Tuesday, June 9, 2015

यादवको रिहाई सँगै योगनारायणको बाटो खुलेकै हो त ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सबैला हत्या काण्डको थुप्रै अभियुक्तहरु मध्येका एक जना अभियुक्त लक्ष्मीनारायण यादवलाई धनुषा जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि बजारमा अदालतको आस्था प्रति टिका टिप्पणीहरुसँगै आलोचना वढ्न थालेको छ । नेकपा एमालेको धनुषा जिल्ला सचिव समेत रहेका यादवको रिहाई सँगै उक्त घटनाका प्रमुख अभियुक्त भनिएका नेकपा एमालेका वैकल्पिक पोलिट व्यूरो सदस्य समेत रहेका पुर्व सांसद योगनारायण यादवको समेत रिहाईको बाटो यससँगै खुलेको चर्चा पनि चल्न थालेको छ ।
अदालतको आदेशबाट कारागारमा थुनामा पठाइएका क्रमशः लाल विहारी यादव, महेश यादव र महेन्द्र यादव ।
८ चैत्र २०७१ मा अन्दाजी राति १० बजेको समयमा धनुषाको सबैला नगरपालिका वडा नं.१ स्थित मुसहरी टोल बस्ने राम सेवक राउतलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तहरुको खोज तलासका क्रममा फरार मध्येका प्रतिवादी लक्ष्मीनारायण यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको विषेश टोलीले १९ जेष्ठ २०७२ मा पक्राउ गरेको थियो । जिल्लाको पुर्वी क्षेत्र प्रखे महुवा वडा नं.४ स्थित हनुमान चौकबाट सादा पोशाकमा गएको प्रहरीको विशेष टोलीले पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि २० जेष्ठ २०७२ मा धनुषा जिल्ला अदालतमा उपस्थित गराएको थियो । सोही दिन कजरा रमौल वडा नं.१ कोल रमौल बस्ने ४२ बर्षिय प्रतिवादी लक्ष्मीनारायण यादव सँग धनुषा जिल्ला अदालतले बयान लिई आदेश समेत गरेको थियो । अदालतको ६ नम्बर इजलासका न्यायाधिश मुकेश उपाध्यायले गरेको आदेश अनुसार २७ हजार रुपैयाँ धरौटी लिई रिहा गरिएको थियो । तत्काल प्राप्त प्रमाणबाट घटना स्थलमा प्रतिवादी लक्ष्मीनारायण यादव मौजुदै रहेको भन्न नमिली मुलुकी ऐन अदालती बन्दोवस्त ११८ को देहाय ५, १० को अवस्थाको विद्यमानता देखिँदा पछि ठहरे बमोजिम हुने गरी यी प्रतिवादीबाट नगद रु.२७ हजार वा सो बराबरको जेथा जमानत लिए लिई तारेखमा राख्नु अन्यथा सिरहा कारागारमा थुनामा पठाउनु उल्लेख छ । सोही दिन यादवले धरौटी रकम बुझाएर तारेखमा रिहा भए । अदालतको उक्त आदेश आएपछि यादवलाई पक्राउ गर्ने धनुषा प्रहरी संगठन समेत आश्चर्यमा परेका थिए । प्रहरी स्रोतका अनुसार अदालतको आदेशबाट यादवलाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश आउने अपेक्षा सहित यादवलाई जेल पठाउन प्रहरी भान तयारी अवस्थामा समेत राखिएको थियो । तर, अदालतले रिहा गरेपछि प्रहरी जिल्ल परेका थिए । हुन त बाहिर कतिपय मानिसहरुले प्रहरीले यादवलाई खोज तलास गरेर होइन कि सेटिङ कै आधारमा यादव पक्राउ परेको र सेटिङ कै आधारमा अदालतबाट रिहाई समेत भएको अडकल काट्न थालिएको छ । तर, यस सम्बन्धमा धनुषाका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाई भन्छन्,“प्रहरीको सेटिङको कुरा पुरा निराधार हो । हामीले पहिले देखि नै विभिन्न फरार अभियुक्तहरुलाई खोजी गर्न अभियान चलाएका थियौं । विशेष गोप्य सुचनाको आधारमा यादवलाई पक्राउ गरिएको हो । र, अन्य फरार अभियुक्तहरुको समेत खोजी कार्य जारी छ । आशा गरौं चाँडै ति सबै फरार अभियुक्तहरुलाई पक्राउ गरी अदालतमा उभियाउन सफल हुनेछौं ।”
सरकारवादी मुद्दा समेत रहेका कारण उक्त मुद्दाको सरकारको तर्फबाट बहस गरेका सरकारी वकिल एवम धनुषा जिल्ला न्यायाधिवक्ता धनुषा जिल्ला अदालतबाट आएको आदेशको विरुद्ध पुनरावेदन गर्ने तयारीमा लागेका छन् । एउटै अभियोगमा यस अघि तीन जनालाई थुनामा राखिएको र यादवलाई धरौटीमा रिहा गरेपछि सरकारी वकिल पाठक भन्छन,“ अदालतको आदेश आएपछि हामीले सम्मान गर्नुपर्छ । हामी अदालतको आदेश विरुद्ध १७ नम्बरको निवेदन दर्ता गर्ने तयारी गर्दै छौं । थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न अदालतबाट आदेश आउने आफुहरुले मनस्थिति बनाएको भएपनि अदालतले रिहा गरेपछि हामी पुनरावेदन अदालतबाट उक्त आदेश उल्टिनेमा ढुक्क छौं ।”


लक्ष्मीनारायण यादव । उनलाई अदालतले २७ हजार धरौटीमा रिहा गरेको छ ।
यादवलाई रिहा गर्नु पछाडी तत्काल प्राप्त प्रमाणबाट घटना स्थलमा मौजुदै रहेको भन्न नमिली ठहर गर्दै अदालतले आदेश दिएको छ । उक्त सवालमा सरकारी वकिल पाठक भन्छन,“आधार भनेको कुटाई खाने प्रत्यक्ष पीडितहरुले गरेको कागज हो । तिनीहरुले कागज गर्दा लक्ष्मीनारायण यादवले पनि उक्त समुहमा आएर आफुहरुलाई आक्रमण गरेको भनेपछि त्यसभन्दा ठुलो आधार के चाहियो ?”
हुन त लक्ष्मीनारायण यादव घटना स्थलमा मौजुद नरहेको र उनी योगनारायण नजिक रहेको कारण उनलाई राजनीतिक पुर्वाग्रह राखि फसाइएको भन्नेहरुको संख्या पनि धेरै छ । फरक गाउँको भएकाले पनि घटना स्थलमा उनी उपस्थित नभएको हुन सक्ने अडकल पनि गरिन्छ । तर, अदालतको उक्त आदेशले योगनारायण लगायत अन्य फरार प्रतिवादीहरुलाई सहज बनाएकै हो त भन्ने आकलन यसकारण पनि गरिन्छ कि यस घटनाका अभियुक्तहरु राजनीतिक मान्छे हुन । खास गरी नेकपा एमाले सत्तामा प्रमुख साझेदार घटकको रुपमा रहेका कारण पनि यस्तो आशंका मानिसहरुले गर्ने गरेका छन् । कतिपय कानुन व्यवसायीहरुका अनुसार लक्ष्मीनारायण रिहा भए पनि अन्य प्रतिवादीहरु आफै हाजिर भए वा प्रहरीले पक्रेर अदालतमा उपस्थित गराए भने अदालतले उनीहरुलाई पनि रिहा नै गरिदेलान भन्ने आधार हुँदैन । किनभने घटनामा हरेक व्यक्तिहरुको फरक फरक भुमिका हुन्छ । सानो माछालाई छोडेर ठुलो माछालाई जालमा पार्न प्रहरी र अदालत समेतको यो ट्रयाप पनि हुनसक्ने अनुमान लगाइएको छ ।

योगनारायण यादव । उनी अहिले फरार छन् ।
यस अघि ८ बैशाख २०७२ मा धनुषा जिल्ला अदालतका न्यायाधिश मुकेश उपाध्यायको इजलासले सोही घटनामा पक्राउ परेका प्रतिवादीहरु महेश यादव, रामविहारी यादव भनिने लाल विहारी यादव र महेन्द्र यादवलाई पुर्पक्षको लागि थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नु र फरार प्रतिवादीहरुलाई पक्राउ पुर्जी जारी गरिएको आदेश गरेको थियो । सबैला नगरपालिका १ मा बस्ने रामसेवक राउतको श्रीमति सिकिल देवि गडेरी र सोही नगरपालिकाका श्याम किशोर साहले गरेको किटानी जाहेरी सहितको मुद्दामा अदालतले उक्त आदेश गरेको थियो । रामसेवक गडेरीको हत्या गरेको तथा थुप्रै मानिसहरुलाई कुटपिट गरी घाइते बनाएको भन्दै २९ जना विरुद्ध किटानी जाहेरी दिइएको छ ।  अदालतको आदेश लगत्तै योगनारायण यादव सहित फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न धनुषा प्रहरी सक्रिय भईसकेको भन्दै प्रहरी निरीक्षक भगिरथ रेग्मी भन्छन,“ सादा पोशाकमा प्रहरी परिचालन भई तिनीहरुलाई पक्राउ गर्न प्रहरी टोली लागि परेका छन् । केही दिन भित्रै तिनीहरुलाई पक्राउ गरी अदालत सामु उभ्यिाउने छौं ।” कर्तव्य ज्यान सम्बन्धी महलको १३ (३) सम्बन्धि सर्बस्व सहित जन्मकैद र ज्यान मार्ने उद्योग अन्तरगत ५ देखि १२ बर्ष सम्म कैद सजाय माग दावी गरेका सरकारी वकिल तथा जिल्ला न्यायाधिवक्ता पुन्यप्रसाद पाठक भन्छन,“ तिनीहरु तत्काल बच्ने कुनै सम्भावना देखिँदैन । प्राप्त प्रमाण तथा घाइतेहरुले स्वयम गरेको किटानी जाहेरी तथा बयान कागज, घाइतेहरुको घाउ जाँच केश फारम रिपोर्ट, मृतकको शव परीक्षण प्रतिवेदन रिपोर्ट, पक्राउ परेका प्रतिवादीहरुले मेरै सामु प्रहरी अधिकृत समक्ष गरेको बयान कागजका आधारमा पनि उनीहरु जेल जाने लगभग निश्चित छ ।” उक्त घटनामा प्रदिप कुमार यादव, उमेश साह कल्वार, दिनेश साह, रामदेव ठाकुर, लखिचन साह, श्याम किशोर साह, रामबली साह गरी ११ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सबैलाबाट घाउ जाँच केस फारम रिपोर्ट प्रहरीले पेश गरेका छन् । त्यसैगरी घाइते रामसागर साहको बयान कागज प्रहरी वृत्त बौद्ध काठमाण्डौ र उसको घाउ जाँच केश फारम प्रतिवेदन समेत पेश गरिएको छ । मृतक राम सेवक गडेरी राउतको पोस्टमार्टम रिपोर्टमा समेत धेरै चोट पटक बताइएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार मृतक गडेरीको टाउँकोमा धार नभएका हतियारको चोट, दाहिने आँखाको माथि निल, दायाँ तिघ्रा र खुट्टामा चोट मृत्युको प्रमुख कारण बताइएको छ ।
क–कसका विरुद्ध किटानी जाहेरी ?
उक्त मुद्दामा धनुषा साविक सबैला गाविस वार्ड नं.२  हाल सबैला न.पा.वार्ड नं. १ मा बस्ने रामलखन यादवको छोराहरु बर्ष ५० को योगनारायण यादव, बर्ष ४१ को महेन्द्र यादव, बर्ष ४० को जगदीश यादव विरुद्ध किटानी जाहेरी दिइएको छ । त्यसैगरी सबैला कै सुरजनाथ यादवको छोरा बर्ष ५० को महेश यादव, रामेश्वर यादवको छोरा बर्ष ३२ को रामविहारी यादव भन्ने लाल बिहारी यादव, घुरे यादवको छोरा बर्ष ५० को रामबाबु यादव, ऐ.ऐ.मा बस्ने दुःखी यादवको छोरा बर्ष ४४ को लाल विहारी यादव, धनिकलाल यादवको छोरा बर्ष ३० को पुष्पनारायण यादव, रामबृक्ष साहको छोरा बर्ष ४० को फिरन साह, जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं. १ हाल सबैला न.पा.वार्ड नं.१ मा बस्ने किशोरी यादवको छोरा बर्ष २७ को लक्ष्मण यादव विरुद्ध समेत किटानी जाहेरी गरिएको छ । सुखी यादवको छोरा बर्ष ६० को रामविलास यादव, किशोरी यादवको छोरा बर्ष ३१ को प्रदिप यादव, अर्जुन साह तेलीको छोरा बर्ष ४८ को ज्ञानी साह, साविक सबैला गाविस वार्ड नं. ४ हाल सबैला न.पा.वार्ड नं.२ मा बस्ने गुनिया यादवको छोरा बर्ष ४० को बुधेश्वर यादव, सितल लाल यादवको छोरा बर्ष ३२ को राजदेव यादव विरुद्ध मुद्दा परेको हो ।
 जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं.५ हाल सबैला न.पा.वार्ड नं. २ मा बस्ने लक्ष्मी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, शिवजी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, रामनरेश प्रसाद साह कलबारको छोरा बर्ष ४२ को राजु प्रसाद गुप्ता, माची झिट्कैया गाविस वार्ड नं.६ घर भई हाल सबैला न.पा.वार्ड नं. १ मा बसने महगा राउतको छोरा बर्ष ४४ को देवन यादव भन्ने देवलाल यादव, कजरारमौल गाविस वार्ड नं. १ मा बस्ने चन्द्रकिशोर यादवको छोरा बर्ष ४० को लक्ष्मीनारायण यादव,सबैला न.पा.वार्ड नं.१ मा बस्ने सुरजनाथ यादवको छोरा बर्ष २९ को झोपे यादव,परमेश्वर गडेरीको छोरा बर्ष ५० को जगदीश राउत, जिवछ यादवको छोरा बर्ष ४० को महेन्द्र यादव, जिवछ यादवको छोरा बर्ष ४८ को दुखिया यादव, खुसी यादवको छोरा बर्ष ५८ को रामबृक्ष यादव, ऐ.ऐ.वार्ड नं.७ मा बस्ने रामदयाल यादवको छोरा बर्ष ३८ को जिवछ यादव, झटियाही वार्ड नं.४ मा बस्ने किशोरी साहको छोरा बर्ष ३६ को दुर्गा प्रसाद साह, झटियाही वार्ड नं.७ मा बस्ने रामस्नेही मण्डलको छोरा बर्ष ३० को देवा भन्ने देवनारायण मण्डल र गणेशमान चारनाथ न.पा.वार्ड नं.९ मा बस्ने रामबृक्ष महत्तोको छोरा बर्ष ४५ को अच्छेलाल महत्तो विरुद्ध किटानी जाहेरी दिइएको छ ।

२०७२ जेष्ठ २४ गते आईतबार

No comments:

Post a Comment