Tuesday, February 7, 2017

५३ लाख ठगि गर्ने दम्पति हालसम्म फरार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
एक जना दम्पतिले मिलेर गरिब जनताको लागि आएको लाखौं रकम ठगी गरेर फरार भएका छन् । सप्तरीको तिलाही गाविस वडा नं. ८ मा साविक घर भई तथा हाल जनकपुर उपमहानगरपालिका ४ मा बस्ने बेदानन्द लाल कर्णको छोरा ४१ बर्षिय लिलाकान्त दास र उनकी श्रीमति ३४ बर्षिय हेमा मल्लिकले गरिब जनताको लागि आएको ५७ लाख ९ हजार ५ सय ३५ रुपैयाँ ठगी गरी फरार रहेका छन् । धनुषा प्रहरीको सूचिमा ती दुवै जना फरार अभियूक्त हुन । फेथ नेपाल नामक एक गैरसरकारी संस्थाको अध्यक्षको रुपमा रहेकी हेमा मल्लिक तथा कार्यक्रम संयोजकको रुपमा रहेका लिलाकान्त दासले गरिबी निवारण कोषबाट धनुषाका सामुदायिक संस्थाहरुलाई प्रदान गरिने रकम लिएर फरार भएका छन् ।
कसरी गरे ठगी ?
गरिबी निवारण कोषको धनुषा स्थित एक सहयोगी संस्था फेथ नेपाल नामक संस्थाको कार्यक्रम संयोजक लिलाकान्त दासले कोषको रकम ५७ लाख हिनामिना गरेको आरोप लागेको छ । गरिबी निवारण कोषको ४५ औं संचालक समितिको बैठकद्वारा गठित उच्च स्तरीय छानविन समितिको प्रतिवेदनलाई अध्ययन एवम विश्लेषण गर्दा फेथ नेपाल नामको संस्थाको कार्यक्रम संयोजकको रुपमा आवद्ध रहेको लिलाकान्त दास संस्थाहरुको नाममा रहेको राष्टिूय बाणिज्य बैंक शाखा कार्यालय जनकपुरको बैंक खातामा रहेको रकमहरु सो संस्थाको अध्यक्ष तथा कोषाध्यक्ष मार्फत झिक्न लगाई केही रकम समुहमा बाँड्ने प्रयोजनको लागि सम्बन्धित संस्थाका पदाधिकारीहरुलाई दिई अन्य रकम समुदायका पदाधिकारीहरुलाई झुक्याई आफुले सुरक्षित साथ राखिदिने भनि लिईराखी र सो रकम लगायत समुदायका सदस्यहरुले नियमानुसार संस्थालाई नै फिर्ता गर्नुपर्ने रकम संस्थाको बैंक खातामा जम्मा गर्नको लागि निज लिलाकान्त दासलाई दिएकोमा सो रकम समेत खाईमासेको कुरा सामुदायिक संस्थाका पदाधिकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान कागज गरेका थिए ।
सुरुमा गरिबी निवारण कोषले हाम्रा सामुदायिक संस्थाले प्राप्त रकम फेथ नेपालका कार्यक्रम संयोजक लिलाकान्त दासले संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई बैंकमा बोलाई संस्थाको नामको चेकबाट रकम निकाली केही रकम संस्थाको  सदस्यहरुलाई ऋण बाँडी अधिकांश रकम निज लिलाकान्त दासले आफैले राख्ने गरेका र संस्था सदस्यहरुबाट प्राप्त किस्ताका रकम समेत निज आफैले राखि संस्थामा र बैंकमा जम्मा नगरेको हो । बैंकको चेकबुक तथा कागजपत्र समेत निज लिलाकान्त दासले हामीबाट लिई आफैले राख्ने गर्दथे । तसर्थ सो पैसा असुली गरी कारवाही गरी पाऊ भन्ने समेत व्यहोराको महारानी सामुदायिक संस्था लोहना विभिन्न १५ वटा सामुदायिक संस्थाहरुको अध्यक्ष र कोषाध्यक्षहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष बयान कागज गरेका छन् ।
गरिबी निवारण कोषबाट गठित छानविन समितिको प्रतिवेदनमा पनि स्थलगत रुपमा खडा गरेको प्रमाणिकरण मुचुल्कामा लिखित रुपमा नै लिलाकान्त दासले सामुदायिक संस्थाहरुको ५७ लाख भन्दा वढी रकम अपचलन गरेको, सामुदायिकका सदस्यहरुलाई तमसुक मात्र गराई कसै कसैलाई केही रकम दिएको केहीलाई भोली पर्सी दिँदै जाने भनि भन्दै आएको पाइन्छ । फेथ नेपालले गरिबी निवारण कोषसँग सम्झौताका शव्द र भावनाको खुल्ला उल्लंघन गर्दै नियत पुर्वका सार्वजनिक एवम संस्थागत भ्रष्टाचार गरेको कोषबाट गठित छानविन समितिको प्रतिवेदन रहेको पाइन्छ । यति मात्र होइन नेपालीहरुको महान चाँड विजया दशमी, दिपावली, तिहार र मधेसवादीहरुको सांस्कृतिक पर्व छठ पुजा सकिने साथ क्रमिक रुपमा १५ वटै सामुदायिक संस्थाहरुमा रकम जम्मा गर्ने भनेर फेथ नेपालका अध्यक्ष हेमा मल्लिकले त्यसका लागि फेथ नेपाललाई केही समय दिन भन्दै २९ असोज २०६९ मा गरिबी निवारण कोेषलाई प्रतिवद्धता व्यक्त गरी पत्राचार समेत गरेको पाइन्छ ।
उक्त मुद्दाको अनुसन्धान सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको हो । १७ मंसिर २०७० मा आयोगको बसेको बैठकबाट सल्हेस सामुदायिक संस्था लगायत १५ वटा संस्थाको रकम अपचलन गरेको पाइन्छ । उक्त आयोगको बैठकबाट फेथ नेपालका कार्यक्रम संयोजक लिलाकान्त दास उपर मुलुकी ऐन ठगिको महल अनुसार अनुसन्धान तथा कारवाही गर्न आयोगले सक्कलै सहितको फाइल जिल्ला प्रहरी कार्यालय धनुषामा पठाई आयोगको अनुगमन शाखामा लेखी पठाई लगत कट्टा गर्ने भन्ने निर्णय भएको देखिन्छ । उक्त रकम असुल उपर गराई दिनु भन्दै गरिबी निवारण कोषले १८ माघ २०६९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र लेखेको पाइन्छ । त्यसैगरी राष्टिूय सतरकताले पनि १५ चैत्र २०६९ मा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८(झ) बमोजिम आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको पाइन्छ ।
महारानी सामुदायिक संस्था लोहनाका अध्यक्ष देवकला देवी, कोषाध्यक्ष रविना खातुन, सल्हेश सामुदायिक संस्था लोहनाका अध्यक्ष पुनम पासवान, कोषाध्यक्ष अनिता देवी, लक्ष्मी सामुदायिक संस्था जनकपुरका अध्यक्ष अजित राय र कोषाध्यक्ष रामदुलारी देवी, कृष्ण सामुदायिक संस्था कनकपट्टीका अध्यक्ष रामदुलो देवी, कोषाध्यक्ष फुलकुमारी पासवान, गंगा सामुदायिक संस्था कनकपट्टीका सचिव ताराकुमारी, कोषाध्यक्ष पुर्नी पासवान, अल्लाह इश्वर सामुदायिक संस्था लोहनाका बेचनी देवी, कोषाध्यक्ष रामराजी ठाकुर, कपिलेश्वरनाथ सामुदायिक संस्था जनकपुरका बेचनी देवी र जगिया देवी, दुर्गा सामुदायिक संस्था जनकपुरका बेचनी चौधरी र सितला देवी महतो, शिवगंगा सामुदायिक संस्था जनकपुरको अहुलिया देवी र दुलारी देवी, गिरिजा सामुदायिक संस्थाका कमला देवी, रामदुलारी देवी, नारायणी सामुदायिक संस्था लोहनाका शिवकुमारी राउत, किरण देवी, सन्तोषी सामुदायिक संस्था कनकपट्टीका सुदामा देवी, रामजानकी सामुदायिक संस्थाकी राजकुमारी भगत, विश्वसुन्दरी सामुदायिक संस्था जनकपुरको फुलकुमारी देवीले कागज गरेको पाइन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिलाकान्त दास र हेमा मल्लिकले कुल ५७ लाख ९ हजार ५ सय ३५ रुपैयाँ ठगि गरेकाले मुलुकी ऐन ठगिको महलको  १ नम्बर र ४ नम्बरको कसुर अपराध भएको भन्दै निज प्रतिवादीहरुलाई सोही ऐनको दफा ४ नम्बर अनुसार सजाय गरी ठगी गरेको रकम प्रतिवादीहरुबाट गरिबी निवारण कोषबाट दिलाई भराई पाऊ भन्दै अभियोग दावी सहित ४ पुष २०७१ मा धनुषा जिल्ला अदालतमा ठगि मुद्दा दर्ता गरेका छन् । अदालतमा अन्य कामहरु लगभग लगभग सम्पन्न भईसकेकाले अब केही दिन भित्रै उक्त मुद्दाको फैसला हुने बताइएको छ । लिलाकान्त दास र हेमा मल्लिक हालसम्म फरार रहेका छन् । अदालतमा पनि उनले बयान गरेका छैनन् ।


२०७३ माघ २३ गते आईतबार

No comments:

Post a Comment