकल सुप्रिटेन्डेन्ट १ जना, एघारौं तहका फिजिसियन, सर्जन, गाइनोक्लोजिस्ट, पिडियाटिूसियन, नबौं÷दशौं तहका सर्जन, अर्थाे सर्जन, एनेस्थिसियोलोजिस्ट, रेडियोलोजिस्ट, डर्मालोजिस्ट, गाइनोक्लोजिस्ट, इएनटी सर्जन, डेन्टल सर्जन र आठौं तहका वरिष्ठ मेडिकल अधिकृत, डेन्टल सर्जन क्रमशः १÷१ जना पद वर्षौं देखि रिक्त रहेको छ । यसमा पनि अधिकांश डाक्टरहरु अक्सर बिदामा बस्छन र आ(आफ्ना क्लिनिक र नर्सिङ्ग होम चलाउँछन । बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म अस्पतालमा सेवा गर्नुको सट्टा बिहानी पख अस्पताल अगाडी रहेका आ(आफ्ना क्लीनिकमा रोगीहरुको सेवा गरि ११ बजे सम्म चिकित्सकहरु अस्पताल पुग्ने गर्छन र १२ बजे सम्म अस्पतालका रोगीहरु संग सम्पर्क गरि खाना खाने निहुमा पूनः आफ्नै क्लीनिकमा छिर्ने गर्छन् । त्यस पश्चात अस्पतालमा रोगिहरुलाई फकाएर क्लीनिकमा लैजाने दलालहरु सकृय हुने गर्छन् । त्यस्तै अस्पतालमा कार्यरत पैथलोजीस्टहरुको अस्पताल बाहिर रहेका ल्याबहरुले बिरामीलाई धामाधम सेवा दिने गर्छन् । यसरि दैनिक दिनचर्याबाट अस्पताल अगाडी बढिरहेको छ ।  
  नेपाल सरकारको दरबन्दी अनुसार २४ वटा स्टाफ नर्स कार्यरत हुनु पर्नेमा जम्मा २१ जना कार्यरत छन । अञ्चल अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल सरकारको तर्फबाट कुल १ सय २१ जना कर्मचारीहरुको दरबन्दी रहेकोमा ९३ जना पदपुर्ति भएको र ३२ जना पद रिक्त रहेको छ । त्यसैगरी विकास समिति तर्फ कुल १ सय ४९ जना दरबन्दी रहेकोमा १ सय ३० जना पदपुर्ति रहेको र १९ जना पद रिक्त छ । दुवै मिलाएर अस्पतालको लागि कुल २ सय ७० जना कर्मचारीको दरबन्दी रहेको भएपनि ५१ जनाको पद हालसम्म रिक्त रहेको देखिन्छ । सबैभन्दा वढी संख्या कार्यालय सहायकको छ । नेपाल सरकारको तर्फबाट ३६ जना कार्यालय सहायकको दरबन्दी स्वीकृत गरिएकोमा २८ जना पदपुर्ति रहेको र विकास समिति तर्फ २८ मा २८ जनाको पदपुर्ति गरी कुल ५६ जना कार्यरत छन् । तर, तिनीहरुपनि अस्पतालमा कमै देखिन्छन्् । अस्पताल स्रोतका अनुसार कतिपय कार्यालय सहायकहरुले तलब अस्पतालबाट खाएपनि काम भने चिकित्सकहरुको घर र भान्सामा गर्ने गरेका छन् । वार्डहरुमा विरामीलाई स्टूेचरमा सार्नुपर्दा वा अन्य सहयोग पु¥याउने काम हुन्छ कार्यालय सहयोगीको । तर, तिनीहरु प्रायः जसो वार्डमा देखिदैनन् । यतिमात्र होइन वार्डमा खट्ने अन्य कर्मचारी नर्स, स्वीपर समेत प्रायः ढिलो आउने, विरामीलाई सेवा पुरयाउने भन्दा पनि हप्काउने जस्ता कामहरु गरेका देखिन्छन् । विकास समितिको तर्फबाट सर सफाइका लागि २२ जना स्वीपरको दरबन्दीमा २२ जनै कार्यरत रहेपनि अस्पतालमा सर सफाइ कहिल्यै देख्न सकिन्न । 
निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्र भन्छन,“यतिको कम जनशक्तिमा यत्रो जनसंख्याको उपचार गर्नु सामान्य कुरा होइन । हामीलाई त तपाईले धन्यवाद पो दिनुपर्छ ।” हो प्रसुति सेवा वाहेक अन्य कुनैपनि सेवा पाउन नसक्ने विरामीहरुले मेसु मिश्रलाई धन्यवाद दिनै पर्छ । किनभने उनी पनि वाहिर क्लिनिकमा काम गर्छन । यस अघिका मेसु डा.रामशंकर ठाकुर २४ घन्टै अस्पतालमा उपलब्ध हुन्थे । सर सफाई पनि राम्रै व्यवस्थापन गरिएको थियो । साताको हरेक शुक्रबार डा.ठाकुर आफै झाडु लिएर सर सफाइ गर्थे । र, अरुलाई पनि गर्न लगाउथे । ड्यूटी आवरमा चिकित्सकलाई अस्पतालमै बस्न बाध्य पार्थे । चिकित्सक लगायत अन्य कर्मचारीहरुलाई पनि पोसाक र नेम प्लेटका साथ उपस्थित गराउथे । तर, उनी जाने वित्तिकै ती सबै व्यवस्था पनि उनी सँगै गए । उनी संगै काम गरेका विकास समितिका अध्यक्ष कामेश्वर झालाई पनि उक्त कुराको ध्यान नै रहेन । अस्पताल भ्रमणमा आउने मन्त्री देखि लिएर सचिव सम्मकाले निर्देशन दिएपनि मेसु मिश्र र अध्यक्ष झालाई त्यसको कुनै असर पर्दैन । चिकित्सक आउँनै चाहँदैनन्, जनकपुरको वातावरण नै राम्रो छैन मैले के गर्ने भनेर बहानावाजी गर्ने मेसु मिश्रको नियति नै बनेको छ ।
कार्यालय समय भित्र उपस्थित नहुने, नियम विपरित कार्य गर्ने मेडिकल सुप्रिटेन्डेन्ट देखि सम्पुर्ण चिकित्सक र कर्मचारीलाई नसिहत दिने, वढीमा तीन तलब वृद्धि वा वढुवा रोक्का गर्ने, भविष्यमा सेवाका निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने र भविष्यमा सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट वर्खास्तको सजाय समेत प्रस्ताव गर्न सक्ने  अख्तियारी जनकपुर अञ्चल अस्पताल नियमावली २०६३ ले विकास समितिलाई प्रदान गरेको छ । अस्पतालमा कार्यरत कुनै पनि कर्मचारीले अस्पतालको तर्फबाट कुनै काम कारोबार संचालन गर्दा अस्पताललाई अहित गरी गर्न नहुने, कर्मचारीले जानाजान, लापरवाही वा त्रुटिपुर्ण ढंगले काम कारोवार गरी अस्पताललाई कुनै प्रकारबाट हानी नोक्सानी पु¥याउन नहुने उक्त नियमावलीमा उल्लेख छ । त्यसैगरी अस्पतालमा दिइएको समय भित्र कुनैपनि कर्मचारीले कुनै प्रकारको स्वास्थ्य संस्था वा क्लिनिक संचालन गर्न वा त्यस्तो स्वास्थ्य संस्था वा क्लिनिकमा काम गर्न वा अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न नमिल्ने गरे कारवाही हुने उक्त नियमावलीमा उल्लेख छ । तर, मेडिकल सुप्रिटेन्डेन्ट आफै वाहिर क्लिनिक र नर्सिङग होममा व्यस्त हुने भएपछि अरुलाई रोक्न मेसुलाई पनि नैतिकबल कहाँबाट आउँछ ? मेसुलाई नै कारवाही गरे अरु त्यसैपनि तर्सिन्थे होला तर, विकास समितिका अध्यक्ष कामेश्वर झा भन्छन,“ मेसु डा.मिश्र यस क्षेत्रकै वरिष्ठ वाल रोग विशेषज्ञ हुन । उपचारका लागि वाहिरबाट धेरै दवाव आउने कारण उहाँ वाहिर जानु हुन्छ तर अञ्चल अस्पतालमा कुनै विरामी आए उहाँलाई कल गर्ने वित्तिकै आउनु हुन्छ ।”
नेपाल सरकारको दरबन्दी अनुसारका दक्ष डाक्टर एवं जनशक्तीको अभावबाट पाउनु पर्ने सेवा पाउन नसकि रोगिहरु कराइरहेका छन् । रोईरहेका छन् । सुन्ने कोही छैन । सबैले मौन ब्रत लिएर बसेका छन् । गरिब, असहाय रोगीहरु जाउन त कहाँ ? हुनेखानेहरु नसिङ्ग होम, दरभंगा, पटना, दिल्ली, बेंग्लौर, धरान, काठमाण्डौं कहाँ(कहाँ पुग्छन कुनै निश्चित ठाउँ नै छैन । नहुनेहरुको एक मात्र आशा र भरोसाको केन्द्र बिन्दु छ जनकपुर अञ्चल अस्पताल । हुने खानेहरुको लागि प्राथमिक उपचारको थलो, नहुनेहरुको लागि मृत्युको अन्तिम थलो बन्न पुगेको छ यो अस्पताल । साँसद, सभासदहरु स्वास्थ्यका लागि आवश्यक सुविधाहरु पाइहाल्छन नै । अवाज उठाउनु नै किन ? जब(जब राजनीतिक परिबर्तन हुन्छ, ब्यवस्था बदलिन्छ यहाँको बोली ब्यबहार बदलिन्छ । सरकार बदलियो । विकास समिति बदलियोे । बदलिएपछि सर साधन युक्त हुन्छ, दक्ष डाक्टरहरु नेपाल सरकारको दरबन्दी अनुसार सेवा प्रदान गर्लान, औषधीको अभाव हुन्न, लाइफ सेभिंग डूग्स सहुलियत दरमा अस्पतालले बित्तरण गर्ला, प्याथलोजी ल्याब चौबिसै घण्टा सञ्चालन होलान, इसिजी, अल्टूासाउण्ड तथा एक्सरे लगायत अन्य सेवाहरु नियमित सञ्चालन होलान, प्रत्येक बेडमा बेड पैन, बेड सिट, बेड साइट लकर, कुरुवालाई बस्ने स्टुल, स्लाइन स्टैन्ड, प्रत्येक कोठामा अक्सीजन सिलिन्डर, बिद्युतको अभावमा चौबिसै घण्टा जेनरेटर सञ्चालनको ब्यवस्था, रोगिहरुको खानाको लागि क्यान्टीनको ब्यबस्था, सर सफाई, पार्किङ्ग, खानेपानी, कुरुवा घर लगायत यावत कुरामा विकास भई यस अस्पतालले यस क्षेत्रका गरिब असहाय जनतालाई सेवा प्रदान गर्ला भन्ने पलाएको आशा हालसम्म पुरा हुन सकेको छ्रैन । अस्पताल प्रशासनले भएको योग्य सक्षम जनशक्तिलाई किनारा लगाँउदै अयोग्य र जुनियरहरुलाई विभिन्न विभाग प्रमुख बनाई अस्पतालाई चुहावटको स्थल बनाउन सक्षम भएको छ ।
  संवेदनशिल रहेको अस्पताल भित्रको विगतकाल देखि राजनीतिको अखाड़ा बन्न पुगेको स्थललाई विकास समितिका अध्यक्षले त्याँहाको वातावरण सुधार गर्न पुर्णतः अक्षम सावित भएका छन् । नागरिक समाज, राजनितिक दल संघ संस्था लगायत यस क्षेत्रका सम्पूर्ण नागरिकको अस्पताल सुर्धान पट्टि आ(आफ्नौ दायित्व हुँदा हुदै पनि ब्यक्तिगत स्वार्थमा रुमल्लिनु बाहेक केहि गर्न सकेका छैनन् ।  नागरिक समाजका अगुवाहरु हुन या राजनितिक गर्नेहरु, पत्रकारिता गर्नेहरु हुन, या यहाँका आफुलाई बुद्घिजीवी भनाउनेहरु, गरिब हुन, वा धनी, सबैलाई रोगबाट मुक्ति पाउन उपचार चाहिन्छ । हुनेहरुलाई सुविधा साधन छ, नहुनेहरुलाई पिडै पिडा । अभावै अभावको भँवरीमा पिरोलिनु परेको छ । अस्पताल प्रशासन र विकास समितिको मात्र भरमा बस्दा बस्दै जनतासंग प्रत्यक्ष सरोकार भएको अस्पताल रसातलमा दिनप्रतिदिन धस्दै छ । यस सम्बन्धमा सोच्न फुर्सद नै छ कल्लाई ?

२०७० फागुन ११ गते 

No comments:

Post a Comment