Tuesday, February 23, 2016

दिल्लीमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने मधेसी विद्यार्थीहरु गिरफ्तार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका मधेसी विद्यार्थीहरुलाई दिल्ली पुलिसले नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ ७ बजे नियन्त्रणमा लिइएका ती विद्यार्थीहरुलाई शनिबार विहानसम्म पनि छोडिएको छैन ।
    केपी ओली भारतको छ दिने औपचारिक भ्रमणमा आउने थाहा पाएपछि दिल्लीस्थित विभिन्न विश्वविद्यालय र संस्थामा अध्ययनरत मधेसी विद्यार्थीहरु उनलाई कालो झण्डा देखाउन सबभन्दा पहिले विमानस्थल पुगेका थिए । उनीहरु विमानस्थलको कडा सुरक्षा घेरालाई चिर्दै ओलीलाई कालो झण्डा देखाउन सफल भएका थिए । कालो झण्डा देखाउने क्रममा उनीहरुले प्रधानमन्त्री ओलीको विरुद्धमा नाराबाजी समेत गरेका थिए ।
    आफू विरुद्ध प्रदर्शन गरिएको कालो झण्डालाई हेर्दै ओली मुसुमुसु हाँसिरहेको देखिन्थे । विमानस्थलमा कालो झण्डा देखाउन सफल भएका मधेसी विद्यार्थीहरुले साँझ प्रजातन्त्र दिवसको साथै ओलीको सम्मानमा राजदूतावासले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको थाहा पाए । राजदूतावासले दिल्लीमा विभिन्न पेसामा संलग्न आफ्ना नजिकको केही नेपाली आप्रवासी र विद्यार्थीलाई मात्र निम्त्यएको र मधेसी विद्यार्थी एक जनालाई नबोलाइएको थाहा पाए पछि उनीहरु झन आक्रोशित बनेका थिए । त्यसपछि उनीहरुले मधेसीहरुसँग राजदूतावासले समेत विभेद गरेको भन्दै राजदूतावासमा गएर ओलीका साथ(साथै राजदूतलाई समेत कालो झण्डा देखाएका थिए। राजदूतावास परिसरमा कालो झण्डासहित नाराबाजी गरेकाले दिल्ली पुलिसले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
दिल्ली विश्वविद्यालयमा अध्ययनरत एक मधेसी प्रदर्शनकारीले भने, ‘नेपाल सरकारले देशमा त भेदभाव गरे गरे विदेशमा पनि राजदूतावासले मधेसीसँग भेदभाव गर्न छोडेन । यो सरासर मधेसी विद्यार्थीमाथिको अन्याय हो । जवाहरलाल नेहरु विश्वविद्यालयस्थित तराई(मधेश अध्ययन समूहका सोहन साहले दिल्ली पुलिसले नियन्त्रणमा लिइएका मधेसी विद्यार्थीबारे राजदूतावासबाट कुनै पनि पहल नभएकोमा रोष प्रकट गर्दै भने, ‘विदेशमा पनि मधेसीहरुलाई पुलिसद्वारा समात्न लगाई नेपाली शासकहरु सुरा(सुन्दरीमा रमाए, प्रजातन्त्रमा यो भन्दा ठूलो अन्याय के हुनसक्छ ?’ पक्राउ पर्नेमा जेएनयुका विकास, सिए अध्ययनरत संजय यादव, प्रविन, अभिषेक मिश्र, विकास मिश्र, उज्ज्वल झा, दिल्ली विश्वविद्यालयका सूर्य किरण यादवसहित लगभग २५ जना विद्यार्थीहरु थिए ।
सदभावना अध्यक्ष अनिल झाका छोरा पनि पक्राउ
नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झा तथा सांसद डिम्पल झाका छोरा उज्जवल झा पनि पक्राउ परेका छन् । सदभावना पार्टीका महासचिव राजीव झाले दिएको जानकारी अनुसार दिल्लीमा मधेसी विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा उज्जवल पनि कालो झण्डा देखाईरहेका थिए, सोही क्रममा भारतको पुलिसले ती विद्यार्थीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेको सम्पुर्ण विद्यार्थीहरुलाई शिघ्र रिहाई गर्न उक्त पार्टीले माग समेत गरेको छ ।

२०७२ फाल्गुन ०९ गते आईतबार

No comments:

Post a Comment