Wednesday, July 31, 2013

ईस्लाम धर्म अनुशार रमजान मनाउनुले जन्नत प्राप्त हुन्छ ‘कार्य व्यस्तताले रमजानको व्रतलाई फरक पार्दैन’


जिवेश झा
काठमाडौं...........
    ईस्लामिक क्यालेन्डर अनुशार रमजान (अंग्रेजीमा रमादान) नवौं महिना हो । रमादान (रमजान) मा मुस्लिम धर्माबल्मबीले एक महिना भरी ब्रत बस्छन् । सुर्य उदय पुर्व र सुर्यास्त सम्म निराहार बस्ने पावन पर्वमा ब्रत बस्नुलाई रोजा भनिन्छ ।     कार्यव्यस्तताका वावजुद पनि मुस्लिम धर्माबल्मबीहरु रमजान मनाउनका लागि समय छुट्याँउछन् । सन्नुलाह जमाली, ३२, एक ईमाम हुन जो आफ्ना कार्ययव्यस्तताका बाबजुद पनि रोजा मनाउन उत्तिकै प्रतिबद्ध रहेको बताउँछन् । उनी काठमाडौं स्थित एक ईस्लामिक बिद्यालय मदरसा ईस्लामिया दरुल कुरानका अध्यक्ष हुन् । बिद्यालयको अध्ययन–अध्यापन र व्यवस्थापन जस्तो चुनौतीपुर्ण जीम्मेवारी बहन गर्नु र रोजा पुर्ण रुपमा ईस्लामिक धर्मानुशार मनाउनुले उनको निष्ठाको दोह्रो प्रमाण प्रस्तुत गर्छ । ’ स्वस्थ युवा–युवतीले रोजाको ब्रत नबसे नर्कमा पुग्ने कुरानमा व्याख्या गरिएको छ, ’  जमालीले भने । जमालीका अनुशार नियम–निष्ठाले   रमजानको ब्रत बस्नेलाई जन्नत (स्वर्ग)  प्राप्त हुन्छ भन्ने कुरा कुरान र हदिसमा वर्णित छ । ‘ रमाजनको ब्रत बस्नेले कसैको आलोचना, झुठ बोल्नु, ब्रत अवधी भरीमा शारिरिक संबन्ध राख्नु,  र कसैको अहित सोंच्नुलाई पाप ठानिन्छ, ‘जमालीले थप्दै भने, ‘ साँझ सात बजे पछि हामी ‘ईफ्तर’ (हल्का खाना, जुस, पानी, खजुर) खाई उपवास तोड्छौं ।’ उनका अनुशार रमजान ब्रत मात्र बस्ने पर्व पनि होईन, यस पर्वमा त अनुशासन, प्रार्थना र नित्य कर्मलाई एकसमान रुपले अगाडी बढाउनुपर्छ ।  ‘अरु दिनझैं रमजानमा पनि नित्य कर्म गरिराख्नु पर्छ,‘  उनले थपे ।
    मुलधार पत्रकारितामा ठुलै ख्याति कमाएका व्यक्तित्व हुन गनी अन्सारी । पेसाले ‘रिपब्लिका’ अंग्रेजी दैनिकमा पुर्णकालिन (फुल टाईम) राजनीतिक पत्रकार भए पनि रोजा मनाउनमा र ईस्लामका अक्षर–अक्षर पालन गर्नमा उत्तिकै खप्पिस छन् । अन्शारीका अनुशार रमजानको समयमा आफ्नो कामको बोझलाई सकेसम्म कम गर्नुपर्छ ।
     ‘ईस्लाम धर्म अनुशार घरमा काम गर्ने कामदारलाई पनि कामको मात्रा घटाईदिनुपर्छ । रमजानमा सब काम छोडेर व्रत र प्रार्थनामा मात्र लाग्नुपर्छ भन्ने पनि होईन । यस अवधीमा कुरानको वाचन गर्ने, दैनिक पाँच चोटी पड्नुपर्ने नमाज बाहेक तराविह नमाज पनि पढ्नुपर्छ, ’  अन्शारीले भने ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता ईजहार मिकरानी राष्ट्रिय–अंतर्राष्ट्रिय स्तरमा ख्याती कमाई सकेका व्यक्तित्व हुन । नेपालको ‘द काठमांडु पोष्ट’, र ‘कान्तिपुर’ हुँदै बि.बि.सी. जस्तो प्रतिष्ठित सञ्चार संस्थामा पत्रकारको भुमिका निर्वाह गरिसकेका मिकरानी काठमाडौंको रोजा मनाउने आम ईस्लाम धर्माबल्म्वीमध्येका एक हुन् । उनि ‘शेहरी’ (साँझको हल्का खाना जस्तैः बिस्कुट, ग्लुकोज) खाई उपवास तोड्छन् ।’ अल्लाहले ईस्लामिक क्यालेन्डरको रमादान महिना मै  कुरानको उत्पती गरेका थिए, ‘मिकरानीले भने,  ‘त्यसैले रमादान महिनालाई असाध्यै महत्वपुर्ण महिनाको रुपमा र एक पवित्र पावन महिनाको रुपमा लिईन्छ ।’ उनका अनुशार ईस्लामको पाँच स्तम्भमध्येको एक रोजा हो ।
     ‘ईमाम (अल्लाह प्रति निष्ठावान हुनु), प्रार्थना (दिनको पाँच पटक नमाज पढ्नु), जकात (आफ्नो बार्षिक कमाईको २.५ प्रतिशत दानको रुपमा गरिव, अशहाय, तथा अशक्तलाई दिनु), रोजा (रमजान भरी ब्रत बस्नु) र हज (मक्का जानु) ईस्लामका यी पाँच स्तम्भ हुन, ’  मिकरानी भने ।
 ‘बिरामी, यात्री, रजस्वला भएकी महिला,गर्भवती महिला, प्रसुती तथा स्तनपान गराउने महिलाले रोजाको उपवास राख्न असहज भएकोले ईस्लामले उनिहरुलाई छुट दिएको छ । तर उनिहरुले रोजा बरावरकै एक महिनाको ब्रत आफूलाई सहज पर्ने समयमा बस्नुपर्छ, ’  मिकरानीले भने । उनका अनुशार रोजाले समाजमा समाजिक संबन्ध बिस्तार गर्नुको संदेश मात्र नदिई वैश्विक स्तरमै सहिष्णुताको भावना अभिवृत गराउँछ ।  ‘ समाजमा साम्प्रायिक सहिष्णुता अभिवृद्धि गराउनुका साथै वैश्विक स्तरमा शान्ती र समृद्धि पनि फल्छ रोजाको आशिर्वादले, ’   मिकरानीले प्रस्ट पारे । मुस्लमान अनुशासित हुनुपर्छ र समाजको शान्ती र स्थायित्वको लागि सदा प्रयत्नशिल हुनुपर्छ भन्ने संदेश रोजाको रहेको मिकरानीको ठम्याई छ ।
    राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारीको शब्दमा बर्षको एक महिना रोजाको उपवास राख्नु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रै हो । ’ रोजाको ब्रत मेरो श्रद्धा, आस्था र अल्लाहप्रतिको निष्ठामा समर्पित रहेकोले कार्यालयको कार्य  व्यस्तताले खासै फरक पार्दैन,’  अन्शारीले भनिन । उनका अनुशार विश्वका अन्य मुस्लीम राष्ट्रहरुमा मनाईने रोजा र नेपालमा मनाईने रोजामा खासै भिन्नता पाईदैन् । ‘ ईस्लाम नेपाल र अन्य देशमा एउटै भएकोले रोजा मनाईने संस्कार र पद्धतीमा एकरुपता देख्न सकिन्छ, ’  उनि थ्पदै भन्छिन,  ‘रोजा मनाउनु हरेक मुस्लिमको ‘फर्ज’ (दायित्व) हो ।’
    रोजाको अवधीमा दिनचर्यालाई फरक नपार्ने गरी आफ्नो दैनिकी त्यसै अनुशार मिलाउनुपर्छ भन्ने मत अन्शारीको थियो ।  ‘ ईस्लामले रोजा अवधीभर कुनै पनि काम नगर भन्दैन,’  उनले भनिन,  ‘ हरेक मुस्लमानले आफ्नो दिनचर्या (दैनिक कर्म) अरु दिनझैं रोजामा पनि निरन्तर जारी राख्नुपर्छ,  ।’ उनका अनुशार समय व्यवस्थापन गर्नु चुनौतीपुर्ण भए पनि सृष्टीको सर्जकको पुजा गर्नु र उनि प्रति समर्पित हुन नियम–निष्ठा पालना गर्नैपर्छ ।
    ईरफान पोखरेल पेशाले एक सञ्चारकर्मी हुन् । उनि हिन्दुबाट मुस्लमानमा ‘कनभर्ट’ भएका हुन् । ‘ निराहार एक बुँद पानी पनि नखाई ब्रत बस्नु मात्र रोजा होईन । रोजामा त आफ्नो शरिरका अंग–प्रत्यंगलाई स्व–नियन्त्रणमा राखी सदकर्मको बाटो तर्फ बर्ष भरी लम्किने छु भन्ने प्रतिबद्धता ब्रतालुले जाहेर गर्न सक्नुपर्छ, ’  पोख्रेलले बताए, ‘ रमजानको महिनामा ब्रतालुले कुरानको पाठ गरे अन्य दिन भन्दा ७० देखि ७०० गुण्ाँ बढि फल प्राप्त हुन्छ, ।’
    यस महिनामा सैतान अल्लाहको पुर्ण नियन्त्रणमा हुन्छन भन्ने मत पोखरेलको छ ।’   रमजानको ब्रत बस्ने ब्रतालुलाई वैश्विक समृद्धीको पथमा लाग्ने स्तरको सदबुद्धी मात्र प्राप्त नहुनुका साथै जन्नत (प्याराडाईज) पनि प्राप्त हुन्छ, ’  उनले थपे ।

date : 2070-4-6

No comments:

Post a Comment