Saturday, May 11, 2013

स्थानीय प्रशासनको मिलेमतोमा अवैध प्रकाशनका पुस्तक मनपरी विक्री गर्दै विक्रेताहरु,

सुभाष कर्ण
स्थानीय प्रशासनको निरिहताका कारण जनकपुरमा बैशाखको प्रारम्भै देखि पुस्तक विक्रेताहरुको कालाबजारी बढदै गएको छ । उनीहरुले अवैध प्रकाशन र दर्ता नै नभएका आफ्नै प्रकाशन तथा विक्रेता उल्लेख गरी किताबहरुमा मनपर्दी मूल्यमा बेचेर मालामाल भइरहेका छन् । विभिन्न छापाका प्रकाशनहरुले मनमानी रुपमा पुस्तकमा मूल्य निधारण गरी विक्री वितरण गर्दै आएकोमा नेपाल सरकार शिक्षा मन्त्रालयका पाठयक्रम विकास केन्द्रले गत मंसीर महिनामै निजी प्रकाशन तथा पाठयक्रम विकास केन्द्रले छापिने पुस्तकहरुको दर रेट निर्धारण गरेका थिए । तर हाल बजारमा पाठयक्रम विकास केन्द्रबाट मान्यता प्राप्त प्रकाशन तथा अवैधानिक रुपमा बजारमा छरिएका प्रकाशनहरुले मनमानी रुपमा सरकारले तोकेको मूल्यलाई लत्यांउदै पुस्तकमा चर्को मूल्य अभिभावक तथा विद्यार्थीहरुसंग असुल गरिरहेका छन्  । पाठयक्रम विकास केन्द्रले ५ हजार प्रतिसम्म छपाईका लागि मुनाफा समेत समावेश गरी निजी प्रकाशनहरुका लािग एक रंगको ९४.५० पैसा, दुईको लागि १ रुपैया, १० पैसा बहुरंगका लागि १ रुपैया ३१ पैसा प्रति पृष्ठ छपाईको दर आवरण पृष्ट समेत समावेश गरी कायम गरेको छ भने पाठयक्रम विकास केन्द्रबाट छापिने पुस्तकका लागि  एक रंगको ३५ पैसा, दुई रंगको ४० पैसा, बहुरंगको ४५ पैसाको दरले प्रतिपृष्ठले मूल्य कायम गरेको छ ।
त्यसैगरी ५ हजार प्रतिभन्दा बढी प्रति छपाईका लागि मुनाफा समेत समावेश गरी निजी प्रकाशनहरुका लािग एक रंगको ८९.२५ पैसा, दुईको लागि ९९.७५ पैसा, बहुरंगका लागि १ रुपैया १५ पैसा प्रति पृष्ठ छपाईको दर आवरण पृष्ठ समेत समावेश गरी कायम गरेको छ भने पाठयक्रम विकास केन्द्रबाट छापिने पुस्तकका लागि एक रंगको ३२ पैसा र दुई रंगको ३६ पैसा र बहुरंगको ४५ पैसाको दरले प्रतिपृष्ठले मूल्य कायम गरेको छ ।
तर बजारमा पाइने प्रकाशन मध्ये युनाइटेड नेपाल पब्लिकेशनले कक्षा ४ को मोरल साइन्स भन्ने ५१ पृष्ठको किताबमा पाठ्यक्रमले तोकेको दर अनुसार करीब ५० रुपैया हुनुपर्नेमा ११० रुपैया मूल्य निर्धारण गरी विक्री गर्दे आइरहेका छन् ।
त्यसैगरी जनकपुरबाट प्रकाशनहुने क्याम्पस पब्लिकेशनले कक्षा ४ को ८८ पृष्ठको व्याकरण विज्ञानमा ७९ रुपैया हुनुपर्नेमा १ सय २५ रुपैया, युनिक यजुकेशनल पब्लिकेशनबाट प्रकाशन भएका कक्षा ५ को २ सय ८ पृष्ठको गणित किताबमा १ सय ७५ रुपैयाको सट्टा २ सय ६० रुपैया, एकता बुक्स प्रकाशनले कक्षा ८ को १०८ पृष्ठको लेखा विषयमा ९५ रुपैयाको सट्टा १ सय ५० रुपैया र नेपाल साहित्य प्रकाशनले क्लास १ को ४८ पृष्ठको कर्शिव राइटिंग किताबमा ४२ रुपैया हुनुपर्नेमा ७० मूल्य कायम गरी अभिभावक तथा विद्यार्थीहरुसंग मनमानी ढंगले अवैधानिक रुपमा सरकारको निर्देशनलाई लत्याउंदै बढी पैसा असुल गर्दै आइरहेका छन् । यति मात्रै प्रकाशन होइन दर्जनौ प्रकाशनहरु छन् जुन तोकिएको मूल्यभन्दा बढी मूल्यमा पुस्तक विक्री वितरण गर्दै आइरहेका छन् । तर सम्बन्धित निकायले झारा  टारने रुपमा कारवाही गरिने भन्ने सहितका चेतावनी दिई पन्छिदै आएका छन् । पटक पटक सम्बन्धित निकायले छापामारी गरेपनि हालसम्म कुनै कारवाही गर्न सकेको छैन ।
    त्यतिमात्र होइन जनकपुरका जनक पुस्तक भण्डार समेतले सोल्ड बाइमा आफ्नो प्रकाशन बिनाकै कक्षा नर्सरीदेखि ५ सम्मका कलर डूोईंग लगायतका पुस्तक प्रकाशन गरी दोब्बरभन्दा बढी मूल्य असुल गरिरहेका छन् जनक पुस्तक भण्डारले २६ पृष्टको कलर डूोइग पुस्तकमा ३० रुपैया मूल्य हुनुपर्नेमा ८० रुपैया मूल्य कायम गरी विक्री वितरण गर्दै आइरहेका छन् । जनक मात्रे होइन, भानु पुस्तक, माा पुस्तक, वैदेही पुस्तक, विद्यार्थी पुस्तक सहितका पुस्तक पसलेहरु फर्जी रुपमा प्रकाशन खडा गरी विभिन्न कक्षाका पुस्तकहरु थोक र खुद्रा रुपमा विक्री वितरण गर्दै आइरहेका छन् । त्यति मात्र होइन यी स्थानीय पुस्तक पसले माफियाहरुले चर्चित प्रकाशनका पुस्तक आभाव रहेको बेलामा कमीशन कम दिने प्रकाशनहरुको पुस्तक स्केनिंग गरी आफै छपाइ गरेर विक्री वितरण, प्रकाशनले तोकेको मूल्यमै स्टीकर टांसेर बढी मूल्य र कालो मसी पोतेर मनमानी दर कायम गरी समेत पुस्तक बेच्ने गरेको विगतका दिनहरुमा देखिएको छ ।  ती पुस्तक विक्रेताहरुले मोटो रकम असुल गर्नका लागि भारतीय महंगो अवैध प्रकाशन वा आफै छपाएर त्यसमा विक्रेता आफ्नो पसलको नाम अफसेटमा छपाई र स्क्रीन प्रिन्ट गरी बेचेर  विद्यार्थी तथा अभिभावकलाई कंगाल बनाउंदै गएका छन् । यहाासम्म कि कतिपय प्रतिष्ठित विद्यालयहरु मोनास्टिक, डेफोडिल्स लगायतले गौतम वुद्ध भारतकै रहेको दावी गरिएको सिम्फोनी पुस्तक पढाइरहेका छन,  तर न त प्रशासनलाई त्यो कुराले छोएको छ न त अभिभावक र विद्यार्थीलाई नै ।
एलकेजी, नर्सरीदेखि माथि कक्षासम्मका कलर डूोइंग, अंग्रेजी ग्राफ र टूान्सलेशन लगायतका किताबमा प्रकाशक उल्लेख नै नभएका पुस्तकहरुमा विक्रेतामा आफ्नो नाम पसलको नाम लेखाएर जनक पुस्तक भण्डारले खुलेआम रुपमा राजश्व छली निमुखा अभिभावक तथा विद्यार्थीसंग मुश्किलले २० रुपैयादेखि ५० रुपैया पर्ने किताबको ८० रुपैयादेखि २ सय रुपैयासम्म लिने गरेको छ । कलर किताब मात्रै नभई अन्य गणित, विज्ञान लगायतका अन्य किताबहरु भारतको विभिन्न प्रेसमा छपाएर प्रकाशक वा प्रकाशन उल्लेख नगरी खाली ठाउंमा विक्रेतामा आफ्नो नाम छपाएर बेच्ने गरेको पाइएको छ । सरकारले ब्लैक एण्ड व्हाइटको ३५ पैसा र कलर पृष्ठको ८० पैसा प्रति पृष्ठ मूल्य तोकेको कारण कम मूल्य पर्ने पुस्तकमा कम कमाई हुने देखिएको अवस्थामा पुस्तक पसलेहरुले भारतीय अवैध प्रकाशन, फोटो कपी गरी सस्तोमा छपाई गरेर, प्रकाशकको ठाउंमा आफ्नो पसलको विक्रेताको रुपमा नाम दिएर कालाबजारी गर्न गरिरहेको छन् ।
त्यसैगरी वैदेही पुस्तक भण्डार, पशुपति पुस्तक भण्डार, भानु पुस्तक भण्डार, सहितका आधा दर्जनभन्दा बढी पुस्तक विक्रेताहरुले प्रकाशक नभएका, उल्लेखित मूल्यमा कालो मसी लेपेर वा त्यसमा स्टीकर टांसेर आफू अनुकुल मनपर्दी मूल्य तोकेर दोब्बर मूल्यसम्म ग्राहकसंग असुल्ने गरेको श्रोतको भनाई छ ।  ती माफिया पुस्तक पसलहरुले बोर्डिंग स्कूललाई २५ प्रतिशतसम्म कमीशन दिएर विद्यार्थी तथा अभिभावकलाई बाध्य बनाउंछ उहांकै पुस्तक पसलमा किताब किन्न । कमीशन दिने पुस्तक पसलेहरु छनौट गरेर दिएका प्रकाशनका किताब सम्बन्धित बोर्डिंग स्कूलवालाहरुले आफ्नो स्कूलमा पढाउने गरेको कारण अरु पसलमा त्यो पुस्तक भेटिदैन र विद्यार्थी तथा अभिभावकलाई महंगो मूल्यमा त्यही पसलबाट किताब किन्न बाध्यता हुन्छ ।
सीडीसी (केन्द्रिय पाठ्यक्रम विकास केन्द्र) बाट मान्यता प्राप्त प्रकाशन तथा वैद्यानिक रुपमा दर्ता भएका प्रकाशनहरुले कम मूल्य राखेर पुस्तक विक्रेताहरुलाई कम कमीशन दिने गरेको कारण तिनीहरुको पुस्तक नपढाएर आफूले राजेको प्रकाशन बेच्नका लागि लाखौ रुपैया बोर्डिंग स्कूलका संचालकहरुलाई घुस दिने गरेको समेत पाइएपनि स्थानीय प्रशासनले कारवाही नगर्नुले निरिहता र असक्षमताको परिचय दिएका छन् ।
यता आफ्नै प्रेस राखेका मजदूर पुस्तक भवनले मात्र २/३ किताब दर्ता गराएर विभिन्न कक्षाका विभिन्न विषयका गेस पेपर, गाइड, सोलुसन, इङिग्लस ग्रामर तथा टूान्लेसन लगायतका दर्जनौ किताबहरु सम्बन्धित निकायमा दर्ता नै नगराई आफ्नै प्रकाशन र विक्रेताको नाम दिएर किताबहरु बेच्ने गरेको पाइएको छ । मजदूर पुस्तक भवनले स्थानीय लेखकलाई न्यून पारिश्रमिक दिएर इग्लिश टूान्सलेश स्टेप बाइ स्टेप, योग इग्लिश इजी टूान्सलेशन, ग्रामर र कक्षा १० सम्मका विभिन्न विषयका गाइड छापेर बेच्ने गरेको श्रोतले जनाएको छ ।
छापामारीको नाउमा प्रशासनको झारा टार्ने काम
एक पटकको छापामारीबाट दोषी पाइएका पुस्तक पसलेहरुलाई कारवाही हुन नसक्दै पुन: दोश्रो त्यही पुस्तक पसलहरुमा  गत बुधवार स्थानीय प्रशासनले छापामारी गरेको छ ।
नेपाल पाठ्यक्रम विकास केन्द्रले तोकेको तोकेको मूल्यभन्दा बढी मूल्यमा पुस्तक विक्री र केन्द्रबाट मान्यता प्राप्त नगरेका निजी प्रकाशनहरुले छाडा रुपमा अवैधानिक तरिकाले पुस्तक विक्री वितरण गरिरहेको भन्ने आवाज पुन: उठन थालेपछि प्रक्रिया पुरा गर्नका लागि जनकपुरका विभिन्न पुस्तक पसलमा अनुगमन गरी छापामारी गरेका छन् ।
    जिल्ला प्रशासन कार्यालय धनुषाका नन्दकिशोर प्रसाद यादवको नेतृत्वमा गएको एक टोलीले जनकपुरको चर्चित ६ वटा पुस्तक पसलमा छापामारी गरेका छन् । ती पुस्तक पसलेहरुले पाठ्यक्रम विकास केन्द्रले मान्यता नदिएका र जिल्लामा दर्तै नभएका पब्लिकेशनहरुका निर्वाध रुपमा पुस्तक विक्री वितरण गर्दै आइरहेको पाइयो । अनुगमनको क्रममा सो टोलीले मान्यता प्राप्त नगरेका तथा प्राप्त गरेका समेतका प्रकाशनहरुले पाठ्यक्रमले तोकेको मूल्यभन्दा दोब्बर दर रेटमा पुस्तक विक्री वितरण गर्दै आइरहेको यस पटकको छापामारीमा देखापरेको छ ।
    अनुगमन टोलीले जनकपुरका चर्चित थोक विक्रेताका रुपमा रहेका भानु पुस्तक भण्डार, जनक पुस्तक भण्डार, मजदूर पुस्तक भवन, वैदेही पुस्तक भण्डार, र जनता पुस्तक भण्डार लगायतका पुस्तक पसलहरुमा छापामारी गरेका छन् । छापामारीको क्रममा ती पुस्तक पसलहरुले अवैधानिक प्रकाशनका पुस्तक चर्चित बोर्डिंग स्कूल मोनाष्टिक आवासीय उच्चमावि र सिद्धार्थ शिशु सदन बोर्डिंग स्कूल लगायतकाहरुले प्रकाशनहरु तथा विक्रेताहरुसंग कमीशन लिई पठन पाठन गराउंदै आएको कुरा खुलासा भएको कुरा अनुगमन टोलीमा सहभागी अभिभावक संघ धनुषाका अध्यक्ष उदयचन्द्र साहले बताए । ती पुस्तक पसलहरुमा जनकपुरबाट प्रकाशित क्याम्पस पब्लिकेशन प्रा.लि., काठमाडौको मानव प्रकाशन, अल ईन अल, मास्टर माइण्ड र भारतीय प्रकाशनका सुल्तान चन्द एण्ड सन्स लगायतका प्रकाशन पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त नरहेको र मापदण्ड विपरित मूल्य निर्धारण गरी चर्को मूल्यमा पुस्तक विक्री वितरण गरी अभिभावक तथा विद्यार्थीहरुसंग अवैध रकम असुल गरिरहेको अनुगमनको क्रममा देखा परेको भन्ने कुरा समेत उनले बताए ।
    अनुगमन टोलीले अवैध प्रकाशनका पुस्तक विक्री गर्ने पुस्तक पसलहरुबाट नमूनाको रुपमा पुस्तक जफ्त गरेर लगेको छ । अनुगमन टोलीलका नेतृत्वकर्ता यादवले अवैध प्रकाशनका पुस्तक विक्री गरेर कालाबजारी गर्ने पुस्तक पसलहरुमाथि के कस्तो कारवाही हुन्छ भन्ने कुरा छलफलपछि टुंगो लाग्ने जानकारी दिए । सो अनुगमन टोलीमा अभिभावक संघ धनुषाका अध्यक्ष साह, जिल्ला शिक्षा कार्यालय धनुषाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधि सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो । गत दुई साता अघि पनि छापामारीको क्रममो ती पुस्तक पसलहरुमा मापदण्ड विपरित दर रेट, स्टीकर टांस गरी पुस्तक पसलेहरुले मनमानी रकम लिइरहेको, प्रकाशनले निर्धारण गरेको दररेटमा कालोमसी लेपेर बढी रकम लिनु, अवैधानिक प्रकाशनका पुस्तकहरु विक्री वितरण भइरहेको  फेला परेको थियो । त्यस बेलापनि पुस्तकहरु नमूनाको रुपमा जफ्त गरिएको थियो र फेरी यस्तो गल्ती दोहरयाए कारवाही हुने चेतावनी दिइएको थियो । तर हालसम्म ती पुस्तक पसलेहरुमाथि के कस्तो कारवाही भयो त्यसको अतोपतो छैन । यस पटकको छापामारीमा पनि ती पुस्तक पसलहरुबाट अवैध प्रकाशनका पुस्तकहरु विक्री वितरण गरिरहेको पाइएको छ तर कारवाही हुन्छ भन्नेमा शंका नै छ । यस पटकको छापामारीबाट दोषी पाइएका पुस्तक पसलेहरुमाथि कारवाही भएन भने अनुगमन र छापामारीको कुनै अर्थ नै नरहने नागरिक समाजका अगूवाहरुको भनाई छ । यी पुस्तक पसले माफियाहरुले कानूनलाई मिच्दै स्थानीय प्रशासनको आंखामा धुलो झोंकेर आफ्ना फर्जी प्रकाशनका किताबहरु कुन कुन बोर्डिंग स्कूलमा चलाई रहेका छन् भन्ने कुरा बोर्डिंग स्कूलहरुले सार्वजनिक गरेको ओपेन लिस्टबाट जानकारीमा आएको छ । यी बोर्डिंग स्कूलहरुले कक्षागत रुपमा विषय र प्रकाशनको नाम उल्लेख गरी ओपेन लिस्ट तयार गरी विद्यार्थीहरुलाई किताब किन्नका दिने गरेको छ ।
यी पुस्तक पसले माफियाहरुको फर्जी प्रकाशन कायम गरी छापिएका किताब जनकपुरका अरु कुनै पुस्तक पसलमा पाइदैन र केही स्थानीय पुस्तक पसलेहरुले खरीद गर्न मांग गर्दा तिनीहरुसंग विक्री वितरण गर्दैन । यी फर्जी प्रकाशनको किताब पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको दरभन्दा दोब्बर तेब्बर मूल्यमा विक्री वितरण हुंदै आएको छ ।
सामुदायिक विद्यालयहरुमा पाठ्य पुस्तकको अभाव
यस क्षेत्रका धनुषा सहित ९ जिल्लाका सामुदायिक विद्यालयहरुमा पाठ्य पुस्तकको अभावका कारण लाखौ विद्यार्थी मार्कामा परेका छन् । विद्यालयहरुमा पढाई संचालन भइसक्दा पनि पुस्तक नपाउने कारणले विद्यार्थीहरु मार्कामा परेका हुन् । तर विद्यार्थीहरुलाई आएको यस प्रकारको समस्याप्रति सम्बन्धित शिक्षा कार्यालयहरु, स्थानीय प्रशासन र सम्बन्धित निकाय मौन रहेका छन् ।
जनक शिक्षा सामाग्री केन्द्र लि. र साझा प्रकाशन कार्यालयबीच बांकी बक्यौताको विवादका कारणले यस क्षेत्रका पुस्तक पसल एवं विद्यालयहरुमा पाठ्य पुस्तक नआएको कारण शैक्षिक सत्र शुरु भइसकेको एक महिना बित्न लाग्दा विद्यार्थीहरु पुस्तककै आभावमा कक्षामा बस्न बाध्य भएका छन् भने कतिपय विद्यार्थी विद्यालय जान समेत छाडेका छन् ।
सामुदायिक विद्यालयका पाठ्य पुस्तक विक्री वितरण गर्ने प्रमुख एकल विक्रेताका रुपमा रहेका साझा प्रकाशन जनकपुरका प्रमुख राजकिशोर यादवले पाठ्य पुस्तक छाप्ने अभिभारा पाएका जनक शिक्षा सामाग्रीले मांग अनुसार अनुसार पुस्तक उपलब्ध नगराएको र गोदाममा भएका केही पुस्तकहरु विद्यालयका प्रधानाध्यापकहरुले खरीद गर्न नसकेको कारण पाठ्य पुस्तकको आभाव श्रृजना भएको बताएका छन् ।
तर जनक शिक्षा सामाग्री जनकपुरका प्रमुख शम्भुप्रसाद पोखरेलले आफूहरु संग कक्षा गत हिसाबमा सबै विषयको सेट नभएपनि पुस्तकहरु पर्याप्त मात्रा रहेका छन् । साझाले केही पुस्तक खरीद गरेका छन् तर रकमको लेनदेनको कारण भएका पुस्तकहरु उपलब्ध नगराएको बताएका छन् । उनका अनुसार साझा प्रकाशन जनकपुरमाथि गत वर्षसम्मकै ३ करोड रुपैया बक्यौता रहेको छ र प्रत्येक वर्ष सहयोगका रुपमा उधारो दिइने करीब ८० लाख रुपैयाको पुस्तक उठाइसकेको छ । अब उधारोमा नदिएको कारण गोदाममा भएका पुस्तकहरु रकम आभावको कारण साझाले पुस्तक किन्न नसकेको बताएका छन् ।
    साझा प्रकाशन जनकपुरका प्रमुख यादवका अनुसार हाल साझा क्षेत्रिय कार्यालय जनकपुरमा कक्षा १ देखि ५ सम्मको सबै पुस्तक उपलब्ध छ, कक्षा ३ को मात्र नेपाली विषय छैन भने कक्षा ६ को सेटमा ३ वटा, कक्षा ७ मा ४ वटा, कक्षा ८ मा ३ वटा पुस्तक सेटमा अपुग छ । त्यसैगरी कक्षा ९ को सामाजिक पुस्तक र कक्षा १० मा नेपाली र विज्ञान विषय मात्र जनक शिक्षा सामाग्री जनकपुरले उपलब्ध गराएको अन्य बांकी विषय छपाई नभएको कारण बताउंदै उपलब्ध नगराएको भनेका छन् । उनले विराटनगर र जनकपुर दुवै क्षेत्रका एउटै प्रमुख रहेका पोखरेलले केही पुस्तक जनकपुरका लागि पठाए पनि विराटनगर पठाउने गरेको आरोप लगाए ।
    उनले गत वर्षपनि पुस्तकको रकम भुक्तान गरिसकेपनि जनक शिक्षा सामाग्रीले छपाई नभएको भनी  विभिन्न कक्षाका हजारौ थान   पुस्तक उपलब्ध नगराई रकम फिर्ता गरेको बताए । तर प्रमुख पोखरेलले यादवको कुरालाई काटदै आफू कहां पुस्तक पर्याप्त मात्रामा रहेको थियो तर साझाले खरीदै गरेनन् र पहिलादेखि नै करोडौ रुपैया बक्यौता रहेको कारण जनक शिक्षा सामाग्रीले उपलब्ध नगराएको प्रतिक्रिया दिएका छन् ।
    जनक शिक्षा सामाग्रीका निमित प्रमुख रमेश यादवले जनक सामाग्री केन्द्र जनकपुरमा कक्षा १ देखि ५ सम्मको पाठ्य पुस्तकको सबै सेट उपलब्ध छ, कक्षा ६ देखि ८ सम्म सेटमा मात्र १/२ पुस्तक कमी रहेको छ भने कक्षा ९ र १० को सबै ऐच्छिक पुस्तक, कक्षा ९ को अग्रेजी, सामाजिक र कक्षा १० को नेपाली, विज्ञान पुस्तक छन् जसमा साझाले रकम आभावको कारण केही मात्रामा पुस्तक खरीद गरेका बताएका छन् ।
साझा प्रकाशन जनकपुरले दिएको जानकारी अनुसार सो क्षेत्रिय कार्यालय धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सिन्धुली, सप्तरी, उदयपुर, खोटांग लगायतका ९ जिल्लामा पाठ्य पुस्तक विक्री वितरण गर्दै आएको छ । जसमा सिन्धुलीले गत चैत महिनामै करीब ९० प्रतिशत पुस्तक खरीद गरिसकेको छ र बांकी अन्य जिल्लाका पुस्तक विक्रेताहरुले मांग अनुसार केही पुस्तक खरीद गरेका छन् भने धनुषा र महोत्तरीमा विद्यालयहरुको मांग अनुसार खुद्रा विक्रेताहरुले मात्र १०/१५ प्रतिशत पुस्तक खरीद गरेका छन् ।
    साझा प्रकाशन जनकपुरका प्रमुख यादवले आफूहरुले मांग गरेको पुस्तक अनुसार जनक शिक्षा सामाग्रीले मात्र १०/१५ प्रतिशत पुस्तक उपलब्ध गराएको छ । तर जनक शिक्षा सामाग्री जनकपुरका निमित प्रमुख रमेश यादवले उनका कुरालाई काटदै आफूहरुले मांग अनुसार करीब ५० प्रतिशत पुस्तक उपलब्ध गराइसकेका छौ भनेका छन् । उनका अनुसार अनुमानित १८/२० लाख सेट पुस्तकमा करीब १० लाख सेट उपलब्ध भइसकेको छ । कुल मांग अनुसार महोत्तरीमा १० प्रतिशत, सर्लाहीमा १५ प्रतिशत, धनुषामा २० प्रतिशत, सिरहामा ३० प्रतिशत , सप्तरीमा ३५ प्रतिशत र सिन्धुलीमा ९० प्रतिशत पुस्तकको आपुर्ति भएको यादवले बताए ।
साझा र जनक शिक्षा सामाग्री दुवैका प्रमुखको कुरालाई हेर्दा स्पष्ट हुन्छ कि उहां दुवै बीच तालमेल र राम्रो सम्बन्ध नभएको र रकम बांकी बक्यौताका कारण यस क्षेत्रमा पाठ्य पुस्तकको कृतिम आभाव श्रृजना गरिएको छ । यसप्रति सम्बन्धित निकायले ध्यान पुर्‍याउन आवश्यक रहेको छ । 
    धनुषा र महोत्तरी क्षेत्रको सामुदायिक विद्यालयमा पाठ्य पुस्तक पुग्नै नसकेको अवस्थामा गत बिहीवार खरीद गरेको पुस्तक साझा प्रकाशन जनकपुरले जीएमको दबावमा सो पुस्तक यहां विक्री वितरण नगरी राजविराज र लहान पठाएको छ ।
    श्रोतका अनुसार साझाको जीएम ममता झा राजविराज निवासी भएको कारण उनको दबावमा परी क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख राजकिशोर यादवले सो पुस्तकहरु यस क्षेत्रमा वितरण नगरी त्यहां पठाएको साझाको एक कर्मचारीले बताए ।

No comments:

Post a Comment