Wednesday, February 10, 2016

निशानामा कांग्रेसका ‘नेता तथा कार्यकर्ता’

अजय अनुरागी
जनकपुरधाम............
नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशन तथा नगर अधिवेशन देशैभरी भईरहेको बेला धनुषामा कांग्रेसका कार्यकर्ताहरुलाई आक्रमण गर्ने क्रम बढेको छ । सोही क्रममा धनुषामा एक जना कांग्रेसका स्थानीय नेताको गोली प्रहार गरी हत्या गरिएको छ भने अर्को नेता कार्यकर्तालाई गोली प्रहार गरी हत्या गर्ने प्रयास गरिएको छ ।नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधि राजेन्द्रप्रसाद यादवको गोली प्रहारबाट हत्या भएको छ । धनुषाको बालाबाखर(४ वैरिया टोल घर भएका यादवलाई २२ माघ शुक्रबार राति करिब साढे ९ बजे तिर अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । करिब ४५ वर्षीय यादवको पेट, छाती र घाँटीमा गोली लागेको घटनास्थलमै रहेकी नेपाली काँग्रेसकी सांसद मोक्ताकुमारी यादवले बताइन् । मृतक यादब सांसद यादवका मामाससुरा हुन् ।
सांसद यादवको परिवारमा भतिजीको बिहेमा सहभागी हुन आएका थिए । त्यही बेला अज्ञात व्यक्तिले फोन गरी विवाह घरभन्दा बाहिर बोलाएको र बाहिर निस्केपछि गोली हानेर हत्या गरिएको सांसद यादवले बताइन् । उनको हत्या कसले र किन गरेको भन्ने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ । मृतक यादव नेपाली कांग्रेस एकता हुनुपुर्व कांग्रेस (प्रजातान्त्रिक) का गाउँ इकाइ कमिटिका सभापति समेत भईसकेका थिए । जारी कांग्रेस अधिवेशनमा उनी सक्रिय थिए  । वर्तमान पार्टीको क्षेत्रीय प्रतिनिधि रहेका उनको दुई छोरा छन् ।
शनिबार बिहान मृतक यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने घटनाको अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी रामदत्त जोशीले जानकारी दिए । धनुषामा मधेसी मोर्चाका कार्यकर्ताले कांग्रेस नेतालाई निसाना बनाउँदै आएका छन् । यसअघि कांग्रेस महामन्त्री विमलेन्द्र निधि, केन्द्रीय नेताहरु आनन्द ढुंगाना लगायतका घरमा मोर्चा कार्यकर्ताले आक्रमण गरेका थिए । यादव हत्या किन र कसले गर्याे भनेर यकिन भइसकेको छैन ।
धनुषामा २३ माघ शनिबार बिहान थप एक जनालाई अज्ञात समूहले गोली हानेको छ । धनुषाको गणेशमानचारनाथ नगरपालिका (२ निवासी अन्दाजी ४० वर्षीय नसिमुल्लाह राईनलाई गोली हानिएको छ । गणेशमानचारनाथ नगरपालिकाको वीरेन्द्रबजार चोकमा औषधि लिन पुगेका राईनलाई रातो रंगको पल्सर मोटरसाइकल चढेर आएको दुई जनाको समूहले गोली हानेको प्रहरीले जनाएको छ । राईनको पिठ्यूमा एक गोली लागेको छ  । शनिबार बिहान करिब साढे आठ बजे घटना भएको थियो ।
घाइते राईनलाई तत्काल जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । तर, अवस्था गम्भिर रहेकोले थप उपचारकोलागि हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । घाइते राईन नेपाली काँग्रेसका क्रियाशिल सदस्य हुन् । करिब ४० बर्षिय राईन धनुषाको छघरिया वडा नम्बर ९ का निवासी हुन । उनी आफ्नो गाउँ अधिवेशनबाट निर्वाचित भई नगर तथा क्षेत्रिय अधिवेशनका लागि बुथ प्रतिनिधिमा निर्वाचित भईसकेका छन् । राईनलाई गोली हान्ने समूह पूर्व(पश्चिम राजमार्ग हुँदै सिरहातर्फ भागेको थियो । उसलाई स्थानीय केही यूवाहरुको समुहले केहीवेरसम्म लखेटेका थिए । पछाडिबाट लखेट्ने मोटरसाइकल चालकलाई लक्षित गरेर पनि एक गोली हानेपछि त्यसलाई छल्ने प्रयास गर्दा पछाडिको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
गोली प्रहार गरी फरार हुने क्रममा ती अपराधी समूहले धनुषा(सिरहा सीमामा पर्ने कमला पुलमाथि एउटा म्याजिक भ्यानलाई लक्षित गरेर पनि गोली चलाएको थियो । भ्यानको ट्याङ्कीमा गोली लागेपनि मानवीय क्षतिबाट जोगिएको स्थानीयले जनाएको छ । अपराधी समूह सिरहा तर्फ भागेको प्रत्यक्षदर्शीले जनाएको छ ।
त्यसैगरी धनुषा र सिराहाको सिमा अन्तरगत पूर्वपश्चिम राजमार्गको कमलापुल नजिक मोटरसाइलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को मोटरसाइलमा सवार एक जनालाई अन्धाधुन्ध गोली प्रहार गरेका छन् । गोली प्रहारबाट सिराहा बन्दीपुर(३ का रामसुहाग महतो घाइते भएका छन् । महतोको पेटमा दुई गोली र हातमा एक गोली लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
बन्दीपुर प्रहरीका अनुसार महतोमाथि गोली प्रहार गर्ने व्यक्तिले नै शनिबार विहान धनुषाको गोदारमा पनि एकजनालाई गोली प्रहार गरेको बताइएको छ । तर गोली प्रहार गर्ने तीनै व्यक्ति भए नभएको विषयमा भने यकिन हुन बाँकी रहेको छ । गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले पूर्वपश्चिम राजमार्गमा चेकपोष्ट स्थापना गरी सुरक्षा व्यवस्था कडा पारिएको लाहानका प्रहरी निरीक्षक कविन्द्र कार्कीले जानकारी दिए । घटनापछि राजमार्ग क्षेत्रमा त्रासको कारण सवारी आवागमनमा पनि कमी आएको छ ।
यी घटनाहरुलाई लिएर कांग्रेसका सांसदहरुले दुख व्यक्त गर्दै कांग्रेसलाई कमजोर गर्न तथा अधिवेशन हुन नदिन ठुलो षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले उक्त आक्रमण कांग्रेस माथि मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण गरिएको तथा उक्त आक्रमण सुनियोजित षड्यन्त्र तहत हुनसक्ने बताएका छन् । जनकपुर अञ्चल अस्पताल पुगेका ढुङ्गानाले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कांग्रेसलाई हत्तोत्साहित गर्न उक्त घटना भएको भएपनि मृतक यादवले गणतन्त्रको लागि नै सहिद हुन परेको बताए । त्यसैगरी क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका सांसद दिनेश परसैला यादवले कांग्रेसको अधिवेशन विथोलियोस र कांग्रेस मधेसमा कमजोर होस भन्ने राजनीतिक उद्देश्यले आपराधिक समुहहरुले उक्त घटना गराएको हुन सक्ने आफुहरुको प्रारम्भिक अनुमान रहेको बताएका छन् । २४ घण्टा भित्र ती अपराधीहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनलाई आग्रह गर्दछु नत्र भने परिस्थिति भयावह हुन सक्ने भन्दै मृतक यादवको शव पोष्टमार्टम गराउन जनकपुर अञ्चल अस्पताल पुगेका सांसद यादवले चेतावनी समेत दिएका छन् । उक्त घटना कांग्रेस भित्रको आन्तरिक कलह वा द्वन्द्वका कारण हुन नसक्नेमा दुवै जना सांसदहरु एक मत थिए ।
घटनाको जिम्मेवारी लियो सशस्त्र समुहले
कांग्रेस धनुषाका ती नेता तथा कार्यकर्ताहरु माथि गरिएको आक्रमणको जिम्मा एउटा सशस्त्र समुहले लिएको छ । जनकपुरका केही संचारकर्मीहरुलाई टेलिफोन गरी आफुलाई जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको सेना प्रमुख बताउँदै पृथ्वी सिंहले उक्त घटनाको जिम्मेवारी लिएको हो । आफुले तराईमा कांग्रेसहरुलाई कुनै पनि कार्यक्रम नगर्न सचेत गराएपनि तराई मधेसका जिल्लाहरुमा अधिवेशन गरी अवज्ञा गरेको हुनाले भौतिक कारवाही गरिएको भन्दै पृथ्वी सिंहले केही संचारकर्मीहरुलाई टेलिफोन गरी घटनाको जिम्मा लिएको बताइएको छ ।
अपराधिको खोजी कार्य जारी
यसरी धनुषामा हत्या हिंसा बढ्न थालेपछि उक्त कार्यमा संलग्न हुन सक्ने आशंकामा धनुषा र सिरहाको प्रहरीको संयुक्त टोलीले फरार अपराधिलाई खोजी गर्ने कार्य तिब्र बनाएको छ । दिन दहाडै राजमार्गमा गोली चलाई फरार हुनेहरुको खोजी कार्यका लागि सिरहाको एउटा संदिग्ध गाउँमा सर्च अप्रेशन जारी छ भन्दै धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले अपराधि पक्राउ पर्ने दावी गरे । एसपी जोशीका अनुसार अहिले गाउँहरुमा सर्च अप्रेशन जारी छ, टेक्निकली र फिजिकली रुपले खोजी जारी छ, छिट्टै अपराधि पक्राउ परी कानुनको दायरामा ल्याइनेछ ।
निशानामा कांग्रेस
१७ माघमा नेपाली कांग्रेसका सांसदहरु लिला कोइराला र प्राध्यापक डा.चन्द्रमोहन यादव गृह जिल्ला धनुषा आएका थिए । कोइराला जनकपुरको ब्रम्हपुरी स्थित नीजि निवासमा आएका थिए भने यादव धनुषाको सपही स्थित पैतृक गाउँमा आएका थिए । सोही दिन अर्का सांसदहरु रामकृष्ण यादव, मुक्ता यादव र दिनेश परसैला यादव पनि आएका थिए । ती सांसदहरु नेपाली कांग्रेसको गाउँ, क्षेत्र तथा नगर हुँदै जिल्ला अधिवेशनको तयारीका लागि आएका थिए ।
गत साउन ३१ गते देखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय मधेसी समावेशी गठबन्धन तथा विभिन्न संघर्ष समितिहरुले मधेस विरोधी संविधान जारी गर्ने सांसदहरुलाई मधेस प्रवेशमा घोषित रुपमै विज्ञप्ती जारी गरी रोक लगाएको थियो । ती सांसदहरु आएकै दिन देखि लिला कोइराला, चन्द्रमोहन यादव र रामकृष्ण यादवको घरमा पुगी आन्दोलनकारीहरुले विरोध प्रदर्शन गरेका थिए ।
तर, १८ माघका दिन अर्को सांसद आनन्द प्रसाद ढुङ्गाना पनि जनकपुरको भानु चौक स्थित नीजि निवासमा आएका थिए । सोही दिन फेरी मोर्चाका कार्यकर्ताहरुले कोइराला, ढुङ्गानाको घर घेराउ गरी ढुङ्गामुढा गर्दै विरोध प्रदर्शन गरेका थिए । उक्त दिन नेपाली कांग्रेसका अर्को सांसद विमलेन्द्र निधि जनकपुर आएका थिएनन् । तर, जनकपुरको मिल्स एरिया स्थित उनको निवासमा आन्दोलनकारीहरुले ढुङ्गामुढा गर्नुका साथै पेटूोल बम प्रहार गर्नुका साथै आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले आगजनी गर्ने प्रयास गरेका थिए । उनको निवासमा बस्दै आएका उनका दाजु नवेन्द्र निधिले राराब क्याम्पसको चढ्ने मोटरसाइकल जलेर नष्ट भएको थियो । उनी क्याम्पस प्रमुख हुन । नबेन्द्र निधिका अनुसार आफु उक्त दिन क्याम्पसमा रहेको बेला आन्दोलनकारीहरुले गरेको आगजनीबाट क्याम्पसको मोटरसाइकल जलेको थियो भने आगो निभाउने प्रयासमा उनकी श्रीमतिलाई चोट समेत लागेको थियो । आन्दोलनकारीहरुले गरेको ढुङ्गामुढाबाट उनलाई चोट लागेको निधिले बताएका थिए । ढुङ्गामुढा गर्ने क्रममा प्रहरीले भारत विहारको पुपरीका गौतम साह र जनकपुरका उमेश साहलाई पक्राउ गरेको थियो ।
१८ गते मोर्चा तथा गठबन्धन सहित विभिन्न संघर्ष समितिहरुको संयुक्त बैठकबाट जारी गरिएको विज्ञप्तीमा मधेस विरोधी सांसदहरुलाई जिल्ला छाड्न तथा जिल्लाको बातावरण सहज बनाईदिन ध्यानाकर्षण गराउँदै जिल्ला नछाडेसम्म विरोधका कार्यक्रमहरु जारी रह्ने बताइएको थियो । त्यस लगत्तै विमलेन्द्र निधिको घरमा आक्रमण तथा नेपाली कांग्रेसका सांसदहरु माथि घर घेराउ तथा आक्रमण भईरहेको भन्दै नेपाली कांग्रेस धनुषाका सभापति राम सरोज यादवले १९ माघमा विहान पत्रकार सम्मेलन मार्फत मोर्चाको उक्त कार्य तालिवानी शैलीको रहेको तथा अराजक भईरहेको भन्दै आफुहरुको अधिवेशन कुनै पनि हालतमा हुने बताएका थिए । २० गते बिमलेन्द्र निधि जनकपुर कुनै पनि हालतमा आउने र त्यसका लागि आफ्नो कार्यकर्ताहरुनै काफी रहेको राम सरोज यादवले मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई जवाफ दिएका थिए । यादवको उक्त अभिव्यक्ति पछि १९ गते मोर्चाले फेरी प्रेस विज्ञप्ती जारी गरी जनताको मुक्तिको आन्दोलनका आन्दोलनकारीले जनताको मुक्तिका बाधकहरुलाई मधेस प्रवेशमा रोक लगाइएको छ । र, मधेसी जनताको मुक्ति नभएसम्म मधेस विरोधीको विरुद्ध आन्दोलन जारी रहनेछ, चाहे जस्तो सुकै मुल्य चुकाउन तयार छौं भन्दै चेतावनी दिएका थिए । यसका अतिरिक्त विज्ञप्ती मार्फत मधेस विरोधी सांसद विमलेन्द्र निधि लगायत अन्य सांसदहरुलाई धनुषा प्रवेश नगर्न सचेत गराउँदै प्रवेश गरेको खण्डमा उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम सम्बन्धित सांसद नै हुने जनाइएको थियो ।
यता २० माघमा निधि जनकपुर आउने कार्यक्रम तय थियो । कांग्रेसका नेता तथा कार्यकर्ताहरु निधिलाई स्वागत गर्न तयारी गर्दै थिए भने अर्को तर्फ विरोधका लागि मोर्चाका कार्यकर्ताहरु जनक चौकमाा जम्मा भएका थिए । रामानन्द चौकबाट कांग्रेसका कार्यकर्ताहरु तथा गाउँबाट आएका नेता तथा कार्यकर्ताहरु समेत विमान स्थल पुगेका थिए । अर्को तर्फ विरोध गर्ने मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई नाकाबन्दी गर्दै स्थानीय प्रहरीले भैरव चौकमै रोकेका थिए । करिब १ हजारको संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले निधिलाई स्वागत गर्दैै उनको पैतृक गाउँ नगराईन लगेका थिए । यता निधिलाई नेपाल सदभावना पार्टीकाा धनुषा अध्यक्ष रमन सिंह लगायत केही यूवाहरुले कालो झण्डा देखाई श्याम चौकमा विरोध प्रदर्शन गरेका थिए ।
अर्को तर्फ मोर्चा कांग्रेसका नेता तथा कार्यकर्ता र प्रहरी प्रशासनको बाक्लो उपस्थितिका सामु निरिह भएपछि २० माघमा प्रेस विज्ञप्ती जारी गर्दै निधि लगायतका सांसदहरु प्रहरी प्रशासनको चरम दुरुपयोग गरी जनकपुर आउने कायरतापुर्ण व्यवहार प्रकट भएको मोर्चाले ठहर गरेको थियो । प्रहरीको सुरक्षा चाहिँदैन, हाम्रो कार्यकर्ता नै हाम्रो सुरक्षाका लागि पर्याप्त छन् भने उद्घोष गरेका कांग्रेसका सांसदहरु प्रहरीको घेरामा आउनु भन्दा लज्जास्पद के हुन सक्छ भन्दै विज्ञप्ती मार्फत प्रश्न गरेका थिए । त्यसैगरी स्थानीय प्रहरी प्रशासन कांग्रेसको पृष्ठ पोषक भई मधेसी जनताको शान्तिपुर्ण आन्दोलनमा दमन गरी घाइते बनाएको प्रति दुख व्यक्त गर्दै घाइते प्रदिप कुमार चौधरी, रामकृष्ण भण्डारी, हरेराम चौधरी र बौवेलाल यादवको स्वास्थ्य लाभको कामना गरेका थिए । त्यसैगरी पक्राउ परेका आन्दोलनकारी सुशिल कर्णको रिहाई तथा विमलेन्द्र निधि लगायत सांसदहरुले जिल्ला नछाडेसम्म २१ गते देखि अनिश्चितकालिन आम हडताल घोषणा गरेको थियो ।
मोर्चाले आम हडताल घोषणा गरेपनि प्रभाव देखिएन । शिक्षण संस्थाहरु बाहेक केही पनि बन्द हुन सकेन । त्यसपछि २२ माघमा मोर्चाले आम हडताल फिर्ता लिएर कांग्रेसको क्षेत्रिय अधिवेशन तथा नगर अधिवेशन विथोल्ने उद्देश्यले मोर्चाका पदाधिकारीहरुलाई समेत क्षेत्रहरुमा परिचालन गर्ने निर्णय गरेको थियो । साथै कांग्रेसका सांसदहरुलाई मधेसको जिल्ला छोड्न समेत चेतावनी दिइएको थियो ।
    तर, मोर्चाको उक्त चेतावनीका बावजुद धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रिय अधिवेशन गरिएको छ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा नगराईनमा उक्त अधिवेशन गरिएको नेपाली कांग्रेसका जनकपुर उपमहानगरपालिकाका सभापति धिरेन्द्र मोहन झाले बताएका छन् ।



२०७२ माघ २४ गते आईतबार

No comments:

Post a Comment