Tuesday, March 11, 2014

महासंघ पत्रकारहरु प्रति प्रतिवद्ध हुन आवश्यक- सम्पादकीय


नेपाल पत्रकार महासंघ धनुषा शाखाको नवौं अधिवेशनबाट पत्रकार अनिल मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति र २८ जना केन्द्रिय पार्षद निर्वाचित भएका छन् । बाम तालमेल र केही पुर्व अध्यक्षहरु र स्वतन्त्र पत्रकारहरुको समर्थनमा विजयी प्राप्त गरेका मिश्रले अवसर सँगसँगै चुनौतीको पनि सामना गर्नुपर्ने निश्चित छ । यस अघिसम्मका कार्यसमितिले गरेको राम्रा कार्यहरुलाई निरन्तरता प्रदान गर्नुका साथै ऐतिहासिक र किर्तीमानी कार्यहरु गर्नु आवश्यक देखिन्छ ।
सबैभन्दा पहिले महासंघको वर्षौ देखिको ऐजेन्डाको रुपमा रहेको महासंघको भवन निर्माण गर्नु पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । आयमुलक आधुनिक भवन निर्माण सँगै बाचनालय, पुस्तकालय, सभाहल सहितको भवन निर्माण आगामी एक वर्ष भित्रमा नयाँ नेतृत्वले गरिसक्नुपर्ने हुन्छ । श्रमजिवी पत्रकारहरुको सधै देखिको ऐजेन्डा श्रमजिवी पारिश्रमिक ऐन धनुषामा कार्यान्वयन गराउनु दोस्रो प्राथमिकतामा राख्नु पर्दछ । त्यसैगरी संचारगृहलाई सबल र सशक्त बनाउन विज्ञापनलाई समावेशी गर्दै समानुपातिक ढंगले वितरण गर्न एक द्वार विज्ञापन प्रणाली लागु गराउन सक्नुपर्दछ । स्थानिय बजारको विज्ञापन काठमाण्डौका संचारगृहहरुले पाइरहेको अवस्थालाई चिरदै स्थानिय अखबारमा पनि दिलाउने प्रयत्न गर्नुपर्दछ । जेष्ठ पत्रकारहरुको सम्मानका लागि पनि स्थानिय निकायसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था गराउन सक्नुपर्दछ । पत्रकारहरुको कल्याण, भै परी र अत्यावश्यक सुरक्षाका लागि पत्रकार कल्याण कोषको ५० हजार रकमलाई ५ लाखसम्म पु¥याउनु पर्दछ । पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि विभिन्न निकायहरुसँग समन्वय गरी पत्रकारहरुलाई विधागत तालिम दिलाउन सक्नुपर्दछ ।
प्रेस काउन्सिलले पत्र पत्रिकाको वर्गिकरण गर्दा गर्ने विभेद विरुद्ध महासंघ सशक्त भई त्यसका लागि संघर्ष गर्न पछि हट्नु हुँदैन । एफएमहरुलाई पनि व्यवस्थित पार्नुका साथै अनलाईन पत्रकारिताका लागि पहल थाल्नुपर्दछ । सबैभन्दा महत्वपुर्ण कुरो के हो भने जनकपुरका पत्रकारहरु भौतिक रुपले पनि विभिन्न तत्वहरुबाट असुरक्षित रहदै आएका छन् । पत्रकार उमा सिंहको हत्या, संचार उद्यमी अरुण सिंघानियाको हत्या, विभिन्न आन्दोलनमा पत्रकारहरुमाथि भएको आक्रमण, समय समयमा पत्रकारहरुले खेप्नुपरेको धम्की, सेल्फ सेन्सर सिपको अवस्था आदिले जनकपुरका पत्रकारहरु भौतिक रुपले कतिसम्म असुरक्षित छन भन्ने पुष्टि गर्दछ । त्यसकारण पत्रकारहरुको भौतिक सुरक्षाको सबालमा समेत महासंघ गम्भीर हुनु आवश्यक छ । पत्रकारहरुको निशुल्क जिवन विमा, यातायात स्वास्थ्य सेवामा सुविधा लगायतका मुद्दाहरुमा महासंघले तत्काल पहल थाल्नु आवश्यक देखिन्छ ।
जनकपुरका सम्पुर्ण पत्रकारहरुलाई एक ढिक्का पारेर गुणस्तरिय पत्रकारिताको विकासका लागि महासंघको नयाँ नेतृत्व सफल होस, नयाँ कार्यसमिति सबै पत्रकारहरुको कार्यसमिति बनोस भन्ने कामना सहित सफल कार्यकालको लागि नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई र शुभकामना समेत दिन चाहन्छौं ।

२०७० फागुन २५ गते 

No comments:

Post a Comment