Tuesday, January 14, 2014

राजन मुक्तिको ‘उमेर २७, अपराध ३१’



अजय अनुरागी
जनकपुरधाम............
राजन मुक्ति भन्ने रंजित झाको उमेर २७ वर्ष हो । उनी विरुद्ध थप २७ वटा गम्भीर प्रकृतिका मुद्दा धनुषा जिल्ला अदालतमा दायर गरिएको छ । र, ४ वटा मुद्दामा यस अघि नै सजाय पाइसकेका छन । धनुषामा कुनै एक व्यक्ति विरुद्ध यति संख्यामा एक साथ मुद्दा चलेको यो पहिलो पटक हो । हुन त धनुषामा संगठित अपराध विरुद्धको मुद्दा पनि पहिलो पटक नै चलेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाले जनतान्त्रिक तराई मुक्ति मोर्चाका सुप्रिमो राजन मुक्ति भनिने रंजित झा लगायत उक्त समुहका ९ जना विरुद्ध संगठित अपराध अन्तरगत धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । राजन मुक्तिसँगै महोत्तरी साढा २ का मोर्चाका पोलिट व्युरो सदस्य रहेको भाष्कर मुक्ति, संतोष भन्ने दिपक सिंह, धनुषा लक्कड ८ का मोर्चाका पिविएम कमाण्डर जय मुक्ति भन्ने बुलन यादव, महोत्तरी बथनाहा ४ का एसटीएफ कमाण्डर अजय मुक्ति भन्ने दिपक कुमार सिंह, बथनाहा ४ का मोर्चाका एसटीएफ कमाण्डर सुरज मुक्ति भन्ने दिपेन्द्र ठाकुर, बथनाहा १ का मोर्चाका एसटीएफ कमाण्डर एवम सुचना संकलक संजीव झा, भारत सितामढी जिल्लाका सितामढी टाउन बस्ने मोर्चाका सदस्य तोफेल खान, अशोकजी भन्ने अशोक यादव र भारत सितामढी सुरसंडका मोर्चाका सदस्य नितिन तिवारी विरुद्ध दुई वटा संगठित अपराधको मुद्दा चलाइएको छ । त्यसैगरी राजन मुक्ति लगायत अन्य अभियुक्तहरु  विरुद्ध १० वटा कर्तव्य ज्यान, दुई वटा बम विस्फोटन र एक वटा ज्यान मार्ने उद्योग गरी कुल १५ वटा अभियोग सहित धनुषा जिल्ला अदालतमा मुद्दा चलाइएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषा अन्तरगत १२ वटा हातहतियार तथा खरखजानाको मुद्दा चलाइएको छ । मुद्दाको प्रकृति र सम्वेदनशिलताका कारण राजन मुक्ति लगायत अन्य प्रतिवादीहरुको मुद्दाको सुनुवाई बन्द इजलासमा भइरहेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली भन्छन,“अभियोग पत्रको सक्कल फाइल सिल बन्द गरेर अदालतमा बुझाइएको छ । साक्षीहरुको गोपनियता कायम राख्नका लागि सांकेतिक नाम साथ अभियोग पत्र तयार गरिएको छ ।” सरकारी वकिल पराजुली भन्छन,“मैले आफ्नो पेशागत जीवनमा जिल्ला प्रशासन र जिल्ला अदालतमा एक साथ वढीमा आठ वटा सम्म अभियोग पत्र दायर गरेको थिएँ । तर, २७ वटा अभियोग पत्र एक दिनमा एक जनाका विरुद्ध दायर गर्नुपर्दा आफुलाई पनि अचम्म लागेको छ ।”
    राजन मुक्तिले दिएका प्रेस वक्तव्य, उनको फेसबुक स्टेटस, प्रहरीको प्रतिवेदन, केही साक्षीहरुले आएर गरेको कागज, पहिले गरेको अपराधिक पृष्ठभुमि, प्रहरीको प्रतिवेदन लगायतलाई आधार बनाई अभियोग पत्र दायर गरिएको पराजुलीले बताएका छन् । जनकपुर बम काण्डमा राजन मुक्तिलाई प्रतिवादी बनाई पहिले नै धनुषा जिल्ला अदालतमा दर्ता गरिएको कारण त्यसमा थप केही पनि बयान गर्न नसकिएको हुनाले उक्त बम काण्डमा स्थानिय व्यक्ति कसको संलग्नता हो भन्ने कुरा उक्त घटनाका मुख्य योजनाकारका रुपमा रहेका अर्जुन सिंह भन्ने मुकेश चौधरी पक्राउ परेपछि मात्र सार्वजनिक हुन सक्ने पराजुली बताउँछन । त्यसैगरी जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लालकिशोर झा हत्याको जिम्मा लिएका राजन मुक्ति विरुद्ध थप प्रतिवादीहरुको नाउँ खुल्न आएपछि पुरक अभियोग समेत दर्ता गरिएको पराजुलीले द एक्सक्लुसिभलाई बताएका छन् । उक्त घटनामा रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव प्रमुख योजनाकार रहेको प्रहरीले अभियोग लगाएको छ ।
बायाँबाट क्रमशः हथकडीमा पारस मुक्ति भन्ने राम सोभित यादव, राजन मुक्ति भन्ने रंजित झा र अजय मुक्ति भन्ने दिपक कुमार सिंह लाई धनुषा जिल्ला अदालतबाट बयान गराई जिल्ला प्रहरी कार्यालय लग्दै प्रहरी ।
    धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदी भन्छन,“ राजन मुक्तिले प्रहरी समक्ष बयान दिँदा धेरै कुरा लुकाए । संगठनबारे मात्र खुलासा गरे । तर, जनकपुर बम काण्ड होस वा लालकिशोर झा हत्या काण्ड, सबैको जिम्मेवारी आफैले लिएर अन्य अभियूक्तहरुलाई बचाउने काम गरेको छ । अन्य अभियूक्तको नाउँ नभने जेलमा रहँदा जेलबाट छुट्नका लागि तिनीहरुले सहयोग गर्न सक्ने राजनको अनुमान हुन सक्ने हाम्रो ठम्याई छ ।”
    यति ठुलो संख्यामा अपराधका अभियुक्त बनाइदा पनि वढीमा सर्वश्व सहित जन्म कैदको सजाय मात्र हुन सक्ने न्यायाधिवक्ता पराजुलीको भनाई छ । राजन मुक्ति विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषाले हातहतियार तथा खरखजानाको मुद्दामा यस अघि पनि जरिवाना गरिसकेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमको इजलासबाट ६ भद्रौ २०६९ मा फरार प्रतिवादी राजन मुक्तिको हकमा रु.१ लाख जरिवाना, अर्को प्र.जि.अ.हरिकृष्ण उपाध्यायको इजलासबाट रु.१ लाख जरिवाना, प्र.जि.अ.कमलेश्वर प्रसाद सिन्हाको इजलासबाट रु. ६ हजार जरिवाना फैसला नै भइसकेको छ । त्यसैगरी धनुषा जिल्ला अदालतमा ५ वटा मुद्दाहरुमा राजन मुक्तिका विरुद्ध मुद्दा दर्ता भई विचाराधिन अवस्थामा रहेको छ ।
राजन मुक्तिमाथि ३१ घटनाको अभियोग
२० अषाढ २०६४ मा राष्टिूय धान बाली कार्यक्रम हर्दीनाथका प्रावधिक सिरहा मलहनिया २ का राजकुमार जोशीलाई अपहरण गरी धनुषाको गोपालपुर ८ स्थितमा लगि राजन मुक्ति समेतका ६ जनाले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ । ३२ साउन २०६४ मा धनुषा वटेश्वर ९ बस्ने लालबहादुर लामाको घरमा राजन मुक्तिकै कमानमा हतियारसमेत लिई आएका डाँकाहरुले लामालाई कुटपिट गरी घाइते बनाउनुको साथै घरबाट डाँका गरेको प्रहरीले आरोप लगाएको छ । ६ कार्तिक २०६७ मा धनुषाको जिल्ला मालपोत कार्यालयमा बम विस्फोट गराएको, ११ कार्तकि २०६७ मा जिल्ला शिक्षा कार्यालय जलेश्वरका शाखा अधिकृत लालकिशोर झालाई जनकपुर ७ मा गोली प्रहार गरी हत्या गरेको, ३२ साउन २०६४ मा धनुषा लक्ष्मीनिया ४ का गहेन्द्र कुमार श्रेष्ठको घरबाट रु ३ लाख २५ हजार ५ सय बराबरको धनमाल डाँका गरी लगेको प्रहरीको आरोप छ ।
    त्यसैगरी १९ मंसिर २०६५ मा जनकपुर ४ बस्ने इन्जिनियर कृष्ण कुमार मिश्रलाई गोली प्रहार गरि हत्या गर्ने प्रयास गरेको, ३० मंसिर २०६५ मा कुमार निरौलालाई गोली प्रहार गरी हत्या गरेको, २१ बैशाख २०६२ मा जनकपुर १ घर भई जनकपुर चुरोट कारखाना लिमिटेडमा कार्यरत कर्मचारी श्रवण कुमार श्रेष्ठ अपहरण गरी छातीमा गोली हानी हत्या गरेको, ६ असोज २०६५ मा धनुषा महेन्द्रनगर ७ स्थित हिमालयन पलाई इन्डस्टिलीजमा गार्डको काम गर्ने सखुवा महेन्द्रनगर १ का कुमार खडकालाई गोलि हानी हत्या गरेको, २३ भद्रै २०६६ मा जनकपुर ११ का रामप्रसादसाहलाई गोली प्रहार गरी हत्या गर्ने प्रयास गरेको, १४ माघ २०६४ मा धनुषा दिगम्बरपुर ५ का मदन मुक्ताङलाई गोली प्रहार गरी हत्या गरेको, १२ अषाद २०६५ मा जनकपुर ४ मा डेरा गरी बस्ने जनकपुर नगरपालिकाका अभरसियर पदमा कार्यरत रौतहट इनरवा बारी ७ का जितेन्द्र साहलाई गोली हानि हत्या गरेका प्रहरीले आरोप लगाएको छ ।
    ३ अषाढ २०६५ मा धनुषा गोदार स्थित महेन्द्र राजमार्गमा क्रसर मिलमा कार्यरत मदन जोशी र लक्ष्मण दास मोटरसाइकलमा गइरहेको अवस्थामा बम प्रहार गर्दा लक्ष्मण दासको मृत्यु भएको २६ भदै्र २०६४ मा धनुषाको बघचौडामा रहेको राज इट्टा उद्योगमा कार्यरत केदार कटुवाललाई इट्टा उद्योगबाट अपहरण गरी कञ्चटमा गोली हानी हत्या गरेको, २३ फागुन २०६४ मा जनकपुर चुरोट कारखाना अगाडी जनकपुर १४ बस्ने बिजय गुरुङ र सुगुरजोडा बस्ने भोला यादवलाई गोली हानी घाइते बनाएको प्रहरीको आरोप छ । २० अषाढ २०६५ मा जनकपुरको रघुपति होटलमा सुतली बम विस्फोट गराएको, २६ अषाढ २०६५ मा जनकपुरमा केयर नेपालको कार्यालय अगाडी सुतली बम विस्फोट गराएको, र २ मंसिर २०६५ मा जनकपुर २ स्थित डा.कल्पना बछाडको नसिंङ होम अगाडी सुतली बम विस्फोट गराएको प्रहरीको दावी छ ।
    २०६७ सालमा सिरहामा तत्कालिन नेकपा माओवादीका व्यूरो सदस्यलाई गोली प्रहार गरेको, २०६५ सालमा एमाले सर्लाही जिल्ला कमिटी सदस्यलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । त्यसै गरी ५ अषाढ २०७० मा महोत्तरीको मनरा गाविसमा अजय कुमार सिँंह र उनको श्रीमति सोनाम सिंहलाई गोली प्रहार गरी घाइते बनाएको, १० श्रावण २०७० मा महोत्तरीको जलेश्वरमा मधेसी जनअधिकार फोरमको पार्टीका सचिव प्रगास साहलाई गोली प्रहार गरी घाइते बनाएको, २ अषाढ २०७० मा मनरा गाविसमा विकास कुमार सिंह र शैलेन्द्र मण्डल माथि गोली प्रहार गरी घाइते बनाएको प्रहरीले आरोप लगाएका छन ।


मिति ः २०७०/०९/२८

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete