Wednesday, December 16, 2015

मधेसमा नयाँ मोर्चा ‘संघीय समावेशी गठबन्धन’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
शरत सिंह भण्डारी नेतृत्वको राष्टिूय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र जयप्रकाश प्रसाद गुप्ता नेतृत्वको तराई मधेस राष्टिूय अभियान मिलेर संघीय समावेसी गठबन्धन नाम गरेको अर्को नयाँ मोर्चा गठन भएको छ । मोर्चा गठन भएको घोषणा गर्दै मधेस आन्दोलन सशक्त बनाउने ती दलका नेताले बताएका छन् । जनकपुरमा शनिबार पत्रकार सम्मेलन गरी संघीय समावेशी गठबन्धन निर्माण गर्ने सहमति पत्रमा चारै जना नेताहरुले हस्ताक्षर गरेका थिए ।
बायाँबाट क्रमशः अनिल झा, शरत सिंह भण्डारी, राजकिशोर यादव र जयप्रकाश प्रसाद गुप्ता ।
बर्तमान मधेस आन्दोलनलाई अझ प्रभावकारी, सशक्त, सहभागिता मुलक, निर्णायक बनाउन सँगै रहि सहकार्य गर्दै संघीय समावेशी मधेसी गठबन्धन निर्माण गर्न सहमत भएको तथा आगामी दिनमा एकताबद्ध कार्यक्रमको तर्जुमा गर्दै दलित, मुस्लिम, पिछडावर्ग सहितका मधेसी, थारु एवम कोचिला सहितका आदिवासी जनजाती लगायत सबै आन्दोलनरत पक्षहरुका बीच थप सहकार्यका साथ अघि बढ्न सहमत भएको गठबन्धनद्वारा जारी  सहमति पत्रमा उल्लेख छ । आफ्नो गठबन्धनको कार्य संचालनका र समन्वयका लागि एक संयन्त्रको निर्माण तथा बार्ता समितिको समेत गठन गरिने उल्लेख छ ।  पत्रकार सम्मेलनमा गएको तीन महिनाभन्दा बढी समयदेखि चलिरहेको मधेस आन्दोलनमा  मधेसी नागरिकको त्याग एवं बलिदान दिएपनि उपलब्धी हासिल नभएकाले नयाँ मोर्चा बनाउनु परेको राष्टिूय मधेस समाजवादी पार्टीका अध्यक्ष सरत सिंह भण्डारीले बताएका छन् । आन्दोलनलाई प्रभावकारी बनाउन अरु मधेस केन्द्रीत दलसँग पनि छलफल गरेर सहकार्य गरिने उहाँको भनाई छ । त्यसैगरी मधेसका जनताको अपेक्षा अनुरुप मधेसका विभिन्न शक्तिहरु एकजुट हुनुपर्ने भावनालाई आत्मसात गर्दै गठबन्धन बनेको तथा आन्दोलनको एक सय दिन पुरा हुन लागेकोले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरिने नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले बताएका छन् । त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बृहत मधेसी मोर्चा बनाई मधेसका सम्पुर्ण शक्तिहरुलाई समावेश नगरेकाले यो गठबन्धन बनेको तथा संसदीय कारवाहीका लागि नबनेको भन्दै तराई मधेस राष्टिूय अभियानका संयोजक जय प्रकाश प्रसाद गुप्ताले उक्त गठबन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधी नभएर सहयोगी नै हुने बताएका छन् ।


२०७२ मंसिर ०६ गते आईतबार

बम विष्फोट हुँदा एक जना घाइते

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा शनिबार बिहान बम बिस्फोट हुँदा एक जना घाइते भएका छन् । बम विस्फोट हुँदा जनकपुर उपमहानगरपालिका(४ क्यम्पसचोक नजिक रामनरेश यादवको घरमा भाडामा बस्दै सिरहाको गौरीपुर(९ का श्रवण यादव गम्भीर घाईते भएका छन् ।
शनिबार बिहान आफैले टिफीनमा बम बनाइरहेको बेला विष्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गम्भीर घाइते भएका यादवको जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचार भएपनि थप उपचारका लागि धरान रेफर गरिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शान्तिपुर्ण मधेस आन्दोलन भईरहेको बेला जनकपुरमा उक्त बम विस्फोटनले थुप्रै आशंकाहरु उत्पन्न भएका छन् भने जनकपुरबासी त्रसित देखिएका छन् । उक्त बम कुन कामका लागि कसले प्रयोग गर्ने थियो होला भन्ने डर समेत बढेको छ । यस्ता अरु व्यक्तिहरु पनि लागेका छन् कि भन्ने शंका समेत बढेको छ ।

२०७२ मंसिर ०६ गते आईतबार

Wednesday, November 18, 2015

अजब–गजब छ बा ! सुदर्शन सिंह


मुख राम्ररी छोपौ कमरेड हैन त यि लाज नभएका भोट दिने जनताले ग्यास र पेट्रोल माग्ला स्वाभिमानी हुनु नि लाज पचेका हाम्रै आशामा बसेर हुन्छ !


२०७२ कार्तिक २९ गते आईतबार

मधेस मुद्दाको ‘अन्तर्राष्ट्रियकरण’

जेनेभा स्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायूक्त कार्यालयको अगाडी विदेशी मानव अधिकारकर्मीहरुसँगै प्रदर्शन गर्दै सदभावनाका नेता
देबेन्द्र यादव । मधेस आन्दोलनका क्रममा राज्यद्वारा मारिएका निर्दोष मधेसी
नागरिकहरुको तस्वीर सहित प्रदर्शन गर्दै ।
अजय अनुरागी
जनकपुरधाम............
अधिकार प्राप्तिका लागि मधेसमा जारी आन्दोलन ३ महिना नाघिसक्दा पनि नेपाल सरकार उदासिन देखिएपछि मधेस मुद्दालाई अन्तराष्टिूयकरण गराउने प्रयासहरु सुरु भएका छन् । नेपाल सरकारलाई अन्तराष्टिूय निकाय मार्फत दवाव दिन लगाएर मधेसको मुद्दा सम्बोधन गराउनका निम्ति मधेसमा कार्यरत विभिन्न बुद्धिजिवी तथा राजनीतिक दलहरुले उक्त प्रयास थालेको हो ।
अन्तराष्टिूय निकाय भनेको सबैभन्दा शक्तिशाली संस्था संयुक्त राष्टू संघ हो ।
    नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आईसकेपछि दुवै निकायले राष्टू संघीय महासचिवलाई नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न एउटै व्यहोरा भएका छुट्टा छुट्टै पत्र लेखेका थिए । उनीहरुको आग्रह अनुसार राष्टू संघीय सुरक्षा परिषदको ५६२२ औं बैठकले नेपालमा राष्टू संघीय मिसन (अनमिन) को स्थापना गर्यो । यूद्ध विरामको अनुगमन गर्नु, संविधानसभा सदस्यको निर्वाचनमा सहयोग गर्नु र संयुक्त अनुगमन समन्वय समितिको माध्यमबाट दुवै तर्फका हतियार तथा हतियारधारी व्यक्तिको अनुगमन एवम व्यवस्थापन गर्ने कार्यादेशका साथ अनमिन नेपालमा खटिएको थियो । उक्त कुरा किन लेख्नु जरुरी छ भने जति बेला राष्टू संघीय मिसन अनमिन नेपालमा कार्यरत थियो, त्यहीबेला २०६३ सालमा मधेसमा दुई पटक ठुलो जनविद्रोह भएको थियो । 
नेकपा माओवादी समेतको सहभागितामा एउटा अन्तरिम सरकार गठन भएको थियो जसले अन्तरिम संविधान जारी गरेको थियो । तथापि, संघीय संरचनाको आधारलाई सम्बोधन गर्न अन्तरिम संविधान अक्षम भयो । फलत तराई मधेसमा नागरिक आन्दोलन सुरु भयो । त्यसपछि अन्तरिम सरकारले संघीयतालाई समावेश गर्न अन्तरिम संविधान संशोधन गर्यो । र, अन्तरिम संविधानमा संघीयता सुनिश्चित भएपछि २०६४ साल चैत्र २८ मा संविधानसभा सदस्यको निर्वाचन सम्पन्न भयो । मुख्य कुरा के हो भने उक्त निर्वाचन सम्पन्न हुनु भन्दा अगाडी दुई पटक निर्वाचनको मिति स्थगन गर्नु परेको थियो । २०६४ साल फागुन १६ गते राज्य पक्षले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग ८ बुँदे सम्झौता सम्पन्न गरेपछि मात्र चैत्र २८ मा संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । अर्थात संविधान सभा निर्वाचनमा सहयोग गर्नका लागि समेत कार्यादेश पाएका संयुक्त राष्टू संघीय मिसन अनमिनले पनि मधेस विद्रोह र भएका सम्झौताबारे राम्ररी अवगत भएको थियो । तर, संयूक्त राष्टू संघले मधेसको विभेदलाई प्राथमिकतामा लिएको थिएन ।
पुर्व राजदुत तथा प्राध्यापक विजय लाल कान्त भन्छन,“दुई पटक भएको मधेस विद्रोह पछि तत्कालिन भारतीय राजदुत शिवशंकर मुखर्जीले सहजकर्ताको भुमिका निर्वाह गरेपछि राज्यले आन्दोलनकारीसँग २२ बुँदे र ८ बुँदे सम्झौता गरेको थियो । त्यसबेला भारत अन्तराष्टिूय समुदायको तर्फबाट सहजकर्ताका रुपमा रहेकाले अहिले भारतलाई उक्त सम्झौता कार्यान्वयन गराउन नैतिक दवाव परेको छ । जुन बेला त्यो सम्झौता गरिएको थियो मधेसको मुद्दाको त्यतिखेर नै अन्तराष्टिूय करण भईसकेको थियो । तर, अन्तराष्टिूय समुदायले गम्भीरताका साथ लिईरहेको थिएन ।”


काठमाण्डौमा रहेका पहाडी मुलका यूवतीहरु जो विभिन्न पेशामा आवद्ध छन् तिनीहरु पनि मधेसमा भएको दमन र
अत्याचारको विरोध गरिरहेका छन् ।
बल्ल अहिले आएर संयूक्त राष्टू संघको मानव अधिकार सम्बन्धि बैठकमा मधेसका तर्फबाट मानव अधिकार कर्मी दिपेन्द्र झाले मधेसमा भएको मानव अधिकार उल्लंघनको घटनालाई अन्तराष्टिूय मञ्चमै सार्वजनिक गरेका छन् । खास गरेर नेपाल सरकारको तर्फबाट नेपालका उपप्रधानमन्त्री तथा परराष्टूमन्त्री कमल थापाले नेपालको पक्ष राखिरहँदा मधेस आन्दोलनमा राज्यले बल प्रयोग नगरेको तथा मानव अधिकारको उल्लंघन नगरेको झुठो तथ्य विश्व सामु पस्किरहँदा मानव अधिकारकर्मी दिपेन्द्र झाले जारी मधेस आन्दोलनमा नेपालको राज्य सत्ताले ४५ जना निर्दोष नागरिकलाई राज्यले बल प्रयोग गरी हत्या गरेर मानव अधिकारको घोर उल्लंघन गरेको प्रतिवेदन पेश गरेका थिए । यति मात्र होइन, त्यहाँ मधेस आन्दोलनका दौरान राज्यले बल प्रयोग गरेर हत्या गरेका नेपालका निर्दोष मधेसी नागरिकहरुको तस्वीर प्रदर्शनी समेत गरिएको थियो ।
मधेसमा जारी आन्दोलन र त्यहाँ सरकार पक्षबाट गरिएको व्यवहारबारे अन्तर्राष्टिूय समूदायलाई अगवत गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एकजना नेता संयुक्त राष्टू संघको मानव अधिकार उच्च आयुक्तको कार्यालय जेनेभा पुगेका थिए । जेनेभामा मानवअधिकारको विश्वव्यापी आवधिक समिक्षा (युपीआर) जारी रहेका बेला मोर्चाका नेता देवेन्द्र यादव विभिन्न देशका प्रतिनिधिहरुसँग मधेसकाबारे ‘लविङ’ गरेका थिए । समिक्षा बैठक चलिरहेको उच्च आयुक्तको कार्यालय अगाडि उनले नेपालको संविधान विभेदकारी रहेको भन्दै सांकेतिक रुपमा ‘नेपालको संविधान’ लेखिएको कागज जलाउनुका साथै विरोध प्रदर्शन पनि गरेका थिए ।
मधेसमा सरकारको तर्फबाट विश्वव्यापी मानव अधिकारको मान्यता विपरीत बल प्रयोग गरी आन्दोलनकारीको हत्या गरिएको भन्दै उनले त्यसको बिरोध पनि गरेका थिए । जेनेभा पुगेका यादव सदभावना पार्टीका सहमहासचिव हुन् । पार्टी महासचिव मनिषकुमार सुमनले यादव विश्व जगतलाई मधेसमा भइरहेको सरकारी दमनबारे जानकारी दिन जेनेभा गएको बताए । युपीआरमा राष्टूसंघका सबै सदस्य राष्टूको मानव अधिकारको विश्वव्यापी समीक्षा गरिन्छ ।
मानव अधिकारको लागि कार्य गर्ने संस्था थर्ड अलायन्सका अध्यक्ष समेत रहेका मानव अधिकारकर्मी दिपेन्द्र झा भन्छन,“ जेनेभामा सबैभन्दा महत्वपुर्ण काम नै के भयो भने मधेसमा जारी रहेको मधेस आन्दोलन, नयाँ संविधानमा मधेसी सँग गरिएको भेदभाव र आफ्नै देशका नागरिकहरुलाई विदेशी नागरिक ठानेर सिधै टाउको र छातीमा गोली प्रहार गरी हत्या गरिएको विषय दुनियाँलाई अवगत गराइयो ।”  जेनेभामा भारतले अडान लिँदै के प्रष्ट भन्यो भने दक्षिण एसियामै सबै भन्दा वढी विभेद नेपालमा नेपालका राज्य सत्ताले त्यहाँका आदिवासी नागरिक मधेसी समुदाय माथि विभेद गरेको छ । राजनीतिक समस्यालाई राजनीतिक तरिकाले समाधान गर्नुको साटो सैन्य बल प्रयोग गरेर फौजी कारवाही गरि ४५ जना मधेसी नागरिकहरुको गैरन्यायिक हत्या गरिएको छ । दिपेन्द्र झाका अनुसार भारतले उक्त अडान राखेपछि स्वीट्जरलैन्डले पनि नेपालमा मधेसी नागरिकहरुसँग मानव अधिकारको घोर उल्लंघन भएको पक्ष राखेको थियो । त्यती मात्र होइन, नागरिकता माथिको विभेदलाई अमेरिका, बेलायत, डेनमार्क, क्यानाडा लगायत करिब १४÷१५ वटा अन्तराष्टिूय समुदायले मधेसको मुद्दालाई जोडसोडले उठाएका थिए ।
पुर्व राजदुत तथा राजनीतिक विश्लेषक विजय कान्त लाल कर्ण भन्छन,“ नेपालमा मधेस मुद्दाको अन्तराष्टिूयकरण त त्यही बेला भयो जब मधेसी आन्दोलनकारीहरु नेपाल भारतको सिमा क्षेत्रको दशगजामा गएर आन्दोलन सुरु गरेका थिए । अहिले आएर मधेस आन्दोलनको मुद्दालाई छिमेकी मुलुक भारतसँगै संयुक्त राष्टू संघ, अमेरिका, बेलायत लगायतका राष्टूहरुले समर्थन गरेका छन् । र, बाँकी मुलुकहरु चीन लगायत अन्य दातृ निकायहरुले पनि मधेसीहरुको मागलाई सम्बोधन गरेर संविधानलाई पुर्णता दिन माग गरेका छन् ।” मानव अधिकारकै सवालमा नेपालका मानव अधिकारकर्मीहरुले मधेस आन्दोलनलाई प्राथमिकतामा नलिएपनि अन्तराष्टिूय मानव अधिकार संस्थाहरुले मधेस आन्दोलनका क्रममा भएको ज्यादती सहितको विवरणहरु आफ्नो प्रतिवेदनमा राखेका छन् ।
हुन त संयुक्त राष्टू संघको काठमाण्डौ स्थित कार्यालय अगाडी काठमाण्डौमा रहेका मधेसी बुद्धिजिवीहरुले समेत प्रदर्शन गरेर मधेसमा भईरहेको मानव अधिकारको उल्लंघन बारे अवगत गराईसकेका थिए । तर, जेनेभामा उक्त कुरा राखिएपछि अहिले विश्व समुदायले पनि मधेसमा भईरहेको विभेदबारे चासो राख्न थालेका छन् ।
राजनीतिक विश्लेषक तुलानारायण साहका अनुसार अन्तराष्टिूय समुदाय भनेको धेरै दातृनिकायहरु पनि हुन्छन् । जो सँग नेपाल सरकारको दुईपक्षिय सम्बन्ध हुन्छ । अहिले दातृ निकायहरु बेलायत, अमेरिका, डेनमार्क, चिन जस्ता मुलुकहरुले पनि मधेस आन्दोलनको बारेमा थाहा पाएका छन् । त्यसैगरी अन्तराष्टिूय मिडियाहरुमा पनि मधेस आन्दोलनले स्पेस प्राप्त गर्न थालेको छ । जबकि आफ्नै देशको मुलधारका कथित राष्टिूय मिडियाहरुले मधेस आन्दोलनलाई प्राथमिकता नदिएपछि अलजजिरा चैनलमा कञ्चन झाले रिपोटिङ गरिरहेका छन् भने सिएनएन, न्यूयोर्क टाइम्स, टाइम्स अफ इन्डिया लगायतका अन्तराष्टिूय मिडियाहरुमा मधेस आन्दोलनको बारेमा आर्टिकिलहरु प्रकाशन हुन थालेको छ ।
 राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन,“ पहिले ती अन्तराष्टिूय मिडियाहरुमा मधेसी नागरिकहरुको पहुँच नै थिएन । कनक मनि दिक्षित जस्ता पत्रकारहरुको एकपक्षिय लेख तथा विचारहरु अन्तराष्टिूय मिडियामा आउने गथर््यो । तर, प्रशान्त झा जस्तो पत्रकारको उदय भएपछि खास गरेर अंग्रेजीमा प्रकाशित हुने भारतीय मिडियाहरु द हिन्दु, हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस लगायतका पत्रिकाहरुमा मधेस प्रतिको विभेद लगायतका तथ्यहरु प्रकाशित हुन थालेको छ ।” साहको बुझाईमा पहिले काठमाण्डौका बुद्धिजिवी, लेखक तथा स्तम्भकारहरुको नेपाल र विदेशको मिडियाहरुमा समेत एकल बर्चस्व र पहुँच थियो । मधेसका तर्फबाट राजनीतिक विश्लेषक सिके लाल एक्लो मान्छे पर्थे । तर, आज उक्त अवस्था फेरिएको छ । मधेसका धेरै बुद्धिजिवीहरुले कलम चलाउन थालेका छन् । र, विश्व समुदायले मधेसलाई राम्ररी बुझ्न थालेका छन् ।
तर, यति हुँदा हुँदै पनि मुल कुरा नेपाल सरकारको अफिसियल भ्वाइस नै हो । तुलानारायणका अनुसार नेपाल सरकारको प्रशासन, कुटनिती, न्यायालय, सुरक्षा निकाय, मिडिया सबै एकपक्षिय भएकाले मधेसको सम्पुर्ण मुद्दाहरु सम्बोधन गर्न ५÷१० बर्षको समय लाग्ला तर केही दिनमा केही न केही मधेसले उपलब्धि प्राप्त गर्ने नै छ । विगतका समयमा मधेसमा जतिसुकै दमन हुँदा पनि त्यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न सकिरहेको थिएन । तर, अहिले मधेसमा पनि यूवाहरु पढेलेखेका छन् । तिनीहरु विश्वका कतिपय देशहरुमा कार्यरत रहेका छन् । कतिपय मधेसी नागरिकहरु विभिन्न देशमा उच्च शिक्षा अध्ययनरत छन् । संगै सामाजिक संजालमा पनि मधेसी समुदाय सक्रिय भएका छन् । आज हरेक मानिसका हातमा मोवाइल छन् । ती मोवाइलमा क्यामरा र भिडियो क्यामरा छन् । नेपालको कथित राष्ट्रिय मिडिया भनाउनेहरुले मधेसका समस्या, मधेस आन्दोलन, दमन आदिका विषयमा समाचार सम्प्रेषण नगरेपनि मधेसी नागरिकहरुले आफ्नो मोबाइलबाट दृष्य र तस्वीर कैद गरेर सामाजिक संजाल फेसबुक, ट्विटर आदिमा पोस्ट गरेर मधेसका गतिविधिलाई विश्व व्यापीकरण गर्न सफल भएका छन् । अनि मात्र मधेसका मुद्दा अन्तर्राष्ट्रियकरण हुन सफल भएको छ ।
पुर्व राजदुत कर्णका अनुसार मधेस मुद्दाको अन्तर्राष्ट्रियकरण एक किसिमले सफल भईसकेपनि बर्तमान नेपाल सरकारलाई जति दवाव पुग्नु पर्ने थियो, त्यो पुगिसकेको छैन । तसर्थ अब आउँदो छठ पर्व सकिएपछि मधेसका नागरिकहरुले संगठित भएर अन्तिम तथा निर्णायक धक्का दिनु जरुरी छ । एउटा राजालाई मधेसी नागरिकले ढालेपनि उक्त सिंहासनमा थुपै्र दलका नेताहरु नयाँ राजा महाराजाको रुपमा विराजमान भएर स्थापित भएका छन् । त्यसैले अब ती सम्पुर्ण राजा महाराजा र सामन्तका अवशेषहरुलाई जडैदेखि उखालेर फाल्नका निम्ति मधेसी नागरिकले सडकमा उपस्थिति देखाउनु आवश्यक छ । पुर्व राजदुत कर्ण भन्छन,“ जसरी मधेसी नागरिकले मेची देखि महाकाली सम्म हुलाकी राजमार्गमा उभिएर मानव साँगलो बनाएर विश्व किर्तीमान स्थापित गरेका थिए ठीक त्यसैगरी अब मधेसमा घर घरबाट बच्चा, आईमाई पुरुष, यूवा यूवती, वृद्ध वृद्धा सबै गरी करिब ६० देखि ७० लाख सम्म मधेसी नागरिक सडकमा उभिएर अन्तिम धक्का दिनु आवश्यक छ ।”


२०७२ कार्तिक २९ गते आईतबार

भारतका भ्रम चिर्दै सदभावना

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतका प्रधान मन्त्रि नरेन्द्र मोदीले अहिले जारी भएको संविधानलाई संशोधन गरेर मधेसका समस्या समाधान गर्न नेपाल सरकारलाई सुझाव र सल्लाह दिँदै आईरहेका छन् । संविधान जारी हुनु अगावै उनले पटक पटक नेपालका प्रमुख राजनीतिक दलहरुलाई ऋषि मनका साथ संविधान बनाएर सबैले अपनत्व गर्न सक्ने संविधान जारी गर्न सुझाव दिएपनि प्रमुख राजनीतिक दलहरुले आफ्नो स्वार्थ अनुसार आफ्नो वर्गको मात्र हित हुने तथा बञ्चित भएका पिछडिएका सिमान्तकृत समुदाय र खास  गरेर मधेसी, आदिवासी जनजाती समुदायलाई पाखा लगाएर संविधान जारी गरेपछि भारत असंतुष्ट  रहँदै आएको छ । मधेसी नागरिकहरुले आन्दोलनका क्रममा नेपाल भारतको सिमा नाका दशगजामा गएर धर्ना दिँदै नाकाबन्दी गर्दै आईरहेका छन् । मधेसीले गरेको उक्त नाकाबन्दीलाई नेपालका मिडिया र नेपाल सरकारले पनि भारतको अघोषित नाकाबन्दी भन्दै आएका छन् । तर, भारतको संस्थापन पक्षले पटक पटक नेपालको आन्तरिक कारणले गर्दा सिमामा नेपालकै नागरिकले अबरोध गरेपछि सुरक्षाको दृष्टीकोणले सामान आयातमा अवरोध भएकोले नेपालको आन्तरिक समस्या नेपाल सरकारले सम्बोधन गर्नुपर्ने भन्दै आएको छ ।
भारतमा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडिए गठबन्धनको दुई तिहाई भन्दा पनि बढी बहुमतको शक्तिशाली सरकार बनेको छ । विगत १० बर्ष देखि सत्ता संचालन गर्दै आएका कांग्रेस आईले नेतृत्व गरेको यूपिए गठबन्धन अहिले विपक्षको भुमिकामा छ । त्यही भएर होला नेपालको नाकाबन्दीलाई लिएर कांग्रेसका नेता मनिष तिवारीले सामाजिक संजालमा ट्वीट गरेर मोदीलाई आलोचना गर्दै नेपालको नाकाबन्दी खोल्न भनेका थिए । त्यसैगरी भारतका कतिपय बुद्धिजिवी र नेपाल मामलाका जानकारहरु पनि मोदी सरकारको विरोध गर्दै आएका थिए । जसले के प्रष्ट पार्छ भने भारतमा पनि नेपाल मामिलामा दुई धार रहेको छ ।
उक्त कुरालाई दृष्टिगत गर्दै नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झा र केन्द्रिय सदस्य राजिव झा दिल्ली पुगेर भारतमा नेपाल र मधेसको सवालमा रहेको भ्रमलाई चिरेका छन् । सबैभन्दा पहिले ती दुवै जना नेताले कांग्रेसका प्रबक्ता मनिष तिवारीलाई भेट गरेर तपाईहरु आफ्नो राजनीतिमा मोदी सरकारको विरोध गर्नुस तर नेपालको नाकाबन्दी बारे विरोध गर्दा मधेस प्रति असर पर्न जाने हुनाले मधेस आन्दोलनलाई सहयोग तथा समर्थन गर्नुस भनेर तिवारीलाई कन्भिन्स गरेका थिए । ८ नोभेम्बरमा भारतको दिल्ली स्थित इन्डिया इन्टरनेश्नलमा भएको एक कार्यक्रममा कांग्रेसका प्रवक्ता मनिष तिवारी र रासिद अलबिले मधेसको माग जायज रहेको र मधेसको मुद्दा सम्बोधन हुनुपर्ने धारणा राखेको नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य राजिव झाले बताएका छन् । त्यसैगरी भारतको जवाहरलाल नेहरु विश्व विद्यालयमा मधेस विद्यार्थी संगठनले गरेको एक कार्यक्रममा त्यहाँका विद्यार्थी प्राध्यापक र बुद्धिजिवीहरुलाई नेपालमा जारी भएको संविधान र उक्त संविधानमा भएको विभेदका कारण मधेसमा भईरहेको आन्दोलनबारे जानकारी गराएका थिए । ९ नोभेम्बरका दिन गान्धी पिस फाउन्डेसनद्वारा  गरिएको एक कार्यक्रममा समेत ती नेताहरुले आफ्नो पक्ष राखेका थिए ।
 १० नोभेम्बरका दिन इन्डिया इन्टरनेश्नल सेन्टरमा एउटा महत्वपुर्ण अन्तरक्रिया कार्यक्रम आयोजन गरिएको थियो । भारतको राजधानी नयाँदिल्ली स्थित इण्डिया इन्टरनेशनल सेन्टरमा सम्पन्न नेपालको नयाँ समावेशी संविधानको संस्थागत विकास र सो वारेको आमजनधारणा विषयक कार्यक्रममा कार्यक्रमको कार्यपत्र प्रस्तोता उद्धव प्याकुरेलले नयाँ संविधानमा नागरिकता, संघीयता, समावेशिकरण र समुचित प्रतिनिधित्व, नेपाली राष्टिूयता र स्वाभिमानको रक्षा, उच्चपदस्थ पदाधिकारीहरुको नागरिकता सम्बन्धि व्यवस्था संसारकै उत्कृष्टतम् भनिएका संविधानहरु भन्दा पनि राम्रो भएको र त्यसको समर्थन भारतले गर्नुपर्ने सम्बन्धि आफ्ना ६ पृष्ठ लामो अंग्रजी भाषाको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
सो कार्यपत्र माथी टिप्पणी गर्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले लगातार ८९ दिन देखि जारी मधेशी जनताको तेश्रो मधेश आन्दोलनलाई सम्बोधन नगरिए मधेश आन्दोलन नरोकिने स्पष्ट गर्दै दिल्लीलाई होईन त्यस्तो उत्कृष्ट संविधान बनाइएको छ भने सो संविधान लिएर मधेशमा जान र मधेशी जनतालाई सन्तुष्ट पार्न हिम्मत गर्न सक्नु पर्ने तथ्य स्पष्ट पारेका थिए । मधेशी जनताको अथक र निरन्तरको हिम्मत, साहस, योगदान र बलिदानको बलमा आन्दोलन जारी रहेकोले कसैले कसैसंग स्वरमा स्वर मिलाउदैमा आन्दोलन नरोकिने बरु मधेशी जनताको थप रगत बग्न सक्ने, देश र मधेशलाई अपुरणीय छति हुनसक्ने पक्षप्रति गंभिरताका साथ ध्यान दिन उनले सुझाव दिएका थिए । झाले भारतमा इन्दिरा गान्धि कालमा पुर्नआरम्भ भएको भधेश आन्दोलनले भारतका राजनीतिक दलहरुसंग निरन्तर मैत्रीभाव ग्रहण गर्दै आएको तथ्य स्मरण गर्दै भारतका राजनीतिक दल, नागरिक समाज र बौद्धिक वर्गले एकिकृत नेपाल भित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदायका लागी जारी आन्दोलनलाई सम्मान र सम्बोधनका लागी सहयोग गर्न र नेपालको यो संविधानको उत्कृष्टताको गुणगानको पछि नलाग्न आग्रह गरेका थिए । मधेशी लगायतका पीछडिएकाहरुको समस्या समाधान गर्न संविधानलाई १०२ ठाँउमा संसोधन आवश्यक रहेको स्मरण गर्दै वहाँले त्यसको फेहरिस्त संघीय मधेशी मोर्चाको वार्ता टोलीले नेपाल सरकारको वार्ता टोली र नेपालका संचारमाध्यमहरुलाई उहिलै नै उपलब्ध गराई सकेको जानकारी समेत दिएका थिए ।
कार्यक्रमका अर्का बक्ता डा.प्रकाश शरण महत्तले नेपालको संविधान दलहरुको सम्झौताको दस्तावेज भएको र कुनै पनि वेला संसोधन हुन सक्ने भएकोले आन्दोलन र नाकाबन्दीको आवश्यकता नरहेको धारणा राखेका थिए । प्राध्यापक एस.डी. मुनीले मधेशी समुदायको जायज मांगहरुलाई संवोधन गरि नेपालको समृद्धि र विकासमा लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य राजीव झा, चार्टर्ड एकाउन्टेन्ट प्रवीण कर्ण सहितका अन्य मधेशी सहभागीहरुले मधेशी जनताको यस शान्तिपुर्ण आन्दोलनलाई राज्यले संबोधन नगरे स्वतन्त्र मधेशका लागी मधेशीहरु अगाडी बढन सक्ने धारणा राखेका थिए । भारतका बरिष्ठ राजनीतिज्ञ डी.पी.त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल मामिलाका रक्षा विशेषज्ञ अवकाश प्राप्त मेजर बक्सी, प्राध्यापक एसडी मुनी, विजय प्रताप, भारतीय जनता पार्टीका सतिश उपाध्याय, कांग्रेसका नेताहरु रासिद अलवि, जयराम रमेश लगायतका महत्वपुर्ण व्यक्तिहरुको उपस्थिति थियो । त्यसैगरी फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव पनि उपस्थित थिए ।


२०७२ कार्तिक २९ गते आईतबार

विरगञ्जमा एमाले पार्टी कार्यालयमा आगजनी महोत्तरीबाट लखेटिए एमालेका सांसद


विरगञ्ज स्थित नेकपा एमाले पर्साको पार्टी कार्यालयमा आगजनी गर्नुका साथै फर्निचरहरु समेत संयुक्त लोकतान्त्रिक
 मधेसी मोर्चाका कार्यकर्ताहरुले जलाएका छन् ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनको क्रममा नेकपा एमालेले आफ्ना सांसदहरुलाई मधेसमा पठाएर आफ्नो जमिन बचाउन प्रयास गरेपछि मधेसका विभिन्न जिल्लाहरुबाट एमालेका सांसदहरु लखेटिएका छन् । त्यसैगरी कार्यक्रम मनाउने पार्टी कार्यालयहरुमा मधेसी मोर्चाले आगजनी समेत गरेको पाइएको छ ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले शनिबार बिहान नेकपा एमाले पर्साको वीरगञ्ज रामगढवास्थित पार्टी कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले एमालेले मधेस आन्दोलनको विरोधमा केन्द्रको निर्देशन अनुसार अञ्चल स्तरीय चियापान कार्यक्रम आयोजना गरेको भन्दै त्यसको प्रतिकार गरेको बताएका छन् । मोर्चाले एमालेका सभासदहरुले मधेस आन्दोलनको बिरोधमा षड्यन्त्र गरेको र आन्दोलनलाई बद्नाम गराउने उद्देश्यले विभिन्न गतिबिधि गरेको आरोप लगाएर शुक्रबार कार्यक्रम बिथोल्ने चेतावनी दिएको थियो ।
तिहार र छठको अवसरमा एमालेको भातृसगठन युवा सघं पर्साले शनिबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा अञ्चल स्तरीय चियापान कार्यक्रम राखेका थियो । आगजनीपछि चियापान स्थगित भएको छ । मधेस अधिकारका लागि जारी आन्दोलन तुहाउने अभिप्रयायले दीपावलीको मौका छोपेर एमालेका स्थानीय नेता र तराईबाट चुनिएर गएका सांसदहरुले चियापानको नाटक गरेर आन्दोलन भाडने षडयन्त्रमा लागेको  मोर्चाको आरोप छ । मोर्चाका कार्यकर्ताले पार्टी कार्यालयमा आगजनी गरेपछि टायर बालेर प्रदर्शनसमेत गरेका छन् । उनीहरुले पार्टी कार्यालय हातामा रहेका केही थान कुर्सीसमेत नजिकैको सिर्सिया नदीमा फालिदिएका छन् ।
आगजनि पछि नेकपा एमाले पर्साले  तिहार र छठ पर्बको उपलक्ष्यमा वीरगन्जमा  पार्टीले  चियापान कार्यक्रम नभएको जनाएको छ । एमाले पर्साका कार्यलय सचिव गंगा खड्काले पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्ने पार्टीको निर्णय नभएको बताए । पार्टीका युवाहरुको फेसबुक स्टाटसको कारण पार्टी कार्यालयमा अक्रमण भएको खडकाले बताए । उनले भने,‘शुक्रबार पार्टी कार्यालय युवाहरुले सर सफाइ गरेपछि चियापान कार्यक्रम गर्ने फेसबुकमा लेखेको कारण आगजनी भएको हो ।’
महोत्तरीबाट लखेटिए सांसद
नेकपा एमालेका सांसददय राम दयाल मण्डल र दीपनारायण साह आफ्नै गाउँबाट धपाइएका छन् । संविधान लिएर मधेसमा प्रवेश गर्न नेकपा एमालेले आफ्नो सांसदहरुलाई दिएको निर्देशन अनुसार महोत्तरी जिल्लाबाट निर्वाचित उक्त सांसद द्वय तिहारको मौका छोपेर गाउँ आएका थिए । मण्डल आएको सूचना पाए लगत्तै स्थानीय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले सांसद मण्डलको घर घेरा उगर्दै नाराबाजी तथा विरोध प्रदर्शन गरेका थिए । सांसदहरुको विरोध भईरहेको देखेपछि महोत्तरीका प्रमुख जिल्ला अधिकार विरेन्द्र यादवले करिब २ सय जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरेका थिए । आन्दोलनकारीहरुको विरोध प्रदर्शनका कारण सांसद मण्डल बुधबार राति नै प्रहरीको स्कर्टिङमा गाउँ छोडेर भागेका थिए ।
त्यसैगरी अर्को सांसद दीपनारायण साहलाई प्रदर्शनकारीहरुले विहिबार रातिसम्म गाउँ खाली गर्न उर्दी जारी गरेपछि विहिबार राति नै सांसद साह प्रहरी स्कर्टिङमा बर्दिवास भागेका थिए । तराई मधेस सदभावना पार्टीका केन्द्रिय सदस्य समेत रहेका सुरेश पाण्डेका अनुसार मधेस विरोधी पार्टीको रुपमा रहेको नेकपा एमाले राज्य संयन्त्रको सुरक्षाकर्मीलाई प्रयोग गरेर आफ्ना सांसदहरुलाई मधेसमा पठाएको भएपनि मधेसका जनताले ती सांसदहरुलाई लखेटेर मधेसमा तिनीहरुको केही पनि नचल्ने प्रष्ट भएको छ । पाण्डे भन्छन,“ मधेस विरोधी संविधान जारी गरेका मधेस विरोधी पार्टी नेकपा एमालेले ती दुई जना सांसदहरुलाई मधेसमा पठाएर शक्ति परिक्षणका साथै एउटा प्रयोग गरेको थियो । तर, मधेसी जनताले मधेस विरोधी संविधान बनाउने मधेसका गद्दार सांसदहरुलाई आफ्नै गाउँबाट लखेटेर ठुलो पाठ पठाएका छन् ।” स्थानीयवासीहरुका अनुसार ती दुई जना सांसद अहिलेको सरकारमा राज्य मन्त्री वा सहायक मन्त्री पाउनका लागि आफु प्रतिकुल अवस्थामा पनि मधेस गएको भनेर नेतृत्वलाई रिझाउनका लागि आएका हुन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरीबाट एमाओवादी , नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वा्चित तथा सामानुपातिक सांसदहरुलाई बहिस्कार गर्ने नीति अख्तियार गर्दै जिल्ला प्रवेशमा प्रतिबन्ध लगाए पछि तिहार र छठ मान्न गृहजिल्ला आएका सभासदहरु रातारात जिल्ला छाडेका हुन् । आन्दोलनरत मधेसी मोर्चाले जलेश्वरमा वैठकले कांग्रेस एमाले, एमाओवादीका सभासदले तीन महिनादेखि जारी मधेस जनआन्दोलनको क्रममा शहादत प्राप्त गरेका प्रति सम्मान गर्नुको साटो अवमूल्यन गर्दै जनआन्दोलन बिपरीत मधेस विरोधी संविधान लेखनमा भूमिका खेलेको भन्दै मधेस छाडन उर्दी जारी गरेको थियो ।
मधेसी मोर्चाले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसहित नेकाका किरण यादव, सिताराम भण्डारी, संगिता मण्डल एमालेका रामदयाल मण्डल, दिपनारायण साह, रंजना माझी, एमाओवादीका लालेन्द्र मण्डल, अनिता साह सहित नौ सांसदलाई जिल्ला प्रवेशमा प्रतिबन्ध लगाएको हो । महोत्तरीमा कांग्रेसका तीन,एमालेका तीन,माओवादीका तीन, संघीय समाजवादी फोरमका एक तमलोपाका एक, स्वतन्त्र एक, राष्टिूय मधेस समाजवादी पार्टीका दुई गरी १४ सांसद रहेका छन ।
माधव नेपाललाई पनि लखेट्ने
हुन त नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि संविधानको व्याख्या गर्नका लागि आफ्ना संसदीय क्षेत्र गौर पस्न खोजेका थिए तर उनी चन्द्रनिगाहपुरबाटै फर्किनु परेको थियो । गौरबाट आन्दोलनकारी मोर्चाका नेता तथा कार्यकर्ताहरु चन्द्रनिगाहपुर पुगेपछि झड्प समेत भएको थियो ।
त्यसैगरी माधव नेपाल २९ कार्तिकमा सर्लाहीको हरिपुरमा एउटा सभा गरेर कार्यक्रम आयोजन गर्ने तयारी गरेपछि सर्लाहीको मधेसी मोर्चाले माधव नेपालको कार्यक्रमलाई विथोलेर लखेट्ने चेतावनी दिएका छन् । मोर्चाका सर्लाही संयोजक तथा तमलोपाका सांसद जंगीलाल राय भन्छन,“ माधव नेपालले सर्लाहीको हरिपुरमा २९ देखि ३० गते सम्ममा कार्यक्रम गर्ने भनेर भनिएकोले उक्त कार्यक्रम विथोल्ने मोर्चाले निर्णय नै गरेको छ । उनले हरिपुर, नवलपुर, लालबन्दी, हरिवन, जुन सुकै ठाउँमा कार्यक्रम गरेपनि कार्यक्रम विथोलिने छ ।”
यसरी हेर्ने हो भने मधेसमा जनआधार खस्किदै गएपछि नेकपा एमाले जसरी पनि मधेसमा पुगेर मुठभेड गराई द्वन्द्व गराई साम्प्रदायिक सदभाव विथोल्न हर सम्भव प्रयास गरिरहेको पाइन्छ । हुन त मधेस आन्दोलनलाई दवाउनका लागि र आन्दोलनलाई प्रतिकार गर्नका लागि आन्दोलनको प्रारम्भमै नेकपा एमालेले आफ्नो यूवा संगठन यूवा संघलाई परिचालन गर्न उर्दी नै जारी गरेको थियो । तर, मधेसमा कुनै पनि यूवा संघका कमाण्डरहरु आउन सकेका थिएनन् ।
पिपरामा एमाले परित्याग
महोत्तरी जिल्लाको पिपरा गाविसमा पिपरा गाउँका गाउँ इकाई कमिटिका सम्पुर्ण पदाधिकारीहरु नेकपा एमाले परित्याग गरेका छन् । नेकपा एमाले मधेस विरोधी पार्टी रहेको, मधेस आन्दोलनलाई बन्दुकका माध्यमले दवाउन खोजेको, संविधानमा मधेसको अधिकार दिन नखोजेको भन्दै नेकपा एमाले पिपराका सम्पुर्ण पदाधिकारी संग सँगै पुर्व पदाधिकारीहरु समेतले सामुहिक रुपमै राजिनामा दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महोत्तरी जिल्लाको जिल्ला सदस्य सहित गाउँ कमिटी पिपराका अध्यक्ष लगायतका सय भन्दा बढी कार्यकर्ताहरुले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको सम्बाहक नेकपा एमालेमा २०५१ सालदेखि लागेका जिल्ला कार्यसमिति महोत्तरी सदस्य रामजानकी यादव लगायत सय भन्दा बढीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
निवर्तमान पिपरा गाविस अध्यक्ष एवं जिल्ला कार्यसमिति सदस्य तथा नेकपा एमाले महोत्तरीको खम्बाका रुपमा परिचित रामजानकी यादव, सदस्य निलम यादव, क्षेत्रीय उपाध्यक्ष क्षेत्र नं ३ का विजय साह, गाउ कमिटि सदस्य किशोरी साह, गाउ कमिटी सदस्य कुमार दास, राम एकवाल कापड, राम जीवन कापड, गाउ कमिटी उपाध्यक्ष जिवछ पासवान लगायत सम्पुर्ण पिपरा गाउ कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् ।
नयाँ संविधानमा मधेश र मधेशीहरुलाई आफ्नो अधिकारबाट वन्चित गराउन खसवादीहरुले गरेको प्रयासको पर्दाफास भएको र सत्तास्वार्थका लागि पार्टीको जन्मकालदेखि नै संघीयता विरोधी चित्रबहादुर के.सी., गैरलोकतान्त्रिक कमल थापा जस्ता शक्तीहरुसँगको साँठगाँठको घोर निन्दा गर्दै नयाँ संविधानमा अग्रगामी परिवर्तनको सट्टा पुरातन सोचले मधेशीको हक र अधिकार कुण्ठित गरेकोले पार्टी परित्याग गरिएको विज्ञप्तीमा जनाइएको छ ।
नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य रमन पाण्डेय लगायतको उपस्थितीमा प्रेस विज्ञप्ती सार्वजनिक गर्दै रामजानकी यादव लगायतले अव पार्टीमा कहिल्यै नफर्किने र मधेश तथा मधेशीको हक अधिकार दिलाउन आन्दोलनमा लाग्ने जनाए । यसरी हेर्ने हो भने अब थुपै्र गाउँहरुमा नेकपा एमालेको संगठन नै सखाप हुने अवस्था आईपुगेको छ ।


२०७२ कार्तिक २९ गते आईतबार

संविधान जारी भएपछि मधेसमा मानव अधिकारको अवस्था

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
दोश्रोपटक संविधानसभाको निर्वाचन भएको करिब डेढ वर्षपछि २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । प्रमुख तीन दलले नयाँ संविधानको प्रक्रियालाई फास्ट टूयाकको आधारमा अगाडि बढाउँदा र मधेसी जनजातिहरुको सरोकारकहरुलाई सम्बोधन नगर्दा मधेसी थारुहरुले तराईमा आन्दोलन शुरु गरे । संविधानसभामा रहेका मधेसी तथा थारु दलका सभासदहरुले संविधानसभाको प्रक्रिया नै बहिस्कार गरे । तर पनि तीन दलले उनीहरुको सरोकारको वेवास्ता गरी नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा ल्याए र नयाँ संविधान जारी पनि गरे । त्यसपछि झन उक्त मस्यौदामा विमति राख्दै मधेसी तथा थारु शक्तिले उनीहरुको  आन्दोलनलाई झन तीव्र पारे ।
    मधेसी तथा थारु सामुदायको प्रतिनिधित्व गरिरहेका राजनीतिक दलहरुले संयुक्तरुपमा आन्दोलन गरिरहेका छन् । प्रदेशको सिमांकन, निर्वाचन प्रणाली, समानुपातिक प्रतिनिधित्व, निर्वाचन क्षेत्र निर्धारण र नागरिकतालगायतका विषयमा विमति राख्दै मधेसी तथा थारु शक्तिहरुले आन्दोलन  गर्दैआएका छन् । संविधानको परिमार्जित विधेयक आएपछि आन्दोलन झन बढ्दै गयो । र संविधान जारी हुने वेलामा तराई मधेशमा आन्दोलन बढ्ने सम्भावना देखेर मधेसको २० वटै जिल्लाहरुमा तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले मानवअधिकार रक्षकहरुको परिचालन गरेर मानवअधिकारको अवस्थाको अनुगमन गरेको छ । सोही अनुगमनको आधारमा यो प्रतिवेदन तयार गरिएको छ । यो प्रतिवेदन दुई भाग बाँडिएको छ । पहिलो नयाँ संविधान जारी भएपछिको अवस्था र नयाँ संविधान बमोजिम प्रधानमन्त्रीको निर्वाचन पछिको मावनअधिकारको अवस्था ।
संविधान जारी भएपछिको अवस्था
मिति २०७२ असोज ३ गते जिल्ला पर्सा गाविस पाकाहा मैनपुर निवासी ३२ बर्षीय शत्रुधन पटेलको प्रहरीले चलाएको गोली लागेर मृत्यु भयो । उनको निधारमुनि आँखामा गोली लागेको थियो । नयाँ संविधान जारी गर्ने दिन संविधानमा विमति राख्दै संयुक्त मधेसी मोर्चाले गरेको प्रर्दशनको क्रममा पर्साको विरगञ्जमा प्रहरीले जथाभावी गोली प्रहार गरेको देखियो । सोही प्रदर्शनको क्रममा १६ जना आन्दोलनकारी घाइते भएका थिए भने प्रदर्शनकारीको ढुँगा लागेर एकजना प्रहरीसमेत घाइते भएको पाइयो । यसरी उक्त आन्दोलनमा राज्य पक्षबाट आवश्यकता भन्दा बढी बल प्रयोग गरेको पाइयो ।
संविधानको विरोधमा असोज ३ गते मधेशको सबै जिल्लाहरुको मुख्य बजार तथा चोकहरुमा ठुलो संख्यामा प्रदर्शनकारीहरुले मुखमा कालो पट्टी बाँधेर कालो झण्डासहित प्रदर्शन गरेका पाइयो भने सो राति अधिकांश गाउँ शहरहरुमा ब्लायकआउट गरियो । सो दिनलाई कालो दिनको रुपमा लिएको भनेर स्थानीयहरुको प्रतिक्रिया आएको थियो भने धेरै जसो घरमा विरोधस्वरुप कालो झण्डासमेत गाडिएको देखियो । अनुगमनको क्रममा मधेसका सबै जिल्लामो मधेसी तथा थारु बाहुल्य भएको स्थानहरुमा नयाँ संविधानको प्रतिलिपि जलाइएको  पाइयो । आन्दोलनलाई निरन्तरता दिदै आन्दोलनकारीले पछि नेपाल भारत नाका पनि बन्द गर्ने काम गरे । प्रहरी र प्रदर्शनकारी बिच झडपसमेत भइरह्यो । जस्तै रुपन्देहीको बेलहीया नाका झडप भएको घटना यहाँ उल्लेख गरिएको छ ।
जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं.१ बेलहीस्थित नेपाल भारतको नाका स्थित इलाका प्रहरी कार्यालय बेलहयिा अगाडी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पूर्व निधारित कार्यक्रमअनुसार मिति २०७२।०६।१८ गते दिनको १ः०० बजे ५००÷६०० प्रदर्शनकारी उपस्थित भएका थिए । उनीहरु शान्तिपूर्ण तरिकाले धर्ना दिन खोज्दा प्रहरी नायब उपरिक्षकसहित ५÷७ जना नेपाल प्रहरी र शस्त्र प्रहरीका जवानहरुले पूर्व रक्षा राज्यमन्त्री राम बच्चन यादवलाई पक्राउ गर्ने प्रयास गरे ।  त्यसक्रममा सिद्धार्थनगर न.पा. ४ का ४४ बर्षीय रामु अहिर यादव, नवलपरासीका ४२ बर्षीय रमेश यादव, रुपन्देही गाविस मजगवाका ४८ बर्षीय शिवदास यादवले निजलाई बचाउन खाजे । त्यसपछि तीन जनालाई नै पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलहियाको प्रहरी सुत्ने ब्यारेक लगेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की, प्रहरी नायब निरीक्षक राम बहादुर बाँनिया लगायत १२÷१५ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीले मुखमा कालो पट्टी बाँधेरे “साला, यो धोतीहरुलाई मधेस चाहिन्छ, यो धोतीहरुको नेता हो केटाहरु यिनीहरुको राम्रोसँग स्वागत गर” भनी प्रहरीलाई आदेश दिदै प्रनाउ कार्कीले यी व्यक्तिहरुलाई ५÷७ पटक लात्तीले हानेका थिए ।
प्रनानि बाँनिया सहितका अन्य प्रहरी कर्मचारीले बांस, बेतको ली, बुट, प्लास्टीकको कालो पाइप र बन्दुकको कुन्दाले उनीहरुको पिठ्युँ हात मुख गाला र खुट्टामा ३० मिनेटसम्म निर्घात कुटपिट गरे । त्यसपछि निज प्रनानि बाँनियाले यहाँ उल्लेख गर्न नमिल्ने किसिमको गलौज गरी थप कुटपिट गर्न आदेश दिए । फेरि मुखमा कालो पट्टी बाँधेका ५÷७ जना प्रहरीले करिब आधा घण्टा सम्म लात, बुट, मुक्का, ली, बन्दुकको कुंदा प्रयोग गरी  कुटपिट गरेर पछि उनीहरुलाई  प्रहरी निरिक्षकको कोठामा ल्याइएको थियो ।
    प्रहरीले साँझ करिब ४ बजे तीनै जनालाई प्रहरीको गाडीमा राखी जिल्ला प्रहरी कार्यालय रुपन्देही ल्याई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको थुनामा राखियो र प्रहरीले “यी साला धोतीहरु असली देशभक्तहरु आएका छन । यिनीहरुलाई खुव स्वागत गर” भनेर थुनुवाहरुलाई आदेश दिएपछि  थुनुवाहरुले समेत ३०÷३५ मिनेट सम्म कुटपीट गरे । कुटपिटको कारण रामु अहिर यादव वेहोस भएर भुईमा ढलेपछि प्रहरीले निजलाई उपचारको लागी भीम अस्पतालमा लगेको थियो र त्यहांँबाट थप उपचारको लागि युनीभर्सल मेडिकल कलेजमा रिफर गरियो । उनलाई पुनः जिल्ला प्रहरी कार्यालयमा ल्याई एक घण्टा सम्म प्रहरी हिरासतमा राखियो े । साँझ करीब ८ बजे निजलाई प्रहरीले गाडीमा राखेर भीम अस्पतालको सिफारिशअनुसार  भैरहवा स्थित ग्लष्खभचकब ि अिियभनभ या ःभमष्अब िकअष्भलअभक को इर्मेजन्सी वार्डमा भर्ना गरियो  । यसरी उपचारकै अवस्थामा राति  करिब ९ बजे जिल्ला प्रहरी कार्यालयले  रामु अहिर यादवलाई निजको भाई ब्रम्हु यादवको जिम्मा लगाएको थियो ।
त्यस्तै, नेपाल भारतको नाका बन्दले दैनिक जीवनमा विभिन्न किसिमको समस्या भएको छ । प्रदर्शनकारीहरुले यो नाकाबन्दी भनेको राजनीतिक बिषय हो र उनीहरुको मागलाई संविधानमा संशोधन गरेर संबोधन नगरेसम्म यो जारी नै रहनेछ । स्थानीय मानवअधिकार रक्षकका अनुसार नाकाबन्दीको क्रममा अत्यधिक बल प्रयोग भएको देखियो । सोही क्रममा २०७२ असोज १८ गते मोरङ्ग जिल्ला जोगवनीका २९ बर्षीय श्रवण मण्डललाई मोरङ्ग प्रहरीले पटूोल बम  बनाएको  आरोपमा पक्राउ गरी कुटपिट गरे। त्यसैगरी प्रहरीले सोही आरोपमा इटहरीका २८ बर्षीय शम्भु साहलाई पक्राउ ग¥यो । संयुक्त लोकतान्त्रिक मधृेसी  मोर्चाका नेताहरुले  नाका बन्दीलाई विफल  पार्न सुरक्षा अधिकारीहरुले यस्तो कार्य गरेको बताउँछन् ।
प्रधानमन्त्री निर्वाचन पछिको अवस्था
आन्दोलनकारीहरुले तराईका धनुषा, सिरहा, महोत्तरी, सप्तरी, सर्लाही, बारा र पर्सा लगायतका जिल्लाहरुमा नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउँदै ओली मधेश बिरोधी भएको भनी नाराबाजी गरेको पाइयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आन्दोलन आफ्नो नेतृत्व छ भन्ने लागिरहे पनि। असोज २४ गते वीरगञ्जमा गाउँ गाउँबाट मानिसहरु घरेलु हतियार बोकेर आएका थिए । उनीहरुले केपी ओली र मोर्चाको नेताहरु विरुद्ध नाराबाजी गरेका थिए । सो प्रदर्शनमा पेशागत संगठनहरुको समेत आवद्धता पाइएको थियो ।
त्यसैगरी, बिजय कुमार गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) केपी ओली नेतृत्वको सरकारमा सामेल भयो । उता कैलाली जिल्ला अदालतको आदेशअनुसार कैलालीमा २० जनालाई पुर्पक्षको लागि थुनामा पठाइयो  । उनीहरुलाई  टिकापुर घटनामा संलग्नता रहेको आरोप लगाएको छ । उनीहरुलाई  पुर्वाग्रही रुपमा थुनामा पठाइएको अधिकांश थारु समुदायले आरोप लगाएको पाइन्छ । 
निस्कर्ष
नेपालको संविधान जारी भएपछि र मधेस केन्द्रित दलसँग आवद्ध सांसदहरु प्रधानमन्त्री निर्वाचनमा सहभागी भएपछि मधेस आन्दोलन उग्र बन्दै गएको कुरा राष्टिूय तथा अन्तरराष्टिूय सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौं । अबको आन्दोलन राजनीतिक दल तथा नेताको पकडभन्दा बाहिर जान सक्ने संभावनाहरु देखिन्छन् । यसकारण मधेस आन्दोलनले उठाएका जायज मागहरुलाई राजनीतिक संवादको माध्यमबाट संविधान संशोधन गरी यथासिघ्र सम्बोधन गर्न राज्यलाई आग्रह गर्न चाहन्छौं । यदि राज्यले आन्दोलनलाई नजरअन्दाज गरेमा मधेस आन्दोलनले फरक धार लिन सक्ने अवस्था रहेको देखिन्छ ।
 (स्रोत ः थर्ड एलाइन्सको प्रतिवेदन)


२०७२ कार्तिक २९ गते आईतबार