Tuesday, January 13, 2015

उमा सिंह हत्याको ६ वर्ष पुरा जग्गा विवादका कारण उमाको गरियो हत्या

 
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

पत्रकार उमा सिंहको हत्या भएको ६ वर्ष पुरा भएको छ । २७ पुष २०६५ मा जनकपुर(१४ स्थित गोविन्द कार्कीको घरमा डेरा लिई बसिआएको अवस्थामा राति ७ः१५ बजेको समयमा करिब ७(८ जना मानिसहरुको समुहले एक्कासी कोठामा खुकुरी प्रहार गरी समाति घिसार्दै वारदलीमा लगी यत्र तत्र खुकुरी प्रहार गरी घाइते बनाएको थियो । उनलाई थप उपचारको लागि काठमाण्डौ लगिरहेको अवस्थामा बाटोमा मृत्यु भएको थियो ।
उमा सिंहको हत्या विभत्स किसिमले गरिएको थियो । यति सम्म विभत्स थियो कि अपराधिहरुको उक्त समुहले उमाको शरीरको प्रायः जसो हरेक भागमा खुकुरीले प्रहार गरी काटि घाइते बनाएको थियो । उमा बसेको घरको वारदलीमा ४ फिट गोलाईमा रगत जमेको थियो, सो रगत निर डटपेन थान १, रगत निर मोतीको माला चुडेर दाना दाना छरिएको अवस्थामा रहेको थियो । यति मात्र होइन सोही रगत माथि कपालको झोपा रहेको बरन्डा प्यासेजमा रगत रहेको, कोठा भित्र कितावहरु छरिएको अवस्थामा रहेको, सो कितावहरुमाथि रगतको छिटाहरु रहेको, कालो रंगको टोपी र कालो रंगको साल कोठामा भुईमा रहेको, रातो रंगको चुराको टुक्राहरु छरिएर रहेको थियो ।
 उमाको बायाँपट्टी निधार देखि बायाँ आँखा हुँदै गाला सम्म ८ इन्च लामो गहिरो सम्म काटेको घाउ रहेको थियो । त्यसैगरी बायाँ निधार देखि बायाँ कान सम्म ७ इन्च गहिरो सम्म काटेको घाउ रहेको थियो । टाउँको विच भागमा ३ इन्च लामो गहिरो सम्म काटेको घाउ, बायाँ पट्टी गर्दनमा ४ इन्च लामो १ इन्च गहिरो काटेको घाउ, दाहिने हातमा १ इन्च लामो तथा आधा इन्च गहिरो काटेको घाउ, दाहिने हातको कान्छि औलामा आधा इन्च लामो आधा इन्च गहिरो काटेको घाउ, बायाँ हातको कुहिनामा १ इन्च लामो आधा इन्च गहिरो काटेको घाउ, दाहिने हातको हत्केलामा डेढ इन्च गहिरो काटेको घाउ, पिठयूमा ५ इन्च लामो ६ इन्च गहिरो काटेको घाउ, ढाड ५ इन्च लामो तथा डेढ इन्च गहिरो काटेको घाउ रहेको थियो ।
यसरी हेर्ने हो भने ती आपराधिक समुहहरुले उमालाई तड्पाई तड्पाई हत्या गरेको घटना स्थिति र उमाको लाश जाँच प्रकृति मुचुल्काले पनि प्रष्ट पार्दछ ।
हत्याको कारण
उमा कुमारी सिंह हत्या हुनु भन्दा अगाडी करिब डेढ वर्ष अगाडी देखि जनकपुर आई रेडियो टुडेमा रेडियो रिपोर्टरबाट काम सुरु गरि समाचार बाचन गर्दै आएको थिईन । उमाको आमा सुशिला सिंहले केही जग्गा उमाकै नाउँ गरिदिने र विहे गरिदिने भन्ने कुरा उठाउँदा उमा की भाउजु ललिता सिंहले उमाको नाउँमा जग्गा नगर्न विरोध गर्न थालिन । ललिता सिंहले सम्पुर्ण सम्पति एकलौटी पाउनको लागि श्रवण कुमार यादव, स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालिन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ । श्रवण यादवको समुहले उमा कुमारी सिंहलाई १ महिना अगाडी अपहरण गर्ने प्रयास गरेको थियो । स्वामीजी यादव भन्ने उमेश यादव, श्रवण कुमार यादव मिली उमालाई सम्पुर्ण जग्गा ललिता सिंहको नाउँमा जग्गा दर्ता गरिदिनको लागि धम्की समेत दिँदै आएको थियो ।
 १५ भदौ २०६३ मा सिरहाको रामनगर मिर्चैया वार्ड नं. ३ स्थित आफ्नै होटेलबाट माओवादीहरुको समुहले उमाको बुवा रंजित सिंह र दाई संजय सिंहलाई अपहरण गरि ज्यान बेपत्ता बनाएको थियो । १० कठ्ठा जग्गा उमाको बुवाले उमाको नाउँमा पास गरेको थियो । त्यसपछि उमाको आमाले धुरमी बजारको दुई कठ्ठा जग्गा समेत उमाकै नाउँमा पास गरेको थियो ।
जग्गा जमिन सम्बन्धि विवाद चल्दै आएको अवस्थामा उमा सिंहले स्वामीजी यादव भन्ने उमेश यादव सम्म आफ्नो हत्या गराउन कुरा गरेको र १ लाख रुपैयाँ पेस्की समेत दिएको कुरा आफुले थाहा पाएपछि आफ्नो हत्या नगरी उमाकै हत्या गर्नका लागि श्रवण कुमार यादव र माओवादीको कमाण्डर सुभाष मार्फत स्वामीजी भन्ने उमेश यादवसँग कुरा गरी योजना बनाई उमा कुमारी लाई हत्या गरेबापत २५ हजार रुपैयाँ तत्काल दिने र अरु रकम पछि दिने उमाकी भाउजु ललिता सिंहले बताएकी थिइन् ।
उमेश यादव तराई एकता परिषदको केन्द्रिय अध्यक्ष थिए । उनले आफ्नो पार्टीको केन्द्रिय सदस्य प्रसान्त भनिने नेमलाल पासमानलाई उमाको हत्या हुनु भन्दा १५ दिन अगाडी उमेशले भेटेर उमालाई हत्या गर्न रु. १ लाख ५० हजारको सुपारी लिएको बताएका थिए । उक्त हत्या गर्न प्रसान्तलाई उमेश यादवले निर्देशन दिई जिम्मा समेत दिएका थिए ।
हत्या भएपछि बिमलेश झा भनिने विमलेश विमलले हत्याको जिम्मा लिएको विज्ञप्ति फ्याक्स गरेको थियो ।
अदालतको ठहर
उमा सिंह हत्याको अभियोगमा सुशिला सिंह समेतको जाहेरीले नेपाल सरकार वादी रहेको कर्तव्य ज्यान मुद्दामा उमाकी भाउजु ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरको श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सितामढीको नरहा कटरहियाका बैद्यनाथ सिंह कुमर र उनको छोराहरु धन्नजय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमल विरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
२६ जेष्ठ २०६८ मा धनुषा जिल्ला अदालतका न्यायाधिश विमल प्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजु ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्व सहित जन्म कैद सजायको फैसला गरेको थियो ।
    ती दुवै जना अहिले जलेश्वर कारागारमा कैदी बन्दी छन् । त्यसैगरी न्यायाधिश ढुङ्गेलको इजलासले प्रतिवादी भनिएका श्रवण कुमार यादवलाई सफाई दिई जलेश्वर कारागारबाट थुना मुक्त गरिदिनु भनी फैसला गरेका थिए । अन्य प्रतिवादीहरु धनन्जय सिंह, बैजनाथ सिंह र अजय सिंहको हकमा मुलतवीमा रहेकोले नेपाल सरहदमा फेला परेका वखत कारवाही गर्ने आदेश गरेको थियो । त्यसैगरी स्वामीजी यादव भनिने उमेश यादव, चन्देश्वर साह, धनेश्वर साह तेली, विजय यादव, विन्दु यादव, सुभाष यादव भन्ने सुभेश्वर यादवको हकमा मुलतवी रहेकोले अंश रोक्का गरी मिसिलमा राख्नु भनि आदेश दिइएको थियो ।
जब स्वामीजी यादव भनिने उमेश यादवलाई धनुषा प्रहरीले पक्राउ गरी अदालतमा प्रस्तुत ग¥यो, तब स्वामीजी भनिने उमेश यादवले आफ्नो संलग्नतामा इन्कारी गरेको भएपनि २८ चैत्र २०७० मा धनुषा जिल्ला अदालतका न्यायाधीश कृष्ण बहादुर थापाको इजलासले प्रतिवादी आरोपित कसुरका कसुरदार होइनन् भन्ने अवस्था नहुँदा पछि प्रमाण बुझँदै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दाको पुर्पक्षको लागि जलेश्वर कारागार कार्यालयमा थुनुवा पुर्जी दिई पठाइदिने  भनि आदेश गरिएको छ । स्वामीजी यादव अहिले जलेश्वर कारागारमा थुनामा छन् ।

२०७१ पौष २७ गते आईतबार

No comments:

Post a Comment