Sunday, November 16, 2014

प्रहरीको ‘अपराध आचरण’

प्रहरीको हिरासतमा बायाँ देखि क्रमशः पुर्णचन्द चौधरी,
 मृत्युञ्जय सिंह, हैदर मंसुरी, प्रहरी हवलदार संजय झा र
 प्रहरी राजेश कुमार सिंह ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सर्लाही डुमरिया(४ का ३५ वर्षिय संजय झा पेशाले नेपाल प्रहरीका प्रहरी हवलदार हुन । २२ जेष्ठ २०६९ मा अञ्चल सशस्त्र प्रहरी गुल्म, जनकपुरमा उनको पोष्टीङ भएको थियो । अपराधिहरुलाई पक्राउ गरी शान्ति र व्यवस्थालाई कायम राख्नु, राख्न लगाउनु, कानुन बमोजिम पक्रन पर्ने व्यक्तिहरुलाई र पक्रनुपर्ने पर्याप्त कारण भएका व्यक्तिहरुलाई पक्रनु उनको कर्तव्य हो ।  उनले गरेको कार्य सम्पादनको मुल्याङ्कनकै परिणाम हुनुपर्दछ, १ कार्तिक २०७१ का दिन नेपाल प्रहरी संगठनले अञ्चल प्रहरी कार्यालय जनकपुरमा प्रहरी दिवसको अवसर पारेर उनलाई पुरस्कृत गरेको थियो । तर, कस्तो संजोग पनि पर्यो भने विहान आफ्ना प्रहरी अधिकारीहरुको समक्ष उनी न्यायाधिशको हातबाट पुरस्कार थापेका थिए भने सोही दिन बेलुका उनलाई धनुषा प्रहरीले गिरफ्तार ग¥यो । उनीसँगै सोही कार्यालयमा कार्यरत महोत्तरी पुल्टा पड्कौली(९ का २५ वर्षिय प्रहरी जवान राजेश कुमार सिंह पनि पक्राउ परे । पक्राउ परेका ती दुवै जना प्रहरी कर्मचारीलाई धनुषा प्रहरीले ठगी र डाँका मुद्दाको अभियोग लगाएर धनुषा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।
२५ माघ २०५७ मा प्रहरी सेवामा प्रहरी जवान पदमा नियूक्त भई नोकरी गर्दै आएको संजय झा नोकरीको सिलसिलामा पहिलो पटक काभ्रेपलाञ्चोक, दोस्रो पटक धनुषा र तेस्रो पटक हेटौडामा दरबन्दी परेको अनुसार उनी सबै स्थानमा काम गरे । करिब १८ महिना पहिले हेटौडाबाट अञ्चल सशस्त्र प्रहरी गुल्म जनकपुरमा उनी सरुवा भएर आएका थिए । उनी आफ्नो गाउँकै ओम प्रकाश सिंह भनिने मृत्युन्जय कुमार सिंह समेतको गिरोहमा आवद्ध भई मान्छेलाई लुटने आरोपमा अहिले पक्राउ परेका छन् ।
ठगी गर्ने तरिका
कैलाली टिकापुर नगरपालिका(४ बाघमारा बस्ने २५ वर्षिय पुर्णचन्द्र चौधरी, सर्लाहीको डुमरिया ३ बस्ने ३० वर्षिय ओम प्रकाश भन्ने मृत्युञ्जय सिंह, सर्लाहीको मलंगवा नगरपालिका ४, विश्वकर्मा टोलका ६० वर्षिय हैदर मंसुरी लगायतको गिरोहले मान्छेलाई सक्कली नेपाली नोट लिएर आयो भने त्यसको तीन गुणा बढी नक्कली रुपैयाँ दिन्छु भनेर मान्छेलाई प्रलोभनमा पारी ठगी गरि लुट्ने काम गर्थे ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ का मानबहादुर थिङ्गलाई शिकार बनाउन खोजेकै बेला उनीहरु पक्राउ परे । ओम प्रकाश भन्ने मृत्युञ्जय सिंह तीन वर्ष जति बैदेशिक रोजगारीका लागि मलेसियामा काम गरेर घर फर्किएपछि अरु मानिसहरुलाई वैदेशिक रोजगारीका लागि विदेश पठाउनु एजेन्टको रुपमा काम गर्थे । एजेन्टको काम गर्ने क्रममा कैलाली टिकापुरका पुर्णचन्द्र चौधरीसँग उनको चिनजान भयो । तर, एजेन्टको काम गर्ने क्रममा ओम प्रकाशलाई घाटा भएपछि मानसिक तनावमा आई सकेका थिए । ओम प्रकाशले पठाएका मानिसले विदेशमा  राम्रो काम नपाई फर्केको कारण उनले आफ्नो जग्गा विक्री गरेर ती व्यक्तिहरुलाई पैसा तिरेका थिए । सोही क्रममा पुर्णचन्द्रले ओम प्रकाशलाई मलंगवाका हैदर मंसुरीसँग चिनजान गराएको थियो । हैदर मंसुरीले पैसा कमाउने तरिका छ, सँगै मिलेर काम गर्यो भने राम्रो पैसा कमाई हुन्छ भनेपछि तीनै जना तयार भए । नक्कली पैसा जस्तो बनाई मानिसलाई भ्रममा पार्ने तरिका आफुसँग रहेका हुनाले वढी पैसा हुने मानिसको खोजी गर्न पुर्णचन्द्र चौधरीलाई लगाएका थिए । सोही क्रममा पुर्ण चन्द्रले नदरमान थिङ्ग वढी पैसा बाला व्यक्ति रहेको भनि खोजी गरेका थिए । उनीहरुले नदरमानलाई १२ लाख रुपैयाँको तीन गुणा वढी नक्कली रुपैयाँ दिने भन्ने प्रलोभनमा पारेका थिए । जनकपुरको सिता प्यालेसमा उनीहरुले वसेर योजना बनाएका थिए । जब नदरमान सिता प्यालेसमा आई रुपैयाँ देखाउ भनेर भन्दा उनीहरुले १ हजारको सक्कली नोटलाई नक्कली नोट बनाएर देखाई भ्रममा पार्न खोजेका थिए । वृक्षणी नामक पशु चिकित्सामा प्रयोग हुने ट्यावलेट सादा पानीमा घोली नयाँ नोट डुवाई सुकाएर राख्ने र त्यस पश्चात चुना मिसिएको पानीमा सो नोट भिजाएपछि नोटमा चुनाको प्रतिकृयाबाट गुलावी कलर जस्तो भई नोट नक्कली जस्तो देखिने तरिकालाई उनीहरुले अपनाएका थिए । हैदर मंसुरीले उक्त तरिका भारतको लुधियानामा सिकेका थिए । उक्त योजना साकार पार्नका लागि उनीहरुलाई पुलिसको आवश्यकता पथर््यो । पुलिस नै आइसकेपछि नक्कली नोटको कारोबार गरिरहेको भन्दै उनीहरुलाई पक्रेर लगेको नाटक जस्तो गर्ने र बाटोमा छोडिदिने कामको लागि उनीहरुले पुलिसलाई प्रयोग गर्थे । यो घटनामा पनि अनिल कुमार सिंह, हैदर मंसुरी समेतले नदरमान थिङ्गको रु. १२ लाख खोसी बाहिर निस्की संजय झा र राजेश सिंहको मोटरसाईकलमा चढी फरार हुन लाग्दा नदरमानले धनुषा प्रहरीलाई जानकारी गराई पिछा गरी पक्राउ गर्न सफल भएको थियो । उक्त घटनामा प्रहरीले पक्राउ परेका हवलदार संजय झाको प्यान्टको खल्तीबाट नगद रु. ३ लाख ९२ हजार र निजले चलाएको बा.२४प. ८७९४ नम्बरको मोटरसाईकल बरामद गरेको थियो । पक्राउ परेका प्रहरी हवलदार संजय झाको मोवाईल ९८४४०२०८५१ र अर्को अभियुक्त मृत्युञ्जय सिंहबाट बरामद भएको ९८१९८२८१५७ नम्बरको मोबाइलमा असोज २९ देखि ३१ सम्म विभिन्न समयमा २२ पटक फोन सम्पर्क भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
यसरी अपराधमा प्रहरी नै संलग्न रहेको भन्ने घटना नौलो होइन । यसअघि नेपाल प्रहरीमा कार्यरत हरेशिव यादव अपराधमा संलग्न भएपछि प्रहरीकै इन्काउन्टरमा मारिएको थियो । इलाका प्रहरी कार्यालय धोविडाडा, रामेछाप दरबन्दी भई सशस्त्र प्रहरी गुल्म जनकपुरमै कार्यरत रहेका धनुषाको तारापट्टी सिरसिया घर भएका प्रहरी जवान हरेशिव यादव रहजनी चोरी मुद्दामा अभियुक्त देखिएपछि १९ मंसिर २०६३ मा निलम्बन भएका थिए । ६ अषाढ २०६८ मा उनले पुनरावेदन अदालत जनकपुरबाट सफाई पाएर पनि हाजिर नभएका कारण  १६ जेष्ठ २०६९ मा उनलाई जागिरबाट हटाइएको थियो । त्यसपछि आफ्नै गाउँका सुरेश यादवको हत्या गरी सशस्त्र समुह संचालन गरिरहेका हरेशिव यादवलाई ६ साउन २०६९ मा प्रहरी इन्काउन्टरमा उनी मारिएका थिए । यसरी हेर्ने हो भने धनुषामा कार्यरत कतिपय प्रहरी कर्मचारीहरु आपराधिक गतिविधिमा   संलग्न भएको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले २०६८ देखि २०७० सालसम्म तीन वर्षमा मात्र १ सय २० जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ भने ६३ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही समेत गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङक अनुसार १ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी गरी ३ जनालाई नोकरीबाट नै हटाइएको छ । त्यसैगरी ९ जना प्रहरी जवानलाई तल्लो टाइम स्केलमा कारवाही, २ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र ३ जना प्रहरी जवान गरी ६ जनालाई निलम्बन नै गरेको छ । त्यसैगरी १ जना प्रहरी हवलदारको ग्रेड रोक्का, ३ जना प्रहरी जवानको वढुवा रोक्का, १ जना प्रहरी निरीक्षक, ९ जना प्रहरी हवलदार र ३१ जना प्रहरी जवान गरी कुल ४१ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही स्वरुप नसिहद दिइएको छ ।
त्यसैगरी अञ्चल प्रहरी कार्यालय जनकपुरले आर्थिक वर्ष २०७०÷०७१ मा मात्र २ सय ७४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ भने १ सय ६५ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही समेत गरेको देखिन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङक अनुसार १ जना प्रहरी सहायक निरीक्षक, १४ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी गरी १६ जनालाई नोकरीबाट नै हटाइएको छ । त्यसैगरी  १ जना प्रहरी नायव निरीक्षक, २ जना प्रहरी हवलदार र १६ जना प्रहरी जवान गरी १९ जनालाई तल्लो टाइम स्केलमा घटुवा गरेको छ । त्यसैगरी १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी हवलदार र १२ जना प्रहरी जवान गरी कुल १५ जनालाई निलम्बन गरेको छ । त्यसैगरी १ जना प्रहरी निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र २ जना प्रहरी जवान गरी कुल ६ जनाको ग्रेड रोक्का, १ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र ४ जना प्रहरी जवान गरी कुल ६ जनाको वढुवा रोक्का गरेको छ । त्यसैगरी  १ जना प्रहरी निरीक्षक, ७ जना प्रहरी नायव निरीक्षक, १५ प्रहरी सहायक निरीक्षक, २५ जना प्रहरी हवलदार र ५४ जना प्रहरी जवान गरी कुल १ सय २ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही स्वरुप नसिहद  दिइएको छ ।
त्यसैगरी १ जना प्रहरी हवलदारलाई तल्लो दर्जामा घटुवा समेत गरिएको छ । यसरी हेर्ने हो भने अञ्चल प्रहरी कार्यालय जनकपुरले २ जना प्रहरी निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, २० जना प्रहरी सहायक निरीक्षक, ३१ जना प्रहरी हवलदार, १ सय २ जना प्रहरी जवान र १ जना कार्यालय सहयोगी गरी कुल १ सय ६५ जना प्रहरी कर्मचारीहरुलाई १ वर्षमा मात्र विभागिय कारवाही गरिनुले पनि प्रहरीको आचरण कति हदसम्म गलत रहेको बुझ्न सकिन्छ ।
प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार केसीका अनुसार अपराध भनेको मनोवृति हुन्छ, प्रहरी संगठनमा काम गर्ने प्रहरी कर्मचारीहरुको सांगठनिक चरित्र र केही प्रहरी कर्मचारीहरुमा अपराधिक मानिसिकताको जन्मजात चरित्र देखिएको छ । मौकामा नपर्दासम्म प्रहरी हवलदार संजय झाको चरित्र ठीक थियो तर, व्यक्तिगत चरित्र सधै देखिँदैन । यस्ता प्रहरी कर्मचारीहरुकै कारणले गर्दा प्रहरीको छवि समाजमा धुमिलिन जान्छ । एसएसपी केसी भन्छन,“ कानुनको अगाडी कोही पनि ठुलो सानो छैन, प्रहरीले अपराध गरेको भएपनि सामान्य नागरिक सरह नै कारवाही गरेर प्रहरीले आफ्नो कर्तव्यको पालना नगरेको भए प्रहरी संगठन प्रतिको विश्वासमा कमि आउन सक्थ्यो । तर, हामीले ती दुवै जना प्रहरी कर्मचारीलाई कारवाही गरेका छौं ।”
प्रहरी आचरणको तालिम
नेपाल प्रहरी संगठनमा नियमित रुपमा प्रहरी आचरणका लागि तालिम दिने गरिएको हुन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले बार्षिक क्यालेन्डर अनुसार मानव अधिकार, अपराध अनुसन्धान, सामुदायिक प्रहरी सेवा अनुशिक्षण, महिला तथा बालबालिका विरुद्धका अपराध अनुसन्धान प्रशिक्षण, मानव वेच विखन तथा ओसार पोसार र यौन शोषण विरुद्धका अनुसन्धान अनुशिक्षण लगायतका तालिमहरु नियमित रुपमा दिने गरेको छ । १ वर्षमा करिब २३ वटा तालिमहरु दिने गरिएको अञ्चल प्रहरी कार्यालय जनकपुरका तालिम शाखाका असई रामकुमार शर्माले जानकारी दिए ।
आचरण र व्यवहार तर्फ मातहतका जिल्ला भरिका सम्पुर्ण यूनिट इन्चार्जहरुलाई बोलाएर प्रत्येक महिनाको आइतवार अनुशासन, आचरण सुधार लगायतका विभागिय नीति निर्देशन अनुसार प्रहरी वरिष्ठ उपरीक्षकले तालिम दिने गरेका छन् । असई शर्माका अनुसार बेला बेलामा एसएसपी आफैले छडके जाँच समेत गर्छन् । प्रहरीको आचरण र व्यवहार सुधारका लागि प्रत्येक प्रहरी कार्यालयको मुलद्वारमा टोल फ्रि नम्बर समेत सार्वजनिक गरिएको हुन्छ । यति मात्र होइन, गुनासोको लागि उजुरी पेटिका साथै कार्यालय प्रमुखको नम्बर समेत राखेको हुन्छ । त्यसैगरी अहिले देशैभरीमा प्रहरीको आचरण कस्तो छ भन्ने अनुगमन गर्नका लागि केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले सादा पोशाकमा प्रहरी कर्मचारी सूचना संकलनको लागि खटाएको हुन्छ ।
यस अघि कुबेर सिंह राणा प्रहरी महानिरीक्षक भएका बेला डिआईजी समेतलाई कारवाही गर्न सकिने अख्तियारी दिएर पाँच वटै मध्यमाञ्चल क्षेत्रका लागि एसएसपीको कमाण्डमा छुट्टा छुट्टै टोली खटाएको थियो । उक्त समयमा जनकपुरमा एसएसपी रमेश खरेलको कमाण्डमा आएको टोलीले जनकपुरका विभिन्न पक्षहरुसँग अन्तरक्रिया गरी प्रहरीको आचरणबारे अनुगमन गरेको थियो । 


२०७१ कार्तिक ३० गते आईतबार

गस्तीमा सेना


अञ्चल प्रहरी कार्यालय, जनकपुरको अगाडी रहेको सडक खण्डमा नेपाली सेनाको टोली गस्ती गर्दै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि सुरक्षा व्यवस्थाको लागि नेपाली सेना सडकमा गस्ती गर्न थालेका छन् ।

 २०७१ कार्तिक ३० गते आईतबार

“विकास माग्दा गोली पाईयो”

बुद्धनारायण साहनी केवट

मानव अधिकारको अनुगमन, अनुसन्धान र प्रवद्र्धन गर्ने सिलसिलामा यसपालीको मानव अधिकार संरक्षण कार्यमा फरक अनुभुति भयो । २०७१ असोज २६ गते कलैया, भरतचौक पुग्दा त्यहाँ रहेको मानिसहरुको भिडले विकासको नाममा गोली हान्न पाइदैन लगायतका नारावाजी गर्दै थिए । प्रहरी कडि कडाउ भई आए जाइलाग्ने अवस्थामा देखिन्थ्यो । के के भन्दै गोली हान्न पाइदैन भन्ने नारा त धेरै पटक सुनेको थिए तर विकासको नाममा गोली हान्न पाइदैन भन्ने नारा उक्त दिन सुन्दा के रहेछ भनि बुझने कौतुहलता मनमा जागेर आयो । 
अलि नजिकबाट बुझदा सिम्रौनगढका जनताले सडकको विकासको लागि आन्दोलन गर्दा प्रहरीले चलाएको गोली लागि एक जनाको मृत्यु, एक जना सख्त घाइते र एक जनाको होसै गुमेको रहेछ । यी सब कुरा सुनेपछि मन बडा दुखि भएर आयो । कस्तो शासन पद्धति( स्वतन्त्रताको लागि आवाज उठाउदा( पाउने गोली, सरकार विरुद्ध हतियार उठाउदा( पाउने गोली, मधेशी आफनो पहिचानको लागी आवाज उठाउदा( पाउने गोली, जनजाति आफनो पहिचानको लागि आवाज उठाउदा( पाउने गोली, अनि विकासको लागि पनि आवाज उठाउदा पाउने गोली नै । कस्तो विडम्बना । राज्य सन्यन्त्र जनतको अधिकारको सवालमा संयम भई दिए के विग्रे थियो । आखिर त्यहाँका मानिसले कसैको कुर्सि, कसैको सत्ता, कसैको भत्ता, कसैको लत्ता मागेका त थिएनन् होला । जे मागे त्यो त उनिहरुले राज्यलाई कर मार्फत दिएको अर्थ उपयोगिता नै मागेको हो । राज्यले त्यहाको नागरिकको घाटी दवाएर भएपनि कर असुल्ने, अनि नागरिकले कर दिए वापत पाउने अधिकराको कुरा गर्दा उल्टै गोली ठोक्ने । यस्तो अवस्थामा कसरी मानव अधिकारको सम्मान, संरक्षण र परिपुर्तिको कुरा गर्ने । 
द्वन्द्वकालदेखि मानव अधिकारको विविध सवालमा अनुगमन अनुसन्धान गरिरहँदा गोली खाएको विषय पनि धेरै पटक अध्ययन गरियो । ति धेरै अनुभव मानव अधिकारको दुई प्रमुख स्तम्भ नागरिक तथा राजनीतिक अधिकारसित सम्वन्धित छन तर यसपालिको अनुभव आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारसित सम्वन्धित छ । मानव अधिकारका प्रमुख दुई स्तम्भ मध्ये नागरिक तथा राजनीतिक अधिकार प्रथम खम्वाको रुपमा मानिन्छ भने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार  दोस्रो खम्वाको रुपमा मानिन्छ ।
मानव अधिकारको विकासक्रमलाई हेर्ने हो भने यी दुई स्तम्भ पनि दुई दर्शनमा आधारित छन् । एउटा धनि वर्गसित सम्वन्ध राख्दछ भने अर्को गरिब वर्गसित सम्वन्ध राख्दछ । नागरिक तथा राजनीतिक अधिकार धनि वर्गसित सम्वन्ध राख्दछ भने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार गरीब बर्गसित सम्वन्ध राख्दछ । धनी र गरीबसित अधिकारको सम्वन्ध देखाइराख्दा एकले अर्कासित सम्वन्ध नै राख्दैन भन्ने होइन । धनिलाई चाहिने कुरा गरिवलाई नभई नहुने गरीवलाई चाहिने कुरा धनिलाई नभई नहुने भएको हुनाले सम्पुर्ण अधिकारहरु एक अर्कासित सम्वन्ध राख्दछ । त्यसैले भनिन्छ मानव अधिकार अन्यौन्याश्रित हुन्छन् । यति हुदाहँुदै धनि र गरिवको कुरा किन लेखेको होला भन्ने पनि लागिरहेको होला । भनाईको अर्थ मानिसको आवश्यकता समय परिस्थिति अनुसार फरक हुन्छ । आर्थिक रुपले सम्पन्न व्यक्तिले अधिकारको चयन गर्दा स्वतन्त्रामुखी अधिकारको चाहना व्यक्त गर्दछ तर त्यसको विपरित आर्थिक रुपले विपन्न व्यक्तिले अधिकारको चाहना व्यक्त गर्दा हातमुख जोर्ने जस्ता न्युनतम आवश्यकता परिपुर्तिको कुरा गर्दछ । स्वतन्त्रा र हातमुख जोर्ने न्यूनतम आवश्यकताको कुरा  मानव अधिकारका ति दुई दर्शनसित सम्वन्धित छ जुन माथि उल्लेख भइसकेको छ । 
अधिकारको विकासक्रमतिर दिमाग घुमाउदा स्वतन्त्रतामुखि आन्दोलनबाट सम्झौताको रुपमा बनेका वेलायतको म्याग्ना कार्टा, २०१२ अमेरिकन घोषणापत्र, फ्रान्सेली घोषणापत्र आदिलाई पनि उल्लेख गर्ने गरिन्छ । तर औपचारिक विकास भने संयुक्त राष्टूसंघको स्थापना १९४५ मा भए पश्चात नै भएको हो । प्रथम र दोस्रो विश्वयुद्धमा व्यहोर्नुपरेको भौतिक तथा मानवीय क्षतिको कारणले विश्वमा शान्ति कायम राख्न र उपर्युक्त किसिमका क्षति पुनः नदोहोरियोस भन्ने उद्देश्यका साथ १९४५ मा स्थापित संयुक्त राष्टू संघले आफ्नो वडापत्रमा मानव अधिकारको संरक्षण गर्ने जिम्मेवारी पनि प्राप्त ग¥यो । उक्त जिम्मेवारी वहन गर्ने दौरानमा संयुक्त राष्टू संघले आर्थिक तथा सामाजिक परिषद मार्फत मानव अधिकार सम्वन्धि दस्तावेज निर्माण गर्ने अभियानमा लाग्यो । उक्त दौरानमा विभिन्न पटक सभा सम्मेलन हुँदैजादा आर्थिक तथा सामाजिक परिषद भित्र रहेको मानव अधिकार आयोगले नागरिक तथा राजनीतिक सम्वन्धि महासन्धि र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्वन्धि महासन्धि पारित गर्नको लागि महासभामा पेश ग¥यो तर सदस्य राष्टूहरुको उक्त दुई महासन्धि उपर गम्भिर असन्तुष्टि व्यक्त भएको हुनाले तत्काल पारित भएन । 
महासन्धि पारित हुननसकेपछि आयोगलाई असफलताको अनुभुति भइरहनुका साथै उपायको खोजितिर पनि लाग्यो । महासन्धिलाई पारित गर्ने सम्वन्धमा दुई धार देखा प¥यो । एउटा पुजिवाद र अर्को साम्यवाद । पुजिवादलाई अंगिकार गर्ने अमेरिका, बेलायत जस्तादेशले नागरिक तथा राजनीतिक अधिकारको पक्षमा बल दिइरहेका थिए भने साम्यवादका पक्षधर सोभियत संघजस्ता देशले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सम्वन्धमा वल दिइरहेका थिए । दुवैविच समझदारी हुननसकेपछि प्रारम्भनै ति दुई महासन्धि निर्माण हुननसकि नरम कानुनको रुपमा सन् १९४८ डिसेम्वर १० का दिन महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी ग¥यो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रनै अधिकार विकास क्रमको दौरानमा भएको पहिलो र औपचारिक दस्तावेज हो । यो कानुन सदस्य राष्टूहरुको लागि नैतिक शिक्षाको रुपमा रहेको छ । यसमा वर्णित प्रावधान कार्यान्वयन गर्नैपर्ने वाध्यता कसैलाई पनि छैन तर सर्वसम्मतिले पारित दस्तावेज भएको हुनाले यसलाई मान्दिन भन्नसक्ने नैतिक आधारपनि कसैसित छैन । जसले गर्दा यहि नैतिक स्वतन्त्रता र विवशतालाई आधार वनाई संयुक्त राष्टू संघिय मानव अधिकार आयोगले मानव अधिकार कानुन निर्माण गर्ने प्रयास गरि नै राखेको हुनाले प्रारम्भमा कानुनी हैसियत प्राप्त गर्ननसकेका २ महासन्धिहरु सन् १९४६ मा एकैसाथ जन्मिए । जसलाई नेपालले पनि अनुमोदन गरि अंगीकार गरिसकेको छ । 
नेपालको परिप्रेक्ष्यमा हेर्दा हालसम्म भएका र भइरहेका विभिन्न आन्दोलन नागरिक तथा राजनीतिक अधिकारसित मात्र सम्वन्धित छन् । वि.सं. २०४७ सालसम्म आन्दोलनमात्र हैन तत्कालिन ने.क.पा. (माओवादी) र नेपाल सरकारविच जारि रहेको १० वर्षे सशस्त्र युद्ध र तत्पश्चातका मधेश आन्दोलन पनि नागरीक तथा राजनीतिक अधिकारमै आधारित छन् । सवै आन्दोलनमा जनताको स्वतन्त्रा, उन्नति, प्रगति, विकास, मुक्ति इत्यादि नामले सम्बोधन गरी राजनीतिक प्रगति जेनतेन भइरहेको छ तर जहाँ जुन ठाउँमा प्रगति पुग्नुपर्ने हो त्यहा पुग्न सकेको छैन । प्रगति पुग्नुपर्ने गरीब जनतामुखि महासन्धि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा हो तर काठमाडौँवाट वाहिरजान भनि हिडेको वस बाटोमा फसेजस्तै नागरिक तथा राजनीतिक अधिकार मार्फत आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा पुग्नुपर्ने प्रगति पनि बाटैमा फसिरहेको छ । टूाफिकले यताउति गरि वसलाई पास गराउन खोजे जस्तै नेताहरुले पनि वेलावेलाको चुनावमा उन्नति र प्रगतिको विभिन्न लोभलालच देखाई जनताको बुद्धि आफनो कोल्टामा पारिसकेपछि जनताको घरमा पुरयाउने प्रगति बैयक्तिक आगनमा पुरयाउन मस्त हुन्छन् । 
उक्त परिस्थितिको ज्वलन्त उदाहरण मिति २०७१ असोज २५ गते वारा जिल्ला हरिहरपुर गाविस वडा नं.४ महादेव स्थान चौकमा घटित घटनाले चरितार्थ गर्दछ । वारा जिल्लामा १२ कि.मि. पिच वाकि किचैकिच भनि पढिरहदा अपत्यारिलो लागिरहला तर यो प्रमाणित तथ्य हो । मकवानपुरवाट वीरगंजजादा र पूर्वजादा राजमार्गको अधिकांश हिस्सा वाराकै क्षेत्रमा पर्दछ तर वाराकै उन्नति प्रगतिकोलागि वनाइएको होइन । त्यसैले वाराको जनता ति राजमार्गलाई  वाराको प्रगतिको सुचकांकको रुपमा स्विकार्दैनन् । त्यहाको जनताको सुचकांकमा परेको वीरगंज कलैया जोड्ने १२ कि.मि.को पिच मात्रै हो । वाराको ऐतिहासिक धरोहर सिम्रौनगढ र कलैया जोड्ने २५ कि.मि.को गण्डक नहर (बम नहर) सडक विकासका लागि सिम्रौनगढवासिले धेरै पटक चक्काजाम, हडताल, आन्दोलन गर्दा स्थानीय प्रशासन र आन्दोलनकारीविच लिखित मौखिक सहमति भए तर कार्यान्वयन शुन्य । त्यहाको व्यापारिक र नागरिक प्रतिनिधिसित अन्तरक्रिया गरिरहदा वाराको प्रशासन र नेताले हामीलाई जनता हैन जन्तु वनाईसके भन्नेमा निष्कर्ष निकाल्छन् । 
सिम्रौनगढस्थित इलाका प्रशासन कार्यालय, कृषि विकास वैंक, सटहि काउन्टर लगायतका कार्यालय द्वन्द्वकालमा विस्थापित भएपछि शान्तिप्रकियामा देशका तमाम् भुभागबाट विस्थापित भएका कुरा पुनसर््थापित भए तर सिम्रौनगढमा भएनन् । एक मात्र भन्सार कार्यालय जसले पाँच हजार बराबरको मात्र कारोवार गर्ने छुट छ । त्यो पनि कार्यालय सहयोगीको भरमा चलिरहेको छ । यसरी राज्यले हामीलाई कुनै किसिमको सुविधा नदिने अनि तिमिहरु कालावाजारिया हो, अपराधि हो भनि हेय दृष्टिकोणले व्यवहार गरेपछि हामी जन्तु नभए के हुने । त्यसो भएको हुनाले जन्तुको कुनै मानव अधिकार नभएजस्तै हाम्रो पनि कुनै मानव अधिकार छैन भन्दै अधिकार विहिन   अनुभुति व्यक्त गर्दछन ।  
जनता हैन जन्तु स्वरुपको भावना राज्यले गराएको कारणले राज्यको उक्त रवैयालाई वदल्नकालागि पुनः आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमुखि आन्दोलन दशै विदामा रहेका विद्यार्थीहरुले त्यहाको जनताको सहयोग लिइ २०७१ असोज १९ देखि गण्डकनहर सडक मरम्मतको माग राखि शुरु गरे । आन्दोलन बढ्दै जादा आन्दोलनकारी र प्रहरी विच वढ्दै गएको असन्तुष्टिले असोज २४ गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी खजानीमा भौतिक तथा मानवीय क्षति पुगेपछि अवस्था भयावह भयो । असोज २५ गते आन्दोलनकारीहरुले आन्दोलनलाई अझै सशक्त वनाई प्रदर्शन गरिरहेको क्रममा महादेशस्थानमा सशस्त्र प्रहरीले चलाएको गोली लागि प्रदर्शनकारी जयनारायण पटेलको घटनास्थलमै मृत्यु भयो भने साह मोहम्मद हवारी गम्भीर घाइते भए ।  गोलीको आवाजले प्रचण्ड जायसवालले होस गुमाए । 
उक्त घटनामा जयनारायण पटेलले ज्यान गुमाइसक्दा साह मोहम्मद हवारी गम्भीर घाइते भइसक्दा र प्रचण्ड जायसवालले होस गुमाइसक्दा पनि गण्डक नहर सडकको विकास भइनै हाल्छ भन्ने कुराको कुनै ग्यारेण्टी छैन । असोज २६ गते आन्दोलनकारी र प्रशासनविच ११ बुंदे सहमति भई आन्दोलनले विराम पाउदा सहमति अनुसारको प्रगति नभएको आधार देखाई पुनः ०७१ कार्तिक १८ देखि आन्दोलन छेडेका छन् । सिम्रौनगढ आफैमा ऐतिहासिक स्थल हो । त्यहाका स्थानीय वासिन्दाले भन्छन् यहाको भुमिलाई थोरै गहिराइमा खन्दा कुन न कुनै प्राचिन मुर्ति फेला पर्दछन् । विभिन्न पोखरी र खेतभन्दा भेटिएका मुर्तिहरु आफ्नै ढंगले विभिन्न मन्दिरमा राखिएका छन् । तर तिनको कुनै आधिकारिक संरक्षण छैन । 
यस प्रकार सिम्रौनगढ क्षेत्रका जनतालाई मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नेपालको अन्तरिम संविधान, ०६३ ले मानव अधिकार प्रदान गरेपनि उनीहरुको घर आँगनमा आर्थिक विकास, सामाजिक विकास र सांस्कृतिक संरक्षणका कार्यहरु नपुगेसम्म उनीहरु जन्तुवाट जनता भएको महसुस गर्न सक्दैनन् । अधिकार सम्पन्न हुन सक्दैनन् । 
(लेखक ः राष्ट्रिय मानव अधिकार आयोग, मध्यमाञ्चल क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख हुन ।)

 २०७१ कार्तिक ३० गते आईतबार

तराईवासीहरु नै नेपाल राष्ट्रका संस्थापक-रामचन्द्र झा

रामचन्द्र झा

हालै डा.सिके राउतद्वारा ‘मधेसका इतिहास’ नामक पुस्तक लेखी वास्तविक इतिहास प्रति हस्तक्षेप गरिएको महसुस गरि आफ्नो केही भनाई राख्न आवश्यक ठानेको छु । अन्यथा इतिहास जस्तो गम्भीर विषय प्रति मौन धारणा गर्नु आफ्ना गौरवशाली इतिहास प्रति अन्याय गर्नु हो । 
डा.सिके राउतका तथ्यहरु, तथ्यसंगत भन्दा पनि भावनामा वगेर इतिहासमा हुँदै नभएका विषयहरु काल्पनिक रुपमा उल्लेख गरिएको छ । र, नेपाल राज्यको निर्माणमा मधेसीहरुको भुमिकालाई झन उहाँले संकुचित गरी तराई सम्म सिमित गरेको देखिन्छ ।
२०६२÷०६३ को दोश्रो जनआन्दोलन पश्चात अन्तरिम संविधानमा संघीयता, गणतन्त्र र समावेशिता लगायतका जनआन्दोलनका गणतव्यहरुलाई मुख्य दलहरुले वेवास्ता गर्दा ‘मधेश विद्रोह’ द्वारा आफु प्रति हुँदै आएको विभेद प्रति आक्रोश व्यक्त गर्दै तराईवासी जनताले आधाशतक भन्दा वढी होनहार आफ्ना सपुतहरुलाई शहादत दिएका थिए । आज पनि आफु प्रति हुँदै आएको अपमान उपेक्षा र वहिष्करण प्रति विद्रोही मानसिक्ता शान्त हुन सकेको छैन । दोश्रो संविधानसभा पछि उपरोक्त विभेदमा कमि आएको छैन वरु त्यो उन्मत भएर अझ कुतर्कहरुद्वारा अभिजात्य राष्टूवादी आकांक्षालाई व्यक्त गर्न थालेका छन् । यस परिपेक्षमा तराईवासी जनसमुदाय आक्रोशित हुनु स्वाभाविक छ । विगतमा आफुप्रति अपमानको मनसाय साथ प्रयोग गर्ने गरिएका ‘मदिसे’, ‘मधेशीया’, ‘मर्सिया’ शव्दावली प्रति समतल मैदानी इलाकाका वासिन्दाहरु ‘मधेशी’ नामावली गर्वसाथ स्वीकार गरी अपमानितहरु बीच वृहत्तर एकताको सन्दर्भमा उक्त ‘मधेशी’ शव्दावली एकखालको राजनीतिक अर्थ राख्द छ र सम्पुर्ण तराईवासी जनसमुदायका लागि ‘मधेशी’ सर्वनाम सुपाच्य भई सक्या छ ।
तर हालै डा.सिके राउतद्वारा मधेसका इतिहास नामक पुस्तक लेखी वास्तविक इतिहास प्रति हस्तक्षेप गरिएको महसुस गरि आफ्नो केही भनाई राख्न आवश्यक ठानेको छु । अन्यथा इतिहास जस्तो गम्भीर विषय प्रति मौन धारणा गर्नु आफ्ना गौरवशाली इतिहास प्रति अन्याय गर्नु हो । शासकवर्ग सदा जनताका वास्तविक इतिहासलाई ढाकछोप गरी इतिहासमा आफ्नो सानो भुमिकालाई वढाई चढाई आफ्ना स्तुतिकर्ताहरु मार्फत मिथ्या यशोगान गाउन लगाउन काम हुने गरेको सर्वविदित नै छ ।
नेपाली इतिहासका लेखकहरु पनि पृथ्वी नारायण साहको वि.सं. १८०१ देखिको राज्य विस्तार यात्रालाई विशेष जलप लगाई मानौं, नेपाल राज्यको जन्म नै यहीँबाट प्रारम्भ भएको हो कि भान पार्ने गरी तिनकै यशोगानमा सम्पुर्ण सामर्थ खर्चेका छन् । र, उक्त काल भन्दा पुर्वका ऐतिहासिक घटनाहरुलाई नेपथ्यामा पन्छयाउने प्रयास गरेका छन् जवकि उक्त काल भन्दा हजारौं वर्ष पुर्व नेपाल नामक राज्य अस्तित्वमा आई सकेको थियो । गोपालराज वंशावली नामक पुस्तकका अनुसार नेपालको पहिलो राजवंश गोपालबंशीहरु थिए । यद्यपि उक्तकाल भन्दा पुर्व पनि वस्तीहरु थियो, तर राज्यव्यवस्थाको प्रारम्भ ‘नेपाल’ नामाकरण पशपतिनाथको स्थापना र नयाँ वस्ती वसाल्ने काम गोपालवंशीहरुद्वारा नै भएको मानिन्छ । किम्वदन्ति जे जस्ता भए पनि पशुपालन युगको प्रारम्भ सँगै ‘नेपाल’ भन्ने राज्य तत्कालिन खाल्डोलाई उपयुक्त चरण क्षेत्रको खोजी गर्दै गण्डक र कोशी नदीहरु किनार किनारै तराई क्षेत्रबाट आफ्ना पशुहरु लिई ती पशुपालकहरु काठमाण्डौ छिरेका थिए । र, त्यही क्रममा ‘नेपाल’ अस्तित्वमा आएको हो ।
यद्यपि यस सम्बद्धमा कुनै ठोस अभिलेख न हुँदा समयको ठ्याकै किटानी गर्न गाह्रो छ तर विभिन्न पुस्तकहरुमा व्यक्त अनुमानहरुको आधारमा लगभग इ.पु. सोरह सय वर्ष पुर्व भुक्तमान भन्ने भुमि गोप नामक पहिलो व्यक्ति गोपालवंशका संस्थापक रहेका थिए । यो वंशले लगभग पाँच सय वर्ष शासन संचालन गरेका थिए । भुमिगोप पछि क्रमशः जय गोप, धर्म गोप, हर्ष गोप, भीम गोप, मणि गोप, विष्णु गोप, जीत गोप, (यक्षगोप) लगायतले नेपालमा शासन संचालन गरेका थिए । गोपालवंशी तराईको मिथिला क्षेत्रबाट गएका थिए र तिनीहरुको नेपालको इतिहासमा ठुलो महत्व रहेको छ । विभिन्न पुस्तकमा ‘गोप’ लाई भ्रमवंश गोप लेखिएको गुप्त वैश्यहरुको थर हुने गरेको यादवहरुको घर गोप नै थियो ।
महिषपालहरु गोपालवंशका अन्तिम राजा जीत गोपलाई पराजित गरी ‘वर सिंह’ नायक प्रथम महिषपालवंशको राजाले नेपालको शासन सत्ता आफ्नो हातमा लिएका थिए । महिषपालहरुको वारेमा विभिन्न खाले वंश सम्बन्धी अनुमान गरिए पनि पेशागत हिसावले गोपालक समुह एवं महिषपालक समुह अलग अलग रहे पनि जातिय हिसावले यादव समुदाय नै गोपालक महिषपालक एवं अहिरको नामले तराईको विभिन्न क्षेत्रमा रहने गरेको हामी पाउँछौं । वर सिंह, जय सिंह, भुवन सिंह लगायतले नेपालमा शासन गरेका थिए । महिषपालवंशीहरु लगभग १५ वर्ष सम्म शासन गरेको तथ्य हामी पाउँछौं । महिषपालवंशीहरु पछि अहिरहरुको शासन पनि ६०(७० वर्ष जति चलेको अनुमान गरिन्छ । भुवन सिंहको शासनकालमा पुर्वतिर किरातहरुको आक्रमण हुँदा तिनी किराँतद्वारा पराजित भई सत्ताच्युत भएका थिए ।
किराँतहरुको उदय
किराँतहरु शासनको प्रारम्भ इ.पु. लगभग हजार वर्षको सेरोफेरो रहेको हुनु पर्दछ । गोपालराज वंशावली, कर्कपेटिूक र राइटस इत्यादी इतिहासकारहरुले २९ देखी ३२ सम्म किराँती राजाहरुको नाम उल्लेख गरेका छन्, जो क्रमशः यसरी छ( यलम्वर पवि, स्कन्दर, बलम्ब, हुति, हुमाति, जितेदास्ती, गलि, पुस्कर, सुर्यमा, पर्व, बुङ्ग, स्वनन्द, थुको जिघ्र नाने, लुक, थोर थाको, वर्म, गुज, पुस्क, केशु,सुग, संस, गुणन, खिम्ब, पटुक र गस्ति ।
किराँतकालिन शासन व्यवस्था तुलनात्मकरुपमा प्रवन्धको हिसावमा राम्रो थियो । शासनको स्वरुप राजतन्त्रात्मक भएपनि अड्डा अदालतहरु, कुथर, सुल्ली, लिग्वत्न, माप चोक जस्ता कार्यालयहरु स्थापना गरी राज्य संचालनको सोपानहरुद्वारा शासनलाई विकेन्द्रित रुपमा व्यवस्था गरिएको थियो । परराष्टू सम्बन्धको शुरुवात पनि सर्वप्रथम गरियो । दक्षिणतिर मगध साम्राज्य सँग राम्रो सम्बन्ध कायम गरी विम्वसार र अजात शत्रु जस्ता भारतीय शासक सँग राम्रो सम्बन्ध किराँतहरुले स्थापना गरेका थिए । व्यापारको सवालमा पाटलीपुत्रसँग नेपालमा निर्मित कपडाको लोकप्रिय व्यापार संचालन गरेको विषय कौटिल्यको अर्धशास्त्रमा उल्लेख भएको थियो । मुर्तिकलाको विकास किराँतकालदेखि प्रारम्भ भएको विषय जो अद्यावधि यथावत छ । किराँतकालमा किलिच, लिच्छिवि, मल्ल, शाक्यहरुको शरणस्थल थियो भन्ने विषय उल्लेख भएको छ । सामाजिक आर्थिक प्रशासन सुदृढ रहेको विषय पनि इतिहासमा उल्लिखित छ ।
किराँतहरुले झण्डै आठ सय(नौ सय वर्षसम्म शासन संचालन गरेका थिए । कला साहित्य, संगीतका साथै राजनीतिक पद्धतिको सुरुवात पनि किराँत कालमा व्यवस्थित रुपमा भएको थियो । किराँतहरुको शासन अन्ततः आन्तरिक अव्यवस्थाका कारण पतन भएको थियो ।
लिच्छवीहरुको नेपालमा उदय
किराँतहरु भन्दा पछि नेपालमा लिच्छवीहरुले शासन संचालन गरेका थिए । “वज्जी महासंघ” भित्र लिच्छवी, विदेह, शाक्य, मल्ल, काशी, कौशल रामग्राम (कोलिय) संघहरु संघीय गणतन्त्रात्मक व्यवस्थामा आवद्ध भई सह अस्तित्वको आधारमा सबै शासन गरेका थिए । उता चन्द्र गुप्त मौर्यकै शासनकाल देखि मगधको शक्ति वढेर उदित भएको थियो । अजातशत्रु आक्रामक स्वभावको शासक थिए । र, उसले लिच्छवी माथि आक्रमण गरी तिनीहरुलाई पलायन हुन विवश तुल्यायो । र, उनीहरु ‘विदेह’ हरु सँगै नेपालमा शरण लिन आई पुगे । किराँतहरु त्यति बेला कमजोर भई सकेकोले लिच्छवीहरु किराँतहरुलाई पराजित गरी नेपाल माथि शासन गर्न थाले । उक्त समय इ.पु. २ सय वर्ष लगभगको समय हुने कुरा इतिहास विदहरुले अनुमान गरेको छन् ।
लिच्छिवीहरु पहिलेको मुजफ्फरपुर (विहार) को वैशालीका थिए । जसको त्यहाँको अवशेषले अद्यावधि गौरवशाली इतिहासलाई स्मरण गराउँछ । सम्राट अशोक काठमाण्डौ आउँदा आफ्नो साथमा छोरी ‘चारुमति’ लाई पनि ल्याएका थिए । जसको विवाह नेपालकै क्षेत्रिय युवक ‘देवपाल’सँग गरी दिएका थिए । सँग सँगै ‘देवपत्तनम’ नामक सुन्दर शहर पनि अशोकले नै वसाएका थिए । जो मगधको राजधानी पाटलीपुत्र भन्दा पनि सुन्दर थियो । उक्त काल भन्दा ६ सय वर्ष पछि चिनी यात्री एफाहियानले देवपतनमको सुन्दरताको चर्चा गरेका छन् । गंगा वारी पारी भएकोले लिच्छवीहरुसँग रहँदै आएको वैवाहिक सम्बन्ध नेपाल आउँदा पनि कायम रहेको बुझिन्छ ।
लिच्छवीहरु आठ सय वर्ष भन्दा बढी समय सम्म नेपाल माथि शासन गरेका थिए । यद्यपि मानदेव भन्दा पुर्व पनि जयदेव लाई पशुपतिमा लेखिएको एक अभिलेख अनुसार लिच्छवीका प्रथम शासक रुपमा लेखिए पनि मानदेवलाई नै प्रथम प्रमाणित शासकको रुपमा चाँगुनारायणको अभिलेख अनुसार मानिएको छ । वसन्तदेव अंशुवर्मा, नरेन्द्रदेव, वृषमदेव, शंकरदेव, धर्मदेव, गुणकामदेव आदिको शासकहरुले शासन गरेका थिए । 
लिच्छवी कालीन प्रशासन व्यवस्था 
केन्द्रिय प्रशासन प्रादेशिक प्रशासन, स्थानीय प्रशासन, न्यायिक प्रशासन, सैनिक प्रशासन लगायत शासन प्रवन्धहरु वैज्ञानिक र व्यवस्थित रहेको थियो । मुद्राको प्रचलन पनि सर्वप्रथम मानदेवकै शासनकालदेखि भएको हो । यति मात्र होइन उक्त कालखण्डमै ऐतिहासिक अभिलेखीकरण, भवन निर्माणहरु, मुर्तिकलाका साथै साहित्य, संस्कृति, संगीत एवं कला पनि उच्चस्तरमा विकास भएको पाइन्छ । विकास निर्माणका कामहरु पनि त्यहिबेला देखि थालनी भएको बुझिन्छ ।
चीन, तिब्बत र भारतसँग दौत्य सम्बध पनि स्थापित हुनुले कुटनीतिक सम्बन्धलाई पनि विकास गरेको पाइन्छ । त्यसैगरी आर्थिक रुपमा कृषि व्यवस्था, पशुपालन, विभिन्न खाले स्वदेशी उत्पादन लगायतको क्षेत्रमा समेत विकास गरियो । साथै नेपालमा पहिलो पटक भन्सार र करको पनि व्यवस्थाको सुत्रपात भयो । समग्रमा चाणक्यको कौटिल्यकालीन राजनीतिक अर्थशास्त्रको समग्र प्रवन्धको प्रछाया नेपाली राज्य व्यवस्था माथि परेको पाइन्छ । त्यसैलाई मोडेलको रुपमा मानिदै आएको हो ।
कनाटवंशीयहरुको तराईक्षेत्रमा उदय
भारतको उज्जैनका चालुक्य वंशीय शासक विक्रमादित्य छैठौंले आफ्नो शासनकालमा सुदुर दक्षिणसम्म आक्रमण गरी भारतको सुदुर दक्षिणी भु(भागलाई शासनको अधिनमा ल्याएका थिए । सँगसँगै उत्तरतिर तत्कालिन मगध सम्राज्यको अधिनमा रहेको गंगाभन्दा उत्तरका क्षेत्रहरु माथि आक्रमण गरेर मगध सम्राज्यबाट ती क्षेत्रलाई कनाटवंशीयहरुले आफ्नो अधिनमा ल्याएका थिए । र, उनीहरुले सम्वत ११५४ तदनुसार इस्वी १०९७ मा ‘तिरहुत’ राज्यको स्थापना गरेका थिए । जस अन्तरगत गंगा भन्दा उत्तरका तत्कालिन मुझफ्फरपुर, पुर्णिया, दरभंगा लगायतका पुराना जिल्लाहरु र नेपालको मोरंग देखि पर्सासम्मका भु भाग (जो तिन तिरले पश्चिम गण्डक नदी, पुर्व कोशी नदी र दक्षिणमा गंगा नदीले घेरिएका) कारण, नै ‘तिरहुत’ नामाकरण गरिएको थियो । ‘तिरहुत’ शासनको प्रथम शासकका रुपमा नाण्यदेव रहेका थिए । क्रमशः गंगादेव, अर्जुन देव, रामासिंह देव, र अन्तिम शासक हरिसिंह देव थिए ।
तिरहुत राज्यमा ७ कनाटवंशीय राजाहरुले राज्य गरेका थिए । उनीहरु सैन्य शक्तिको हिसावले सबल हुनुका साथै विरता र विद्धता दुवै क्षेत्रमा पनि निपुण थिए । उनीहरुका प्रकाण्ड विद्धानहरु जुदिरेश्वर, गुणेश्वर, चन्देश्वर ठाकुरहरु मन्त्री वनेका थिए । ती विद्धान मन्त्रीहरुले नै मैथिली वर्ण ‘रत्नावली’ लगायत थुप्रै पुस्तक रचना गरी मैथिली साहित्यको यात्रालाई प्रारम्भ गरेका थिए । भनिन्छ, ‘वर्णरत्नाकर’ भन्ने पुस्तक भारोपेली भाषा परिवारकै प्रथम गद्य ग्रन्थ हो । जसको रचना ज्योतिरेश्वर ठाकुरले गरेका हुन । ऐश्वर्य र वैभवको हिसावले पनि सिमरौनगढ जो राजधानी थियो, अत्यन्त सम्पन्न थियो । जस माथि गयासुद्धिन तुग्लकले १३८२ माघ तृतिया दिन आक्रमण गरी थुप्रै सम्पतीहरु लुटेर लगेका थिए । यिनीहरुको विरताको परिचय के बाट पनि झलिकन्छ भने ‘मगध’ साम्राज्य माथि आक्रमण गरी ‘मिथिला’को भुभाग आफ्नो हातमा लिएका थिए भने संगसंगै यतातिर काठमाण्डौ उपत्यकामा मल्लवंशीयहरुको आन्तरिक विग्रहमा सहयोग स्वरुप सम्बत १३०१, १३०२, १३५६, १३६७, १३७०, १३७१ गरी ६ पटक आक्रमण गरेका थिए । यस वंशको पतन गयासुद्धिन तुग्लकद्वारा गरिएको आक्रमणमा राजा हरिसिंहदेव घाइते भई दोलखाको तिन पाटनमा गएर उनको मृत्यु भएको थियो । र, मल्लवंशका पछिल्लो रुद्र मल्लकी छोरीसँग हरि सिंह देवका छोराको विहे भयो । तत्पश्चात कनाटवंशीयहरु मल्लको परिचयबाट पछिल्लोकालमा आफुलाई प्रस्तुत गर्न थालेको पाइन्छ ।
नेपालमा सेनवंशीयहरुको उदय
भारतीय प्रसिद्ध इतिहासकार राधा कुमुद मुखर्जीद्वारा लिखित प्राचिन भारत पुस्तकका अनुसार सेनवंशको संस्थापक सामन्त सेन भन्ने व्यक्ति जसको जन्म वंगालीको राढ नामक स्थानमा भएको थियो । र, उनी  ब्राह्मण क्षेत्रीय थिए । १२ औं शताव्दीमा विजय सेन नामक व्यक्तिले धेरै प्रदेशहरु जीतेर सत्ताको निर्माण गरेका थिए । र, विजय सेनले नेपाल र मिथिलाको भूभाग माथि आक्रमण गरी कब्जा गरेका थिए ।
विजय सेनका छोरा बल्लाल सेन ११६५ इस्वी देखि ११८५ सम्म शासन गरेका थिए । त्यसमा राढ, विरेन्द्र वागदी, वंग र मिथिला सँग सँगै नेपालमा पनि शासन गरेका थिए । लक्ष्मण सेनको शासनकालमा साहित्य, संगीतको निकै विकास भएको पाइन्छ । प्रसिद्ध संस्कृत गीत गोविन्दका रचयता जयदेव, कोषकार, छलायूद्ध, पवनदुत जस्ता साहित्यकारहरुले पनि योगदान दिएका थिए । 
अर्को ऐतिहासिक तथ्य अनुसार सेनवंशीहरु चितौडगढका सिसौदीया वंशीय राजपुत थिए । वंगाली सेन र सिसौटीया वंशज बीचमा कहाँनेर फ्युजन भएको हो इतिहासका पुस्तकहरुमा प्रष्ट हुन सकेको छैन ।
लोहाङसेन, राधव सेन, हारहर सेन, शुभसेन, मानिक सेन, हेमकर्ण सेन, दिगबन्धन लगायत सेनवंशीय शासकहरुले शासन गरेका थिए । र, यिनीहरुको राज्यको सीमा पुर्वमा मोरङ विजयसुर चौदम्वी, पश्चिममा अर्धाखाँची र गुल्मीसम्म, बीचको मकवानपुर लगायतका भु भाग रहेको थियो । यिनीहरुको शासन काल विक्रम सम्बत १३८१ देखि १८३१ सम्म रहेको थियो । यतातिर उपत्यकामा मल्लहरुको शासन विक्रम सम्बत १२७४ मा अरि मल्लको रुपमा सुरुवात भएको पाइन्छ । यता पृथ्वी नारायण साहको राज्य विस्तार अभियान विक्रम सम्बत १८०१ असोज १५ का दिन नुवाकोटमा आक्रमण गरी प्रारम्भ भई क्रमशः १८०३ मा कान्तिपुरमा विजय, किर्तिपुरमा विजय, १८२६ मंसिर १ मा भक्तपुरमा आक्रमण र पुर्वको एकिकरण अभियान १८२९ मा चौदण्डी विजयपुरको आक्रमण हुँदै १८३१ मा पृथ्वी नारायण शाहको मृत्यु भएको पाइन्छ ।
यसरी नेपालको समग्र ऐतिहासिक घटनाहरुको सिंहावलोकन गर्दा लगभग ३६ सय वर्षको इतिहास मध्ये शाह वंशको योगदान २ सय ६१ वर्षको २०६३ साल सम्ममा रहेको पाइन्छ । त्यस अलावा तराईवासी मधेसीहरु र आदिवासी जनजातिहरुको ३ हजार ३ सय ५० वर्षको नेपालको राष्टू निर्माणमा तराईवासी मधेसी आदिवासी जनजातिहरुको रगतले ढुङ्गा माटो रंगिएको छ । र, समग्रतामा नेपाल राष्टूको शिलान्यास देखि राज्य व्यवस्थाको प्रवन्ध तथा विस्तार सम्ममा मधेसी एवं आदिवासी जनजाति छँदैछ । तिनीहरुको नेपाल राष्टूको निर्माणमा प्रमुख भुमिका मात्र होइन स्वामित्व समेत रहेको पाइन्छ । र, यस अनुसार सम्पुर्ण राष्टू हाम्रो योगदानबाट नै बनेको हो । यसको कुनै खास भु भाग माथि मात्र हाम्रो दावी छैन । 
डा.सिके राउतले मधेसका इतिहास नामक पुस्तक लेख्दा मनुस्मृतिको अध्याय २ स्लोक ४१ अनुसार मधेसको सीमावारे उद्यरण प्रस्तुत गरेकैबाट प्रष्ट देखिन्छ । 
हिमवद्धिन्ध्ययो मध्ये यत्प्रगिवनशनदपि । 
प्रत्येक प्रयागाच्च मध्यदेश प्रकीर्तित ।
अर्थात हिमालय देखि विन्धय पर्वतको बीच तथा पुर्वमा प्रयाग, पश्चिममा विनाशन (सरस्वती नदीसम्म फैलिएको भुभाग नै ‘मधेस’ हो । जसअनुसार नेपालको वर्तमान भुमिमध्ये नयाँ मुलुकका केही भाग बाहेक कुनै ‘मधेस’ भित्र पर्दैन । जहाँ सम्म मम्झिम देशको विषय हो त्यो मल्ल गणराज्यको बारेमा उल्लेख भएको देखिन्छ । जो गोरखपुरको वरिपरि पर्छ ।
जहाँसम्म डा.सिके राउतले गण्डकभन्दा पुर्वको भुभाग वैवश्वत मनुका नाति इच्छाकुका छोरा ‘निमी’ नामक व्यक्तिलाई दिएको सन्दर्भ छ, त्यसको वास्तविकता अलग हो । निमिलाई अवध राज्यबाट निर्बासित गरी गण्डक पुर्वको भागमा जान विवश पारिएको थियो । जो भुमि खेति योग्य पनि थिएन । र, दलदल भुमि रहेको कारणले अत्यन्त कठिन प्रयास पश्चात त्यस भुमिलाई कृषि योग्य एवं वसोवास योग्य यत्रतत्र आगो बाली बनाइएको थियो । तत्पश्चात उनी एउटा विशाल यज्ञको आयोजना गरेका थिए, जसमा आफ्ना कुलगुरु बशिष्ठलाई यज्ञ सम्पादन गराईदिन अनुनय गरेका थिए । तर, उनी इन्द्रकहाँ जानु अनिवार्य भएको भनि वहाना बनाई यज्ञबाट पन्छिएका थिए । र, पछि गौतम ऋषिद्वारा त्यो यज्ञ सम्पादन गराइएको थियो । सो विषय बशिष्ठले थाहा पाउँदा उनले निमिलाई रिसाएर देह रहित हुने स्राप दिए । त्यो स्राप पाउनासाथ उनको शरीरबाट आत्मा निस्केको किम्वदन्ती छ । र, उक्त अवस्थामा गौतम ऋषिले राजा निमीको शरीर मन्थन गरी त्यसबाट एउटा बालक उत्पन्न भयो । मन्थनबाट नै उक्त बालकको उत्पति भएका कारण त्यो बालकको नाउँ ‘मिथि’ राखियो । जसबाट ‘मिथिला’ बनेको हो । विना माता पिताको बालक रहेकाले त्यो बालकको नाम ‘जनक’ राखियो । त्यहीँ देखि विदेह गणराज्य वा मिथिला र पछि तिरहुत आदि नामबाट यो भु भागलाई चिनिन थालियो । यसरी डा.सिके राउतका तथ्यहरु, तथ्यसंगत भन्दा पनि भावनामा वगेर इतिहासमा हुँदै नभएका विषयहरु काल्पनिक रुपमा उल्लेख गरिएको छ । र, नेपाल राज्यको निर्माणमा मधेसीहरुको भुमिकालाई झन उहाँले संकुचित गरी तराई सम्म सिमित गरेको देखिन्छ । (लेखक ः एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य हुन ।)

 २०७१ कार्तिक ३० गते आईतबार

एमाले धनुषामा समानान्तर कमिटी

एमाले धनुषाको पार्टी कार्यालय ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेकपा एमाले धनुषाको जिल्ला कमिटिमा दुईवटा समानान्तर कमिटि गठन भएपछि उत्पन्न भएको विवादलाई अन्तय गरी योगनारायण यादवको संयोजकत्वमा ९० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको ५ महिना नवित्दै धनुषामा फेरी समानान्तर कमिटि गठन भएको छ । एकातर्फ योगनारायण यादवको संयोजकत्वमा ९६ सदस्यीय कार्यसमिति गत १४ जेष्ठ देखि  अस्तित्वमा छ भने अर्को तर्फ एमाले नेता रघुविर महासेठ पक्षधरहरुले २२ कार्तिकमा रामचन्द्र पंडितको संयोजकत्वमा १ सय २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । महासेठ पक्षधर नेताहरुले सुरुमा महासेठकै प्रमुख आतिथयमा धनुषा जिल्ला एमाले अन्तरपार्टी संघर्ष समिति गठन गरेको थियो भने २३ कार्तिकमा पुनः विस्तारित वैठकबाट संघर्ष समितिको नाम परिवर्तन गरी धनुषा जिल्ला अधिवेशन आयोजक कमिटि राखेको छ । यति मात्र होइन  पंडित संयोजक रहेको आयोजक कमिटिले आउँदो मंसिर ५ गतेसम्म ७ वटै क्षेत्रको क्षेत्रिय भेला तथा गाउँ भेलाहरु सम्पन्न गरी मंसिर २१ र २२ गते जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरिसकेको छ । दुवै पक्षले अहिले छुट्टा छुट्टै गाउँ भेलाहरु गरिरहेका छन् । संस्थापन पक्षका कार्यसमितिका सह संयोजक राजकिशोर यादव भन्छन,“महासेठ पक्षधर नेताहरुले गठन गरेको आयोजक कमिटि एमालेको विधान विपरितको कार्य हो । केन्द्रिय महाधिवेशनमा महासेठ पराजित भएपछि आफ्नो अस्तित्व जोगाउन विचलित भई गठन गरिएको कमिटि पार्टीको लागि घातक र पार्टीको हित विपरित रहेकाले कारवाहीको भागिदार छन् ।” तर, महासेठ पक्षधर संयोजक रामचन्द्र पंडित भन्छन,“पहिलेको निर्वाचित जिल्ला कमिटि विना कारण पुर्वाग्रही ढंगले विघटन गरियो, त्यसलाई पुनसर््थापित गरिनु पर्दछ । यदुवंश झा प्रवेश गर्दा ७ सय ५० जनालाई संगठित सदस्यता वितरण गरियो, सुन चाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष अमरनाथ गुप्ताकी श्रीमति जो कम्यूनिष्ट हुँदै होइन, तिनीहरुलाई एकातर्फ सदस्यता वितरण गरियो भने अर्को तर्फ जिविसका पुर्व सभापति रामचरित्र साह लगायतका दर्जनौं नेताहरुको सदस्यता नविकरण गर्नबाट षडयन्त्रपुर्वक वञ्चित गराइयो ।”
गत १४ जेष्ठमा एमालेको केन्द्रीय कमिटिको बैठकबाट धनुषाको विवाद साम्य पार्न ३ दिन भित्र केन्द्रिय संगठन विभागलाई सम्पुर्ण अधिकार सहित जिम्मा दिइएपछि संगठन विभागले १६ जेष्ठमा  योगनारायण यादवको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो । संगठन विभाग प्रमुख समेत रहेका एमाले केन्द्रिय सचिव युवराज ज्ञवाली, सचिव शंकर पोखरेल, विष्णु पौडेल, नेताहरु धर्मनाथ साह, सुरेन्द्र पाण्डे, भानुभक्त ढकाल, ज्ञानबहादुर भुजेल लगायत १७ जना सदस्यहरुको सर्वसम्मत निर्णयले धनुषामा जिल्ला अधिवेशनबाट निर्वाचित भएको हरिनारायण महत्तोको कमिटी विघटन गरी यादवको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो ।
संगठन विभागको वैठकमा जनकपुर अञ्चल कमिटिले सिफारिस गरेको राजकिशोर यादव नेतृत्वको ८९ सदस्यीय कमिटि र जिल्ला अधिवेशनबाट निर्वाचित भएको महत्तो नेतृत्वको कमिटिका लागि नेताहरु विभाजित भएका थिए । केही नेताहरु राजकिशोरको नाउँमा आवाज उठाइरहेका थिए भने केही नेताहरु महत्तोको पक्षमा आवाज उठाउँदा सर्वसम्मत नभइरहेको अवस्थामा योगनारायण यादवको नाउँ सिफारिस भएपछि सबै जना सर्बसम्मत भएको थियो । 
महत्तो अञ्चल कमिटिको सदस्य हुने र राजकिशोर यादवलाई अहिले जिल्ला कमिटिको सदस्यमा राखिएपनि कार्यकारी अधिकार दिएर सह संयोजक बनाइएको थियो ।उक्त कमिटिले पछि महासेठ पक्षधरहरु गुरुदेव यादव, उमाशंकर साह, केदार कुमार अधिकारी, धनबहादुर साढु मगर, लिला मानन्धर र सूर्या पन्जियारलाई मनोनित गरेर ९६ सदस्यीय कार्यसमिति बनाइएको थियो ।
 यता २७ असोजमा योगनारायण यादवको अध्यक्षतामा जनकपुरको रौनियार धर्मशालामा वसेको वैठकबाट कार्तिक ९ गते चियापान कार्यक्रम गर्ने, कार्तिक मसान्त भित्र १ सय १ गाविसहरुमा गाउँ सम्मेलन गर्ने, ५ मंसिर सम्ममा क्षेत्रिय सम्मेलनहरु गर्ने र आउँदो मंसिर २४ देखि २६सम्म जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त वैठकमा महासेठ पक्षधर कार्यसमितिका सदस्यहरु समेत सहभागी भएको थियो । उक्त वैठकले पार्टी भित्र देखिएको विवादहरुलाई सामाधान गर्नका लागि योगनारायण यादवको संयोजकत्वमा राजकिशोर यादव, राजकिशोर चौधरी, सहदेव मुखिया र रामचन्द्र पंडित समेतको आयोग नै गठन भएको थियो । तर, पछि अलग अलग कमिटि बनेको छ ।
विवादको कारण
संविधान सभाको चुनावका दौरान आफ्नो पार्टीको उम्मेदवारहरुलाई सहयोग नगरी विपक्षी उम्मेदवारहरुलाई सहयोग गरेको कारण एमालेको केन्द्रिय कार्यसमितिले क्षेत्र नं. १ का तत्कालिन इन्चार्ज जयप्रकाश सुनरैत, २ नम्बरका तत्कालिन इन्चार्ज किशोरी साह, ७ नम्बरका तत्कालिन इन्चार्ज रामसागर महत्तो, जिल्ला कमिटि सदस्यहरु सोभित महत्तो, राजकुमार महत्तो, जिल्ला विकास समितिका पुर्व सभापति रामचरित्र साह लगायतलाई साधारण सदस्य समेतबाट निलम्बन गरिएको थियो । त्यसैगरी तत्कालिन अध्यक्ष हरिनारायण महत्तोलाई पछि अञ्चल कमिटिमा सदस्य बनाई वढुवा गरि पाँचौ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटिलाई विघटन गरी योगनारायण यादवको संयोजकत्वमा कमिटि गठन गरेको थियो ।
चुनावकै दौरान एमाले पार्टी प्रवेश गरेका यदुवंश झा र रत्नेश्वर लाल गोइत पार्टीमा प्रवेश गर्ने बेला करिब ७ सय जनालाई संगठित सदस्यता वितरण गरेको थियो । लगतै एमालेको केन्द्रिय महाधिवेशन हुँदा धनुषाका नेताहरु पनि उम्मेदवारी दिएका थिए । केप ीओलीको समुहमा केन्द्रिय सचिवमा रघुविर महासेठ, केन्द्रिय सदस्यहरुमा योगनारायण यादव, श्रीप्रसाद साह, ज्ञान बहादुर भुजेल, बैकल्पिक सदस्यमा हरिनारायण महत्तो र माधव नेपाल समुहमा सदस्यमा शत्रुधन महत्तो, रत्नेश्वर लाल गोइत र यदुवंश झाले उम्मेदवारी दिएका थिए । उक्त महाधिवेशनमा योगनारायण, श्रीप्रसाद, ज्ञानबहादुर र शत्रुघन विजयी भएपनि महासेठ र उनका पक्षधर हरिनारायण पराजित भए ।
त्यसपछि महासेठ पक्षधरहरु जिल्ला देखि केन्द्रसम्म पराजित भएपछि, संविधानसभाको चुनावमा समेत पराजित भएपछि आफ्नो अस्तित्व जोगाउन र पार्टीमा खास गरी जिल्लामा पुनः वर्चश्व स्थापित गर्न समानान्तर कमिटि गठन गरेको जिल्ला कमिटि सदस्य राजकुमार मण्डलको भनाई छ । हुन त महासेठ पक्षधर करिब ३ सय जना कार्यकर्ताहरुले गत जेष्ठ महिनामा केन्द्रिय कार्यालयमै गएर धर्ना दिएको भएपनि केन्द्रले कुनै सुनुवाई गरेको थिएन ।
 २०७१ कार्तिक ३० गते आईतबार

Tuesday, November 11, 2014

सर्प तथा बन्यजन्तुका संरक्षक

अजय अनुरागी
जनकपुरधाम............
यदि तपाईको घरमा वा कतै विषालु सर्प छ भने त्यसलाई नमार्नुस । नआतिनुस । बरु सर्पलाई उद्दार गर्नका लागि उद्दारकर्ता देवनारायण मण्डललाई ९८१७६२९२२९ मा फोन गरेर बोलाउनुस । रात होस वा दिन होस सर्पलाई उद्दार गर्न र पुनर्वास गराउन उनी तुरुन्तै आउने छन् । त्यसको लागि उनले कुनै शुल्क पनि लिने छैनन् । हुन त सर्पलाई देख्ने वित्तिकै मार्ने प्रवृति यहाँको समाजमा रहेको छ । तर, मिथिलेश्वर मौवाही ७ का २६ वर्षिय देवनारायण मण्डल सर्पलाई संरक्षण गर्नका लागि लागि परेका छन् । सर्पलाई मार्ने व्यक्तिलाई सम्झाउँदै उनी सर्पको महत्व के हो भनेर समुदायमा जनचेतना मात्र जगाउँदै हिँडेका छैनन्, जिवित्तै सर्पलाई उद्दार गरी धनुषाधामको जंगलमा लगेर मुक्त गर्ने गरेका छन् । 
धनुषाको भोइल गाउँमा घोरकरैत सर्पलाई 
उद्दार गर्दै देवनारायण मण्डल । 
साथमा स्थानीयवासी र 
सहायक वन अधिकृत सुरेश शर्मा ।
मण्डलले हालसम्म २ वर्षको अवधिमा मात्रै धनुषा जिल्लाबाट करिब १ हजार भन्दा वढी सर्पहरुलाई उद्दार गरी जंगलमा पुनर्वास गराएका छन् । जसमध्ये उनले केही लोपोन्मुख जातिका सर्पहरुलाई समेत उद्दार गरेको उनको दावी छ । मण्डलका अनुसार २०७१ सालमा भारतमा तक्षक नाग भनेर चिनिने सूर्यनाग (मोनोकल्ड जाति) को सर्पलाई जिउँदै उद्दार गरी धनुषाधामको जंगलमा सुरक्षित पुनर्वास गराएका छन् । त्यसैगरी ४ महिना अघि मात्र धनुषाको लोहना गाविसबाट ७ फिट लामो घोरकरैत भनिने व्यान्डेड करैतलाई उद्दार गरेका छन् । जिल्ला वन कार्यालय धनुषाका सहायक अधिकृत सुरेश शर्माले लोहनामा एउटा सर्पलाई उद्दार गर्न फोन गरेपछि मण्डलले उक्त सर्पलाई उद्दार गरेका छन् । मण्डलका अनुसार उक्त घोर करैत सर्पलाई उद्दार गर्न धेरै कठिनाई भएको थियो । किनभने उनीसँग रहेको रेस्क्यु वक्स सर्पको लम्बाई भन्दा सानो थियो । तर, पनि उनले उक्त सर्पलाई धनुषाधामको जंगलमा राखेका छन् । त्यसैगरी उनले फोर्सटेन्स क्याट स्नेक, कमन टूी स्नेक र वाइन स्नेकको दुईवटा प्रजाति व्राउन र ग्रिन स्नेक (जसलाई तराईमा सुगवा साप भनेर चिनिन्छ) लाई उद्दार गरेका छन् । 
धनुषाको मिथिलेश्वर मौवाहीबाट 
नेपालमै दुर्लभ मानिने तक्षक नाग उद्दार गर्दै ।
 उद्दार कर्ता मण्डलले उक्त सर्पलाई 
धनुषाधामको बन कार्यालयमा सुरक्षित राखेका छन् ।
 मण्डलका अनुसार उक्त तक्षक नाग बच्चा 
भएका कारण यस क्षेत्रमा उसको 
आमा, बुवा र ७ देखि ९ वटा संख्यामा
 भाई वहिनीहरु समेत हुन सक्ने छ ।
यसरी उनले गाउँ गाउँमा गएर जिउँदो सर्पलाई उद्दार गर्ने गरेका छन् । कसैको घरमा सर्प छ भने उनलाई फोन गर्दा उनी तुरुन्त त्यहाँ पुगेर सर्पको उद्दार गर्न थाल्छन् । मण्डल भन्छन,“ हाम्रो तराईमा चाहे विषालु वा गैर विषालु सर्प नै किन नहोस देख्ने वित्तिकै मारिदिने चलन छ । कतिपय अवस्थामा सर्पलाई उद्दार गर्न गईरहेको बेला अलिकति पनि ढिलाई भयो भने मान्छेले सर्पलाई मारिसकेका हुन्छन् । मान्छे डराएर अलि समय पनि कुर्न चाहँदैनन् ।” जनकपुरको छेउमै रहेको बसहिया गाउँबाट मण्डलका टिमले लाइकोडोन जारा प्रजातिका २ वटा सर्प गरी कुल ८ वटा उक्त प्रजातिको सर्पलाई उनले उद्दार गरेका छन् । त्यसैगरी मिथिलेश्वरको सिरसिया चौकबाट व्यान्डेड कुकरी प्रजातिका र अन्य ठाउँहरुबाट गरी कुल २५ वटा सर्पहरुको उनले उद्दार गरेका छन् ।
त्यसैगरी उनले सर्पलाई मात्र होइन घाइते पशुपक्षीहरुलाई समेत उपचार गर्ने गरेका छन् । धनुषाको ठेरामा घाइते अवस्थामा फेला परेको पक्षी गरुडलाई उनले उपचार गरेका थिए । उक्त कार्यमा भारतबाट धनुषाधाम जंगलको अनुसन्धान गर्न आएका मविस कुमार एमभी र उनको टिमकै एक जना भोलन्टियर भेटेनरी चिकित्सक शैलेन्द्र मण्डलले सघाएका थिए । घाइते उल्लु(लाटोकोसेरो)लाई समेत उपचार गरी उनले जीवन प्रदान गरेका थिए । त्यसैगरी मिथिलेश्वर निकासको पुरन्दाहा टोलबाट उनले एउटा कछुवालाई समेत उद्दार गरेका छन् । मण्डल भन्छन,“कछुवालाई मारेर खाने हाम्रो समाजमा प्रवृति छ । कछुवाको संख्या दिनानुदिन कम भईरहेको छ । कछुवालाई संरक्षण नगर्ने हो भने जसरी गिद्द लोप हुँदै गए केही दिनमै कछुवा पनि लोप हुने छ । त्यसकारण कछुवालाई उद्दार गरिएको हो ।” उनी भन्छन,“ निकट भविष्यमै धनुषाधामको जंगलमा टरटल कन्जरभेसन सेन्टर संचालन गरी कछुवाहरुलाई संरक्षण गरिने छ । त्यसैगरी उनले धनुषाको किशानपुरबाट एउटा निल गाईको बच्चा (घोडगद्दर)लाई उद्दार गरी जंगलमा पुनर्वास गराएका छन् । उनका अनुसार धनुषाधामको जंगलमा करिब ४० वटाको संख्यामा निल गाई पहिले देखि नै रहेको छ । जुन कि नेपालको संरक्षित वनहरुमध्ये सबैभन्दा वढी निल गाई धनुषाधामको संरक्षित वनमै रहेको छ ।
कसरी भयो मण्डलको जनावरसँगको संगत
धनुषाको किसानपुरबाट निलगाईको 
बच्चालाई दुध खुवाउँदै ज्ञानकुमार यादव, 
देवनारायण मण्डल र शिवशंकर यादव ।
 उक्त बच्चालाई उद्दार गरी धनुषाधामको
 जंगलमा पुनर्वास गराइएको थियो ।
मण्डल गरिब परिवारबाट भएका कारण जसो तसो एसएलसी उत्तिर्ण गरी जनकपुरकै नेशनल एकेडमी क्याम्पसमा आइकम पढ्नका लागि नामाङ्कन गराएका थिए । तर, पहिलो त्रैमासिक परीक्षा दिएर उनी कामको खोजीमा पढाईलाई त्यागेर भारतको दिल्ली पुगे । त्यहाँ पुगेर इन्कम टेक्स अफिसमा काम गर्ने एक जना वकिलको कार्यालयमा कार्यालय सहयोगीको रुपमा उनी काम गर्न थाले । सोही दौरान उनले त्यहाँबाट पढाईलाई पनि निरन्तरता दिँदै आइकम उत्तिर्ण गरे र विकममा समेत नामाङ्कन गराए । इन्कम टेक्स र सेल्स टेक्स अफिसमा काम गर्दै जाँदा उनलाई एक जना चार्टर्ड एकाउन्टेन्टसँग उनको  सम्पर्क भयो । उक्त सि.ए.ले दिल्लीलाई आधार इलाका बनाएर वाइल्ड लाइफ एसओएस ‘सेभ आवर सोल’ नाउँको संस्था चलाईरहेका थिए । त्यसपछि मण्डल पनि उक्त संस्थामा काम गर्न थाले । सन् २००६ देखि मण्डल आगरा स्थित उक्त संस्थामा २४ घण्टै काम गर्न थाले । करिब १ हजार जंगली जनावरको बीचमा बसोवास गर्ने, खाना खाने, जनावरसँगको एटेचमेन्ट तथा हेन्ड प्राक्टिस समेत हुन थाल्यो । मुख्यरुपमा भालु, निल गाई, हरिण, बाँदर, लंगुर, खरायो, हाती, विभिन्न प्रजातिका सर्पहरुका बीचमा उनी बस्न थालेपछि जंगली जनावरहरुसँग उनको उठवस हुन थाल्यो । यसरी त्यहाँ काम गर्दा उनलाई जंगली जनावरहरुको गतिविधिबारे राम्रो ज्ञान हासिल भयो । सन् २००६ देखि सन् २०१२ सम्म उनी आगरामै काम गरे । त्यहाँ थुप्रै पशुपक्षीहरु घाइते हुँदा उपचार गराई पुनरवास गराउने तथा विभिन्न प्रजातिका सर्पहरुलाई उद्दार गर्ने कला उनले सिके । हुन त जंगलमा घुम्ने उनको लगाव बाल्यकाल देखि नै रहेको थियो । विद्यालय पढ्दा १० कक्षासम्म कतिपटक विद्यालय नगई विद्यालयबाट सिधा धनुषाधामको जंगलमा घुम्न जाने गर्थे । साथीहरुको टिम बनाएर उक्त जंगलमा घुम्ने उनको सौखले पनि उनलाई जंगली जनावरहरुको बीचमा जान उत्पे्ररित गरेको मण्डल आफै बताउँछन् । आगरामा हुँदा प्रत्येक वर्षमा २८ दिनको लागि छुट्टी मनाउन उनी आफ्नो गाउँ मिथिलेश्वर मौवाही फर्किन्थे । सन् २०१२ मा जव उनी छुट्टीमा घर आएका थिए, धनुषाधामको जंगल हेर्न गए । तर, उक्त जंगलको दुर्दशा हेरेर उनी आश्चर्य चकित भए । किनभने सन् २००३ मा विद्यालयका ५ जना साथीसँगै उक्त जंगलमा जाँदा जंगल यति घना थियो कि कसैमा छिर्ने हिम्मत समेत भइरहेको थिएन तर सन् २०१२ मा हेर्दा उक्त जंगल पुरा खाली थियो । अनि भारतमा गएर भारतको लागि काम गर्नुभन्दा आफ्नै जिल्लाको धनुषाधाम जंगल र जनावरहरुका लागि काम गर्नुपर्छ भनेर उनी उत्प्रेरित हुँदै यहिँ काम गर्ने निधो गरे । सोही बेला संयोगले धनुषाकै यदुवंश झा वन मन्त्रि र धनुषा सबैलाका वज्र किशोर यादव वन विभागका निर्देशक थिए । मण्डलले ती दुवै जनासँग भेटेर धनुषाधामको जंगलबारे छलफल गर्दा जंगललाई संरक्षित गर्नका लागि मन्त्रि पनि तयार भएपछि उनी झनै उत्प्रेरित भए । पछि जिल्ला वन कार्यालयले पनि संरक्षण गर्नुपर्छ भन्ने कार्यका लागि सहयोग गर्न थाले । यता मण्डलले २० फागुन २०६९ मा वातावरण तथा बन्यजन्तु संरक्षणका लागि मिथिला वाइल्ड लाइफ टूस्ट जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराई टूस्टका मार्फत काम गर्न थाले । वातावरण र वन्यजन्तु सम्बन्धि जनचेतना कार्यक्रम,२४ घण्टै वन्यजन्तु उद्दार र पुनर्वासको कार्यक्रम, धनुषाधाम संरक्षित वनको दिगो विकास र दिगो कृषि कार्यक्रम गरी ४ वटा कार्यक्रमहरु उक्त टूस्ट मार्फत संचालन हुन थालेको छ ।
धनुषाको वसहियाबाट ११ फिट लामो 
धामन सर्पलाई उद्दार गर्दै 
रामखेलावन मण्डल 
६ महिना अघि मात्र उक्त धनुषाधाम जंगलमा प्रत्येक महिना कम्तिमा पनि दुई तिनवटा रुख काटेर चोरी हुन्थ्यो, महिनामा स्थानीयवासीहरुले दुई तीन पटक जानी जानी आगो लगाएर सानो विरुवा जलेपछि दाउराका लागि काठ लग्ने गर्थे । यति मात्र होइन जंगलमा जथाभावी चरिचरण त हुन्थ्यो नै दाउरा संगै पातको बहानामा रुखका हाँगाहरु काटेर लग्नु सामान्य भईसकेको थियो । संरक्षणको अभावमा उक्त जंगलको दुरावस्था यतिसम्म भईसकेको थियो कि जंगलमा रहेका करिब ४० वटा निल गाई जंगलभित्र चर्न नपाउँदा जंगलको छेउमा रहेको नदिमा रहेको स्थानमा वास वस्न बाध्य भएका थिए । जंगलको गहिरो अनुसन्धान समेत गरेका मण्डल भन्छन,“जंगलभित्र १५ वटा निल गाई मात्र रहेको थियो । जंगल बाहिर गएका निल गाईहरु राति छेउछाउको खेतमा चर्न जाने र जसले गर्दा किसानले लगाएका खेतीपातीमा समेत ठुलो क्षति हुन्थ्यो । निल गाईहरु जंगलमा फर्किदैन्थे ।” तर अहिले उक्त जंगल संरक्षित क्षेत्र भईसकेपछि र वाइल्ड लाइफ टूस्टले समेत सक्रिय रुपमा काम गर्न थालेपछि ती सबै विकृतिहरु रोकिनुका साथै निल गाईहरु फेरी सुरक्षित बासस्थानका लागि जंगलमा फर्किएका छन् । इलाका वन कार्यालय धनुषाका सहायक वन अधिकृत शंकर नारायण झा र उक्त टूस्टका टोलीहरुले धनुषाधाम, धनुषा गोविन्दपुर, यज्ञभुमि, उमाप्रेमपुर आदि गाउँहरुमा गएर जनचेतना जगाउन सक्रिय भएपछि स्थानीयवासीहरु पनि जंगल र जंगलका वन्यजन्तुलाई संरक्षण गर्न तदारुकता देखाएका छन् । हुन त उक्त जंगललाई जैविक केन्द्रको रुपमा विकास गर्नका लागि बनाइएको कार्य योजना जिल्ला वन कार्यालय धनुषा मार्फत प्रस्ताव गरिएको मात्र छैन उक्त योजना नेपाल सरकारले स्वीकृत समेत गरिसकेको छ । उक्त कार्ययोजना तर्जुमा प्रक्रियामा समेत सहभागी भएका मण्डल भन्छन,“धनुषा धामको जंगललाई इकोटुरिज्मको अवधारणा अनुसार बनाइएको कार्ययोजनामा बोटानिकल गार्डन, पिक्निक स्पोर्ट, बोटिङ पोन्ड, चिल्डूेन पार्क, हर्वल गार्डेन, वाइल्ड लाइफ रेस्क्यू सेन्टर, मिनि जु, वाइल्ड लाइफ सफारी समेतको परियोजनाहरु बनाइएको छ । उक्त ठाउँ धार्मिक दृष्टिकोणले पहिले देखि नै पर्यटकिय स्थलको रुपमा देश विदेशमा प्रख्यात रहेको हुँदा अहिले औषत एक दिनमा कम्तिमा पनि धनुषाधाम मन्दिरको दर्शन गर्नको लागि न्युन्तम  १ सय २५ जना पर्यटकहरु आउने गरेका छन् । तर, उक्त परियोजना लागु भईदियो भने एक दिनमा आएका पर्यटकलाई त्यहाँ दुई रात र तीन दिन रोक्न सकिन्छ । पर्यटकको संख्या पनि उल्लेखिय रुपमा वृद्धि गर्न सकिन्छ । धनुषाधामको उक्त बन ३६० हेक्टर अर्थात ५५० विघा जग्गामा रहेको छ । अहिले पनि उक्त जंगलमा निल गाई, काठे बाघ, जंगली खरायो र विभिन्न प्रजातिका सर्पहरु पाइन्छ । त्यसैगरी रुखको रुपमा मुख्यतया सालका रुखहरु छन् । मुख्य कुरा के हो भने उनले यी सबै कामहरु गर्दा राज्य पक्षबाट पाउनुपर्ने सहयोग पाएका छैनन् । बरु आफ्नै गोजीबाट विगतमा कमाएको रुपैयाँ खर्च गरिरहेका छन् ।
घाइते गरुडलाई उपचार गर्दै 
मिथिला वाइल्ड लाइफ ट्रस्टका 
मुकेश रजक र संतोष रजक ।
धनुषाधामको जंगलका लागि स्वीकृत गरिएको कार्ययोजना अनुसार करिब ५४ करोड रुपैयाँ लाग्ने छ । तर, नेपाल सरकारले प्राथमिकता नदिएका कारण उक्त परियोजनाले कुनै मुर्त रुप लिन सकेको छैन । यति मात्र होइन मण्डल त धनुषाबासी समेत रहेका राष्टूपति डा.रामबरण यादव, धनुषाका प्रायः जसो सभाषदहरु र नेपाल सरकारका अहिलेको मन्त्रि विमलेन्द्र निधि लगायत विभिन्न राजनीतिक दलका नेताहरु समेतलाई उक्त परियोजना सुचारु गराउन तथा बजेट विनियोजन गराउन भेटेरै अनुरोध गरिसकेका छन् । तर, सबै ठाउँबाट उनले आश्वासन मात्र पाएका छन् ।
सार्क शिखर सम्मेलनका लागि नेपाल आउने बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम हुँदै काठमाण्डौ जाने कार्यक्रम छ । मण्डल चाहन्छन् भारतीय प्रधानमन्त्री मोदीले उक्त धनुषाधाम जंगलको परियोजनाको लागि प्राथमिकताका साथ फन्डिङग गरिदिए भने जनकपुरको साथ साथै विश्वकै जलवायु परिवर्तन र त्यसबाट भएका विनाशहरुबाट जोगाउन केही योगदान हुने थियो । 
नेपालमा बन्यजन्तुको संरक्षणको लागि ठुलो बजेट खर्चेर ठुलठुला तारे होटेलहरुमा गरिएको राष्टिूय अन्र्तराष्टिूय कन्फ्रेन्सहरुमा मात्र कुरा हुने गर्छ । तर, ग्रास रुट लेभेलमा कार्यान्वयन भईरहेको हुँदैन । यस्तो अवस्थामा एक जना व्यक्तिको प्रयास निश्चय नै सराहनिय मात्र छैन, बन्यजन्तु तथा बातावरणमा काम गर्नेहरुको समेत ध्यानाकर्षण हुनु जरुरी छ ।


२०७१ कार्तिक २३ गते आईतबार

संघीयता पक्षधर २२ दलको जनकपुरमा गर्जन


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाली कांग्रेस र एमालेले संयुक्त रुपमा प्रस्तुत गरेको ७ प्रदेशको भौगोलिक विभाजन राजनीतिक र संवैधानिक आधारको समेत विपरित रहेको एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाएका छन् । २२ कार्तिकमा जनकपुरको रंगभुमि मैदानमा संघीयता पक्षधर २२ दलिय संघीय गणतान्त्रिक मोर्चाले आयोजन गरेको वृहत जनसभामा प्रचण्डले उक्त आरोप लगाएका हुन् । माओवादीसँग विगतमा गरिएको १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, मधेससँग गरिएको स्वायत्त मधेस प्रदेशको सम्झौता, दलित, जनजाति, आदिवासी लगायतसँग गरिएको सबै सम्झौताहरु राजनीतिक आधार हुन् भन्दै प्रचण्डले राजनीतिक आधारलाई मिचेपछि वर्गिय, जातिय, क्षेत्रिय उत्पीडन, समानुपातिक समावेशी लगायतको सिद्धान्तलाई तोडेर धोखाधडी र विश्वासघात गर्ने कांग्रेस र एमालेले गल्ती सच्याउँदैन भने तिनीहरुलाई सरकारमा बस्ने अधिकार समेत नरहेको बताएका थिए । त्यसैगरी अन्तरिम संविधानमा नै स्वायत्त मधेस प्रदेश हुने भनेर लेखिसकिएको अवस्थामा कांग्रेस र एमालेले ल्याएको साझा ७ प्रदेशको अवधारणा अन्तरिम संविधानको मुल मर्म र भावनालाई पनि च्यातेको प्रचण्डले टिप्पणी गरे । यी दुई वटा मुख्य आधारलाई नमान्ने हो भने संवैधानिक रुपले पनि उनीहरुलाई राज्य संचालन गर्ने अधिकार नरहेको तथा पछि नसच्चिँदा जनताले आफ्नो अधिकार आफ्नो हातमा लिएर सरकार आफै चलाउने प्रचण्डले चेतावनी दिए ।
शान्ति सम्झौतामा दृढता पुर्वक उभिने शक्तिलाई संयुक्त राष्टू संघ, छिमेकी मुलुक भारत, चीन, मित्र राष्टूहरु यूरोप अमेरिकाले पनि समर्थन गर्ने हुनाले २२ दलिय गठबन्धनको साथ र एकता आवश्यक रहेको भन्दै प्रचण्डले सहमतिको प्रक्रियालाई छोडेर अलग बाटो गएर जनताको भावना विपरित जवर्जस्ती संविधान बनाए पनि त्यो लागु नहुने उनले चेतावनी दिए । अहिले कांग्रेसकै ५० जना मधेसी सभाषदहरुले ७ प्रदेशको प्रस्तावलाई अस्वीकार गरी उनीहरुले आफ्नै पार्टी सभापति सुशिल कोइरालाका विरुद्ध हस्ताक्षर अभियान चलाईरहेको आफुलाई जानकारी प्राप्त भएको भन्दै एमालेका मधेसी सभाषदहरुलाई पनि मधेस विरोधी संविधान ल्याउन छुट नरहेको उनले बताए ।
त्यसैगरी आफु विस्तृत शान्ति सम्झौता पश्चात शान्तिपुर्ण राजनीतिमा आएको हुनाले अब हिंसा वा छापामार यूद्ध नगरी लोकतान्त्रिक प्रक्रिया र विधिबाटै शान्तिपुर्ण आन्दोलन र क्रान्तिको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्ने एमाओवादी अध्यक्ष दाहालले प्रतिवद्धता व्यक्त गरे । आफुलाई मधेसको साथ नदिन नेपाली कांग्रेस र नेकपा एमालेले २२ दलिय गठबन्धन वा तीन दलिय गठबन्धन, राजनीतिक समितिको संयोजक वा मधेसी जनताको साथ मध्ये कुनै एक रोज्न भन्दा आफुले बरु संयोजक नदिए नदेउ, २२ दलिय गठबन्धन र मधेसी जनताको साथ नै रोजेको भन्दै दाहालले के पनि भने भने बरु म जबसम्म मधेसीको अधिकार सुनिश्चित गराउँदिन तव सम्म मधेसी जनताको साथ छोडदिन तर, मधेसी नेताहरुले पनि मलाई अन्तिम समयसम्म साथ दिनुपर्छ भनेर भनेका थिए ।
हजारौं वर्ष देखि नेपाल बनाउन मधेसी जनताको योगदान, बलिदान र भुमिका रहेको भन्दै देशमा सामन्ती, अति हिन्दुवादीहरुको टाउको भनिएको राजतन्त्र रुपी कालो सर्प जसले जनतालाई सधै डस्ने काम ग¥यो उक्त सर्पको टाउकोलाई १० वर्षे जनयूद्धले ढालिसकेको भएपनि पुरानै व्यवस्थाका पुच्छर कांग्रेस र एमाले अहिले पनि हल्लिरहेको हुनाले उक्त पुच्छरलाई नमार्दा कहिले कांही टाउकोमा पुच्छर जोडियो भने सर्प पनि व्युँतिने खतरा रहेको उनले भने ।

२२ दलिय जनसभामा उपस्थित सहभागीहरु ।
दोस्रो संविधान सभाको चुनाव अघि आफुले मधेसी जनतासँग प्रेम पर्यो भन्दा मान्छेले पहाडलाई प्रेम नगरेको भनेर अर्थियाइयो । आफुले पहाडलाई प्रेम नगरेको भनेर पनि भनेको थिइन । तर, संयोग के भयो भने मधेसी जनताले साँच्चिकै मलाई प्रेम गरेर जनप्रतिनिधि बनाई संविधान सभामा पु¥याएर ठुलो ऋण लगाएको हुनाले पनि आफुले जवसम्म उक्त ऋण चुक्ता गर्दिन तवसम्म मधेसको साथमा रहिरहन्छु भनेर प्रचण्डले मधेस प्रतिको विश्वासलाई जित्ने प्रयास गरेका थिए । मधेसी जनता मधेसको मात्र नभएर सिंगो नेपालकै भाग्य भविष्य निर्माण गर्ने हुनाले अब मधेसले आफ्नो अधिकारको लागि ठुलो आन्दोलन गर्ने बताएका थिए ।
उक्त कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले कांग्रेस र एमालेले दुई तिहाई बहुमतको आधारमा जवर्जस्ती संविधान ल्याउन खोजे मुलुकमा अशान्ति, मुठभेड र द्वन्द निम्तिने चेतावनी दिए । यो देशमा ६४ प्रतिशत जनता मधेसी समुदायको रहेको हुनाले मधेसले स्वायत मधेस प्रदेश स्थापना, थारुले थरुहट प्रदेश, लिम्बुले लिम्बान प्रदेश हुनबाट अब कसैले पनि रोक्न नसक्ने भन्दै गच्छदारले प्रचण्डलाई अब बन्दुक होइन शान्तिपुर्ण राजनीतिबाट सम्भव रहेको विश्वास दिलाएका थिए । त्यसैगरी आफुलाई कांग्रेस र एमालेले २२ दलिय गठबन्धनमा सहभागी हुन नदिन कांग्रेस र एमालेले घेराबन्दी गर्न खोजे पनि आफु उक्त घेराबाट बाहिर आएको गच्छदारले बताए । काठमाण्डौको टुडीखेलमा आयोजित विरोध सभामा करिब १५ देखि २० हजारसम्मको संख्यामा जनता उपस्थित रहेपनि कांग्रेस र एमालेले २२ दलले २२सय मानिसको संचालन गरेको भनेर टिप्पणी प्रति उनले कांग्रेस र एमालेलाई काठमाण्डौबाट दुरविन लगाएर जनकपुरको विरोध सभालाई हेर्न चेतावनी दिएका थिए । कांग्रेस र एमाले गलत बाटोमा गएर पहिचान, संघीयता, गणतन्त्रलाई समाप्त पार्ने, परिवर्तनलाई संस्थागत नगरी पुरानै व्यवस्था तर्फ पुर्नउत्थानबादी सोच तर्फ रहेको आरोप लगाए ।
उक्त सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमाले संघीयता र पछिल्लो सम्झौता विपरित हिंडिसकेको आरोप लगाए । मधेस आन्दोलन पश्चात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले दायाँमा एमाले नेता माधव कुमार नेपाल र बायाँमा पुष्पकमल दाहाललाई राखेर स्वायत मधेस प्रदेश हुने भनेर सम्झौता गरेका थिए । तर, नेपाली कांग्रेसका नेता रामशरण महत आफ्नो गुरुलाई जब भारतको दिल्लीमा भेट गर्न जान्छ तब यो देशमा मधेस नै छैन भनेर भन्छन्, एमालेका अध्यक्ष केपी ओली जब दिल्ली जान्छन तब भन्छन यो देशमा मधेस र मधेसी नै छैन भनेपछि उनीहरु मधेस र संघीयताको विरुद्ध हिडिसकेको हुनाले अब पनि यदि विगतमा गरिएका सम्झौता अनुरुप स्वायत मधेस प्रदेश सहितको संविधान आएन भने भोली मधेसी जनताले आफ्नो अलगै संविधान लेख्न बाध्य हुने र त्यसलाई कुनै पनि ताकतले रोक्न नसक्ने चेतावनी दिएका थिए ।
उक्त सभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरुको संघर्ष उपनिवेशको विरुद्ध मुक्तिको संघर्ष हुनाले जवसम्म शासकहरुको प्रशासनबाट मुक्ति मिल्दैन तवसम्म लडाई जारि रहने बताए । माओवादीको जनयूद्ध विचारमा आधारित संघर्ष थियो तर हाम्रो संघर्ष भन्ने उपनिवेशको विरुद्ध पहिचान र अधिकारको लागि रहेको भन्दै कांग्रेस र एमालेले अन्तरिम संविधानको प्रस्तावनाको धारा १३८लाई उल्लंघन गरी आफ्नो खल्तीबाट छलफलको लागि ७ प्रदेशको प्रस्ताव दर्ता गराउनु अवैधानिक रहेको ठाकुरले टिप्पणी गरेका थिए । उक्त सभामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले कांग्रेस र एमालेले बइमानी, धोकाधडी र जालझेलको समेत सिमा नाघिसकेको हुनाले मधेसलाई ५ टुक्रामा विभाजन गर्न ठुलो षडयन्त्र गरेको उनले बताए । स्वायत मधेस प्रदेश भन्दा एक इन्च पनि कम भुभाग मधेसी जनतालाई स्वीकार नरहेको भन्दै अबको आन्दोलनले तिनीहरु सकिने चेतावनी दिएका थिए ।
फोरम नेपालका हरिनारायण यादवको अध्यक्षतामा तमसपाका अध्यक्ष महेन्द्र यादव, संघीय समाजवादी पार्टीका उपाध्यक्ष रिझवान अन्सारी, संघीय लिम्बुवान पार्टीका कुमार लिङदेन लगायत २२ दलका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । उक्त सभामा करिब ५० हजारको संख्यामा मानिसहरु उपस्थित रहेको अनुमान गरिएको छ ।

२०७१ कार्तिक २३ गते आईतबार