Tuesday, January 14, 2014

नाटक र अभिनय विना म बाँच्नै सक्दिन–मदन ठाकुर, वरिष्ठ रंगकर्मी



एसएलसी पनि उत्तीर्ण नभएका, सैलुन सञ्चालन गरेर जिविकोपार्जन गर्छन मदन ठाकुर । तर, रंगमञ्चमा स्थापित अभिनेताको रुपमा पहिचान बनाएका ठाकुरको अभिनयलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा समेत सबैले लोहा मान्ने गर्छन । वरिष्ठ रंगकर्मी ठाकुरसँग विभिन्न विषयमा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादित अंश प्रस्तुत छ ः

तपाई रंगकर्मी कसरी बन्नु भयो ?
म बाल्यकाल देखि भैंसी चराउने गर्दा भैंसीमा चढेर गित गाउने गर्थे । साथीहरुले गित सुन्दा राम्रो गाउँछस भनेर भन्थे । सोही क्रममा जनकपुरमा साउन महिनामा झुला लाग्ने गथ्र्यो । झुलाको अवसरमा जनकपुरका कुटीहरुमा लोक नाँच आयोजन हुन्थ्यो । कलवार कुट्टीमा पनि सोही अवसरमा नाँच आएको थियो । मैले उक्त मञ्चमा गित गाउने भनेर भन्दा गाउन दियो । त्यहाँ मैले हिन्दी गित ‘मेरे नैना सावन भादो फिरभी मेरा मन प्यासा’ गाएँ । संजोग वस त्यो नाँच हेर्न योगेन्द्र साह नेपाली र मेरो दाजु राम अषिश ठाकुर पनि आउनु भएको रहेछ । त्यसपछि नेपाली जीले मलाई भन्नुभयो, राम्रो गाउँछौ । तिमी मेरो क्लव आधुनिक नाटय कला परिषदमा आऊ भनेर भन्नु भयो । मलाई पनि अन्धोलाई के चाहियो, दुईटा आँखा भनेझै म त्यहाँ गएर दुई वर्ष नाटक सिक्ने मौका पाएँ । ५÷७ वटा हिन्दी नाटक मैले खेलें । त्यसपछि डा.धीरेश्वर झा ‘धिरेन्द्र’ र नेपाली जीहरुले नाटकलाई व्यवस्थि तगर्न एउटा रंगमञ्च नै स्थापना गर्नुपर्छ भनेर मिथिला नाटय कलापरिषद ‘मिनाप’ गठन गर्नुभयो । त्यहाँ देखि म रंगमञ्चमा लागेको हो ।
तपाईको विचारमा रंगमञ्च भनेको के हो ?
मेरो विचारमा रंगमञ्च भनेको समाजको एउटा दर्पण हो । समाजमा हुने विसंगति,कुरिती, विकृतिलाई हटाउन नाटक एउटा सशक्त माध्यम हो । समाज रुपान्तरणको लागि जनताको चेतना बढाउन नाटकले अहम योगदान पुर्याउँछ ,भन्ने मेरो विश्वास छ । नाटक प्रति मेरो आस्था र समर्पण पनि छ । नाटक मार्फत समाजमा हुने क्रियाकलापलाई प्रत्यक्ष रुपमा उतारन सकिने हुनाले नाटकलाई म समाजको वास्तविक दर्पण भन्छु । मान्छेले कुनै कुरा व्यक्त गर्न सकिरहेको छैन भने नाटक मार्फत व्यक्त गर्न सक्छ ।
तपाई नाटकमा कहिले देखि किन लाग्नु भयो ?
म २०३४ साल देखि नाटकमा लागेको छु । नाटक नै एउटा यस्तो विधा छ जसमा आफ्न्तवाद, परिवारवाद, नातावाद चल्दैन । यो एउटा स्वक्ष विधा हो । त्यसैले समाजको विकृतिहरु विरुद्ध रुपान्तरणको लागि ,समाजलाई एउटा नयाँ बाटो देखाउनको लागि नै मैले नाटकमा लागेको हो । अभिनय भनेको रस हो, अभिनयमा सरसता हुन्छ । निरसता छैन । कसैको दुखमा रुनु, सुखमा हास्नु, समाजलाई राम्रो बाटोमा डो¥याउनु कलाकारको विशेषता हो ।
तपाईको जीवनबाट यदि अभिनयलाई हटाइदिने हो भने तपाईलाई कस्तो लाग्ला ?
यदि मेरो आयु अझै २० वर्ष बाँकी छ भने मेरो जीवनबाट अभिनय हटाइदियो भने ५ वर्ष पनि बाँच्न सक्दिन होला । अभिनय विना म बाँच्नै सक्दिन ।
किन होला ?
किन भने अभिनयले नै समाजप्रतिको दायित्वको बोध गराउँछ । सबैले आ(आफ्नो क्षेत्रबाट समाजका लागि योगदान गरिरहेका हुन्छन । हामी अभिनेता अभिनय गरेर नै समाजका लागि काम गरिरहेका हुन्छौं । नाटक खेलेर मलाई आत्म संतुष्टि हुन्छ , अरु जुनसुकै काम गरेर पनि मलाई संतुष्टि भेट्न सक्दैन ।
के तपाईले नाटक मार्फत समाजमा भएका विकृतिहरुलाई हटाउन सक्नु भयो त ?
त्यो त समाजले मुल्याङकन गर्ने हो । हामीले मिथिला समाजमा रहेको विकृति, दाइजो प्रथा, बालविवाह, बोक्सी प्रथा लगायत थुप्रै विकृतिहरु विरुद्ध नाटक मञ्चन ग¥यौं । मलाई लाग्छ विकृति हटेको पनि छ । कतिपय मान्छे नाटकबाट प्रभावित भएर दाइजो नलिईकनै विहे पनि गरेका छन । बालविवाह हटेको छ । हजारौं मान्छेले नाटक हेर्छन तर ती भीड मध्ये एक जनाले पनि कार्यान्वयन गर्न सकेको छ भने मेरो नाटक र ,मैले गरेको अभिनयको सफलता त्यही नै हो जस्तो मलाई लाग्छ । रंगमञ्च मार्फत मान्छेको चेतनाको स्तर वढेको छ ।
जनकपुरको रंगमञ्चको अवस्था अहिले कस्तो छ ?
एउटा कलाकारको हैसियतले भन्नु पर्दा वास्तवमा रंगमञ्चको जुन अवस्था पहिले थियो त्यसमा अहिले धेरै गिरावट आएको छ । रंगमञ्चको कार्यक्रमहरु नियमित रुपमा भइरहेको छैन । पहिलेको गति भन्दा अहिले कमी आएको छ ।
किन कमि आएको होला ? रंगकर्मीहरुका कारण वा अन्य रोजीरोटी वा जिविको पार्जनका कारण कमी आएको हो ?
थुप्रै कारण हरु छ । आर्थिकै कारण हो भन्ने मलाई लाग्दैन । आर्थिक समस्या त पहिले पनि थियो । त्यतिबेला त रंगमञ्चको काम रुकेको थिएन । बास्तविक कारण के हो भने रंगकर्मीलाई रंगकर्म तर्फ डो¥याउने एउटा अगुवाको खाचो छ । अहिलेको अगुवा पहिलेको जस्तो जवर्जस्त छैन । अगुवा पोख्त भएन ।
पहिलेको र अहिलेको मिनापमा के फरक आएको छ ?
पहिलेको मिनापमा आत्मियता थियो जुन अहिले खत्तम भएको छ ।
मिनाप पहिले अभियानको रुपमा काम गथर््यो र अहिले पैसाको लागि काम गर्छ भन्ने आरोप लागिरहेको छ नि ?
मान्छेले आरोप लगाउनु आफ्नो ठाउँमा हो । मिनाप पैसा उन्मुख भईदिएको भए आज नाटक घर बनिसकेको हुन्थ्यो । होला, कुनै कुनै व्यक्ति मिनापको आवरणमा पैसा कमाइराखेको होला तर समग्रमा मिनापले फाइदा उठाइरहेको छैन ।
महेन्द्र मलङिया गइसकेपछि मिनापको रौनक पनि गैइसकेको अनुभुति त भइरहेको छ नि ?
मैले त भनेकै हो । त्यस्ता महान पुरुष जो अगुवा हुनुहुन्थ्यो जनकपुरबाट गएपछि मिनापको पनि रौनक घटेकै हो । के हुन्छ कुनै काममा अगुवा आफै रमेपछि अनुयायी पनि सँगसँगै रम्न थाल्छन । तर, त्यसको कमी हामीले पनि महसुस गरिरहेका छौं ।
तपाईहरु अब वरिष्ठ रंगकर्मी भइसक्नु भएको छ । मलङिया सरको विकल्प तपाईहरुमध्ये कोइ एक अगाडी आउनु पथर््यो नि ?
समयको चक्र हो । कोइ न कोई आउँछ । अहिलेको समय मिनापको लागि दुखदायी हो । रंगमञ्चको लागि पनि दुखदायी हो ।
अरु नयाँ मान्छेहरु किन जुडिरहेका छैनन्, नाटकमा ?
नाटकको वातावरण बनेको छैन ।
नाट्य महोत्सव हुँदा जस्तो सुकै प्रतिकुल परिस्थितिमा पनि सयौं दर्शक त हुन्छन । यो भन्दा कस्तो वातावरण चाहियो तपाईलाई ?
दर्शक त एकदम छ । रंगमञ्चलाई माया गर्ने दर्शकको कमी छैन जनकपुरमा । दर्शकबाट कुनै सिकायत छैन । नाटक गर्ने रंगमञ्चको जुन समुहहरु छन, तिनीहरु बीच पनि समन्वय हुन सकिरहेको छैन ।
रंगमञ्चमा महिला पात्रहरुको पनि वृद्धि हुन सकिरहेको छैन । समाजले आफ्ना छोरीलाई रंगमञ्चमा किन जान दिइरहेको छैन ?
होइन महिला पात्रको अभाव छैन । महिलाहरुमा अभिनय गर्ने उत्सुक्ता वढी नै छ । अभिभावक पनि आप्mनो छोरीलाई रंगकर्मी बनाउन चाहन्छन् । मात्र के हो भने विश्वासको आवश्यकता छ । विश्वासिलो मान्छे भएपछि छोरीलाई पनि रंगमञ्चमा पठाउन अभिभावक हिचकिचाउँदैनन । अहिले पनि १० देखि १२ वटा महिला रंगकर्मीहरु जनकपुरमा छन ।
यूवा पुस्तालाई पनि रंगमञ्चमा जोड्न सकिएन नि ?
यूवा पुस्तालाई रंगमञ्चमा ल्याउने संस्कार नै गलत भयो । पहिले यूवा पिढी नाटकमा आउँदा नाटक सिक्न र समर्पणका लागि ल्याइन्थ्यो । आज यूवा पिढी पैसा कमाउन भनेर नाटकमा आउन त आउँछन तर पैसा नदेखेपछि टिक्दैनन । हामीले अनिल चन्द्र झा, प्रकाश झा, विष्णुकान्त मिश्र जस्ता यूवालाई ल्याएकै हो । तिनीहरु किन स्थापित भयो भने तिनीहरुमा नाटक खेल्ने इन्टरेष्ट थियो, पैसा कमाउने उद्देश्य थिएन ।
तपाईहरुको नाटकमा खासै परिवर्तन नआएको दर्शकको गुनासो पनि छ नि ?
हैन परिवर्तन आएको छ । जस्तै ‘बुधियार छौरा आ राक्षस’ नाटकमा हामीले परिवर्तन ल्यायौं । त्यसैगरी हामीले दिल्लीमा भएको मलङिया नाटय महोत्सवमा पनि मन्चनगरेको नाटक ‘ओकरा आँगनक बारह मसा’ मा पनि परिवर्तन भएकै हो । विराटनगरमा प्रर्दशन भएको ‘एक छल गदहा’ मा पनि परिवर्तन भएको छ । विस्तारै हुँदैछ । नाटकको वातावरण बनेपछि आधुनिक तरिकाले नाटक मन्चन हुनेछ ।
नाटकको वातावरण नबन्नुमा मिनापको वर्तमान नेतृत्व कति जिम्मेवार छन ?
त्यो त समाजले हेर्ने हो । समाजले नै मुल्याङकन गरिरहेका छन कि मिनापको कुन नेतृत्वमा के थियो र अहिले के भईरहेको छ ।
के नयाँ नयाँ नाटक नलेखिदा पनि तपाईहरुलाई अप्ठ्यारो भएको हो ?
नयाँ नाटक नलेखिनु नै सबै कारण होइन । वातावरण बन्यो भने जतिबेला पनि नाटककै चर्चा हुनथाल्छ । र, जनकपुरमा खस्किएको नाटकको गति फेरी बढ्ने छ । त्यसपछि नयाँ नाटकहरु पनि लेखिन थालिनेछ ।
तपाई जातिको हिसावले हजाम हो र जनकपुरमा सैलुन खोली हजामत पनि गर्नुहुन्छ । नाटक खेलेकै कारण समाजवाट तपाईले कस्तो प्रतिकृया पाउनु भएको छ ?
समाजले मलाई धेरै ठुलो सम्मान दिएको छ । त्यसको कारण नाटक मात्र हो । समाजले दिएको इज्जत प्रतिष्ठा मेरोलागि धेरै ठुलो कुरा हो । हजाम जनकपुरमा धेरै छन तर म अभिनेता भएकै कारण समाजले मलाई सम्मान दिएको छ ।
जनकपुरको कलाकारले मञ्चन गर्ने नाटक राष्टिूय अन्तराष्टिूय मञ्चमा कस्तो स्थान बनाउन सफल भएको छ ?
काठमाडौ होस वा दिल्ली जुन सुकै ठाउँमा जनकपुरका कलाकारद्वारा अभिनित नाटकलाई सबैले लोहा मानेका छन । जनकपुरका कलाकार खास गरी मिनापका कलाकार नाटकमा आफ्नो जीवन नै दाउमा लगाउँछन । त्यसकारण अन्य क्षेत्रका नाटक भन्दा मिनापको नाटक उत्कृष्ट हुन्छ । आधुनिक रंगमञ्चको हिसावमा लाइटिङ र टेक्निकल कुरामा पछाडि परेपनि अभिनयको मामलामा मिनापका कलाकार अग्रस्थानमा छन ।
नाटकमा तपाई स्थापित हुनुमा श्रेय कसलाई दिनुहुन्छ ?
महेन्द्र मलङिया सर । अहिले उहाँभन्दा पनि केही आधुनिकता र नयाँपन नाटकमा जुन आएको छ त्यसमा रमेश रञ्जनको धेरै ठुलो भुमिका र योगदान छ । र, नाटकलाई अगाडिसम्म लैजाने क्षमता पनि छ, रमेश रञ्जनमा ।
नाटकबाट रोजीरोटी पनि चल्दैन भने किन मान्छे यसप्रति आकर्षित हुने ?
जनकपुरमा कहिलेपनि नाटक मुल रोजगारीको विषय बनेन । म फुल टाइमर हजाम हो । रोजीरोटीको लागि मैले सैलुनमा मान्छेको कपालकाटेर पैसा कमाउँछु । त्यसरी नै सबै जना अन्य कामहरु गरेर पैसा कमाउँछन । र, नाटकलाई एउटा अभियान र समर्पणको रुपमा लिएकै कारण सबैको रोजीरोटी पनि चलेको छ र नाटक पनि चलेको छ ।
तपाईले धेरै नाटक खेल्नुभएको छ । ती मध्ये कुन नाटकको कुन पात्र तपाईको लागि सर्वोत्कृष्ठ हो ?
मैले करिव ५० वटा फरक फरक नाटकको ५सय भन्दा वढी मञ्चन गरिसकेको छु । नाटकको सबै पात्रको अभिनय राम्रै हुन्छ । तर मैले ओरिजनल काममा गरेको कम्पनीको अभिनय मेरोलागि सर्वोत्कृष्ठ हो ।
तपाईको समकक्षी रंगकर्मी मध्ये तपाईको कुन रंगकर्मीको अभिनयलाई सवभन्दा वढी मनपराउनु हुन्छ ?
हुन त मेरा समकक्षीहरु धेरै छन तर मेरो जोडिदारको रुपमा रमेश रञ्जनको अभिनयलाई म कहिलै विर्सन सक्दैन । हामी दुवै जनाको जोडीले गरेको अभिनयमा जीवन्तता आउँथ्यो । रमेश रञ्जनको अभिनयमा एउटा अलगै जादु हुन्थ्यो ।

मिति ः २०७०/०९/२८

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete