Monday, May 12, 2014

पाएनन् संजयले राहत

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

केही महिना अघिसम्म मात्र संविधानसभाको दोस्रो निर्वाचनमा दोस्रो पटक धनुषाबाट सभाषद बनेका संजय कुमार साह अहिले प्रहरीको थुनामा छन् । कानुन बनाउने दायित्व पाएका साह हत्या अभियोगमा मुद्दा पुर्पक्षका लागि अदालतद्वारा जलेश्वर कारागार चलान गरिएपनि अहिले उनी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा थुनिएका छन् ।
    संजय साहलाई जलेश्वर कारागारमा राख्न जलेश्वर जेल प्रशासनले इन्कार गरेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । राति ८ बजे साहलाई धनुषाका करिब ५० जना सुरक्षाकर्मीले जलेश्वर कारागार पुरयाउँदा त्यहाँ जेलर सोभेन्द्र ठाकुर उपस्थित थिएनन् । केही समय पछि आएका जेलर ठाकुरले राति ८ बजे कारागारको कोठा खोल्ने वा नखोल्ने भनेर महोत्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक समेतलाई उनले सोध्दा सम्भव नभए नराख्न जवाफ पाएको ठाकुरले द एक्सक्लुसिभलाई बताएका छन् । जेलर ठाकुरका अनुसार संजय साहको सुरक्षाका लागि सुरक्षाकर्मीको अभावका साथै कोठा, शौचालय र खानेपानीको अभाव देखिएको हुनाले निज संजय साहलाई आफुले जलेश्वर कारागार भित्र राख्न असमर्थ भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्र फिर्ता पठाएका थिए । संजय साहलाई एउटा छुट्टै कोठामा राख्नुपर्ने हुनाले कोठाको अभाव भएको उनले बताए । हाल उक्त कारागारमा १ सय ३५ कैदी अटाउने क्षमता रहेपनि कुल ५ सय जना कैदी बन्दीहरु रहेको जेलर ठाकुरले बताएका छन् । उक्त सम्बन्धमा संजय साहलाई कहाँ पठाउने हो भन्ने सबालमा धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले आइतवार अदालत खुलेपछि अदालतले दिने निर्देशन अनुसार बैकल्पिक उपाय खोजिने द एक्सक्लुसिभलाई बताएका छन् । आइतवारसम्म उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको थुनुवा कक्षमा नै राखिने सुवेदीले बताए ।
    सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका निलम्बित सभासद सञ्जय कुमार साहलाई धनुषा जिल्ला अदालतले बिहिबार पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना दिइरहेको स्थलमा बम बिष्फोट गराई पाँच जनाको हत्या गराउनुका साथै ३२ जनालाई घाइते बनाएको घटनाको मुख्य योजनाकारको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषाले साहलाई पक्राउ गरी अदालतमा उपस्थित गराउँदा २५ बैशाखमा जिल्ला अदालतका न्याया्धिश कैलाश केसीले उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका छन् । जिल्ला अदालतमा पोल गर्ने सह अभियुक्तहरुले दिएको बयानमा पुर्नविचार गर्नुपर्ने अवस्था नदेखिएको तथा अहिलेलाई यी प्रतिवादी संजय साह कसुरवार होइनन् भन्ने विश्वास गर्ने मनासिव आधार नदेखिएकोले थप प्रमाण बुझदै जाँदा ठहरे बमोजिम हुने नै गरी प्रतिवादी संजय साहलाई मुद्दाको पुर्पक्षको लागि थुनाको पुर्जी दिई थुनामा राख्न जलेश्वर कारागारमा पठाइदिनु भन्ने आदेश अदालतले गरेको हो ।
संजय साहलाई तारेखमा रिहाको माग गर्दै तिनका समर्थकहरु धनुषा जिल्ला अदालत अगाडी प्रदर्शन गर्दै ।
अदालतमा सह अभियुक्तलाई संजय साहले चिनेनन्
जनकपुर बम काण्डका अन्य सह अभियुक्तहरु अर्जुन सिंह भन्ने मुकेश चौधरी र ओम प्रकाश यादवलाई मुख्य अभियुक्तको रुपमा अदालतमा उपस्थित गराइएका संजय साहले नचिनेको बयान दिएका छन् । जिल्ला न्यायाधिश कैशाल केसीको इजलासमा प्रतिवादी संजय टक्ला भन्ने संजय कुमार साहले गरेको बयान अनुसार प्रतिवादी मध्येका ओम प्रकाश यादवलाई निजको अनुहार हेरे भने मात्र चिन्न सक्ने बयान दिएका छन् । निज यादव विगतमा आफ्नो पार्टीमा रहेपनि दोस्रो संविधान सभाको निर्वाचन का लागि भएको नोमिनेशन भन्दा ठीक दुई दिन अगाडी निज ओम प्रकाश यादवले मेरो पार्टी छाडी नेपाली कांग्रेस पार्टीमा गएको साहले बयान दिएका छन् । जनकपुर बम काण्ड भएका दिन आफु काठमाण्डौमा रहेको र उक्त घटनाको राजन मुक्तिले जिम्मा लिएको भन्ने कुरा समाचार माध्यमबाट थाहा पाएको साहले बयान दिएका छन् ।
    बम घटना भएका दिन ८ बजे तिर आफ्नो घरबाट पार्टी कार्यालयमा गई बैठक बसेको र त्यहाँबाट साँढे एगारह बजे निस्केपछि आफ्नो गार्डले बम काण्डबारे जानकारी गराएको थियो । उक्त घटनाबारे यथार्थ पता लगाई काठमाण्डौ एयरपोर्टमा पुग्दा अन्य नेताहरु पनि रहेको र त्यहाँ प्लेन हेलिकप्टरबाट आएका घाइतेहरुलाई अस्पताल पुरयाउने काम गरी बेलुका आफ्नो घर फर्केको साहले बयान दिएका छन् । आफु जन प्रतिनिधि भएको कारण एक दिनमा सेकडौं फोन आउने गरेका कारण उक्त दिन आफुले क(कसलाई फोन गरेको याद नरहेको साहले बताएका छन् । उक्त दिन ९८५४०२०२०७ नम्बरको मोबाइल प्रयोग गरेको, र घटना अघि र आजसम्म पनि सोही नम्बर प्रयोग गरेको बताएका छन् ।
२०६९ साल अषाढ महिनासम्म आफ्नो र जिवनाथ चौधरीसँग चिनजान नरहेको, एक जनप्रतिनिधिको हैसियतले तत्कालिन एलडिओ केदार बहादुर बोगटीसँग भेट गरी भ्रष्टार गर्ने कर्मचारी उपर कारवाही गर्नुपर्छ भनी आग्रह गर्दा १८÷१९ जना माथि कारवाही भयो । निलम्बनमा पनि परे । सोही समयमा कर्मचारीहरुको डेलिगेशन आफु कहाँ आउँदा त्यसमा जिवनाथ चौधरी पनि थिए । त्यतिबेला मैले तपाईहरु लोकल मान्छे हो, जिल्लामा विकास गर्नुपर्छ भनेको थिएँ ।
    जिवनाथसँग मेरो कुनै रिसइवी थिएन र छैन । म मुकेश चौधरीलाई चिन्दैन । निज २०६३ साल देखि नै भुमिगत भएको भनी आफैले बयानमा लेखाएको छ । जुन मानिसलाई म चिन्दिन त्यस्ता व्यक्तिसँग मैले कुनै किसिमको योजना कसरी बनाउन सक्छु ? आफु सभाषद भएको एक जन प्रतिनिधि भएको व्यक्तिले कसैको हत्या गराउन योजना बनाउन पैसा दिन कार्य गर्न सक्दैन । म फेरी मानव अधिकार प्रति पुरै जिम्मेवार व्यक्ति हुँ । मुकेश चौधरीले प्रहरीमा गरेको म विरुद्धको बयान झुठा हो । निजले बयानमा उल्लेख गरेको मोवाईलको सिम मेरो होइन । कसको हो त्यो पनि थाहा छैन । मुकेश चौधरीलाई रु. ५ लाख दिएको छैन । ओम प्रकाश को हो म चिनेको छैन । निज ओम प्रकाशले मुकेशलाई रकम दिए नदिएको सम्बन्धमा पनि मलाई थाहा छैन । मैले कसैलाई पनि रु ५ लाख, १० हजार र ५ हजार रकम दिएको छैन ।
पुराना आरोपहरुबाट पनि साहद्वारा अस्वीकार
संजय साह माथि विगतमा केही व्यक्तिको हत्या,अपहरण तथा फिरौती लगायतका घटनाहरुको आरोपबाट पनि संजय साहले इन्कार गरेका छन् । आफ्नो चालक नन्द कुमार राउतलाई घाँटी थिचि हत्या गरेको अभियोगमा उनी उपर ज्यान मुद्दा पुनरावेदन अदालतमा समेत विचाराधिन अवस्थामा रहेको सवालमा उनले आफ्नो चालकको हत्या नगरेको बताएका छन् । नन्दु राउत आफ्नो डाइभर रहेको र अत्यिधिक मादक पदार्थ सेवन गरेर बान्ता  गरी अन्नको टुक्रा (दाना) घाँटीको टूेकियामा अड्केर मृत्यु भएको पोष्टमार्टम रिपोर्टले नै पुष्टि गरेको साहले बयान गरेका छन् । जसबारे चिकित्सा शास्त्रले भनेको छ टूेकियामा अन्नको दाना सरकाउने कार्य कुनै पनि व्यक्तिले गर्न नसक्ने इश्वरीय कारण वा संयोगवस मात्र हुने भएपनि आफुले प्रहरीको आर्थिक वारगेनिङको कारण ज्यान मुद्दा झेल्नुपरेको साहले बयान दिएका छन् । महोत्तरी जिल्ला धिरापुर गाविसका तत्कालिन अध्यक्ष हेमचन्द्र यादवको छोरा पप्पु यादव (राहुल)लाई २०५७ चैत्र १७ गते अपहरण गरी १० लाख रुपैयाँ फिरौती लिएर छोडेको आरोपलाई पनि साहले खण्डन गरेका छन् । किशोर अवस्थामा आफु माथि जिउँ मास्ने, बेच्ने मुद्दा लगाई किशोरा अवस्थानै समाप्त पार्ने षडयन्त्र तहत उक्त आरोप लगाइएको साहले बताएका छन् । त्यतिबेला रा.रा.बका विद्यार्थी नेता रामदयाल यादव र उसको आफन्त पर्ने गाउँका हेमचन्द्र यादवका छोरा पप्पु यादवलाई आपसी विवादका कारण सिरहा जिल्लामा लगेका थिए । त्यहाँबाट बच्चा सहित एक दुई जना व्यक्तिलाई पक्राउ गरी धनुषा प्रहरीमा बुझाइएको थियो ।
    पक्राउ परेपछि एक दुई सम्म पारिवारिक विवाद मिलाउने प्रयास पनि भयो तर, पछि एकाएक प्रहरीले उक्त बच्चा भारतको देउधा (मधुवनी जिल्ला)बाट पक्राउ गरी नेपालको धनुषा प्रहरीलाई पेपर सहित बुझाएको भनी कागजात तयार गरी जिउँ मास्ने, बेच्ने मुद्दा दर्ता गरिएको थियो । साहका अनुसार सिरहा प्रहरीलाई त्यहाँबाट पक्राउ गरी बुझाएको भनी पत्र कसैलाई नदिन लगाई झुठा मुद्दामा फसाइएको थियो । केही महिना नवित्दै सिरहा जिल्ला प्रहरी उक्त बच्चा र व्यक्तिहरुलाई हामीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषालाई जिम्मा लगाएको भनी धनुषा जिल्ला अदालतलाई पत्र पठाई दिँदा पुरा मुद्दा झुठा सावित भई खारेज भएको साहले बयान दिएका छन् ।     तराई जनतान्त्रिक पार्टी मधेसको बरिष्ठ सल्लाहकार रहेको उक्त पार्टीका अध्यक्ष मुकेश चौधरीले अदालतमा दिएको बयानको सबालमा पनि साहले खण्डन गरेका छन् । भुमिगत समुहहरुको आपराधिक क्रियाकलापको विरोध गर्दा र त्यसका विरुद्ध विज्ञापन समेत छपाउन लगाउँदा उनीहरुले आफुलाई गद्दार सावित गर्दै भौतिक कारवाही गर्ने समेत धम्की दिएको कारण मुकेश चौधरीले आफुलाई फसाउन खोजेको साहले बयान दिएका छन् ।
    साहलाई थुनामा रहुञ्जेल सम्मका लागि संसद र संसद सुबिधाबाट सभामुख सुभाष नेम्वाङले निलम्बन गरिसकेका छन । २० बैशाख शनिबार राती प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
    पक्राउ परेका साहलाई प्रहरीले आइतबार नै अदालतमा हाजिर गराएपछि सोमबारदेखि साहको वयान र थुनछेकको बहस सुरु भएको थियो । प्रहरीले साहलाई रामानन्द चोकमा भएको बम बिष्फोटको मुख्य योजनाकार रहेको प्रमाण सहित अदालतमा उपस्थित गराएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई चैत ३ गते फरार अभियुक्त घोषणागरि पक्राउ पुर्जी जारी गरेको थियो ।
    जिल्ला अदालत धनुषाले पनि साह बिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साह धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट दोस्रो संबिधान सभा चुनावमा पनि निर्वाचित भएका थिए । उक्त घटनामा अन्य ७ जना यस अघि नै पूर्पक्षका लागि थुनामा राखिएकोछ । उक्त घटनामा पक्राउ परेका सबै साहका सहयोगी रहेको प्रहरीले दाबी गरेका छन । उनी पहिलो संबिधान सभामा मधेशी जनअधिकार फोरम नेपालबाट निर्वाचित भएका थिए । तर पटक पटक उनी दल परिवर्तन गर्दै पछिल्लो पटक सदभावना पार्टीमा प्रवेश गरेका थिए । उनलाई बचाउन सदभावनाका अध्यक्ष राजेन्द्र महतो लगायत जिल्ला तहका नेता कार्यकर्ताहरु सकृय थिए ।साह स्वयंलेपनि आफू निर्दोष भएको दाबीगर्दै आएका थिए ।

२०७१  बैशाख २८ गते  आईतवार

No comments:

Post a Comment