Thursday, December 17, 2015

कसरी बिथोलियो नबलपुरको सभा ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सर्लाहीको नवलपुरमा १७ मंसिर, बिहीबार आयोजित मधेसी मोर्चाको सभामा गोली चल्दा करिब २० जना घाइते भएका छन् । जसमध्ये पाँच जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा तथा सिमावर्ती भारतको अस्पतालहरुमा पठाइएको छ । प्रहरीले सभा विथोल्न गोली चलाएको मधेसी मोर्चाले आरोप लगाएको छ । सदभावना अध्यक्ष राजेन्द्र महतो सभालाई सम्वोधन गर्न जाँदै गर्दा सभास्थलमा प्रहरीले गोली चलाएर विथोलेको मोर्चाको आरोप छ ।
महतो ढल्केबरबाट मोटरसाइकल चढेर नवलपुर जाँदै थिए । उदघोषकले मञ्चबाट राजेन्द्र महतो सभालाई सम्वोधन गर्न आउँदै हुनुहुन्छ भनिरहँदा एक्कासी गोली चलाएको मोर्चाको आरोप छ । उनी कार्यक्रम स्थलभन्दा झण्डै एक किलोमिटर टाढा जुटपानी आइपुगेकाबेला गोली चलेको थियो । गोली चलेपछि भागाभाग भएको थियो । मधेसी मोर्चाले सर्लाहीको लालबन्दीमा आमसभा गर्ने कार्यक्रम थियो तर सर्लाहीको सभा स्थगित गरी नवलपुरमा सारिएको थियो । झण्डै साढे दुई किलोमिटर परसम्म सडकभरि मोर्चाका कार्यकर्ताहरु जम्मा भएका थिए ।
कसरी विथोलियो सभा ?
आक्रोशित भिडले राष्ट्रिय मानव अधिकार आयोगको गाडी जलाए पछि ।
राजमार्ग क्षेत्रमा अवरुद्ध गर्न पाइँदैन भनेर प्रहरीले विरोध सभा सुरु हुनु अघि पटक पटक अवरोध गरेको थियो । त्यसकारण सभाका लागि मञ्च पनि बनाउन सकिएको थिएन । हजारौंको संख्यामा उपस्थित भएका उल्लेख्य भिडलाई सम्बोधन गर्न साउण्ड समेतको व्यवस्था गरिएको थिएन । किनभने उक्त कार्यक्रम हुनै नदिने पक्षमा प्रहरी पनि थियो । जुटपानी स्थित विद्यालयमा एकत्रित भई नवलपुरमा जम्मा भएका मधेशी मोर्चाका कार्यकर्ता तथा सर्वसधारणहरुको उल्लेखय भिड थियो । नवलपुर स्थित राजमार्गको विचमै मञ्च बनाएर सुरु गरेको विरोध सभालाई विथोल्न चुरेभावर राष्टिूय एकता पार्टीका कार्यकर्ताहरु पनि सक्रिय थियो । सोहि मिसन अनुसार चुरेभावरका केहि कार्यकर्ताहरु भिडमा घुसेर उच्छृंखल क्रिया कलाप गरेको मधेशी मोर्चाको आरोप छ ।
त्यतिकैमा मोर्चाको सभामा सहभागी हुनका लागि नवलपुर तर्फ आईरहेका मधेसी मुलका नागरिकहरु चढेको दुई वटा मोटरसाइकल लालबन्दीमा चुरे भावरका कार्यकर्ताहरुले जलाईदिएको थियो । उक्त सन्देश नबलपुरमा पुग्दा भिड आक्रोशित भएका थिए । तर, मोर्चाका नेताहरुले उक्त भिडलाई संयम बनाउन सफल भएका थिए । कार्यक्रम हुनु एक दिन अघि नै इलाका प्रहरी कार्यालय हरिपुरमा स्थानीय प्रशासनले मोर्चा, एमाओवादी, एमाले लगायत सर्बपक्षिय वैठक बोलाई कार्यक्रम नबलपुरको चौकबाट एक किलोमिटर पश्चिम गर्ने सहमति गराएका थिए । तर, मोर्चाले कार्यक्रम राजमार्ग मै गरेका थिए । हुन त चुरेभावर र मोर्चा बीच मुठभेड हुन सक्ने सम्भावनालाई लक्षित गर्दै स्थानीय प्रशासनले नबलपुरमा व्यापक सुरक्षाकर्मी परिचालन गर्नुका साथ साथै नबलपुर पुग्ने ३ वटै नाका तिर समेत प्रहरीले चेक पोष्ट लगाएका थिए । तर, पनि चुरे भावरका कार्यकर्ताले मञ्चतिर पुगेर आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले सयौं राउण्ड अश्रु ग्यास, हवाई फायर र रब्बरको गोली चलाएका थिए । प्रहरीले उक्त गोली मञ्चमा आक्रमण गर्न आइरहेका चुरे भावरका कार्यकर्तालाई लक्षित नगरी मोर्चाका कार्यकर्ताहरु तर्फ भिडमै लक्षित गरेका कारण ठुलो भागदौड मच्चियो ।  चुरे भावरका कार्यकर्ता जंगलको बाटो हुँदै भागे भने विभिन्न स्थानबाट आएका भिड भाग्न असफल भईरहेको थियो । किनभने सडकमा भाग्ने अवस्था थिएन । कतिपय मानिसहरु भागदौडमा लडेर पनि घाइते भएका थिए ।
यसअघि गत मंसिर ८ गते मोर्चाका कार्यकर्ताहरुले सर्लाहीको फुलजोड स्थित राजमार्गमा सडक अवरोध गरिरहँदा चुरे भावरका कार्यकर्ताहरुले धर्ना दिईरहेका ती मोर्चाका कार्यकर्ताहरुलाई आक्रमण गरी घाइते बनाई लखेटेका थिए । त्यसैगरी चुरे भावरले उक्त कार्यक्रम हुन नदिने, सशक्त प्रतिकार गर्ने भनेर पहिले नै घोषणा गरेका थिए । सोही कारण मोर्चाका कार्यकर्ताहरु पनि हातमा लाठी लिएर उक्त सभामा सहभागी भएका थिए । जब गोली प्रहार भयो त्यसपछि भाग्दै जाने क्रममा मोर्चाका कार्यकर्ता तथा आक्रोशित बनेका भिडले बाटोमा रहेका सबै प्रहरी बिटहरु जलाउनुका साथै मलंगवामा रहेको जिल्ला प्रशासन कार्यालयलाई लक्षित गरेर पेटूोल बम प्रहार गरी आगजनी गर्ने असफल प्रयास गरेका थिए ।
सर्लाहीको हरिपुरमा नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्ने भनिएको कार्यक्रमलाई यस अघि मोर्चाका कार्यकर्ताहरुले विथोलिदिएका कारण त्यस क्षेत्रका केही पहाडी समुदायका मानिसहरु र नेकपा एमालेका कार्यकर्ताहरु पनि आक्रोशित भएका थिए । उक्त सभा विथोल्न नेकपा एमालेका कार्यकर्ताहरु पनि प्रतिशोध लिन परिचालित भएको हुन सक्ने मोर्चाका नेताहरुको बुझाई छ । हुन त यसअघि भएको प्रथम मधेस आन्दोलनमा चुरे भावर परिचालित भएपछि भड्किएको साम्प्रदायिक दंगाको शिकार त्यहाँका राम एकवाल रायको ज्यान गएपछि साम्प्रदायिक दंगाको ठुलो पीडा विर्सन नसकेका दुवै समुदाय साम्प्रदायिक दंगाबाट बच्न खोजेका पाइन्छन् । तर, राजनीतिक छवि नरहेका केही बेरोजगार, ट्यावे यूवाहरुको समुहलाई परिचालित गरेर चुरे भावरले जुन सुकै हालमा पनि साम्प्रदायिक दंगा भड्काउन प्रयत्नशिल रहेको स्थानीयबासीहरुको समेत बुझाई रहेको छ । त्यसकारण यदि फेरी पनि साम्प्रदायिक दंगा भड्कियो भने जिल्लाको उत्तर तर्फ रहेका मधेसी समुदाय र दक्षिण तर्फ रहेका पहाडी समुदाय त्यसको शिकार हुन सक्ने हुनाले ती समुदायहरुमा एक किसिमको डर र एक किसिमको संयमता पनि देखिएको छ । तर, यति हुँदा हुँदै अब फेरी अर्को घटना नहुने भने सम्भावना पुरा पुरी टरिसकेको छैन ।
बद्रीप्रसाद न्यौपाने अहिले चुरे भावरका अध्यक्ष बनेका छन् । उनी विगतमा सत्तामा गईसकेको हुनाले फेरी पनि सत्तामा जानका लागि मधेस आन्दोलनलाई बदनाम गराउन राज्यको इसारामा, सहयोगमा मधेस आन्दोलन विरुद्ध परिचालित भएको मोर्चाका नेताहरुको ठहर छ । हुन त उनीसँग कार्यकर्ता वा जनआधार छैनन् । तर पनि आफ्नो शक्ति प्रदर्शन गराउन सफल हुनुका कारण व्यानर चुरे भावरको भएपनि कार्यकर्ताहरु कांग्रेस, एमाले र एमाओवादीको समेत परिचालन हुने गरेको मोर्चाका नेताहरुको आरोप रहेको छ । हुन त न्यौपाने बर्तमान सरकार गठन हुनु अघिसम्म मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश हुने लगभग तय भईसकेको थियो । त्यसैले जारी मधेस आन्दोलनमा चुरे भावरले आफ्नो समर्थन रहेको पनि जनाएको थियो । तर,पछि अचानक उनी मधेस आन्दोलन विरुद्ध लाग्नुको एक मात्र कारण के हो भने उनी राज्यद्वारा परिचालित रहेको मोर्चाको ठहर छ ।
आन्दोलनरत क्षेत्रमा खटिएका चार वटा ‘मिसन’ आयोगले फिर्ता बोलायो
मधेसी मोर्चा कार्यकर्ताले बिहीबार राष्टिूय मानव अधिकार आयोगको जिपमा आगजनी गरेपछि आन्दोलनरत क्षेत्रमा खटिएका चार वटा ‘मिसन’ फिर्ता हुने भएको छ । मोर्चा कार्यकर्ताले सर्लाहीमा बा७च ७४७६ नम्बरको जिप तोडफोड गरी आगो लगाइदिएका थिए । आयोगले असुरक्षा महसुस गर्दै मिसन फिर्ता बोलाएको हो । आयोग जनकपुर क्षेत्रीय कार्यालयका अधिकृत बुद्धनारायण सहनीले सर्लाही घटनापछि आन्दोलनरत क्षेत्रमा खटिएका चार मिसनलाई फिर्ता बोलाएको बताए । आगजनी भएको जिपमा महोत्तरी र जनकपुरका मानव अधिकार उल्लंघनको तथ्यांंकसमेत थियो । आगलागीमा आयोगको क्यामेरा, कागजात र अन्य सामान पनि जलेर क्षति भएको उनले बताए ।
‘सबै तथ्यांक जलेर नष्ट भयो,’ उनले भने, ‘यो घटना अत्यन्त निन्दनीय हो, यसले द्वन्द्वग्रस्त क्षेत्रमा खटिन स्वाभाविक रूपमा अप्ठेरो भयो । मानव अधिकार उल्लंघनका विवरण र तस्बिरसमेत नष्ट भयो ।’ शुक्रबार सहनीले जिप जलेको क्षेत्र निरीक्षण गरी आन्दोलनरत पक्षसँग पनि जानकारी लिएका थिए । जिपमा कागज जलेको प्रमाण भेटिएका छन् । नवलपुर सभास्थल नजिक गोली चलेपछि भीड छिचोल्दै जिपमा जान लाग्दा मलंगवा रोडमा प्रदर्शनकारीले तोडफोड गरेका थिए । जिपभित्रका अधिकारकर्मी भागेपछि पल्टाई आगो लगाइएको थियो । जिपमा पूर्ण क्षति पुगेको छ । नितु गर्ताैला नेतृत्वमा आयोग टोली सभास्थल नजिक खटिएको थियो । गर्तौलाले जिप तोडफोडका क्रममा भित्र बसेका केही कर्मचारीलाई चोट लागेको बताइन् । मोर्चा र चुरेभावरको झडप हुन सक्ने सम्भावनासमेत रहेकाले अनुगमन गर्न टोली दिनभरि सभास्थल आसपास सक्रिय थियो । जिपमा आगजनी र कर्मचारीमाथि दुव्र्यवहार भयो । आयोग टोली फर्किनुले आन्दोलनरत पक्षलाई नै हानि हुने सहनी बताउँछन् । ‘टोली द्वन्द्वग्रस्त क्षेत्रमै खटिने हो,’ उनले भने, ‘कुनै पनि बहानामा उक्त घटनालाई सामान्य रूपमा लिन सकिँदैन ।’
‘तराईमा कर्मचारी असुरक्षित’
काठमाडौं( मधेस आन्दोलनबाट आफ्ना कर्मचारी असुरक्षित बनेको भन्दै राष्टिूय मानवअधिकार आयोगले तराईमा परिचालित सबै अनुगमन टोलीलाई शुक्रबार फिर्ता बोलाउने निर्णय गरेको छ । अनुगमनमा रहेको आफ्नो गाडीमा बन्दकर्ताले बिहीबार सर्लाहीमा आगजनी गरेकामा भत्र्सना गर्दै पर्यवेक्षण रोकेको हो । आयोगका अनुसार बन्दकर्ताले ४ अधिकारकर्मीमाथि हातपातसमेत गरेका थिए । ‘गाडी छाडेर उहाँहरू भाग्न भ्याउनुभयो र मात्रै । नत्र अप्रिय घटना हुने निश्चित थियो,’ आयुक्त सुदीप पाठकले भने ।
मधेस आन्दोलनले मानवीय मर्यादा र सीमा तोडेर आपराधिक र अराजक रूप धारण गरेको आयोग अधिकारीको निष्कर्ष छ । आयोगकी अधिकृत नितु गड्तौला नेतृत्वमा खटिएको मन्दिरा श्रेष्ठ, विभा ढुंगाना र श्रीराम कार्कीलगायतको टोलीमाथि नवलपुर जुटपानीमा आन्दोलनकारीले आक्रमण गरेका थिए । ‘आन्दोलनकारी मोर्चाको केन्द्रीय नेतृत्व स्वयं उपस्थित भई मधेस आन्दोलनको निरन्तर अनुगमन गरिदिन लिखित र मौखिक अनुरोधसमेत गरेको सन्दर्भमा यस किसिमका बर्बरतापूर्ण घटना हुनु गम्भीर विषय हो,’ आयोगको शुक्रबार बसेको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, नेपाल पक्ष भएको मानवअधिकार रक्षकसम्बन्धी संयुक्त राष्टूसंघीय घोषणापत्र १९९८, मानव अधिकारसम्बन्धी अन्तर्रा्ष्टिूय सन्धि र प्रचलित कानुनविपरीत आक्रमण, तोडफोड र आगजनी गर्ने तथा क्षति र्पुयाउने व्यक्तिका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

२०७२ मंसिर २० गते आईतबार

No comments:

Post a Comment