Monday, March 24, 2014

बढ्दैछ आत्म हत्या प्रयास

अजय अनुरागी
जनकपुरधाम............
विविध कारणले गर्दा आवेशमा आएर आफ्नो ज्यानलाई आहुति दिन भन्दै आत्म हत्या प्रयास गर्नेहरु धनुषामा दिन प्रति दिन वढ्दै गएको छ । जनकपुर अञ्चल अस्पतालमा प्रत्येक दिन ४ देखि ५ जना सम्म आत्म हत्या प्रयास गर्नेहरु भर्ना हुने गरेका छन् । समयमै अस्पताल पु¥याइएका ती रोगीहरुलाई चिकित्सकले उपचार गरी जोगाउन सक्षम भएपनि कतिपयमा असफलता पनि देखिन्छ । वढ्दै गएको वैदेशिक रोजगारी, आर्थिक कलह, घरेलु हिंसा, अवैध सम्बन्ध इत्यादी आत्म हत्याका प्रमुख कारण वन्दै गएको छ ।
धनुषा गोदार ३ की १५ वर्षिय सुनयना देवी साहले श्रीमान् सँग झगडा भएका कारण ४ चैत्र २०७० मा विष सेवन गरी आत्म हत्या गर्ने प्रयास गरिन । तत्कालै उनलाई उनका आफन्तले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याएपछि अहिले उनी उपचारार्थ छिन । ६ माघ २०७० मा उनको विहे भएको थियो । श्रीमान सँग सामान्य झगडा भएपछि रिसमा आएर सुनयनाले घरमै राखिएको जुम्रा मार्ने औषधि सेवन गरेकी थिइन । 
धनुषा इनरवा ८ का ३० वर्षिय निरस मण्डललाई श्रीमति प्रमिला देवीले हप्काएर गाली गलौज गरेपछि धनुषाधामबाट विषाक्त किनेर सेवन गरी ५ माघ २०७० मा आत्म हत्या गर्ने प्रयास गरे । उनको पनि अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ । उनको श्रीमति प्रमिलाका अनुसार श्रीमान काम पनि नगर्ने र गाउँमै कुनै काम गर्न भन्दा नमान्ने र विदेश नै जाने भन्ने अड्डि कसेपछि आफुले उनको मानसिक अवस्था स्वस्थ नभएका कारण विदेश नजान भनेपछि विष सेवन गरे । गत कार्तिक महिना देखि नै सोही विषयलाई लिएर श्रीमान र श्रीमति बीच झगडा भैरहेको थियो ।
विष सेवन गरी आत्म हत्या प्रयास गरेकी धनुषा गोदार–३ कि १५ वर्षिया महिला सुनयना देवी साह जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै ।
 धनुषाधाम १ का ३५ वर्षिय रुकसाना खातुनले ससुरासँग झगडा भएपछि ७ चैत्र २०७० मा विष सेवन गरी आत्म हत्या गर्ने प्रयास गरिन । कतारमा श्रीमान वैदेशिक रोजगारीमा रहेको र छोरा छोरीको लागि ससुरासँग भएको झगडा सहन नसकेपछि घरमै रहेको लामखुट्टे मार्ने औषधि सेवन गरी आत्म हत्या गर्ने प्रयास गरेको रुकसानाले बताइन । उनको पनि अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
महोत्तरी एकरहिया ४ का कासिम कवाडिका ३० वर्षिय छोरा भुषण कवाडीले ७ चैत्र २०७० मा आफ्नै जिऊमा मट्टितेल हालेर आगो लगाई आत्म हत्याका प्रयास गरेका थिए । घरमा सामान्य विवाद भएपछि अभिभावकलाई तर्साउनका लागि भनेर उनले आफुलाई जलाउने र पछि घरका मान्छेले बचाइहाल्ने सोचेर आत्म हत्या प्रयास गरेका थिए । उनको पनि अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ । उनको आत्म हत्याको प्रयास यो दोस्रो पटक हो । यस अघि पनि उनले विष सेवन गरी आत्म हत्या प्रयास गरेका थिए । पछि उपचार गराएर उनी घर फर्केका थिए ।
डा. अवधेष कान्त झा ।
यी ४ वटा घटना आत्म हत्या प्रयासका उदाहरण मात्र हुन । जनकपुर अञ्चल अस्पतालमा यस्तो कुनै दिन छैन जुन दिन आत्म हत्या प्रयास गर्ने रोगी उपचारका लागि भर्ना हुँदैनन् । अञ्चल अस्पतालको इमरजेन्सी विभागमा कार्यरत एकजना स्वास्थ्यकर्मी उज्जवल झाका अनुसार प्रत्येक दिन कम्तीमा पनि ४ देखि ५ जना सम्म आत्म हत्या प्रयास गरेका विरामीहरु उपचारका लागि भर्ना हुन्छन् । विष सेवन, आगो लगाई, झुन्डीएर र हाम फालेर समेत आत्म हत्या प्रयास गर्नेहरु भर्ना हुन आउने गरेको भएपनि विष सेवनका रोगीहरु सबैभन्दा वढी आउने गरेको झाले बताए । यसरी हेर्दा एक महिनामा १ सय ५० जना सम्म आत्म हत्या प्रयासका रोगीहरु उक्त अस्पतालमा भर्ना हुने गरेका छन् ।
वढ्दो तथ्याङ्क
विष सेवन गरी आत्म हत्या प्रयास गरेकी धनुषाधाम–१ कि ३५ वर्षिया महिला रुक्साना खातुन जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै ।
जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्याङ अनुसार आर्थिक वर्ष २०६८÷०६९ मा विष सेवन गरी ४१, झुन्डिएर २४ र आगो लगाएर १ जना गरी कुल ६६ जनाले आत्म हत्या गरेका छन् । त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा विष सेवन गरी ४२, झुन्डिएर २७, पानीमा डुवेर १ र आगो लगाएर १ गरी कुल ७१ जनाले आत्म हत्या गरेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७०÷०७१ को मंसिर महिनासम्म मात्र विष सेवन गरी १४ जना र झुन्डिएर १९ जना गरी कुल ३३ जनाले आत्म हत्या गरेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्याङ अनुसार आर्थिक वर्ष २०६७÷०६८ मा विष सेवन गरी कुल ४६ जनाले आत्म हत्या गरेका छन् । आ.व.२०६८÷०६९ मा विष सेवन गरी २९, हाम फालेर १ जना गरी कुल ३० जनाले आत्म हत्या गरेका छन् । त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा विष सेवन गरी ३८ र आगो लगाएर १ गरी कुल ३९ जनाले आत्म हत्या गरेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७०÷०७१ को माघ महिनासम्म मात्र विष सेवन गरी १८ जनाले आत्म हत्या गरेका छन् । यसरी यी दुई जिल्ला धनुषा र महोत्तरीमा मात्रै हेर्ने हो भने अकालमै ज्यान गुमाउनेहरुको संख्या भयावह देखिन्छ ।
किन गर्छन आत्म हत्या वा आत्महत्या प्रयास ?
शरीरमा मट्टितेल छर्केर आफैले आगो लगाई आत्म हत्या प्रयास गरेका महोत्तरी एकरहिया–४ का ३० वर्षिय भुषण कवाडी जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै । उनले दोस्रो पटक आत्म हत्या प्रयास गरेका छन् ।

तराईका धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायतका जिल्लाहरुमा आत्म हत्या गर्नेहरुको संख्या दिन प्रति दिन वढ्दै गएको देखिन्छ । खास गरी ग्रामिण क्षेत्रहरुमा वैदेशिक रोजगारीमा गएकाहरुको श्रीमतिले आत्म हत्या गर्ने गरेको वढी नै पाइन्छ । महिलाहरुले विष सेवन गरी वा झुन्डिएर आत्म हत्या गर्ने प्रवृति वढ्दै गएको पाइन्छ । जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी फाँटका इन्चार्ज डा.अवधेष कान्त झाका अनुसार प्रायः जसो वैदेशिक रोजगारीमा गएका पुरुषहरुका श्रीमतिहरुले आवेशमा आएर आत्म हत्या प्रयास गरेको देखिन्छ ।
 डा. झा भन्छन,“श्रीमान विदेशमा भएपछि श्रीमतिले शारिरीक आवश्यकता पुरा गर्न परपुरुष सँग अवैध सम्बन्ध गाँस्ने, उक्त कुरा विदेशमा रहेको श्रीमान सम्म पुगेपछि घरमा कलह वढ्दै जाने हुँदा महिलाहरुले आत्म हत्या गर्ने प्रयास गरेको देखिन्छ ।” स्वदेशमा रोजगारी नपाएपछि पुरुषहरु बैदेशिक रोजगारीका लागि बाध्य छन् । विहे गरेको केही महिना नवित्दै पुरुषहरु विदेशिन्छन् । घरमा श्रीमति अज्ञानतावश परपुरुषसँग सम्बन्ध गाँस्न थाल्छन् । पछि उक्त कुरा घरमै रहेका सासु ससुराले थाहा पाएपछि विदेशमा रहेका छोरालाई टेलिफोन मार्फत जानकारी गराउँदा सत्य तथ्य नबुझिकनै  श्रीमतिलाई घरबाटै निस्कन बाध्य पारेपछि कतिपय महिलाले आत्म हत्या गर्ने गर्छन् । 
महिला अधिकारका लागि सक्रिय संस्था ओरेक नेपालकी एक जना अधिकारकर्मी हेमलत्ता सिग्देल भन्छिन,“ महिला प्रतिको समाजले हेर्ने दृष्टिकोण अझसम्म पनि परम्परागत नै रहेको छ । श्रीमान विदेशिएपछि घुम्टोमा वस्ने गाउँकी एक महिलाको काँधमा आफ्नो परिवारको लालन पोषणको सम्पुर्ण जिम्मेवारी अचानक आउँछ । त्यसपछि घरका कामका लागि समाजका छिमेकी वा आफन्तको सहयोग लिदा अनेक लान्छना लगाइन्छ । लान्छना मात्र होइन घरबाटै निस्काशन गरिन्छ । यस्तो अवस्थामा महिलाले लोक लाजका कारण आत्म हत्या गर्ने गर्छन् ।” 
विष सेवन गरी आत्म हत्या प्रयास गरेका धनुषाको इनरवा–८ का ३० वर्षिय निरस मण्डल जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै ।
यदि परपुरुषसँग अवैध सम्बन्ध गाँसिन गएको भएपनि पुरुषलाई समाजले केही पनि गर्दैन । कुनै दण्ड सजाय दिदैन । तर, अवला महिलालाई घरका सम्पुर्ण सदस्य, समाज र विदेशमा रहेका श्रीमान समेतले अपराधि ठहराउँदछ । ललाई फकाई, प्रलोभन दिएर अवैध सम्बन्धका लागि बाध्य पार्ने पुरुष समाजमा सिर ठाडो पारी हिडिराखेको हुन्छ भने महिला प्रताड्ति, तिरस्कृत र अपहेलित हुन बाध्य हुन्छन् । यसरी एउटा महिलामाथि हुने गरेको सामाजिक शोषण देखि पारिवारिक शोषण सहन नसकि महिला आत्म हत्याको बाटो रोज्न बाध्य भएको अधिकारकर्मी सिग्देल बताउँछन् । उनका अनुसार महिलालाई पनि बाँच्न अवसर दिए, श्रीमान र श्रीमति बीच समझदारी कायम गर्न लगाए महिलाले पनि आत्म हत्या गर्ने थिएनन् । उनका अनुसार यसो हुनुमा सामाजिक संरचना, घर परिवार र समाजको सोचनै महत्वपुर्ण कारण हो ।
डा. झाका अनुसार आत्म हत्या प्रयास गर्नेहरु तत्काल आवेशमा आएर पलभरमै जिवन त्याग गर्ने निर्णय लिएका हुन्छन् । आत्म हत्या गर्नेहरुमा टिन एजरका यूवा यूवतीहरु देखि वृद्ध वृद्धासम्म छन् । प्रेममा असफल भएपछि यूवा यूवतीहरुले आत्म हत्या गर्ने गरेका छन् । बुवा आमाले छोरा छोरीलाई पकेट खर्च नदिएपछि, पढन भनेपछि, कुटेपछि आत्म हत्या प्रयास गर्ने गरेको देखिन्छ । कतिपय अवस्थामा मोवाइल वा मोटरसाइकल किन्नका लागि पैसा माग्दा अभिभावकले नदिएपछि पनि यूवा यूवतीहरुले आत्म हत्या गर्ने गरेको डा.झा बताउँछन् । घरमा बुहारीबाट प्रताडित भएपछि सासु ससुराले पनि आत्म हत्या प्रयास गर्छन । 
डा.झाका अनुसार धनुषाको सबैलामा एकजना मुस्लिम समुदायका महिलाले तीन जना छोरा छोरीलाई विष खुवाई आफैपनि विष सेवन गरी आत्म हत्या प्रयास गरेका थिए । उपचारको क्रममा एउटा बच्चाको मृत्यु पनि भयो । प्रायः जसो आर्थिक कलह, श्रीमान श्रीमति बीच विश्वासको अभाव, पारिवारिक सदस्यमा सामञ्जस्यता र सदभावको अभाव तथा घरेलु हिंसा नै आत्म हत्याको प्रमुख कारण देखिएको छ ।
सिजनल आत्म हत्या
हुन त आत्म हत्या मान्छेले कहिले र कतिबेला गर्लान भन्ने यकिन गर्न गाह्रो छ । तर, कतिपय अवस्थामा आत्म हत्या पुर्व निर्धारित अथवा मौसमी वा सिजनल पनि हुन्छ । जस्तै एसएलसी परीक्षाको परिणाम आउँदा अनुतिर्ण भएका छात्र छात्राले निराश भई डिप्रेशनमा गएर तत्काल आवेशमा आएर आत्म हत्या गर्ने गर्छन् ।
 डा.झा भन्छन,“कतिपय अवस्थामा कुनै पनि परीक्षामा अनुतिर्ण भएका छात्र छात्राले समेत आत्म हत्या गर्ने गरेका छन् । त्यसैगरी गाउँ घरमा तरकारी खेतीको सिजनमा प्रायः जसो सबै किसानका घरमा किटनाशक औषधि हुन्छन् र सामान्य झगडामा पनि विष सेवन गरी आत्म हत्या प्रयास गरेका हुन्छन् ।”
कतिपय अवस्थामा घरमा रहेको किटनाशक औषधिलाई गाउँका वृद्ध वृद्धा (जो आँखाले कम देख्ने गर्छन) भुलवस चियापत्ती सम्झेर चियाको रुपमा समेत खाएको देखिन्छ । कतिपय पुरुषहरुले रक्सी सेवन गरेको अवस्थामा विष सेवन गरेर हेरौ न, के हुन्छ भनेर जान्नको लागि पनि आत्म हत्या गरेका हुन्छन् । डा. झाका अनुसार केही केटा केटीहरु यो विष कस्तो हो, किराहरु कसरी मरी हाल्छन्, अलिकति चाखेर हेरौ न भनेर पनि विष जानी जानी सेवन गरेको पाइन्छ ।
आत्म हत्या प्रयास गर्नेहरु पछुताउँछन
आवेशमा आएर पलभर मै आफ्नो जिवन अन्तय गर्ने निर्णय लिई आत्म हत्या प्रयास गर्नेहरु उपचारका क्रममा पछुताईरहेका हुन्छन् । डा. झाका अनुसार उपचारका दौरान विष सेवन गर्नेहरु बाँच्नका लागि जीवन र मृत्यु बीच चरम संघर्ष गरिरहेका हुन्छन् । १० दिन सम्म उपचार गराउँदा आर्थिक, मानसिक, शारिरीक र सामाजिक कष्ट भोग्नुपर्छ । कतिपय प्यासेन्टहरु निको हुन थालेपछि आफुले आत्म हत्या किन गरेको भन्ने कारण नसोध्नुस, आवेशमा आएर ठुलो गल्ती गरे अब आइन्दा त्यस्तो गल्ती कहिल्यै गर्दिन र अरुलाई पनि आत्म हत्या कहिल्यै नगरुन भन्ने सुझाव दिइरहेका हुन्छन् । कतिपय अवस्थामा उपचारको क्रममा ५÷७ दिन पछि पनि रोगीको मृत्यु हुने गर्छ । कति दिनसम्म खाना पनि दिइदैन । झाका अनुसार समयमै आएकालाई वा होस मै रहेका विरामीहरुलाई बचाउन सकिन्छ । तर, ढिलो भई उपचारका लागि आएको अवस्थामा रोगीलाई बचाउन गाह्रो भइरहेको हुन्छ । कतिपयको उपचारका लागि ल्याउँदा बाटो मै समेत मृत्यु भइसकेको हुन्छ । आत्म हत्या प्रयास गर्नेहरुको तत्काल उपचार नगरिदा मृत्यु हुने सम्भावना वढ्दछ ।   
गोबर न खुवाऊँ
विष सेवन गरेका व्यक्तिहरुलाई गाउँ घरमा गाई, गोरु, भैसी सबैको गोबर (मल) पानीमा घोलेर बलजफ्ती खुवाउने गरिन्छ । एक किसिमले गाउँ घरमा यो प्रचलन नै भइसकेको छ । बान्ता गराउने उद्देश्यले गाउँका मानिसले गोबर खुवाएका हुन्छन् । डा. झा भन्छन,“ यसरी गोबर खुवाउनु गलत कार्य हो । बलजफ्ती गोबर खुवाउँदा आँखा, कान, नाकमा पनि छिर्न सक्छ । लङ्गसमा यदि गोबर गयो भने प्यासेन्टलाई बचाउन पनि गाह्रो हुन्छ ।” बान्ता गराउन हामीले नाकबाट पेटसम्म पाइप लगाएर गराउँछौं, गोबरले झन हानी नै पु¥याउँछ । त्यसकारण त्यस्तो काम गर्नु हुँदैन डा. झाको सुझाव छ । यति मात्र होइन अचार पनि खुवाउने गरिन्छ । त्यो पनि गर्नु हुँदैन । बान्ता नै गराउनु छ भने गोबर अचार होइन, नुन पानीको घोल खुवाउनु पर्छ ।
फितलो कानुन र अनुगमन
बजारमा किट नाशक औषधि विक्री वितरण गर्नेहरुले जो कोहीलाई पनि विक्री गरेको पाइन्छ । किटनाशक औषधि किन्न आएका व्यक्ति वास्तविक रुपमा किसान हुन वा अन्य प्रयोजनका लागि लिन खोजेको हो भन्ने सोधपुछ नगरिकनै औषधि विक्री गर्ने गरेको पाइन्छ । गाउँ देखि सहर सम्मका बजारहरुमा सहजै रुपमा किट नाशक औषधि खरिद गर्न सकिने हुनाले जो कोहीको पनि ती विष सम्म पहुँच भएको पाइन्छ । डा.झा भन्छन,“विदेशहरुमा  किटनाशक औषधि सहज रुपमा जो कोहीले किन्न पाउँदैनन् । तर, नेपालमा त्यस्तो कुनै प्रतिवन्ध छैन । प्रशासनिक निकायले नेपालमा पनि त्यस्तो विक्री वितरणको लागि एउटा मापदण्ड बनाउनु आवश्यक छ ।” ती विष बेच्नेहरु योग्य, परिपक्व, इजाजत प्राप्त व्यक्ति हुन कि होइनन् त्यसको पनि कुनै अनुगमन हुँदैन ।
आत्म हत्या गर्नु वा आत्म हत्याको प्रयास गर्नुलाई अपराध मानिन्छ । तर, आत्म हत्या प्रयास गर्नेहरुलाई कानुनले कुनै कारवाही नगर्दा समेत आत्म हत्या प्रयास दिनन्दिन बढ्दै गएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“आत्म हत्या गरी मृत्यु भएको घटनामा हामी तत्काल प्रमाण संकलन गर्ने कोशिश गर्छौं । पोष्टमार्टमको रिपोर्ट अनुसार मृत्युको कारण पत्ता लगाउँछौं । उक्त मुद्दाको अनुसन्धान गर्ने म्याद दुई वर्ष सम्म हुन्छ । उक्त अवधिमा कतैबाट हत्या गरिएको उजुरी आए कर्तव्य ज्यान मुद्दामा परिणत हुन्छ ।” र, उपचार गरी बाँचेको खण्डमा आत्म हत्या प्रयास गर्नेको बयानका आधारमा यदि कसैले विवस गरेको पाइएको छ भने सोही अनुसार पिडकलाई कानुनको दायरामा ल्याई कारवाही गर्ने गरेको प्रहरी निरीक्षक पुरी बताउँछन् । यदि आफै इच्छाले आत्म हत्या प्रयास गरेको अवस्था पाईदा हामीले उक्त व्यक्तिलाई काउन्सिलिङ् गरी यसो नगर्न भनी छोडि दिने गरेको पुरीको भनाई छ ।
सचेत हुनु आवश्यक
घर परिवारका सदस्यहरु बीच माया, प्रेम, स्नेह र सदभावका साथ साथै एक अर्कोमा विश्वास हुनु अत्यन्त आवश्यक छ । 
कुनै पनि सदस्य यदि डिप्रेशनमा गएको अनुभुति हुन्छ वा त्यस्ता कुनै पनि लक्षण देखिन्छ भने तत्कालै परिवारका अभिभावक सचेत हुनु आवश्यक छ । काउन्सिलिङ्गका लागि विज्ञ चिकित्सकसँग उपचार गराउनु आवश्यक छ । कतिपय अवस्थामा यूवाहरु लागु औषधको कुलतमा फसेको अवस्थामा समेत औभरडोज औषधि सेवन गरी समेत आत्म हत्या गर्ने गरेको पाइन्छ । बच्चालाई कुटपिट वा एकहोरो हप्काउनाले समेत आत्म हत्या गर्ने पाइएकोले माया गरी आफ्ना बच्चालाई पठन पाठनमा लगाउनु पर्छ । घरमा खास गरी बैदेशिक रोजगारीमा गएका श्रीमानका परिवारजनले बुहारीलाई आवश्यक माहोल दिनु आवश्यक छ । विनाकारण शंका गरी बुहारीलाई लान्छना लगाउनु वा प्रताडित गर्नबाट बच्नु पर्छ । कुनै पनि व्यक्तिले जुन सुकै अवस्थामा पनि आफ्नो ज्यान जोगाएर संघर्षको बाटो समात्नु पर्दछ । हरेक समस्याको समाधान हुन्छ । मृत्यु कुनै पनि समस्याको समाधान होइन । आत्म हत्या गर्नु वा आत्म हत्या प्रयास गर्नु कानुनी रुपले पनि अपराध हो । जीवन बाँच्नु नै सबै भन्दा महत्वपुर्ण कार्य हो ।


२०७० चैत्र ०९ गते आईतबार

फरार अभियुक्त साह छिट्टै पक्राउ पर्ने धनुषा प्रहरीको दावी


 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

झन्डै दुई वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोटको मुख्य योजनाकार सद्भावना पार्टीका तर्फबाट धनुषा क्षेत्र नम्बर ४ का सभासद सञ्जयकुमार साह  रहेको प्रहरीले खुलासा गरेको छ । साह सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष पनि हुन ।
अनुसन्धान क्रममा पक्राउ परेका दुई व्यक्ति अर्जुन सिंह भनिने मुकेश चौधरी र ओम प्रकाश यादवको बयान र अन्य आधारबाट साहको संलग्नता पुष्टि भएको धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले बताएका छन् । उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयबाट सर्कुलर जारी भए अनुसार देशका ७५ जिल्लाका प्रहरीले खोजी गरिरहेको उनले बताए । नेपाल प्रहरीले साह बस्ने सम्भावित ठाउँमा छापा मारे पनि पक्राउ गर्न सकेको छैन । 
एसपी सुवेदी भन्छन,“उत्तम राज सुवेदीले बोलेको कुरा गरेरै देखाउँछ । फरार अभियुक्त साह जहाँ लुकेपनि केही दिन भित्रै पक्राउ गरी सार्वजनिक गर्नेछौं । उनलाई पक्राउ गर्नको लागि कानुन अनुसार अपनाइनुपर्ने सम्पुर्ण प्रकृयाहरु समेत हामीले अवलम्बन गरिरहेका छौं ।”
बम काण्डमा मारिएकाहरुको शवहरु प्रति जिल्ला प्रशासन कार्यालय धनुषामा  श्रद्धाञ्जली अर्पण गर्दै संजय साह । अहिले धनुषा प्रहरीले बम काण्डको प्रमुख योजनाकारको रुपमा साहलाई अभियुक्त बनाएको छ ।
२०६९ वैशाख १८ गते भएको विस्फोटमा ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए । त्यसताका मिथिला राज्य समितिले अलग राज्यको माग राख्दै गरेको धर्नामा बम राखेर विस्फोट गराइएको थियो ।
विस्फोटमा मुख्य भूमिका निर्वाह गरेका अर्जुन सिंह भनिने मुकेश चौधरीलाई गत फागुन १८ गते पक्राउ गरेपछि उनको बयानका आधारमा सभासद साहका दाहिने हात स्थानीय ओम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीसँगको बयानमा यादवले साहकै निर्देशनमा बम विस्फोट गराएको बताएका छन् । विस्फोटको कारण सभासद साहका गुन्डागर्दी र ठेक्कापट्टामा प्रतिस्पर्धी देखिएका जिल्ला विकास समिति धनुषाका निलम्बित कर्मचारी तथा होटेल सिता प्यालेसका संचालक जीवनाथ चौधरीको हत्या गर्न विस्फोट गराइएको यादवले प्रहरीसँगको बयानका क्रममा बताएको प्रहरी स्रोतको दावी छ ।  साह र जीवनाथबीच ठेक्कापट्टाको विषयलाई लिएर ठुलो विवाद रहेको हुनाले दुवैबीच चर्काे प्रतिस्पर्धा भएपछि साहले यादवमार्फत सिंहलाई बम विस्फोट गराएर जीवनाथको हत्या गर्ने ‘सुपारी’ दिएको हिरासतमा लिईएका यादवले स्वीकार गरेका छन् । बम विस्फोट गराउनु केही समयअघि पनि जीवनाथको हत्या प्रयास भएको थियो । जनकपुर बजारमा हिँडिरहेका बेला उनीमाथि पछाडिबाट गोली हानिएको थियो । तत्काल उपचारका लागि भारत लगेपछि उनी बचेका थिए । धनुषाका एसपी सुवेदीका अनुसार पक्राउ परेका चौधरीसँग पोलिग्राफ मेसिन जडान गरेर बयानको परीक्षण गरिएको थियो । पोलिग्राफ झूट बोलेको पत्ता लगाउने प्रविधि हो । त्यसका लागि सीआईबीबाट पोलिग्राफको प्रशिक्षण लिएका प्रहरी अधिकृत त्यहाँ गएका थिए ।
विस्फोटन पछि जिल्ला प्रशासन कार्यालयमा माथिको गोलो घेरा भित्र ओम प्रकाश यादव । यादव अहिले प्रहरी हिरासतमा छन् । दोस्रो घेरामा संजय साह । साहलाई प्रहरीले फरार अभियूक्त बताएको छ ।
घटनाको एक साताभित्रै विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले शिवम भन्ने जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, जितेन्द्रलाल कर्ण र छोटु भनिने रिपेन्द्र झालाई पक्राउ गरेको थियो । विस्फोटमा परी जनकपुरका विमल शरण, रञ्जु झा, रिक्सा चालक झगरु दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो ।
सिंघानिया घटनामा पनि ठुला बडाको संलग्नता
संचार उद्यमि अरुण कुमार सिंघानियाको हत्यामा समेत जनकपुरका ठुला वडा प्रतिष्ठित व्यक्तिहरुको संलग्नता रहेको प्रहरीले दावी गरेका छन् । धनुषाका एसपी सुवेदी भन्छन,“पक्राउ परेका चौधरीसँग लिइएको बयान र अनुसन्धानका आधारमा सिंघानिया हत्यामा समेत यहाँका ठुला वडाको संलग्नता देखिन्छ । केही दिनमै अनुसन्धान पुरा हुने र ती ठुला वडालाई पनि प्रमाणको आधारमा पक्राउ गरी कानुनी दायरा भित्र ल्याउने छौं ।” सिंघानियाको हत्या भएपछि चौधरीले घटनाको जिम्मेवारी लिदै आगामी एक साता भित्र जिवनाथ चौधरी र जनकपुर टुडेका सम्पादक वृजकुमार यादवको हत्या गर्ने संचारकर्मीलाई टेलिफोन गरी चेतावनी दिएका थिए ।

संजय साह निर्दोष ः सदभावना पार्टीर्

जनकपुर बम काण्डमा प्रत्यक्ष मुछिएका सभासद तथा पुर्व राज्यमन्त्री संजय साहलाई उनको पार्टी सदभावनाले बचाउ गर्दै प्रधानमन्त्री सुशिल कोइरालालाई ६ चैत्रमा ज्ञापन पत्र बुझाएका छन् । साह सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष हुन ।  ज्ञापनपत्र बुझाउँदै सदभावना अध्यक्ष राजेन्द्र महतोले जनकपुर बम काण्डको स्वतन्त्र तथा न्यायीक छानबिन गर्न माग गरेको छ । महतोले प्रधानमन्त्री कोईरालालाई बुझाएको ज्ञापन पत्रमा साह निर्दाेष भएको उल्लेख गरेका छन् । प्रहरीले विभिन्न प्रमाणको आधारमा उक्त बम काण्डको मुख्य योजनाकार साह भएको भन्दै पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले साहलाई पक्रन खाजीरहेको भएपनि केही दिन यता उनी भुमिगत भएका छन । मिथिला राज्यको माँग गरी जनकपुरको रामानन्द चौकमा धर्नामा बसेको अवस्थामा मिति २०६९÷१÷१८ का दिन १० बजे सो चौकमा वम विष्फोट हुँदा सो विष्फोटबाट ५ जनाको ज्यान जानुको साथै दर्जनौ व्यक्ति घाईते भएको थियो । 
सो घटनाको सम्बन्धमा सोही दिन वारदात स्थलबाट जयप्रकाश चौधरी भन्ने व्यक्तिलाई स्थानीय व्यक्तिहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । जयप्रकाश चौधरीको मोवाईल कल डीटेल र अनुसंधान बाट अपराधी देखीएका अन्य चार जनालाई प्रहरीले पक्राउ गरी सो घटनाको सम्बन्धमा पक्राउ परेका ५ जना र अन्य अभियुक्तहरु माथी धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरी सकेको ज्ञापन पत्रमा उल्लेख छ । 
प्रहरी प्रतिवेदन अनुसार सो घटनाको जिम्मेवारी राजन मुक्ती अर्थात जनतान्त्रीक मुक्ति मोर्चाका अध्यक्षले लिएका थिए र घटनाको अनुसंधानमा उक्त मोर्चाका विद्यार्थी फ्रन्टका अध्यक्ष अर्जुन सिंह भन्ने मुकेश चौधरी र राजन मुक्ति भन्ने रंजित झा समेतको योजनाले वम विष्फोट भएको र चन्दा आतंक मचाउन सो घटना गराईएको सोही प्रहरी प्रतिवेदनमा पुष्टी गरिएको ज्ञापन पत्रमा उल्लेख छ । 
सो घटनाको २ महिना पछि नै उक्त घटनामा मृत्यु भएका महन्थ विमल शरण दासका छोरा राम शरण दासले वुवाको हत्या मन्दीरको स्वामित्वको विवादलाई लिई गरिएको र घटनामा वुवालाई मोवाईलबाट फोन गरी सो घटना स्थलमा वोलाई हत्या गराएको मानी जाहेरी धनुषा जिल्ला प्रहरी कार्यालयमा दिदा प्रहरीले जाहेरी दर्ता नगर्दा उहाँले पुनरावेदन अदालत धनुषामा जाहेरी सम्बन्धमा परमादेशको रिट दिदा जिल्ला प्रहरी कार्यालय धनुषाले घटना सम्बन्धमा तहकिकात भई अपराधी उपर मुद्दा दर्ता भई सकेको भनी प्रतिवाद गरिएको थियो भन्ने कुरा बुझनमा आएको ज्ञापन पत्रमा उल्लेख छ । तसर्थ प्रहरीवाट गरिएको सो मुद्दा र अनुसंधान समेतबाट कहि कतै माननीय संजय कुमार साहको उक्त घटनामा संलग्नता नभएको प्रष्ट देखिन आएको ज्ञापन पत्रमा उल्लेख छ । 
घटना वारदात भएको करीब दुई वर्ष पछि सो मुद्दाका रंजित झा, मुकेश चौधरी लगायतका व्यक्तिहरु पक्राउ भई सकेका छन् । दुई वर्ष अघि दायर भएको मुद्दामा अभियुक्त नरहेको ओम प्रकाश यादवबाट माननीय संजय कुमार साहको नाम पोल्न लगाई षडयन्त्र गरेको बुझिन आएको  ज्ञापन पत्रमा उल्लेख छ । 
‘कुनै पनि निर्दाेष व्यक्तिलाई फसाउन र दोषि लाई मुक्ति दिनु हुदैन,’ पार्टीको प्रष्ट मान्यता छ । तसर्थ उक्त घटना सम्बन्धमा निष्पक्ष न्यायिक छानविन आयोगको गठन गरी वास्तविक दोषी माथी कारवाही गर्न, र कुनै पनि परिस्थितीमा निर्दाेषीलाई न(फसाउन पार्टीले यस ज्ञापन(पत्र मार्फत सरकार संग मांग गर्दछ भन्ने व्यहोरा ज्ञापन पत्रमा उल्लेख छ । 


बम विस्फोट पछि बस्तु स्थिति मुचुल्का तयार गर्दै धनुषा प्रहरी ।

२०७० चैत्र ०९ गते आईतबार

बच्चा अपहरण मुक्त, अपहरणकारी पक्रिए


अपहरण मुक्त भएपछि आमा बुवाको साथमा
बालक रितेश र प्रहरी निरीक्षक मछिन्द्र केसी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषाको ठाढीझिझाबाट अपहरणमा परेका बच्चालाई प्रहरीले सकुशल मुक्त गराउनुका साथै अपहरणकारीहरुलाई पक्रन धनुषा प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले धनुषाको रघुनाथपुर(३ ढोलबज्जास्थित भवानी बाबुको बगैंचाबाट गत बुधबार साँझ अपहरित बच्चालाई सकुशल मुक्त गराएका छन् । 
धनुषा ठाढीझिझा(४ बस्ने लक्ष्मेश्वर महतोका ४ वर्षिय छोरा रुपेश महतोको गत फागुन ३० गते स्थानीय मिथिला पब्लिक स्कुलबाट पढेर घर फर्किदै गर्दा दुई जनाको समूहले अपहरण गरेका थिए । मोटरसाइकलमा चढिआएका ती दुई अपहरणकारीले बच्चालाई विस्कुट खुवाउँदै बुवा कहाँ लगिदिन्छु भन्दै ललाई फकाई मोटरसाइकलमा अपहरण गरेका थिए । अपहरणमा संलग्न ठाढीझिझा(४ का ३० वर्षिय सीताराम यादव, रघुनाथपुर(३ ढोलबज्जाका २५ वर्षिय मनोज कुमार यादव, बालाबाखर(८ का २५ वर्षिय मनोज यादव र चोराकोयलपुर(१ का २२ वर्षिय विपुल यादवलाई प्रहरीले गत बिहीबार सार्वजनिक गरेको छ । धनुषा प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक उत्तमराज सुवेदीका अनुसार मनोज कुमार यादव र मनोज यादवले अपहरण गर्न साथीको अनटेस्ट मोटरसाइकल एउटा काम छ, तुरुन्त आइहालें भन्दै मोटरसाइकलको प्रयोग गरेका थिए ।
दुवै जनाले बच्चालाई बिस्कुटको प्रलोभन दिई मोटरसाइकलमा चढाएर  ठाढीझिझा, एकराही, सघारा, इनर्वाहँुदै भारतको जयनगर पुर्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जयनगरमा बच्चा राख्ने ठाउँ, मोबाइल सीमकार्ड नपाएपछि बच्चालाई सोही दिन सिरहा जिल्लाको कमला नदीनजिक निर्धना कुट्टीमा बन्धक बनाएर राखेको प्रहरीले बताए । तीन दिनसम्म बच्चालाई त्यहीँ राखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।  सिरहा प्रहरीले खोजतलाश अभियान तीव्र पारेको थाहा पाएपछि अपहरणकारीहरुले बच्चालाई धनुषाको रघुनाथपुर(३ ढोलबज्जास्थित भवानी बाबुको बगैचामा बन्धक बनाएर बच्चालाई राखेको प्रहरीले सुचना पाए । चैत १ गतेबाट अपहरणकारीले विभिन्न नम्बरहरु प्रयोग गरी बच्चाका बाबुलाई मुक्त गर्नको लागि ३५ लाख रुपैयाँ फिरौती मागेका थिए । विभिन्न व्यक्तिले विभिन्न नम्बरबाट मागेको फिरौती रकम अन्तमा दुई लाख सम्ममा झरेको थियो ।
अपहरणका अभियुक्तहरु र धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदी ।
बच्चा अपहरणको अघिल्लो दिन गाउँकै सीताराम यादवले रघुनाथपुर(३ ढोलबज्जा बस्ने मनोज कुमार यादव र बालाबाखर(८ का मनोज यादवलाई एकराही चोकमा बोलाई अपहरण पश्चात दुई लाख रुपैयाँ दिने ‘डील’ गरेको थियो । प्रहरीका अनुसार सितारामले ती दुवै जनालाई अपहरण गर्दा कम्तीमा दुई लाख दिने र फिरौती अनुसार वढी रकम असुल भए वढी रकम पनि दिन सक्ने भनेर प्रलोभन दिएका थिए । 
ठाढीझिझा(४ बस्ने लक्ष्मेश्वर महतोको चार वर्षिय छोरा रुपेशको सोही स्थानका सीतारामले अपहरण गराएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार लेनदेन र जग्गा सम्बन्धी सामान्य विवादका कारण बदलाको भावनाले ठाढीझिझा(४ बस्ने ३० वर्षिय सीतारामले पेशेवर अपराधीहरु लगाएर अपहरण गराएको थियो । गाउँमा जग्गा विवाद सम्बन्धमा अन्य व्यक्तिहरुले सितारामको कुरा मानेपनि लक्ष्मेश्वरले मान्न इन्कार गरेपछि लक्ष्मेश्वरलाई ठिक पार्नुपर्छ भन्दै लक्ष्मेश्वरका छोराको अपहरण गराउने सितारामले योजना बनाएको प्रहरीले बताएका छन् ।
अपहरणकारीहरुको साथबाट सिमकार्ड थान ८, मोबाइल थान ४, मोटरसाइकल थान १, पानी भर्ने सिमाङ, मदिरा बोतल थान एक र पर्स एक थान बरामद गरिएको छ । अपहरणमा संलग्न चारै जनामाथि अपहरण तथा शरिर बन्धक लिने महल अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक सुवेदीले बताए । नर्सरीमा अध्ययनरत्त अपहरण मुक्त बच्चाको शारिरीक अवस्था सामान्य रहको र बच्चालाई प्रहरीले उनका आमा बुवाको जिम्मा लगाएको छ ।

२०७० चैत्र ०९ गते आईतबार

Wednesday, March 19, 2014

‘ब्याकफुटमा’ सशस्त्र आन्दोलन ः ‘पृथ्वी’ श्याम यादव


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा लक्ष्मीपुर वगेवा(३ का श्याम यादव अहिले महोत्तरीको जलेश्वर कारागारमा पुरपक्षको लागि थुनामा छन् । अ.हे.व. उत्तीर्ण यादव २०४८ भाद्र देखि नेपाल सरकारको सिअहेव पदमा बाँके, वर्दिया, कैलाली, कंचनपुर, अछाम, दाङ र बझाङ जिल्लामा गरी करिब विभिन्न ठाउँमा लामो समय सम्म जागिर पनि खाइसकेका छन् । २०६२÷०६३ को जनआन्दोलनमा सहभागी भएका यादव मधेस आन्दोलनमा समेत सक्रिय सहभागिता जनाएर तराईको मुक्तिका लागि विस्तारै मानसिक रुपमा तयार भए । तराईनेपालको परतन्त्र रहेको बुझेका उनी मधेस आन्दोलन देखि नै सशस्त्र भुमिगत नेताहरुको सम्पर्कमा आएका थिए । तराई नेपालको औपनिवेशिक चपेटामा परेर तरतन्त्र भएको तराईलाई स्वतन्त्र पनि हतियारको बाटोलाई आवश्यक ठानेका उनी २०६६ सालमा भुमिगत भए । 
 तराई राष्टिूय मुक्ति सेना नामको सशस्त्र समुह गठन गरी उनी केन्द्रिय संयोज कबने । उनका अनुसार तराईको पुर्व देखि पश्चिमका २० जिल्लाहरुमा जिल्ला कमिटी गठन गर्दै सशस्त्र गतिविधिलाई वढावा दिए । एमविविएस अध्ययनको तयारीमा रहेका उनका भाई आकाश त्यागी भनिने राम यादव पनि पढाईलाई छोडेर सशस्त्र बाटोमा लागे । जनकपुरका माफियाहरुले प्रशासनको सुराकी गरेर प्रशासनलाई धेरै रकम खुवाई हत्या गराएको उनको आरोप छ । आफ्नो भाई विशुद्ध रुपले क्रान्तिकारी रहेको उनको तर्क छ । क्रान्तिलाई बदनाम गराउन उनलाई प्रशासनले र जनकपुरका केही माफियाहरुले षडयन्त्रपुर्वक हत्या गराएको उनको दावी छ । जनकपुर जयनगर रेल्वेमा सिलिण्डर बम विस्फोट र जिल्ला मालपोत कार्यालय धनुषा अगाडी गराएको सिलिण्डर बम विस्फोटको जिम्मा उनका भाई आकाश त्यागीले लिएका थिए ।
 जयकृष्ण गोइतको नेतृत्वको अखिल तराई मुक्ति मोर्चामा समेत आवद्ध रहेका श्याम यादवलाई भारत विहारको मधुवनी जिल्ला अन्तरगत पिपरौनबाट ५ असोज २०७० मा नेपाल प्रहरीले पक्राउ गरेको थियो । तराईमा जारी सशस्त्र क्रान्ति अहिले सम्मकै सबैभन्दा दयनिय अवस्थामा रहेको उनको बुझाई छ । क्रान्तिमा लागेका यूवाहरु पलायन भई भारतको भुमिमा मजदुरीसम्म गरेर आफ्नो जीवन रक्षा गरिरहेको उनले बताए । यादवका अनुसार कुनै बेला आक्रामक देखिएका सशस्त्र समुह अहिले रक्षात्मक अवस्थामा आउन बाध्य भएको छ । प्रहरीले आफ्नो नियन्त्रणमा लिएर क्रान्तिकारी साथीहरुको हत्या गर्नु, शिर्ष नेतृत्वहरुलाई समेत भारतको भुमिबाट कानुन मिचेर भारतीय प्रहरीको सहयोगमा अवैध तरिकाले पक्राउ गर्नु, संगठन भित्रै पनि आन्तरिक सबलता नहुनु, एकतावद्ध भएर जान नसक्नु, राज्य पक्षद्वारा दमन र शोषण वढ्दै जानु, राज्यद्वारा ‘¥यूमरभ्रम फैलाई क्रान्तिलाई वदनाम गर्नु, पत्रकार, व्यापारी, अधिकारकर्मी र नेपाल सरकारका कर्मचारी लगायतले प्रशासनको सुराकी गर्नु, बाह्य पक्षले खास गरी अन्तराष्टिूय समुदाय समेत क्रान्तिको विपक्षमा उभिएका कारण सशस्त्र गतिविधि अहिले रक्षात्मक भई ब्याकफुटमा आएको यादवको ठहर छ । यादवका अनुसार तराईमा तीन प्रवृत्तिका शक्तिहरु हावि छन् । मधेसी जनताको सहयोगमा, मधेसको भुमि प्रयोग गरेर २००७ साल, २०४६ साल र २०६२÷०६३ सालको क्रान्तिका अगुवाई गरेको नेपाली कांग्रेस र नेकपा एमालेले मधेसीको मुद्दालाई समाप्त पार्नका लागि मधेसीको आवरणमा केही नेतालाई अगाडि सारेर आत्म समर्पण गर्न लगाउने समर्पणवाद शक्ति हाबी छन् । दोस्रो राम राजा प्रसाद सिंह लगायत गुटका क्रान्तिकारी शक्तिहरु वर्गिय शोषणबाट मुक्ति गर्ने बाटोमा नलागी यथास्थितिबाद मै रहे । तेस्रो सशस्त्र समुहहरुको सहयोगमा मधेसमा भएको मधेस जनविद्रोहको नेतृत्व गर्ने उपेन्द्र यादव लगायतका शक्ति मधेस आन्दोलनकै दौरान सहिद भएका रमेश महत्तोको हत्यारालाई मन्त्री परिषदबाट रिहा गराउन हस्ताक्षर गर्ने र क्रान्तिलाई विर्सजन गर्ने विसर्जनबाद शक्ति हाबी छन् ।
सशस्त्र क्रान्तिकै बलमा मधेसमा  जनताले मुक्तिको लागि दुई दुई पटक जनविद्रोह गर्नु, आन्दोलनका क्रममा घर घरबाट महिला, पुरुष, वृद्ध(वृद्धा सबैले घरेलु हतियार लठ्ठी झाडु आदि लिएर नेपाली शासकको विरुद्धमा सडकमा आउनु, नेपाली अनुहारलाई तराईवासीले अस्विकार गर्नु, माधव नेपाल, गिरिजा प्रसाद कोइराला जस्ता नेतालाई गृह जिल्लामा प्रवेश गर्न नदिनु, कवि भनेको सबैको साझा हुन्छन् तर जनकपुरको भानु चौकमा कवि भानु भक्तको शालिक समेत ढालेर फ्याल्नु सशस्त्र क्रान्तिको उपलब्धी रहेको पृथ्वी भन्ने श्याम यादवको भनाई छ । 
 मधेसमा अझै पनि जनता सचेत नभएको, वुद्धिजीवी, पत्रकार, साहित्यकार लगायतका वर्गहरु अझै पनि नेपाली शासकको विरुद्धमा खुलेर आउन नसक्नु जस्ता कारणले सशस्त्र क्रान्ति धुमिल हुँदै गएको उनको बुझाई छ । यादबका अनुसार समाधानको उपाय भनेको तराई नेपालको हिस्सा होइन, औपनिवेशिक मुक्तिका लागि नेपाल सरकारले तराईलाई अलग्गिने गरी आत्मनिर्णयको अधिकार सहित यूनियन वा फ्यूजनको हिसावले राख्नु पर्दछ । अन्यथा कालान्तरमा गएर यो स्वतन्त्र राष्टू तराई स्वतन्त्र भएरै छाड्छ । जेलमा बन्द भएका यादव भन्छन,“ आफ्नो लागि कुनै वकिल पनि छ्रैन, कानुनको सजाय विताएर नै बाहिर आउने छु ।
 (जलेश्वर कारागारमा पृथ्वी भनिने श्याम यादवसँग जलेश्वर कारागारमा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको कुराकानीमा आधारित)



२०७० चैत्र ०२ गते आईतबार


सक्किँदै ‘सशस्त्र समुह’

अजय अनुरागी
जनकपुरधाम............

सशस्त्र समुहका नाइकेहरु नै एक पछि अर्को गर्दै धमाधम प्रहरीको गिरफ्तमा फस्न थालेपछि मधेसमा प्रभाव जमाएका सशस्त्र समुह अब सक्किँदै गएको सन्देश जान थालेको छ । खास गरी धनुषा महोत्तरीमा प्रभाव बनाउन सफल भएका राजन भनिने रंजित कुमार झा, अर्जुन सिंह भनिने मुकेश चौधरी, पृथ्वी भनिने श्याम यादव, स्वामीजी भनिने उमेश यादव लगायतका नाइकेहरु र तिनका कार्यकर्ताहरु समेत धनुषा प्रहरीको फन्दामा फसे पछि जनकपुरमा अब सशस्त्र समुहको प्रभाव लगभग निस्तेज पारिसकिएको धनुषा प्रहरीको दाबी छ ।
धनुषा प्रहरीका प्रमुख उत्तम राज सुवेदी भन्छन,“सशस्त्र समुहका नाइकेहरुनै पक्राउ गर्न सफल भएपछि तिनीहरुको नेटवर्क पुर्णतः धवस्त भइसकेका छन् । उनीहरु मध्ये अधिकांश पक्राउ परिसकेका छन् । बाँकी रहेकाहरुमा अब संगठित भएर कुनै आपराधिक समुह संचालन गर्ने ल्याकत र क्षमता पनि छैन । यदि तिनीहरुले दुस्साहास गरिहाले भने पनि तिनीहरुको लागि दुर्भाग्य पुर्ण हुनेछ ।”
प्रहरी स्रोतका अनुसार सशस्त्र समुहका संस्थापक नेता जयकृष्ण गोइत आफै सिकिस्त भइसकेका छन् । उनीसँग मान्छेहरु पनि अव रहेनन् । गोइतलाई साथ दिने ज्वाला सिंह भनिने नागेन्द्र पासवान पनि अब सशस्त्र समुहको गतिविधिलाई त्यागेर भारतमै यातायातको व्यवसाय गरिराखेका छन् । थुप्रै समुहहरु स्वतः ध्वस्त भइसकेका छन् । समुहमा लागेका यूवाहरु भारतको विहार, युपि, मध्यप्रदेश र दिल्लीमा लुकिछिपी वस्ने तथा जिविको पार्जनका लागि मजदुरीसम्म गरिरहेको प्रहरी स्रोतको दावी छ । कतिपय यूवाहरु आफ्नो ज्यान जोगाउन वैदेशिक रोजगारीका लागि खाडी मुुलुक तर्फ लागेको प्रहरी स्रोतको दावी छ ।
तराई माथिको नेपालको औपनिवेशिक मुक्तिको लागि बन्दुक उठाएर विद्रोह गरी भुमिगत भई अखिल तराई मुक्ति मोर्चा गठन गरी जयकृष्ण गोइतले हिंसाको बाटो रोजेका थिए । जय कृष्ण गोइतले वर्तमान नेपालद्वारा शासित तराई प्राचीन कौशल, काशी र मिथिला (विदेह) जनपदहरुको उत्तरी हिस्सा रहेको बताउँदै आएका छन् । १६ मार्च २००८ मा अखिल तराई मुक्ति मोर्चाको प्रथम राष्टिूय महाधिवेशन तयारी समितिका लागि गोइतले जारी गरेको अपिलमा यी जनपदहरु प्रारम्भमा आ(आफ्नै जनपदका निकासीद्वारा स्वासित रहेको थियो, बताइएको छ । चौदहौं शताब्दीको पूर्वाद्धमा कैयौं वर्ष सम्म तराईको सिमरौनगढद्वारा नेपाल उपत्यका शासित रहेको थियो । कालान्तरमा तराई मुगल शासकहरुको अधिनमा रह्यो, तत्पश्चात ब्रिटिश शासकहरुद्वारा र अब तराई नेपालको औपनिवशिक शासनको अधिन छ ।
मधेसका भुमिगत सशस्त्र समुहका कार्यकर्ताहरुको फाइल तस्वीर ।
उनले जारी गरेको उक्त विज्ञप्तीमा मातृभूमि तराईको मुक्ति तराईको मुल निवासीहरुका लागि ऐतिहासिक आवश्यकता रहेको र जब सम्म तराईको मुक्ति हुँदैन तबसम्म तराईका मुल निवासीहरुको आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, भाषिक एवम राष्टिूय पहिचान आदि समस्याहरुको कुनै पनि बास्तविक र स्थायी सामाधान सम्भव नरहेको बताएका थिए ।
यसरी गोइतकै बाटो पछियाउँदै मधेसका थुप्रै यूवाहरु भुमिगत हुँदै तराईको मुक्तिकामी आन्दोलन भन्दै बन्दुकको बाटोलाई रोजे । सोही क्रममा उनीहरुले मचाएको हिंसाबाट मधेसमा व्यापक धनजनको क्षति भयो । कतिपय व्यक्तिको हत्या भयो, कतिपय अपहरित भए, पलायन भए, बम विस्फोट, चन्दा आतंक बढदै गयो । तराईमा जनता त्रसित हुन बाध्य भए ।
प्रशासनको टाउको दुखाई बन्दै गएको सशस्त्र समुहलाई समाप्त पार्न राज्यपनि विभिन्न रणनीति अपनाउन थाले । संविधानसभाको पहिलो चुनाव भएपछि गठित सरकारी वार्ता टोलीहरुले बन्दुक उठाएर विद्रोह गरेकाहरुलाई शान्तिपुर्ण वार्तामा आई मुलधारमा आउन आह्वान गरे । एकातर्फ कतिपय समुहहरु बार्तामा आउन थाले भने अर्कोतर्फ प्रहरीले सशस्त्र समुहका नेता कार्यकर्ताहरुलाई पक्राउ गर्न थाले । यतिमात्र होइन प्रहरीको दोहोरो भिड्न्तको नाउँमा जवावी कारवाहीमा सशस्त्र समुहका थुप्रै नेताहरु मारिन थाले । शान्ति तथा पुनर्निर्माण मन्त्रालय गठन भए पश्चात नेपाल सरकारद्वारा गठित सरकारी वार्ता टोलीहरुले मधेसका थुप्र्रै समुहहरुसँग विभिन्न चरणका वार्ताहरु गरे । मन्त्रालयको वेवसाइटमा उल्लेख भएअनुसार मन्त्रालयको गठन भए पश्चात विभिन्न ४५ वटा समुहहरुसँग वार्ता गरिएको छ । जसमध्ये मधेसका सशस्त्र समुहहरु अन्तरगत २६ मंसिर २०६५ मा मधेसी भाइरस किलर्स, ११ पुष २०६५ मा संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा, १८ कार्तिक २०६८ मा  संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा संस्थापन पक्ष, ८ मंसिर २०६८ मा संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा कौटिल्य शर्मा समुह, १६ पुष २०६५ मा तराई संयुक्त जनक्रान्ति पार्टी, २६ पुष २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुह, १० फागुन २०६५ मा लिवरेशन टाइगर अफ तराई इलम (एलटीटीइ), ७ चैत्र २०६५ मा मधेस मुक्ति टाइगर्स, २४ बैशाख २०६७ मा अखिल तराई मुक्ति मोर्चा संस्थापन पक्ष, १६ पुष २०६८ मा सयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (पवन समुह), २८ पुष २०६८ मा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (आजाद समुह), ७ माघ २०६८ मा अखिल तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समुह), १३ माघ २०६८ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (भगत सिंह समुह), २१ फागुन २०६८ मा जनतान्त्रिक मधेस तराई मुक्ति मोर्चा (झबर साह, प्रताप समुह) र ६ बैशाख २०६९ मा संयुक्त क्रान्तिकारी तराई मधेस मुक्ति मोर्चा सँग वार्ता गरिएको जनाइएको छ ।
नेपाल सरकार र सशस्त्र समुहका वार्ता टोलीहरु बीच भएको विभिन्न चरणको सम्झौतामा सबै समुहहरुसँग वार्ता अवधि सम्म सशस्त्र समुहका वार्ता टोलीका सदस्यहरुको सुरक्षा नेपाल सरकारले गर्ने, सशस्त्र समुहहरुले सशस्त्र कारवाही स्थगित गर्ने एवम कानुनले निषेध गरेका कुनै पनि गतिविधि संचालन नगर्ने र नेपाल सरकारको तर्फबाट पनि सो समुहका नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक रुपमा व्यवहार गर्ने, जेलमा रहेका र मुद्दा लगाइएका आफ्ना कार्यकर्ताहरुको नामावली नेपाल सरकारलाई उपलब्ध गराउने र सो सम्बन्धमा छानविन गरी क्रमशः रिहा गर्दै जाने, स्वतन्त्र एवम शान्तिपुर्ण रुपमा राजनीतिक सभा, जुलुस, ¥याली, गोष्ठी, सेमीनार तथा राष्टू निर्माणका कार्यक्रम सम्बन्धित जिल्ला प्रशासन कार्यालय संग समन्वय गरी संचालन गर्न सकिने, मुलुकमा दिगो शान्ति स्थापनाका लागि अन्य द्वन्दरत राजनीतिक समुहहरुलाई समेत वार्ताको टेवलमा ल्याउन पहल गर्ने भनेर चार देखि पाँच बुँदा सम्म दुवै पक्ष बीच पहिलो चरणमा सहमति हुने गरेको थियो । त्यसैगरी दोस्रो चरणमा उपलब्ध गराएको नामावली अनुसार बन्दी कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता लिने प्रक्रिया कानुन तथा न्याय मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा एक महिना भित्र शुरु गरिने, सम्पुर्ण हतियारहरु २०६८ भाद्र १४ भित्र नेपाल सरकारलाई बुझाउने, २०६८ साउन २६ मा मन्त्रालयमा बुझाएको विवरण अनुसार मोर्चाको आह्वानमा भएको आन्दोलनका क्रममा मृत्युभएका मृतकहरुको नामावली सम्बन्धमा यथार्थ छानविन गरी ऐकिन गर्न गृहमन्त्रालयमा लेखि पठाउने, आन्दोलनका क्रममा घाइते भएका नेता कार्यकर्तालाई उपचार खर्च उपलब्ध गराउने सम्बन्धमा विधिगत रुपमा मन्त्रालयमा प्राप्त नभएकोले स्वीकृत चिकित्सकको प्रेस्क्रिप्शन र सो अनुसारको बिल भरपाई सहितको विवरण प्रष्ट भएपछि प्रक्रिया अघि वढाउने र मोर्चासँग भएका तीन वटा सवारी साधनहरुलाई १० भाद्र २०६८ सम्मका लागि सवारी पास उपलब्ध गराउन गृहमन्त्रालयमा अनुरोध गर्ने ५ बुँदे सम्झौता अखिल तराई मुक्ति मोर्चा संस्थापन पक्षका तर्फबाट वार्ता टोली संयोजक विनोद कुमार चौधरी (विवेक) र सरकारी वार्ता टोलीका संयोजक पम्फा भुसाल बीच २३ साउन २०६८ मा सम्झौता भएको थियो । यसरी थुप्रै समुहहरुसँग दुई देखि तीन चरण सम्म सरकार र सशस्त्र समुहका वार्ता टोलीहरुसँग सम्झौता भई कतिपय समुह मुलधारमा आइसकेको छ । तर, पक्राउ परेका मोर्चाका कार्यकर्ताहरुलाई रिहाई गराउन र मुद्दा लागेकाहरुको मुद्दा फिर्ता गराउन सशस्त्र समुहका वार्ता टोलीहरु विफल भएपछि केही समुहहरु पुनः हतियार उठाए भने केही नेताहरु आफु सुरक्षित अवतरण गरे ।
धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदी भन्छन,“यथार्थ हेर्दा सुरुमा राजनीतिक एजेण्डा रहेको  र क्रान्तिकारी नारा दिन खोजेपनि विभिन्न आवरणमा  यी समुहहरु अपराध गर्ने गरेको पाइन्छ । यिनीहरुले चर्को नारा दिएर जनतालाई दिगभ्रमित गर्ने र पैसाकै लागि मान्छेको अपहरण गर्ने, चन्दा माग्ने, धम्की दिने र पैसा नदिए मान्छेको हत्या समेत गर्ने गरेको पाइएको छ ।” सुवेदीका अनुसार फरक फरक अवस्थामा फरक फरक तरिका अपनायी यी कथित समुहहरुले आपराधिक क्रियाकलाप मात्र गरेको छ । कतिपय घटनामा यी समुहका नाइकेहरु आफै पनि संलग्न रहेको र कतिपय घटनामा मान्छे खटाएर अपराधिक घटनालाई अन्जाम दिएको सुवेदी बताउँछन् । आधुनिक जीवन जिउन, ऐस आराम गर्ने, मौजमस्ति गर्ने उद्देश्य पुर्तिका लागि कुलतमा फसेका यूवाहरुलाई फसाएर समुहमा ल्याउने र आपराधिक कृयाकलाप गर्न लगाउने यिनीहरुको प्रवृति रहेको प्रहरी उपरीक्षक सुवेदी बताउँछन् ।


२०७० चैत्र ०२ गते आईतबार

बम काण्ड र सिंघानिया हत्याको चाँडै पर्दाफास हुने


 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर बम काण्डको जिम्मा लिएका प्रमुख अभियूक्त अर्जुन सिंह भनिने मुकेश चौधरी पक्राउ परेपछि बम काण्डको पर्दाफास कहिले हुने हो भन्ने चासो र उत्सुक्ता जनकपुरबासीमा दिनन्दिन वढ्दै गएको छ । धनुषा प्रहरीले जनकपुर विस्फोटका महत्वपूर्ण कडी मानिएको मध्येका राजन मुक्ति उर्फ रञ्जित झा र मुकेश चौधरी उर्फ अर्जुन सिंह भनिने प्रकाश विद्यार्थीलाई कानुनको दायरा भित्र ल्याइ सकेको छ । यी दुवै व्यक्तिले घटना भएपछि जनकपुरका संचार माध्यमहरुमा भारतीय टेलिफोन र एसएमएस मार्फत घटनाको जिम्मेवारी लिएका थिए । 
बम काण्डका दोषी पत्ता लगाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै मिथिला राज्य संघर्ष समिति ।
मुकेश चौधरी पक्राउ परेपछि घटनाको अनुसन्धानका लागि धनुषा  प्रहरीले जनकपुरका ओम प्रकाश यादवलाई शुक्रबार पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार यादवलाई सोधपुछ तथा अनुसन्धानका लागि यादव बसेको डेरामा छापामारी गरी पक्राउ गरेको हो । बम काण्ड भएको बेला यादव धनुषा निर्वाचन क्षेत्र नं. ४ का सभासद संजय कुमार साहका निकट रहेका थिए । तर, पछिल्लो समयमा संविधानसभाको दोस्रो चुनाव हुनु भन्दा १५ दिन अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । यादव सभासद साहका विजनेस पार्टनर समेत रहेको बताइन्थ्यो । उनी सभासद साहका धेरै निकटका साथीहरु मध्ये महत्वपुर्ण एक व्यक्ति मानिन्थे । तर, सभासद साह फोरम लोकतान्त्रिक परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेसँगै र आर्थिक कारोबारको लेनदेनमा समेत मतविभेद वढन थालेपछि यादव कांग्रेसमा प्रवेश गरेका थिए । प्रहरी स्रोतका अनुसार यादव सँगको अनुसन्धानबाट धेरै कुराहरु खुल्नेछन् ।
धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदीले मुकेश चौधरीसँग सम्बन्धित विभिन्न अपराधको छानविन र अनुसन्धान जारी रहेको तथा कतिपय घटनामा स्थानिय व्यक्तिहरुको समेत संलग्नता देखिएको बताएका छन् । प्रहरी उपरीक्षक सुवेदीका अनुसार चाँडै अनुसन्धान पुरा हुने र अनुसन्धानबाट देखिन आएका दोषी व्यक्तिहरु पक्राउ पर्ने र विभिन्न रहस्यबाट पर्दा उठ्ने बताएका छन् ।
घटनामा प्रत्यक्ष संग्लन रहेको भन्दै प्रहरीले सप्तरीका जयप्रकाश चौधरी, धनुषाका सुरेशकुमार कर्ण, महोत्तरीका रिपेन्द्र झा र धनुषाका मुकेशकुमार कर्णलाई पुरपक्षको लागि जलेश्वर कारागारमा राखेको छ ।
एमाओवादीले पहिलो संविधानसभामा संघीय राज्यबारे प्रस्ताव गर्दा मिथिला राज्यको नाम उल्लेख नगरिदिएपछि जनकपुरमा सक्रिय रहेको मिथिला राज्य संघर्ष समितिले चरणबद्ध आन्दोलन सुरु गरेको थियो। आन्दोलनको लोकप्रियता बढ्दै गएको अवस्थामा २०६९ वैशाख १८ गते बिहान १०ः३० बजेतिर मुख्य धर्नास्थल रामानन्दचोकमा शक्तिशाली बम विस्फोट भएको थियो।
घटनामा मिथिलाकी लोकप्रिय रंगकर्मी रञ्जु झा सहित झगरु दास, विमल शरण, सुरेश उपाध्याय र दीपेन्द्र दास गरी पाँचजनाको ज्यान गएको थियो। विस्फोटमा ३२ जना सख्त घाइते भएका थिए । मिथिला राज्यको माग गर्दै संघर्ष गरिरहेका अगुवाहरूको मिथिलाको राजधानीमै हत्या हुँदा देशभरिका नागरिक मर्माहत भएका थिए ।
विस्फोटपछि अनुसन्धानमा खटिएको नेपाल प्रहरीको विशेष टोली सिआइबीले अपरेशन रामा चलाएर घटनामा सशस्त्र समूहका मुकेश चौधरी र राजन मुक्ति संग्लन रहेको किटानी प्रतिवेदन सार्वजनिक गरेको थियो।
बम काण्डका दोषी पत्ता लगाई कारवाही गर्न दबाब दिँदै सदभावना धनुषाका नेताहरु ।
प्रहरी अनुसन्धानले किटानी गरेका दुवै अभियुक्त पक्राउ परिसकेका छन् । दुईमध्ये मंसिर १ गते पक्राउ परेका राजन मुक्तिले प्रहरीलाई बयान दिँदै थप आधार दिएपछि मुकेश चौधरी फागुन १९ गते पक्राउ परेको हो । मुकेश चौधरीलाई पक्राउ गर्न नेपाल प्रहरीका छुट्टाछुट्टै चारवटा टोली परिचालन भएको थियो ।
जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटका दोषीमाथि कडा कारवाहीको माग गर्दै सदभावना पार्टी जिल्ला कार्य समिति धनुषाले विभिन्न निकायमा मंगलबार ज्ञापनपत्र बुझाएको छ । पार्टीको जिल्ला अध्यक्ष संजय कुमार साहको नेतृत्वमा गएको पार्टीका नेता एवं कार्यकर्ता सम्मिलित प्रतिनिधि मण्डलले धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई ज्ञापनपत्र दिएको छ । सदभावनाले बुझाएको ज्ञापनपत्रमा विभिन्न संचार माध्यमहरुमा आएको समाचार बम विस्फोट भन्दा अगाडि भएको कुराकानीको कल डिटेल्स, एसएमएस आदिको आधार लिएर सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । 
यस अघि गत सोमबार जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष, नागरिक समाज तथा अन्य व्यवसाय संघसंस्थाका प्रतिनिधिको टोलीले संचार उद्यमी अरुण सिंघानिया हत्यामा संलग्न अपराधिलाई कारवाहीको माग गरेको थियो । सिंधानियाँ हत्याको जिम्मेवारी लिएका चौधरी प्रहरी नियन्त्रणमा आइसकेपछि बास्तविक हत्याराको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न उनीहरुले माग गरेका थिए । 
त्यसैगरी जनकपुर बम काण्डका प्रमुख दोषीलाई कारवाही गरिनुपर्ने माग सहित मिथिला राज्य संघर्ष समिति, नेपाल पत्रकार महासंघ धनुषा, जनकपुर उद्योग बाणिज्य संघ र मारवाडी सेवा समितिले गत २८ गते देखि ३० गते सम्म जिल्ला प्रशासन कार्यालय धनुषाको मुख्यद्वार अगाडि धर्ना दिएका थिए । आफुहरुको मागलाई प्रशासनले वेवास्ता गरे थप सशक्त आन्दोलन गरिने मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले चेतावनी दिएका छन् ।

२०७० चैत्र ०२ गते आईतबार

Tuesday, March 18, 2014

सशस्त्र क्रान्ति अहिले विसर्जन हुँदैन ः ‘राजन मुक्ति’ रंजित झा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा लक्ष्मीपुर वगेवा(७, कुम्हरौरा गाउँ बस्ने महेन्द्र झाको नाति डा.विद्यानन्द झाको कान्छो छोरा हुन रंजित झा उर्फ राजन मुक्ति । २०४३ सालमा जन्मिएका रंजित २०५६ सालमा सरस्वती मा.बि. जनकपुरबाट एसएलसी उत्तीर्ण गरी अनुग्रह नारायण कलेज विहारबाट प्रविणता प्रमाण पत्र र स्नातक तह (राजनीति शास्त्र) विषय लिई उत्तीर्ण गरेका हुन । विद्यार्थी राजनीति गर्दा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको शाही ‘कु’ का विरुद्ध भएको २०६२÷०६३ को आन्दोलनमा उनी सदभावना पार्टीका यूवा मञ्चका केन्द्रिय सदस्य र विद्यार्थी मञ्चका धनुषा प्रभारीको रुपमा सक्रिय सहभागिता जनाएका थिए । उक्त आन्दोलनका क्रममा उनी पक्राउ परेर जेल पनि गएका थिए । जेलबाट रिहा भएपछि सिरहा घर भएको नागेन्द्र पासवानको ज्वाला समुहमा लागि करिव १ वर्ष जति पोलिट व्यूरो सदस्यको रुपमा उनी कार्यरत थिए । पछि ज्वाला सिंह सँग पार्टीको काम कारवाही सम्बन्धमा कुरा नमिलेपछि उनले पार्टीबाट विद्रोह गरी ७ फागुन २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुह नामक छुट्टै समुह गठन गरी राजन मुक्तिले संयोजकको रुपमा पहिलो प्रेस विज्ञप्ती जारी गरेका थिए । हतियार साधन मात्र हो साध्य होइन, साध्य भनेको अन्ततः विचार नै रहेपनि बन्दुकको नालबाट नेपाली शासकले तराईमा शासन गरेका कारण ती शासकहरुबाट मुक्ति दिलाउनका लागि बाध्य भएर हतियार उठाएको राजन मुक्तिले बताएका छन् । क्रान्तिमा पनि विभिन्न चरणहरु हुन्छन् र क्रान्तिलाई निस्तेज पार्न अहिले सच्चा क्रान्तिकारीहरुलाई राज्य पक्षले पक्राउ गर्नु स्वभाविक रहेको भन्दै उनी भन्छन,“क्रान्ति संस्थागत हुन लामो समय लागेको भएपनि क्रान्तिको विसर्जन हुनेबाला छैन । शासक वर्गले जस्तो कदम चाल्छ सोही अनुरुप क्रान्तिले पनि आफ्नो बाटो लिने छ । राज्यले जति जति दमन बढाउँदै जान्छ त्यतिनै क्रान्ति पनि अगाडि वढ्ने छ ।”
सत्रुको कब्जामा परेका कारण जलेश्वर जेलमा आफु असुरक्षित रहेको भन्दै उनी भन्छन,“जब सम्म तराईको समस्या समाधान हुँदैन तबसम्म हामी लडिरहन्छौं । राज्यले अहिले पनि दमनकै बाटोलाई निरन्तरता प्रदान गर्छ भने निकट भविष्यमै राज्यले परिकल्पना समेत नगरेको जस्तो तराईमा क्रान्तिको आँधिवेहोरी आउने छ र स्वतन्त्र राष्टूको रुपमा झण्डा फहरिनेछ ।”
मधेसमा हतियार उठाएर सुरुवात गरिएको सशस्त्र क्रान्तिको ९ वर्ष वितिसक्दा करिब करिब ७० प्रतिशत यूद्ध जितिसकेको दाबी गर्दै राजन मुक्ति भन्छन,“ मधेसवादको मुद्दा पहिले देखि हरेक मधेसीको मनमा रहेपनि बाहिर निकाल्न सशस्त्र आन्दोलन नै सहायक भयो । राज्यपक्षको बन्दुक र लाठीलाई मधेसी जनताले पनि लाठी लिएर सामना मात्रै गरेनन्, राज्यको गोली खान समेत पछि परेनन् ।” मधेसमा ९ वर्ष अघि कुनै पनि सरकारी कार्यालयमा मधेसी मुलका व्यक्ति कार्यालय प्रमुख थिएनन् । दुई वर्ष अघि सम्म एक जना पनि मधेसी मुलका एसपी र सिडिओ थिएनन् । तर, अहिले मधेसी पनि कार्यालय प्रमुख बनेका छन् । एसपी सिडिओ बनेका छन् । त्यो सबै सशस्त्र क्रान्तिको उपज रहेको राजन मुक्ति बताउँछन् । उनका अनुसार नेपाल सरकारको अधिन रहेको सरकारी कार्यालयहरुमा जनताले मधेस सरकार लेखिसकेका छन् । अव त्यो दिन धेरै टाढा छैन जब लेटरप्याडमा पनि नेपाल सरकारको ठाउँमा मधेस सरकार रहने छ । मधेसवादको नाउँमा घुसपैठ गरेका मधेसी नेताहरुलाई बहिष्कार गर्न आफुहरुले गरेको अपिललाई स्वीकार गर्दै मधेसी जनताले ती कथित मधेसवादी दल र तीनका नेताहरुलाई विस्थापित गरेर देखाउनु पनि आफुहरुको जित रहेको राजन मुक्तिले दावी गर्छन् । अन्तिम लडाई अहिले पनि बाँकी रहेको भन्दै माओवादीले एउटा वर्गको विरुद्ध मात्र आन्दोलन गरको कारण राज्य पक्षले पनि उसलाई सहयोग ग¥यो तर, हाम्रो लडाई औपनिवेशको विरुद्ध रहेका कारण अलि समय लागे पनि अन्ततः हाम्रो जित हुने राजन मुक्ति बताउँछन् । कार्यपालिका, व्यवथापिका, न्यायपालिका र मिडिया समेत नेपाली शासककै कठपुत्ली रहेका कारण हाम्रो लडाईमा केही बाधा देखिएपनि जित अवस्य हुने उनको भनाई छ ।
परिवारमा आमा गिता देवी झा, बाबु डा.विद्यानन्द झा, दाई मनोज झा (मनोज मुक्ति), भाउजु नगिना देवी झा, ६÷७ महिनाको भतिजी योगन्या झा रहेको राजन मुक्तिले परिवारिक परिचय दिएका छन् । आर्थिक अवस्था ठिकै रहेको, लक्ष्मीपुर वगेवा(७ मा ४ कठ्ठामा २ तले घर वाहेक अन्य जमिन नभएको, अन्य जग्गा जमिन भए एकिन थाहा नभएको राजनले बताएका छन् । संविधान सभाको चुनाव पछि प्रचण्ड सरकारसँग वार्ता गर्न राजीव झाको नेतृत्वमा मनोज मुक्ति, राम सोभित यादव संम्मिलित ३ सदस्यीय टोली २०६५ पुषमा वार्तामा आएका थिए । वार्ताको क्रममा अविनाश मुक्तिको हत्या भएपछि वार्ता भंग गरेपनि राजिव झा अलग्गिए । 
राजनका अनुसार करिब २ सय देखि २ सय ५० जना कार्यकर्ताहरु अहिले पनि विभिन्न झुठा मुद्दामा गिरफ्तार छन भने करिब ३० देखि ३५ जना कार्यकर्ताको प्रहरीले इन्काउण्टर गरी हत्या गरिसकेका छन् । १२ माघ २०७० मा जलेश्वर जेल चलान भएका राजन मुक्ति अझै पनि राज्यसँग बार्ता गर्न तयार रहेको बताएका छन् । अध्यक्ष सुप्रिमो रहेको उनको संगठनमा पोलिटव्यूरो, केन्द्रिय कमिटी, जिल्ला कमिटी देखि विद्यार्थी, यूवा समेतको सांगठनिक ढाँचा रहेको उनी बताउँछन् ।
(जलेश्वर कारागारमा राजन मुक्ति भनिने रंजित झासँग जलेश्वर कारागारमा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको कुराकानीमा आधारित)


२०७० चैत्र ०२ गते आईतबार