Tuesday, May 26, 2015

सडक विस्तारको अभियानमा जनकपुर उपमहानगरपालिका

जानकी मन्दिर वरपरको चार किल्ला अन्तरगत पर्ने ३१ फिट भन्दा वढी उचाई भएका भवनहरु भत्काउन र
 परिक्रमा सडक लगायत अन्य सडकहरुमा लगाइएको 
चिनो अनुसार सडक खाली गर्न तथा घर भत्काउन
 जनकपुर उपमहानगरपालिकाको कार्यालयले
 जेष्ठ मसान्तसम्मको म्याद दिएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर सहरलाई व्यवस्थित गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन जनकपुर उपमहानगरपालिकाले सहरको सडक विस्तारका लागि प्रारभिक कार्यको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाको पहिलो परिषद र तत्कालिन नगरपालिकाको २० औं परिषदबाट गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्नका लागि सडक विस्तार गर्न लागिएको हो । उपमहानगरपालिकाले माईकिङ्ग गरेर चिनो लगाइएको दायरा अनुसार घरहरु भत्काउन जेष्ठ मसान्त सम्मको समय दिएको छ ।  जेष्ठ मसान्त सम्म नभत्काइए उपमहानगरपालिकाले डोजर लगाई भत्काउने र त्यसको हर्जना समेत असुल उपर गर्ने चेतावनी समेत प्रचार प्रसारका क्रममा दिईने गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख पुन्य प्रसाद लुइटेल भन्छन,“ दमकल जाने बाटो बनाउनका लागि बाटो फराकिलो गर्न र भुकम्प प्रतिरोधात्मक घर बनाई व्यवस्थित सहर बनाउन स्थानीय विकास मन्त्रालयले समेत निर्णय गरेको कारण निर्णय कार्यान्वयनका लागि सडक विस्तार गर्नु आवश्यक छ । सरकारको नीति पनि सडक विस्तार गरि व्यवस्थित सहर बनाउन सहरका नागरिकहरुको पनि कर्तव्य भएकाले चिनो लगाइएसम्म सडक फराकिलो गर्नु हुनेमा म विश्वस्त छु ।” कार्यकारी अधिकृत लुइटेल भन्छन,“ जनकपुरको धरोहरको रुपमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउनका निम्ति जानकी मन्दिर वरपरको ४ किल्ला अन्तरगत सबै सडकहरुमा ३१ फिट भन्दा वढी उचाईमा बनेका घरहरु समेत जेष्ठ मसान्त भित्रै भत्काउनुपर्छ ।”
२७ पुष २०७० मा तत्कालिन कार्यकारी प्रमुख जगन्नाथ लामिछानेको अध्यक्षतामा बसेको २० औं नगरपरिषदले सडक विस्तार सम्बन्धि प्रमुख निर्णयहरु गरेको थियो । जानकी मन्दिरको वरिपरीको घर भवन निर्माण गर्न नक्सा पास गर्दा ३१ फिट उचाईसम्मको मात्र नक्सा पास गर्ने निर्णय गरिएको थियो । जानकी मन्दिरको चार किल्लाको हकमा प्राविधिक तथा विज्ञको राय प्रतिवेदन अनुसार हुने गरी नगरपालिका बोर्डलाई अख्तियारी दिइएको थियो ।
त्यसैगरी हाल कायम रहेको जनकपुर नगरपालिका क्षेत्र भित्र रहेका सडकहरुको मापदण्ड अनुसार एसियाली विकास बैंकको सहयोगमा संचालित एकिकृत सहरी विकास परियोजना अन्तरगतको सडकहरु निर्माण गर्नका लागि मापदण्ड निर्धारण गरिएको थियो । जस अन्तरगत जानकी मन्दिर देखि महाबीर चौक सम्म ९ मिटर, जानकी मन्दिर देखि जनक चौकसम्म ९ मिटर, जानकी मन्दिर देखि मिल्स एरियासम्म १३ मिटर, हुलाकी राजमार्ग १६ मिटर, रेल्वे स्टेशन देखि जनक चौक हुँदै मुरली चौक, हनुमान गढीसम्म १६ मिटर र रंगभुमि देखि पेठिया हुँदै पुरानो बसपार्क, माछा बजार, बसहिया रोड (नगरको सिमाना) सम्म १३ मिटर सडकको मापदण्ड निर्धारण गरिएको थियो । परिषदबाट उक्त निर्णय गर्नुभन्दा अघि २३ पुष २०७० मा सडकहरुको मापदण्डहरुको सन्दर्भमा सर्वपक्षिय तथा सर्वदलिय बैठकबाट निर्णय लिइएको थियो । उक्त वैठकमा तत्कालिन कार्यकारी अधिकृत जगन्नाथ लामिछाने, इन्जिनियर विरेन्द्र कुमार यादव, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रामप्रबोध ठाकुर, टूाफिक प्रमुख राजन भेटवाल, नेपाली कांग्रेसका धिरेन्द्र मोहन झा, एमाओवादीका फुलगेन्द्र प्रसाद साह, नेकपा एमालेका श्याम पुर्वे, तमलोपाका सदाशिव मिश्र, राप्रपा नेपालका अलाउदीन साफी, फोरम लोकतान्त्रिकका संजय कुमार चौधरी, राष्टिूय मधेस समाजवादी पार्टीका महाशंकर ठाकुर, संघीय सदभावनाका विजयेन्द्र प्रतिहस्त, सदभावनाका जगदीश महासेठ, संघीय समाजवादीका इन्द्रेश कुमार सिंह, दलित जनजाति पार्टीका सत्यनारायण पासमान, नेपाली जनता दलका राजकुमार साह, माले समाजवादीका कौशलेन्द्र मिश्र, नागरिक सरोकार समितिका अध्यक्ष रमेश कुमार साह लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।
यस अघि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, गुठी संस्थान र जनकपुर नगरपालिका कार्यालयको संयुक्त प्रयासमा सार्वजनिक पोखरी अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काउने क्रममा एकिकृत सहरी विकास परियोजनाका लागि निर्माण हुने भनिएको जनकपुर सहर भित्रको सडकको मापदण्ड अनुसार सडक कतिसम्म फराकिलो हुने भन्ने निर्णय गरी नगरपालिकाको कार्यालयले सहरका सबै घरहरुमा चिनोसमेत लगाएको थियो । पोखरीको डिलमा अतिक्रमण गरी बनाइएका अनधिकृत घर टहराहरु बृहत्तरले भत्काउन थालेपछि सहरका स्थानीय वासीहरुले आफैपनि घरहरु भत्काउन थालेका थिए । तर, जब बृहत्तर थाक्यो र आफ्नो अभियानलाई विराम दियो, स्थानीयवासीहरुले पनि सडक च्यापेर बनाएका घरहरु भत्काउने कामलाई विराम दिएका थिए । त्यतिबेला पनि केही स्थानीयवासीहरुले विरोध गरेका थिए ।
जनकपुर उपमहानगरपालिकाले २१ औं नगरपरिषदबाट गरेको निर्णयले सुन चाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष अमरनाथ गुप्ताले बनाएको मापदण्ड विपरितको भवन अब भत्किने पक्का भएको छ । जानकी मन्दिर वरपरको घर भवन निर्माण गर्दा ३१ फिट भन्दा बढी उचाईको घर बनाउन नपाउने नगरपालिकाको मापदण्ड विपरित जानकी मन्दिरको दक्षिण तर्फ गुप्ताले जानकी मन्दिर भन्दा बढी उचाईमा होटल निर्माण गर्न थालेपछि जनकपुर उपमहानगरपालिकाले नगर परिषदबाट ठोस निर्णय लिएको छ । जानकी मन्दिर वरपरको घर भवन निर्माण गर्न नक्सा पास गर्दा ३१ फिट उचाई सम्मको मात्र नक्सा पास भन्ने गरी गत बर्ष २७ पौष २०७० मा नगरपालिकाको २० औं नगरपरिषदबाट निर्णय भएको थियो । त्यसपछि व्यापक जन गुनासो आएकोले उक्त निर्णय पश्चात जानकी मन्दिर वरिपरी ३१ फिट भन्दा माथि हुने गरी पास भएको घर भवनको नक्सा तथा म्याद थपको निर्णयहरु बदर गर्ने तथा २० औं नगरपरिषदको निर्णय विपरित गलत कार्य भएको पाइएमा आवश्यक कानुनी प्रक्रिया समेत अवलम्बन गर्ने २१ औं नगरपरिषदबाट निर्णय गरिएको छ । उक्त निर्णय भईसकेपछि अब गुप्ताको संगसँगै जानकी मन्दिर वरपर निर्माण भएका ३१ फिट भन्दा वढी उचाईका घरहरु भत्किने भएका छन् । ११ पुष २०७० मा जनकपुर नगरपालिकाका अमिन बालेश्वर साह र सव इन्जिनियर सरोज कुमार यादवलाई नगरपालिकाले चिी लेखी जानकी मन्दिरको वरिपरीको सम्बन्धमा प्रतिवेदन पेश गर्न कार्यकारी अध्यक्ष लामिछानेले पत्र पठाएको थियो । त्यसपछि १२ पुषमा उनीहरुले आफ्नो प्रतिवेदन नगरपालिकामा पेश गरेको भएपनि १४ पुषमा मात्र नगरपालिकाले दर्ता गरेको थियो ।
गुप्ताले नक्सा पास गराउन के–के गरे ?
जानकी मन्दिरको दक्षिण पट्टी ४० फिट उचाई रहेको अमरनाथ गुप्ताको घर । जानकी मन्दिर वरपर ३१ फिट
 उचाईको मात्र घर बनाउन उपमहानगरपालिकाले 
मापदण्ड निर्धारण गरेको छ ।
 जनकपुर नगरपालिकाले जानकी मन्दिरको वरिपरीको घर भवन निर्माण गर्न नक्सा पास गर्दा ३१ फिट उचाई सम्मको मात्र नक्सा पास गर्नै २७ पुष २०७० मा निर्णय भए अनुसार तत्कालिन कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले सार्वजनिक सूचना संचार माध्यमहरुमा प्रकाशित गरेका थिए । उक्त सूचनामा जानकी मन्दिरको वरिपरी १२ विघा रंगभुमि मैदान देखि दक्षिण तर्फ दशरथ मन्दिर, रामजानकी पेठिया बजार, महाविर चौक, भैरव चौक, राम चौक, जनक चौक, शिव चौक, गंगासागर मार्ग, धनुषा पथ, दुरसंचारको उत्तर तर्फको बाटो हुँदै अस्पतालको पश्चिम उत्तर कुना तर्फबाट दक्षिण नयाँ निर्माण भएको सडक हुँदै अस्पताल सडक सम्मको क्षेत्र भित्र ३१ फिट उचाई सम्म मात्र भवनको नक्सा पास गरिने तथा नक्सा पासको प्रक्रियामा रहेका नक्साहरुलाई समेत ३१ फिट उचाई सम्मको इजाजत दिइने साथै नक्सा पास भई हालसम्म निर्माण नभएका घर धनीहरुलाई ३१ फिट उचाई सम्म मात्र भवन निर्माण गर्नु भनेर उल्लेख    गरिएको थियो ।
उक्त सूचना प्रकाशित भएपछि २८ पुष २०७० मा जनकपुर नगरपालिकाको कार्यालयले अमरनाथ गुप्तालाई निर्माण कार्य  रोक्काको प्रष्ट विवरण खोली निर्माण कार्य रोक्का गर्न चिी पठाएको थियो । गुप्ताले ९ साउन २०६८ मा नक्सा पास गराई १० साउन २०७० सम्म पाएको दुई वर्ष अवधिको म्याद त्यतिन्जेलसम्म सकिसकेको थियो । अनि परिषदको निर्णय र उक्त निर्णयको सूचना सार्वजनिक भएपश्चात गुप्ताले १२ पुष २०७० मा भवन निर्माणको पुनः म्याद थप गरिपाउँ भनी निवेदन पेश गरेको र १६ पुष २०७० मा नगरपालिकाले उक्त निवेदन दर्ता गरेको देखिन्छ । सोही दिन कार्यकारी अधिकृत लामिछानेले योजना शाखाको नाउँमा राय पेश गर्न सिफारिस गरेको थियो । र, थप म्याद नक्सामा २६ पुष २०७० मा लामिछानेले कानुनी राय समेत मागेको देखिन्छ ।
२६ माघमै अभिलेख शाखाका प्रमुख वैद्यनाथ दासले टिप्पणी उठाई म्याद थपको निर्णय गरी कार्यकारी अधिकृत लामिछानेलाई निर्णयार्थ पेश गरेको देखिन्छ । फेरी सोही दिन लामिछानेले कानुनी राय पेश गर्न कानुनी राय मागेपछि २७ माघमा कानुनी सल्लाहकारले म्याद थपले कानुनी राय दिएपछि २८ माघमा लामिछानेले उक्त रायलाई सदर गरेको देखिन्छ । तर, राय सदर हुनु अगावै २७ माघ मै नक्सा पास म्याद थप दस्तुर रु.५ हजार २ सय २७ नगरपालिकाले लिएको नगरपालिकाको रसिद नम्बर ६८९७३ बाट देखिन्छ । २८ माघमा नक्साको म्याद थपको जानकारी लामिछाने र अभिलेख शाखा प्रमुख दासले संयुक्त हस्ताक्षर गरी अमरनाथ गुप्तालाई म्याद थपको चिी चलानी नम्बर ५३०६÷०७०÷०७१ मार्फत पठाएको देखिन्छ । यसरी यी सबै कार्यहरु गर्दा नक्सा शाखा र अभिलेख शाखा दुवैको राय आवश्यक परेपनि नक्सा शाखाको राय विना नै म्याद थप सदर गरेको देखिन्छ । जब कि यस अघि नक्सा पास गर्दा भवन निर्माण अनुमति पत्र, दुवैमा सब इन्जिनियरको दुवैको सहमति अनुसार नक्सा पास र भवन निर्माण अनुमति पत्र दिएको देखिन्छ जब कि म्याद थप गर्दा सव इन्जिनियरको सहमति देखिँदैन ।
उक्त विषय उठाउन गौ संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष तथा सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष जगदीश महासेठले जनकपुर नगरपालिकामा निरन्तर निवेदन दिएर गुप्ता लगायत जानकी मन्दिर वरपरका मापदण्डका विपरित बनेका भवनहरु विषयमा कारवाही गर्न ध्यानाकर्षण गराउँदै आएका थिए । महासेठ भन्छन,“अब जनकपुर उपमहानगरपालिकाको कार्यालयले अहिले भएको नगरपरिषदको निर्णय अनुसार गुप्ता लगायत अन्य घरहरु जो मापदण्ड विपरित छन् तिनीहरुलाई भत्काउनु पर्छ । एकातर्फ हामी जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न चाहन्छौं अर्को तर्फ जानकी मन्दिरको सौन्दर्यतालाई ओझेलमा पार्न निर्माण गरिएका भवनहरु नगरपालिकाले भत्काउँदैन भने हामीहरु त्यसका विरुद्ध सशक्त आन्दोलन गर्नु परे पनि त्यसबाट पछि हट्दैनौं ।”
हुन त यस अघि गुप्ताले आफ्नो होटेल भत्किनबाट जोगाउनको लागि एकातर्फ नगरपालिकाका कार्यकारी अधिकृत लामिछानेलाई आफ्नो प्रभावमा पारेकै थिए भने अर्को तर्फ उनले राजनीतिक संरक्षण पनि पाइरहेको देखिन्छ । माले समाजवादी पार्टीबाट परित्याग गरी नेकपा एमालेमा पुर्व मन्त्रि यदुवंश झा प्रवेश गरे तब पुर्व मन्त्रि झाले गुप्ताकी श्रीमतिलाई समेत समाजवादीको कार्यकर्ता बनाई एमालेमा प्रवेश मात्र गराएनन् उनलाई सक्रिय सदस्यता समेत दिलाए । यति मात्र होइन एमालेको भर्खरै सकिएको जिल्ला अधिवेशनको वन्द सत्र समेत आफ्नै निवासमा गराएका गुप्ताले होटेललाई जोगाउन राजनीतिक संरक्षण खोजेको प्रष्ट देखिन्छ ।
के भन्छन अमरनाथ गुप्ता ?
अमरनाथ गुप्ताले द एक्सक्लुसिभसँग कुराकानी गर्दै नगरपालिकाले गरेको माईकिङ पनि नसुनेको र घर भत्काउनका लागि औपचारिक पत्र पनि नआएको बताएका छन् । २०६८ सालमा नै आफ्नो जग्गाको नक्सा पास भएको तथा त्यसबेला ४० फिटसम्म घर निर्माण गर्न नगरपालिकाले इजाजत दिएकोले आफुले नियम अनुसार घर बनाएको हुनाले घर नभत्काउने प्रष्ट अडान राखेका छन् । यदि आफुले घर भत्काउनै पर्यो भने त्यसको लागि उपमहानगरपालिका कार्यालयले मुआब्जा दिनु पर्छ भन्दै गुप्ता भन्छन,“ जनकपुर उपमहानगरपालिका कार्यालयले जानकी मन्दिर वरपरको निर्धारण गरेको ४ किल्ला अन्तरगत अस्पताल रोड, दशरथ तलाउ, पेठिया, महाबीर चौक, भैरब चौक, शिव चौक, जानकी चौक सबै तर्फ हेर्ने हो भने करिब २ सय भन्दा वढी घरहरु ३१ फिट भन्दा वढी उचाईमा बनेका छन् । ती सबै घरहरुको नगरपालिकाले लगत यकिन गर्नु पर्यो र सबैलाई मुआब्जा दिनु पर्यो ।” हुन त ३१ फिट भन्दा वढी उचाईमा घर निर्माण गर्ने गुप्ता सँगै बलराम साह, परमेश्वर गुप्ता, हंसराज मिठाई पसल, शिवशंकर साह लगायत १० जना विरुद्ध नगरपालिका कार्यालयले औपचारिक रुपमै पत्राचार गरिसकेको बताइन्छ ।

२०७२ जेष्ठ १० गते आईतबार

No comments:

Post a Comment