Monday, May 12, 2014

सञ्चार उद्यमि सिँघानियाको हत्यामा थुप्रै स्थानीय नेताहरुको संलग्नताको आशंका


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

सञ्चार उद्यमी अरुण सिँघानियाको हत्या घटनाको पाटोसमेत सञ्जयकुमार साह र उनका निकट सहयोगीसँग भिडिने सम्भावना रहेको प्रहरीले आशङ्का गरेको छ । हत्यामा प्रयोग गरिएका प्रमुख सुटर पक्राउ परेपछि उनले दिएको बयानका आधारमा साहका निकट सहयोगीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । धनुषाको वीरेन्द्र बजारका विनोद यादवको हत्यामा संलग्न रहेको अन्सी राइन पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा हत्यामा सुटरका रुपमा प्रयोग गरिएका वीरेन्द्र बजारका एकवाल भनिने योगेन्द्र सहनीलाई पक्राउ गरेर अनुसनधान सुरु गरेको छ ।
सिँघानियाका पुत्र राहुलसमेतको जाहेरी र वादी नेपाल सरकार र प्रतिवादी सहनीलाई जिल्ला अदालत धनुषाबाट पाँचदिने म्याद थप गरी अनुसनधान सुरु गरिएको हो । अन्सी राइनले गरेको बयानको आधारमा प्रहरीले सो घटनामा साहका निकट रहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य रहेका कनकपट्टी(१ घर भई हाल जनकपुर(१ बस्ने ३५ वर्षिय रामविनोद यादव, फोरम (लोकतान्त्रिक)का जिल्ला उपाधयक्ष समेत रहेका भरतपुर(८ का वर्ष ३० को चन्द्रदीप यादव रहेका छन् । त्यसैगरी भरतपुर(१ का विजय कुसैत भनिने दीपेन्द्र कुमार यादव, भरतपुर मालटोलका टेकबहादुर लामा र  उमाप्रेमपुरका मनक लामाको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको सो घटनामा संलग्नता हुन सक्ने जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले सिँघानिया हत्याको अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी भइरहेको जानकारी दिए । १७ फागुन २०६६ मा फागु पुर्णिमाको दिन होलि खेल्ने बाहानामा जनकपुरको शिव चौकमा सिंघानियालाई गोली प्रहार गरी हत्या गरिएको थियो । सिंघानियाको हत्या किन गरिएको र उक्त हत्या योजनामा थप अन्य को(को सम्बन्ध रहेको कुरामा अनसारीले सिंघानियाको हत्या किन भएको भन्ने थाहा नभएपनि जनकपुरका प्रतिष्ठित व्यक्तिको निर्देशनमा भएको बताएका छन् । उक्त प्रतिष्ठित व्यक्तिबारे आफुलाई थाहा नभएको तथा फरार रहेका राम विनोद यादव र चन्द्रदीप यादवलाई थाहा हुनुपर्ने अन्सारीले प्रहरीलाई बयान दिएका छन् ।

२०७१  बैशाख २८ गते  आईतवार

No comments:

Post a Comment