Wednesday, February 10, 2016

कांग्रेस नै मधेसीको मित्रशक्ति र सच्चा प्रतिनिधि हो ः बिमलेन्द्र निधि

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अहिले म नेपाली कांग्रेसको १३ औं महाधिवेशनको क्रममा यस जिल्लाको गाउँ, क्षेत्र, नगर तथा जिल्ला तहको अधिवेशन जुन कि नेपाली कांग्रेसको संगठनको आन्तरिक जीवनको काम देशैभरी चलिरहेको छ । सोही क्रममा म आफ्नो निर्वाचन क्षेत्र नम्बर ३ र आफ्नो जिल्ला धनुषामा आएको छु । १५ माघ देखि नै देशैभरी अधिवेशनको प्रक्रिया सुरु भईसकेको छ । फागुन २० देखि २३ गतेसम्म काठमाण्डौमा पार्टीको राष्टिूय महाधिवेशन हुन गईरहेको छ । सोही शिलशिलामा आफ्नो निर्वाचन क्षेत्रको अधिवेशनमा सहभागी हुन आएको छु । मलाई पुरा के विश्वास छ भने हाम्रो अधिवेशन शान्तिपुर्वक निर्वाध ढंगले सम्पन्न हुनेछ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ठाउँ ठाउँमा खासगरी जनकपुरमा मेरो घरमा पनि आक्रमण गर्यो र अरु सांसदहरुको समेत घरमा आक्रमण गरी निषेध गर्नका लागि तथा नेपाली कांग्रेसको अधिवेशन विथोल्नका लागि नीति अपनाएका छन् । तोडफोडको कार्यक्रमहरु समेत भयो । यो अत्यन्त निन्दनिय कार्य हो । नहुनुपर्ने हो । मलाई आश्चर्य लागिरहेको छ कि मधेसी मोर्चाको लागि नेपाली कांग्रेस र हामीहरु त मित्रशक्ति हौं । मोर्चाले हामीलाई मित्रशक्तिको रुपमा लिनु पर्दछ । मोर्चाका शिर्षस्त नेताहरुले आफ्ना जिल्लाका नेताहरुलाई कुन ढंगले प्रशिक्षित गर्नुभएको छ ? यस्तो कार्यले मधेसी जनताको अधिकारको पक्षमा जुन आन्दोलन छ वा अभियान छ त्यो बलियो हुन्छ भन्ने कुरा मैले देखिरहेको छैन ।
अहिले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान जुन जारी भएको छ त्यो ऐतिहासिक संविधान हो । संघीयता त मधेसी जनताकै माग थियो । म तपाईहरुलाई के स्मरण गराउन चाहन्छु भने १६ बुँदे सहमति भएपछि सिमाङ्कन विनाकै संविधान जारी गरिने कुरा थियो । त्यसपछि मधेसी मोर्चा र हामीले पनि के भनेका थियौं भने सिमाङ्कन विनाको संघीयता र संविधान जारी हुनु हुँदैन । तपाईहरु याद गर्नुस कि बाँकी राजनीतिक दलहरु मध्ये म नै पहिलो व्यक्ति हो जसले भनेको थियो कि १६ बुँदे सच्याउनुस । गल्ती भयो । विना सिमाङ्कनको संघीयता हुनु हुँदैन भनेर मैले अभिव्यक्ति दिएपछि मात्र राष्टिूय बहस सुरु भयो र सिमाङ्कनको खाका सहित संविधान जारी गरियो । यो अर्को कुरा हो कि मधेसमा २ प्रदेश वा ३ प्रदेश के हुने भन्ने कुराको टुङ्गो लाग्न बाँकी छ । तर, कम से कम पर्सा देखि सप्तरीसम्मको मधेसमा एउटा प्रदेश आएको छ । नेपाली कांग्रेस र हामीले त भनिरहेकैं छौं कि मधेसमा दुई देखि तीन प्रदेश हुनुपर्दछ । यस सम्बन्धमा मधेसी मोर्चासँग समेत बार्ता र छलफलहरु भईरहेको छ । ३ महिना सम्ममा यसको निकास निकाल्ने कुरामा मोर्चाहरु पनि तयार छन् । मधेसी मोर्चाले सुरुमा त २२ बुँदे र ८ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने माग मात्र राखेको थियो । मधेसी मोर्चाको माग ठोस रुपमा के छ भन्ने कुरा समेत बाहिर नआएको बेलामा मैले के भनेको थियो भने खास गरेर १ सय ६५ वटा निर्वाचन क्षेत्रको निर्धारणको कुरामा त्यो क्षेत्रको निर्धारण जनसंख्याकै आधारमा हुनुपर्छ भनेर मैले भनेको थिएँ । अहिलेको संशोधन जुन पारित भएको छ त्यो दुईटै संशोधन प्रस्ताव मैले नै राखेको थिएँ । र, मोर्चाका शिर्ष नेताकै सल्लाहमा राखेको थिएँ । परिणाम स्वरुप १ सय ६५ वटा निर्वाचन क्षेत्र मध्ये मधेसमा मात्रै ८० वटा निर्वाचन क्षेत्रहरु निर्धारण भएको छ । पहिले त ६५ वटा मात्र थियो । मेरै अडानका कारण ८० वटा भएको हो ।
म के पनि खुलासा गर्न चाहन्छु भने जसरी प्रदेशको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने भन्ने कुरा दोस्रो मोडेल जुन पारित भएको छ, त्यस सम्बन्धमा पनि मधेसी मोर्चाका शिर्ष नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, हृदेश त्रिपाठी, सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण जस्ता नेताहरु कै सल्लाह अनुसार भएको हो । उहाँहरु कै के भनाई थियो भने प्रदेशको जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण हुनुपर्दछ । र, त्यो भयो ।
तर, जनकपुरमा मलाई थाहा छैन मधेसी मोर्चाका नेताहरुले किन विरोध गरिरहनु भएको छ । हो, राजनीतिमा शान्तिपुर्ण आलोचना गर्न तथा विरोध गर्न पाउनु स्वाभाविक हो । मलाई केही भन्नु छैन । तर, राजनीतिक रुपमा भन्ने हो भने मधेसी मोर्चाका नेताहरुसँग म के आग्रह गर्न चाहन्छु भने मधेसी जनताको अधिकार प्राप्तिका लागि तपाईहरु लडिरहनु भएको छ भने तपाई एक्लै लड्न सक्नु हुन्न । तपाईले आफ्नो मित्र शक्तिको पहिचान गर्नसक्नु पर्दछ । र, नेपालमा मोर्चाको मित्र शक्ति भनेको नेपाली कांग्रेस मात्रै हो । नेपाली कांग्रेसमा पनि हामीहरु छौं अनि नेपाली कांग्रेस छ । र, म के पनि भन्न चाहन्छु भने मधेसी जनताको प्रतिनिधि भनेको नेपाली कांग्रेस नै हो । कांग्रेस र मधेसी पर्यायवाची शव्द हुन । नेपाली कांग्रेसलाई मधेसी जनताले हमेशा शक्ति र तागत दिँदै आएको छ । मधेसी जनताको लागि नेपाली कांग्रेस र हामीहरु सधै लडिरहनेछौं । मधेसी जनताको सच्चा प्रतिनिधि भनेकै हामीहरु हो ।मधेसी मोर्चा त आज गठन भएको छ । तिनका नेताहरु आज आएका छन् । तर मधेसको लडाई हामीले धेरै पहिले देखि लडिरहेका छौं ।  अहिले पनि धनुषा जिल्लाका नेताहरुलाई म आग्रह गर्न चाहन्छु कि प्रदेश नम्बर दुईको हरेक जिल्लाको मधेसी मोर्चाका नेताहरुलाई आग्रह गर्न चाहन्छु कि हाम्रो अधिवेशन सम्पन्न भएपछि तपाईहरुकै मित्रशक्ति बढ्ने छन् । आफ्नो मित्रशक्तिलाई यदि कमजोर गर्नुहुन्छ भने तपाईले आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु हुन्छ । त्यसैले हाम्रो कार्यक्रम वा अधिवेशन विथोल्ने कोशिश नगर्नुस भन्ने कुरा विनम्रता पुर्वक भन्न चाहन्छु ।
पत्रकारहरुसँग पनि म के अनुरोध गर्न चाहन्छु भने यस्तो अराजक, उच्श्रृङ्खल रुपमा आन्दोलनको स्वरुप नबनोस त्यसका लागि तपाईहरु पनि मोर्चालाई सचेत गराउनुस ।
मधेसी मोर्चाका नेताहरुले यति दिन देखि निषेधको राजनीति गर्दै आएपनि हामीहरुले धैर्यका साथ, संयमता अपनाएका छौं । हामी धैर्य र संयमताका साथ राजनीति अगाडी बढाउँदै आएका छौं । त्यसैले हामीले कहिल्यै मुठभेड चाहेका छैनौं । म जनकपुरका मोर्चाका नेताहरुलाई पनि के भन्न चाहन्छु भने तपाईहरु पनि मुठभेडको राजनीति नगर्नुस ।
मधेस आन्दोलनका दौरान राज्यले दमन गरेकै हो । त्यतिबेला म मन्त्रि थिएँ । र, क्याविनेटकै वैठकमा मैले के भनेको छु भने मधेस आन्दोलनको विषय राजनीतिक विषय हो र संविधान नै त्यसको मुल कारण हो । संविधानमा त्रुटि भएका कारण नै यो स्थिति उत्पन्न भएको हो । त्यसैले यसको उपचार राजनीति नै हुनुपर्छ, बल प्रयोग होइन भनेर मैले क्याविनेटमा र सार्वजनिक रुपमा पनि भनेको छु । अहिले आन्दोलनको आवश्यकता छ कि छैन भन्नु भन्दा पनि शान्तिपुर्ण तरिकाले आन्दोलन गर्न सकिन्छ तर हिंसा, तोडफोडको आन्दोलन बन्द गर्नुपर्छ । सिमाङ्कन, नागरिकता र राष्टिूय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ, भाषा जस्तो मुद्दाहरु जायज छन् भनेर नेपाली कांग्रेसले भन्दै आएको छ र हामी जस्तो मानिसले कांग्रेस भित्र अभियान चलायौं । त्यसपछि अन्य पार्टीहरुसँग पनि छलफल चलायौं । त्यसैले एउटा जनमत तयार भएको छ । र, हामीहरु ती मुद्दाहरुका पक्षमा जनमत बनाईरहेकै छौं । त्यसैले हामी अहिले कांग्रेसको महाधिवेशनमा लागेका छौं । मलाई पुरा विश्वास के छ भने हाम्रो महाधिवेशन सम्पन्न भए लगत्तै ती कुराहरु बार्ता मार्फत सम्बोधन हुनेछन् । मेरो घरलाई तोडेर नेपाली कांग्रेसको अधिवेशनलाई विथोलेर मधेसीको कुनै माग सम्बोधन हुन सक्दैन । त्यसैले हाम्रो अधिवेशन शान्तिपुर्ण तरिकाले सम्पन्न हुन दिनुपर्दछ ।
    (माघ २० गते जनकपुर आउने क्रममा विमान स्थलमा संचारकर्मीहरु समक्ष बिमलेन्द्र निधिले राखेको धारणा)



२०७२ माघ २४ गते आईतबार

No comments:

Post a Comment