Thursday, March 16, 2017

मधेसमा अत्यधिक बल प्रयोगको प्रवृति

सप्तरीमा मानव अधिकारको उल्लंघन भएपनि आयोगले केही पनि नगरेको भन्दै आयोगको
 क्षेत्रिय कार्यालय जनकपुर अगाडी २४ फागुनमा
प्रदर्शन गर्दै जनकपुरका यूवाहरु ।
अजय अनुरागी
जनकपुरधाम............
प्रहरीले चलाएको गोली लागेर २३ फागुन २०७३ मा सप्तरीमा पाँच जनाको ज्यान गयो । नेकपा एमालेले प्रारम्भ गरेको मेची(महाकाली राष्टिूय अभियानलाई बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक दर्जन बढीलाई गोली लाग्यो । गोली लागेका मध्ये मलेठ गाविस २ का सञ्जन मेहता, मलेठ गाविस ४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साहको ज्यान गएको छ । मृतक मध्ये मेहताको घट्नास्थलमै ज्यान गएको हो भने मण्डललाई उपचारका लागि धरान लग्दै गर्दा र साहको उपचारका क्रममा धरानमै मृत्यु भएको हो । सञ्जनको टाउकोमा गोली लागेको थियो भने अन्यको छातीमा गोली लागेको छ । घटना भएको २ दिन पछि धरान स्थित अस्पतालमा उपचारको क्रममा मलेठ २ का विरेन्द्र महतोको पनि ज्यान गएको छ । उपचारको क्रममा २७ फागुनमा घाइते इनरदेव यादवको पनि मृत्यु भएको छ ।
घटनामा गोली प्रहारबाट एक जना १२ बर्षीय बालक सुरेन्द्र साहसहित आठ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ । प्रहरीको लाठी चार्जबाट एक दर्जनभन्दा बढी घाइते भएका छन् । सद्भावनाका केन्द्रीय सदस्य भीमराज यादव र दीपेन्द्र चौधरी, क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, सञ्जय यादवसमेत लाठी चार्जबाट घाइते भएका छन् । झडपमा परी केही प्रहरी समेत घाइते भएका छन् ।
गृहमन्त्रालयको भनाई
गृह मन्त्रालयद्वारा जारी विज्ञप्ती ।
नेकपा एमालेले संचालन गरेको मेची महाकाली अभियान अन्तरगत २३ फागुन २०७३ मा सप्तरीको राजविराज नगरपालिका १ स्थित औद्योगिक क्षेत्रको परिसरमा आम सभा भईरहेकोमा सो कार्यक्रमको विरोधमा आमसभा विथोल्ने उद्देश्यले कार्यक्रम स्थल तर्फ उत्तेजित भएर नाराबाजी गर्दै आईरहेको जुलुसलाई सुरक्षाकर्मीले करिब २ किलोमिटर टाढा बाट नै १ घण्टासम्म क्रमशः पानीको फोहरा, अश्रु ग्यास, लाठी चार्ज तथा हवाई फायर गरी रोक्ने प्रयास गरेकोमा भीड पछि नहटी झन् आक्रोशित भई सुरक्षाकर्मीलाई नै पछाडी धकेल्दै आमसभा स्थलको गेटसम्म आईपुगेको र ठुलो समुहमा रहेको उक्त जुलुसले सुरक्षा घेरा तोड्नका लागि सुरक्षाकर्मी माथि ढुङ्गामुढा तथा पेटूोल बम प्रहार गर्दै समारोह स्थलमा प्रवेश गरी आमसभाका सहभागीहरुमाथि आक्रमण गर्न खोजेकोले सो रोक्न सुरक्षाकर्मीले पुनः हवाई फायर तथा रब्बर बुलेट प्रयोग गर्दा समेत स्थिति नियन्त्रण हुन नसकी बाध्य भई स्थानीय प्रशासनले घुँडामुनि गोली चलाउन आदेश दिएको र स्थिति नियन्त्रणमा लिने क्रममा चलेको गोली लागि पिताम्बर लाल मण्डल, आनन्द साह, सन्जन महतो सहित ३ जनाको दुःखद मृत्यू भएको एवम विरेन्द्र महतो, लक्ष्मण यादव, इनर यादव, सुरेन्द्र कुमार साह, जितेन्द्र साह, दिलिप यादव, दिगम्बर यादव सहित ७ जना घाइते भएको भन्दै गृहमन्त्रालयले प्रेस विज्ञप्ती जारी गरेको छ ।
जनकपुरमा गृहमन्त्री विमलेन्द्र निधिको 
पुतला दहन गर्दै मधेसी जनअधिकार फोरम
 नेपाल लोकतान्त्रिकका नेता तथा कार्यकर्ताहरु ।
गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा २३ फागुन २०७३ मा जारी गरिएको उक्त प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार प्रतिकुल परिस्थितिलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले बाध्य भई गोली चलाउँदा दुःखद मृत्यु भएकोमा नेपाल सरकार, गृहमन्त्रालय तथा गृहमन्त्रीले समेत आफ्नो तर्फबाट गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति समबेदना प्रकट गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । त्यसैगरी मृतकहरुको परिवारलाई राहत तथा घाइतेहरुको उपचारको सम्पुर्ण खर्च नेपाल सरकारबाट मिलाइने कुरा समेत विज्ञप्तीमा उल्लेख छ ।
दमनको विरोधमा मधेस बन्द
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा भएको प्रहरी दमनको विरोधमा दुई दिन मधेस बन्द गरेको छ । २४ र २५ फागुन दुई दिन मधेस बन्द आह्वान गरिएको छ । २३ फागुनमा मधेसी मोर्चाले काठमाण्डौमा गरेको निर्णयको चौथो बुँदामा मधेसमा भईरहेको हिंसा, हत्या र नरसंहारको विरोधमा २०७३ साल फागुन २४ र २५ गते २ दिन मधेस बन्द गरी राज्य आतंकको विरोध गर्ने निर्णय गरिएको उल्लेख छ । धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा तनाव देखिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय उपाध्यक्ष वृषेशचन्द्र लाल भन्छन,“ यो देशमा शान्तिपुर्ण प्रदर्शन गर्न पाउने नागरिकको मौलिक हक भएपनि मधेसमा हुने प्रदर्शनहरुमा राज्यले सिधा टाउको र छातीमा मात्र गोली हान्ने गरेको छ । सुरक्षाकर्मीहरुले मधेसका नागरिकलाई आफ्नो देशको नागरिक नै नठानेझैं शत्रुलाई गरिने व्यवहार गर्ने गरिएको छ ।” मानव अधिकारकर्मी तथा कानुन व्यवसायी समेत रहेका दिपेन्द्र झा सप्तरी घटना सन्दर्भमा राज्यद्वारा अत्यधिक बल प्रयोग गरिएको बताउँछन् । झा भन्छन,“सप्तरीमा प्रहरीद्वारा निहत्था नेपाली नागरिकको हत्या गरिएको छ । बल प्रयोग गर्नै नपर्ने ठाउँमा नेपालको संविधान, कानुन र अन्तर्राष्टिूय प्रतिबद्धताको विपरित टाउकोको गिद्दी नै निस्कने गरी गोली हान्नु जघन्य अपराध हो । 
जनकपुरमा मधेसी मोर्चाद्वारा विरोध प्रदर्शन, लाठी जुलुस ।

यस घटनाका योजनाकार, कार्यान्वयनकर्ता, आदेश दिने र आदेशपालक सबैलाई फौजदारी न्यायप्रणाली अनुसार कर्तव्य ज्यान मुद्दा अन्तरगत जाहेरी दरखास्त दर्ता गरी घटनाको निष्पक्ष र विश्वसनिय अनुसन्धान गरी दोषी पाइएकालाई कारवाही गर्नुपर्दछ ।” त्यस्तै मधेस मामिलाका जानकार तथा राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन,“ यो देशको अवस्था विचित्रको छ । काठमाण्डौमा अपहरणकारीहरुलाई राज्यले घेरा हालेर कम्मरमुनि गोली हाल्छन् । तर, मधेसमा प्रहरीले आन्दोलनकारीहरुलाई ताकी ताकी टाउकोमा र छातीमा मात्र गोली हान्छन् । प्रहरी प्रशासनको आन्तरिक औपनिवेशिकरण प्रवृति भनेको यही हो ।”
सर्बोच्च अदालतको परमादेशको अपहेलना
 
सर्बोच्च अदालतको परमादेश ।
गत बर्षको साउन देखि मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेपछि मधेसका विभिन्न जिल्लाहरुमा मान्छे मारिन थाले । त्यसपछि २९ भदौ २०७२ मा सर्बोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेतको नाममा बल प्रयोग सन्दर्भमा अन्तरिम आदेश जारी गरेको थियो । सर्बोच्च अदालतका न्यायाधीशद्वय बैद्यनाथ उपाध्याय र दिपक राज जोशीको संयूक्त इजलासबाट गरिएको उक्त अन्तरिम आदेशमा,“शान्ति सुरक्षाको प्रयोजनार्थ तत्कालको परिस्थितिलाई दृष्टिगत गरी आवश्यकता अनुसार राज्यले जे जस्तो शक्तिको प्रयोग वा परिचालन गर्नुपर्ने हो यथोचित तवरबाट गर्नुपर्ने नै हुन्छ । कानुन बमोजिमको प्रक्रिया नअपनाई हातहतियारको प्रयोग भयो भन्ने निवेदकको जिकिर तर्फ विचार गर्दा कानुन मिचेर नियतबस हातहतियारको प्रयोग भएमा त्यो फौजदारी अपराध हुने भई सोमा कानुनी कारवाही भई यथोचित निर्णय हुने नै छ । तर, शान्ति सुरक्षाको आडमा विग्रेको वा ज्यान जाने किसिमको रसायनयूक्त अश्रु ग्यासको प्रयोग गर्नु बाञ्छनिय हुँदैन । तसर्थ विग्रेको वा ज्यान जाने किसिमको रसायन यूक्त अश्रु ग्यासको प्रयोग नगर्नु, नगराउनु भन्ने समेतको यो अन्तरिम आदेश जारी गरिदिएको छ ।”, उल्लेख छ । विस्मिल्लाह खातुनले विग्रेको वा ज्यान लिने किसिमको रसायनयूक्त अश्रु ग्यास तथा जीवनमाथि नै खतरा हुने किसिमको हातहतियारको प्रयोग नगर्नु नगराउनु भनि परमादेश सहितको अन्तरिम आदेश माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दर्ता गरेको थियो ।
सर्बोच्च अदालतले नेपाल सरकारको नाममा उक्त अन्तरिम आदेश जारी गरेको भएपनि सोही बर्ष भदौ महिनामा मात्रै मधेसमा विभिन्न ठाउँमा भएका आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरी प्रदर्शनकारीहरुको ज्यान गएको थियो । अहिले फेरी सप्तरीको राजविराजमा सामान्य परिस्थिति हुँदाहुँदै स्थानीय प्रशासनले स्थानीय प्रशासन ऐनको आधारमा अत्यधिक बल प्रयोग गरेको देखिन्छ ।
गृहमन्त्रीको चासो
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २४ फागुनमा सुरक्षा निकायका प्रमुखहरुसँगको बैठकमा बल प्रयोग सन्दर्भमा चासो लिएका छन् । राजविराजमा घटना भएका दिन गृहमन्त्री निधि नेपाली कांग्रेसका क्षेत्रिय सभामा भाग लिनका लागि कैलाली थिए । काठमाण्डौ फर्किएपछि सुरक्षा निकायका प्रमुखहरुसँग प्रदर्शनकारीहरुलाई घुँडाभन्दा तल गोली हानिनुपर्नेमा ठाउको र छातीमा मात्र किन गोली लागेको भनेर सोधेको गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले द एक्सक्लुभिससँग बताए । गोली हान्न गृहमन्त्री निधिले आदेश नदिएको भन्दै दाहाल भन्छन्,“ प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐनको आधारमा अप्रिय स्थिति हुन नदिन बल प्रयोग गरेको देखिन्छ । गोली हान्न गृहमन्त्रीले कुनै पनि किसिमको आदेश दिएका थिएनन् । उनलाई अहिले राजनीतिक रुपमा तेजोबध गर्ने काम मात्र भएको छ ।” जनकपुरमा मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका नेता कार्यकर्ताहरुले गृहमन्त्री निधिले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गर्दै गृहमन्त्री निधिको पुतला दहन समेत गरेका छन् ।
शक्ति  प्रयोग एवं हातहतियार प्रयोग सम्बन्धि आधारभुत सिद्धान्त
नेपालका लागि संयूक्त राष्टूसङ्घीय मानव अधिकार उच्चायूक्तको कार्यालयले २०६२÷०६३ सालको जनआन्दोलनका क्रममा शक्ति प्रयोग सम्बन्धमा तयार पारेको प्रतिवेदनमा उल्लेख भए जस्तो शक्ति प्रयोगका सम्बन्धमा कैयौं अन्तर्राष्टिूय सिद्धान्त तथा मापदण्डहरु लागु हुन्छन् । ती मध्येका महत्वपुर्ण कुराहरुमा कानुन कार्यान्वयन अधिकारीको लागि निर्धारण गरिएका आचार संहिता तथा कानुन कार्यान्वयन अधिकारीको लागि तयार पारिएको शक्ति  प्रयोग एवं हातहतियार प्रयोग सम्बन्धि आधारभुत सिद्धान्तहरु रहेका छन् । यहाँ यो स्मरणीय छ कि यी मापदण्डहरुको पालना अन्तरिक राजनीतिक अस्थिरता तथा राजनीतिक संकटको अपवादात्मक अवस्थामा पनि पालना गर्नुपर्ने बाध्यता छ । यस अतिरिक्त यी मापदण्डहरु प्रहरीका साथै सेना र प्रहरीको शक्ति प्रयोग गर्ने सुरक्षासँग सम्बन्धित अन्य निकायहरुलाई पनि लागु हुन्छ ।
शक्तिको प्रयोग गर्दा
शक्तिको प्रयोग गर्दा कानुन कार्यान्वयन गर्ने अधिकारीहरुले आवश्यकता र अनुपालितकता को सिद्धान्तलाई अबलम्बन गर्नुपर्दछ । आवश्यकताको सिद्धान्तले कानुन कार्यान्वयन गर्ने अधिकारीहरुलाई अत्यन्तै आवश्यक भएको अवस्थामा मात्रै शक्ति प्रयोग गर्न भन्छ र त्यस्तो अवस्थामा शक्तिको प्रयोग गर्नुपरे सम्भव भएसम्म अहिंसात्मक साधनको प्रयोग गर्नुपर्ने भन्छ । त्यसकारण सम्भवतः शक्ति त्यसबेलामात्र प्रयोग गर्न सकिन्छ जब अहिंसात्मक उपायहरु लक्षित उद्देश्य पुरा गर्न प्रभावकारी हुँदैनन् र ती उपायहरुले लक्षित उद्देश्य हासिल गर्ने खासै राम्रो सम्भावना देखाउँदैनन् ।
आवश्यकताको सिद्धान्तले शक्ति प्रयोग गर्न सकिने परिस्थितिहरुको बारेमा उल्लेख गर्दछ भने अनुपातिकताको सिद्धान्तले शक्ति कुन तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने बारेमा उल्लेख गर्दछ । अनुपातिकताको सिद्धान्तले शक्तिको प्रयोग गर्दा संयम अपनाउनुपर्ने र आवश्यक भएको हदसम्म मात्र शक्तिको घातकता अपराधको गम्भीरता र हासिल गर्न खोजेको वैद्य उद्देश्यको अनुपातमा हुनुपर्दछ । शक्ति प्रयोग गर्दा कानुन कार्यान्वयन गर्ने अधिकारीहरुले क्षति तथा चोटपटक सम्भावनालाई न्यून गर्नुपर्दछ र मानवप्रति सम्मानका साथै उसको ज्यानको संरक्षण पनि गर्नुपर्दछ ।
हातहतियारको प्रयोग गर्दा
आवश्यकता र अनुपातिकताको सामान्य सिद्धान्तको अतिरिक्त कानुन कार्यान्वयन गर्ने अधिकारीहरुले हातहतियारको प्रयोग गर्दा अन्य मापदण्डहरुको पनि पालना गर्नुपर्दछ । कानुन कार्यान्वयन गर्ने अधिकारीहरुले देहायका विशेष परिस्थितिहरुमा मात्र शक्तिको प्रयोग गर्न सक्नेछन् ः (क) आत्म रक्षाको लागि वा अन्य व्यक्ति, जसको ज्यानमा तत्काल खतरा उत्पन्न भएमा वा जसलाई गम्भीर चोटपटक लाग्न सक्ने खतरा भएमा, त्यस्तो व्यक्तिको रक्षाको लागि (ख) ज्यानमाथि गम्भीर खतरा हुनसक्ने गम्भीर अपराध रोक्नका लागि (ग) यस्तो खतरा उत्पन्न गर्ने मानिसलाई गिरफ्तार गर्न र जसले यस्तो खतरा उत्पन्न गरेको छ, त्यस्तो खतरा रोक्ने प्रयासको विरुद्ध गतिविधि गरेको छ वा उसलाई भाग्नबाट रोक्नका लागि । जे होस हातहतियार तब मात्र प्रयोग हुनसक्छ, जब कम गम्भीर साधनहरुको प्रयोग अपर्याप्त सावित हुन्छ र जब ज्यान बचाउनका लागि हातहतियारको प्रयोगलाई जति गरे पनि त्याग्ने स्थिति रहँदैन ।
हातहतियार प्रयोग गर्नुअघि कानुन कार्यान्वयन गर्ने अधिकारीले आफुलाई कानुन कार्यान्वयन गर्ने अधिकारीको रुपमा परिचय गराउनुपर्दछ र हातहतियार प्रयोग गर्ने स्पष्ट चेतावनी दिनुपर्दछ । त्यतिमात्र होइन, त्यस्तो चेतावनीको पालनाको लागि पर्याप्त समय पनि दिनुपर्दछ जबसम्म पर्याप्त समयले ती अधिकारी वा अन्य व्यक्तिहरुको ज्यानमा खतरा उत्पन्न गर्दैन वा यस्तो परिस्थितिमा पर्याप्त समय दिँदा स्पष्टरुपमा अनुचित वा व्यर्थ हुँदैन ।
सार्वजनिक सभामा शक्तिको प्रयोग गर्दा
मानव अधिकारको विश्वव्यापी घोषणा तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि अनुबन्धले स्थापना गरेको सिद्धान्त अनुसार कानुन कार्यान्वयन गर्ने अधिकारीहरुले जनतालाई कानुनसम्मत र शान्तिपुर्ण रुपमा आयोजना हुने सभाहरुमा भाग लिन दिनुपर्दछ । कुनै सभा गैरकानुनी छ तर हिंसात्मक छैन भने त्यस्तो सभालाई तितर वितर पार्नको लागि कानुन कार्यान्वयन गर्ने अधिकारीहरुले शक्ति प्रयोग गर्नबाट बच्नुपर्दछ, तर जहाँ त्यसो गर्न व्यवहारिक छैन, त्यस्तो अवस्थामा जरुरी भएको हदसम्म मात्र शक्तिको प्रयोग गर्नुपर्दछ । हिंसात्मक सभालाई तितर वितर पार्ने क्रममा कानुन कार्यान्वयन गर्ने अधिकारीहरुले हातहतियार तबमात्र प्रयोग गर्न सक्छन्, तब कम खतरनाक साधन प्रयोग गर्न व्यवहारिक हुँदैन र त्यस्तो अवस्थामा हातहतियार प्रयोग गर्दा न्यन्तमरुपमा आवश्यक भएको हदसम्म मात्र प्रयोग गर्नुपर्दछ । कुनै पनि अवस्थामा माथि उल्लेख गरिएजस्तै हातहतियारको प्रयोग विशेष परिस्थितिमा मात्र हुन सक्छ, जस्तो कि आत्म रक्षाको लागि, कसैलाई तत्काल ज्यानमाथि खतरा उत्पन्न भएमा वा गम्भीर चोटपटक लाग्ने खतरा उत्पन्न भएमा, त्यसलाई रोक्नको लागि, अथवा यसतो खतरा उत्पन्न गर्ने व्यक्तिलाई गिरफ्तार गर्नका लागि र खतरा रोक्ने प्रयासको विरोध गर्ने व्यक्तिका विरुद्ध र नियन्त्रणबाट भाग्न खोज्ने व्यक्तिका विरुद्ध ।
शक्ति प्रयोगका सम्बन्धमा राष्टिूय मान्यताहरु
प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा कानुन व्यवस्था, शान्ति तथा सुरक्षाको स्थिति कायम राख्ने अधिकार छ र प्रजिअ जिल्लामा हुने जिल्ला सुरक्षा समितिको पनि अध्यक्ष हुन्छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्टिूय अनुसन्धान विभागका जिल्ला प्रमुख, सशस्त्र प्रहरी बलका स्थानीय प्रमुख तथा नेपाली सेनाका स्थानीय व्यारेकका प्रमुख पनि उक्त जिल्ला सुरक्षा समितिमा व्यवस्था भंग गर्ने कुनै सभा रोक्नका लागि प्रहरीलाई निर्देशन दिनुपर्दछ ।
मानव अधिकार कर्मी तथा कानुन व्यवसायी दिपेन्द्र झाका अनुसार प्रमुख जिल्ला अधिकारी तुरुन्त सभास्थलमा गएर भीडलाई अगाडी नबढ्नका लागि सम्झाई बुझाई गर्नुपर्दछ । र, पनि भीडले आफ्नो गतिविधि रोकेन भने प्रहरीले शक्ति प्रयोग गर्न सक्छ, र त्यसक्रममा आवश्यकताअनुसार लाठी प्रहार गर्न सक्छ, हवाई फायर, अश्रु ग्यास तथा पानीको फोहरा प्रहार गर्न सक्छ । यति गर्दा पनि शान्ति स्थापना भएन भने प्रहरीले प्रजिअबाट लिखित आदेश पाएपछि यदि भीड तितर वितर भएन भने उनीहरुमाथि गोली प्रहार हुन्छ भन्ने चेतावनी दिएर गोली प्रहार गर्न सक्छ । यदि प्रजिअलाई लिखित आदेश जारी गर्न समय मिलेन भने उनले गोली प्रहार गर्ने सम्बन्धमा प्रहरीलाई मौखिक आदेश दिन सक्छ , जुन आदेशलाई प्रजिअले २४ घण्टाभित्र लिखित आदेशको रुपमा परिणत गर्न जरुरी छ ।
 गोली चलाउँदा प्रहरीले घँुडामुनि मात्रै हान्नुपर्दछ । यदि कानुन तथा व्यवस्थाको गम्भीर उल्लंघन भएको छ जसलाई प्रहरीले नियन्त्रण गर्न सक्दैन भन्ने लाग्यो भने प्रजिअले सहयोगको लागि सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई अनुरोध गर्न सक्छ । प्रजिअले त्यसो गरेको २४ घण्टाभित्र क्षेत्रिय प्रशासन तथा गृहमन्त्रालयलाई त्यसबारे जानकारी गराउनुपर्दछ । न त प्रहरी ऐन न प्रहरी नियमावलीले नै नेपाल प्रहरीका सदस्यहरुद्वारा हुने शक्ति प्रयोगसम्बन्धमा कुनै व्यवस्था गरेको देखिन्छ । त्यसैगरी सशस्त्रहरुद्वारा हुन सक्ने शक्ति प्रयोग सम्बन्धमा कुनै व्यवस्था गरेको देखिँदैन । यद्यपि सशस्त्र प्रहरी बलको तालिम सम्बन्धि हाते पुस्तिकामा “शक्तिको प्रयोगसम्बन्धि सिद्धान्तहरु” नामक विषयलाई समेटेको छ । उक्त हातेपुस्तिकाले तल उल्लेख भएका सिद्धान्तहरुलाई शक्ति प्रयोगको सन्दर्भमा अपनाउनुपर्ने कुरा उल्लेख छ, (१) अनावश्यक शक्तिको प्रयोग नगर्ने, (२) सजायको रुपमा शक्तिको प्रयोग नगर्ने र (३) उद्देश्य प्राप्त भएपछि शक्तिको प्रयोग रोक्ने । उक्त हाते पुस्तिकाले स्थानीय प्रशासन ऐनको व्यवस्थाहरुको सारांश पनि समेटेको छ, जसअनुसार प्रजिअले सशस्त्र प्रहरी बललाई शक्ति प्रयोग गर्न आदेश दिनसक्छ ।
तराई मधेसको आन्दोलनमा भएका दमनको श्रृङ्खला
२०७२ सालको साउनको मध्य देखि माघको तेस्रो हप्तासम्म भएको प्रदर्शनका क्रममा पनि सुरक्षाकर्मीहरुले अत्यधिक बल प्रयोग गरेको पाइन्छ । २०७३ को साउन ३१ देखि असोज ३ सम्म अर्थात संविधान जारी हुनुभन्दा अघि र जारी भएको दिनसम्म, असोज ६ देखि माघ २२ सम्म संविधान जारी भएपछिको आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुले अत्यधिक बल प्रयोग गरी प्रदर्शनकारीहरुको हत्या गरेको देखिन्छ । प्रदर्शनहरु खासगरी टिकापुर(कैलाली), विरगञ्ज (पर्सा), जनकपुर(धनुषा), जलेश्वर(महोत्तरी), राजविराज, भारदह(सप्तरी) तथा रंगेली र डाईनियामा भएको थियो । अधिकांश प्रदर्शन र प्रदर्शनकारीहरुको मृत्यु ती ठाउँहरुमा नै भएका थिए । मानव अधिकार कर्मीहरुको प्रतिवेदन र  प्रत्यक्षदर्शीहरुको भनाईको आधारमा मधेस आन्दोलनका क्रममा भएका मानव अधिकार हनन्का श्रृङ्खला तल उल्लेख गरिएको छ ।
१ भदौं २०७२ मा सप्तरीको भारदहमा प्रहरीले चलाएको गोली लागेर राजिव राउतको मृत्यु भएको थियो । प्रहरीको फायरिङ्गमा मारिएका राजिव राउत प्रदर्शन स्थलबाट आधा किलोमिटर पर थिए । तर, नेपाल प्रहरीका एक सदस्यले विना कुनै चेतावनी प्रदर्शनकारीहरु माथि गोली चलाएका थिए । राउतलाई पहिलो गोली छातीमा लागेपछि उनी भुँईमा ढलेका थिए । प्रहरीको फायरिङ्गमा केही दर्शक सहित थप १० जना घाईते भएका थिए । प्रदर्शनमा भाग लिन गएका विजय ठाकुरलाई पनि खुट्टामा गोली लागेको थियो ।
७ भदौ २०७२ मा रौतहट महुलिया ६ का २१ बर्षिय राजकिशोर ठाकुर पनि प्रहरी फायरिङ्गमा मारिएका थिए । रौतहटको गौरमा प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेको बेला प्रहरीले अचानक विना कुनै चेतावनी प्रदर्शनकारीहरुलाई लठ्ठीले कुटपिट गर्न थालेका थिए । रब्बरको गोली र घातक हतियार पनि प्रयोग गरिएको थियो । करिब ६५ जना प्रदर्शनकारीहरुलाई चोटपटक लागेको थियो । ५ जना महिला प्रदर्शनकारीहरु पनि लठ्ठीको चोटका कारण घाईते भएका थिए । घटनाको समयमा औषधि किन्न गएका बेला प्रहरीले चलाएको गोली राजकिशोर ठाकुरलाई लागेको थियो । गोली ठाकुरको पिठ्यूँमा लागेको थियो । गोली लाग्ने वितिक्कै उनी भुँईमा ढले । ढलेपछि उनलाई प्रहरीहरुले घेरेर बारम्बार बुटले हानेको प्रदर्शनकारीहरुले बताएका थिए । आधा घण्टा पछि एउटा एम्बुलेन्स आयो र उनको लाशलाई रौतहट अस्पताल लगिएको थियो ।
६ भदौ २०७२ मा पर्साको विरगञ्जमा २१ बर्षिय दिलिप चौरसिया प्रहरीको फायरिङ्गमा मारिए । हुलाकी मार्गमा रहेको राधेमाई चौकमा प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका बेला ४० देखि ५० जना प्रहरी जवानहरु खटिएका थिए । प्रदर्शनकारीहरु घण्टाघर तर्फ जान लागेको बेला प्रहरीले रोक्न खोजेपछि दुवै पक्षबीच झड्प सुरु भयो । प्रहरीले थुप्रै अश्रु ग्यास प्रहार गरे र ५०÷६० राउण्ड गोली पनि प्रहार गरे । सहरमा कफर््यू जारी थियो । साँझ साढे ५ बजे तिर साथीहरुसँगै तरकारी किन्न राधेमाई चौक गएका बेला प्रहरीले चलाएको गोली दिलिप चौरसियाको पिठ्यूँमा लाग्यो । नारायणी उपक्षेत्रिय अस्पताल विरगञ्ज पुर्याउँदा उनको बाटोमै मृत्यु भएको थियो ।
१४ भदौ २०७२ मा प्रहरीको गोली लागेर २४ बर्षिय सोहन साह कलवारको मृत्यु भयो । दिलिप चौरसियाको मृत्युको विरोधमा राधेमाई टोलमा विरोध प्रदर्शन गरिरहेका बेला प्रदर्शनकारीहरुले प्रहरी माथि ढुङ्गामुढा गर्न थाले । त्यसपछि प्रहरीले पनि अश्रु ग्यास प्रहार गर्नुका साथै हवाई फायर र घातक हतियार प्रयोग गर्न थाले । अमिरीलाल भन्ने व्यक्तिलाई गोली लागेपछि प्रायः सबै प्रदर्शनकारीहरु तितरवितर भए । सोहन साह कलवार बाबा होटेलको भित्ता पछाडी लुुकिरहेका थिए । स्थिति हेर्नका लागि टाउको उठाएर उनले हेर्न के लागे, प्रहरीले जानी जानी उनलाई गोली हाने । उक्त गोली कलवारको देब्रे आँखामा लाग्यो, जसले गर्दा उनको घटना स्थलमा नै मृत्यु भयो ।
१५ भदौ २०७२ मा प्रहरीको फायरिङ्गमा जयप्रकाश साह र दिनानाथ साह मारिए । विरगञ्जमा ५ देखि ६ हजारको संख्यामा दिलिप चौरसियाको मृत्युको विरोधमा प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका थिए । धर्मराज सिंह लगायत १०÷१२ जनाले उक्त प्रदर्शनको नेतृत्व गरिरहेका थिए । प्रहरी अधिकारीहरुले राधेमाई टोलको दक्षिण रामराज पुल नजिक खटिएका थिए । प्रदर्शनलाई रोक्न प्रहरीले अन्धाधुन्ध गोली चलाए । उपेन्द्र यादवलाई खुट्टामा गोली लाग्यो । धर्मराज सिंहले घाइतेहरुलाई बोकेर पुल तर्फ लगिरहेका थिए । त्यतिकै बेला धर्मराज सिंहको टाउकोको देब्रे भागबाट गोली निस्कियो र प्रज्जवल तिवारीको घाँटी छेडेर निस्कियो । धर्मराजको घटनास्थलमा नै निधन भयो भने उपेन्द्र यादव तथा प्रज्जवल तिवारीलाई उपचारको लागि काठमाण्डौ ल्याइयो ।
१५ भदौ २०७२ मा बारामा प्रहरीले चलाएको गोली लागेर २१ बर्षिय हिफाजत मियाको मृत्यु भयो । करिब २ सय प्रदर्शनकारीहरुले कलैया चौकमा प्रदर्शन गरिरहेका बेला एक भ्यान प्रहरी आए र प्रदर्शनकारीहरुमाथि गोली प्रहार गर्न थाले । कलैयाका बासिन्दा २१ बर्षिय हिफाजत मियालाई दाहिने पाखुरामा गोली लागेपछि उनी ढले । जब उनी गोली लागेर गम्भीर अवस्थामा भुईँमा ढले, तब उनलाई प्रहरीले घेरे र उनलाई छातीमा दुई गोली हाने । उनको घटनास्थलमै मृत्यु भयो ।
२३ भदौ २०७२ मा सप्तरीको भारदहमा प्रहरीको फायरिङ्गमा ६२ बर्षिय रामकृष्ण राउत मारिए । उनी प्रदर्शनमा सहभागी थिएनन् । तर, झड्पमा फसेपछि प्रहरीले चलाएको गोली राउतको पिठ्यूँमा लाग्यो । उनको घटनास्थलमै मृत्यु भयो ।
२३ भदौ २०७२ मा महोत्तरीको जलेश्वरमा भएको प्रहरी फायरिङ्गमा ३५ बर्षिय विरेन्द्र विच्छा मारिए । शिक्षकको रुपमा कार्यरत विच्छा जलेश्वरमा प्रदर्शनमा सहभागी भएका थिए । जलेश्वरको महेन्द्र चौकमा प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका थिए । प्रहरीले भीडलाई तितरवितर पार्न अश्रु ग्यास प्रहार गरिरहेका थिए । अश्रु ग्यासको प्रभावलाई हटाउनका लागि आँखामा पानी खन्याएर धोईरहेकै बेला प्रहरीले फायर गरेको एउटा गोली विच्छाको दायाँ कन्चटमा लाग्यो । उनलाई जलेश्वर अस्पतालमा पुर्याइयो । जहाँबाट फेरी उनलाई थप उपचारको लागि काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना गरिएको दुई दिन पछि मृत्यु भयो ।
२३ भदौ २०७२ कै दिन प्रदर्शनकारीहरुले महोत्तरीको जिल्ला प्रशासन कार्यालय तिर प्रदर्शन गरिरहेको बेला प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा गर्न थाले । प्रहरीले पनि एक दर्जन अश्रु ग्यास प्रहार गरी भीडलाई तितरवितर गरे । महोत्तरीको बजराही ७ का रोहन चौधरी ट्यूशन पढेर घर फर्किरहेका बेला प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भयो । उनको छातीमा गोली लागेको थियो ।
२३ भदौ २०७२ मा महोत्तरी जिल्लाको महोत्तरी गाविसका २२ बर्षिय रामविवेक यादव पनि प्रहरी फायरिङ्गमा मारिए । प्रदर्शनमा भाग लिन जलेश्वरको महेन्द्र चौकमा जम्मा भएका रामविवेक यादवलाई प्रहरीले चलाएको दुई वटा गोली काँखीमा लाग्यो । गोली लागेपछि उनलाई जलेश्वर अस्पताल पुर्याइयो, तर उनको अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भयो । सोही दिन जलेश्वरको शंकर चौकमा भईरहेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर जलेश्वर १४ निवासी २२ बर्षिय अमित कापरको पनि मृत्यु भयो । प्रदर्शनकारीहरु माथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्ने क्रममा अमितलाई दायाँ पाखुरामा गोली लाग्यो । र, केही समय पछि उनको मृत्यु भयो ।
२५ भदौ २०७२ मा जनकपुरमा प्रहरीले चलाएको गोली लागेर १५ बर्षिय नितु यादव, ४३ बर्षिय संजय चौधरी र १३ बर्षिय दिलिप यादव मारिए । जनकपुरको मिल्स एरियाको क्षेत्रमा प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेको बेला झाडीमा लुकेका नितु यादवलाई सशस्त्र प्रहरीले झाडीबाट तानेर ल्याई भुईँमा पछाडेर नजिकबाट टाउकोमा गोली हानेका थिए । उनको घटनास्थलमा नै मृत्यु भयो । त्यसैगरी सदभावना पार्टीका एक सदस्य संजय चौधरी नजिकको घरको बरन्डामा लुकिरहेका थिए । नितु यादवलाई गोली हानेको देखेर भाग्ने क्रममा संजय चौधरीलाई पनि प्रहरीले गोली हाने । चौधरीको पिठ्यूँमा गोली लागेपछि उनी भुईँमा ढले । उनलाई जनकपुर अञ्चल अस्पताल लगियो, तर आधा घण्टा पछि उनको मृत्यु भयो । साईकलमा घर फर्किरहेका बेला प्रहरीको गोली लागेर १३ बर्षिय दिलिप यादवको पनि मृत्यु भएको थियो । जनकपुरको पिडारी चौकमा उनलाई गोली हानिएको थियो ।
२५ भदौ २०७२ मा महोत्तरीको जलेश्वरमा भएको प्रहरी फायरिङ्गमा ४१ बर्षिय रामसिला मण्डल मारिए । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विश्वकर्मा मारिएको समाचार फैलिएपछि जलेश्वरको महेन्द्र चौकमा स्थिति तनावपुर्ण थियो । राष्टिूय प्रजातन्त्र पार्टी नेपालका सदस्य समेत रहेकी रामशिलाले जलेश्वरको शंकर चौकबाट प्रदर्शन हेरिरहेकी थिईन । स्थिति तनावपुर्ण भएपछि प्रहरी पनि आक्रामक हुँदै प्रदर्शनकारी तथा शंकरचौक नजिक रहेका घरहरुलाई लक्षित गरेर एक दर्जन अश्रु ग्यास प्रहार गरे । भीड तितरवितर भईसकेपनि प्रहरीले निरन्तर गोली प्रहार गर्न थाले । सोही बेला रामशिलालाई एउटा गोली उनको निधारमा लाग्यो र उनको घटनास्थलमै मृत्यु भयो ।
२५ भदौ २०७२ मै सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक थमन विक मारिएको केही घण्टा पछि बजराहीका ७१ बर्षिय गणेश चौधरी पनि मारिए । तरकारी तथा सुर्ती किन्नका लागि जलेश्वरको उत्तर तर्फ रहेको रानी रतवारा बजार गएका बेला सशस्त्र प्रहरी बलले विना कुनै चेतावनी दिई हवाई फायर गर्न थाले । तरकारी किन्न बजार गएका गणेश आफ्नो साइकल समातेर घर फर्किने बेला सशस्त्र प्रहरी बलबाट फायर गरिएको एउटा गोली उनको देब्रे आँखामा लाग्यो । र, उनको घटनास्थलमै मृत्यु भयो ।
२९ भदौ २०७२ मा रुपनदेहीको ५२ बर्षिय नन्दनी पाण्डे,पर्साका ४ बर्षिय चन्दन पटेल, १२ बर्षिय रंजन सिंह, ४८ बर्षिय विनोद उर्फ विन्दु कुमार लाखौल, राजकुमार बरई तथा सहवती मुराउ प्रहरी फायरिङ्गमा मारिए । भैरहवाको बेथरी चौकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका संयूक्त प्रहरी टोलीले प्रदर्शनकारीहरुलाई भगाउनका लागि गोली फायर गर्न थाले । पसल बन्द गरिरहेकी नन्दनी पाण्डेको देब्रे तिघ्रामा गोली लाग्यो । गोली लागेको २ घण्टा पछि भैरहवाको यूनिभर्सल कलेज अफ मेडिकल साईन्समा लगियो । भोटीपल्ट उनलाई थप उपचारका लागि भारतको लखनऊ स्थित पिजिआई अस्पतालमा लगियो । तर, उपचार खर्च बेहोर्ने क्षमता नभएका कारण भैरहवाकै अस्पतालमा फर्केपछि उपचारको शिलशिलामा उनको मृत्यु भयो ।
त्यसैगरी प्रहरीको अन्धाधुन्ध फायरिङ्गमा ४ बर्षिय चन्दन पटेलको पनि मृत्यु भयो । उनलाई टाउकोको दायाँ तर्फ कानको माथि गोली लाग्यो । गोली लागेपछि घाइते बालककी आमाले उनलाई बोकेर धान खेतको बाटो भएर सडकसम्म पुर्याइन । त्यसपछि उनले एउटा रिक्सा लिएर उनका श्रीमान काम गरिरहेको फ्याक्टूी गईन । उनको श्रीमानले घाईते बालक चन्दनलाई भैरहवा अस्पताल लिएर गए । बालकको त्यहीँ उपचारको क्रममा मृत्यु भयो । त्यही घटनामा रंजन सिंह पनि मारिन । घटनाको समयमा उनी आफ्नो हजुरबुवाकी घरमा चिया पकाईरहेकी थिईन । स्थानीय बजार अगाडी फायरिङ्ग भईरहेको बेला आफ्नो झयालबाट बाहिर हेर्न लाग्दा उनको घाँटीमा एउटा गोली लाग्यो । र, उनको घटनास्थलमै मृत्यु भयो ।
गोनहा गाविसमा विन्दु कुमार लाकौल त्यसदिन आफ्ना भाईसँग होटेलमा काम गरिरहेका थिए । टूकहरुलाई स्कर्टिङ्ग गरिरहेका प्रहरीहरु माथि ढुङ्गा हान्ने प्रदर्शनकारीहरुलाई खेद्दै सशस्त्र प्रहरी बलको एउटा समुह त्यस होटेल तिर आए । सशस्त्र प्रहरी बलले बिन्दुको वरिपरी अन्धाधुन्ध रुपमा फायरिङ्ग गरे । त्यसपछि फायरिङ्गबाट बच्नका लागि मानिसहरु भागे । विन्दु पनि भाग्ने कोशिश गरे, तब उनलाई दायाँ आँखामा एउटा गोली लाग्यो । उनको घटनास्थलमै मृत्यु भयो । राजकुमार बरई स्थानीय बजारमा तरकारी किनिरहेका थिए ।  त्यही बेला प्रहरीले चलाएको गोली उनको घाँटीमा लाग्यो । घटनास्थलमा नै उनको मृत्यु भयो । त्यही घटनामा सहवती मुराउको पनि मृत्यु भयो । तिनाउ पुल नजिकै रहेको स्थानीय बजारमा तरकारी बेच्न गएकी मुराउको दायाँ आँखामा गोली लाग्यो । उनलाई उपचारको लागि भैरहवा स्थित यूनिर्भसल कलेज अफ मेडिकल साईन्समा सहवतीका श्रीमान र छोराले पुर्याए । एक हप्तापछि उनलाई काठमाण्डौको शिक्षण अस्पताल रेफर गरियो । उपचारको क्रममा एक हप्ता पछि उनको निधन भयो ।
१६ कार्तिक २०७२ मा प्रहरीको गोली लागेर भारतका १७ बर्षिय आशिष राम विरगञ्जमा मारिए । १५ भदौमा विरगञ्ज रक्सौल नाकामा मधेसी मोर्चाले धर्ना दिईरहेको बेला टेन्ट र औछ्याउने सामग्रीहरुमा प्रहरीले आगो लगाईदिए । प्रदर्शनकारीहरुलाई लाठी, मुक्का तथा बन्दुकको कुन्दाले प्रहरीले हिर्काए । १६ भदौमा प्रदर्शनकारी र प्रहरी बीच ढुङ्गा हानाहान भयो । प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै हवाई फायर पनि गर्न थाले । भीड तितरवितर भए । फेरी प्रहरीले गोली चलाउँदा आशिष रामको मृत्यु भयो । आशिष रामको टाउको गोली लागेर क्षतविक्षत भई घटनास्थलमै मृत्यु भएको थियो ।
५ मंसिर २०७२ मा सप्तरीमा भएको प्रहरी फायरिङ्गमा भारदहका २२ बर्षिय विरेन्द्र राम मारिए । पुर्व पश्चिम राजमार्गबाट काठमाण्डौ तथा अन्य भागमा आपुर्ति हुने सामान तथा मानिसहरुको आवागमन रोक्नका लागि प्रदर्शनकारीहरुले राजमार्गमा अवरोध गरिरहेका बेला प्रहरीले सयौं राउण्ड गोली प्रहार गरे । प्रहरीको गोली विरेन्द्र रामको छातीको देब्रे भागमा लाग्यो । उनको घटनास्थलमा नै मृत्यु भयो ।
६ मंसिर २०७२ मा प्रहरीको फायरिङ्गबाट सप्तरी मध्यपुरा जमुनीका २३ बर्षिय नागेश्वर यादव मारिए । पुर्व पश्चिम राजमार्गको अवरोध खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारी बीच भएको झड्पमा प्रहरीले चलाएको गोली नागेश्वर यादवको खुट्टाको माथिल्लो भागमा लाग्यो । गोली लागेपछि उनी भुईँमा ढले । भुईँमा ढलेपछि प्रहरीले नागेश्वर यादवलाई बुटले प्रहार गरेका थिए । गहिरो चोटका कारण उनको पछि मृत्यु भयो ।
६ मंसिर २०७२ मै सप्तरीको राजविराजमा प्रहरीको फायरिङ्गमा ३८ बर्षिय दिलिप साह मारिए । स्थानीय प्रशासनले कफर््यू लगाएको थियो । तर, पनि राजविराजमा प्रदर्शन भईरहेका थिए । प्रहरीले चलाएको गोलीबाट दिलिप साहको निधारमा र उनको छोरी मुस्कानलाई गोलीको छर्रा लाग्यो । उनलाई धरान स्थित विपी कोइराला अस्पतालमा लगियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेका थिए ।
सोही दिन राजविराजमा प्रहरीको पिटाईबाट २१ बर्षिय शिवशंकर दासको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले खेदिरहेको बेला शिवशंकर दास भाग्न खोज्दा प्रहरीले उनको टाउकोमा लाठीले हिर्काए । दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह उपक्षेत्रिय अस्पताल लगियो । पछि धरान अस्पताल पनि रेफर गरियो । उपचारको क्रममा धरानमा उनको गहिरो चोटको कारण उनको मृत्यु भयो ।
५ पुष २०७२ मा रौतहटको गौरमा भएको प्रहरी फायरिङ्गमा १६ बर्षिय मोहम्मद साम्स तवरेज मारिए । विद्यार्थी नेता ललन यादवको गिरफ्तारी विरुद्ध मधेसी मोर्चा आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरिरहेका थिए । प्रहरी र प्रदर्शनकारी बीच झड्प भईरहेको थियो । अचानक फ्रेस चिकेन हाउस नजिक तैनाथ प्रहरीहरु मध्येका एक जना प्रहरीले तवरेजलाई गोली हाने । पेटको दायाँ भागमा गोली लागेका तवरेज भुईँमा ढले । ढलेपछि उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर लाठी तथा बुटले कुटपिट गरे । केही समय पछि प्रहरीले एम्बुलेन्समा उनलाई अस्पतालमा पुर्याए । अस्पताल पुर्याइएको २० मिनेट पछि तवरेजको मृत्यु भयो ।
७ माघ २०७२ मा मोरंगको रंगेलीमा भएको प्रहरी फायरिङ्गमा रंगेली नागरपालिकाकी ५८ बर्षिय द्रोपदी देवी चौधरी, बरडंगा गाविसका ४२ बर्षिय महादेव ऋषिदेव, डाइनिया गाविस ९ का २५ बर्षिय शिबु माझी मारिए । नेकपा एमालेको भगिनी संगठन यूवासंघले कार्यक्रम आयोजना गरेको विरोधमा मधेसी मोर्चाले विरोध प्रदर्शन गरिरहेका थिए । त्यही बेला प्रहरीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको थियो ।


२०७३ फाल्गुन २९ गते आईतबार

No comments:

Post a Comment