Monday, November 3, 2014

प्रजातान्त्रिक योद्धा ‘स्मृतिनारायण चौधरी’

स्मृति नारायण चौधरी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२००७ साल अषाढ १२ गते नगराइन गाविस जटही गाउँमा स्मृति नारायण चौधरीको जन्म भएको थियो । जटहीको प्रावि स्कुलमा ३ पास गाउँ नजिकै रहेको सीमावर्ती भारत विहारको उमगाउँ स्थित दिनदयाल उच्च माविबाट सन् १९६८ मा उनले निमावि शिक्षा र एसएलसी उत्तीर्ण गरे । त्यसपछि आइएससी पढ्नका लागि मधुवनीको आर.के. कलेजमा भर्ना भए । त्यही बेला पञ्चायत व्यवस्थाको विरुद्ध निर्वासित भई आन्दोलन चलाईरहेका नेपाली कांग्रेसका विशेश्वर प्रसाद कोइराला सन् १९६८ मा दरभंगा आएका थिए । दरभंगाको राजेन्द्र भवनमा कांग्रेसले मिटिङ डाकेको थियो । स्मृति पनि उक्त वैठकमा सहभागी भए । त्यहाँबाट फर्किए पछि उनलाई मधुवनीमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनाइयो । आइएससी उत्तीर्ण गरी विएससी गर्न उनी सितामढीको गोयन्का कलेजमा नामाङकन गराए । सन् १९७७ मा भारतमा जयप्रकाशले इन्दिरा गान्धीको इमरजेन्सी विरुद्ध आन्दोलनको विगुल फुकेका थिए । त्यही आन्दोलनमा सहभागी हुन उनी परीक्षा छोडेर बनारस होमिए । त्यहाँ जयप्रकाशको आन्दोलनमा सक्रिय सहभागिता जनाएर उनी फर्केर राजनीति शास्त्रमा स्नातक उत्तीर्ण गरे । भारत विहारको सितामढीमा उनी स्नातक गरिरहेका बेला बासु कोइराला नेपाली कांग्रेसका नेता संगठन निर्माणमा सक्रिय थिए । सन् १९७१ मा स्मृतिलाई वासु कोइरालाले कांग्रेसको साधारण सदस्य बनाइदिए । हुन त उनलाई कांग्रेस बनाउन गाउँमा तत्कालिन सेनाले गरेको दमनले पनि उत्प्रेरित गरेको थियो । प्राथमिक शिक्षा हासिल गरिरहेकै बेला उनकै गाउँका एक जना गणतन्त्रवादी विद्यार्थी नेता दुर्गानन्द झाले २०१८ सालमा राजा महेन्द्रलाई लक्षित गर्दैै बम प्रहार गरेका थिए ।  बम काण्ड भएपछि जटहीमा शाही सेनाको क्याम्प नै स्थापित गरियो । स्मृतिका हजुरबा र  गाउँका अन्य मान्छेहरुलाई  समातेर लगेका थिए तत्कालिन सेनाले । त्यसैले पनि उनलाई बाल्यकाल देखि नै कांग्रेसमा लाग्नुपर्ने माहौलले पनि उत्प्रेरित गरिरहेको थियो ।
कांग्रेसको सदस्यता लिईसकेपछि बनारस पुगी विपी कोइराला र गिरिजा प्रसाद कोइरालासँग उनको सम्पर्क बढ्न थाल्यो । त्यतिबेला नेपाली कांग्रेसले पञ्चायत व्यवस्था विरुद्ध हतियारको राजनीतिलाई अगाडी बढाईसकेको थियो । विपीले स्मृतिलाई हतियार व्यवस्थापन र तराईको धनुषा, महोत्तरी, सर्लाही सबै जिल्लाहरुमा हतियार तथा बारुद आपुर्ति गराई तत्कालिन प्रशासनका विरुद्ध एक्शन गर्न विभिन्न यूवा नेताहरुलाई जिम्मा दिइयो । र, तिनीहरुले एक्सन पनि गर्थे । त्यही दौरान कांग्रेसी नेता सरोज प्रसाद कोइरालाको भारत विहारको मधुवनीमा गोली हानी हत्या भयो । गिरिजाबाबु सरोजबाबुको हत्या पछि मधुवनीमा आउँदा तिमीले सम्हाल्नु पर्छ भनेर भनेका थिए । त्यसपछि आन्दोलनका कममा पर्चा छपाउने, वम दिने, हतियार दिने सम्पुर्ण अप्रेशनको जिम्मेवारी उनलाई दिइएको थियो । स्मृति र सरोज प्रसाद कोइराला पटक पटक हतियार किन्न, नागालैण्डका एक जना यूवक वम बनाउने र हतियार त्यही तिर गिरिजाबाबुले किन्ने गरेका थिए । सिक्सर, कटुवा, चाइनीज म्यागजीन (केही मात्रामा) किन्ने गरिन्थ्यो । गौरी शंकर सिंहलाई चाइनिज म्यागजीनले नै हत्या गरिएको थियो ।
गिरिजाबाबुले यो बम हो, यसरी पिन झिकेर, फाल्नु पर्छ भनेर सिकाउँथे । एउटा कागजको ढुङ्गा बनाई पानीमा राखेर आगो लगाइदिन्थे । अनि कोइरालाले भन्थे, पुलिस आउँदा यसरी नै एक्सन गर्नुपर्छ । बनारसमा उनलाई राइफल कसरी चलाइन्छ भन्ने त्यही बैठक स्थलभन्दा उत्तर एउटा कोठामा लगेर गोली भर्ने, हतियार चलाउने प्रशिक्षण दिएका थिए । त्यसपछि चौधरीले हतियार चलाउने प्रशिक्षण विभिन्न कार्यकर्ताहरुलाई सितामढीको उखुको खेतमा लगेर दिने गरेका थिए ।
गणेश तिवारी नेपालीलाई महोत्तरी, विमलेन्द्र निधिलाई धनुषा, हरिहर विरहीलाई सिन्धुली, अशोक खनाल, धिरेन्द्र श्रेष्ठ र रामचन्द्र रायलाई सर्लाहीमा एक्सन गर्ने जिम्मा दिइएको थियो ।  ती सबै कमाण्डरहरुलाई स्मृतिले बनारसबाट हतियार तथा बारुदहरु उपलब्ध गराउने गर्थे । २०३० पुष १ गते नेपाली कांग्रेसले कालो दिवस मनाउने क्रममा थापा उपनाम रहेको एक जना कैदी बन्दीलाई स्मृतिले सर्लाही जेलबाट भगाएका थिए । भिठ्ठामोडमा एक्सन गर्न गएका रामजीवन सिंहको हातमै बम पड्केको थियो । उनी घाइते भएपछि मटिहानीमा लगी उपचार गराइएको थियो । केशव कोइरालाले सर्लाहीको बैंक लुटने योजना वनाएको थियो । त्यसको लागि केशवलाई स्मृतिले हतियार पनि दिएका थिए । तर, त्यहाँ केशवका एक जना साथी वैंकको काउन्टरमै पक्राउ परे । बैंक म्यानेजरले मेरो जागिर नै जान्छ, नलुट्नुस भनेर भनेपछि तिनीहरु बैंक नलुटिकनै फर्किए । फर्किएर उनीहरु मटिहानी पुगे । मटिहानीमा थानामा वम प्रहार गर्दा प्रहरीको जवाफी फायरिङमा केशव कोइराला मारिए । सर्लाहीमा प्रहरी हवलदार गौरी शंकर सिंह (लखौरी निवासी) उनीहरुको कारवाहीमा मारिएका थिए । त्यसपछि गणेश नेपाली प्रहरीको वान्टेड सूचीमा परी सितामढी क्याम्प आए । त्यहाँ क्याम्प पनि अस्त व्यस्त थियो । भारतमा पनि त्यहाँको सरकार सन् १९४८को फोरेन एक्ट अनुसार कुनै पनि अपराधिहरुलाई सीमाको ५० किलोमिटर भित्र रहन नदिने निर्णय गरेका थिए । बनारस, मुझफ्फरपुर, मधुवनी सबै ठाउँका क्याम्पहरु अस्तव्यस्त भए । ” त्यसपछि स्मृति जगर्नाथ आचार्य, हरिहर विरही, रामचन्द्र तिवारी मुझफ्फरपुर क्याम्पमा वस्न थाले । त्यहाँ कहिलेकाँही वासु कोइराला पनि आउने गर्थे । त्यहाँबाट क्याम्प संञ्चालन गरिन्थ्यो । तर, भारतमा इमरजेन्सी लागु भएपछि उनीहरुलाई धेरै गाह्रो हुन थाल्यो । खान, पिउनमा समेत अप्ठयारो हुन्थ्यो । गिरिजाबाबुले प्लेन अपहरण गरिसके पछि एक जनालाई मासिक एक सय रुपैयाँ (भारु) दिनुहुन्थ्यो । त्यसैमा वस्नु पर्ने, खानु पर्ने, लाउनु पर्ने सबै व्यवस्था गर्नुपथर््यो । त्यहाँ मुझफ्फरपुरमा रामकुमार शर्मा भन्ने व्यक्तिको घर स्मृतिले भाडामा लिएकाा थिए । त्यहाँ गिरिजाबाबु आउने गर्थे । नेपाल भारत मैत्री संघ नामको कांग्रेसीहरुले त्यहाँ संगठन गर्न थाले । धेरै वलियो संगठन बन्यो । स्मृतिका अनुसार उक्त संगठन बनाउनुमा सबैभन्दा वढी देन स्मृतिको र हरिहर विरहीको थियो । हुन त रामचन्द्र तिवारी पनि संगठन निर्माण गर्न कहिले काँही आउँथे । धेरै ताकतवर संगठन बन्यो । जसमा भारतकै ५ सय जति व्यक्ति सदस्य बने । सबै जना बौद्धिक वर्गका महन्थ श्याम सुन्दर दास (एमपी भइसकेका) वकिल, प्राध्यापक लगायतका व्यक्तिहरु सदस्य बनेका थिए ।  विपी कोइरालालाई बोलाउनु पर्छ भनेर उक्त संघले निर्णय गरियो ।  साइन्स कलेजमा कार्यक्रम आयोजन भयो । विपी बनारसबाट पटना आउनु भयो । त्यो समयमा इन्दिरा गान्धी प्रधानमन्त्री र उमाशंकर दिक्षित गृह मन्त्री थिए । भारतीय प्रशासनले विपीलाई पटनामै रोक्यो । पटनाबाट प्रशासनले आउनै दिएन । त्यतिबेला भारतीय सरकार पनि कांग्रेसको विरुद्धमा थियो । स्मृति गणेश नेपाली सबैलाई थुनेको थियो । उक्त कार्यक्रममा विपी आउन नसके पछि गिरिजाबाबु आए । त्यो कार्यक्रममा नेपाल सरकारको पनि निगरानी थियो । मान्छे कार्यक्रममा जानबाट पनि डराउँथे । तर पनि धेरै मानिसहरु जम्मा भएका थिए ।
जव सरोज प्रसाद कोइरालाको हत्या भयो, गिरिजा प्रसादले आर्मस रिभोलुसन सुरु हुन्छ भनेर भनेका थिए । पुष १ गते वम हतियार कार्यक्रमहरुलाई दिने जिम्मा स्मृतिको थियो । सितामढीबाट बम बनाउन जान्ने मानिसलाई स्मृतिले लिन फर्विसगन्ज पुगे । तर गल्तीले स्मृतिले अर्कै टूेन समातेका कारण वर्धमान पुगे । राती ८ वजे फेरी सियालदह आई अर्को टूेन समाति कटिहार र कटिहारवाट अर्को टूेन समाति  पुर्णिया हुँदै पुगेका थिए । गिरिजाबाबुलाई धेरै चिन्ता भइरहेको थियो, कि स्मृति कता हराए । त्यो मानिसलाई त्यहीं छोडेर उनी रातारात सितामढी फर्के ।
ओखलढुङ्गामा एउटा घटना भयो । नेपाली कांग्रेसका धेरै भेटूान कार्यकर्ताहरु मारिए र थुनिए । स्मृतिको आत्मीय मित्र रामलक्ष्मण, पदमप्रकाश पुरी, महेश कोइराला लगायत मारिए । यज्ञ थापा पक्राउ परे । जो पछि मरे । एकातिर भारतमा भारतीय सरकारले अत्यधिक कडाई गरेको थियो, अर्को तिर नेपालमा पनि कांग्रेसी कार्यकर्ताहरु थुनामा पर्न थाले पछि विपीलाई धेरै ठुलो धक्का पुगेका थियो । अनि ए गिरिजा अब आर्मस रिभोलुसन वन्द गर भनेर भन्नु भयो । स्मृति, विरही र रामचन्द्र तिवारी तिनै जना वनारस पुगे । उनीहरु आर्मस लिएरै गएका थिए । अन्य कार्यकर्तालाई आर्मस दिलाउनका लागि हतियार साथमा लिएर उनीहरु गएका थिए । तर, विपीले अनि भन्नु भयो,( अव यो हतियारको काम हुँदैन । अव मैले अर्को पोलिसी लिएको छु । राष्टिूय मेलमिलापको नीति । देश भित्रै वसेर शान्तिपुर्ण आन्दोलन गर्ने भनेर । त्यो बेला रामराजाप्रसाद सिंह पनि आएका थिए, वनारसमा । सिंहको डेरा थियो सारनाथमा । स्मृति पनि सारनाथमा उहाँकै डेरामा वसेका थिए । रामराजाले विपीलाई रोक्दै भनेका थिए,‘ तपाई नेपालमा कहाँ गइरहनु भएको छ ? राजा त यति क्रुर छन कि टुँडीखेलमा तपाईलाई गोली मार्दिन्छ ।’ किन भने त्यो समयमा स्पेनमा फ्रेन्कोलाई फाँसी दिइएको थियो,फ्रेन्को जस्तो हाल तपाईको पनि राजाले गरिदिन्छ भनेर रामराजाले भन्दा विपीले यस्तो जवाफ दिएका थिए ।” राजाको त्यति तागत छैन, कि मलाई मार्छ ।”
अनि राष्टिूय मेलमिलापको नीति अनुसार सबैभन्दा पहिले स्मृति, हरिहर विरही र रामचन्द्र तिवारी जनकपुर आए । त्यो बेलामा उनीहरुको क्याम्प दरभंगामा थियो । ३० दिसम्बर १९७६ मा टूेन समाति जयनगर हुँदै उनीहरु नेपाल आए । उनीहरुले सरेण्डर गरेनन् । पछि विरहीजी पक्राउ पर्नु भयो, तिवारीजी पनि पक्राउ पर्नु भयो ।
२०३३ मा जनकपुर आएपछि, २०३४ सालमा स्मृति पनि पक्राउ परे । विमलेन्द्र निधि र स्मृति राजाको जन्म दिन माघ १४ मा छुटे । फेरी २०३५ वैशाख ८ गते नेविसंघको स्थापना दिवसको अवसरमा पक्राउ परेपछि १० जेष्ठमा जनमत संग्रहमा घोषणा भयो । २५ गते उनीहरु छुटेका थिए ।
२०५२ सालमा स्थानीय निकायको चुनाव थियो । दामोदर उपाध्यायलाई जनकपुर नगर प्रमुखको रुपमा टिकट दिइनुपर्छ भन्ने स्मृतिको चाहना थियो । अनि विमलेन्द्र निधि दिगम्बर रायलाई टिकट दिलाउन चाहन्थे ।  तर पनि स्मृतिले गिरिजाप्रसाद कोइरालालाई जे भन्थे त्यही हुन्थ्यो । पार्टीले अन्तमा दामोदरलाई नै टिकट दियो । त्यसपछि विमलेन्द्र निधिले बजरंग साहलाई वागी उम्मेदवार खडा गरे । लिला कोइराला (मैया भाउजु) ले बजरंग साहलाई समर्थन गर्यो । दामोदर चुनावमा हा¥यो । स्मृति भन्छन, जनकपुर नगरपालिकामा कांग्रेसले मेयर पद कहिल्यै जित्न सकेको छैन । सधै बागी र स्वतन्त्र उम्मेदवारहरु नै जितिरहेका छन् । त्यसबेला धनुषामा कांग्रेसले ३७ वटा गाविसहरुमा गाविस अध्यक्ष जितेको थियो । त्यसैगरी जिविस सभापतिमा रामसरोज यादव, उपसभापतिमा दीपनारायण महत्तो र १७ वटा इलाकाहरुमध्ये ८ वटा इलाका सदस्य समेत कांग्रेसले जितेको थियो । स्मृति भन्छन,“मैले लीला कोइराला, रामवरण यादव, आनन्द ढुङ्गाना, विमलेन्द्र निधि समेतलाई पटक पटक सहयोग गरेको छु, तर मेरो लागि कसैले पनि केही सहयोग गर्न सकेको छैन ।
धनुषामा पार्टीको संगठन थिएन । २०३६ सालमा भिष्म जंग केसीलाई धनुषामा पार्टीको सभापति बनाइयो । उक्त कमिटीको जिल्ला सदस्यमा स्मृति पनि राखियो । त्यसपछि १४२ जना भुमिगत अवस्थामै क्रियाशील सदस्य बनाइएको थियो । २०४६ पछि शिवधारी यादव र आनन्द ढुङ्गाना वीच प्रतिस्पर्धा भयो ।  वृषेशचन्द्र लाल, गिरिश चन्द्रलाल शिवधारी यादवको पक्षमा थिए भने स्मृति, विमल सबै आनन्द ढुङ्गानाका पक्षमा थिए । त्यतिबेला रामसरोज यादवको कुनै पनि भुमिका थिएन । चुनावमा आनन्द प्रसाद ढुङ्गाना जिते । तर ढुङ्गानाको पहिले देखि नै विरामी परेका कारण उपचार गराउन दिल्ली गए । ढुङ्गानाले स्मृतिलाई कार्यवाहक सभापति वनाई दिल्ली गएका थिए ।
भारतीय नेता चन्द्रशेखर काठमाण्डौ आएका बेला स्मृति कार्यवाहक सभापतिको हैसियतमा सहभागी भएका थिए । त्यहाँ आनन्द ढुङ्गाना पनि दिल्लीबाट आएका थिए । त्यसपछि बहुदलको घोषणा भयो । फेरी उनलाई कार्यबाहक सभापति नै बनाइयो । त्यसपछि उनी निर्विरोध सभापति भए । त्यसपछि फेरी जिल्लामा उनी १ पटक सभापतिमा निर्वाचित भए । करिब १३ वर्ष उनी सभापति भए । २०५२ सालमा उनी धनुषाको पुर्वी(उत्तरी बेल्ट क्षेत्र नं. १ बाट सांसदमा पनि निर्वाचित भए । त्यसबेला उनी पार्टीका जिल्ला सभापति पनि थिए र उक्त क्षेत्रमा कांग्रेसको तर्फबाट कोही रुचाइरहेका थिएनन् । पहिले त त्यो क्षेत्र नक्सलाइटको क्षेत्र थियो । अनि त्यो क्षेत्रमा रामचन्द्र झाको वर्चस्व यति थियो कि शिवधारी यादवलाई हटाइदिन्थ्यो । कार्यकर्ताले भन्यो की झालाई स्मृति नारायण चौधरीले मात्र हराउन सक्छ भनेपछि पार्टीका केन्द्रिय सभापति गिरिजाप्रसाद कोइरालाले शिवधारीको नाउँ काटेर स्मृतिलाई उक्त  क्षेत्रबाट टिकट दिएका थिए ।
शहीदहरुको शालीक निर्माण गर्ने उनको ठुलो चाहना थियो । प्रधानमन्त्री देखि पार्टी सभापति गिरिजा प्रसाद कोइराला, स्वास्थ्य मन्त्री रामवरण यादव मन्त्री लिला कोइरालालाई भन्दा पनि रुपैयाँ कसैले दिएनन । दूर्गानन्द झा आफ्नो गाउँकै भएकाले (गाउँमा) र सरोजबाबु सँग धेरै काम गरेकाले उनको शालीक पिडारी चौकमा निर्माण गर्ने उनको ठुलो इच्छा कसैले सुनेन । नरपतिगन्जमा सूर्यनारायण सिंहको स्टेच्यू उनले देखेका थिए, मधुवनीबाट चुनाव लड्दा स्मृतिले सिंहलाई मद्दत समेत गरेका थिए । समाजवादी पार्टीका नेता सिंहको चौधरीमाथि ठुलो प्रभाव परेको थियो ।
त्यसैले स्मृतिनारायण चौधरीले आफ्नै पहलमा चन्दा जटाई जटहीमा शहीद दूर्गानन्द झाको शालीक सहित शहीद गेट निर्माण गरे । पिडारी चौकमा कसैले सहयोग नगरेपछि उनले सरोज कोइरालाको शालीक निर्माण गर्न सकेनन् ।
सांसद भएको बेला पनि शहीदको काम गर्नुपर्छ भनेर उनले इनरवामा शहीद कामेश्वर कुशेश्वर हल्ट निर्माण गराए । यदुकोहा सम्म वस जाँदैन्थ्यो, सडक मर्मत गराई वस पु¥याउने बाटो बनाए । धबौलीमा जिर्ण स्वास्थ्य चौकी निर्माण गरे । हुलाकी सडकको कुरा उनले नै उठाए । यदुकोहामा विद्युतको सव स्टेशन उनले पाइपलाइनमा लगे । विशेश्वर यादव, सुरेश चौधरी लगायत १०÷१५ जना डेलिगेशन लिएर गिरिजाबाबुलाई भेटेर हुलाकी सडक निर्माण गर्नुपर्छ भनेर भनेको थिए । २०५७ मा भारत सरकारसँग एग्रीमेन्ट पनि भयो तर भारतले ध्यान दिएका छैन । महेन्द्रनारायण निधिलाई उनी प्रेरणाको स्रोत मान्छन् । किनभने दुवै जना एकै गाविसका वासिन्दा हुन । चौधरी भन्छन,“ निधीजी गाउँ आउँदा मलाई बोलाउनु हुन्थ्यो र, सँगै बसेर घण्टौं कुरा गर्नुहुन्थ्यो । उहाँ डायरी पनि लेख्नुहुन्थ्यो । मलाई विश्वास छ उहाँले आफ्नो डायरीमा मेरो धेरै चर्चा गर्नु भएको होला । म सभापतिका चुनाव लड्दा मेरो विरुद्धमा उनी भोट खसाल्दैनथे त र साथीहरुले उहाँलाई वाटोमा घेरेर भोट दिलाउन लगाए ।”
जनमत संग्रह भएपछि स्मृति र स्मृतिले नै कांग्रेसको सदस्यता दिएको रामसरोज यादव खासगरी ३ नं. क्षेत्रमा धनुषामा घुमे । गाउँ गाउँमा बहुमत प्रचार प्रसार समिति गठन गरेका थिए । चौधरी भन्छन,“ हालसम्म पनि त्यही संगठनले काम गरिरहेको छ । त्यहाँबाट शिवधारीजी लगायत थुप्रै व्यक्तिहरु संगठनमा आएका थिए । कार्यकर्ता संगठनको वलमा उनी शक्तिशाली मानिन्थे ।
स्वाभीमानी मान्छे भएका कारण नेताको चाकडी नगर्नु आफ्नो ठुलो कमजोरी रहेकाले नै आफु केन्द्रमा केन्द्रिय पद पाउन नसकेको उनको गुनासो छ । अहिले आफु विमार भएपनि कसैलाई भन्न नगएको उनी बताउँछन् । अरुलाई मन्त्री बनाउन उनी सिफारिस गरिदिन्थे तर उनी आफु कहिल्यै मन्त्री बन्न सकेनन् । रामवरण यादव, लिला कोइराला, आनन्द ढुङ्गाना सबैलाई मन्त्री बनाउन गिरिजाबाबु कहाँ आफुले सिफारिस गरेको उनले बताए । धनुषामा मात्र नभएर पुर्व देखि पश्चिम सम्म आफ्नो सर्कलका मान्छेहरुको लागि सिफारिस गर्ने गरेको उनी बताउँछन् ।
जुनबेला महेन्द्रनारायण निधी महामन्त्री थिए, २०५२÷०५३ मा ५ हजार ५सय क्रियाशिल सदस्य बनाएका थिए । डायविटीज र ब्लडसुगरका प्यासेन्ट उनी छँदैथिए । राष्टिूय मेलमिलाप दिवसमा गौर उनी गएका थिए । २०६८ पुषमा उनको आमाको देहान्त भयो । खबर भएपछि उनी गाउँ आई दाहसंस्कार भयो । हिन्दु परम्परा अनुसार उनलाई नुन वार्न भनियो, विहानै जटही पुगी साँझ जनकपुर आउने गर्यो उनी । एकाएकको दिन पानी परेको थियो, उनलाई धेरै जाडोले सतायो, मान्छेहरु भोजवतेरमा लागेका थिए । उनलाई खप्न नसकेपछि उनलाई जनकपुर ल्याइयो, अस्पतालमा उपचार गराइयो । परिवारजनले थप उपचारका लागि प्लेनबाट काठमाण्डौ  पठाए । विमानस्थलबाट सिधै ओम नर्सिङ होममा लागियो । उनको खुट्टा चल्न छोडेको थियो । त्यतिबेला मात्र उनलाई महसुस भयो कि उनी प्यारेलाइज्ड भइसकेका छन् । २ दिन पछि उनको बोली बन्द भयो । अनी उनले डाक्टरलाई भने जसरी तपाईको आला महत्वपुर्ण छ त्यसरी मेरो लागि बोली नै महत्वपुर्ण छ । अव कसरी काम चल्छ ? बुवा, आवाज भान्छ, आउँछ भनेर डाक्टरले सम्झाए । ३ दिन पछि मस्तिष्कघात भएको र प्यारालाइज्ड भएको चिकित्सकले ठहर गरिसकेपछि अव यहाँ उपचार हुँदैन, कोठा जानुस भनेर चिकित्सकले भन्यो । त्यहाँ छोरी ज्वाइँको घरमा उनी वसे । फागुनमा मात्र उनी आफ्नो डेरामा आए । त्यसपछि दिल्लीमा उपचार गराए । अहिले नर्भिक अस्पतालको पंकज जालानले उनको उपचार गर्दैछ । अहिले सुगर र प्रेसर ठीक भए पनि कष्ट धेरै भइरहेको उनी बताउँछन् । चुनावमा विमलजीले तपाई सभाषद भइहाल्नु हुन्छ भनेर भन्नु भयो, अनि मैले विमलजीको लागि गाउँ गाउँमा गएर प्रचार प्रसार गरें र जिताएँ । उनले प्रचारका क्रममा एक ठाउँमा होइन धेरै ठाउँमा के भन्नु हुन्थ्यो भने म त पछि सभाषद होउँला तर स्मृतिजी सभाषद भइसक्नु भयो ।  समानुपातिकमा त पक्का पर्नुहुन्छ । देशमा प्रजातन्त्रको बहालीको लागि ४ वर्ष निर्वासित जीवन र पटक पटक गरी ६ वर्ष जेल जीवन विताईसकेका चौधरी भन्छन,“ सांसद हुन मलाई कुनै रहर छैन, म त निर्वाचित सांसद भईसकेकै हुँ । तर, अहिले सभाषद भइदिएको भए स्वास्थ्य उपचारको लागि व्यवस्था हुन सक्थ्यो । अहिलेको राजनीतिमा त सबैले बाघकै शिकार गर्छन, श्यालको शिकार कसैले गर्दैन ।”
 साढे ५ बजे उठेर ६ बजे सम्म कायाकैरण समाचार सुनेर, भक्ति धुन, ७ बजे सम्मको कान्तिपुरको समाचार सुनेर एक गिलास दुध खाई उनी शौचालय जान्छन् । त्यसपछि मुर्ली चौकमा गएर एक कफ चिया खाई एउटा कान्तिपुर पत्रिका लिई घरमा फर्किन्छन् । हिमाल, नेपाल, पुस्तकहरु पढ्छन् । अहिले उनी विजय कुमारको खुशी र प्रशान्त झाको पुस्तक पढिरहेका छन् । बेला बेलामा कार्यकर्ताहरु आउँछन्, भेट गरेर जान्छन् । काठमाण्डौमा रहेका बेला विमलजी पनि २ पटक आउनु भयो , स्मृति बताउँछन् । उनी आफै नुहाउँछन्, धोवीबाट कपडा सफा गर्न लगाउँछन् । फिजियो थेरेपी गर्छन् । उनको श्रीमति पनि विमार छन् ।


२०७१ कार्तिक १६ गते आईतबार

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete