Thursday, March 16, 2017

मधेसमा जन्मिएको एमाले ‘मधेसीकै निशानामा’

मधेसका विभिन्न जिल्लाहरुमा नेपालका मधेसी नागरिकले नै
एमालेका नेता तथा कार्यकर्ताहरुलाई कालोमोसो दलेका छन् ।
अजय अनुरागी
जनकपुरधाम............
मधेसमै जन्मिएको, हुर्किएको एमाले व्यस्क भईरहेकै बेला तराई मधेसमा अहिले निशाना बनेका छन् । संकटकालमा छहारी दिने, सुरक्षा दिने मधेसले हुर्काएको त्यही पार्टी एमाले आज मधेसमा असुरक्षित देखिएको छ । मधेसका विभिन्न जिल्लाहरुमा एमालेमा आवद्ध रहेका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई जनताले कालोमोसो दलेका छन्, पार्टी कार्यालयहरुमा आगजनी गरेका छन्, नेता तथा कार्यकर्ताहरु विस्थापित भएका छन् ।
एमालेको संस्थापनले संविधान जारी गर्न, संशोधन नगर्न लिएको अडान र बेला बेला व्यक्त गरिएका शिर्ष नेतृत्वका बक्तव्यहरुका कारण पनि मधेसी जनता एमालेसँग चिढिएको छ । जबकि मधेसको सवालमा एमाले जतिकै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि उत्तिकै जिम्मेवार र कसुरवार रहेको मधेस मामिलाका जानकारहरुको बुझाई छ । मुरिबाबाट राजनीति सुरु गरेका माधव नेपाल जब प्रधानमन्त्री भए र राजीनामा दिईसकेपछि काम चलाउ सरकारको हैसियतमा ३१÷३२ बर्षपछि मुरिबा पुगे, भुमिगतकालको सम्पुर्ण कुरा सम्झे । कसरी आफ्नो ज्यान मुरिबाबासीले जोगाए, पाले, संरक्षण दिए सबै सम्झे । अत्यन्तै खुशी भएर मुरिबा गाउँलाई देशकै नमुना गाउँको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । माधव नेपाल पछि मुरिबामा सेल्टर लिएका झलनाथ खनाल पनि प्रधानमन्त्री भए, केपी शर्मा ओली पनि प्रधानमन्त्री भए तर, मुरिबा गाउँलाई ती नेतृत्वहरुले नमुना गाउँ बनाउन सकेनन् ।
एमालेको भुमिगतकाल देखि नै लागेका
धनुषाको मुरिबाका सांसद राम अवतार पासवान ।

सिपी मैनाली, माधव कुमार नेपाल, झलनाथ खनालले नेतृत्व गरिरहेको बेला भुमिगत अवस्थामा धनुषाकै भुमिमा जन्माइएको तत्कालिन कम्यूनिष्ट कोओर्डिनेशन केन्द्र हाल केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेको अवस्थासम्म आईपुग्दा एमालेका कार्यकर्ताहरु असुरक्षित महसुस गर्न थालेका छन् । आखिर त्यस्तो अवस्था किन आयो ? नयाँ शक्ति पार्टी नेपालका सहसंयोजक रामचन्द्र झा भन्छन,“यो देशलाई जब जब संकट परेको छ, नेताहरुलाई जब जब संकट परेको छ वा भनौं कम्यूनिष्ट पार्टी गठन गर्न, सेल्टर दिन र हुर्काउन आवश्यकता परेको छ तब तब मात्र मधेसलाई खोजिएको छ । विकास, पहुँच, सम्मान, अधिकार, प्रतिनिधित्व आदिको कुरा आउँदा मधेस विर्सन्छन् ।”
स्थापना कालमा ‘सेल्टर मधेस’
धनुषाको सदरमुकाम जनकपुर देखि १८ किलोमिटर पुर्वमा एउटा गाउँ अवस्थित छ, ‘मुरिबा’ । मुरिबासँगै टाँसिएको धबौली स्थित गाउँको विद्यालयमा भारत विहारको घोरबङ्कीका एक जना शिक्षक श्रीनारायण ठाकुर पढाउन आउँथे । भारतको चारु मजुमदारको नक्सलवाडी आन्दोलनबाट प्रभावित उक्त शिक्षक ठाकुर नेपालमा पनि कम्यूनिष्टहरुको संगठन बनाउन चाहन्थे । झापाबाट सिपी मैनालीको नेतृत्वमा नेपालमा पनि नक्सलाइट आन्दोलन सुरु भएको थियो । त्यही क्रममा धबौली, मुरिबा लगायतका गाउँहरुमा गरिब, मजदुर, दलित समुदायका नागरिकहरुलाई कन्भिन्स गर्दै नेपालमा पनि कम्यूनिष्ट राज्य स्थापित भयो भने सर्वहाराहरुको शासन आउने भनि भारतीय शिक्षक ठाकुरले गाउँका मानिसहरुलाई उत्पेरित गर्न थाले । २०२९÷०३० साल तिर उनी मुरिबाको दलित बस्ती ‘दास टोल’ र ‘गोहिवार टोल’मा बढी आनजान गर्न थाले । मुरिबाका असर्फी गोहिवार, रामसुन्दर दास, मनसिव गोहिवारसँग उनको सम्पर्क वढन थाल्यो । राजनीतिक कुराकानी हुन थाले ।
एक दिन ठाकुरले उनीहरुलाई भने,‘ एक जना मान्छे आउनेछन् । उनलाई सेल्टर दिनुपर्छ । किनभने धनी र गरिब बीचको लडाईमा त्यो मान्छेले महत्वपुर्ण भुमिका निर्वाह गर्छ ।’ भारतका एक जना नागरिक रामचन्द्र यादव र नेपाल रौतहटका एक जना पहाडे मुलका व्यक्ति जनकपुरको रेल चढेर महिनाथपुर स्टेशनमा ओर्लिए । मुरिबामा पुगी जगदेव गोहिवार र रामदेव गोहिवार दाजुभाईको घर खोज्दै ती दुई जना त्यहाँ पुगे । त्यतिबेला पञ्चायती व्यवस्थाका सिआईडीहरु पनि आउने गर्थे । त्यसैले मुरिबाका राम अवतार पासवानले सिधा गोहिवारको घर नलगि करिमन राईनको घर पुर्याए । त्यहाँ उनलाई बास बस्ने व्यवस्था मिलाइयो । पछि त्यो भारतीय शिक्षक ठाकुरले आफुले पठाएको मान्छे उनीहरु नै हो भनेर कन्फर्म गरेपछि उनीहरुलाई बास बसाइयो । त्यसरी मुरिबा पुग्ने व्यक्ति थिए अहिलेको एमालेका नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल । भुमिगत राजनीति सुरु भएको थियो । भुमिगत बेला माधव नेपालको उपनाम सिंहजी थियो । रामदेव गोहिवार, रामअवतार पासवान, अशेश्वर दास र अक्षय दासको घरमा दुई चार दिनको अन्तरालमा आलैपालो सेल्टर दिइयो ।
एमालेको जनकपुरस्थित जिल्ला पार्टी कार्यालयमा सुरक्षा दिँदै सुरक्षाकर्मीहरु ।
एमाले नेता तथा सांसद शितल झाको
जनकपुरस्थित निवासमा सुरक्षा दिँदै सुरक्षाकर्मीहरु ।
त्यतिबेला गरिब र धनीको बीचमा चर्को भेदभाव थियो । जातिय छुवाछुत, भेदभाव, भोकमरीले ग्रस्त थिए भुमिहिन मजदुर तथा सर्वहारा वर्गहरु । विद्यमान समाजलाई परिवर्तन गरेर नयाँ किसिमको समाज सिर्जन ागर्नका लागि मुरिबालाई आधारभुमि बनाएर राजनीति गतिविधि सुरुवात भयो । जनकपुरको सरस्वती विद्यालयमा शिक्षक भएर पढाईरहेका मुरिबाका स्थानीयवासी अशेश्वर यादव पनि शिक्षण पेसालाई त्यागेर भुमिगत राजनीतिमा हाम फाले ।
मुरिबामा सिपी मैनाली, उनको श्रीमति सिता खड्का, झलनाथ खनाल, इश्वर पोखरेल, रत्नकुमार बान्तवा, मुकुन्द न्यौपाने, सितल झा आदि नेताहरु भुमिगत भई त्यहाँबाट राजनीति गतिविधि सुरु गरे । धनुषाको मुरिबा, कचुरी, तारापट्टी, यदुकुहा, गोठकोयलपुर, ठेरा, कटरैत, मिथिलेश्वर मउवाही, बटेश्वर आदि भुमिगत राजनीतिको प्रमुख सेल्टर स्थापित भयो । महोत्तरीको खैरमारा जंगलमा लगेर गुरिल्ला तालिम दिइयो । बन्दुक चलाउने देखि कहाँ लडाई लड्ने, कस्तो स्थानमा लड्ने, कुन हतियार प्रयोग गर्ने, गोलीको बर्वादी कसरी हुन नदिने लगायतको विषयमा तालिम दिइएको पासवान बताउँछन् ।
धनुषाको पर्वतामा दुई वटा सरकारी पोखरीहरु कब्जा गरिएका थिए । एउटा पोखरीको माछा जनतालाई दिइएको थियो भने अर्को पोखरीको माछा बेचेर आएको पैसाले हतियार किनिन्थ्यो । तत्कालिन गुरिल्लाका कमाण्डर समेत बनेका पासवान भन्छन,“ धनुषाको रमदैयामै एक जना कालीगढले पेस्तोल बनाउथ्यो । त्यहाँबाट बन्दुक किनिन्थ्यो । गोली भारतबाट ल्याईन्थ्यो । धनुषाको जंगलमा गएर बन्दुक चलाउने परीक्षण गरिन्थ्यो ।”
फेकन विराजीको अध्यक्षतामा असर्फी गोहिवार, राम अवतार पासवान, हविव राईन, रामअशिष पासवान सहित ७ सदस्यीय गाउँ कमिटि बन्यो । नेपालको सवैभन्दा प्रथम कम्यूनिष्ट कोओर्डिनेशन केन्द्रको गाउँ ईकाई कमिटि बनेको थियो । गाउँ इकाई कमिटि गठन भए लगत्तै गाउँमा संघर्ष सुरु भयो । एक जना श्रमजिवि भुमिहिन सुलेमान राईनको बाख्रा गाउँका एक जना किसानको खेतमा घाँस चरेपछि किसानले गिद्धामा जिम्मेदारको सुरक्षाका लागि खटाइएका प्रहरीमा गएर उजुरी गरे । गाउँमा सुलेमानलाई खोज्दै ५÷६ जना पुलिस आए । राईनलाई खोज्दै सरपञ्च कहाँ लग्ने भनेर पुलिसले लगे । बास्तवमा सरपञ्च कहाँ लग्ने पुलिसको योजना थिएन । पुलिसले आफ्नो क्याम्पमा लान खोजेका थिए । त्यसपछि राम अवतार पासवान, उनको आमा पचिया देवी पासवान, श्रीमति बेचनी देवी पासवान, लगायत गाउँका दर्जनौं लडाकु दस्ताहरुले प्रहरीलाई घेरा हाले । घरेलु हतियार सहित पुगेका उनीहरुले प्रहरीको राईफल समेत खोसेर सुलेमान राईनलाई प्रहरीको गिरफ्तबाट उम्काए । हतियार फिर्ता गरियो । त्यसको भोली पल्टै गाउँमा माधव कुमार नेपाल, इश्वर पोखरेल, झलनाथ खनाल, सिपी मैनाली लगायतका नेताहरुको बैठक बस्यो । अब के गर्ने ? प्रहरीले बदला लिन्छ, भाग्ने वा लडाई लड्ने भन्ने चर्चा भयो । डटेर मुकाविला गर्नुपर्छ भन्ने निर्णय भयो ।
उक्त घटनाका साक्षी समेत रहेका अहिलेका नेकपा एमालेका धनुषाका सांसद राम अवतार पासवान भन्छन,“ नेताहरुलाई विभिन्न घरमा लुकाइयो । माधव नेपाल र सिता खड्का मेरो घरमा लुके । म खेतमा हलो जोत्न गएँ । नभन्दै करिब १ सय ५० जना प्रहरीले गाउँ घेरा हाली घर घरमा खान तलासी गर्न थाले । माधव नेपाललाई धोती लगाएर अनवर राईनको घरमा पठायौं । सिता खड्कालाई साडी लगाई ढिकीमा केही आईमाईसँगै धान कुटाउन लगाएँ ।” माधव नेपाल धान राख्ने माटोको भकारी (कोठी)मा लुके । तर, राजनीतिक रुपले शिक्षित नभएका महिलाले बाहिर पुलिसलाई गएर के भनिदिए भने कोठीमा धान हुन्छ तर मेरो कोठीमा त धान नभएर मान्छे छ । पुलिस घरमा पसेर कोठी फुटाल्न लाग्दा माधव नेपाल फर्सा लिएर बाहिर निस्के । माधव नेपाल भाग्न थाले । इन्सपेक्टरले गोली पनि चलायो । तर, गोली लागेन । अन्ततः माधव नेपाल पक्राउ परे । उनीसँगै मुरिबाका फेकन विराजी, राम अवतार पासवान, सुन्दर पासवान, कारी पासवान, वजिर पासवान पक्राउ परे । उनीहरुलाई यदुकुहा थानामा रातभर राखियो । भोली पल्ट रेल मार्फत जनकपुर स्थित एसपी कार्यालयमा ल्याइयो । उनीहरुलाई चरम यातना दिइयो । एउटै कोठामा सबैलाई थुन्थे । तुरुङ्गमा राखिन्थ्यो । पालैपालो सबैलाई बयानका लागि बोलाइन्थ्यो, सबैलाई निर्मम यातना दिइन्थ्यो ।
पासवान भन्छन,“ बयानमा हामीलाई एउटै प्रश्न सोधिन्थ्यो, माधव नेपाललाई चिन्छौ कि चिन्दैनौं ? हामी भन्थ्यो, चिन्दैन । माधवलाई पनि सोधियो तिनीहरुलाई चिन्छौ, जवाफमा चिन्दैन भन्थे । कसरी पुग्यौ त्यो गाउँमा भनेपछि बाहिरबाट आईरहेको थिएँ, बाटोमा पुलिसले समात्यो भनेर माधवले जवाफ दिए । यहाँसम्म कि हामीले आफ्नो खाना माधवलाई दिँदा समेत पुलिसले कुटपिट गर्थे ।” १०÷१२ दिन पछि माधव नेपाल, फेकन विराजी र हविव राईनलाई दुई बर्षको लागि जलेश्वर कारागार पठाइयो । अरु रिहा भए ।
उक्त घटना पछि गाउँमा तीब्र घृणा सुरु भयो । ५÷७ जना गरी तीन वटा गुरिल्ला दस्ता तयार थियो । जमिन्दारहरुलाई सफाया गर्ने, पुलिस आउँदा पुलिसको राईफल खोस्ने, पुलिसलाई मार्ने भन्ने रणनीति बन्यो । २०३३ भदौमा मुरिबाका जमिन्दार केदार विराजीलाई सफाया गरियो । गाउँमा वारन्ट भयो, धेरै मान्छे भागाभाग भए । राज्य र पञ्चका लठैतहरुबाट दमनको क्रम बढ्न थाल्यो । जवाफमा २०३३ भदौ १० गते प्रहरीले गाउँ घेरा हाली गोली प्रहार गरी गुरिल्ला दस्ताका रामपृत यादवलाई मारे । हुन त अशेश्वरलाई खोज्दै गएका थिए प्रहरी । तर, उनका भान्जा रामपृत मारिए । किनभने अशेश्वर भकारीमा लुकेका थिए । रामपृत मारिँदा झलनाथ खनाल कचुरीमा थिए । सिपी मैनाली झापामा पक्राउ परेका थिए । संघर्ष बढ्दै गयो । सोही क्रममा ती लडाकु दस्ताहरुले तारापट्टीका जमिन्दार इश्वर साह र नौसय विघाका भुईलेटन यादव पनि मारिए । अर्को तर्फ लडाकु दस्ताका सिरसियाका भोला साह र नौसय विघाका झपसी मण्डल पनि मारिए ।
दुई बर्ष पछि माधव नेपाल जेलबाट रिहाई भएपछि धनुषाको ठेरा कचुरीमा पुगे । त्यहाँ स्थानीय चुलाई महराको घरमा बैठक बसेर जिल्ला कमिटि गठन गरी कार्य विभाजन गरियो । २०३४ साल तिर माधव नेपालकै अगुवाईमा राम अवतार पासवान, इश्वर पोखरेल, राम लखन महतो, योगेन्द्र साह, रामकरण महतो लगायतको जिल्ला कमिटि धनुषा गठन गरिएको थियो । देशैभरी बर्ग संघर्ष हुन थाल्यो । जमिन्दारहरुको विरुद्धमा कम्यूनिष्ट पार्टीको लहर बढ्न थाल्यो । खासगरेर दलित समुदायमा वढी प्रभाव पर्यो ।
सिपी मैनाली लगायत १०÷१२ जना पक्राउ परेपछि चन्द्रगिरी जेलमा राखिएको थियो । २ सय ६० फिटको सुरुङ्ग खनेर जेल ब्रेक गरी मैनाली लगायतलाई रिहा गर्ने रणनीति तय भयो । इश्वर पोखरेलको कमाण्डमा धनुषाबाट मुरिबाका राम अवतार पासवान, धबौलीका रामअवतार मण्डल, गोठ कोयलपुरका रामविलास मुखिया र गिद्धाका सौखीलाल मण्डल सहित एक महिनासम्म सुरुङ्ग खन्ने काम गरे । पासवान भन्छन,“ दुई सय फिट जति सुरुङ्ग हामीले खनिसकेका थियौं । तर, पुलिसले उनीहरुलाई त्यो जेलबाट काठमाण्डौ स्थानान्तरण गर्यो । हाम्रो योजना असफल भयो । त्यसपछि ४ दिन सम्म म र रामअवतार मण्डल झापाबाट हिँड्दै भोकै पे्ट घर फर्केका थियौं ।”
नेकपा एमाले परित्याग गरी माओवादी हुँदै अहिले नयाँ शक्ति पार्टी नेपालका
सह–संयोजक रामचन्द्र झा ।
एमालेको संगठन विस्तार तथा पकड
नेकपा माले, नेकपा चौथो, मसाल हुँदै बाममोर्चा भयो । जनमत संग्रह हुँदै २०४६ सालको आन्दोलनसम्म आईपुग्दा धनुषाको नेतृत्व संयूक्त बाममोर्चाको तर्फबाट रामचन्द्र झाले गरे । २०४६ सालको आन्दोलनमा रामचन्द्र झा लगायतका बामपन्थी नेताहरु प्रहरीबाट कुटाई पनि खाए । कतिपय पक्राउ परे । बहुदलको घोषणा भयो । संविधान बन्यो । त्यसपछि २०४८ सालमा भएको आम निर्वाचनमा तराई मधेसमा बामपन्थीको पराजय भयो ।
मदन भण्डारीले तराईमा पराजयको कारण खोतल्न समिक्षा गरे । रामचन्द्र झाले पार्टीमा तराई मधेसबाट नेतृत्व विकसित गर्न नसकिएको कारण पराजय भएको बताएपछि मानन्धर समुहबाट सितानन्दन राय, महेन्द्र यादव, जितेन्द्र देव लगायतका नेताहरुलाई ल्याइयो । पार्टीमा धु्रविकरण बढ्न थाल्यो । २०४९ सालमा स्थानीय निर्वाचन भयो । इश्वर पोखरेल जनकपुर अञ्चल इन्चार्ज थिए । रामचन्द्र झालाई वार्डमा उठाइयो । माचीझिट्कैयाको ७ नम्बर वडामा जितेपछि झा जिल्ला सभापतिमा उठे । तर, उनी पराजित भए । उक्त चुनावमा धनुषामा मात्रै एमालेले ३१÷३२ वटा गाविसमा जित हात पारेको थियो ।
लगत्तै २०५१ सालमा मदन भण्डारीको हत्या भयो । रामचन्द्र झा जिल्लामा तीन पटक सम्म सचिव भईसकेका थिए । ५१ औं सालको चुनावमा धनुषाको क्षेत्र नं. १ बाट रामचन्द्र झा र ५ नम्बर क्षेत्रबाट रामलखन महतो जितेका थिए । २०५४ सालमा स्थानीय निकायको चुनाव हुँदा झाको क्षेत्र नं. १ बाट १४ वटा गाविस गरी जिल्लामा कुल ६० वटा गाविस जित्नुका साथै जिल्ला सभापतिमा रामचरित्र साह र उपसभापतिमा चन्द्रदेव राउत जितेका थिए । यसरी हेर्दा धनुषासँगै तराईका विभिन्न जिल्लाहरुमा एमालेको पकड राम्रो हुँदै गएको थियो । कांग्रेस र राप्रपा नेताहरुको गढको रुपमा चिनिएको धनुषामा एमाले निम्न बर्ग तथा दलित, मजदुर, सर्वहारा वर्गको लागि दरिलो विकल्पको रुपमा उभ्रिएको थियो ।
मधेसमा कमजोर हुँदै जानुको कारण
मदन भण्डारी जीवित रहेकै बेला तराईको नेतृत्व विकासको अवसर र समस्याको मिहिन अध्ययनका लागि एमाले भित्र अलग्गै एउटा तराई सेक्सन राख्ने भण्डारीको सोच थियो । मोदनाथ प्रश्रितले जाती, भाषा, संस्कृतिलाई समेटेर पार्टीको आधिकारिक दस्तावेज प्रस्तुत गरेका थिए । रामचन्द्र झा भन्छन,“ फरक दस्तावेज प्रस्तुत गर्न मलाई मदन भण्डारीले भन्नु भयो । मैले फरक प्रस्ताव लेखें र धनुषाकै नेता योगेन्द्र साहले प्रस्तुत गरे ।” साहले प्रस्तुत गरेको फरक दस्तावेज महाधिवेशनमा लगेर पास गराउनका लागि एउटा कार्यदल बनेको थियो । मोदनाथ प्रश्रित, प्रदिप नेपाल, सुभाष नेम्वाङ्, राजेन्द्र श्रेष्ठ, हेमराज राई आदि कार्यदलका सदस्य थिए । भाषिक, सांस्कृतिक तथा जातिय विभेदको अन्तयका लागि प्रादेशिक शासन व्यवस्था नै ठोस समाधान रहेको भनेर प्रतिवेदन तयार भयो । तर, प्रदिप नेपालले विरोध गरेपछि प्रतिवेदन पास हुन सकेन । त्यसपछि तराई समस्या अध्ययनका लागि प्रश्रितकै संयोजकत्वमा सलिम मियाँ अन्सारी, जितेन्द्र देव, रामचन्द्र झा, महेन्द्र राय, महेश चौधरी, सितानन्दन राय सहितको अर्को कार्यदल बनेको थियो । तराई मधेसका विभिन्न सहरहरुमा गएर अन्तरक्रिया गरी राय सुझाव लिएर प्रतिवेदन बनाउने तय भएको थियो । विराटनगर, राजविराज, जनकपुरमा अन्तरक्रिया गरी विरगञ्जमा गएपछि सुवोध राज प्याकुरेल, सुमन प्याकुरेल, बाल गोपाल थापा आदिले विरोध गरे । झा भन्छन,“ पार्टीले बर्ग संघर्ष लगायतका अन्य मुद्दाहरु छोड्यो र जातीय मुद्दा उठायो भन्दै उहाँहरुले विरोध गर्नु भयो । पार्टी भित्र मधेसका मुद्दाहरुलाई लिएर क्रमशः दुरी बढ्दै गयो ।” लगत्तै राजा ज्ञानेन्द्रको निरंकुश शासन आएपछि लोकतन्त्रको आन्दोलन प्राथमिकतामा पर्यो र मधेसका मुद्दाहरु गौण हुन थाले ।
मधेसमा नागरिकताको समस्या प्रमुख समस्याको रुपमा देखिएको थियो । रुपन्देहीका सांसद धनपती उपाध्यायको अध्यक्षतामा २०५२ सालमा नागरिकता वितरण गर्ने एउटा आयोग बनेको थियो । एमालेका नेता जितेन्द्र देव पनि आयोगमा सदस्य थिए । तर, सर्बोच्च अदालतमा मुद्दा परेपछि नागरिकता वितरण हुन सकेन । २०५६ सालको चुनावमा कांग्रेसको बहुमत थियो । कानुन बनाएरै नागरिकताको समस्या समाधान गर्ने कुरा आएपछि कानुन प्रतिनिधि सभामा पास भयो तर अपरहाउसमा एमालेको दलका नेता यूवराज ज्ञवाली र सुभाष नेम्वाङ्गले फेल गराईदिए । दरबारमा राजा कहाँ रोक्न पठाइयो, लालमोहर नलगाई ।
त्यसपछि एमालेको केन्द्रिय कमिटिमा नागरिकताको बहस भयो । झा भन्छन,“ मधेसमा खास गरेर दलित समुदायमा बुवा, बाजे, छोरा, नाती कसैको पनि नागरिकता थिएन । त्यसकारण मैले बुवाको नागरिकता नभए पनि नागरिकता दिनुपर्ने अडान राखेपछि मधेसकै नेता महेन्द्र यादवलाई पार्टीले उचालेर फेल गराए । बुवा विना नागरिकता दियो भने भारतीयहरु आउँछन् र नागरिकता लिने छन् भन्दै विचार यादव मार्फत राख्न लगाएर समस्या समाधान गर्नुको साटो बल्झाइयो ।”
सिरहाको लहान स्थित एमालेको
पार्टी कार्यालयका सामानहरु जलाईदै ।
२०५४ सालमा स्थानीय निकायमा नेकपा एमालेको बहुमत आएको थियो । काठमाण्डौ महानगरपालिका, जनकपुर, राजविराज नगरपालिका, धनुषा र सप्तरीको जिविस लगायतमा  एमालेको जित भएको थियो । मात्री भाषामा नै स्थानीय निकायमा कामकाज संचालन गर्ने निर्णय गरियो । बालकृष्ण पन्थीले सर्बोच्च अदालतमा मुद्दा गरे र नेपाली भाषा बाहेक कुनै पनि भाषामा कामकाज गर्न नपाउने सर्बोच्चले फैसला गर्यो । एमालेको तत्कालिन प्रचार विभाग प्रमुख प्रदिप नेपालले सर्बोच्चको फैसलालाई स्वागत गरे । झा भन्छन,“ एमालेकै नेताहरुको नेतृत्वमा रहेको स्थानीय निकायले गरेको निर्णयलाई स्वागत नगरी अदालतको फैसलालाई स्वागत गरेर पार्टीले डब्बल स्टयान्डर्डको भुमिका निर्वाह गर्यो ।”
राजा ज्ञानेन्द्रले निरंकुश शासन चलाएपछि दोस्रो जनआन्दोलन उठाउनु थियो । १९ माघ पछि एक सय जना पनि काठमाण्डौमा ओर्लिने अवस्था थिएन । महासचिव माधव कुमार नेपाल नजरबन्दमा परेका थिए । केशव बडाल मध्यमाञ्चल व्यूरो इन्चार्ज थिए । झाको छोराको दुर्घटनामा परी निधन भएको थियो । अनि झलनाथ खनालले तराईबाट आन्दोलन नउठुनजेल काठमाण्डौमा आन्दोलन नउठने भएकाले तराईमा आन्दोलन उठाउन झालाई निर्देशन दिए । अनि झाले पनि अडान राखे कि संघीयता, समानुपातिक समावेशी आदि मुद्दामा पार्टी प्रतिबद्ध हुनुपर्यो । जनकपुरको गोपाल धर्मशालामा माधव कुमार नेपालले मधेसको मुद्दामा प्रतिबद्ध रहेको बताए । पार्टीले संघीयतालाई सिधा स्वीकार नगरेर राज्य पुनर्संरचना गर्ने, राज्य पुनर्संरचना नै संघीयता हो भन्यो । आन्दोलन उठ्यो । राजा विस्थापित भए । गणतन्त्र आयो । अन्तरिम संविधान बनाउनका लागि एमाले भित्र भरत मोहन अधिकारीको अध्यक्षतामा भीम रावल, रघुजी पन्थ, प्रदिप ज्ञवाली सहितको कार्यदल बन्यो । झा भन्छन,“ मैले मुल प्रस्तावनामा नै गणतन्त्र, संघीय शासन प्रणाली, समानुपातिक समावेशी प्रणाली लेख्न भनें । तर, भीम रावलले मानेनन् । भरत मोहन अधिकारी भीम रावलको कुरामा पनि अँ अँ भन्थे र मेरो कुरामा पनि । तर, अहिले लेख्ने विषय होइन भनेर इन्कार गरियो । संविधान सभाबाट त्यो कुरा लेख्ने, अन्तरिम संविधानमै किन लेख्नुपर्यो  भनेर मानिएन । अनि मैले प्रष्ट भनें कि यो संविधान मधेसले स्वीकारदैन ।”
झा थप्छन्, ‘मैले बोलेको कुरा त्यतिबेलाको माइनुटमा त लेख्न दिइएन तर बहस नोट कमिटिले नोट गरेको रेकर्ड एमालेसँग अहिले पनि यथावतै होला, हेर्न सकिन्छ ।’ अन्तरिम संविधान जारी भयो । संविधान जलाइयो र मधेसभर आन्दोलन भयो । त्यो आन्दोलनमा जनकपुरमा आएर झा पनि सहभागी भए । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री थिए र एमालेका केपी शर्मा ओली उपप्रधानमन्त्री थिए । बामदेव गौतमले एमाले नेता रघुविर महासेठको उक्साहटमा लागेर झालाई कारवाही गर्नुपर्छ भन्दै स्थायी कमिटिमा प्रस्ताव राखे । झा भन्छन,“ एमाले महासचिव माधव नेपालले मलाई फोन गरेर कारवाही गर्नुपर्छ भनेर स्थायी कमिटिमा प्रस्ताव राखिएको छ । अनि जवाफ दिँदै भने म जनताको भावनासँग छु, कारवाही गर्नुछ भने गर्नुस, म जनताको एजेण्डाबाट टाढा बस्दैन ।” उक्त स्थायी कमिटिको बैठकमा झाको कारवाहीको प्रतिवाद गरेका थिए । बडालले के भनेका थिए भने अहिले तराईमा सबै ठाउँमा एमालेको पार्टी कार्यालय जलाइएको छ, जनकपुरमा जलेन । झालाई कारवाही गर्यो भने सबै पार्टी कार्यालयहरु जल्छ । त्यसपछि झालाई कारवाही गरिएन ।
मधेस आन्दोलन २२ बुँदे हुँदै ८ बुँदे सम्झौतामा सम्पन्न भएपछि संविधान सभाको पहिलो चुनाव भयो । एमाले अध्यक्ष झलनाथ खनालले रामचन्द्र झाको अध्यक्षतामा मंगलसिद्धी मानन्धर सहितको राज्य पुनर्संरचना समिति बनायो । उक्त समितिले शेर्पाको लागि एउटा गरी कुल १५ प्रदेशको प्रतिवेदन बुझाएको थियो । तर, केपी ओलीले बखेडा झिकेपछि केन्द्रिय कमिटिमा उक्त प्रस्ताव पास हुन सकेन । सभामुख सुभाष नेम्वाङले संविधान सभामा लग्नै दिएनन् । रामचन्द्र झा थप्छन्,“ एमाले भित्र राज्य पुनर्संरचना आयोग बनाउनुपर्छ भन्दै नयाँ प्रस्ताव ल्याए । आयोग पनि बन्यो । बहुमतले पास गरेको प्रतिवेदन लागु गर्नुपर्छ भनेर मैले दुई तिहाई भन्दा वढी ४ सय २२ जनाको हस्ताक्षर गराएर दिएको थिएँ । सभामुख नेम्बाङले पास गर्न मानेनन् ।”
पार्टीमा प्रतिनिधित्वको सवाल
जनकपुरमा सम्पन्न भएको अधिवेशनबाट सिता नन्दन राय, महेन्द्र यादव, जितेन्द्र देव लगायतका नेताहरु केन्द्रिय कमिटिमा पराजित भए । सितानन्दन राय एक मात्र एमाले भित्र मधेसी नेता थिए जो पोलिट व्यूरोसम्म पुगेका थिए । अधिवेशनमा पराजित भएपछि उनीहरु पार्टी परित्याग गर्दै मधेस केन्द्रित राजनीतिक दलमा सहभागी भए । एमालेको उच्च तहका पोलिट व्यूरो, स्थायी कमिटि र पदाधिकारीहरुमा मधेसीलाई नराख्नुले पनि एमाले प्रति मधेसी नेताहरु असंतुष्ट रहँदै आएका थिए । जनकपुर अधिवेशनमा केन्द्रिय कमिटिमा रामचन्द्र झा र वैकल्पिक केन्द्रिय कमिटिमा रत्नेश्वर लाल गोइत मात्र निर्वाचित भएका थिए । एमालेको नीति नै के देखिन्छ भने मधेसी नेताहरुलाई एउटा तहसम्म लग्ने र त्यस भन्दा माथि नउठ्न दिनका लागि अन्तरसंघर्ष गराउने । परिणाम स्वरुप कोईपनि माथि जान सक्दैनन् ।
बुटबलमा सम्पन्न भएको ७ औं महाधिवेशनमा पदाधिकारीमा सचिवमा मधेसी उम्मेदवारलाई पराजित गराइयो । रघुविर महासेठ र रामचन्द्र झा एउटै पदमा भीडेपछि पराजित भए । हुन त झालाई पोलिट व्यूरोसम्म लगियो तर स्थायी कमिटि वा पदाधिकारीमा नलगेपछि अन्ततः झा पनि एमाले परित्याग गरी माओवादी हुँदै अहिले नयाँ शक्तिमा सह संयोजक छन् ।
एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा लालबाबु पण्डितले माधव नेपाल प्यानलबाट र धर्मनाथप्रसाद साहले ओली प्यानलबाट प्रतिस्पर्धा गरेका थिए । तर, पाँचै उपाध्यक्ष खुला प्रतिस्पर्धा हुँदा बामदेव गौतम, विद्या भण्डारी, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जस्ता नेतासँग उनीहरु टिक्न सकेनन् र पराजित भए । यदि आरक्षण गरिएको भए दुईमध्ये एक उपाध्यक्ष हुने थिए ।
त्यस्तै सचिवमा पनि एमालेका चर्चित मधेसी नेता रघुवीर महासेठ पराजित भए । बिधानको त्रुटीकै कारण एमालेका १५ जना पदाधिकारीमा एकजना पनि मधेसी नेता जित्न सकेनन् । त्यसले गर्दा एमालेमा मधेसीलाई स्थान छैन भन्ने अनुभुति भयो । एमालेको नवौं महाधिवेशनमा पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको स्वतः उम्मेदवार बन्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार लालबाबु पण्डित उपाध्यक्ष हारे पनि केन्द्रीय सदस्य जिते । तर धर्मनाथ साह र रघुवीर महासेठ केन्द्रीय सदस्यमा पनि पराजित भए । मधेसीका लागि छुट्याइएको आरक्षण कोटा बाहेक खुलातर्फ नागेन्द्र चौधरी र लालबाबु पण्डितमात्र केन्द्रीय सदस्य बने । धेरै मधेसका स्थापित नेता केन्द्रीय सदस्यमै पराजित भएपछि एमालेमा मधेसीको प्रतिनिधित्व कम भयो । मधेसकै एमाले नेताहरु पार्टी्भित्र निराश बन्दै निष्कृय हुन थाले । एक वर्षअघि केन्द्रीय सदस्य मनोनयनमा पनि मधेसी नेताहरु परेनन् । जुली महतोलाई विद्या भण्डारीले मनोनयन गर्न खोज्दा पनि विवाद भयो ।
अभियान सफल पार्न एमालेद्वारा केन्द्रिय कमिटि विस्तार
एमालेको केन्द्रिय कमिटिमा २० जना मधेसी र थारुलाई थपेर २ सय ७ सदस्यीय केन्द्रिय कमिटिमा मधेसी र थारुको संख्या ३७ पुर्याएर नेकपा एमालेले २१ फागुन देखि मेची महाकाली अभियान सुरु गरेका छन् । नेकपा एमालेले अकस्मात केन्द्रीय कमिटीको संख्या विस्तार गरेको छ । झापाको बिर्तामोडमा २० फागुनको राति बसेको स्थायी कमिटीको बैठकले एकैपटक २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा सामुहिक प्रवेश गराएको छ । एमालेको केन्द्रीय कमिटी हाल वैकल्पिक सहित १८५ सदस्यीय थियो । २० जना थपिएपछि अब केन्द्रीय कमिटी २०५ सदस्यीय बन्न पुगेको छ । यसअघि केन्द्रीय कमिटीमा मधेसी र थारुको प्रतिनिधित्व १७ जना मात्रै रहेकोमा अब ३७ पुगेको छ ।
मेची(महाकाली अभियान सुरु गर्नुअघि एमालेले एकैचोटि २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थपेको हो । बिर्तामोडमा बसेको एमालेको स्थायी कमिटी बैठकले १२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । त्यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् । यीमध्ये महासेठ, झा, गोइत र महतो धनुषा जिल्लाका हुन् । धर्मनाथ साह, धर्मनाथ यादव , रामचन्द्र यादव र गंगा यादव सिरहाका हुन् । त्यस्तै रामदयाल मण्डल महोत्तरीका हुन् भने  तेली पर्सा र बैठा सर्लाहीका हुन् ।
त्यसैगरी बैठकले ८ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरिएको छ । वैकल्पिक केन्द्रीय सदस्य हुनेमा नारदमणि राना थारु, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । साथै बैठकले कैलालीका हनुमान चौधरी र मायाराम चौधरीलाई  केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेको छ ।
केन्द्रीय सदस्यमा मनोनित भएका रघुवीर महासेठ गत महाधिवेशनमा पार्टीको सचिवमा उठेर पराजित भएका नेता हुन् । गत संविधानसभामा उनी धनुषा क्षेत्र नम्बर ५ बाट पूर्वराष्टूपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवसँग थोरै मतले पराजित भएका थिए । महाधिवेशनमा हारेका कारण केन्द्रीय कमिटीमा छुटेका महासेठ मनोनयनमा परेका हुन् । महासेठकी पत्नी जुली महतो पनि बैकल्पिक केन्द्रीय सदस्य बनेकी छिन् । उनी गत संविधानसभा चुनावमा धनुषा क्षेत्र नं ३ मा विमलेन्द्र निधीकी निकटतम प्रतिद्वन्द्वी हुन् । त्यसैगरी केन्द्रीय सदस्यमा मनोनित भएका सिरहाका धर्मनाथ साथ पनि गत महाधिवेशनमा पराजीत भएका थिए । महाधिवशेनमा साह उपाध्यक्षमा उठेर पराजीत भएका थिए ।
त्यस्तै केन्द्रीय सदस्यमा मनोनित रत्नेश्वर गोइतको कथा पनि रोचक छ । उनी एमालेका पुराना नेता हुन् । तर, उनी एमाले छाडेर केही समय मधेसी जनअधिकार फोरममा  लागेका थिए । दोस्रो संविधानसभा अघि उनी एमालेमा फर्किए । दोस्रो संविधानसभामा रत्नेश्वर गोइत सूर्य ध्वजा लिएर धनुषा १ मा चुनाव लडेका थिए, जहाँ उनले ४१७५ मतका साथ चौथो स्थान हासिल गरे । त्यसैगरी बैकल्पिक केन्द्रीय सदस्यमा परेका मध्ये शान्ता चौधरी पूर्व सांसद एवं कमैया आन्दोलनको चर्चित नाम हो । त्यस्तै सरोज यादव अखिलको सचिव भइसकेका युवा नेता हुन् भने सुधीर साह अखिलका पूर्वउपाध्यक्ष हुन् ।
एमालेले हालसालै गरेको मनोनितको सवालमा नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा भन्छन,“ एमालेले अहिले गरेको मनोनयन ढिलो भएको छ । पाउनुपर्ने ती सबै योग्य व्यक्तिहरुले पहिले नै पाउनुपथर््यो । तर, अहिले त झन् पदलोलुप्ताको दाग लागेजस्तो भयो । अहिलेको सम्मान व्यक्तिलाई भयो । मधेसी समुदायलाई भएन । त्यसका लागि पदाधिकारी देखि विभिन्न तहमा क्लस्टरवाइज आरक्षण गर्नुपर्दछ ।”

२०७३ फाल्गुन २९ गते आईतबार

No comments:

Post a Comment