Tuesday, May 16, 2017

सन्दर्भ ः जनकपुर बम काण्ड पाँच बर्ष वितिसके पनि अदालतद्वारा मुद्दाको फैसला हुन सकेन

बम काण्डमा शहिद भएकाहरु बायाँबाट क्रमशः दिलिप दास,
झगरु मण्डल, रंजु झा, विमल शरण र सुरेश उपाध्याय ।
अजय अनुरागी
जनकपुरधाम............
प्राचिन मिथिलाको राजधानी भनेर चिनिने जनकपुरधाम धार्मिक, अध्यात्मिक, पुरातात्विक महत्व बोकेको ऐतिहासिक सहर हो । राजर्षी जनककी छोरी तथा जगत जननी भनेर चिनिने माता जानकीको जन्म दिनको अवसरमा जनकपुरधाममा ‘जानकी नवमी’ धुमधामका साथ मनाउने गरिन्छ । आज भन्दा पाँच बर्ष पहिले १८ बैशाख २०६९ मा जानकी नवमीको एकातर्फ हर्षोउल्लास थियो भने अर्को तर्फ अबको प्रादेशिक संरचनामा मिथिला राज्य हुनुपर्छ भनेर यस क्षेत्रका साहित्यकार, कलाकार, बुद्धिजिवी, विभिन्न संघ संस्था, यूवा क्लवहरु संम्मिलित मिथिला राज्य संघर्ष समिति आन्दोलित थिए । शान्तिपुर्ण तरिकाले आफ्नो माग राज्य समक्ष पुर्याउन प्राध्यापक परमेश्वर कापडीको संयोजकत्वमा गठित उक्त संघर्ष समितिले एक एक घण्टा चक्का जाम गरी सांस्कृतिक कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरु गर्ने भनेर पहिले देखि नै तय गरेको थियो ।

पाँच बर्ष अघि जानकी नवमीको दिन अर्थात १८ बैशाख २०६९ मा संघर्ष समितिले पुर्व निर्धारित कार्यक्रम अनुसार जनकपुरको रामानन्द चौकमा सडकमा धर्ना दिई विरोध प्रदर्शन गरिरहेका थिए । मधेस केन्द्रित दलहरु सम्मिलित संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा समग्र मधेस एक स्वायत्त प्रदेशको अडान राखिरहेका बेला आफ्नो ऐतिहासिक पहिचान गुम्ने भन्दै मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गरिरहेका थिए । शान्तिपुर्वक धर्नामा बसेका बेला अचानक शक्तिशाली बम विष्फोटन गराइयो । विष्फोटनमा परि जनकपुर नगरपालिका १० बस्ने झगरुलाल दास कथबनिया(४०), जनकपुर ८ बस्ने विमल शरण(४०), महोत्तरी बथनाहा ९ तथा हाल जनकपुर बस्ने रंजु देवी झा(४०), जनकपुर ८ बस्ने सुरेश उपाध्याय(४५) र दिपेन्द्र दास(३५) गरी कुल पाँच जनाको ज्यान गएको थियो । विष्फोटनमा परेर ३२ जना घाइते भएका थिए ।
जनकपुरको इतिहासमा पहिलो पटक यसरी शान्तिपुर्ण आन्दोलनमा कुनै आपराधिक समुहले बम विष्फोटन गराएको थियो । जानकी नवमीको उल्लास त्यो बर्ष चित्कारमा परिणत भयो । पुरै जनकपुर शोकाकुल भयो । घटनाको पाँच बर्ष भईसकेपनि पीडितहरुले न्याय पाएका छैनन् ।
बम काण्डको सिआईबिद्वारा अनुसन्धान

उक्त घटना पछि प्रहरी प्रधान कार्यालयले तत्कालै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी) लाई घटनाको अनुसन्धान गर्न जिम्मेवारी दिएको थियो । तत्कालिन केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइवी) प्रमुख डिआईजी उपेन्द्र कान्त अर्याल आफै पनि जनकपुर आएर घटना सम्बन्धि विशेष चासो लिएका थिए । जनकपुरको घटना मानवता विरोधी गम्भिर प्रकृतिका जघन्य अपराध भएको ठहर गर्दै सिआइवीले उक्त घटनालाई अनुसन्धान गर्न चलाएको अप्रेशनलाई ‘अप्रेशन रामा’ को संज्ञा दिएको थियो ।
बम विष्फोटनको मुख्य योजनाकार तराई जनतान्त्रिक पार्टी मधेशका केन्द्रिय अध्यक्ष अर्जनु सिंह भनिने मुकेश चौधरी रहेको सिआईबिले दावी गर्यो । ब्यूरोका तत्कालिन डिएसपी भुपेन्द्र बहादुर खत्रीको संयोजकत्वमा खटेको अनुसन्धान टोलीले ५ जेष्ठ २०६९ मा अञ्चल प्रहरी कार्यालय जनकपुरमा पत्रकार सम्मेलन मार्फत घटनामा संलग्नता रहेको आशंकामा पक्राउ परेका ४ जनालाई सार्वजनिक समेत गर्यो । सप्तरी बिसहरिया ( ८ का २१ वर्षिय जय प्रकाश चौधरी उर्फ शिवम शर्मा, धनुषा सपही १ का प्रकाश भनिने सुरेश कुमार कर्ण, महोत्तरी मडई(६ का छोटु भनिने रिपेन्द्र झा र धनुषा भुतही पटेरवा(७ का मुकेश कुमार कर्णलाई प्रहरीले    सार्वजनिक गरेको थियो ।
जय प्रकाशले मुकेश चौधरीको निर्देशनमा रामानन्द चौकमा बम विष्फोटन गराउने कार्यमा संलग्न रहेको, रिपेन्द्र झा विष्फोटक पदार्थ ओसार पोसार , व्यवस्थापन गर्ने कार्यको भुमिका निर्वाह गर्नुका साथै जनकपुर स्थित एमालेको पार्टी कार्यालयमा बम विष्फोट गराएको प्रहरीको दावी थियो । केही समय पहिला मुकेश चौधरी सँग छलफल गरी एउटै मोर्चामा काम गर्ने उनीहरुले सहमति गरेका थिए । त्यसैगरी सुरेश कर्णले रामानन्द चौकको बम विष्फोटनमा विष्फोटक पदार्थ उपलब्ध गराएको र एमाले पार्टी कार्यालयमा समेत बम विष्फोटन गराउने कार्यमा संलग्न रहेको प्रहरीले आरोप लगाएको थियो । त्यसै गरी मुकेश कर्ण बम ओसारपोसार गर्ने, बम बनाउने र बैशाख १७, २०७१ मा जनकपुर स्थित एमाले पार्टी कार्यालयमा बम विष्फोट गराएको प्रहरीले दावी गर्यो ।
सिआइवी प्रमुख प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याल, मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरीक्षक विरेन्द्र बाबु श्रेष्ठ, धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतम, प्रहरी उपरीक्षक पुरुषोत्तम कँडेल सहितको उपस्थितिमा पत्रकार सम्मेलन गरी घटनाको प्रारम्भिक अनुसन्धानबारे औपचारिक रुपमा पहिलो पटक प्रेसलाई जानकारी दिईएको थियो ।
अन्दाजी ६ महिना पहिले गठन भएको तराई विद्यार्थी लिबरेशन फ्रन्ट कमाण्ड सम्हाल्ने जिम्मा मुकेश चौधरी उर्फ अर्जुन सिंहले पाएको थियो । उक्त फ्रन्टमा संलग्न हुन भारतको मुजफ्फरपुर र सितामढीमा सुरेश कर्ण, जितेन्द्र लाल कर्ण, रिपेन्द्र झा र मुकेश कर्ण बीच वार्तालाप भएको थियो । उनीहरुको बीचमा छलफलको क्रममा विष्फोटन गराउने सहमति अनुसार मुकेशले उपलब्ध गराएको विष्फोटक पदार्थहरु जितेन्द्रलाल कर्णको महोत्तरीको जलेश्वर स्थित आप्mनै घर तथा सुरेश कर्णको जनकपुर(४ स्थित आफन्तको घरमा भण्डारण गरिएको थियो । त्यसपछि जितेन्द्र लाल कर्णको अगुवाईमा सोही विष्फोटक पदार्थहरु मध्ये केही टूाफिक प्रहरी कार्यालयमा जलेश्वरमा विष्फोटन गराएको प्रहरीको दाबी थियो ।
मुकेश कै निर्देशनमा वैशाख १७ गते जनकपुर(४ स्थित एमाले पार्टी कार्यालयमा सुरेशा कर्ण, जितेन्द्र लाल कर्ण, रिपेन्द्र झा र मुकेश कर्ण मिलेर विष्फोटन गराएको प्रहरीले दावी गर्यो । हुन त उक्त घटनाको जिम्मेवारी अर्को भुमिगत समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका केन्द्रिय अध्यक्ष रंजित झा उर्फ राजन मुक्तिले लिएको थियो । भारतीय मोबाईल नम्बरबाट विभिन्न संचारकर्मीलाई घटनाको जिम्मेवारी लिएको भन्दै राजन मुक्तिले एसएमएस पठाएको थियो ।
घटनाको योजना
बम काण्ड पछि प्रहरीले चलाएको अप्रेशन रामा र पहिलो पटक पक्राउ परेका अभियूक्तहरु
बायाँबाट क्रमशः जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण,
 रिपेन्द्र झा र सुरेश कुमार कर्ण ।
प्रहरीका अनुसार मुकेश चौधरीले सुरेश कर्ण, जितेन्द्र कर्ण, लगायतका साथीहरुलाई जनकपुरका विभिन्न सरकारी कार्यालय तथा अन्य व्यस्त स्थानहरुको अवलोकन गरी उपयुक्त स्थानको छनौट गर्न लगाएका थिए । यसै बीचमा मुकेश चौधरीले जयप्रकाश चौधरीलाई फोन गरी संगठन विस्तार गर्न तथा निजी प्रयोजनका लागि रु. ५ लाख उपलब्ध गराउने बचनबद्धता व्यक्त गरेको थियो । सोही बचनबद्धता बमोजिम जनकपुरमा काम गर्नु छ भनी जयप्रकाशलाई सप्तरीबाट जनकपुर बोलाइएको थियो । जनकपुरमा आए पश्चात मुकेश चौधरीले छद्म नाम प्रयोग गर्न लगाई रु. १० हजार आईएमई कान्तिपथ काठमाण्डौबाट जनकपुरको सहयोगी विकास बैंकमा जयप्रकाश चौधरीलाई पठाएको थियो । मुकेशकै निर्देशन बमोजिम जयप्रकाशलाई सुरेश कर्ण सँग भेट गरी विष्फोटक पदार्थ लिन लगाएको थियो ।
जीवनाथ चौधरीलाई लक्षित गरी बम विष्फोटन गर्न लगाएको भए पनि जयप्रकाशले जीवनाथ लाई चिन्न सकेको थिएन् । ९ बजेर १९ मिनेटमा मुकेश चौधरीले मोवाईल मार्फत ‘सामान कुर्सी पर रख कर निक्लु’ सामान कुर्सीमा राखेर हिँड भन्ने जयप्रकाशलाई निर्देशन दिएको थियो । घटना भएको दिन १८ गते जयप्रकाश र मुकेश चौधरी बीच ३० पटक भन्दा बढी टेलिफोन सम्वाद भएको प्रहरीले खुलासा गर्यो ।
पक्राउ परेका ४ जना सँगै बरामद गरिएका आईडिएल इन्युल्डायन एक्सप्लोसिभ क्लास(३८ लोला, घटनाहरुमा प्रयोग भएका मोटर साइकल थान(२, रिमोट कन्टूोल स्विच थाल ३, डेटोनेटर थान १, विष्फोट प्रयोग गराउन प्रयोग हुने तारहरु, गन पाउडर, बममा प्रयोग हुने ब्याटूी थान ६, डेटोनेटर थान १, विष्फोट प्रयोग गराउन प्रयोग हुने तारहरु, गन पाउडर, बममा प्रयोग हुने ब्याटूी थान छ, फलामको किल्लाहरु, नाइन एमएमको गोली राउण्ड १, विभिन्न कम्पनीको नेपाली तथा भारतीय सिमकार्ड, मोबाईलहरु, जितेन्द्रको नाममा रहेको प्रभु फाईनानसको चेक थान १ सहितका सामग्रीहरु सार्वजनिक गरिएको थियो । अनुसन्धानमा संलग्न सिआईबीका डिएसपी खत्रिले उक्त अपराध अल्टूामोडेल अर्गेनाईज्ड क्राईमको क्याटेगरी भित्र परेको बताएका थिए । विभिन्न व्यक्तिको छद्म नाउँ राखि योजनाकारले घटनाको अन्जाम दिने गर्दछ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक रवि घिमिरेको प्रतिवेदन, मृतक झगरु दास कथबनियाका छोरा विक्की दास कथबनिया समेतको जाहेरीले जिल्ला सरकारी वकिल कार्यालय धनुषा मार्फत सुरुमा ८ जनालाई बम काण्डको अभियूक्त बनाई धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गरियो । जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेश कुमार कर्ण, रिपेन्द्र झा, जितेन्द्र कुमार कर्ण, राजन मुक्ति भन्ने रंजित झा, अर्जुन सिंह प्रकाश भन्ने मुकेश कुमार चौधरी र बाबुल भन्ने आदित्य देव विरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरियो ।
बम काण्डका अभियूक्तको रुपमा
राजन मुक्ति भनिने रंजित झा
थुनामा राखिएको छ ।
पक्राउ परेका सप्तरी बिसहरिया ( ८ का २१ वर्षिय जय प्रकाश चौधरी उर्फ शिवम शर्मा धनुषा सपही १ का प्रकाश भनिने सुरेश कुमार कर्ण, महोत्तरी मडई(६ का छोटु भनिने रिपेन्द्र झा र धनुषा भुतही पटेरवा(७ का मुकेश कुमार कर्णलाई  १ अषाढ २०६९ मा धनुषा जिल्ला अदालतका न्यायाधीश बलभद्र बाँस्तोलाको इजलासले चारैजनालाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो । त्यसपछि २१ मंसिर २०६९ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय डम्बर बहादुर शाही र द्वारिकामान जोशीको संयूक्त इजलासले पनि सुरुकै आदेशलाई सदर गरेको थियो । पछि १७ पुष २०७० मा सर्बोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र तर्कराज भट्टको संयूक्त इजलासले पनि सोही आदेशलाई सदर गरेका कारण पक्राउ परेका चारै जना हालसम्म पनि कारागारमै थुनामा छन् ।
मुकेश चौधरी पक्राउ परेपछि घटनाको रहस्य भयो पर्दाफास
 प्रारम्भिक अनुसन्धानबाट जनकपुर बम काण्डको मुख्य योजनाकार भनिएका अर्जुन सिंह भनिने मुकेश चौधरी पक्राउ परेपछि बम काण्ड बारे थुप्रै रहस्यहरु बाहिर आएको थियो । प्रहरी समक्ष मुकेश चौधरीले गरेको बयानबाट उक्त घटना काण्डमा तत्कालिन सभाषद तथा पुर्व भौतिक योजना तथा निर्माण राज्य मन्त्री संजय कुमार साहको नाम जोडियो ।
जीवनाथ चौधरीलाई हत्या गर्ने उद्देश्यले गराइएको बम विष्फोटन कार्यमा संलग्न भएका जयप्रकाश चौधरी र जितेन्द्र कर्णलाई रकमको आवश्यकता भएकाले संजय साहलाई रकम पठाउन भनेकोमा संजय साहले काठमाण्डौबाट छद्म नाम प्रयोग गरी चौधरी र कर्णलाई क्रमशः रु १० हजार र २५ हजार पठाएको मुकेश चौधरीले बयान दिएका  थिए । संजय साह र आफु बीच नियमित रुपमा फोन सम्पर्क भइरहन्थ्यो, जीवनाथ चौधरीलाई हत्या गर्न तयार गरिएको बम जयप्रकाश चौधरीलाई जिम्मा लगाउन सुरेश कर्ण र जितेन्द्र कर्ण समेतका व्यक्तिहरुलाई फोन गरी आफैले निर्देशन दिएको मुकेश चौधरीले प्रहरी समक्ष बयान गरे । सुरेश कर्ण समेतले रिपेन्द्र झाले लुकाई छिपाई राखेको अवस्थामा राखेको विस्फोटक पदार्थ पाइप बम शिवम शर्माले जयप्रकाश चौधरीलाई जिम्मा लगाएका थिए । जय प्रकाश चौधरी र जितेन्द्र कर्णलाई पाइप बमको कनेक्शन कसरी गर्ने र व्याटूी कसरी जोड्ने भन्ने सबालमा राजन प्रताप, म र राजन मुक्तिले बनाएको बम कनेक्शन चार्टलाई फेसबुक मार्फत सेयर गरी जोड्न सिकाएको मुकेश चौधरीले बयान गरे । जयप्रकाश चौधरी र सुरेश कर्णलाई पटक पटक फोन गरेर समेत बमको तार कनेक्शन गर्न सिकाएको मुकेश चौधरीले खुलाएका थिए ।
जिवनाथ चौधरीलाई हत्या गर्ने उद्देश्यले बम विस्फोटन गराइएको दिन विहान जयप्रकाश चौधरीलाई मुकेश चौधरीले फोन गरेका थिए । मुकेश चौधरीको निर्देशन अनुसार जयप्रकाशले सुरक्षित स्थानमा राखेको पाइप बम लिएर विश्वकर्मा चौकमा रहेका सुरेश कर्ण, मुकेश कर्ण र रिपेन्द्र झा समेतलाई भेटी जनकपुरको भित्री बाटो हुँदै रामानन्द चौक पुगेका थिए । मुकेश चौधरीले अर्को तर्फ जयप्रकाश चौधरी माथि पनि निगरानी राख्न अर्को मान्छे खटाएका थिए । शिवम शर्मालाई जयप्रकाश चौधरीले के गर्छ, कहाँ जान्छन् भन्ने निगरानी राख्न निजको साथमा सप्तरीबाट आएका बाबुल भन्ने आदित्य देव लगायत अन्य व्यक्तिहरुलाई खटाइएको थियो । धर्ना स्थलमा के कति मानिस जम्मा रहेको, जिवनाथ आए÷नआएको, बसे÷नबसेको घटनाको पलपल सुचना मुकेश चौधरीले भारतमा बसेर फोन मार्फत संकलन गरि रहेका थिए । अर्को तर्फ मुकेश चौधरीले प्राप्त गरेको सूचना टेलिफोन मार्फत काठमाण्डौमा रहेका सभाषद संजय साहसँग पनि साझा गरिरहेका थिए ।
धर्ना स्थलमा जिवनाथ चौधरी आईसकेपछि उनी भिडको बीचमा बसेको छ, कसरी विस्फोटन गराउने भनेर मुकेश चौधरीले संजय साह सँग निर्देशन माग्दा भिडको बीचमा विस्फोट नगरी साइडमा आएको अवस्थामा मात्रै जिवनाथ चौधरीलाई लक्षित गरी विस्फोट गराउन संजय साहले निर्देशन दिएका थिए । सोही अवस्थामा संजय साहसँग पटक पटक मुकेश चौधरीको फोन सम्पर्क भैरहेको थियो । जनकपुर घटनाबारे जानकारी पाउनका लागि मुकेश चौधरीले संजय साहलाई टिभी हेरिरहन समेत भनेको थियो । जिवनाथ चौधरीको हत्या भएको समाचार टिभीमा देखाउने नै छ भनेर संजयलाई भनेपछि संजयले पनि टिभी हेरीरहेको कुरा बताएको थियो । त्यसपछि मुकेश चौधरीले जयप्रकाश चौधरीलाई विस्फोटक पदार्थ ‘समान कुर्सीपर रखकर निक्लु’ भनी तीन पटक सम्म एसएमएस पठाई निर्देशन दिएका थिए । निर्देशन पाए लगत्तै  विस्फोटक सामग्री उसले धर्ना स्थलमा रहेका खाली कुर्सी माथि राखिसकेको थियो ।
अप्रेशन रामाबारे सार्वजनिक गर्दै बायाँबाट क्रमशः तत्कालिन सिआईबी प्रमुख तथा डिआईजी उपेन्द्रकान्त अर्याल,
 धनुषाका सिडियो बसन्तराज गौतम र
 डिआईजि विरेन्द्र बाबु श्रेष्ठ पत्रकार सम्मेलनमा ।
रोचक कुरा के हो भने जुन मान्छेलाई मार्नका लागि मुकेश चौधरीले मान्छेहरु खटाएका थिए, फोन गरी उसलाई ज्यान पनि बचाएको आँकलन गरिन्छ । किनभने जिवनाथ चौधरीलाई मार्न योजना बनाउने मुकेश चौधरीले घटना हुनु भन्दा केही मिनेट अघि मात्रै मुकेश चौधरीले जिवनाथ चौधरीलाई टेलिफोन गरी भिडबाट बाहिर निस्कन भनेका थिए । जिवनाथ चौधरी भीडबाट बाहिर निस्कन लागेको भन्दै जयप्रकाश चौधरीले मुकेश चौधरीलाई जानकारी दिए । त्यसपछि मुकेशले अर्कोतर्फ  जिवनाथ चौधरीसँग पनि टेलिफोन गरी आन्दोलन कस्तो भइरहेको छ भन्ने कुरा फोन गरी सुचना लिइरहेका थिए । उक्त दिन विस्फोट गर्नु भन्दा पहिला मुकेशले नै जिवनाथ चौधरीलाई भीडबाट निस्कन भनि फोन गरेको थियो । घटना गराउनका लागि रु.५० लाख दिने भनेर संजय साहले सहमति गरेको थियो । संजय साहले ओम प्रकाश यादव मार्फत रु. ५ लाख पेश्की समेत पठाएका थिए । तर घटनामा जिवनाथ चौधरीको हत्या नभएका कारण बाँकी रकम पनि संजय साहले दिएनन्, मुकेश चौधरीले प्रहरीमा बयान गरेका थिए ।
अदालतमा मुकेश चौधरीले गरेको बयान कागज
मुकेश चौधरीले आफुहरुको भुमिगत समुहहरुको चारवटा संगठनहरुको निर्णय अनुसार जनकपुरमा उक्त बम विस्फोटन गराइएको भनि धनुषा जिल्ला अदालतमा समेत बयान गरेका थिए । “जनकपुर बम काण्डको योजना पार्टीको केन्द्रिय समितिको वैठकमा पार्टीको वरिष्ठ सल्लाहकार संजय साहको प्रस्तावमा पार्टीको निर्णय (केन्द्रिय समिति) बमोजिम भएको थियो । उक्त बम काण्ड गराउने हाम्रो पार्टीको प्रस्तावमा अन्य ४ संगठन मधेस मुक्ति टाइगर्स तराईको अध्यक्ष राजन प्रताप ‘प्रफुल्ल’, तराई जनतान्त्रिक पार्टी मधेसको अध्यक्ष म, जनतान्त्रिक तराई मुक्ति मोर्चाको अध्यक्ष राजन मुक्ति र तराई कोबराको अध्यक्ष उमेश तिवारीको सम्मिलित स्वतन्त्र तराई मधेसी मोर्चाको निर्णयले जनकपुर बम काण्ड घटना घटाइएको हो ।” मुकेश चौधरीले अदालतमा गरेको बयानमा के पनि भनिएको छ भने,“ बम विस्फोटको हरेक सामग्री मधेस मुक्ति टाइगर्स तराईका अध्यक्ष राजन प्रताप प्रफुल्ल भन्ने फुलकुमार बटखेर यादवले उपलब्ध गराएको थियो । सो समयमा जय प्रकाश चौधरीले मलाई सोध्दा मैले राजन प्रतापसँग सम्पर्क गरी निजले पठाएको ग्राफ मैले जयप्रकाश चौधरीलाई पठाइदिएको थिएँ । र सोही बमोजिम काम भयो ।”
उक्त बम काण्डमा कुनै व्यक्ति विशेषलाई ज्यान मार्ने हाम्रो पार्टीको निर्णय थिएन । हाम्रो चार पार्टीको बैठक भारतको सितामढीमा भएको थियो । बम काण्ड भएको दिन म लखनऊ पार्टीको कामले गएको थिएँ । संजय साहले जयप्रकाश चौधरीलाई काठमाण्डौबाट रु.१० हजार पठाएको थियो । नेपालमा वसी पार्टीको सबै म्यानेज संजय साहले नै गरेको थियो । बम विस्फोटका दिन बम विष्फोट हुनु भन्दा अघि र बम विस्फोट भइसकेपछि संजय साह सँग बम विस्फोटको म्यानेजमेन्टको सम्बन्धमा फोनमा तीन चार पटक कुराकानी भएको थियो । जिवनाथ चौधरीलाई ज्यान मार्ने उद्देश्यले मात्र बम विस्फोट गराइएको थिएन । हाम्रो चार पार्टीको निर्णय बमोजिम उक्त घटना घटाइएको थियो । जनकपुरका केही अपराधीले मधेसको विरोधमा विदेशीको इसारामा भाषाको नाममा मधेसलाई विखण्डन गर्ने प्रयास गरेको विरोधमा पार्टीले उक्त घटना घटाएको थियो । यो बम काण्ड कसैको व्यक्तिगत निर्णयबाट नभई पार्टीको सांगठनिक निर्णयबाट गराइएको थियो । संजय साहले पार्टी सहयोगको लागि रकम दिएको थियो । ओम प्रकाश यादव मेरो पार्टीको मानिस होइन । ओम प्रकाश यादवले रकम दिएको छैन । संजय स्वयम आई पार्टी सहयोगका निम्ति ५ लाख रुपैयाँ दिनु भएको थियो । संजय साहसँग बराबर भेटघाट भारतको सितामढीमा हुने गरेको थियो । जाहेरबालाहरु मध्ये जिवनाथ चौधरी र परमेश्वर कापडीलाई चिन्छु । जीवनाथ चौधरीसँग पनि बराबर कुराकानी भइरहन्थ्यो । जिवनाथ चौधरीले पनि मेरो पार्टी सहयोगको लागि धेरै पटक चन्दा सहयोग गरेको थियो । त्यसैले निजलाई मार्ने कुनै योजना थिएन, यसरी अदालतमा मुकेश चौधरीले बयान गरेका थिए ।
पक्राउ परेको अभियुक्तहरु सँग बरामद भएका विष्फोटक पदार्थहरु ।
मुकेश चौधरीको उक्त बयान पछि धनुषा प्रहरीले अर्को प्रतिवादी ओम प्रकाश यादवलाई समेत पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । त्यसपछि २७ चैत्र २०७० मा धनुषा जिल्ला अदालतका न्यायाधीश कैलाश केसीको इजलासले प्रतिवादीहरु मुकेश चौधरी र ओम प्रकाश यादवलाई समेत थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश गरे । दुवै जना हाल पनि कारागारमै थुनामा छन् ।
फरार सभाषद साहलाई पक्राउ गर्न अदालतद्वारा पक्राउ पुर्जि जारी
जनकपुर बम काण्ड सभाषद संजय साहको योजना र निर्देशन बमोजिम भएको भनेर मुकेश चौधरीले बयान गरेपछि धनुषा जिल्ला अदालतले फरार रहेका धनुषा क्षेत्र नम्बर ४ का सभासद तथा पुर्व राज्य मन्त्रि संजय कुमार साहलाई  २८ चैत्रमा २०७० मा पक्राउ पुर्जि जारि गर्यो ।  जनकपुर बम विष्फोटन घटना सम्बनधमा जिल्ला सरकारी वकिलले अदालतमा दर्ता गराएको पुरक अभियोगपत्र माथि भएको बहस पछि धनुषा लोहना ७ तथा हाल जनकपुर नगरपालिका २ बस्ने ३६ वर्षिय सभासद साह लगायत ४ जना माथि ७ दिने पक्राउ पुर्जि र ७० दिने हाजिर हुने म्यादी पुर्जि जारी गरिएको थियो । न्यायाधिश कैलास केसीको ईजलासले सबुत प्रमाण र बहस पैरबीको आधारमा २७ चैत्रमा अर्जनु सिंह भनिने मुकेश चौधरी र ओमप्रकास यादबलाई पुर्पक्षका लागि थुनामा राख्ने र सभासद साह लगायत सप्तरी भारदह(७ का ४० वर्षिय राजन प्रताप प्रफुल्ल भनिने फुल कुमार बटखेर यादब, रौतहट भुमखेल ६ का ४५ वर्षिय नांगराज भनिने उमेश तिवारी र महोत्तरी पिपरा ५ का ३० वर्षिय सुजित कुमार पाण्डे माथि पक्राउ पुर्जि जारि गर्ने आदेश दिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाका न्यायाधीवक्ता पुण्य प्रसाद पाठकले  दर्ता गरेको उक्त अभियोग पत्रमा सुरुमा ८ जना प्रतिवादीहरु थिए जसमध्ये ४ जना पक्राउ परेका थिए भने ४ जना फरार रहेका थिए । फरार रहेका मुकेश चौधरी पक्राउ परेपछि फेरी सानो पार्ट छुट्यो भनेर पहिलेको मुद्दामा असर नपरिकन अरु मान्छेको संलग्नता देखियो । मुकेश चौधरीसँगको बयान र थप अनुसन्धान गर्दै जाँदा अरु ५ जना मान्छेलाई प्रतिवादी देखिएपछि अर्को पुरक अभियोग पत्र दायर गरियो । उक्त पुरक अभियोग पत्रमा संजय साह बम काण्डका प्रमुख योजनाकार रहेको अभियोग लगाइयो । सभाषद साहकै निर्देशनमा विभिन्न प्रतिवादीहरुले संगठित भई बम विस्फोट गराएको अभियोग लगाइयो ।
सभाषद साह पक्राउ परि थुनामा
फरार रहेका सभाषद संजय साहलाई २० बैशाख २०७१ मा धनुषा प्रहरीले पक्राउ गरी बयानका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गरायो । जनकपुर बम काण्डका अन्य सह अभियुक्तहरु अर्जुन सिंह भनिने मुकेश चौधरी र ओम प्रकाश यादवलाई मुख्य अभियुक्तको रुपमा अदालतमा उपस्थित गराइएका संजय साहले नचिनेको बताए । जिल्ला न्यायाधिश कैशाल केसीको इजलासमा प्रतिवादी संजय टक्ला भन्ने संजय कुमार साहले गरेको बयान अनुसार प्रतिवादी मध्येका ओम प्रकाश यादवलाई निजको अनुहार हेरे भने मात्र चिन्न सक्ने बताए । निज यादव विगतमा आफ्नो पार्टीमा रहेपनि दोस्रो संविधान सभाको निर्वाचन का लागि भएको नोमिनेशन भन्दा ठीक दुई दिन अगाडी निज ओम प्रकाश यादवले मेरो पार्टी छाडी नेपाली कांग्रेस पार्टीमा गएको साहले बयान दिएका छन् । जनकपुर बम काण्ड भएका दिन आफु काठमाण्डौमा रहेको र उक्त घटनाको राजन मुक्तिले जिम्मा लिएको भन्ने कुरा समाचार माध्यमबाट थाहा पाएको साहले बयान दिएका छन् ।
बम विष्फोट भएका दिन ८ बजे तिर आफ्नो घरबाट पार्टी कार्यालयमा गई बैठक बसेको र त्यहाँबाट साँढे एगारह बजे निस्केपछि आफ्नो गार्डले बम काण्डबारे जानकारी गराएको थियो । उक्त घटनाबारे यथार्थ पता लगाई काठमाण्डौ एयरपोर्टमा पुग्दा अन्य नेताहरु पनि रहेको र त्यहाँ प्लेन र हेलिकप्टरबाट आएका घाइतेहरुलाई अस्पताल पुरयाउने काम गरी बेलुका आफ्नो घर फर्केको साहले बयान दिएका छन् । आफु जन प्रतिनिधि भएको कारण एक दिनमा सेकडौं फोन आउने गरेका कारण उक्त दिन आफुले क(कसलाई फोन गरेको याद नरहेको साहले बताएका छन् । उक्त दिन ९८५४०२०२०७ नम्बरको मोबाइल प्रयोग गरेको, र घटना अघि र आजसम्म पनि सोही नम्बर प्रयोग गरेको बताएका छन् ।
२०६९ साल अषाढ महिनासम्म आफ्नो र जिवनाथ चौधरीसँग चिनजान नरहेको, एक जनप्रतिनिधिको हैसियतले तत्कालिन एलडिओ केदार बहादुर बोगटीसँग भेट गरी भ्रष्टार गर्ने कर्मचारी उपर कारवाही गर्नुपर्छ भनी आग्रह गर्दा १८÷१९ जना माथि कारवाही भयो । निलम्बनमा पनि परे । सोही समयमा कर्मचारीहरुको डेलिगेशन आफु कहाँ आउँदा त्यसमा जिवनाथ चौधरी पनि थिए । त्यतिबेला मैले तपाईहरु लोकल मान्छे हो, जिल्लामा विकास गर्नुपर्छ भनेको थिएँ, साहले बयानमा उल्लेख गरेका छन् । जिवनाथसँग मेरो कुनै रिसइवी थिएन र छैन । म मुकेश चौधरीलाई चिन्दैन । निज २०६३ साल देखि नै भुमिगत भएको भनी आफैले बयानमा लेखाएको छ । जुन मानिसलाई म चिन्दिन त्यस्ता व्यक्तिसँग मैले कुनै किसिमको योजना कसरी बनाउन सक्छु ? आफु सभाषद भएको एक जन प्रतिनिधि भएको व्यक्तिले कसैको हत्या गराउन योजना बनाउन पैसा दिने कार्य गर्न सक्दैन । म फेरी मानव अधिकार प्रति पुरै जिम्मेवार व्यक्ति हुँ । मुकेश चौधरीले प्रहरीमा गरेको म विरुद्धको बयान झुठा हो । निजले बयानमा उल्लेख गरेको मोवाईलको सिम मेरो होइन । कसको हो त्यो पनि थाहा छैन । मुकेश चौधरीलाई रु. ५ लाख दिएको छैन । ओम प्रकाश को हो म चिनेको छैन । निज ओम प्रकाशले मुकेशलाई रकम दिए नदिएको सम्बन्धमा पनि मलाई थाहा छैन । मैले कसैलाई पनि रु ५ लाख, १० हजार र ५ हजार रकम दिएको छैन, साहले अदालत समक्ष गरेको बयानमा उल्लेख छ ।
त्यसपछि २५ बैशाख २०७१ मा धनुषा जिल्ला अदालतका न्यायाधीश कैलाश केसीको इजलासले साहलाई जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो । जिल्ला अदालतमा पोल गर्ने सह अभियुक्तहरुले दिएको बयानमा पुर्नविचार गर्नुपर्ने अवस्था नदेखिएको तथा अहिलेलाई यी प्रतिवादी संजय साह कसुरवार होइनन् भन्ने विश्वास गर्ने मनासिव आधार नदेखिएकोले थप प्रमाण बुझदै जाँदा ठहरे बमोजिम हुने नै गरी प्रतिवादी संजय साहलाई मुद्दाको पुर्पक्षको लागि थुनाको पुर्जी दिई थुनामा राख्न जलेश्वर कारागारमा पठाइदिनु भन्ने आदेश अदालतले गरेको हो । त्यसपछि साहलाई थुनामा रहुञ्जेल सम्मका लागि संसद र संसद सुबिधाबाट तत्कालिन सभामुख सुभाष नेम्वाङले निलम्बन गरेका थिए । १८ मंसिर २०७१ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र सत्यराज गुरुङ्गको इजलासले धनुषा जिल्ला अदालतले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने भनेर गरेको आदेशलाई नै सदर गरेको थियो । साह हालपनि कारागारमै थुनामा छन् ।
साह पहिलो संबिधान सभामा मधेशी जनअधिकार फोरम नेपालबाट धनुषा निर्वाचन क्षेत्र नं. ४ मा सभाषदमा निर्वाचित भएका थिए । तर पटक पटक उनी दल परिवर्तन गर्दै पछिल्लो पटक सदभावना पार्टीमा प्रवेश गरेका थिए । दोस्रो पटक भएको संविधान सभाको चुनावमा सोही क्षेत्रबाट सदभावना पार्टीको टिकटमा उनी दोस्रो पटक सभाषदमा निर्वाचित भएका थिए ।
त्यसैगरी उक्त घटनाका अर्को अभियूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका केन्द्रिय अध्यक्ष राजन मुक्ति भनिने रंजित झा २२ पुष २०७१ मा पक्राउ परेका थिए । २३ पुष २०७१ मा धनुषा जिल्ला अदालतका न्यायाधीश कैलाश केसीले राजन मुक्तिलाई पनि थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश गरेका थिए । राजन मुक्ति हाल पनि कारागारमा थुनामा नै छन् ।
यता पाँच बर्ष वितिसकेपनि धनुषा जिल्ला अदालतले उक्त मुद्दाको फैसला गर्न सकेको छैन । धनुषा जिल्ला अदालतका श्रेष्तेदार नन्दकिशोर यादवका अनुसार उक्त मुद्दामा अंग पुगेको छैन, कतिपय कामहरु अहिले पनि बाँकी नै रहेकाले फैसला हुन सकेको छैन । प्रतिवादीहरुका मोवाईल नम्बर र यूजर डिटेल पठाईदिनका लागि जिल्ला सरकारी वकिल कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा मार्फत प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान व्यूरो काठमाण्डौलाई धनुषा जिल्ला अदालतले पटक पटक ताकेता गरेपनि हालसम्म मोवाईल नम्बर र यूजर डिटेल उपलब्ध नगराइएकोले फैसला हुन समय लागेको श्रेष्तेदार यादव बताउँछन् ।


२०७४ बैशाख २४ गते आईतबार

No comments:

Post a Comment