Monday, February 9, 2015

जानकी म्डिकल कलेजमा ओपी पाण्डेको एकल स्वामित्व २६ माघ देखि कक्षा संचालन गर्ने प्रतिबद्धता

२१ माघ २०७१ मा कलेजले निकालेको सूचना ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले तत्काल पठनपाठन र शिक्षण अस्पताल सुचारु नगरे सम्बन्धन खारेजीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएपछि जानकी मेडिकल कलेजले एक साताभित्र पठनपाठन सुचारु गर्ने प्रतिबद्धता जनाएको छ ।
शिक्षा मन्त्रालयमा भएको छलफलमा मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेले एकहप्ताभित्र पठनपाठन एवं शिक्षण अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । शिक्षा सचिव विश्वप्रकाश पण्डितको कार्यकक्षमा त्रिवि आइओएमका डिन, त्रिवि योजना महाशाखा प्रमुख, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, शिक्षा मन्त्रालयका पदाधिकारी र कलेजका सञ्चालक एवम् व्यवस्थापकबीच भएको छलफलमा कलेजले सो प्रतिबद्धता व्यक्त गरेको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी अब उप्रान्त कलेजलाई व्यवस्थित रुपमा सञ्चालन गर्न व्यवस्थापनले विद्यार्थीको पढाई र कलेजको समग्र व्यवस्थापनका सम्बन्धमा बिजनेस प्लान तयार गरी त्यसमा आइओएम र मेडिकल काउन्सिलबाट सहमति प्राप्त गरी शिक्षा मन्त्रालयमा पेश गर्ने सहमति भएको पनि जनाएको छ ।
यसैबीच, जानकी मेडिकल कलेजले विज्ञप्ति जारी गरी आगामी माघ २६ गते सोमबारदेखि नयाँ व्यवस्थापनबाट शैक्षिक पठनपाठन र शिक्षण अस्पताल सेवा एवम् प्रशासन सुचारु हुने जनाएको छ ।
कलेजले माघ २१ गते बसेको सञ्चालक समितिको विशेष बैठकले जानकी मेडिकल कलेज (रामजानकी हेल्थ फाउण्डेशन प्रालि) को सम्पूर्ण शेयर स्वामित्व सञ्चालक अध्यक्ष ओमप्रसाद पाण्डेको एकल  स्वामित्वमा रहने गरी खरिद बिक्रीको सम्झौता गरेको पनि जनाएको छ ।
जानकी मेडिकल कलेजका मुख्य सञ्चालक ओपी पाण्डेले कलेजको सम्पूर्ण शेयर आफूले लिन गरेको चलखेलका कारण विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । पाण्डेले लामो समयदेखि आर्थिक रुपमा संकटग्रस्त कलेजको अवस्था सुधार गर्न ध्यान नदिने, कलेजको शेयर बिक्री हुन नदिने तथा विद्यार्थीबाट उठेको रकमसमेत अन्यत्रै लगाउने गरेका कारण कलेज धराशायी बन्दै गएको छ ।
कलेजले एकवर्षभन्दा लामो समयदेखि तलब नदिएपछि शिक्षकहरुले पढाउनसमेत छाडेका छन् । कलेजको अस्पताल पनि बन्द छ । कलेजमा लामो समयदेखि पढाई अवरुद्ध भएर बिचल्लीमा परेपछि विद्यार्थी तथा उनीहरुका अभिभावकले शिक्षा मन्त्रालय गुहारेका छन् । कलेजमा गत पुसमा एक साता पढाई भएपछि पुनः अवरुद्ध भएको छ । एक सेमेष्टरमा एक साता पनि पढाई नभएको विद्यार्थीको गुनासो छ ।
पूर्वाधार नभएको जनाउँदैं मेडिकल काउन्सिलले यस शैक्षिक सत्रमा कलेजलाई शुन्य कोटा दिएको थियो । कलेजनिकट एक स्रोतका अनुसार कलेजलाई यस अवस्थामा पु¥याउन र विद्यार्थीको भविष्य अन्यौल बनाउनमा मुख्य सञ्चालक पाण्डे नै जिम्मेवार  छन् ।
‘पाण्डेले जानीजानी कलेजलाई यस्तो अवस्थामा पु¥याउँनु भएको हो’ जानकीका एक सञ्चालकले भने, ‘सम्पूर्ण सेयर आफूले लिने खेलमा विद्यार्थीको भविष्य पनि अन्धकार बनाउनु भयो ।’
आर्थिक संकटमा परेपछि गत वर्ष कलेज सञ्चालक समितिले भैरहवाको युनिभर्सल मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याल समूहलाई लगानी गरी व्यवस्थापन हेरिदिन आग्रह गरेको थियो ।  त्यसैअनुसार अर्याल समूहले २ करोड ७५ लाख लगानी पनि गरेको थियो । ‘पाण्डेले जानीजानी कलेजलाई यस्तो अवस्थामा पु¥याउँनु भएको हो’ जानकीका एक सञ्चालकले भने, ‘सम्पूर्ण सेयर आफूले लिने खेलमा विद्यार्थीको भविष्य पनि अन्धकार बनाउनु भयो ।’
तर पाण्डेले बिभिन्न बहाना बनाई सो समूहलाई फिर्ता पठाएका थिए । अर्याल समूहले लगानीका लागि बैना दिएको २ करोड २५ लाख फिर्तासमेत पाएको छैन । गत माघमा पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हाले जानकी मेडिकल कलेजको शतप्रतिशत सेयर खरिद गरेका थिए । बैनास्वरुप  सिन्हाले पाण्डेलाई एक करोड एक हजार एकसय एक रुपियाँको चेक बुझको थिए । सिन्हाले ९७ करोड ५० लाखमा कलेज खरिद गर्ने कागज गरेपनि थप रकम भुक्तानी गर्न नसकेका कारण सिन्हाले पाण्डेलाई मिलेर सञ्चालन गर्न प्रस्ताव गरेका थिए ।  पाण्डेले अस्वीकार गरेपछि सिन्हा बैना फिर्ता लिएर कलेज छाड्ने मनस्थितिमा पुगेका छन् । सिन्हाले पाण्डेलाई दुई जना मिलेर कलेज सञ्चालन गर्न आग्रह गरेपनि पाण्डेले चलाए एकलौटी चलाउने, नत्र नचलाउने भन्ने जवाफ दिएको स्रोत बताउँछ । आइओएमले कलेजको सम्बन्धन रद्ध गर्ने वा मर्ज गरी अन्यत्र लाने मनस्थितिमा पुगेको स्रोत बताउँछ ।
तत्काल कक्षा सुचारु नगरे जानकीको सम्बन्धन खारेज गर्ने आइओएमको चेतावनी
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले व्यवस्थापन तत्काल सुधार गरी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सुचारु नगरे जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ । लामो समयदेखि कलेजको पढाई अवरुद्ध भएका कारण विद्यार्थीको विचल्लीमा परेको समाचार प्रकाशित भएपछि आइओएमले एक सूचना जारी गर्दै जानकीलाई उक्त चेतावनी दिएको हो ।
सूचनामा भनिएको छ, ‘यथाशिघ्र व्यवस्थापनमा सुधार गरी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सुचारु रुपले सञ्चालन गर्न यसै सूचनामार्फत् निर्देशन दिइन्छ, अन्यथा त्यस कलेजको सम्बन्धन स्थगन तथा खारेज गर्ने प्रक्रिया अगाडि बढाइने व्यहोरासमेत सूचित गरिन्छ ।’
आइओएमले सैद्धान्तिक कक्षा सञ्चालन नभएको र कलेजको शिक्षण अस्पतालसमेत बन्द रही विद्यार्थीहरुको प्रयोगात्मक कक्षा अवरुद्ध भैरहेको पाइएको परिप्रेक्ष्यमा पटक(पटक लिखित जानकारी गराई सचेत गराउँदासमेत स्थितिमा सुधार भएको नपाइएकाले  आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लामोसमयदेखि पढाई अवरुद्ध भएपछि बिचल्लीमा परेका विद्यार्थी र उनीहरुका अभिभावकहरुले सोमबार शिक्षा मन्त्रालय गई तत्काल समस्या समाधानका लागि आग्रह गरेका थिए । ३६ लाखसम्म डोनेसन दिएर एमबीबीएसमा भर्ना भएका विद्यार्थीको दसैं तिहारपछि पढाइ अवरुद्ध छ । एमबीबीएस अन्तिम वर्षका छात्र मुकेश मिश्रले माघ २६ देखि परीक्षा हुने भए पनि अहिलेसम्म ३० प्रतिशत पनि पढाइ हुन नसकेको बताए । ‘पढाइ नै नभएपछि परीक्षामा के लेख्ने ?’ उनले भने । बिचल्ली हुनुपरेकाले कलेज व्यवस्थापन, शिक्षा मन्त्रालय र मेडिकल काउन्सिलप्रति आक्रोशित हुन पुगेका विद्यार्थीले नियमित कक्षा तथा ओपीडी (अस्पताल) सञ्चालनका लागि व्यवस्थापनका साथै स्थानीय प्रशासनसमक्ष गुहार मागे पनि कतैबाट सुनुवाइ नभएको दुःखेसो पोखे । परीक्षामा चोरी भयो भनेर मेडिकलका विद्यार्थीको कपी खोस्ने तथा कारबाही गर्ने जिल्ला प्रशासनले आफूहरूको पीरमर्का सम्बोधन नगरेको गुनासो एक विद्यार्थीको थियो ।
एमबीबीएस चौथो वर्षका विद्यार्थीलाई हेल्थ डिलेभरी सिस्टम अन्तर्गत अनिवार्य रूपमा ६३ दिने फिल्ड भिजिटमा लानुपर्ने प्रावधान भए पनि लगिएको छैन । जानकी मेडिकल कलेज कर्मचारी युनियनका अध्यक्ष मकेश्वर यादवका अनुसार व्यवस्थापनले कर्मचारीलाई ११ महिनादेखि र प्राध्यापकलाई १३ महिनादेखि तलबभत्ता दिएको छैन । कलेजका पूर्वसञ्चालकहरू अध्यक्ष ओपी पाण्डे, प्रबन्ध निर्देशक समीर ढुंगेल तथा निर्देशकहरू बलरामप्रसाद गुप्ता, कामेश्वर साह, सरिता साह, श्रीचन साह तथा टीका पौडेललगायतले गत पुसमा कलेजको स्वामित्व बेचेका थिए । रौतहटका डा. लोकमणि सिंहा तथा रामस्वरूप सिंहालगायतले उक्त कलेजको स्वामित्व किनेका छन् । लेखा शाखाबाट प्राप्त जानकारीअनुसार नयाँ व्यवस्थापनले तलबभत्ताबापत पुसमा करिब ७० लाख रुपैयाँ प्रभु बैंकमा जम्मा गराए पनि उक्त रकम ब्याज शीर्षकमा राखिएकाले कर्मचारीले पाउन सकेका छैनन् । स्रोतका अनुसार कलेजले प्रभु बैंक तथा कृषि विकास बैंकको गरी लगभग ४० करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने देखिएको छ भने प्राध्यापक तथा कर्मचारीका लागि तलबभत्ता मात्रै लगभग १२ करोड दिनुपर्ने भइसकेको छ । कलेजमा प्रथम वर्षदेखि इन्टर्निसपसम्म गरी ४ सय ६० विद्यार्थी छन् । एक विद्यार्र्थीले सुरुमा १६ लाख डोनेसन तिर्नुपथ्र्याे भने अचेल ३६ लाखसम्म र्पुयाइएको छ । सुरुमा १०० कोटा रहेकोमा तीन वर्षअघि घटाएर ८० मा झारिएको थियो । तर भौतिक तथा व्यवस्थापकीय कमजोरीलाई आधार बनाई मेडिकल काउन्सिलले यो वर्ष एउटै कोटा दिएको छैन ।
जानकी मेडिकल कलेजको नक्कली धन्दा
धनुषाको जनकपुरमा रहेको जानकी मेडिकल कलेजले बिना अनुमति एमबीबीएस, बीएन तथा बीएस्सी नर्सिङको भर्ना खोलेको छ । एक जना विद्यार्थी पनि भर्ना गर्ने अनुमति नपाएको जानकी मेडिकल कलेजले भर्ना खोलेर ठगी धन्दा गर्न खोजेको हो ।
कलेजले ५–६ पुसमा कान्तिपुर दैनिकमा सूचना निकालेर शैक्षिक सत्र २०७१ र ०७२ का लागि भर्ना आव्हान गरेको हो । सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०७१ र ०७२ को एमबीबीएस कार्यक्रम अन्तर्गत विदेशी तथा नेपाली र बीएन तथा बीएस्सी नर्सिङ कार्यक्रम अन्तर्गत नेपाली नगारिकहरुलाई मात्र त्रिविवि, चिशाअसंद्वारा लिएको प्रवेश परीक्षामा उत्तिर्ण भएका सम्बन्धित इच्छुक योग्य उम्मेद्वारहरुलाई भर्ना आवेदनका लागि सूचित गरिन्छ ।’ तर, जानकी मेडिकल कलेजको विज्ञापन नक्कली भएको खुलासा भएको छ । नेपाल मेडिकल काउन्सिलले उक्त मेडिकल कलेजलाई एमबीबीएस पढाउने अनुमति नभएको जनाएको छ । काउन्सिलले ७ पुसमा कान्तिपुर दैनिकमा सूचना निकालेर जानकी मेडिकल कलेजलाई एमबीबीएसका लागि विद्यार्थी भर्ना गर्ने अनुमति नै नभएको स्पष्ट पारेको छ । ‘जानकी मेडिकल कलेजको नामबाट एबीबीएस प्रथम वर्षमा भर्ना हुनको लागि भनि प्रकाशित सूचनाको आधारमा विद्यार्थी भर्ना हुन नसक्ने र यदि भएमा त्यसको जवाफदेही काउन्सिल नहुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
काउन्सिलको २७ भदौ २०७१ मा बसेको बैठकले जानकी मेडिकल कलेजले यस शैक्षिक वर्षमा एमबीबीएसमा भर्ना लिन नपाउने निर्णय गरेको थियो । यस्तै, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको २४ भदौ २०७१ मा बसेको बैठकले पनि जानकी मेडिकल कलेजका लागि यो शैक्षिक वर्षमा एमबीबीएस अध्ययनका लागि शून्य सिट कायम गर्ने निर्णय गरेको थियो ।
कलेजलाई ८० सिटको कोटा दिन चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले यसवर्ष पनि मेडिकल काउन्सिललाई सिफारिस गरेको थियो । तर, काउन्सिलले शुन्य कोटा दिएको छ । नाम मेडिकल कलेज । तर, न मेडिकल रेकर्ड सेक्सन छ, न आवश्यक बेडसंख्या नै । कलेजको भौतिक पूर्वाधार हेर्ने हो भने प्राथमिक स्वास्थ्य केन्द्रको भन्दा दयनीय छ । यो हो जनकपुरस्थित जानकी मेडिकल कलेज । यो कलेज ११ वर्षदेखि सन्चालनमा छ । तर, अनुगमनमा पुगेको मेडिकल काउन्सिलको टोली कलेजको दयनीय अवस्थादेखेपछि तीन छक्क प¥यो ।
कलेजलाई ८० सिटको कोटा दिन चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले यसवर्ष पनि मेडिकल काउन्सिललाई सिफारिस गरेको थियो । तर, काउन्सिलले शुन्य कोटा दिएको छ ।
विज्ञ अनुगमन समितिको सिफारिसमा काउन्सिलले शुन्य कोटा दिने निर्णय गरेको काउन्सिलका एक सदस्यले बताए । अनुगमन समितिले मेडिकल कलेजमा २५४ बेडमात्र रहेको पाएको थियो । जबकि ३०० बेड नपुगेको मेडिकल कलेजले सञ्चालन स्वीकृति नै नपाउने प्रावधान छ । अनुगमन समितिका एक सदस्यले ११ वर्ष पूरानो मेडिकल कलेज शिक्षण अस्पतालको अवस्था दयनीय देख्दा आश्चर्यमा परेको बताए ।
सञ्चालकको द्वन्द्वका कारण कलेजको अवस्था खस्किँदै गएपछि केही महिना अघि कलेज दुई महिना पूर्णरुपमा बन्द भएको थियो । विद्यार्थीहरुले समस्या समाधानको पहल गरिदिन आइओएम, मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, नर्सिङ काउन्सिल र शिक्षा मन्त्रालयका अधिकारीसँग लिखित आग्रह गरेका थिए । प्रथम र दोस्रो बर्षमा अध्ययनरत करीब ४० जना विद्यार्थी सरोकारवाला निकाय गुहार्दै राजधानीसम्म आएपछि त्रिभुवन विश्वविद्यालयको नेतृत्वमा १० सदस्यीय अनुगमन टोली जनकपुर गएको थियो ।

२०७१ माघ १८ गते आईतबार

No comments:

Post a Comment