Wednesday, March 19, 2014

बम काण्ड र सिंघानिया हत्याको चाँडै पर्दाफास हुने


 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर बम काण्डको जिम्मा लिएका प्रमुख अभियूक्त अर्जुन सिंह भनिने मुकेश चौधरी पक्राउ परेपछि बम काण्डको पर्दाफास कहिले हुने हो भन्ने चासो र उत्सुक्ता जनकपुरबासीमा दिनन्दिन वढ्दै गएको छ । धनुषा प्रहरीले जनकपुर विस्फोटका महत्वपूर्ण कडी मानिएको मध्येका राजन मुक्ति उर्फ रञ्जित झा र मुकेश चौधरी उर्फ अर्जुन सिंह भनिने प्रकाश विद्यार्थीलाई कानुनको दायरा भित्र ल्याइ सकेको छ । यी दुवै व्यक्तिले घटना भएपछि जनकपुरका संचार माध्यमहरुमा भारतीय टेलिफोन र एसएमएस मार्फत घटनाको जिम्मेवारी लिएका थिए । 
बम काण्डका दोषी पत्ता लगाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै मिथिला राज्य संघर्ष समिति ।
मुकेश चौधरी पक्राउ परेपछि घटनाको अनुसन्धानका लागि धनुषा  प्रहरीले जनकपुरका ओम प्रकाश यादवलाई शुक्रबार पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार यादवलाई सोधपुछ तथा अनुसन्धानका लागि यादव बसेको डेरामा छापामारी गरी पक्राउ गरेको हो । बम काण्ड भएको बेला यादव धनुषा निर्वाचन क्षेत्र नं. ४ का सभासद संजय कुमार साहका निकट रहेका थिए । तर, पछिल्लो समयमा संविधानसभाको दोस्रो चुनाव हुनु भन्दा १५ दिन अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । यादव सभासद साहका विजनेस पार्टनर समेत रहेको बताइन्थ्यो । उनी सभासद साहका धेरै निकटका साथीहरु मध्ये महत्वपुर्ण एक व्यक्ति मानिन्थे । तर, सभासद साह फोरम लोकतान्त्रिक परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेसँगै र आर्थिक कारोबारको लेनदेनमा समेत मतविभेद वढन थालेपछि यादव कांग्रेसमा प्रवेश गरेका थिए । प्रहरी स्रोतका अनुसार यादव सँगको अनुसन्धानबाट धेरै कुराहरु खुल्नेछन् ।
धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदीले मुकेश चौधरीसँग सम्बन्धित विभिन्न अपराधको छानविन र अनुसन्धान जारी रहेको तथा कतिपय घटनामा स्थानिय व्यक्तिहरुको समेत संलग्नता देखिएको बताएका छन् । प्रहरी उपरीक्षक सुवेदीका अनुसार चाँडै अनुसन्धान पुरा हुने र अनुसन्धानबाट देखिन आएका दोषी व्यक्तिहरु पक्राउ पर्ने र विभिन्न रहस्यबाट पर्दा उठ्ने बताएका छन् ।
घटनामा प्रत्यक्ष संग्लन रहेको भन्दै प्रहरीले सप्तरीका जयप्रकाश चौधरी, धनुषाका सुरेशकुमार कर्ण, महोत्तरीका रिपेन्द्र झा र धनुषाका मुकेशकुमार कर्णलाई पुरपक्षको लागि जलेश्वर कारागारमा राखेको छ ।
एमाओवादीले पहिलो संविधानसभामा संघीय राज्यबारे प्रस्ताव गर्दा मिथिला राज्यको नाम उल्लेख नगरिदिएपछि जनकपुरमा सक्रिय रहेको मिथिला राज्य संघर्ष समितिले चरणबद्ध आन्दोलन सुरु गरेको थियो। आन्दोलनको लोकप्रियता बढ्दै गएको अवस्थामा २०६९ वैशाख १८ गते बिहान १०ः३० बजेतिर मुख्य धर्नास्थल रामानन्दचोकमा शक्तिशाली बम विस्फोट भएको थियो।
घटनामा मिथिलाकी लोकप्रिय रंगकर्मी रञ्जु झा सहित झगरु दास, विमल शरण, सुरेश उपाध्याय र दीपेन्द्र दास गरी पाँचजनाको ज्यान गएको थियो। विस्फोटमा ३२ जना सख्त घाइते भएका थिए । मिथिला राज्यको माग गर्दै संघर्ष गरिरहेका अगुवाहरूको मिथिलाको राजधानीमै हत्या हुँदा देशभरिका नागरिक मर्माहत भएका थिए ।
विस्फोटपछि अनुसन्धानमा खटिएको नेपाल प्रहरीको विशेष टोली सिआइबीले अपरेशन रामा चलाएर घटनामा सशस्त्र समूहका मुकेश चौधरी र राजन मुक्ति संग्लन रहेको किटानी प्रतिवेदन सार्वजनिक गरेको थियो।
बम काण्डका दोषी पत्ता लगाई कारवाही गर्न दबाब दिँदै सदभावना धनुषाका नेताहरु ।
प्रहरी अनुसन्धानले किटानी गरेका दुवै अभियुक्त पक्राउ परिसकेका छन् । दुईमध्ये मंसिर १ गते पक्राउ परेका राजन मुक्तिले प्रहरीलाई बयान दिँदै थप आधार दिएपछि मुकेश चौधरी फागुन १९ गते पक्राउ परेको हो । मुकेश चौधरीलाई पक्राउ गर्न नेपाल प्रहरीका छुट्टाछुट्टै चारवटा टोली परिचालन भएको थियो ।
जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटका दोषीमाथि कडा कारवाहीको माग गर्दै सदभावना पार्टी जिल्ला कार्य समिति धनुषाले विभिन्न निकायमा मंगलबार ज्ञापनपत्र बुझाएको छ । पार्टीको जिल्ला अध्यक्ष संजय कुमार साहको नेतृत्वमा गएको पार्टीका नेता एवं कार्यकर्ता सम्मिलित प्रतिनिधि मण्डलले धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई ज्ञापनपत्र दिएको छ । सदभावनाले बुझाएको ज्ञापनपत्रमा विभिन्न संचार माध्यमहरुमा आएको समाचार बम विस्फोट भन्दा अगाडि भएको कुराकानीको कल डिटेल्स, एसएमएस आदिको आधार लिएर सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । 
यस अघि गत सोमबार जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष, नागरिक समाज तथा अन्य व्यवसाय संघसंस्थाका प्रतिनिधिको टोलीले संचार उद्यमी अरुण सिंघानिया हत्यामा संलग्न अपराधिलाई कारवाहीको माग गरेको थियो । सिंधानियाँ हत्याको जिम्मेवारी लिएका चौधरी प्रहरी नियन्त्रणमा आइसकेपछि बास्तविक हत्याराको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न उनीहरुले माग गरेका थिए । 
त्यसैगरी जनकपुर बम काण्डका प्रमुख दोषीलाई कारवाही गरिनुपर्ने माग सहित मिथिला राज्य संघर्ष समिति, नेपाल पत्रकार महासंघ धनुषा, जनकपुर उद्योग बाणिज्य संघ र मारवाडी सेवा समितिले गत २८ गते देखि ३० गते सम्म जिल्ला प्रशासन कार्यालय धनुषाको मुख्यद्वार अगाडि धर्ना दिएका थिए । आफुहरुको मागलाई प्रशासनले वेवास्ता गरे थप सशक्त आन्दोलन गरिने मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले चेतावनी दिएका छन् ।

२०७० चैत्र ०२ गते आईतबार

No comments:

Post a Comment