Wednesday, February 10, 2016

मधेसमा फेरी सल्बलाउँदै ‘सशस्त्र समुह’

अधिकार प्राप्तिका लागि शान्तिपुर्ण आन्दोलन जारी रहेको बेलामा केही नयाँ सशस्त्र समुहहरु सल्बलाएका छन् । यस अघिसम्म अस्तित्व मै नरहेको समुहहरु जन्मिएका छन् भने हत्या हिंसाका घटनाहरुलाई जिम्मेवारी लिने क्रम फेरी पनि तराई मधेसमा बढ्दै गएको छ । विगतका समयमा रहेका थुप्रै सशस्त्र समुहहरु बार्ता तथा सम्वाद मार्फत बन्दुक विसाएर शान्ति प्रक्रियामा आई मुलधारको राजनीतिमा आईसकेको भएपनि केही सशस्त्र समुहहरु फेरी पनि राज्यका लागि चुनौति बन्दै आएको छ ।
नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशन तथा नगर अधिवेशन देशैभरी भईरहेको बेला धनुषामा कांग्रेसका कार्यकर्ताहरुलाई आक्रमण गर्ने क्रम बढेको छ । सोही क्रममा धनुषामा एक जना कांग्रेसका स्थानीय नेताको गोली प्रहार गरी हत्या गरिएको छ भने अर्को नेता कार्यकर्तालाई गोली प्रहार गरी हत्या गर्ने प्रयास गरिएको छ ।
नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधि राजेन्द्रप्रसाद यादवको गोली प्रहारबाट हत्या भएको छ । धनुषाको बालाबाखर(४ वैरिया टोल घर भएका यादवलाई २२ माघ शुक्रबार राति करिब साढे ९ बजे तिर अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
धनुषामा २३ माघ शनिबार बिहान थप एक जनालाई अज्ञात समूहले गोली हानेको छ । धनुषाको गणेशमानचारनाथ नगरपालिका (२ निवासी अन्दाजी ४० वर्षीय नसिमुल्लाह राईनलाई गोली हानिएको छ । गणेशमानचारनाथ नगरपालिकाको वीरेन्द्रबजार चोकमा औषधि लिन पुगेका राईनलाई रातो रंगको पल्सर मोटरसाइकल चढेर आएको दुई जनाको समूहले गोली हानेको प्रहरीले जनाएको छ ।
कांग्रेस धनुषाका ती नेता तथा कार्यकर्ताहरु माथि गरिएको आक्रमणको जिम्मा एउटा सशस्त्र समुहले लिएको छ । जनकपुरका केही संचारकर्मीहरुलाई टेलिफोन गरी आफुलाई जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको सेना प्रमुख बताउँदै पृथ्वी सिंहले उक्त घटनाको जिम्मेवारी लिएको हो । आफुले तराईमा कांग्रेसहरुलाई कुनै पनि कार्यक्रम नगर्न सचेत गराएपनि तराई मधेसका जिल्लाहरुमा अधिवेशन गरी अवज्ञा गरेको हुनाले भौतिक कारवाही गरिएको भन्दै पृथ्वी सिंहले केही संचारकर्मीहरुलाई टेलिफोन गरी घटनाको जिम्मा लिएको बताइएको छ ।
यस अघि २९ पुस २०७२ मा सिरहाको एक पेटूोल पम्पमा बम विस्फोटन गराइँदा भुमिगत समुह  जनतान्त्रिक तराई जनशक्ति पार्टीले जिम्मा लिएको थियो । उक्त समुहले सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेटूोल पम्पमा बम बिस्फोट गराएको दाबी गरेको थियो । ५ महिनादेखि तराई मधेसमा आन्दोलन जारी रहेपनि गोपाल पेटूोल पम्पले इन्धन कालोबजारी गरिरहेकोले चेतावनीस्वरुप बम बिस्फोट गराइएको जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहले केही स्थानीय संचारकर्मीहरुलाई  बताएका थिए ।
जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंहको नेतृत्वमा पार्टीका जिल्ला इन्चार्ज अबिनास सिंहसहितका कार्यकर्ताहरुको समूहले बम बिस्फोट   गराएको बताइएको थियो ।
सप्तरीको झुटकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई रमेश सुब्बामाथि २० पुष २०७२, सोमबार साँझ ६ बजेतिर गोली प्रहार गरी हत्या गरिएको थियो । छाती तथा तिघ्रामा एक र एक गोली गोली लागेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको थियो ।
गस्तीमा निस्केको बखत प्रहरी चौकी नजिकै दुई वटा भारतीय नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिएका थिए । उक्त घटनाको जिम्मेवारी मधेसका संस्थापक सशस्त्र समुहका नेता जयकृष्ण गोइतले लिएका थिए ।




२०७२ माघ २४ गते आईतबार

No comments:

Post a Comment