Wednesday, July 31, 2013

कस्ले हेरिदिने जनकपुरका अमुल्य धरोहरलाई ?


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विश्वमा करोडौं हिन्दुहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको राजर्षि जनकको राज्य भूमी एंव सतिशिरोमणी जगत जननी माता जानकी र उनका बहिनीहरु उर्मिला, श्रुतकती, माण्डबीको जन्म थलो, अध्यात्मिक ज्ञानको रुपमा रहेको मिथिला को राजधानी जनकपुरधाम अनेकौ धार्मिक तिर्थस्थलहरु मध्ये त्रेतायुग संग सम्बन्ध रहेको हिन्दु धार्मिक ग्रन्थहरुमा समेत उल्लेखित प्रख्यात तिर्थस्थल हो ।
    बैदिक युगका महर्षि गौतम, शतानन्द, याज्ञवल्यक एंव विशिष्ट दार्शनिक विभूती विदुषि ग्रागी, मैत्रेय जस्ता ऋषिमुनिहरुको तपोभूमी ज्ञानमूमी समेत रहेको पवित्र स्थल हो । यो पवित्र स्थल पुरातन महर्षिहरुको शिद्धपिठ एंव शक्ती पिठको रुपमा समेत पुज्यनीय रहेको छ ।
विगत दिनमा मठैमठ मन्दिरहरुबाट निस्कने वैदिक संस्कृतका मंत्राचरणमा हुने स्तुतीपाठले गुञ्जमायण रहने नगर अनुपम अध्यात्मिक एंव प्राकृतिक सौन्दर्यताले भरिभराउ रहेको थियो । घनघोर रुखहरुको छायामूनि तलाउहरुको किनारामा अवस्थित अनेकौं सिद्धी महात्मा ऋषिहरुका मठ(मन्दिरहरु थिए । तलाउ नै तलाउले सु(सज्जीत यो भूमी तलाउहरु एंव बन बगैंचा फुलवारीहरुमा फुलेको विभिन्न जातका फुलहरुले ढक्कमम्क फुलेर मनमोहक सौन्दर्यता प्रदान गरिरहेका हुन्थे । तलाउहरुमा गहना लगाएका ठूलठूला माछाहरु विचरण गर्थे भने तलाउ एंव बन बगँैचा फुलवारीहरुमा मंयुर कोइली लगायत विभिन्न जातका रङ्ग विरङ्गी झुण्डका झुण्ड चरा चुरुङ्गीहरु ले आफ्ना स्वर गुञ्जयमान गर्दा स्वर्ग यहि नै अवस्थित छ जस्तो भान हुन्थ्यो ।
प्राकृतिक, अध्यात्मिक, साँस्कृतिक सौन्दर्यताले भरिएको, हराभरा बन बगैचा फुलवारीहरुले ढाकिएको, मठै(मठ मन्दिरहरुले सजिएको, वेद एंवम् विभिन्न धार्मिक ग्रन्थहरुका सँस्कृतका मंत्राचरणले गुञ्जमायण रहेको, तलाउ नै तलाउ कुण्ड नै कुण्डले शुशोभित भएर मैथिल भाषा, कला, र सँस्कृतिको अनुपम सौन्दर्य प्रदान गरिरहेको मिथिलाको राजधानी जनकपुर यहाँको बासीको अतिक्रमणमा परेर फोहर मैलाको दुर्गन्धमा ढाकिदै अव्यवस्थित सौन्दर्यविहीन बन्दै आफ्ना मौलिक परम्परा संस्कृति, पुरातात्वीक ऐतिहासिक एंव पौराणिक धार्मिक अस्तित्व हराउने अवस्थाबाट गुज्रीरहेको छ । यो क्षेत्र प्राकृतिक, अध्यात्मिक, साँस्कृतिक सम्पुर्ण सौन्दर्यताले भरिपुर्ण भएर पनि यहाँका बासि ज्ञानपापी भएका कारणबाट यहाँको दुरावस्थामा हुनुको साथै मिथिला नगरको प्राचिन अवस्थाका महत्वपुर्ण कुराहरु लोप हुदैछ, लोप गरिदैछ, र हामी सो लोप गर्ने क्रममा सहभागी भएका छौं । सहभागी हुदैछौ ।
पौराणिक ऐतिहासिक धार्मिक तलाउहरु भरिदैं छ । र सोही जग्गामा घरहरु निर्माण भइरहेका छन् । एउटा धार्मिक अस्तित्वलाई लोप गरिदै नयाँ कुरा थपिदैछ । विभिन्न ऐतिहासिक धार्मिक ठाउँको नाँउ परिवर्तन भएको छ । अरगजा  सरको दक्षिण र पुर्वतिरको घेराले तलाउको सौन्दर्य नै नष्ट भएको छ । मण्डना सर तेल घृता सर भर्न भर्न लागिसकेको छ । लक्ष्मण सर, दीर्घका सर, चन्द्रकुपसर (देवान पोखरी ), पदस्पिनसर, रामसर, पद प्राक्षलनसर ( गोडधोइ पोखरी ), पापमोचनीसर, पुरन्दर सर लगायत कतिपय सरहरु नगरपालिकाको ढलले प्रदुषित हुदै भरिदै यहाँका बासिहरुले अतिक्रमण गरेका छन र गर्दै छन् । कतिपय तलाउहरुको नाँउ त कतिले सुनेकै छैनन् होला ।
    मिथिला महात्म्यमा उल्लेख भए अनुसार  बहत्तर तलाउहरु १. पुरन्दर सर २. दशरथ सर ३. भार्गव सर ४. मण्डना सर ५. रिक्ष सर ६. बिडाल सर ७. रुक्मणी सर ८. जनक सर ९. प्रेम सागर सर १०. सुनेत्रा सर ११. बछदेब सर १२. गोपाल सर १३. धनुष सरोबर १४. पाद(प्रक्षालन सर १५. विचित्रा सर १६. धुतपावन्ती सर १७. चंचुवाती सर १८. पयस्विनी सर १९. कुडवन्ती सर २० तेलदिर्धिका सर २१. लक्ष्मण सर २२. गुनवती सर २३. विल्ववी सर २४. दीपिका सर २५. महापुण्या सर २६. इष्टवा सर २७. विध्नहारिणी सर २८. मत्स्योदरी सर २९. ब्याघ्रहरा सर ३०. स्थितिदा सर ३१. क्षत्रधारिणी सर ३२. गोव्रजा सर ३३. चित्रधारा सर ३४. वूणव्रता सर ३५. दुर्गम्या सर ३६. चित्रधारत्री सर ३७. खण्डोवरी सर ३८. सुधा सर ३९. पाकवती सर ४०. नगरदेवीका सर ४१. सनकादि सर ४२. मन्मथ सर ४३. मंथाज सर ४४. कौशल सर ४५. चक्र सर ४६. लोमश सर ४७. रामसागर ४८. सप्तवेध सर ४९. धुर्व सर ५०. गरुड सर ५१. अग्निकुण्ड सर ५२. मध्यमा कुण्ड सर ५३. जानकी कुण्ड सर ५४. कुम्भादेक सर ५५. बरुण सर ५६. सरस्वती सर ५७. चतुदीर्धिका सर ५८. कष्टहरी सर ५९. धात्री सर ६०. विषहरी सर ६१. मुरली सर ६२. गंगा सागर ६३. अगराज सर ६४. गौत्तम सर ६५. वशिष्ट सर ६६. गण्डमती सर ६७. तरणतारण सर ६८. बाल्मीकि सर ६९. कौण्डिन्य सर ७०. कपालमोचन सर ७१. केदार सर ७२. बह्मा कुण्ड सर आदी मध्ये जनक सर, अमृत सर, अक्रुर कुण्ड, शिरध्वज कुण्ड, कौण्डील्य सर, बलदेव सर लगायत कतिपय तलाउहरुको अस्तित्व नै समाप्त गरिसकिएको छ ।
         जबकी हाम्रा पूर्वजहरुले बडो बैज्ञानिक ढंगबाट दुधमति, बिलोबतीको पनि प्रत्येक तलाउमा जाने परिबन्ध गर्दै अन्त्यमा गंगा सागर, विषहरा तलाउ हुदै जलाद नदीमा निकासीको मुहान खोलेर पोखरीको पानीलाई चलायामान गराएका थिए । तलाउहरु स्वच्छ सफा निर्मल हुन्थयो । तर हाल नगरपालिकाको कारणबाट यहाँका बासीहरुले आ(आफ्ना सौचालय, ढल खोलेर अधिकांस तलाउहरुमा लगेर मिलाएका छन् । विगत का कतिपय नहरहरु अतिक्रमणमा परेका छन भने कतिपय नगरपालिकाको ढलमा परिणत भएर फोहोरमैलाहरुले तलाउ भरिदै छ । आँखा अगाडीको तलाउ जनक सर लोप गरिदा र त्यसको विरुद्ध मुद्दा मामला गरिदा पनि कागजी जालझेलको कारण न्याय हराएको छ । बोल्ने यहाँ कोही देखिदैन । हराएका खोज्ने कुरै भएन । लक्षमण बगैंचा लोप नै भयो । राम बगैचा त छदैछैन् । राम बाग, सिता बाग, लगायत अन्य थुप्रै बगैचा, फुलबारीहरु कुन कुन ठाँउमा थियो थाहा राख्नु पर्ने कुरै भएन । पर्वतीया गाछी, साधु गाछी, बाँदर गाछी लगायत अनेकौ गाछीहरुको अस्तित्व नै हराई सकिएको छ । तिरुहुतिया गाछि बाँच्नका लागि मल(जल खोज्दै छ । मणिमण्डप को अवस्थाको चिया चर्चा गर्नु नै परेन । राम मन्दिरको पौराणिक रुख ढल्यो त कसैले थाहा नै पाएनन् । राम मन्दिर चुहिनै रहेको छ ।, बल्ल राम मन्दिर जिर्णोधार गर्न गुठी संस्थान र बृहत्तर जनकपुरको घैटोमा घाम लाग्या छ । भनिन्छ, रामजीको भोग लगाउन बजारबाट चन्दा उठाउनु पर्छ राम मन्दिरको लगभग सात(आठ सय विग्हा जग्गा सेन वंशी राजाहरुले दिएको काँहा छ जानकारीको कुरै भएन् । राम मन्दिर, जानकी मन्दिर, लगायत थुप्रै थुपैै्र मठमन्दिरहरुको गर गहना, पौराणिक घण्टा, गुम्बजहरुमा रहेको सुनका गजुर, ताम्रपत्र, काष्ठपत्र, शिलालेख, आलेखहरु गुठिमा पुगी काँहा पुग्या छन हेर्न नै सकिएन । बाँकी बचेका समेत लोप हुने अवस्थामा छन् । भने केही मठ मन्दिरका जग्गा सम्पतिहरु गुठी संस्थाको अधिनस्तमा गए र बाँकी रहेका सम्पति सन्त महन्त पुजारीले दुरुपयोग गरेका कारणबाट परा पूर्वकालदेखि गरिदै आएको धार्मिक अनुष्ठानहरु , चाड पर्व क्रमशः हराउँदै गएको छ । प्राचिन कालका मूल्य मान्यतामा आधारित जनकपुरधामका आफ्ना परम्पराहरु लोपहुने अवस्थाबाट गुज्रिरहेको छ । यहाँका परापुर्वकालका सन्त विद्वानहरुले सीता राम भजनमा वैराग्य जीवन व्यतित गर्दै रचनागरेका अनेकौ साहित्य एवं ग्रन्थहरु प्रायःजसो नस्ट हुने अवस्थामा पुगेको छ । यसलाई प्रकाशित गरि प्रचार प्रसार गर्ने नकुनै व्यवस्था छ न  यता तिर नगरवासीको ध्यान आक्रिस्ट हुन सकेको छ न यहाँ रहेको समाजिक संघ संस्थाको ।
      भनिन्छ पूर्वमा २०८ मठ मन्दिर रहेकोमा हाल १०८ त हुनुपर्ने हो । तर यसमा पनि कतिपय महात्माहरुले नेपाली नागरिकता नपाएका कारण मठ मन्दिर नै छोडनु पर्ने बाध्य भए । ती मठ मन्दिर कतिपय संरक्षण सम्बद्र्धणका अभावमा ध्वस्त भए भने कतिपय गुठि कै अधिनस्थ भए । कतिपयमा जातीय एवम् सामाजिक संघ संस्थाका घेरामा परे । बाँकीमा कतिले कब्जा गरे त कतिले नक्कली शिष्यको रुपमा आफ्नो अधिनस्थ गरि घर संसारमा बिलिन गराए । पौराणिक इनारहरुको नाँउ नै नलिए हुन्छ । धार्मिक महत्वका फुलवारीहरु खुर्सानीबारी हुँदै घरबारीहरु बनेका छन । रंगभुमी मैदान ( बारह विग्हा नाप्नु पर्छ ) गंगा सागर, धनुष सागर अन्नतकालको संरक्षणको पर्खाई पछि भारत सरकारको अनुकम्पाबाट काँचुली फेर्न लागेको छ । नेपालको अंधिकाश ऐतिहासिक धार्मिक पुरातात्वीक महत्वका ठाउँहरु विश्व सम्पदामा परेता पनि जनकपुरलाई हामीले विश्व सम्पदामा पार्न सकेका छैनौ । राणाकालिन अवस्थाका नेपालका एक मात्र रेल सेवा पनि कर्मचारी एंव राजनीतिक नियुक्ती पाएका व्यक्तिद्वारा दिन प्रतिदिन आफू लाई लुटाउदै जिर्णशिर्ण अवस्थामा पुगी भारत सरकारको कृपाले काँचुली फेर्ने छ कि आशा पलाउन थालेको छ । २०१५ सालको प्रजातान्त्रिक सरकारका ऐतिहासिक दस्तावेजका रुपमा रहेका नेपालका प्रथम जनकपुरको एक मात्र ठूलो चुरोटकारखाना सरकार, कर्मचारी, राजनीतिज्ञहरुको असक्षमताका कारण दिन प्रति दिन आफूलाई बेच्दै अस्तित्व समाप्त पार्न पट्टि लाग्या छ । भारतको स्वतन्त्रता आन्दोलन सँगै जोडिएको नेपाल चर्खा प्रचारक गान्धि तुल्सी मेयर महागुठीका हरिहरपुर र बसिहियाका अमुल्य जग्गा बेचेर जनकपुरका प्रजातान्त्रिक  आन्दोलनका इतिहासलाई समाप्त पार्न खोजिदै छ । सुन्ने कोही पाएको छैन ।
    गुठी कमाउन र ध्वस्त गर्न पट्टि लाग्या छ । मठ मन्दिरका अधिकाश नक्कली मठाधिशहरु जग्गा त  जग्गा अब मठ मन्दिर नै बेच्न पट्टि उद्धत रहेका छन् । धार्मिक, ऐतिहासिक एंव पुरातात्वीक महत्वका पोखरी, तलाउ, पाटि, पौवा, मठ मन्दिर, फुलबारी बगैंचा,  कुवा धार्मिक स्थल, संस्कृती तथा मूल्य मान्यताहरुलाई संरक्षण सम्बर्धन एंव व्यवस्थित गर्दै सौन्र्दयीकरण गर्न स्थापित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद सँग दिर्घकालिन योजना को खाका नै छैन । स्थानीय निकायहरु भ्रष्टाचारमा लिन भई मौन छन् । उनीहरुको स्वामित्व भित्र पर्दैन । केही वर्ष देखि नगरमा संगठन संरचना समेत नभएका अधिकांश राजनीतिक दलका प्रतिनिधिहरु नगरपालिकामा प्रतिनिधत्व गर्छन तर भागवन्डा को फोहरी खेलमा आफ्नै घरजम पट्टि लाग्या छन् । जनकपुर बासीलाई मतलवै भएन राजनीतिज्ञ र समाज सुधारका अगुवाहरुको धन, पद आर्जन गर्नु बाहेक सरोकारको विषय नै भएन । यहाँ रहेका कल्व, संघ संस्थाहरुलाई सिमित धार्मिक चाडपर्वमा लाखौ खर्च गरि नाउँ आर्जन गर्नु बाहेक अरु कार्य गर्न ध्यान जानै सकेको छैन् । कस्ले हेरिदिने यस अमुल्य धरोहरलाई ?
के यस सम्बन्धमा हाम्रो दायित्व कर्तव्य केही छैन ? हामी आफैं आफ्नै धरोहरलाई नाश गर्दै आफनै विनासतिर किन लागिपरेका छौ्रं ? आउँदा सनततीले के हामीलाई धिक्कार्नें छैनन त् ? के सोच्न हामीलाई फुर्सद नै छैन? तर पनि एक क्षण एकपल सोचौ  त यस पौराणिक धार्मिक साँस्कृतिक मिथिला  नगरिको संरक्षण समवद्र्धन  र विकासका लागि ।  अनि मात्र हामीले जन्म लिएको जननी जन्मभूमी प्रतिको ऋणबाट थोरै मात्रामा भए पनि भारबाट मुक्त हुने छौ कि ?


date : 2070-4-6

No comments:

Post a Comment