Tuesday, July 9, 2013

एकता पछि राजन मुक्तिको आक्रामक चेतावनी प्रहरी भन्छन ‘धम्की हावादारी’


ajay anuragi

अजय अनुरागी
जनकपुरधाम............
तराई मधेशमा हतियार उठाएका सशस्त्र समुहहरु विगत केही समय देखि निष्कृय रहेपनि हालै उनीहरुबीच भएको एकताले हिंसात्मक गतिविधिलाई तिब्रता दिने भएको छ । राजन मुक्तिको नेतृत्वमा सम्पन्न एकता पछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तीमा १५ दिन पश्चात गोडिलावार सँगै सम्पुर्ण तराई मधेसमा जनमिलिसिया नीति एवम् अत्याधुनिक हतियारले लय्स सैन्य दास्ता परिचालन गर्ने÷गराउने निर्णय गर्नुको साथै सम्पुर्ण मधेसमा नेपाल सरकारको स्थापित नेपाल पुलिस, सशस्त्र क्याम्पको वरिपरि कम्तिमा दुईसय मिटर भित्र वसेको बस्ती, टोला, मौहल्ला र घर १० दिन भित्र खाली गर्न जनसमुदायसँग आग्रह तथा आह्वान गरिएको छ । हिजोसम्म मधेसमा खुल्ला राजनीति गर्ने मधेस केन्द्रित राजनीतिक दलहरुलाई टारगेट नगरिएपनि अब आगामी दिनमा तिनीहरु विरुद्ध पनि आक्रामक कारवाही गर्ने चेतावनी विज्ञप्ती मार्फत दिइएको छ ।
तराईमा मात्र भूमिगत रूपमा सक्रिय एक दर्जन सशस्त्र संगठनबीच एकता भएको छ । गत अषाढ १ गते देखि तिन चरणमा भारत बिहारको अज्ञातस्थलमा भएको एक साता लामो छलफलपछि उनीहरूबीच एकता भएको हो । एकीकृत संगठनको नाम जनतान्त्रिक तराई मुक्ति मोर्चा राखिएको छ । साताव्यापी मोर्चाको अध्यक्षमा  राजन मुक्ति चुनिएका छन् । बैठकमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा पनि सहभागी थियो । बैठकमा १३ वटा समूह भए पनि एकता प्रक्रियामा भने गोइत सहभागी नभएको बताइएको छ । एकिकृत हुने समुहहरुमा भाष्कर मुक्ती नेतृत्वको तराई कम्युनिष्ट पार्टी, प्रशान्त नेतृत्वको तराई राष्टिूय मुक्ती मोर्चा, जीवन मधेशी नेतृत्वको मधेशी मुक्ती टाइगर्स, विप्लव नेतृत्वको तराई संयुक्त जनतान्त्रिक पार्टी, सञ्जय त्यागी नेतृत्वको क्रान्तिकारी मधेशी मुक्ती मोर्चा, दिवेश  नेतृत्वको तराई मधेश आर्मी, अभिनव चौधरी नेतृत्वको तराई मुक्ती मोर्चा, करण सिंह नेतृत्वको तराई मधेश जनतान्त्रिक पार्टी, भैरव मधेशी नेतृत्वको तराई मधेश बागी, भैरव थारु नेतृत्वको तराई मधेश गणतान्त्रिक सेना र रुद्र बिद्रोही नेतृत्वको मधेश रक्षा दल एकिकृत भएको अध्यक्ष राजनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा तराई केन्द्रीत दलहरु मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल र सदभावना पार्टीलाई सात दिन भित्र पार्टी कार्यालय बन्द गर्न धम्की दिएकोछ ।
मंसिर ४ गते आव्हान गरिएको संबिधान सभाको चुनाव बिथोल्न सकृय भएर लाग्ने जनाउदै विज्ञप्तिमा तराइमा रहेका प्रहरी र सेनाहरुलाई १५ दिन भित्र तराई छाडन भनिएकोछ । राजन मुक्ती नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चामा थप १२ वटा समुह विलय भएको जनाइएपनि जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ती मोर्चा, ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा लगायतका संगठनहरुको कुनै प्रतिकृया सार्बजनिक भएको छैन । चुनाव बिथोल्न सशस्त्र समुहहरु एकिकृत भएपछि सुरक्षा सतर्कता उच्च बनाइएकोछ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह) यसअघि २६ पुस ०६५ मा सरकारसँग वार्तामा बसेको थियो ।
एकीकृत समूहहरूबीच ४ मंसिरका लागि घोषित दोस्रो संविधानसभाको चुनाव बिथोल्ने, तराईमा सक्रिय अन्य सशस्त्र संगठनलाई पनि एकताको आह्वान गर्ने सहमति गरेका छन् । मोर्चाले अघिल्लो संविधानसभा चुनावमा सहभागी भएर सरकारमा गएका उपेन्द्र यादव, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवलगायतलाई मधेसको ‘गद्धार’ भन्दै उनीहरूका कार्यक्रम बहिष्कार गर्ने जनाएको छ ।
    त्यस्तै, मधेसी दलहरूले तराईमा राखेका कार्यालय तत्काल खाली गर्न पनि मोर्चाले चेतावनी दिएको छ । मोर्चाको बैठकले मधेसमा रहेका प्रहरीचौकी तथा सशस्त्र प्रहरीका शिविर १५ दिनभित्र खाली गर्नसमेत अल्टिमेटम दिएको छ । ती चौकीको दुई सय मिटरवरिपरि रहेका बस्ती १० दिनभित्र खाली गर्न पनि मोर्चाले चेतावनी दिएको छ । १५ दिनपछि तराईमा सशस्त्र गतिविधि तीब्र बनाउने निर्णय पनि बैठकले गरेको मोर्चाका अध्यक्ष राजन मुक्तिले टेलिफोनमा बताए ।
    शान्तिवार्तामा नआएका सशस्त्र समूहले यसअघि संविधानसभा निर्वाचनको विरोध गर्ने तयारी गरेका थिए । आफ्नो शिथिल बनेका जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूह, अखिल तराई मुक्ति मोर्चा गोइत समूह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा नागेन्द्र पासवान ज्वालासिंह समूह, मधेसी मुक्ति टाइगर्स राजनप्रताप सिंह समूहलगायतका संगठनले निर्वाचनको विरोध गर्ने तयारी गरेका थिए ।
तराईमा सक्रियमध्ये पाँच सशस्त्र संगठनले भने सरकारसँग वार्ता गरी हतियारसमेत बुझाएका छन् । ६ वटा संगठन भने शान्तिवार्तामा आएर सरकारसँग सहमति गरेका छन् । हतियार बुझाउने संगठनहरूमा जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी भगत सिंह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह, संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा पवन समूह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा कौटिल्या समूह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा विनोद चौधरी समूह छन् ।
यसैगरी वार्तामा बसेर सहमति गर्नेहरूमा खम्बुवान मुक्ति मोर्चा (संयुक्त), तराई जनतान्त्रिक पार्टी मधेस (वीरेन्द्र साह), तराई कोब्रा (शिवा समूह), माओवादी कम्युनिस्ट केन्द्र नेपाल, जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह), संयुक्त जातीय मुक्ति मोर्चा नेपाल छन् । केही संगठन भने वार्तामा बसे पनि सहमतिमा आएका छैनन् ।
सशस्त्र समुहको चेतावनी हावादारी ः प्रहरी
उक्त सशस्त्र समुहहरुले आक्रामक चेतावनी दिएपनि स्थानीय प्रहरी प्रशासनले त्यसलाई हावादारी भनी प्रतिकृया दिएको छ । धनुषाका प्रहरी उपरीक्षक बसन्त कुमार पन्त भन्छन,“भुमिगत समुहहरुले मिडियामार्फत दिएको धम्किबाट डराईहाल्नुपर्ने, आतिहाल्नुपर्ने अवस्था भने छैन । यद्यपि जनकपुरमा व्यापक प्रहरी परिचालन गर्नुका साथै तिनीहरुलाई निस्तेज गर्न सुरक्षा रणनीति बनाईसकेका छौ । भुमिगत समुहहरुमाथि प्रहरीको संयुक्त टोलीले निगरानी राख्छ, संभावित ठाउँमा चेक जाँच गर्ने , नाकाबन्दी गर्ने, काउन्टरपार्टसँग समन्वय गर्ने अभियान सञ्चालन गर्छौ ।”
    कुनै चार जना व्यक्ति मिलेर कसैलाई घरबाट जाउ भन्दा खेरी जानु पर्ने अवस्था रहदैन भन्दै पन्त थप्छन,“जनता र प्रहरी बीचको निरन्तर समन्वय र सहयोगबाट ती अपराधीहरुलाई पक्राउ गरी कानुनको कठघरामा उभियाई कारागारमा पठाउँछौं । अपराधीले अपराध गर्न सक्छ तर त्यस अघि नै हामी सम्पुर्ण सुरक्षा व्यवस्था मिलाउन प्रतिवद्ध छौ ।” पन्तका अनुसार धम्कि दिने सशस्त्र समुहहरुमा कुनै दम छैन, संगठन नै शुन्य अवस्थामा छ, एक जनाको एउटा संगठन छ, यिनीहरु नितान्त अपराधीक गतिविधिमा लागेका छन कुनै समुह छैनन । ती अपराधीक समुहहरुले भारतमा वसेर एक आध घटना गराईराखेको भएपनि तिनीहरुको पहिचान नेपाल प्रहरीले गरिसकेको हुनाले काउन्टरपार्टसँगको नियमित सम्पर्क र समन्वय स्थापित भएकै कारण पनि कुनै पनि बेला तिनीहरुलाई भारतमै छिरेर भएपनि पक्राउ गर्न सफल हुने धनुषाका प्रहरी उपरीक्षक पन्तले दावी गरेका छन । त्यसैगरी महोत्तरीका प्रहरी उपरीक्षक पवन प्रसाद खरेल भन्छन,“ ती समुहहरु भारतीय क्षेत्रमा वसेर मिडियालाई प्रयोग गरी प्रचारवाजी गरेर जनतामा खौफ पैदा गर्न चाहन्छन । एकता भएको भनिएको भुमिगत समुहहरुको सक्रियता देखिएको छैन र जनसमर्थन पनि छैन ।” राजनीतिक लक्ष्य देखाइए तापनि उनीहरु विसुद्ध रुपमा अपराधी व्यक्ति हुन, तिनीहरुलाई पक्राउ गर्नका लागि हामीले भारतीय प्रहरीसँग दिनहुँ समन्वय गरिराखेका छौ, भारतीय क्षेत्रमा लुकिछिपी बस्दै आएका ती अपराधीक समुहहरुको नेतृत्वको सेल्टर समेत लोकेट गरिसकिएको हुनाले केही दिनमै हामी तिनीहरुलाई पक्राउ गर्न सफल हुनेछौ, महोत्तरी प्रहरी प्रमुख खरेलको दावी छ ।
विभाजित तराई कम्युनिष्ट पार्टी
    १२ अषाढ २०७० मा भाष्कर मुक्तिले जारी गरेको प्रेस विज्ञप्तीमा तराईमा कम्यूनिष्ट पार्टीको पोलिट व्युरो कमिटिको आकस्मिक वैठकबाट गरिएको निर्णयमा केन्द्रित अध्यक्ष डा.मनोज मुक्ति, ‘विवेक’ लाई पोलिट व्यूरोको पूर्ण बहुमत तथा केन्द्रित कार्य समितिको पूर्ण सहमतिले सम्पुर्ण जिम्मेवारी तथा पार्टीवाट वर्खास्त गरिएको उल्लेख छ । १५ भर्दौ २०६८ मा तत्कालिन छुट्टा(छुट्टै अस्तित्वमा रहेका मधेसका विभिन्न ९ वटा संगठनहरु बीच जुन शर्तका साथ एकता गरिएको थियो त्यसलाई आंशिक रुपले पनि तत्कालिन अध्यक्षले कार्यान्वयन नगरी गैर जिम्मेवारी, असमर्थता प्रदान गरेकाले उनलाई वर्खास्त गरिएको उल्लेख छ ।
     मधेस विरोधी कु(चरित्रले ओत प्रोत एवं नेतृत्व क्षमताविहिन व्यक्ति भएको ठहर गर्दै विज्ञप्ती जारी गरिएकै मितिले भाष्कर मुक्तिलाई राष्टिूय संयोजक नियूक्त गरिनुका साथै ३० दिन भित्र पार्टीको नयाँ संगठनिक संरचना शैन्य संरचना, पार्टीको दुरगामी रणनीति तयार गर्नका लागि राष्टिूय महाधिवेशन गर्ने निर्णय गरिएको उल्लेख छ । राष्टिूय महाधिवेशनका साथै पार्टीको नयाँ कार्य दिशा, योजना निर्माणका एकलव्य मुक्तिको संयोजकत्वमा पोलिट व्यूरो सदस्यहरु अंकित, आजाद, विरु, अविरल, विशाल, विदुर, वैभव, प्रवेश सम्मिलित ९ सदस्यीय समिति गठन गरिएको भाष्कर मुक्तिद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
मनोज मुक्तिको खण्डन
भाष्कर मुक्तिले तराई कम्यूनिष्ट पार्टीको अध्यक्षबाट मनोज मुक्तिलाई वर्खास्त गरेको भनेर प्रेस विज्ञप्ती जारी गरेको एक दिन पछि १३ अषाढ २०७० मा मनोज मुक्तिले विज्ञप्ती जारी गर्दै भाष्कर मुक्तिलाई नै कारवाही गरी  पार्टीको साधारण सदस्यवाट समेत निष्काशन गरेको जनाइएको छ ।
    पार्टीको संगठन, उद्देश्य, लक्ष्य जनभावना विपरित निहित स्वार्थपुर्ति ऐयासी लगायतको कुकृत्यमा ओतप्रोत भई व्यापक लुट खसोट, भ्रष्टाचार, आर्थिक अनियमितता, मनपर्दी गरेको कारण तराई कम्यूनिष्ट पार्टीको तत्कालिन केन्द्रिय सदस्य महोत्तरी साँठा(२ का नेपाल प्रहरीका भुतपुर्व असई कौशल किशोर सिंहका जेठो छोरा दीपक कुमार सिंह भाष्कर मुक्ति लाई ३० दिन अघि नै पार्टीको आन्तरिक कारवाहीमा राखिएको थियो तर उनको आचरण, व्यवहार, मनोवृति, क्रियाकलाप तथा सोचमा अलिकति पनि सुधार नभएकै कारण पार्टीको आर्थिक, सांगठनिक, वैचारिक लगायत सम्पुर्ण जिम्मेवारीबाट हटाई साधारण सदस्य समेतबाट निष्काशन गरिएको मनोज मुक्तिद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । साथै पार्टीको सबै पदाधिकारी पोलिट व्यूरो सदस्य, केन्द्रिय कमिटि सदस्य तथा सम्पुर्ण पार्टी पंक्ति यथावत रहने केन्द्रिय अध्यक्षको हैसियतमा मनोज मुक्तिले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

२०७०÷०३÷२३

No comments:

Post a Comment