Wednesday, September 4, 2013

राज्यद्वारा बेपत्ता पारिएका डा. एल.एन. झाको अवस्था अझै अज्ञात




द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपाली कांग्रेसले पञ्चायती व्यवस्था विरुद्ध सत्याग्रहको तयारी गरिरहेकै बेला २०४२ अषाढ १२ गते , २० जुन १९८५ मा नारायणहिटी दरबारको मुख्यद्धार र राष्टिूय पञ्चायतको मिटिंग हलमा बम विष्फोटन गरायो । उक्त बम विष्फोटनको जिम्मेवारी भारतको पटनामा भुमिगत रहेका नवजनवादी मोर्चाका संयोजक रामराजा प्रसाद सिंहले लिएका थिए । घटना पश्चात देशका विभिन्न ठाउंबाट सयौं मानिसलाई गिरफ्तार गरियो । कतिपय छुटे तर धुनषाका डा. लक्ष्मीनारायण झा , पदम बहादुर मोक्तान , इश्वरचन्द्र लामा , सत्यनारायण साह , सूर्यनाथ राय यादव , सप्तरीका साकेत चन्द्र मिश्र , दिलिप चौधरी , संखुवासभाका महेश्वर चौलागाइ हाल सम्म बेपत्ता नै छन । ती वेपत्ताहरुको अवस्था अझ सम्म अज्ञात नै रहेको छ । पञ्चायतकालबाट मुलुकमा प्रजातन्त्र हुंदै गणतन्त्र समेत आइसक्यो तर पनि तिनीहरुको अवस्थाबारे राज्यले औपचारिक रुपमा केही पनि भन्न सकेको छैन ।


को हुन डा. एल .एन.झा ?
धनुषाको देवडिया ८ का पिता नागेश्वर झा र आमा अन्नपूर्ण देवी झाको कोखबाट २००६ साल माघ महिनामा जेठो छोराका रुपमा जन्मीएका लक्ष्मीनारायण झा नगराईन स्थीत राजेश्वर निधि माध्यमिक विद्यालयबाट एस.एल.सी परीक्षा उतीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं गए । काठमाण्डौं अमृत साइन्स क्याम्पसबाट आइएससी प्रथम श्रेणीमा उतिर्ण भएका थिए । चिकित्सन संकायमा अध्ययनका लागि झा भारतको मुम्बई प्रस्थान गरे । दश वर्ष पछि एम.बि.बि.एस. , एम.एस. गरि गाउं फर्केका डा. एल .एन झाले २०३८ सालमा गाउंमै बजरंग मेडिकल आश्रम सञ्चालन गरि रोगीहरुको निशुल्क उपचार गर्न थाले । 
झाका प्रथम कम्पाउन्डर डेवडिहा ७ कै सत्यनारायण झा भन्छन , आंखाको उपचार बाहेक उनी सबै रोगको जांच गर्दथे । यहां सम्म कि कसैको ओपरेशन गर्नु पर्दा बिना एनेस्थेसियाकै पनि सफल शल्यक्रिया गर्नु हुन्थ्यो । सडक निर्माण शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रमा गाउंमै विकासका लागि योगदान पुरयाउने डा . झाले खिरखिरीयामा पोष्ट ओफिस हुदां हुदैं पनि आफ्नो गाउंका मानिसको सञ्चारका लागि छुटै पोष्ट ओफिस बोक्स नम्बर १५ लिएका थिए । त्यसै वर्ष सुधारिएको पञ्चायती व्यवस्थाको नारा दिएर गराईएको गाविस चुनावमा उनले आफ्ना गाउंका वडा नम्बर ७ र ८ का तर्फबाट चुनाव वहिष्कार नै गराए । त्यसपछि उनी जनकपुर आएर क्लिनिक संचालन गर्न थाले । त्यसैबेला सुधारिएको पञ्चायती व्यवस्थाको सन्दर्भमा के हामी मधेसी नेपाली हांै , सरकारी निकायको हरेक तह तप्कामा जनसंख्याको अनुपातमा हामी मधेसीको समानुपातिक सहभागिता छ लगायतका करिब ४० वटा प्रश्नहरुको प्रश्नावली बनाइएको थियो । 
संकटमोचन विद्यालयमा पढाउने शिक्षकहरु जयकृष्ण मिश्र , वैद्यनाथ मिश्र , मिथलेश मिश्र , रामेश्वर झा , महिमाचन्द्र ठाकुर लगायतका सहयोगमा उक्त प्रश्नावली तयार गरिएको थियो । हरिदेव मंडल , एलएन झा र उनका कम्पाउन्डर लगायतले दुई पृष्ठको उत्तर तयार पारे । ति उत्तर लिएर सिरहा गएका सिरहाका एक जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरे । पक्राउ परेका उक्त विद्यार्थीले एल.एन झाले उत्तर लेखेको बताएपछि झालाई भानु चौकको क्लिनिकबाट विहान ७ बजेतिर पक्राउ गरि सिरहा लगियो । उक्त घटना २०३९ साल भदौ तिरको हो । उनलाई पक्राउ गरेर लगेपछि बयानका क्रममा झाले राजा भ्रष्ट हो र बानासुरका सन्तान हुन भनेपछि बयान लेख्ने कुरै आएन । त्यसपछि उनलाई सेनाको मेजर कहां लगियो तर पनि उनको बयान फेरिएन । सात महिना पछि उनी रिहा भए । रिहा भएर जनकपुर आएर २०४० देखि २०४२ साल सम्म आमा अन्नपूर्णको नाउंमा विद्यापति चौकमा अन्नपूर्ण आश्रम नामले क्लिनिक सञ्चालन गर्न थाल्नु भयो ।
उनी आध्यात्मीक व्यक्ति पनि थिए । उनले खुलेरै त्यति बेलानै भविष्यवाणी गरेका थिए कि राजा बिरेन्द्रको वंश नाश हुने छ । राजा विरेन्द्रको राज योग नभएपनि उनी राजा भएका कारण उनका छोरा दिपेन्द्र राजा बन्नै नसक्ने उनले ठोकुवा गरेका थिए । भनिन्छ , उनी संग राजा विरेन्द्र भारतकी प्रधानमन्त्री इन्दिरा गांधी समेतको जन्म कुण्डली थियो । उनको एउटा रोचक प्रशंग के छ भने जनकपुरका ललन चौधरीले समातेको एउटा बांदरको बच्चा झाका कम्पाउन्डर मोदानन्द झालाई दिए । उक्त बांदरको हात हेरेर डा. झाले बांदर अतिनै भाग्यशाली रहेको बताउंदै यसलाई पाल्नु पर्छ भनेर रामानन्द चोक स्थित हनुमत दरबारका बाबालाई बोलाएर  बच्चा सहितको एउटा गाई दिएर पाल्न भनेका थिए । पछि गएर उक्त बांदरको तौल विश्वमै रहेको बांदरहरु मध्ये सबैभन्दा बढि तौल भएको साबित भई गिनिज बुक अफ वल्र्ड रेकर्ड मै कृतिमान स्थापित भयो । यी दुईटा कुरालाई विचार मात्र गर्ने हो भने उनले भविष्यवाणी गरेका दुवै कुरा पछि आएर सत्य भएको पाइन्छ । यता राजा विरोधी भनेर डा. झाको लोकप्रियता बढदै गएको थियो । त्यही चर्चा सुनेर भारतमा भूमिगत भई सशस्त्र संघर्षको तयारी गरि रहेका नवजनवादी मोर्चाका संयोजक रामराजा प्रसाद सिंहले उनलाई भेट गर्नका लागि बोलाए ।
हरिदेव मण्डल ( हाल एमाओवादी नेता ) , झा र उनका कम्पाउन्डर सिंहलाई भेट्न भारतको सितामढी गए । त्यहां राजाको विरुद्ध लडाई लड्न सिंहले आफूसंगै हतियार उठाउन भनेका थिए । म अहिले पनि राइफल लिएर १० किलोमिटर सम्म दौड्न सक्छु , आउं म संगै मिलेर संघर्ष गरौ भनेर सिंहले झा सामु प्रस्ताव राख्दा झाले यसो भने , हेर्नुस त्यो फलामको चक्कुमा मलाई विश्वास छैन म आध्यात्मीक मान्छे बरु तपाई पनि आफ्नो कार्यकर्ताहरुलाई हनुमान चालिसा पढ्न लगाउनुस , नैतिकवान बन्नुस र बनाउनुस । झा शान्तिपूर्ण संघर्ष चाहन्थे र उनी त्यहां बाट फर्किए । त्यसपछि सेना र प्रहरीले पनि सिंह संग भेटेर आएको खबर थाहा पाएपछि झा माथि निगरानी बढाए । त्यसैबेला २०४२ साल अषाढ १६ गते दरबारमा बम काण्ड भयो र घटनाको जिम्मेवारी सिंहले लिए । सोही घटनामा संलग्न भएको हुन सक्ने आरोपमा क्लिनिकबाटै झालाई पक्राउ गरियो । झाका बुवा नागेश्वर झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा चलाएपनि सरकारले मैले समातेकै छैन भनेर जवाफ दिएको थियो । झाका बुवा पनि समान्य मानिस थिएनन् । टंक प्रसाद आचार्यको सरकारमा उनी वन सहायक मन्त्री पनि भएका थिए । विगत ०४६ सालको आन्दोलन पछि देशमा बहुदल घोषणा भयो त्यसै क्रममा धनुषाका तत्कालिन एस .पि नारायण सिंह गुरुङ्गलाई धनुषा जिल्ला अदालतमा स्थानिय वासीले घेराउ पनि गरे तर झा अहिले कहां छन आफूलाई कुनै जानकारी नरहेको जवाफ फर्काए । झा पक्राउ परेका बेला प्रधानमन्त्री रहेका लोकेन्द्रबहादुर चन्द जनकपुर आएको बेला उनलाई पनि सोही प्रश्न गर्दा उनले पनि अनभिज्ञता प्रकट गरे । बहुदल आएपछि कृष्णप्रसाद भटराईको नेतृत्वमा सरकार बन्यो । कांग्रेसले गरेको सत्याग्रहको क्रममा समेत बेपत्ता भएकाहरु सम्बन्धि जांच गर्न गठित जनार्दन मल्लिकको आयोगले बुझाएको प्रतिवेदनमा महाराज गंज प्रहरीले डा. झालाई रिहा गरिसकेको उल्लेख गर्यो । पछि ३१ जुलाई १९९० मा  सूर्यबहादुर शाक्य संयोजक , वरिष्ठ अधिवत्ता वासुदेव ढुंगाना , डा. सच्चे कुमार पहाडी र प्रकाश काफ्ले सहित सदस्य रहेको समितिले २१ अप्रिल १९९३ मा प्रधानमन्त्री कृष्ण प्रसाद भटराईलाई बुझाएको प्रतिवेदनमा सन् १९६० ऐता २७ जना बेपत्ता भएको र बम काण्डमा पक्राउ परेका सात जना मध्ये पांच जनाको मृत्यु भईसकेको उल्लेख छ । 
बेपत्ता भएकालाई पनि शहिद सरह भट्टराई सरकारले प्रति व्यक्ति एक एक लाख रुपैंया क्षतिपूर्ति स्वरुप राहत दिने घोषणा गरेपछि झाका बुवाले पनि उक्त रकम लिएको हो भन्ने पनि भनिन्छ । यता आफ्नो छोराको अब सुख श्राद्ध गर्नु पर्यो कि भनेर भारतको विहार स्थित कलानेश्वर स्थानमा रहेका परमहंस बाबालाई झाका बुवाले सोध्न गए । त्यहां परमहंस बाबाले यसो भनेका थिए , कईसे कहि मर गेल , बा.......जीत्ते बा । कुम्हराके आबामे बिलाई के बच्चा कैसे बच गेल तेनाही भगवान ओकरो बचैले बा । त्यसपछि झाका बुवाले श्राद्ध पनि गराएनन । जेलमा रहेका बेला उनलाई सेनाहरुले निर्मम यातना दिनुका साथ साथै झुक्न भन्दा पनि उनी कहिल्यै झुकेनन । बरु आफूलाई उनी मिथिलापति हुँ , राम्रो संग व्यवहार गर भन्थे भन्ने कुरा बाग्मति अंचलका तत्कालिन सहायक अंचलाधिस बौवन ठाकुरले बताएका थिए ।
उनी आध्यात्मीक समाजवाद चिन्तनका साथ नेपाल र भारतको मिथिला क्षेत्रलाई अलग गरेर बृहत मिथिला देशनै बनाउनु पर्छ भन्ने नक्शानै कोरेका थिए । उनलाई दरबारमा राजा सामु पेश गर्दा उनी यसो भन्थे , एउटा ब्राह्मण तपस्यामा बसे तपाईको वंश नै विनाश हुने छ । जेलमा रहँदा जेलरको छोरालाई पेट दुखेको बेला उनले चक्कुलेनै ओप्रेशन गरेर उपचार गरि दिएपछि जेलरले झालाई सोधेका थिए के तपाईलाई रिहा गरि दिउँ । अनि उनी होइन भनेर जवाफ दिएका थिए । जहिले पनि धोति कुर्ता र टायरको चप्पल लगाउंने झालाई स्थानिय वासीले सोध्दा उनी भन्ने गर्थे नेपाली जनताको स्तर यो भन्दा माथिको छैन । 
झा का भाई अशोक कुमार झा भन्छन , उनी राजाको विरोधी यस कारण थिए कि देशमा जनता गरिबी र भुखमरिको शिकार थिए । त्यस्तो अवस्थामा के को राजा भन्ने गर्थे । उनलाई अहिले पनि दाई जिवितै रहेको आशा छ । त्यसैगरी झाका कम्पाउन्डर सत्यनारायण झालाई पनि उनी जिवितै रहेको विश्वास छ ।

मिति ः २०७०/०५/१६

No comments:

Post a Comment