Monday, January 5, 2015

निर्माण व्यवसायीहरुद्वारा चक्काजाम

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
निर्दोष निर्माण व्यवसायीहरुलाई प्रहरीले बलजफ्ती समातेको र मुद्दा चलाउने तयारी गरेको विरोधमा निर्माण व्यवसायी संघ धनुषाले शुक्रबार नाराबाजी गर्दै चक्काजाम गरेका छन् ।
कुनै पनि कसुर नै नभएपनि पुलिसले बल प्रयोग गरेर आफ्नो व्यवसायीहरुलाई समातेको हुनाले अबिलम्ब रिहाईको माग  गर्दै संघले शुक्रबार जनकपुरको रामानन्द चौकमा ४ बजे देखि ५ बजेसम्म एक घण्टा चक्का जाम गरेको थियो । निर्माण व्यवसायीहरु सिकिन्दर यादव, अमर मण्डल र पप्पु सिंह लगायत ३ जनालाई प्रहरीले पक्राउ गरी केही सार्वजनिक अपराधको मुद्दा चलाउन थालेपछि आफुहरु विरोधमा आन्दोलन गर्नुपरेको निर्माण व्यवासयीहरुले बताएका छन् । चक्काजामका बेला समेत प्रहरीले मुकेश कर्णलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गणेश थापाकै नेतृत्वमा पुगेको टोलीले कर्णलाई पक्राउ गरेको थियो ।
१७ पुषमा जिल्ला बन कार्यालय धनुषाको बन रक्षकहरुको लागि ४० लाख रुपैयाँको टेन्डर जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराउने बेलामा विवाद उत्पन्न भएको थियो । निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष विवेक कुमार मिश्र भन्छन,“ जिल्ला प्रशासन कार्यालयमा गैर निर्माण व्यवसायीहरु गएर टेन्डर दर्ता गर्ने बेलामा हो हल्ला गरी टेन्डर च्यात्न लगाई विवाद खडा गरेको थियो । पुलिसले विवाद खडा गर्ने ती व्यक्तिहरुलाई नपक्रेर निर्दोष रहेका निर्माण व्यवसायीहरुलाई समातेर आफुहरुलाई दुःख दिएको कारण सडक बन्द गर्नुपरेको हो ।”
 जनकपुर उद्योग बाणिज्य संघ, पुर्व सभाषद सरस्वती चौधरी लगायतको टोली डेलिगेशन लिएर प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना र प्रहरी उपरीक्षक गणेश बहादुर थापा निर पुग्दा आफुहरु कारवाही गर्छु नै, तिमीहरुलाई जे गर्नुछ गर भनेर अपमानित गर्नु भनेको प्रहरी प्रशासनको ज्यादती हो भन्दै संघका अध्यक्ष मिश्र भन्छन,“ हामीलाई के लाग्यो भने पुलिस प्रशासनले   मनपरी गर्न थालेको छ ।   ज्यादतीका विरुद्ध  मानिस सडकमा नआए कहाँ जाने हो ?”
सिसिटिभी क्यामरामा देखिएको फुटेजको आधारमा पक्राउ गरी अनुसन्धान गरेको भन्दै प्रहरीले समातेको उनीहरु बताउँछन् । तर, जुन व्यक्तिलाई पीडित बनाई प्रहरीले उजुरी दर्ता गर्न लगाएको हो त्यो व्यक्ति महोत्तरी जलेश्वरका अमरदीप साह भन्छन,“ आफुलाई पुलिसले उजुरी दर्ता नगरे तिमीलाई पनि समातेर कारवाही गर्छु भनेर धम्काउँदै पुलिसले जवर्जस्ती सादा कागजमा औंठा छाप लिएको थियो ।”
यता प्रहरी प्रशासनले आइतबार जसरी भएपनि रिहा गर्ने व्यवसायी र प्रशासन बीच अनौपचारिक सहमति भएको छ भने अर्को तर्फ प्रहरीले ती व्यक्तिहरुलाई  रिहा नगरे सशक्त आन्दोलन गर्ने    तयारी समेत गरेको बताइएको छ ।

२०७१ पौष २० गते आईतबार

No comments:

Post a Comment