Saturday, April 19, 2014

राज्यबाट उपेक्षित ‘धनुषाधाम’ मन्दिर

धनुषाधाम मन्दिरका पुजारी भरत दास ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विष्णु पुरानका अनुसार दधिचि मुनिको हड्डीबाट बनेको धनुष त्रिपुरा सुर संग्राम भएपछि त्यही पिनाक धनुष शंकर भगवानले परशुरामलाई दिनु भयो । परशुरामले उक्त धनुष जनक महाराजलाई दिनुभयो । जव सिताको विवाहका लागि जनकपुरमा स्वयमबर रचियो, भगवान रामले उक्त धनुषमा बाण चढाउँदा उक्त धनुषा  तीन टुक्रामा परिणत भयो । एउटा टुक्रा आकाशमा गई भारतको दक्षिणी प्रान्त रामेश्वरमा खस्यो । दोस्रो टुक्रा पतालमा गयो । जुन जनकपुरको धनुष क्षेत्रमा छन् । जसलाई जनकपुरमा धनुषसागर पोखरीको रुपमा चिनिन्छ । मध्य भाग आएर खसेको ठाउँ हो धनुषाधाम । धनुषाधाममा खसेको धनुषको उक्त कालो रंगको सिलामाथि अहिले पिपलको रुख छ । स्थानिय पुजारीका अनुसार उक्त रुखको ५ सय वर्ष भइसक्यो । उक्त रुख अहिले पनि हराभरा छ । चराचुरुङ्गीले फोहर गर्ने हुनाले पिपलको शाखाहरुबाट बचाउन चदराको छाना झुन्डयाइएको छ । धनुषको शिला रहेको लम्बाई वृद्धि भइरहेको छ । उक्त सिलाको रुख हेर्दा रुद्राक्ष जस्तो देखिन्छ ।
बैज्ञानिकहरु पनि के बताउँछन भने यस्तो वस्तु पृथ्वीमा पाइदैन । फलाम भन्ने हो भने चुम्बुक टाँसिदैन । कुनै समयमा पहाड विस्फोट भई लाभा निस्केको हो भने पनि त्यो देखिँदैन । विष्णु पुरानमा उल्लेख भए अनुसार दधिचि मुनिको हड्डी बाट उक्त धनुष बनेको हो । पुजारी भरत दासका अनुसार युनेस्कोले पनि अनुसन्धान गरेको थियो । पुरातत्व विभागबाट पनि अनुसन्धान गर्दा उक्त बस्तु के हो र किन फैलिरहेको छ भन्ने कारण पत्ता लगाउन सकेको छैन ।
पाताल गंगा खाली भयो भने ‘अनिष्ठ’
धनुषाधाम मन्दिर
 त्यहाँ एउटा कुण्ड पनि छ । जसलाई पाताल गंगा भनिन्छ । उक्त कुण्डमा पानी माथिसम्म भरेको छ भने सबै कुरा ठीकठाक रहने र पानी माथिको सतह भन्दा तल गयो भने अनिष्ठ हुने जनविश्वास रहेको छ । परम्परागत समय देखि नै उक्त कुण्डको पानी भरिभराउ रहेको अवस्थामा धेरै शुभ मानिँदै आइएको छ । जुन वर्ष पानी भरेको हुन्छ त्यसवर्ष अन्नको वढी उब्जाऊ हुने जन विश्वास रहँदै आएको पाइन्छ । कुण्डको पानी भरेको छ भने वर्षात पनि हुने र कृषि उत्पादन पनि वढ्ने जनविश्वास रहदै आएको छ । 
धनुषाधाम मन्दिरका पुजारी भरत दासका अनुसार उक्त पाताल कुण्डको पानी अषाढ देखि भदौं महिना सम्ममा तल जाने गर्दछ । तर, यदि कुण्डको पानी तल गयो भने यहाँ चौगामा वरिपरीका सबैगाउँहरुमा वैठक वसी धनुषजीको कुण्ड सुक्न थाल्यो, संकट आउँदै छ । वर्षातको कमीको संकेत आइरहेको भन्दै सबैले गाउँलेहरुले मिलेर कुण्डमा दुध खन्याउने रिती रिवाज नै रहेको पुजारी बताउँछन् । सबै गाउँमा रहेका गाई भैसीको दुधहरु संकलन गरी फलानो तिथीमा कुण्डमा खन्याउने निर्णय गरिन्छ । भगवान शिवलाई आह्वान गरी रुद्री पाठ गरेर उक्त कुण्डमा दुध खन्याइन्छ । समय ठीक रह्यो भने कमै दुधमा पनि उक्त खाली कुण्ड भर्छ तर, यदि समय ठीक छैन भने जति सुकै दुध खन्याउँदा पनि उक्त कुण्ड भर्दैन । पुजारी दासका अनुसार गत वर्ष ६ क्विन्टल दुध खन्याउँदा पनि कुण्ड भरेन । त्यसपछि मान्छेलाई लाग्यो कि यस पटक वर्षात हुने छैन र उत्पादनमा कमी आउने छ । पुजारीका अनुसार भयो पनि त्यसै र उत्पादनमा कमी भयो । जस्तै २०५८ साल बैशाख १५ गते कुण्ड पुरापुरी सुक्यो र करिब १० क्विन्टल दुध खन्याइयो र पनि भरेन । दरबार हत्या काण्ड भइहाल्यो । २०५३ सालमा सुके पछि खडेरी प¥यो । २०४५ मा सुक्यो र कुण्ड भरेन, भुकम्प आयो । यसरी एक त कुण्ड सुक्दैन सुक्यो भने दुध खन्याएपछि कुण्ड भर्यो भने धेरै अनिष्ठ हुँदैन र यदि भरेन भने ठुलै अनिष्ठ हुने जनविश्वास रहेको पुजारी भरत दास बताउँछन् ।
‘मणि नाग’को बास
उक्त पिपलको बोटमा ‘मणि नाग’को बास रहेको बताइन्छ । आमावस्या तिथीका दिन मध्यान्ह रातिमा मणि नाग देखिने र पुरै मन्दिर हरियो रंगले रंगिन हुने गरेको छ । पुजारीका अनुसार १५ वर्ष पहिले यहाँ वस्ती हुँदैन्थ्यो । १ सय गज दुरी स्वक्ष हुनुपर्छ । शान्तिपुर्ण वातावरणमा मात्र मणि देखिने गर्दछ ।
आन्तरिक तथा बाह्य पर्यटकको ओइरो
धनुष मन्दिरमा यसरी नै धनुषको शिला बढ्दै गएको छ ।
यहाँ विषेश गरी भारतीय पर्यटक आउने गर्छन । यद्यपि अमेरिका थाइलेन्ड सिंगापुर लगायत अन्य देशहरुबाट पनि पर्यटक आउने गर्छन । तर, तिनीहरुको संख्या अत्यन्त कम हुन्छ । पुजारी दासका अनुसार युरोपेली मुलुकका पर्यटकहरु धार्मिक स्थानको अवलोकन गर्नुभन्दा प्राकृतिक र मनोरम दृष्यहरु पहाड, हिमाल, ताल, सरोवर आदिको अवलोकन गर्न वढी रुचाउँछन् ।
यहाँ ५ महिना मेला लाग्ने गर्छ । जस्तै मंसिरमा रामजानकी विवाह पञ्चमी महोत्सव, माघमा तिलासंक्रान्ती देखि ५ वटा आइतबारसम्म मकर मेला, फागुन महिनामा हुने मध्यमा परिक्रमाको बेला नवमीका दिन, चैत्र महिनामा रामनवमीका दिन गरी कुल ५ पटक मेला लाग्ने गर्छ । विवाह पञ्चमी, मकर र परिक्रमा मेलामा लाखौंको संख्यामा तिर्थालुहरु दर्शन गर्ने गर्छन् । मिथिला महात्मयका अनुसार ५ मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि १ सय रामेश्वरमको दर्शन बराबर हुन्छ । परम्परा गत हिसावले पनि वर्ष भरी गरिएको आकलभाकल माघ महिनाभरी चढाउने गरिन्छ । 
आफ्नो सम्पत्ति विहिन मन्दिर
धनुष मन्दिरको नाउँमा आफ्नो कुनै सम्पति छैन । अहिले यो मन्दिर जनकपुरको जानकी मन्दिरको स्वामित्वमा छ । यो मन्दिरको आफ्नै सम्पति भएको भए मारामार हुने थियो, विकासका लागि टूष्ट खडा गरिने थियो । पुजारी भरत दास भन्छन,“नेपालमा म नै यस्तो पुजारी हुला जो कि विगत ६० वर्ष देखि दुई पुस्ता देखि विना तलब लिई भगवानको सेवा गर्दै आएको छु । म आफैले यो मन्दिरको घन्टी समातेको २८ वर्ष भइसक्यो । २०४२ साल देखि मैले पुजा गरिरहेको छु । मेरो बुवा रामदेव दासले पनि ३०÷३२ वर्ष जति पुजा गर्नु भयो ।”
  जिन्सी सहयोग कहि कत्तैबाट भएको छैन । मलाई यहाँ बस्न मन्दिरको तर्फबाट आवास सुविधा पनि उपलब्ध गराइएको छैन । मैले आफ्नै निजी पैसाले माटोको घर बनाई बस्ने गरेको छु । चढौना पनि धेरै चढ्दैन । कुनै दिन दुई सय कुनै दिन ५ सय वा कुनै दिन एक रुपैया पनि चढौना चढदैन् । यहाँ जति पनि भौतिक विकास भएको छ त्यो कुनै मन्त्रि वा राज्यले लगानी गरेर भएको छैन । 
म आफैले विभिन्न ठाउँबाट मागेर गरेको पुजारी दासले बताए । उनका अनुसार यस अघि पनि पुजारीहरु पुजा गर्न आउँथे तर, कोही पनि टिक्दैनथे । ३ महिना ६ महिनामा पुजारीको मृत्यु भइहाल्थ्यो । कतिपय पुजारीहरु दुई तीन महिनामै भागी हाल्थ्यो ।
मन्दिरमा लोडसेडिङका कारण राति अंध्यारो नै रहन्छ । एउटा लेम्प मात्र जलाइएको हुन्छ । जब पर्यटकको भीड खास गरी पुष महिना देखि वढ्न थाल्छ तब ग्यासलाइट जलाइन्छ । 
सुविधा विहिन मन्दिर
पुजारीका अनुसार पहिले उनको मात्र आश्रम  थियो । राम मन्दिर थियो । पुलिसहरु दिनमा ड्यूटी गर्थे र राति गइहाल्थे । यातायातको असुविधा, रातिमा बस्नको लागि सुविधा सम्पन्न होटेलको अभाव आदि कारणले गर्दा पनि पर्यटकहरु आएर पनि टिक्ने नगरेको पुजारीले बताए । यहाँ वस्नको लागि पटनाको ताराचनले बनाएको ३४ कोठाको धर्मशाला त छ तर, उक्त धर्मशाला पनि अव्यवस्थित रहेका कारण पर्यटकहरु धर्मशालामा बास वस्दैनन् । 
बस गाडी लिएर आउने पर्यटकहरुलाई टूाफिक प्रहरी, गाइड इत्यादीले विभिन्न वहानामा रकम असुल्ने काम गर्नाले पनि बाहिरका पर्यटकहरु यहाँ आउन हिचकिचाउने गर्छन । पर्यटकहरुलाई विभिन्न घाकधम्की दिई ठग्ने काम गरिन्छ । त्यसकारण पर्यटकका गाइडहरुले जनकपुरसम्ममा मात्र सिमित गरिदिन्छन् ।
आम्दानीमा विद्यालयको कब्जा
पुजारी दासका अनुसार मन्दिरको सबै जग्गा यहाँको विद्यालय धनुष जनता उच्च माविले कब्जा गरेको छ । मेला लाग्दा पनि आउने आम्दानी विद्यालयले नै लिने गरेको छ । मन्दिरमा शौचालयको सुविधा पनि छैन । अहिले पुजारीले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदबाट रकम सहयोग मागि शौचालय निर्माण गराइरहेका छन् । एउटा पोखरी छ । 
त्यो पनि अति नै फोहर । हात धुन पनि नमिल्ने उक्त पोखरीमा तिर्थालुहरु नुहाउने कुरै आएन । उक्त पोखरीमा माछा खेती गरिन्छ । जसको आम्दानी पनि विद्यालयले नै लिने गरेको छ । माघ मेला, विवाह पञ्चमी मेला लगायत सबै मेला ठेक्का लाग्ने गरेको छ । उक्त मेलाबाट ठेक्दारले पैसा उठाउने गरेका छन् । तर, मन्दिरको भौतिक विकासका लागि एक पैसा पनि विद्यालय व्यवस्थापन समितिले खर्चेको छैन । जता ततै  फोहर छ । सरसफाइको कुनै व्यवस्था गरिएको छैन ।

         
२०७१ बैशाख ०७ गते आईतबार 

No comments:

Post a Comment