Tuesday, June 27, 2017

प्रदेश नम्बर २ मा निर्वाचनको नाउँमा १ अर्ब रकम जति दुरुपयोग


कोष तथा लेखा नियन्त्रक कार्यालय, धनुषा जनकपुर ।
अजय अनुरागी
जनकपुरधाम............
नेपाल सरकारले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन असोज २ गतेका लागि सारेपछि अर्बौं रुपैयाँको दुरुपयोग भएको छ । जुन काम सम्पन्न गर्नका लागि भनेर आएको बजेट काम नै सम्पन्न नभएपनि खर्च भएको छ । निर्वाचनका लागि आएको बजेट निर्वाचन नभएपनि राजश्व खर्च भएर खेर गएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङ्क अनुसार धनुषा जिल्लामा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालय मार्फत स्थानीय तहको निर्वाचनका लागि कुल २ करोड ७६ लाखको हाराहारीमा खर्च भएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषा मार्फत चुनावको लागि १३ करोड २१ लाखको हाराहारीमा खर्चा भएको छ । सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय धनुषा लगायत विभिन्न अन्य खर्च गरी ५० लाखको हाराहारीमा खर्च भएको हुनसक्छ । यसरी हेर्ने हो भने धनुषा जिल्लामा मात्रै करिब १६ देखि १७ करोड रुपैयाँसम्म स्थानीय तहको निर्वाचनका लागि रकम खर्च भएको छ । प्रदेश नम्बर २ मा रहेका ८ जिल्लाहरुको खर्च पनि त्यही हाराहारीमा हुन सक्ने अनुमान गरिएको छ । यसरी हेर्ने हो भने पटक पटक निर्वाचन मिति सारिएर अहिलेसम्ममा प्रदेश नम्बर २ मा मात्रै १ अर्ब रुपैयाँको हाराहारीमा खर्च भएको देखिन्छ । जबकी प्रदेश नम्बर २ मा हालसम्म स्थानीय तहको निर्वाचन हुन सकेको छैन ।
धनुषा जिल्ला अन्तरगत १७ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयहरु मार्फत मात्रै करोडौं रुपैयाँ खर्च भई खेर गएको छ । जिल्ला निर्वाचन कार्यालय धनुषा र धनुषाको १७ वटा स्थानीय तहका लागि निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयहरुका लागि कुल ८ करोड ४७ लाख १२ हजार ५ सय ३८ रुपैयाँ बजेट निकासा गरिएको थियो ।  स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगबाट निकासा गरिएको उक्त बजेट मध्ये कुल २ करोड ७६ लाख ४३ हजार ३ सय ४६ रुपैयाँ खर्च भएको छ । र, ५ करोड ७० लाख ६९ हजार १ सय ९२ रुपैयाँ बजेट फिर्ता भएको छ ।
धनुषाको १७ स्थानीय तहका लागि निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयहरुमध्ये सबैभन्दा वढी निर्वाचन अधिकृतको कार्यालय सबैला नगरपालिकाले कुल बजेटको ९४.५८ प्रतिशत रकम खर्च गरेको छ भने सबैभन्दा कम मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरले निकासा बजेट मध्ये २.६४ प्रतिशत रकम मात्र खर्च गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरका लागि कुल ४ करोड २२ लाख ३९ हजार ५ सय रुपैयाँ बजेट निकासा गरिएको थियो । जसमध्ये ९ अषाढसम्म ११ लाख १३ हजार ८५ रुपैयाँ मात्र खर्च भएको छ । १७ वटै स्थानीय तहमध्ये त्यसमा मात्रै सबैभन्दा कम खर्च भएको हो । २.६४ प्रतिशत रकम मात्र खर्च भएको हो । बाँकी ४ करोड ११ लाख २६ हजार ४ सय १५ रुपैयाँ खर्च हुन सकेको छैन ।
निर्वाचन अधिकृतको कार्यालय क्षिरेश्वरनाथ नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ५ लाख ३९ हजार ५ सय ८ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ९१.४४ रहेको छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय मिथिला नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख २३ हजार ६७ रुपैयाँ खर्च गरिएको छ । प्रतिशतको आधारमा ७१.७१ प्रतिशत रकम खर्चिएको हो । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय गणेशमान चारनाथ नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ६१ हजार ५ सय ८९ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ७८.२४ रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालय धनुषाधाम नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ३ लाख २५ हजार ९ सय १६ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ५५.२४ रहेको छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय सबैला नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ५ लाख ५८ हजार रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ९४.५८ रहेको छ । निर्वाचन अधिकृतको कार्यालय विदेह नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ३ लाख ७७ हजार ५ सय ५८ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ६३.९९ रहेको छ ।
त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय नगराईन नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ३ लाख २० हजार ५ सय ८१ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ५४.३४ रहेको छ । निर्वाचन अधिकृतको कार्यालय सहिदनगर नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ३ लाख ८२ हजार ६ सय २२ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ६४.८५ रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालय हंसपुर गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ६७ हजार ७ सय २३ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ७९.२८ रहेको छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय लक्ष्मिनियाँ गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ७० हजार ४ सय ६८ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ७९.७४ रहेको छ ।
त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय मिथिलाविहारी गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ८४ हजार ५ सय २६ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ८२.१२ रहेको छ । निर्वाचन अधिकृतको कार्यालय कमला सिद्धिदात्री गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ७५ हजार रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ८०.५१ रहेको छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय औरही गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख २७ हजार १ सय ९४ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ७२.४१ रहेको छ ।
त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय मुखियापट्टी गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ३ लाख ९७ हजार ४ सय ११ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ६७.३६ रहेको छ । निर्वाचन अधिकृतको कार्यालय बटेश्वर गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख १८ हजार ४ सय १९ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ७०.९२ रहेको छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय जनक नन्दिनी गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख २१ हजार ४ सय ५५ रुपैयाँ खर्च गरिएको  छ । खर्च प्रतिशत ७१.४३ रहेको छ । र, जिल्ला निर्वाचन कार्यालय धनुषाका लागि निकासा गरिएको कुल बजेट ३ करोड ३० लाख ३३ हजार ३८ रुपैयाँ मध्ये १ करोड ९५ लाख ७९ हजार २ सय २४ रुपैयाँ खर्च गरेको छ । खर्च प्रतिशत ५९.२७ रहेको छ ।
सबै तहका लागि एकैनास बजेट
धनुषाको १७ वटै स्थानीय तहका लागि एकैनास ५ लाख ९० हजार रुपैयाँ बजेट निकास गरिएको थियो । जसमध्ये प्रत्येक निर्वाचन कार्यालयहरुले एक जना निर्वाचन अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, एक जना लेखा अधिकृृत, एक जना नासु, एक जना कम्प्यूटर अप्रेटर, दुई जना कार्यालय सहयोगी, एक जना पिएसओ गरी कुल ९ जना कर्मचारीहरु खटाएका थिए । ती कर्मचारीहरुको अन्य भत्ता गरी १ सय २१ प्रतिशत भत्ता तलब बराबर दिइएको थियो । निर्वाचन अधिकृतको कार्यालय सहिदनगर नगरपालिकाका लेखा अधिकृत नन्दकुमार झाका अनुसार विनियोजित ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ३४ हजार रुपैयाँ निर्वाचनका लागि काजमा खटिएका कर्मचारीहरुको तलब बराबरको भत्तामा मात्रै खर्च भएको छ ।
त्यसैगरी कुल ५ लाख ९० हजार बजेट मध्ये पानी तथा विजुलीका लागि रु.८ हजार, संचार महसुलका लागि रु. १३ हजार ५ सय, घर भाडाका लागि रु. १० हजार, इन्धनका लागि रु. २० हजार, कार्यालय सामग्रीका लागि रु. ३६ हजार ५ सय, भ्रमण खर्चका लागि रु. ४० हजार र विविध खर्चका लागि भनेर रु. ८ हजार खर्च गर्न भनिएको थियो । यसका अतिरिक्त निर्वाचन कार्यालयहरुमा खटिएका गजेटेड कर्मचारीका लागि ७ सय रुपैयाँ र ननगजेटेड कर्मचारीका लागि रु. ५ सय रुपैयाँ प्रतिदिन खाजा भत्ता समेत प्रदान गरिएको थियो ।
सबैभन्दा वढी खर्च प्रहरीमा
निर्वाचनका लागि भनेर धनुषा जिल्लामा आएको बजेट मध्ये सबै भन्दा वढी नेपाल प्रहरीले खर्च गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा निर्वाचनका लागि कुल १५ करोड ६४ लाख १० हजार ९ सय ६१ रुपैयाँ बजेट विनियोजन गरिएकोमा १३ करोड २१ लाख ६१ हजार ९ सय ९४ रुपैयाँ खर्च भएको छ भने २ करोड ४२ लाख ४८ हजार ९ सय ६७ रुपैयाँ खर्च भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय जनकपुरका प्रमुख कोष नियन्त्रक डा.विरेन्द्र कुमार मिश्रका अनुसार निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीहरुको तलब भत्ता समेत समावेश भएकाले नेपाल प्रहरीको खर्चाको रकम बढेको हो । धनुषामा मात्रै २ हजार ५ सय ५ जना म्यादी प्रहरीहरु भर्ना भएका छन् । यसका अतिरिक्त सशस्त्र प्रहरी र नेपाली सेनाका लागि पनि केही रकम चुनावका लागि भन्दै निकासा गरिएको हो ।

प्रदेश नम्बर २ मा संचालनमा रहेका
निर्वाचन अधिकृतको कार्यालयहरु बन्द गरियो

जनकपुर उपमहानगर पालिकामा संचालित रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय । 
९ अषाढमा उक्त कार्यालय बन्द गरिएको छ ।
प्रदेश नम्बर २ मा संचालनमा रहेका निर्वाचन अधिकृतको कार्यालयहरु बन्द गरिएको छ । प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन २ असोज २०७४ मा गर्ने भनेर नेपाल सरकारले निर्णय गरेपछि निर्वाचन अधिकृतको कार्यालयहरु तत्कालका लागि बन्द गरिएको छ ।
१ अषाढ २०७४ मा बसेको नेपाल सरकारको मन्त्रीपरिषदको बैठकबाट गरिएको निर्णय अनुसार प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन मिति २ असोज २०७४ मा सम्पन्न गर्ने निर्णय गरिएको थियो । १४ अषाढका लागि निर्धारण गरिएको निर्वाचन मिति ३ महिना पछाडी सारिएपछि निर्वाचन आयोगले प्रदेश नम्बर २ अन्तरगतका कुल १ सय २७ स्थानीय तहमा संचालनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय बन्द गराएको छ ।
निर्वाचन आयोगले २ अषाढ २०७४ मा प्रदेश नम्बर २ अन्तरगत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी ८ जिल्लामा संचालित रहेका निर्वाचन अधिकृतको कार्यालयहरु ७ अषाढ २०७४ मा बन्द गराएका छन् । त्यसैगरी १० अषाढसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालय बन्द गर्नुपर्ने आयोगले निर्णय गरेअनुसार धनुषाको जनकपुरमा संचालित रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि ९ अषाढमा बन्द भएको छ । यसका साथै निर्वाचन अधिकृतको कार्यालयहरुमा काजमा ल्याइएका कर्मचारी तथा सुरक्षार्थमा खटिएका सुरक्षाकर्मीहरु समेतलाई काज फिर्ता पठाइएको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताएका छन् । मुख्य निर्वाचन अधिकृत उप्रेतीका अनुसार स्थानीय तह निर्वाचन २०७४ अन्तरगत गाउँपालिका, नगरपालिका निर्वाचनको लागि छपाई गरी पठाइएको मत पत्र नेपाली सेनाको व्यारेकमा सुरक्षित गरी राख्ने प्रबन्धका लागि पठाइएको छ । निर्वाचन अधिकृतको कार्यालयमा रहेका कम्प्यूटर, प्रिन्टर, फ्याक्स, टेलिफोन सेट, मतदाता नामाबली, अनुसूचि फारम लगायतका सामग्रीहरु जिल्ला निर्वाचन कार्यालय धनुषामा पठाइएको छ ।
धनुषामा कुल ५ सय ३५ मतदान केन्द्रका लागि ३ हजार २ सय कर्मचारीहरुको अन्तिम नामावली छनौट गरी प्रकाशन गरिएको भएपनि तिनीहरुलाई खटाइएको थिएन । २ अषाढमा उम्मेदवारी मनोनयन दर्ताका लागि र अन्य निर्वाचन प्रक्रियाका लागि ती कर्मचारीहरुलाई छनौट गरिएको भएपनि १ अषाढमै निर्वाचन २ असोजका लागि सारिएकाले ती कर्मचारीहरुलाई कुनै पनि काममा नलगाइएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले बताएका छन् ।
धनुषा जिल्लामा जनकपुर उपमहानगरपालिकाको लागि एउटा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालयहरु क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, नगराईन नगरपालिका, सहिदनगर नगरपालिका, हंसपुर गाउँपालिका, लक्ष्मिनियाँ गाउँपालिका, मिथिला विहारी गाउँपालिका, कमला सिद्धिदात्री गाउँपालिका, औरही गाउँपालिका, मुखियापट्टी गाउँपालिका, बटेश्वर गाउँपालिका र जनकनन्दिनी गाउँपालिका गरी कुल १७ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ११ जना कर्मचारीहरु काजमा खटिएका थिए भने बाँकी १६ स्थानीय तहहरुमा ९÷९ जनाका दरले कर्मचारीहरु काजमा खटिएका थिए । प्रत्येक निर्वाचन कार्यालयहरुले एक जना निर्वाचन अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, एक जना लेखा अधिकृृत, एक जना नासु, एक जना कम्प्यूटर अप्रेटर, दुई जना कार्यालय सहयोगी, एक जना पिएसओ गरी कुल ९ जना कर्मचारीहरु खटाएका थिए । ती कर्मचारीहरुको अन्य भत्ता गरी १ सय २१ प्रतिशत भत्ता तलब बराबर दिइएको थियो । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयका लागि ५ लाख ९० हजार रुपैयाँ बजेट निकासा गरिएको थियो । जसमध्ये ४ लाख ३४ हजार रुपैयाँ निर्वाचनका लागि काजमा खटिएका कर्मचारीहरुको तलब बराबरको भत्तामा मात्रै खर्च भएको थियो ।
त्यसैगरी कुल ५ लाख ९० हजार बजेट मध्ये पानी तथा विजुलीका लागि रु.८ हजार, संचार महसुलका लागि रु. १३ हजार ५ सय, घर भाडाका लागि रु. १० हजार, इन्धनका लागि रु. २० हजार, कार्यालय सामग्रीका लागि रु. ३६ हजार ५ सय, भ्रमण खर्चका लागि रु. ४० हजार र विविध खर्चका लागि भनेर रु. ८ हजार खर्च गर्न भनिएको थियो । यसका अतिरिक्त निर्वाचन कार्यालयहरुमा खटिएका गजेटेड कर्मचारीका लागि ७ सय रुपैयाँ र ननगजेटेड कर्मचारीका लागि रु. ५ सय रुपैयाँ प्रतिदिन खाजा भत्ता समेत प्रदान गरिएको थियो ।


२०७४ आषाढ ११ गते आईतबार

No comments:

Post a Comment