Wednesday, July 31, 2013

घटेन महोत्तरीमा अपराधको ग्राफ


अमरकान्त अमर
जनकपुरधाम............
    दिन प्रति दिन आपराधिक गतिविध बढ्दै गएपछि महोत्तरीका सर्वसाधारण जनता भयत्रासको जीवन बिताउन बाध्य भएका छन् । सरकारले सुरक्षा व्यवस्था चुस्त दुरस्त रहेको दावी गरे पनि महोत्तरीमा हत्या, अपहरण र लुटपाट लगायतका घटनाहरुमा कमी आउन सकेको छैन् । विगत पाँच वर्षमा अपराधिक घटनामा कमी आउनुको सट्टा वृद्धि नै भएको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०६५÷०६६ सालमा हत्या १७ वटा, अपहरण ७ वटा, हाथहथियारका मुद्दा १६ वटा, लुटपाटका घटना ९ वटा, लागु औषध ६ वटा तथा अन्य गरी जम्मा २ सय ९ वटा घटना भएको छ । २०६६÷०६७ मा हत्या १७ वटा, अपहरण ५ वटा, हाथ हथियारका मुद्दा ८ वटा, लुटपाटका घटना ४ वटा, लागु औषधका २ वटा तथा अन्य मुद्दा गरी जम्मा २ सय २९ वटा घटना भएको थियो ।
    त्यस्तै २०६७÷०६८ हत्या १४, अपहरण ४, हाथहथियारका मुद्दा १२, लुटपाटका घटना ९, लागु औषधका १० वटा मुद्दा तथा अन्य लगायत २ सय ३२ वटा घटना भएको छ । २०६८÷०६९मा हत्या २२, अपहरण ४, हाथहथियारका मुद्दा १०, लुटपाट ६ र लागु औषधका १७ वटा तथा अन्य मुद्दा गरी जम्मा २ सय १७ वटा घटना घटेको छ ।
२०६९÷७०मा हत्या १८, अपहरण ६, हाथहथियार ६ लुटपाट ९ र लागु औषधका १८ वटा घटना लगायत अन्य गरी कुल २ सय ३५ वटा घटना महोत्तरीमा घटेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
महिना पिच्छै एक दुई हत्याका घटना घटि नै रहेको तथ्यांकले देखाएको छ । महोत्तरीमा पैसाकै कारण बढि हत्या र अपहरण हुने गरेको अनुसन्धानमा देखिएको महोत्तरीका प्रहरी उपरीक्षक पवन प्रसाद खरेलले बताउनु भएको छ ।  उहाँका अनुसार पैसाकै कारण महोत्तरीमा आपराधिक गतिविधि बढि रहेको छ । अपराध नियन्त्रणको लागी प्रहरी परिचालन भएपनि खुल्ला सीमानाका कारण अपराधीहरु उम्किने गरेको उहाँले आफ्नो तर्क दिनु भएको थियो । उहाँले भन्नुभयो प्रहरीको हालको जनशक्तिले पनि समस्या भएको छ । 
    जनता र प्रहरी बीच तालमेल नहुँदा समेत अपराधीलाई पक्राउ गर्न असजिलो भएको उहाँको भनाई थियो । महोत्तरीमा हत्या, अपहरण गोली काण्ड जस्ता क्रियकलापमा सशस्त्र समूहको प्रयोग भएको भन्दै प्रहरी उपरीक्षक खरेलले प्रहरी र जनताबीच तालमेल भयो भने अपाराधीहरु उम्किन नसक्ने दावी गर्नुभयो ।
    जिल्ला प्रहरी कार्यालयका असई विजय भण्डारीका अनुसार अपराध गर्ने शैलीनै बढ्दै गएका कारण महोत्तरीमा अपाराध बढेको हो । सरकारी वकिल कार्यालयका प्रमुख गोविन्द गौलीका अनुसार कडा कानुनी कारवाहीको दायरामा अपराधि नआएपछि अपराधिक  गतिविधि बढदै गएको हो । मुद्दा लम्बिने गरिको र दोषी लाई समयमा कारवाही न भएकाले अपाराधीहरुको मनोबल बढदै गएको उहाँले भन्नु भयो । सरकारी वकिल कार्यालयका तथ्यांक अनुसार २०६८÷ ०६९ मा १ सय ९७ र २०६९÷०७०मा २ सय १८ वटा फैसलाको लागी मुद्दा दर्ता भएको छ । अधिकांश फौजदारी मुद्दा देखिएको छ । महोत्तरीमा २०६८÷०६९ मा बढी हत्या भएको तथ्यांक देखाएको छ । तात्कालिन प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे र सुरज केसीको समयमा बढी हत्या भएको छ भने २०६५÷०६६मा तात्कालिन प्रहरी उपरीक्षक कृष्ण प्रसाद गौतम, २०६६÷०६७ संजय राज शर्मा प्रहरी उपरीक्षक रहेको थियो । वर्तमानमा प्रहरी उपरीक्षक पवन प्रसाद खरेलको ९ महिनाको अवधीमा हत्या न भएपनि ४ वटा गोली काण्ड, २ अपहरण र ४ वटा लुटपाटका घटना भएको छ । उहाँ भन्दा पहिला २०६९÷७०मा नै १८ वटा हत्या भइ सकेको थियो ।
प्रहरी उपरीक्षक खरेलले सुरक्षा सर्तकता अपनाएपछि घटना भएपनि प्रहरी आपाराधिक गतिविधि गर्ने गिरोह सम्म पुगेर पक्राउ गर्न सफल रहेको बताउछन । उहाँको अनुसार वन्चौरीमा भएको लुटपाटका घटनामा प्रहरीले १ लाख ४९ हजार रुपैया सहित ६ जनालाई पक्राउ गरेको छ । सहयोगी विकास वैंकको रकम लुटने ४ जना लुटेरा सहित २ लाख ६२ हजार रुपैया बरामद गरेको छ । जेठ १० गते सुनौल वाट पोखरभिण्डा वस्ने उमेश यादव अपहरण काण्डमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । अपहरणकारीहरुले ५ लाख फिरौती तिरेर मुक्त गरेका थिए । त्यस्तै वैशाख ७ गते सोनमा तरहारीका भोला यादव अपहरण काण्डमा प्रहरीले भूमिगत समूहका हनुमान त्यागी भनिने श्याम सुन्दर यादवलाई फिरौती रकम ३ लाख २० हजार रुपैया सहित पक्राउ गरेको थियो । सुन्दरपुर मगरथानाका पंकज यादवको बखरी पुल नजिक हत्या गरिएको लाश बरामद भएपछि थालिएको अनुसन्धानका क्रममा महोत्तरी प्रहरीले काठमाडौंको सुन्धरावाट महोत्तरीका कृष्ण पूर्वेलाई पक्राउ गरिएको थियो । साथै सोहि घटनामा फिरौती दिएका मध्ये प्रहरी ४ लाख ४० हजार रुपैया सिरहा वाट बरामद गर्न सफल भएको थियो ।
महोत्तरी प्रहरीले अपहरण लगायतका घटनामा उपलब्धी हासिल गरेपनि हथियारधारीको विगविगी कायमै रहेको छ । दिन दहाडै महोत्तरीका विभिन्न स्थानमा गोली काण्ड भएपनि प्रहरीले एक जनालाई पनि समात्न सकेको छैन ।     महोत्तरी प्रहरीको तथ्यांक अनुसार २०६५÷०६६मा १ सय ५५, ०६६÷०६७मा १सय४०, ०६७÷०६८मा १ सय ३१, ०६८÷०६९मा १सय ४५ र ०६९÷७०मा १ सय ६२ जना पक्राउ पडेको छ ।  अपाराध गर्ने व्यक्तिको तुलनामा पक्राउ परेका तथ्यांक कम देखिएको छ ।     महोत्तरीका इन्सेक प्रतिनिधि ईश्वरी कफ्लेका अनुसार अपराध बढ्ने क्रम न रोकिए पछि प्रहरी प्रशासन माथी जनताले विश्वास गर्न छाडेका छन् । उहाँले भन्नुभयो सुरक्षाको प्रत्याभूति नभएपछि जिउ जान जोगाउन सर्वसाधारण गाउँ छाडेर जलेश्वर र जनकपुर वस्न वाँध्य भएका छन् । जनतालाई भयत्रास वाट मुक्त गर्नको लागी कडा सुरक्षा व्यवस्था गर्नुपर्ने मांग उहाँले गर्नुभयो ।
महोत्तरी जिल्लाको दक्षिणवर्ति क्षेत्रमा शान्ति सुरक्षा कायम रहेपनि उत्तरवर्ति क्षेत्रका जनता भयत्रासको जीवन विताउन वाध्य छन ।
सोनमा वस्ने महेश राय यादवले गाउमा वस्ने वातावरण न रहेको उल्लेख गर्नु भयो । घरवाट छोरा छोरीको निस्किने अवस्था रहेको छैन । घरवाट बाहिर निस्केपछि फर्किने हो की होइन त्यो आश भने नरहेको उहाँले बताउनु भयो । यो अवस्था रहि रहने हो भने गाउँ नै सुनसान हुने उहाँको तर्क थियो ।              
 मिति ः २०७०-4-6

No comments:

Post a Comment