Thursday, September 3, 2015

मधेसमा सुरक्षा चौकीहरु हटाइँदै

महोत्तरीको लक्ष्मीनियामा रहेको सशस्त्र प्रहरी बेस क्याम्प खाली गरिएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेसमा आन्दोलन चर्किदै गएपछि विभिन्न जिल्लाहरुमा सुरक्षा चौकीहरु हटाउन थालिएको छ । खास गरेर ग्रामिण क्षेत्रहरुमा छरिएर रहेका यूनिटहरु र राजमार्गमा रहेका यूनिटहरुलाई इलाका प्रहरीहरुमा गाभ्ने क्रम बढेको छ । जसले गर्दा आन्दोलनकारीहरुको मनोबल बढेको छ भने सुरक्षाकर्मीहरुको मनोबल घटेको छ । खासगरी टिकापुरमा सुरक्षाकर्मीहरु मारिएपछि कतिपय जिल्लाहरुमा प्रहरीले आफ्नो बचाउका लागि त्यस्तो रणनीति अख्तियार गरेको बताइन्छ ।

महोत्तरी जिल्लाका विभिन्न स्थानमा रहेका सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकीहरु हटाइएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका अनुसार जिल्लाको बखरीचोक, मटिहानीचोक, मनरा, टिकुलिया, लक्ष्मीनियाँ, भिामोड र सीमा क्षेत्रमा रहेका पाँच सुरक्षा चौकीहरु हटाइएको हो ।

    सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेले मधेस आन्दोलन र सुरक्षाका दृष्टिकोणले ती चौकीलाई हाल ठाउँ ठाउँबाट हटाएर सम्बन्धित ‘बोर्डर आउटपोस्ट’मा गाभिएको बताए । अनिश्चितकालीन मधेस बन्द गरेर आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मार्चाका कार्यकर्ताहरुले ८ भदौमा सशस्त्र प्रहरीका बखरीचोक र मटिहानीचोकस्थित दुईवटा सुरक्षा चौकी जलाइदिएका थिए ।

    सुरक्षाको कारण देखाउँदै २१ प्रहरी युनिट हटाइयो
महोत्तरीको जलेश्वर स्थित प्रहरी चेक पोष्टमा प्रदर्शनकारीहरुले आगजनी गरेपछिको अवस्था ।
आन्दोलनकारीहरु प्रर्दशनलाई निरन्तरता दिएपछि स्थिति हिंसात्मक हुँदै गएपछि सुरक्षाको कारण देखाउँदै जिल्ला प्रहरी कार्यालय रौतहटले सदरमुकाम बाहिरका २० युनिटलाई खाली गरेर त्यहाँका सुरक्षाकर्मीलाई आसपासका इलाका प्रहरी कार्यालयमा सारेको छ ।

स्थानीयले भदौ ८ गते रातिमा मठियाको प्रहरी चौकीमा आगजनीको प्रयास गरेपछि भदौ ९ गते प्रहरीका अस्थायी युनिट खाली गरिएको हो । आन्दोलनकारीले चौकीहरुमा आक्रमणको प्रयास गरेपछि सर्तकता अपनाउँदै सशस्त्र प्रहरी बलले पनि आफ्नो एउटा बेसलाई खाली गरेको छ । प्रहरीको गोली लागी मठिया गाविस(६ का राजकिशोर ठाकुरको  मृत्यु भएपछि आक्रोशित स्थानियले प्रहरी चौकीमा आक्रमण र आगजीको प्रयास गरेका थिए । मृतक ठाकुरको शव सडकमा राखेर प्रर्दशनमा उत्रिएका आन्दोलनकारीले आगजानी गर्दा चौकीको भान्सा घर जलेको थियो ।

घटनापछि चेतनगर, हरसाह, बिर्ता, बनबोहरीलगायतका स्थानबाट प्रहरी चौकीबाट सुरक्षाकर्मीलाई डुमरिया, पिप्राराजवडा, सन्तपुर, कटहरिया, दोस्तियालगायतका ईलाकामा राखिएको छ । चौकीमा सुरक्षाकर्मिको संख्या न्यून हुनेहुँदा आक्रमणको निशानाका कारण ईलाकामा थप बलसहित तैनाथ गरेको सुरक्षा निकायले जनाएको छ । चेतनगरबाट चौकी रित्तिएपछि त्यहाँका स्थानिय रातभर त्रासमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार केही समयका लागि सानो युनिटलाई एकीकृत गरी इलाकालाई बलियो बनाइएको हो । वातावरण सहज भएपछि खाली गराइएका स्थानमा तत्काल प्रहरी पठाइने उनले जानकारी दिए ।

    कांग्रेस र एमालेलगायका स्थानीय नेताहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पुगी चेतनगरमा सुरक्षाकर्मी राखीदिन आग्रह गरेका थिए । शसस्त्र प्रहरीको चन्द्रनिगाहपुर स्थित एफओबी बेसक्यामपबाट सुरक्षाकर्मी सन्तपुर बेसमा सारेको छ । बजारबाट एक किलोमिटर टाढा जंगल छेउमा रहेको बेसबाट सुरक्षाकर्मी हटाइएको हो ।

जनकपुरको जानकी प्रहरी चौकीमा बम प्रहार
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले १० भदौमा निकालेको लाठी जुलुस प्रदर्शन पश्चात केही प्रदर्शनकारीहरुले जानकी मन्दिरको बिबाहमण्डपमा रहेको जानकी प्रहरी चौकीमा बम प्रहार गरेकाछन् ।
    सडकसँग जोडिएको प्रहरी चौकीको झयालबाट पेटूोल बम प्रहार गरिएको  थियो । बम प्रहारबाट प्रहरीका ओढने र ओछ्याउने लत्ताकपडा जलेको चौकीले जनाएको छ । नगर क्षेत्रमा गरिएको लाठी प्रदर्शनपछि जानकी चोकमा केहि प्रदर्शनकारीहरु जम्मा भएका थिए । प्रहरी चौकीमा बम प्रहारपछि प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक गणेश थापाले जनाए । लाठी जुलुस हुने क्रममा जिल्ला प्रशासन कार्यालयमा समान्य ढुंगामुढा भएपनि स्थिति समान्य रहेको थियो । तर, प्रहरी चौकीमा बम प्रहार भएपछि केहि बेर स्थिति तनावग्रस्त बनेको थियो ।

    विगतका मधेस आन्दोलनका दौरान पनि चौकीहरु हटाइएको थियो । जनकपुरकै कुरा गर्ने हो भने विगतका मधेस आन्दोलनमा आन्दोलनकारीहरुले जनकपुरको जानकी चौकी, जिरोमाइल चौकी, मुजेलिया चौकी र रेल्बे प्रहरी चौकीमा आगजनी गर्दा त्यहाँबाट चौकीहरु हटाएर जिल्ला प्रहरी कार्यालयमा गाभिएको थियो । र, माओवादीले गरेको सशस्त्र जनयूद्धका दौरान मधेसका गाउँ गाउँबाट प्रहरी चौकीहरु विस्थापित भएको थियो ।

२०७२ भाद्र १३ गते आईतबार

No comments:

Post a Comment