Monday, November 3, 2014

धनुषाको सीमावर्ती नाका सुन चाँदी तस्करीको प्रमुख अखाडा

अजय अनुरागी
जनकपुरधाम............
२९ असोज २०७१ का दिन करिब ५ः१५ बजे सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट नगराइनको टोलीले चेक जाँचको क्रममा धनुषाको लगमा गाढागुठी(९ का हरिशचन्द्र साहको २७ वर्षिय छोरा राजकुमार साहलाई २० किलो चाँदी सहित पक्राउ ग¥यो । सहायक प्रहरी निरीक्षक छविलाल रावतको कमाण्डमा गएको १३ जनाको प्रहरी टोलीले जनकपुर(जटही सडक खण्ड अन्तरगत नगराइन ३ भन्ने स्थानमा चेक प्वाइन्ट राखि व्यक्ति तथा सवारी साधन चेक जाँच गर्ने क्रममा कालो झोलामा २० किलो चाँदी राखि ना.३.प ७३० नम्बरको होण्डा प्यासन मोटरसाइकलमा सवार भई भारतको सिमा पार गर्न गईरहेको साहलाई सशस्त्र प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको थियो । प्रदिप भन्ने व्यक्तिले आफुलाई उक्त सामान लिएर बोर्डर कट्न तथा बोर्डरमा एक जना व्यक्तिले सम्पर्क गर्ने र उनलाई बुझाइदिने भनि भरियाको रुपमा उनी काम गरेको सशस्त्र प्रहरीका उपरीक्षक रविन्द्र ठाकुरले बताएका छन् । पक्राउ गरिएका साहलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।
२०७१ असोज महिना भित्र जिल्ला प्रहरी कार्यालय धनुषाले  अन्दाजी मुल्य ७७ हजार ९ सय २५ रुपैयाँ बराबरको १२ सय ग्राम चाँदी र २ लाख ४५ हजार ६ सय ६६ रुपैयाँ बराबरको सुन र चाँदी दुई लटमा पथलैया भन्सार कार्यालयमा बुझाएको छ ।
धनुषाको पोर्ताहाबाट १० किलोग्राम सुनसहित एक व्यक्तिलाई धनुषा प्रहरीले १६ साउनमा पक्राउ ग¥यो । बझाङ जिल्ला मुलबिसौनी(१ स्थायी घर भई काठमाण्डौ महानगरपालिका वडा नं. ४ चावहिलमा डेरा गरी बस्ने २१ वर्षिय खम्बिर रौल्या पक्राउ परेका थिए ।  धनुषा प्रहरीको विशेष टोलीले गोप्य सुराकीको आधारमा धनुषा लवटोली गाविस वडा नं. ५ स्थित पुर्व पश्चिम राजमार्ग अन्तरगत पोरताहा खण्डमा काठमाण्डौबाट धरान तर्फ जाँदै गरेको ना.४ख. ६०९८ नम्बरको न्यू कोसी सुपर यातायात धरानको बसमा सबार भई गैईरहेको रौल्यालाई खान तलासी गर्दा निजको साथबाट सुन १० पिस अन्दाजी १० किलो बरामद भएको थियो ।  पक्राउ परेका रौल्यालाई अनुमानित रु. ४ करोड ८० लाखको अन्दाजी १० किलो सुन, बरामद गरिएको रु. १० हजार र १ थान मोवाईल सहित जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको थियो । काठमाण्डौको किंग्स कलेजमा विविएमा अध्ययनरत रहेको रौल्या भरिया मात्र रहेको पत्रकार सम्मेलनमा तत्कालिन प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले बताएका थिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका उनी भरीया मात्र रहेको र इटहरीमा सुन बुझाउने उनको तयारी थियो । पक्राउ पर्नु अघि उनी दुई पटक सुन अर्को भरियालाई बुझाईसकेका थिए । प्रहरीका अनुसार उनी १ किलोग्राम सुन निश्चित ठाउँमा पु¥याइदिए बापत रु. ५ हजार पाउने गरेका थिए । उनी बसमा सबार भएको बेला केही सुनको टुक्रा जुत्तामा, केही खुट्टामा बाँधेका थिए भने केही ब्लयाकलेभेलको खोलमा राखेका थिए । उनलाई पक्राउ गर्न धनुषा प्रहरीले महोत्तरीको वर्दिवास, धनुषाको लालगढ र ढल्केवर लगायत राजमार्गका विभिन्न स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरेका थिए । परेका रौल्यालाई थप अनुसन्धानका लागि धनुषा प्रहरीले राजश्व अनुसन्धान विभागको क्षेत्रिय कार्यालय पथलैयामा पठाएको छ । 
जनकपुरबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ७४ किलो चाँदी सहित चारजनालाई ९ साउन २०७१ मा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा जनकपुर(१६ बस्ने २८ वर्षीय उमेश यादव, धनुषाको रमदैया भवाडी गाविस (१ बस्ने ३६ वर्षीय दिलिप कुमार साह, भारत बिहार राज्यको दरभंगा बस्ने ३६ वर्र्षीय रोशन कुमार साह र सोहि स्थानका ३२ वर्षीय प्रकाश गुप्ता रहेको थियो । तत्कालिन सशस्त्र प्रहरी उपरीक्षक सुवर्णथापा मगरले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार चाँदीको सानो पोका जिउमा लुकाई छिपाई लग्दै गरेको अवस्थामा उमेश र दिलिपको साथबाट ४५ केजी तथा रोशन र प्रकाशको साथबाट २९ केजी चाँदी बरामद भएको भएको थियो । पक्राउ परेका चारैजना तथा अन्दाजी ५२ लाख ५९ हजार ५ सय ६४ मूल्य बराबरको चाँदी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो । अवैध रुपमा भारत तर्फ सुन लग्दै गरेको अवस्थामा दुई नेपाली नागरीकलाई सीमावर्ती क्षेत्र लगमा (९ र दुई भारतीय नागरीकलाई नगराईन(३ बाट  सशस्त्र प्रहरीको जटही बोर्डर आउट पोस्ट ईन्चार्ज होमराज न्यौपानेले पक्राउ गरेका थिए । साइकलमा जाँदै गरेको तिनीहरुलाई शंका लागि चेकजाँच गर्दा चाँदी बरामद भएको थियो ।
९ साउन २०७१ मा ७४ किलो चाँदी सहित पक्राउ परेका
जनकपुर–१६ बस्ने २८ वर्षीय उमेश यादव,
 धनुषाको रमदैया भवाडी गाविस (१ बस्ने ३६ वर्षीय दिलिप कुमार साह,
 भारत बिहार राज्यको दरभंगा बस्ने ३६ वर्र्षीय रोशन कुमार साह
 र सोहि स्थानका ३२ वर्षीय प्रकाश गुप्ता ।
जनकपुरको राज ज्वेलर्सका संचालक राजकुमार साहले भारत र्पुयाउनका लागि आफुहरुलाई चांदी जिम्मा दिएको पक्राउ परेका उमेश यादवले पत्रकार सम्मेलनमा  संचारकर्मीलाई बताएका थिए । ओसारपोसारका लागि प्रतिव्यक्ति पांच हजार देखी १० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरेको यादवले जानकारी गराए । यसभन्दा पहिला पनि उनीहरुले दुईपटक सुनचाँदी तस्करी गरिसकेको बताएका थिए । पक्राउ परेका तस्करहरुले ज्याकेट जस्तो लुगा लगाई त्यसभित्र चांदीको पोकाहरु लुकाएर सिमा पार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
यस अघि पनि धनुषा प्रहरीले २०७१ जेष्ठ १ गते जनकपुरको रामानन्द चौकबाट भारतको महाराष्टूका एक जना भारतीय सुन तस्कर सचिन कदमलाई १ किलोग्राम सुन सहित पक्राउ गरेको थियो । 
कुख्यात सुन तस्कर बलराम गुप्तालाई सुनचाँदी र नगदसहित प्रहरीले २६ चैत्र २०७० मा पक्राउ गरेको थियो । महानगरीय अनुसन्धान महाशाखा काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले जनकपुर(२ शिवचोकस्थित बलराम प्रसाद एण्ड ब्रदर्सबाट गुप्तासहित भारी परिमाणमा सुनचाँदी र नगद बरामद गरेको थियो । विशेष सुराकीको आधारमा खटि गएको संयुक्त टोलीले गुप्ताको पसलमा छापामारी गरेर उक्त पसलबाट ६ किलो सुन, ३ सय ९० किलो चाँदी, ३० लाख दरका इन्भेष्टमेण्ट बैंकका दुई थान चेक र ७३ लाख ३० हजार ५ सय रुपैयाँ नगद बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी बरामद गरेको सुनचाँदी र नगद सार्वजनिक गरेका थिए । राजश्व छली अवैध तरिकाले करोडौंको कारोबार गर्दै आएका तस्कर गुप्तामाथि राजश्व ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि वढाइएको धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदीले पत्रकार सम्मेलनमा बताएका थिए । 
उनी सुन तस्करीको आरोपमा  विगतमा पनि पक्राउ परिसकेका व्यक्ति हुन् । तत्कालिन प्रहरी उपरीक्षक सुवेदीले बताए अनुसार गुप्ताले चीनबाट ल्याएको सुन नेपाल हुँदै भारत तस्करी गर्दै आएको बताइन्छ । त्यसैगरी भारतबाट ल्याएको सुन नेपालको बाटो हुँदै चीनसम्म तस्करी गर्दै आएको बताइन्छ । बरामद गरिएको सुन चीनको तिब्बत नाकाबाट राजधानी हुँदै जनकपुर ल्याएको, बरामद गरिएको सुन भारत तस्करी गर्ने तयारी रहेको प्रहरी उपरीक्षक सुवेदीले प्रारम्भिक अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा बताएका थिए । बरामद गरिएको ६ किलो सुनको मुल्य दुई करोड ७५ लाख र तीन सय ९० किलो चाँदीको मुल्य दुई करोड ५० लाख रुपैयाँ रहेको अनुमान गरिएको थियो । यस अघि पनि गुप्ताले काठमाण्डौ पठाउन लागेको दुई किलोग्राम सुन जनकपुर विमानस्थलमा बरामद भएको थियो । त्यसैगरी विगत केही वर्ष अघि उनको घरबाट पनि प्रहरीले ५ किलोग्राम सुन बरामद गरेको थियो । स्रोतका अनुसार तिहारभन्दा एक साता अघि उनी राजश्व अनुसन्धान विभाग पथलैहियाको हिरासतबाट रिहा भएका छन् ।
माथिका उक्त घटनाहरुले के देखाउँछ भने नेपालबाट भारतमा सुन तस्करीका लागि धनुषा जिल्लाको सिमावर्ती नाकाहरु मुख्य नाकाको रुपमा तस्करीहरुले प्रयोग गर्दै आएका छन् । सुराकीको आधारमा प्रहरीले अवैध सुन चाँदी तस्करी गर्ने भरियालाई पक्राउ गर्न सफल भएपनि तस्करका सञ्जाल तथा मुख्य तस्करीहरुलाई प्रहरीले कानुनको दायरामा ल्याएर कानुनको कठघरामा उभ्याउन सकेको छैन ।  प्रारम्भीक अनुसन्धानबाट यति कुरा मात्र खुल्न सकेको र थप अनुसन्धानको लागि पथलैया पठाइएको भनेर प्रहरीले पनि आफ्नो काम सकिएको भनेर देखाउने प्रवृति पनि वढेको छ । भरियाले कहाँबाट सुन(चाँदी ल्याएको हो र कसलाई सुन(चाँदी बुझाउन खोजेको हो भन्ने कुरा पक्कै पनि प्रहरीले अनुसन्धानको क्रममा खुलाएको हुनुपर्दछ । तर, त्यसपछि फलोअप गर्ने र तस्करका सञ्जाललाई पक्राउ गर्ने र गिरोह नै समाप्त पार्ने कार्य प्रति नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कसैको ध्यान गएको देखिँदैन । माथिका तस्करहरु तस्करी गर्दै पक्राउ परेका हुन् । तर, पक्राउ नपरेकाहरुले पक्कै पनि नियमित रुपमा तस्करी गरिरहेको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ । किनभने तस्करीहरुले विभिन्न स्वरुपमा र विभिन्न हतकन्डा अपनाएर तस्करी गरिरहेको पक्राउ गरिएकाहरुको बयानबाटै पनि पुष्टि हुन्छ ।
२६ चैत्र २०७० मा सुन चाँदी र नगद सहित 
पक्राउ परेका बलराम प्रसाद गुप्ता ।
धनुषामा सुन चाँदीको राम्रो व्यापार हुने गरेको छ । खास गरी मिथिलामा विहेवारी हुँदा सुन चाँदीको गर गहना अनिवार्य रुपमा किनमेल हुने गरेको छ । त्यसैगरी तिहारमा धनतेरसका दिन सुन चाँदी किन्नेहरुको पनि ठुलै भिड हुन्छ ।  प्रायः जसो हरेकको घरमा केही न केही सुन चाँदीका गर गहनाहरु अनिवार्य रुपले राखिएको हुन्छ । खास गरेर महिलाहरुले विवाह गर्दा जसरी आफ्नो सिउँदोमा सिन्दुर लगाएका हुन्छन् त्यसैगरी घाँटीमा सुनको मंगलसुत्र पनि लगाएकै हुन्छन् । अहिले झन धनुषाका यूवाहरु वैदेशिक रोजगारीका क्रममा विदेश गएर स्वदेश फर्किदा सुनको विस्कुट सरहको पाता लिएर फर्किने गरेका हुन्छन् । धनुषामा करिब १ सय ५० वटा सुन चाँदीको व्यवसायी रहेकोमा १ सय १० जना व्यवसायी जनकपुर सहरमा मात्र छन् । महेन्द्र नगर, सबैला, यदुकोहा र ढल्केवर लगायतको बजारमा समेत करिब ४० जना सुन चाँदी व्यवसायी रहेको सुन चाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष अमरनाथ गुप्ता बताउँछन् । गुप्ताका अनुसार एक दिनमा औषत करिब १ देखि १.२५ किलोग्राम सुन र १५ देखि २० किलोग्राम चाँदीको विक्री हुने गरेको छ । करिब ४ देखि ५ जना थोक व्यापारी छन् जसले कमर्सियल बैंकबाट सुन चाँदी किन्ने गर्छन् । खुद्रा व्यापारीहरुले ती थोक व्यापारीबाट आवश्यक परेको सुन चाँदी किन्ने गर्छन् भने पुराना सुन चाँदी बेच्न आउने उपभोक्ताहरुबाट समेत सुन चाँदी किनेर रिफाइन गराई खुद्रा व्यापारीले सुन चाँदी विक्री गर्ने गरेको गुप्ताले बताए ।
सुन चाँदी व्यवसायीको आन्दोलन
धनुषाको सशस्त्र प्रहरी बलले २९ असोज २०७१ मा २० किलो चाँदी सहित पक्राउ गरेको राजु कुमार साहको बयानको आधारमा एक जना प्रदिप ठाकुर भन्ने सुन चाँदीको गरगहना बनाउने कालिगढको घरमा राति १० बजे छापामारी गरेको थियो । सुन चाँदी व्यवसायी संघका अध्यक्ष गुप्ताका अनुसार कालिगढको घरमा गएर प्रहरी उपरीक्षक रविन्द्र ठाकुरकै उपस्थितिमा सशस्त्र प्रहरीले छापामारी गर्नुका साथै कालिगढ प्रदिप ठाकुरलाई कुटपिट समेत गरेको थियो । सशस्त्र प्रहरीको उक्त कदमको विरोधमा सुन चाँदी व्यवसायी संघले धनुषाको सुन चाँदी व्यवसायी ३० असोजमा बन्द गरेको थियो । गुप्ताका अनुसार पछि गएर एसपीले शंकाको अधारमा छापामारी गरेको भएपनि उक्त प्रदिप भन्ने व्यक्ति नभएको र प्रहरीबाट गल्ती भएको भन्ने कुरा स्वीकार गरेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका थिए । जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा भन्छन,“ धनुषामा प्रहरीहरुले कमिशनका लागि विल भएका साना व्यवसायीहरुलाई पनि समातेर मान्छे सहित पथलैया पठाउने गरेको छ । तस्करलाई समातेर कानुनको दायरामा ल्याउनै पर्छ तर, बिल डकुमेन्ट भएका मानिसलाई पनि समातेर प्रहरीले धनुषामा पदको दुरुपयोग मात्र गरेको छैन, प्रहरीले ज्यादती समेत गरेको छ । यो बन्द हुुनुपर्छ ।”
तस्करीको तीन लेयर
जब बजारमा वस्तुको माग बढी हुन्छ, त्यसपछि त्यसमा कालोबजारी सुरु हुन्छ । अहिले भएको पनि त्यही हो । भारतीय बजारमा ठूलो परिमाणमा सुनको अभाव भएपछि चिनियाँ तस्करहरूले नेपालको बाटो प्रयोग गरेका हुन् । भारत र चीनको नाकामा सुरक्षा व्यवस्था कडा भएकाले त्यहाँबाट तस्करीको कुनै सम्भावना छैन, नेपाल(भारत सीमा नाकामा सुरक्षा व्यवस्था फितलो भएकाले नेपाली बिचौलियाहरूले कम दररेटमा सुन भारत पु¥याउन थालेका हुन् । सबैभन्दा बढी वीरगन्ज नाकालाई तस्करहरूले प्रयोग गरेको पनि सुरक्षा अधिकारीहरूको दाबी छ ।
स्रोतका अनुसार तस्करहरूले खुला सिमानाको फाइदा उठाउँदै जतिबेला पनि लैजान खोज्छन् यसका लागि उनीहरूले भन्सार कर्मचारीदेखि सुरक्षा निकायका अधिकारीहरूलाई समेत सहजै प्रयोग गर्ने गरेको देखिन्छ । धनुषामा लामो समयसम्म कार्य गरि अनुसन्धान गरेका एक जना प्रहरी अधिकृतसँग द एक्सक्लुसिभले गरेको कुराकानीमा के खुल्न आएको छ भने तस्करीको तीन वटा लेयर देखिएको छ । एउटा लेयर भनेको तिब्बतबाट सुन चाँदी नेपाल भित्रियाउने गिरोह, दोस्रो गिरोहले नेपालमा उक्त सुन चाँदी कन्सिल गर्ने र राजधानी काठमाण्डौसम्म पु¥याउने, तेस्रो गिरोह भनेको काठमाण्डौबाट तराईका विभिन्न जिल्लाहरुको नाका भएर भारतको बोर्डरसम्म पु¥याउने गिरोह हुन्छ । उक्त प्रहरी अधिकृतका अनुसार धेरै पुँजीपति भएका व्यक्तिहरु जो सुन चाँदीका थोक विक्रेताहरु हुन्छन्, उनीहरुले तराईको विभिन्न नाकाहरु जनकपुर, विरगञ्ज, विराटनगर, सुन्सरी, भैरहवा लगायतका नाकाहरुलाई प्रयोग गर्दै भारत कटाउने गरेका हुन्छन् । ती सुन तस्करहरुले पारिश्रमिक दिएर विभिन्न लटमा विभिन्न भरियाहरुलाई प्रयोग गर्ने गरेको हुन्छ । त्यो भरिया भनेको सुन चाँदी तस्करले व्यक्ति विशेषको आधारमा छनौट गरेको हुन्छ ।
उक्त प्रहरी अधिकृतका अनुसार नेपाली व्यवसायीहरू यसमा लगानी गर्दैनन्, तर भारत लैजान सरकारी निकायमा जहाँ मिलाउनुपर्ने ती सबै ठाउँमा मिलाउन खप्पिस हुन्छन् । त्यसकारण पनि तिब्बती तस्करले नेपालीहरूलाई भरिया बनाएका हुन् ।
अन्तर्राष्टिूय बजारमा अमेरिकी डलरको मूल्य घटेपछि सुन बजारमा आउने भएकाले विगत दुई ती वर्षदेखि ठूला मुलुकका धनाढ्यहरूले सुनको साटो डलर संकलन गरेर राख्ने सामान्य नियमले पनि सुन तस्करहरूलाई सहज भएको र त्यसको असर नेपाली मार्गमा परेको बताइन्छ । त्रिभुवन विमानस्थलबाट अवैध तरिकाले सुन भित्रियाउन कठिन भएकाले पनि तस्करहरूले तिब्बतको नाका प्रयोग गरेका हुन् ।
हाल भारतीय बजारमा सुन तोलामा नेपालको भन्दा १ हजार रुपैयाँ बढी छ । भारतीय बजारमा सुनको माग उच्च रहेकाले नेपालको भन्दा बढी मूल्य भए पनि तस्करीमा कुनै असर नगरेको नेपाली सुन व्यवसायी र सुरक्षा निकायको भनाइ छ । 
नेपालमा पहिलेदेखि नै तस्करी
नेपालमा धेरै पहिलेदेखि सुन तस्करी हुने गरेको छ । पहिले दुबई, थाइल्यान्ड र मलेसियाबाट सुन ल्याइन्थ्यो । हङकङबाट पनि धेरै पटक तस्करी भएको थियो । विमानस्थलमा सुरक्षामा केही कडाइ हुन थालेपछि चीनको तातोपानी नाकाबाट प्रयोग बढेको हो । स्रोतका अनुसार उच्च तहको मिलेमतोमा नीतिगत रूपमै सहज बनाएर र भन्सारमा ‘सेटिङ’ मिलाएर तस्करी हुँदै आएको छ । 

२०७१ कार्तिक १६ गते आईतबार

No comments:

Post a Comment