Monday, December 15, 2014

जानकी हेल्थ केयर सेन्टर होइन ‘हयुमन किलिङ्ग सेन्टर’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरका ३३ वर्षिय प्रल्हाद साहलाई छाती र पेटमा दर्द भएपछि उपचारका लागि १६ मंसिरमा विहान साबा ५ बजेको समयमा जनकपुरकै जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा भर्ना भए । भर्ना भएपछि उनलाई त्यहाँका चिकित्सकले छातीको एक्रे, पिसाव जाँच र अल्टूासाउण्ड गराउन जाँच लेखिदिए । उक्त हेल्थ केयर एण्ड रिसर्च सेन्टरकै प्याथोलोजीमा प्रल्हादले जाँच गराए । १६ मंसिर २०७१ का दिन उनले पाएको अल्टूासाउण्डको रिपोर्टमा बायाँ किडनीमा ४.४ मिलिमिटरको पत्थल जस्तो संरचना देखिएको बताइयो । डा.कृष्ण कुमार महत्तो द्वारा जारी गरिएको उक्त अल्टूासाउण्ड रिपोर्टमा दुवै किडनी सामान्य आकारको रहेको तर, बायाँ किडनीमा पत्थल देखिएको बताइयो । एमविविएस उत्तिर्ण रहेका अल्टूासोनोलोजिस्ट डा.महत्तोले दिएको प्रतिवेदन पछि जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका चिकित्सकले राष्टिूय स्तरका क्रिकेटका खेलाडी समेत रहेका विरामी प्रल्हादलाई औषधिहरु लेखेर १६ मंसिरका दिन विहान ८ः५० मा डिस्चार्ज गरे । उक्त औषधि खान तथा धेरै पानी खान प्रल्हादलाई सुझाव दिँदै त्यहाँका चिकित्सकले प्रल्हादलाई भने,“ चिन्ता लिनु पर्दैन । किडनीमा स्टोन देखिएको छ । औषधि खानुस । पिसाव मार्फत किडनीमा रहेको उक्त स्टोन निष्काशित हुनेछन् । र, तपाई पुर्णतः निको हुनुहुनेछ ।”
जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको शिकार जनकपुरका क्रिकेटर प्रल्हाद साह ।
डिस्चार्ज भएर उनी घर आउँदा औषधि खाएपनि छातीको दर्द कम हुनुको सट्टा झनै वढ्दै गयो । त्यसपछि उनी फेरी जनकपुरमै अर्को ठाउँ राकेश पाण्डे कहाँ छातीको एक्स रे गराउन पुगे । एक्सरे को रिपोर्टमा छातीमा दाग देखिएपछि छातीमा पानी भरिएको हुन सक्छ भनी छातीबाट पानी निकाल्दा  रगत निस्कयो । त्यसपछि प्रल्हादलाई बाहिर लग्न सुझाव दिइयो । अनि प्रल्हादका परिवारले सोही दिन अर्थात १६ गते प्लेन मार्फत थप उपचारका लागि काठमाण्डौको महाराजगञ्ज स्थित मनमोहन शिक्षण अस्पतालमा भर्ना भए । त्यहाँ पनि उनको छातीको एक्स रे र अल्टूासाउण्ड परिक्षण गराइयो । छातीमा रगत जाम भएको पाइयो । किडनीमा कुनै पनि समस्या देखा परेन । किडनीमा स्टोनको नाम निशान समेत पाइएन । उनको छातीमा जमेको रगत निकालेर फेरी अर्को रगत चढाइयो । करिब एक सप्ताहको उपचार पछि उनी निको भएर २३ मंसिरमा त्यहाँबाट डिस्चार्ज भए ।
माथिको घटनाबाट के प्रष्ट हुन्छ भने जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा गराइएको अल्टूासाउण्ड रिपोर्ट झुटो थियो । साहले द एक्सक्लुसिभ सँग कुराकानी गर्दै भने,“ जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर हेल्थ केयर सेन्टर नभएर हुम्यन किलिङ सेन्टर अर्थात मान्छे मार्ने केन्द्र हो । यदि म काठमाण्डौ नगएको भए र जानकी हेल्थ केयरले गरेको गलत जाँचको आधारमा प्रेस्क्राइब गरिएको औषधि खाएर बसेको भए निश्चय नै म मर्ने थिएँ होला । यसरी नक्कली जाँच गर्ने निजी अस्पतालहरु तुरुन्त बन्द हुनुपर्छ ।”
जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको उक्त समाचारहरु बाहिरिएपछि फेरी आफ्नो शाख जोगाउन तथा मिडियाहरुमा सेटिङ गर्न लागिपरेका छन् । जन विश्वास कायम गर्न निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भनेर पर्चा पम्पलेटहरु टाँस्न थालेका छन् । केही मिडियाहरुमा विज्ञापन समेत दिन थालेका छन् ।
उसको यो हतकण्डा नयाँ भने होइन । केही वर्ष अघि ९ जेष्ठमा जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर अगाडि कपाल मोचनीसरमा प्लास्टिको डब्बामा बन्द गरि फालिएको अबस्थामा ८ वटा मृत भ्रुण फेला परेको थियो । प्रहरीले बरामद गरेको उक्त ८ वटा मृत भ्रुणहरुको प्रकृति हेर्दा त्यसलाई मेडिकल प्रयोजनकै लागि पहिले देखि नै प्रिजर्भ गरेर राखिएको हुन सक्ने आशंका व्यक्त गरिएको थियो । बन्द गरिएको डब्बा बाहिर मृतक भ्रुणको तौल र उमेर समेत लेखिएको हुनाले मेडिकल प्रयोजनका लागि पहिले देखि नै यस्ता क्रियाकलाप हुने गरेको आशंका गरिएको थियो । प्रायः जसो शिक्षण अस्पतालहरुमा विद्यार्थीहरुलाई प्रयोगात्मक पढाईका निम्ति मृतक भ्रुणहरु ‘स्पेसिमेन’ को रुपमा राख्ने गरिएको हुन्छ । ती शिक्षण अस्पतालहरुले प्रति भ्रुण रु. ५० हजार सम्ममा किन्ने गर्छन । अर्को तर्फ भने जानकी हेल्थ केयरले अबैध रुपमा एबोर्सन गरि बच्चाहरुको भु्रणलाई बेच्ने गरेको समेत आशंका गरिएको थियो ।
यति भएपछि त्यसबेला पनि जानकी हेल्थ केयरले अहिले अपनाएको हतकण्डा निशुल्क शिविर तथा विज्ञापन मार्फत मिडिया सेटिङ नै प्रयोग गरेको थियो ।
जनकपुरमा चिकित्सकहरुले अवैध भ्रुण हत्या गर्दै आएको विभिन्न कालखण्डमा समाचार पुष्टि भएपनि प्रशासनिक कारवाही नहुँदा तिनीहरुको गोरखधन्दा अझ विकराल रुपमा विस्तार हुँदै गएको छ । ती चिकित्सकहरुको गिरोहले कानुनलाई लत्याउँदै लिङ्ग पहिचान गरि अवैध भ्रुण हत्या, मानव शरीरको अङ्ग प्रत्यारोपन देखि लिएर अव भु्रण तस्करीको गोरखधन्दालाई आफ्नो आय आर्जनको मुख्य स्रोत नै बनाउन थालेका छन ।  जसको पछिल्लो उदाहरण हो, जनकपुरमा भ्रुण तस्करीका लागि फालिएको आठ वटा बच्चाहरुको बरामदी ।
नेपाल परिबार नियोजन संघ, मेरी स्टोप्स सेन्टर र जनकपुर अञ्चल अस्पतालमा सुरक्षीत गर्भपतन  गराउने  मात्र मान्यता पाएपनि  यस्ता अबैध  कारोबारमा संलग्न कारोबारीहरु यहाको निजी अस्पताल, क्लीनिक, स्वास्थय सस्ंथा र झोले स्वास्थयकर्मीले खुलेआम गर्भपतन गरिरहँदा समेत स्थानिय प्रहरी प्रशासन मौन बस्यो ।  प्लास्टिको डब्बा भित्र प्रिजर्भ गरि राखिएको अबस्थामा भेटिएको भु्रण कसले, किन र कहाँबाट ल्याएको र यस्ता घटनामा संलग्न रहेकाहरुलाई   कानुनको दायरामा ल्याई कारबाहि गर्न कुनै चासो नदेखाएकोले त्यतिबेला उक्त घटना पनि सेलाएर गएको थियो ।
साह प्याथोलोजीको गोरखधन्दा
११ साउन २०७१ मा जनकपुरका मनोज साह र उनको श्रीमतिले उक्त प्याथोलोजीमा रगतको परीक्षण गराउँदा मनोज साहलाई एचआइभी पोजेटिभ र उनको श्रीमतिलाई एचआइभी निगेटिभ रहेको रिपोर्ट दिईयो । सुर्यनारायण साहले संचालन गरेको उक्त प्याथोलोजीको रिपोर्ट हेर्ने वित्तिकै मनोजलाई छाङ्गाबाट खसे जस्तै भयो । नचिताएको, नसोचेको प्राणघातक रोग लागेको रिपोर्टले उनी मानसिक रुपले चिन्तित भए । एकातर्फ आफु अब बाँच्न नसकिने चिन्ताले चिन्तित थिए भने अर्को तर्फ उनको श्रीमतिले कुन परमहिलासँग अबैध सम्बन्ध राखेको भन्दै प्रश्न मात्र होइन झगडा समेत गर्न थाले । भरोसा र विश्वासमा टिकेको ती दम्पतिको बैवाहिक सम्बन्ध पनि साहको रिपोर्टका कारण खतरामा प¥यो ।
दिनरात अविश्वास वढ्नुका साथै सम्बन्ध विच्छेदसम्मको खतरा अग्रसर भइरहेकै बेला पुनः परीक्षण तथा उपचारका लागि १२ साउन जनकपुर अञ्चल अस्पताल पुग्दा ती दुवै दम्पतिको रिपोर्टमा एचआईभी निगेटिभ पाइयो । मनोजलाई विश्वास लागिरहेको थिएन । उनी पुनः पटक पटक परीक्षण गर्न लगाउँदा निगेटिभ नै पाइयो । बल्ल आएर मनोजले राहतको लामो श्वास फेर्न पाए । अब नमर्ने रहेछु र श्रीमति समक्ष अविश्वासको वढ्दो संकटलाई पनि जित्न सफल भएको भन्दै बल्ल उनको ज्यानमा ज्यान आयो । यसरी एक प्याथोलोजीमा कार्यरत सुर्यनारायण साहका कारण एक दम्पतिलाई अनाहकमा  मानसिक र शारीरिक रुपमा क्षति बेहोर्नु प¥यो ।
 को हुन सुर्यनारायण साह ?
सुर्यनारायण साह
सुर्यनारायण साह जनकपुर चुरोट कारखानाका अवकास प्राप्त कर्मचारी हुन् । उनले जनकपुरको भानुचौक र रामचौक स्थित साह प्याथोलोजिको नाउँमा दुईवटा छुटा छुट्टै प्याथोलोजी संचालन गर्दै आएका छन् । उनी आफ्नो इन्सटीच्युटबाट मेडिकल ल्याव टेक्निसियन, टिचिङ हस्पिटल महराजगंज काठमाण्डौबाट उत्तिर्ण गरेको, थाइलेण्डको बैंककबाट तालिम लिएको, एनटिसीबाट क्षयरोगको तालिम लिएको र आफुलाई मेडिकल टेक्नोलोजिस्ट अफिसरको रुपमा परिचय दिएका छन् । नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा दर्ता गरिएको र दर्ता नम्बर बि(१४० रहेको बताएका छन् । उनले संचालन गरेको प्याथोलोजी जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता गराएका छैनन् । घरेलु तथा साना उद्योग कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषामा पनि दर्ता गराएका छैनन् । जनकपुर नगरपालिकाको कार्यालयबाट पनि इजाजत लिएका छैनन् । आन्तरिक राजश्व कार्यालयमा समेत हालसम्म कुनै पनि किसिमको स्वास्थ्य सेवा कर तिरेका छैनन् । जनकपुर नगरपालिकाको कार्यालयलाई समेत व्यवसाय कर तिरेका छैनन् । यसरी जनताको ज्यानै लिने गरी साह प्याथोलोजीले जाँच अनुसन्धान नै नगरी रिपोर्ट लेखेर जनस्वास्थ्य माथि खेलवाड गरेको तथ्य फेला परेको थियो । उक्त घटनाको हालसम्म ५ महिना वितिसक्दा समेत प्रशासनले प्याथोलोजी संचालक साहलाई कुनै पनि कारवाही गरेको छैन ।
साह प्याथोलोजिकल क्लिनिक त एक उदाहरण मात्र हुन । धनुषामा करिब १ सय भन्दा वढी प्याथोलोजिकल ल्यावहरु खुलेका छन् । जसको कहिँ पनि दर्ता गरिएको छैन । प्रयोगशाला संचालन तथा दर्ता सम्बन्धि न्युनतम मापदण्ड तयार भइरहेको अवस्थामा स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्ती मापदण्ड सम्बन्धि निर्देशिका २०७० जारी भइसकेको छ । तर, उक्त निर्देशिका अनुसार सुर्यनारायण साहको प्याथोलोजी जस्तै कुनै पनि प्याथोलोजीहरुले मापदण्ड पुरा गरेका छैनन् ।
    सम्बन्धित चिकित्सकको अभावमा खुलेका यस्ता ल्याबहरूको रिपोर्ट भरपर्दाे भने छैन । भरपर्दाे नहुनुमा दक्ष जनशक्ति नहुनु हो भने पर्याप्त मात्रामा केमिकल प्रयोग नहुनु रहेको छ । प्याथोलोजिस्टको अभावमा ल्याब टेक्निसियनले रिपोर्ट बनाउँदा बेला(बेलामा जनकपुरका ल्याबहरु विवादमा आउने गरेको छ । रगत, दिसा, पिसाब, खकार आदि परीक्षणका लागि रेफर गर्ने चिकित्सकले कम्तिमा ६० र बढीमा ७० प्रतिशतसम्म कमिशन लिने गरेको कारण ल्याब सञ्चालकले उचित मात्रामा केमिकल प्रयोग नगरेको एक जना प्याथोलोजी संचालकले बताए । चिकित्सकलाई कमिशन दिनुपर्दा घरभाडा, बिजुली बत्ती, कर्मचारी, स्टेशनरी, केमिकल्स आदिको खर्च निकाल्न धौं(धौ पर्ने उनले बताए । जनकपुरमा खुलेका ल्याबहरूबाट अहिले गलत रिपोर्ट आउनुको कारण पनि यही हो । ल्याबबाट आउने रिपोर्टका कारण चिकित्सकले रोग पत्ता लगाएर सोही अनुसार उपचार गर्ने हो तर कमिशनमा आँखा गडाउँदा गलत रिपोर्टका आधारमा गरिने उपचार प्रभावकारी नहुने, रोग अर्कै छ उपचार अरू नै हुने गर्दा रोगीलाई सास्ती मात्र छ ।
ल्याबहरूमा म्यानुयल परीक्षण अन्तर्गत टिसी, डिसी, इएसआर, हेमोग्लोबिन, पिसाब रूटिन  र बायोकेमिकल्स परीक्षण अन्तर्गत मधुमेह, पिसाबमा युरिया, जन्डीसमा बिलुरुबिन, मृगौलामा क्रिप्टनिन अनि युरिक एसिड आदिको परीक्षण गरिन्छ । यस्तो परीक्षणका लागि दक्ष व्यक्तिको आवश्यकता पर्दछ तर नेपाल हेल्थ प्रोफेसनल काउन्सिलबाट एकपटक सीमित परीक्षणको इजाजत लिएर यहाँका ल्याबहरूले असीमित परीक्षण गर्दै आएका छन् ।
    यस्ता परीक्षणहरूबारे सेवाग्राहीमा अज्ञानता र उजुरी लिने र कार्यवाही गर्ने निकायको अभावमा गैरकानुनी प्याथोलोजी निर्धक्क सञ्चालित छ । सही परीक्षण रिपोर्टका लागि रकम तिरेका बिरामीहरूको त्यो अधिकार पनि हो । सेवाग्राहीलाई त्यस अधिकारबाट वञ्चित गर्ने काम भइरहेकामा कसैले सरोकार नराख्नु दुःखद हो ।
धनुषा अस्पतालमा जबर्जस्ती बच्चा निकाल्न खोज्दा शिशुको टाउको चुँडियो
जनकपुरस्थित धनुषा अस्पतालमा प्रसूति गराउने चिकित्सकको लापरबाहीले २१ अषाढ २०६९ मा एक शिशुको ज्यान गएको थियो । धनुषा इनर्वा ( ७ कजरारमौलकी २२ वर्षीया सविता यादवको सात महिनाको गर्भ डेलिभरी गराउने क्रममा शिशुको शिर नै चुँडिएर मृत्यु भएको थियो । बाँकी शरीर डेढ घन्टापछि मात्र शल्यक्रियाबाट निकालिएको थियो ।
महिना नपुग्दै प्रशव पीडा भएपछि अस्पताल आएकी सविता सोही दिन बिहान साढे चार बजे धनुषा अस्पताल भर्ना भएकी थिइन । अस्पतालमा विशेषज्ञ चिकित्सक थिएनन् । चार घन्टापछि साढे आठ बजेतिर अस्पतालकै एमबिबिएस चिकित्सक जयप्रकाश पण्डितले सबिताको पहिलो जाँच गरेका थिए । पण्डितलाई सघाइरहेकी एक नर्सका अनुसार चिकित्सकले जाँच सुरु गर्दा नै पाठेघरको मुख खुलिसकेको थियो । पण्डितले तत्कालै मुख बन्द गर्ने औषधी दिए पनि रोक्न नसकेपछि साढे १० बजेतिर आफैं लेबर रुम लगेको ती नर्सले बताएकी थिइन । प्रसूतिविज्ञबिनै पण्डितले जबर्जस्ती बच्चा निकाल्न खोज्दा शिशुको टाउको छुट्टिएको ती नर्सको भनाइ थियो । बिरामीको अवस्था असामान्य हुँदा विशेषज्ञ चिकित्सक बोलाउनुको साटो पण्डितले अस्पतालमै उपलब्ध नर्सको सहयोगमा असुरक्षित तरिकाले बच्चा निकाल्ने प्रयास गरेका थिए । घटनालगत्तै पण्डित फरार भएका थिए । अस्पतालकी गाइनोकोलोजिस्ट सोनिया सिंहले चिकित्सककै लापरबाहीले शिशुको मृत्यु भएको सकारेकी थिइन । प्रसूति शाखाको रेकर्डमा बिहान ११ः४५ मै बच्चा जन्मेको रेकर्ड थियो तर, डा. सोनियाले आफूलाई एक बजेमात्र घटनाबारे जानकारी भएको बताएकी थिइन । उनका अनुसार बच्चाको घाँटीमुनिको भाग निस्केको करिब डेढ घन्टापछि मात्र शल्यक्रिया गरेर बच्चाको बाँकी शरीर निकालिएको थियो ।
समय पूरा नभएको र उल्टो बसेको बच्चा अदक्ष नर्स र चिकित्सकले तानतुन पार्दा टाउको छुट्टिन पुगेको होला, सिंहले पत्रकार सम्मेलनमा भनिन्,“आफूलाई अस्पतालले समयमा जानकारी नगराएर ठूलो लापरबाही गरेको हो ।”
एक गाइनोकोलिस्टका अनुसार बच्चा जन्माउँदा ध्यान दिनुपर्ने न्यूनतम विधिसमेत नअपनाउँदा शिशुको मृत्यु भएको थियो । मास नपुगेको बच्चा अत्यधिक कोमल हुन्छ,ु ती चिकित्सकले भने, झन उल्टो बच्चालाई तान्नै हुँदैन, बरु पेटमाथि नै हल्का दबाब दिएर बल दिनुपर्ने हुन्छ । यो घटनामा बच्चालाई जबर्जस्ती तान्दा घाँटी निमोठिएपछि ब्लेडले काटिदिएको जस्तो देखिन्छ । यसको दोष अस्पताल व्यवस्थापनले लिनुपर्ने उनको भनाइ थियो । अस्पतालले विशेषज्ञ चिकित्सकलाई चौबिसै घन्टा राख्ने व्यवस्था मिलाउन नसकेर यस्तो घटना हुन पुगेको हो,ु उनले भने,“यसरी बच्चा तानेपछि आमाको पिसाब थैली फुट्ने र अन्य भागमा गम्भीर चोट लागेर शरिर नै जोखिममा पर्न सक्थ्यो, धन्न सुत्केरी बाँचिन ।”
अस्पतालका प्रबन्ध निर्देशक तथा सञ्चालक डा.रामबाबु जयसवाल घटनालाई संयोग भनेर पन्छिए । घटना हुँदा अस्पतालमै रहेका उनले अस्पतालको लापरबाहीले घटना भएका अस्वीकार गरिरहँदा सोनियाले अस्पताल व्यवस्थापनकै कमजोरी कारण रहेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएकी थिइन । प्रसूतिको अवस्था असामान्य थियो, मलाई समयमै जानकारी गराएको भए बच्चा जोगिन सक्थ्यो, डा. सिंहले बताएकी थिइन ।
तर, यति हुँदा हुँदै पनि न त अस्पताल प्रशासनलाई कुनै कारवाही भयो न त चिकित्सकलाई नै ।
लिङ्ग पहिचान गरी डा. निलम चौधरीद्वारा भ्रुण हत्या
डा. निलम चौधरी
चार छोरीकी आमा महोत्तरी सहोडवा ९४ बस्ने चन्दा देवि झा गर्भमा रहेको बच्चा छोरा हो की छोरी भनेर छुट्याउन स्थानिय जनकपुर प्रसुती नर्सिंंङ् होममा आएकी थिइन् । सासु चन्द्रकाला देवि झासँग उनि २०७० जेष्ठ १६ गते नै उनी अस्पतालमा आएकी थिइन् । ५ महिना कि गर्भवती समेत रहेकी चन्दाको पेटमा छोरा हो की छोरी छुट्याउने उदेश्यले उनीहरु क्लिनिकमा आएका थिए । त्यसको लागि क्लिनिककी प्रमुख डा.निलम चौधरीले चन्दालाई दुई पटक अल्टूासाउण्ड पनि ग¥यो ।
डा.चौधरीले चन्दाको पेटमा छोरी हो भनेर रिपोर्ट दियो । तर पिडित परिवारजनलाई विश्वास लागेन र फेरी अल्टूासाउण्ड  गराउने इच्छा जाहेर गरे । डा.चौधरीले अर्काे चोटी पनि अल्टूासाउण्ड गरे र छोरी नै हो भन्ने ठहर गर्दै परिवाजनलाई जानकारी गराए । यता, आफ्ना पेटमा रहेको वच्चा  छोरा नै हुने भन्ने विश्वास लिएकी चन्दा सहित परिवारजनले डा.चौधरीको भनाई पछि निरास हुँदै घर फर्कने तयारीमा थिए । तर अस्पतालकै एक जना दलालले चन्दा र उनका परिवारजनलाई गर्भपतन गराउन सुझाव दिए । चन्दाकी सासु चन्द्रकालाले भनिन,‘ त्यो दिन हामी घर फर्केने तयारी गरि सकेका थियांै, तर नाम थाहा नभएका एक जनाले वुहारीको गर्भपतन गराई दिनुस, कति छोरी लिने, ४ जना नातिनी छँदै छ , फेरी उनिहरुलाई अहिलेको  अवस्थामा विहे गर्न गाह्रो हुन्छ भनेर फकाउन थाले ।’ हामीलाई थाहा थिएन, पाँच महिनाको बच्चालाई गर्भपतन मार्फत भ्रुणको हत्या गर्नु कानुनी अपराध हो उनले भनिन्,‘ तर दलालले मलाई लिएर डाक्टरसाहव कहाँ गयो, डा. साहवले खर्च साढे पाँच हजार लाग्छ भन्ने वाहेक केहि जानकारी गराएन ।’
ग्रामिण क्षेत्रमा वसोवास गर्ने उनीहरु गर्भपतन सम्वन्धी कानुनको अज्ञानताका कारण डा. चौधरीको कुरामा सर्मथन जनाए । दुवै पक्ष विच गर्भपतन गर्ने सहमति भईसकेपछि अस्पतालमै रहेकी चन्दालाई डा. चौधरीले गर्भ तुहिने औषधी सेवन गर्न लगाए । चन्दाले नियमित  औषधी सेवन गरिरहेपनि गर्भ तुहिएन । त्यसपछि बुधवार राति १ बजे डा चौधरीले गर्भपतन गर्न चन्दालाई शल्यक्रिया कोठामा बोलाए । गर्भपतन गर्ने बेलामा चन्दा सहित सासु चन्द्रकाला पनि उतm कोठा उपस्थित थिए । गर्भपन गरेर बच्चा वाहिर निकालेपछि चन्दाको कोखमा छोरी नभई छोरा रहेको थियो । निकालेको बच्चा छोरा रहेको देख्ने बितिकै सासु चन्द्रकाला कराउन थाले, अस्पतालमा आएका अन्य विरामीको कुरुवालाई समेत देखाउदै डा. चौधरीलाई गाली गर्न थाले । ‘तिमीलाई भलो हँुदैन, तिमीले मेरो नातीको हत्या ग¥यौ, तिमीलाई म छोड्िदन, लगायत गाली गर्दै वाहिर के निस्केका थिए, अस्पतालकै एक नर्सले उतm बच्चाको लिङ्ग  काटी दियो । बच्चा छोरा नभई छोरी नै रहेको चन्द्रकालालाई देखाए । आफनै आँखाले बच्चा छोरा रहेको देखेकी चन्द्रकाला नर्सको कुरामा विश्वास नगरि बच्चालाई आफ्नो काखमा लिई हेर्न थाले र बच्चाको लिङ्ग भएको ठाँउबाट रगत बगेको देखेपछि उनि झन तर्सिए, आक्रोशित हुदै डा.चौधरी लगायत नर्सहरुलाई गालि गर्न वाहेक उनि सँग कुनै विकल्प थिएन । उनले भनिन,‘ रातिको समय थियो, मोवाईल पनि थिएन, मसँग चिचियाउनु, कराउनु वाहेक कुनै विकल्प नै थिएन । वुहारी चन्दा पनि वेहोस अवस्थामा थिइन, वाहिरबाट कसैलाई बोलाउन पनि सकेनौ ।’ बुधवार विहान मात्र घटनावारे आफन्तलाई जानकारी गराउन सक्यौं चन्द्रकलाले भनिन् ।
 चन्दाकी श्रीमान अनिलले भने,‘जुन डाक्टर एक चोटी नभई दुई चोटी अल्टूासाउण्ड गर्छन, त्यो कसरी छोरा हो की छोरी छुट्याउन सक्दैन, अर्को कुरा जब बच्चा छोरा नै थियो भने उसको लिङ्ग किन काटियो ? । डाक्टर चौधरीले आफ्नो गल्तीलाई ढाकछोप गर्नलाई यस्तो गरेको अस्पतालकै एक कर्मचारीले बताए । नेपालको कानुनमा तिन महिना भन्दा बढीको बच्चालाई गर्भपतन गर्ने गराउने कार्यलाई अवैध मानिएको छ ।
मिडियामा उक्त समाचार आएपछि स्थानीय महिला अधिकारबादीहरु पनि आन्दोलित भए । तर, डा.चौधरीले पीडित परिवारलाई क्षतिपुर्ती स्वरुप करिब १ लाख रुपैयाँ दिएर मुख बन्द गराए । तिमीले पनि अपराध गरेको हो, तिमी पनि फस्छौं र जेल जान्छौं भनेर डा. चौधरीले थर्काएपछि पीडित परिवारहरु पनि यूटर्न भए । त्यतिबेला प्रहरी प्रशासन देखि केही मिडिया हाउसहरु समेत सेटिङ गरी डा. चौधरीले घटनालाई लिपापोती गरेका थिए । बदनाम भइसकेपछि डा. चौधरीले जनकपुर प्रसुति क्लििनिकको नाउ बदलेर आस्था होस्पिटल राखे । मिडियाकर्मीले आफुलाई दुःख दियो अब हामीले पनि मिडिया हाउस संचालन गरेर मिडियाकर्मीहरुलाई जवाफ दिन्छौं भनेका डा. चौधरीले साँच्चै अहिले काठमाण्डौमा यस टेलिभिजन च्यानल समेत संचालन गरेको बताइन्छ ।


२०७१ मंसिर २८ गते आईतबार

No comments:

Post a Comment