Wednesday, July 5, 2017

अबैध कन्सलटेन्सीहरुको बिगबिगी उच्च शिक्षा अध्ययनका नाममा कन्सलटेन्सीहरुबाट ठगिँदै विद्यार्थी


कन्सलटेन्सीद्वारा ठगिएपछि प्रहरीमा अभिभावकहरुले
कन्सलटेन्सी विरुद्ध प्रहरीमा दर्ता गरेको जाहेरी ।
अजय अनुरागी
जनकपुरधाम............
काठमाण्डौ महानगरपालिका वडा नं. ३१ बागबजार भृकुटी मण्डप सडक खण्डमा संचालित स्टुडेन्ट केयर अफ नेपाल नामक कन्सलटेन्सीले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विदेश पठाउँदा ठगी गरेको पाइएको छ । धनुषाको साविक बेंगाडावर गाविस २ तथा हाल परिवर्तित मिथिला नगरपालिका वडा नं. ७ मा बस्ने राजेश प्रसाद साहले संचालन गरेको उक्त कन्सलटेन्सी मार्फत विद्यार्थीहरुलाई ठगी गरिएको हो । विद्यार्थीहरुलाई भारतको बेंगलौर तथा बंगलादेश समेतमा उच्च शिक्षा अध्ययनको लागि पठाउँदा रकम ठगी गर्ने गरेको कुरा उक्त कन्सलटेन्सीको चङ्गुलमा फसी पीडित बनेका अभिभावकहरुले सार्वजनिक गरेपछि तथ्य बाहिर आएको हो ।
राजेश कुमार साह उक्त कन्सलटेन्सीका मुख्य संचालक हुन । सरिङ भन्ने छिरिङ पेम्बा गुरुङ, मन्दिल पाण्डे र फिरोज राईन समेत ४ जना भई २ जना अन्य स्टार्फहरु प्रियंका गुप्ता र योगिता गौतम राखि उक्त राजेश साहले विगत ७ बर्ष देखि उक्त कन्सलटेन्सी संचालन गर्दै आएका छन् । विद्यार्थीहरुलाई सेवा दिने क्रममा नेपाल लगायत विदेश समेतमा साहले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आईरहेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ५ बस्ने अरुण कुमार साह, सप्तरी शम्भुनाथकै विनोद कुमार गुप्ता, चितवनको भरतपुर महानगरपालिका १० बस्ने दयाराम आचार्य, सोलुखुम्बुको कौशिका गाउँपालिका ५ का बलबहादुर राई, सप्तरी राजविराज २ का सचिन यादव लगायतका अभिभावकहरुबाट रकम ठगी गरेको पाइएको छ । अरुण कुमार साहबाट रु.१ लाख ६० हजार, बलबहादुर राईबाट रु. २ लाख ४० हजार, दयाराम आचार्यबाट रु. २ लाख ५६ हजार, विरोध गुप्ताबाट रु. १ लाख ६० हजार, सचिन यादवबाट रु. १ लाख ८० हजार रुपैयाँ विद्यार्थी भर्ना गराईदिने नाममा र सेवा शुल्क बापत प्रति व्यक्ति रु. ५० हजार लिई ठगी गरिएको आरोप लगाइएको छ । ती अभिभावकका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि भारतको बेंगलौरमा पुर्याई अलपत्र पारी रकम ठगी गरेको आरोप लागेको छ । ती अभिभावकका अनुसार राजेश साहले कन्सलटेन्सी मार्फत ती विद्यार्थीहरुलाई भारतको कलेजमा लगि एडमिशन बापत लाग्ने शुल्क लिएपनि सम्बन्धित कलेजमा उक्त शुल्क नबुझाएको र भारतको उक्त कलेजबाट शुल्कको लागि ताकेता हुँदै गर्दा आफुहरु ठगिएको बुझिन आयो । त्यसपछि ४ जेष्ठ २०७४ मा ती पाँचै जना अभिभावकहरुले उक्त कन्सलटेन्सीका संचालकहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी गरेको भन्दै जाहेरी दर्ता गराए । अनि त्यसपछि धनुषा प्रहरीले राजेश साहलाई ५ जेष्ठ २०७४ मा पक्राउ गरी अनुसन्धान अगाडी वढाएका थिए । ३० जेष्ठ २०७४ मा धनुषा जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरियो ।
विद्यालयसँग समन्वय गरी लाग्ने शुल्क समेत तय गरी विद्यार्थीहरुको अभिभावकसँग रकम माग गरी भर्ना शुल्क र मासिक शुल्क निज साहले नै असुल गरी पठाउने गर्थे । अरुण कुमार साहको छोरी निक्की साह, विनोद कुमार गुप्ताको साली रानी गुप्ता, बलबहादुर रायको छोरी सरिता राई, दयाराम आचार्यको छोरी कृपा आचार्य र सचिन यादवको बहिनी सविना यादव समेतलाई भारतको बेंगलौर स्थित बेथल मेडिकल हस्मेट कलेजमा भर्ना गरी भर्ना शुल्क र पहिलो मासिक शुल्क समेत बुझाई निजहरुलाई आफ्नो संस्थामा कार्यरत प्रियंका गुप्ता र सहयोगी फिरोज राईनको साथ लगाई अध्ययनको लागि उक्त कलेजमा पठाएको भन्दै संचालक साहले धनुषा प्रहरी समक्ष बयान गरेका छन् । ती विद्यार्थीहरुले उक्त कलेजमा केही दिन अध्ययन गरे पश्चात निजहरुले उक्त कलेजमा पढाई राम्रो नभएको र अर्कै कलेजमा पढने भनेपछि दोस्रो कलेजमा तत्काल भर्ना गर्न नसक्ने, तपाईहरु आफै मिलाउनु होस, बुझाई सकिएको रकम कलेजले फिर्ता गरे पश्चात दिनेछु भनेर मौखिक सहमति गरेको राजेश साहले बताएका छन् । त्यसपछि ती विद्यार्थीहरुलाई बेंगलौरकै नसिमा कलेज इन्सिट्च्यूट टेक्नोलोजीमा भर्ना गरिएको राजेश साहको तर्क छ ।
सेवा शुल्क बापत कुनै पनि रकम नलिएको तथा ती अभिभावकहरुबाट लिइएको पहिलो बर्षको किस्ता बापतको रकम बेथल मेडिकल कलेजमा बुझाएको रसिदको फोटोकपी  आफुसँग रहेको साहको तर्क छ ।
त्यसैगरी अर्का एक जना नुवाकोटका अभिभावक कृष्ण बहादुर पंडितको छोरा सुदिप पंडितलाई बंगलादेशको नर्थ इस्ट मेडिकल कलेजमा भर्ना गराई सुदिप पंडितको कलेजमा बुझाउनु पर्ने रकम र व्यक्तिगत खर्च बापत गरी कुल ९ लाख ४० हजार रुपैयाँको नगद तथा चेक समेत लिई उक्त कलेजमा रकम नबुझाई जाल प्रपञ्चमा पारी ठगी गरिएको बताइएको छ । सन् २०१६ मा कृष्ण बहादुरले आफ्ना छोरा सुदिप पंडितलाई एमबिबिएस अध्ययनका लागि बंगलादेशको नर्थ इस्ट मेडिकल कलेजमा उक्त कन्सलटेन्सी मार्फत पठाएका थिए ।
छोराको अध्ययन एवम बसोबास खर्च पठाउनको लागि नेपाल सरकारको शिक्षा मन्त्रालयबाट लिएको नो अब्जेक्सन लेटर कलेजमै रहेको हुँदा रकम पठाउन सकिएको थिएन । रकम पठाउन उक्त नो अब्जेक्सन लेटर कलेजबाट फिर्ता झिकाउनका लागि कन्सलटेन्सीमा जाँदा कन्सलटेन्सीका संचालक राजेश साह लगायतले त्यो विद्यार्थीलाई आफुहरुले नै पठाएको र रकम पनि कलेजमा पठाईदिने भनेपछि १ भदौ २०७३ मा एभरेष्ट बैंकमा रहेको बचत हिसाव नम्बर ०४४००५०१२०३५२१ बाट भुक्तान हुने गरी राजेश भन्ने प्रसान्त साहको नाउँमा कृष्ण बहादुर पंडितले चेक दिए । त्यसका साथै नगद रु. ४ लाख ४० हजार कन्सलटेन्सीका अर्का संचालक सरिङ भन्ने छिरिङ पेम्बा गुरुङलाई ९ माघ २०७३ मा दिएको पंडितले बताए । तर, त्यो रकम ती संचालकहरुले सम्बन्धित कलेजमा नपठाएपछि कलेजबाट नो अब्जेक्सन लेटर मगाई रकम बुझाएको पंडितको भनाई छ । दिएको रकम माग्न जाँदा आज, भोली, पर्सी भनि आनाकानी गर्दै कन्सलटेन्सी बन्द गरी भागी हिँड्ने गरेको पंडितको भनाई छ ।
उता राजेश साहले प्रहरीमा गरेको बयान अनुसार पंडितको अध्ययनका लागि सम्पुर्ण प्रक्रिया पुरा गरी पहिलो किस्ता बापतको रकम २९ कार्तिक २०७२ मा अभिभावकसँग बुझाउन लगाई उक्त कलेजमा भर्ना गरी पढनको लागि बंगलादेश पठाएको स्वीकार गरेका छन् । दोस्रो किस्ताको रकम बुझाउनको लागि उनका बुवा कृष्ण बहादुरले १ भदौ २०७३ मा ४ लाख १२ हजार रुपैयाँको चेक लिई आएपछि आफुले उक्त रकम बंगलादेशमा बस्ने संतोष जयसवाल मार्फत सुदिप पंडितलाई पठाएको राजेश साहले बताएका छन् । उक्त रकम सुदिपले प्राप्त गरेको जानकारी पनि पछि पाएको थिएँ भन्दै साह भन्छन,“ उक्त रकम पठाएको ५ महिना पछि पुनः तेस्रो किस्ताको रकम पठाउन कृष्ण बहादुर मेरो अफिसमा आउँदा आफु भारतको नयाँ दिल्लीमा कामको शिलशिलामा गएका कारण अफिसमा रहेका सरिङ भन्ने छिरिङ पेम्बा गुरुङ ९ माघ २०७३ मा ४ लाख ४० हजार रुपैयाँ दिएका रहेछन् । उक्त रकम बारे मलाई कुनै जानकारी छैन ।”
उक्त ठगी मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्ययाले ३१ जेष्ठ २०७४ मा गरेको आदेशबाट पक्राउ परेका राजेश साह ५ लाख रुपैयाँ धरौटी राखि तत्काल रिहा भएका छन् भने अन्य थप प्रतिवादीहरुलाई पक्राउ गर्न आदेश गरिएको छ ।
धरौटीमा रिहा भएपछि ठगिएका अरुण कुमार साह भन्छन,“ठगी गर्ने संचालक राजेशलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने थियो । आफुहरुलाई ठगी गरेको भनेर प्रमाण दिएको र रकम फिर्ता गर्छु भनेर संचालकले स्वीकार गरेको अवस्थामा पनि उनलाई धरौटीमा रिहा गर्नुले आफुहरु थप पीडित हुनुपरेको छ ।” अदालतले आफुहरुलाई न्याय नदिएको उनको गुनासो छ ।
ठगी गरिएको रकम फिर्ता
धनुषाको सहिदनगर नगरपालिका ६ बस्ने अमर कुमार मण्डललाई काठमाण्डौमा एमविविएस पढ्नका लागि एडमिशन गराईदिने भन्दै महोत्तरी लोहारपट्टी गाउँपालिका ३ बस्ने उज्जवल यादवले ३५ लाख रुपैयाँ लिएका थिए । काठमाण्डौ बाटै एसएलसी र प्लस टु उत्तीर्ण गरेका अमरबाट उज्जवलले ३५ लाख रुपैयाँ लिएपनि एडमिशन भने गराईदिएनन् । पछि जिल्ला प्रहरी कार्यालय धनुषामा अमरले जाहेरी दिएपछि झिकाइएका उज्जवलले १९ बैशाख २०७४ मा ३५ लाख रुपैयाँ फिर्ता गरेका थिए ।
दलालको चङ्गुलमा फसेर जसोतसो उम्किन सफल भएका अमर भन्छन,“ काठमाण्डौको आईओएममा एमबिविएसमा भर्ना गराईदिने भनेर उनले ३५ लाख रुपैयाँ लिएका थिए । धेरै संघर्ष र मेहिनेत पछि धनुषा प्रहरीको सहयोगमा आफुले उक्त रकम फिर्ता पाउन सफल भएँ ।” अहिले मेडिकल इन्टूान्सको परीक्षाको तयारी गरिरहेका अमर अब कुनै दलालको शिकार नहुने भन्दै अरु विद्यार्थीहरुलाई पनि त्यस्ता अबैध कन्सलटेन्सीहरु र दलालहरुबाट बच्न सुझाव दिन्छन् ।
सर्लाहीको गौरीशंकर ९ बस्ने त्रिलोकी कुशवाहा प्लस टु उत्तीर्ण गरेपछि व्याचलर अफ इन्जिनियरिङ्ग कोर्ष गर्न चाहन्थे । जनकपुरको मुरली चौकमा संचालित लिंक कन्सलटेन्सी मार्फत भारतको चन्डीगढ स्थित जिविएस कलेजमा पढ्न गए  । ५ लाखको प्याकेजमा पढ्न गएका उनी कन्सलटेन्सीका संचालक जनकपुर ३ का राकेश मिश्र मार्फत सुरुमा १ लाख २५ हजार रुपैयाँ बुझाएका थिए । कलेजमा भर्ना पनि भयो । क्लास पनि गरे । तर, पहिलो सेमेस्टरको फाईनल इक्जाम दिनका लागि उनले प्रवेश पत्र पाएनन् । उनको शैक्षिक योग्यतालाई त्यो विश्वविद्यालयले मान्यता दिएन । उनी घर फर्किनु पर्यो । लिएको रकम फिर्ता गर्न भन्दै त्रिलोकीले कन्सलटेन्सीका संचालक राकेशलाई पटक पटक ताकेता गरे । तर, कुनै सुनुवाई नगरेपछि अन्ततः त्रिलोकीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएपछि झिकाइएका राकेशले २ जेष्ठ २०७४ मा १ लाख ५६ हजार ८ सय रुपैयाँ फिर्ता गर्न बाध्य भए ।
 यसरी हेर्ने हो भने उच्च शिक्षा अध्ययनका लागि भारत र बंगलादेश तथा अन्य देशहरुमा पढ्न जाने विद्यार्थीहरु अबैध कन्सलटेन्सीहरु मार्फत कसरी ठगिन्छन् भन्ने कुरा माथि उल्लेख गरिएका घटनाक्रम प्रतिनिधि पात्रका रुपमा केही उदाहरणहरु मात्र हुन । जनकपुरबाट मात्रै बर्षेनी करिब २ हजार विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जान्छन् । अबैध कन्सलटेन्सी मार्फत जाने ती विद्यार्थीहरु मध्ये अधिकांश ठगिएका हुन्छन् ।
जनकपुरमा अबैध कन्सलटेन्सीहरुको विगविगी
अहिले जनकपुरका प्रायः जसो चौकहरुमा शैक्षिक परामर्श दिनका लागि कन्सलटेन्सीहरु खुलेका छन् । जनकपुरमा मात्रै करिब २ सय भन्दा वढी कन्सलटेन्सीहरु खुलेका छन् । जसमध्ये करिब डेढ दर्जन बाहेक सबै अबैध छन् । कन्सलटेन्सी संचालनका लागि कम्पनी रजिष्टूारको कार्यालयमा कम्पनी दर्ता गराएको हुनुपर्ने, आन्तरिक राजश्व विभागमा स्थायी लेखा नम्बर प्यानमा दर्ता हुनुका साथै भ्याटमा दर्ता भएको हुनुपर्ने र सबैभन्दा महत्वपुर्ण कुरा शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट कन्सलटेन्सी संचालनका लागि स्वीकृति पत्र लिएको हुनुपर्दछ । जनकपुरमा कतिपयले कम्पनी दर्ता र प्यान दर्ता गराएको भएपनि अधिकांशले शिक्षा मन्त्रालयबाट स्वीकृति पत्र नै नलिई कन्सलटेन्सीहरु अबैध रुपमा संचालन गर्दै आएका छन् ।
मोटो रकम कमिशन बापत कमाई हुने हुनाले ती अबैध कन्सलटेन्सीहरुले आआफ्ना दलाल मार्फत विद्यार्थीहरुलाई विभिन्न किसिमले प्रलोभन दिनुका साथै भ्रमित गरेर भारतमा अबैध कलेजहरुमा पठाएर रकम ठगी गर्ने गरेको पाइएको छ । स्थानीय प्रशासनले पनि त्यस्ता अबैध कन्सलटेन्सीहरुलाई कारवाही गर्न सकेको छैन ।
 विद्यार्थीको रकम ठगी हुनुका साथै भविष्य समेत धरापमा पर्ने हुनाले त्यस्ता अबैध कन्सलटेन्सीहरु बन्द नगराए विकृतिहरु थप बढ्दै जाने सम्भावना बढेको भएपनि सरोकारबाला निकायहरु जिल्ला शिक्षा कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, घरेलु तथा साना उद्योग कार्यालय धनुषा, आन्तरिक राजश्व कार्यालय जनकपुर आदिको ध्यान पुगेको छैन । जबकी ठगीएका अभिभावकहरुले पटक पटक ती निकायहरुमा उजुरी दर्ता गराउँदै आएका छन् । यहाँसम्म कि बैध रुपमा संचालित कन्सलटेन्सीका संचालकहरुले समेत जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई अबैध कन्सलटेन्सीहरुलाई बन्द गर्नका लागि ज्ञापन पत्र दिँदै आएका छन् ।



२०७४ आषाढ १८ गते आईतबार

No comments:

Post a Comment