Wednesday, July 8, 2015

अलगाववादको भावना वढ्दै

अलग देशको माग गर्दै बन्दुक लिएर विद्रोह गर्ने जयकृष्ण गोइत र शान्तिपुर्ण माग गर्ने डा.सिके राउतको अलगाववादको दिशामा 
मधेस केन्द्रित राजनीति गर्ने नेताहरुले धम्की दिनुका साथ साथै 
नेपाली कांग्रेसका सभाषद डा.अमरेश कुमार सिंहले समेत राज्यलाई 
अब अलग देशको धम्की दिन थालेका छन् ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

संविधानसभाबाट नेपाली जनताको भाग्यको फैसला भईरहेको बला सिंगो मधेस नै अहिले आक्रोशित मात्र भएको छैन, विस्तारै विस्तारै विजारोपण भएको अलगाववादको विचार पनि झाँगिदै गएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले) एकिकृत नेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) नेपालद्वारा हस्ताक्षरित १६ बुँदे राजनीतिक सहमतिको जगमा टेकेर सर्बोच्च अदालतको अन्तरिम आदेशलाई समेत मानमर्दन मात्र होइन पुर्णतः अवहेलना गरेर जसरी जसरी संविधानको मस्यौदा ल्याइएको छ, त्यसरी त्यसरी नै मधेसमा घृणा, आक्रोश र विद्रोहका स्वरहरु फेरी पनि संगठित हुँदै गएको छ ।
संविधानसभामा पेश गरिएको प्रारम्भिक मस्यौदा टेवल भइरहेकै बेला विरोधको प्रतिक स्वरुप मस्यौदाको प्रतिलिपी च्यातिनु र भोली पल्ट काठमाण्डौ सहित मधेस व्यापी प्रतिलिपी जलाइनुले नै मधेसमा आगो बल्ने कामको सुरुवात भईसकेको छ । 

२०६२ सालको जनआन्दोलन पश्चात पुनसर््थापित प्रतिनिधि सभाबाट संघीयता वेगर जारी भएको अन्तरिम संविधानलाई जलाएर मधेस विद्रोहको शंखनाद भए झैं अहिले संविधानसभामा पेश भएको मस्यौदा जलाएर मधेस आन्दोलनका लागि आधार तयार भएको देखिन्छ । मधेश विगतमा स्वतन्त्र मुलुक रहेको र नेपालले उपनिवेश लादेको तथा त्यस उपनिवेशबाट मुक्ति पाउनका लागि बन्दुक उठाएर विद्रोह गर्ने तत्कालिन विद्रोही नेकपा माओवादीका कार्यकर्ता जयकृष्ण गोइत राज्यको लागि चुनौती बनेकै छ । हुन त, उनलाई नेता मानेर उनको पदचिन्ह अख्तियार गरेका थुप्रै व्यक्तिहरु मारिए, गिरफ्तार भए, वार्तामा आएर शान्तिपुर्ण राजनीतिक जीवनमा लागे पनि गोइत, गोइतसँगै लागेका ज्वाला सिंह जस्ताहरुको मुद्दा जीवित नै छ । तर, गोइतकै अजेण्डालाई शान्तिपुर्ण तरिकाले उठाएका डा.सी.के.राउतको स्वराज सहितको स्वतन्त्र मधेस गठबन्धन राज्यको लागि थप चुनौती बनेको देखिन्छ । राउतको अभिव्यक्तिलाई अतिवादी अभिव्यक्ति भन्दै उनी सँग पानी बराबरको स्थितिमा रहेका संविधानसभामा उपस्थित मधेस केन्द्रित दलका नेताहरु नै त्यस्तो अभिव्यक्ति दिन थाल्नुले राज्यलाई थप चुनौती वढ्दै गएको देखिन्छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय उपाध्यक्ष बृषेश चन्द्र लाल भन्छन,“ बराबरीको आधारमा संविधान जारी भएन भने अब नेपालको संविधानलाई मान्न हामी बाध्य हुने छैनौं ।अलग देश बनाई मधेसको संविधान आफै बनाउने छौं ।” त्यसैगरी सदभावना पार्टीका केन्दिय महासचिव मनिष सुमन भन्छन,“ हाम्रो हक अधिकार सुनिश्चित भएन भने राज्यले जसरी सुन्छ त्यस्तै आन्दोलन गर्नेछौं । प्रचण्डले कनचटमा जब बन्दुक ताके राज्यले सुने झैं हामीलाई त्यस्तो बाटो अख्तियार गर्नु परे त्यसका लागि पनि पछि हट्ने छैनौं ।”
मधेस केन्दित राजनीति गर्नेहरु बेला बेलामा अलगाववादको धम्की दिने गरेको नौला भने होइन । जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचारको मुद्दामा जेल जानु अघि संचारमन्त्री भएकै बेला मधेसको काठकाण्डौ सँग सम्बन्ध टुट्न सक्छ भन्ने सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए । तमलोपाका अध्यक्ष महन्थ ठाकुर दोस्रो मधेस आन्दोलन देखि नै अधिकार नदिइए मधेस नेपालबाट अलग हुन सक्ने चेतावनी दिँदै आएका थिए ।
शरत सिंह भण्डारी फोरम लोकतान्त्रिकका तर्फबाट देशको रक्षा मन्त्री भएकै बेला विभेद कायमै रहे विखण्डन हुने सार्वजनिक अभिव्यक्ति दिए पछि उनलाई त मन्त्रीपदबाट राजीनामा नै दिनु परेको थियो ।
तर, अचम्म त के हो भने नेपाली कांग्रेसका नेताहरु पनि विभेद कायम रहे मधेस अलग देश हुन सक्ने बताउनुले अलगाववादको विचार विस्तारै फराकिलो मात्र होइन संगठित भइरहेको भन्न सकिन्छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभाषद डा.अमरेश कुमार सिंह भन्छन,“ हामी नेपालबाट अलग हुन चाहँदैनौं । तर, मधेस विरोधी संविधान ल्याएर राज्य सत्ताले हामीलाई जवर्जस्ती अलगाववाद तर्फ धकेलिरहेको छ ।”
पाकिस्तान पहिले पुर्वी र पश्चिमी पकिस्तान थियो । तर, मुक्ति पाउन बंगलादेश भन्ने नयाँ देश बनेको दृढटान्त दिँदै डा.सिंह भन्छन,“ यो राज्यले मधेसलाई सधै गुलाम बनाईराख्न खोजेको छ । 

अब हामी गुलामी किमार्थ बर्दास्त गर्दैनौं । बरु स्वतन्त्र देश नै बनाउनु परे त्यस तर्फ अगाडी वढ्ने छौं ।” यसरी विभिन्न नेताहरुले अलग राष्टूको धम्की दिनाले मधेसलाई फाइदा त केही पनि नभएको बरु क्षति नै भईरहेको समेत तर्कहरु अगाडी आईरहेका छन् । तराई मधेस राष्टिूय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ता भन्छन,“ अहिले जसरी केही नेताहरुले अलगाववादको नारालाई चर्को रुपमा अगाडी बढाईरहेका छन् त्यसले मधेसलाई नाफा होइन क्षति नै पुगेको छ । अलगाववादको नाराले नै गर्दा नेपालको मिडिया, कर्मचारीतन्त्र र राज्यसत्ताको मनमा आशंकाहरु उत्पन्न भएका छन् । जसले गर्दा मस्यौदा संविधानमा आउनुपर्ने कुराहरु समेत आउन सकेन ।” अलग देशको कुरा नै गर्नु हुँदैन भन्दै राजनीतिक विश्लेषक सिके लाल भन्छन,“ अलग देशको अजेण्डा उठाएका जयकृष्ण गोइत र सिके राउतको अवस्था देखिएको छ । उनीहरुलाई मधेसमै जनसमर्थन छैन भने राज्यले त्यो कुरालाई स्वीकार गर्ने कुरै भएन । तसर्थ अलगाववादको नारा राजनीतिक स्वार्थपुर्तीका लागि नेताहरुले बेला बेलामा उचालिरहेका हुन्छन् ।”



२०७२ अषाढ २० गते आईतबार

No comments:

Post a Comment