Sunday, June 19, 2016

मानवअधिकार संरक्षण तथा संबद्र्धनमा अदालतको महत्वपूर्ण भूमिका ः वक्ताहरु

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मानवअधिकारको रक्षा, संरक्षण र संबद्र्धन प्रति राज्य गम्भिर नभएकोले दण्डहीनता संगसंगै अराजकता मौलाएकोले न्यायलय गम्भिर हुनु पर्ने सरोकारवालाहरुको भनाई छ ।  शुक्रबार जलेश्वरमा तराई मानवअधिकार रक्षक सञ्जाल(थर्ड एलायन्स)को आयोजनामा जिल्ला न्यायिक क्षेत्र समन्वय समिति महोत्तरीसंग भएको न्यायिक संवाद कार्यक्रममा वक्ताहरुले यस्तो कुरा बताएका हुन् । वक्ताहरुले मानवअधिकार संरक्षण तथा संबद्र्धनमा अदालतको महत्वपूर्ण भूमिका रहेकोले यस प्रति गम्भिर हुनु पर्ने बताए ।
मानवअधिकारको संरक्षण र संबद्र्धनमा न्यायलयको विशेष भुमिका भएकोले न्यायमा सर्वसाधारणको पहुचका लागि सेवाग्राहीलाई छिटो छरितो सेवा तथा फैसला कार्यान्वयनमा सुरक्षानिकायलाई गम्भिर बनाएमा मात्रै न्यायलयप्रतिको जनविश्वास बढ्ने वक्ताहरुले बताएका छन् ।
स्थानीय स्तरमा मानवअधिकारको आधारभुत सिद्धान्तको ख्याल नै नगरी मनोमानी ढंगले प्रहरी प्रशासनले जथाभावी दुव्र्यवहार, कुटपिट र हत्या हिंसा लगायतका घटनामा अग्रसर भएकोले हुनाले पिडितलाई न्यायमा पहुचको निकै समस्या भएको ठहर समेत वक्ताहरुले गरेको छ । भने  प्रहरी प्रशासनको रवैयालाई लिएर वक्ताहरुले कडारुपमा आलोचना गरेका छन् । वक्ताहरुले मानवअधिकार जस्तो गम्भिर विषयलाई प्रहरी प्रशासनले यस्ता कार्यक्रमहरुमा नआएर मानवअधिकारको हनन गरेको आरोप लगाएका छन् । वक्ताहरुले मानवअधिकारको कुरा गरिरहदाँ सुरक्षानिकाय मानवअधिकारको रक्षा गर्नुको साटो भक्षक भएको संज्ञा दिए ।
जिल्ला न्यायधिश दीपक राज पन्तले न्यायिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुद्दाको प्राथमिकता निर्धारणको सवालमा अदालत तेश्रो रणनीतिक योजना अनुसार १८ महिनामा सबै मुद्दाहरुको फर्छयौट गर्ने गरी काम कार्यवाही अघि बढाईएको बताए । उनले अहिले अदालत सर्वसाधारणको न्यायमा पहुचका लागि समुदायसंग भेटघाट गर्ने र गुनासोहरु सुन्ने लगायतका कार्यक्रमहरु जिल्लामा चलिरहेको बताए ।
जिल्ला न्यायधिश अनिलकुमार शर्माले पक्राउ पुर्जी, थुनुवा, हिरासतमा राख्नु भन्दा पहिला मेडिकल चेकजाँच, अदालतमा साक्षीलाई पेसी गर्नु पुर्व सूचना लगायतका सवालमा अदालत अति नै गम्भिर छ र अभियुक्तलाई पेस गरे लगत्तै सर्वप्रथम यि कुराहरु नै सोध्ने गरेको बताए । उनले अधिकांश अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको केहि दिनपछि मात्रै पक्राउ पुर्जी दिएको भन्ने कुरा पिडित परिवार वा निजबाटै थाहा हुने गरेको बताए । यस तर्फ प्रहरी सजग र ईमान्दारीता देखाउनु जरुरी रहेको बताए । त्यस्तै जिल्ला न्यायधिश केशव प्रसाद घिमिरेले अदालतले फैसला गरेको मुद्दाहरु कार्यान्वयन नहुनु सशक्त जनशक्तिको अभाव रहेको बताए । उनले जाहेरीवालले बडो आशका साथ फैसलाको मुद्दाको कार्यान्वयनका लागि खुसी हुनुपर्ने अवस्थामा कार्यपालिका अर्थात प्रहरी प्रशासनको लापरवाहीले यस्तो भईरहेको बताए । उनले अदालतको काम निष्पक्ष तथा स्वतन्त्रपूर्वक न्याय दिने काम भएको र कार्यान्वयनको कार्य प्रहरी प्रशासन अर्थात कार्यपालिकाको भएकोले अदालतप्रति गुनासो बढेको उनको भनाई थियो ।
त्यस्तै जिल्ला न्यायधिश माधवप्रसाद मैनालीले अदालतको नयाँ भवन बन्दै छ, सो अदालत निर्माणमा समेत ठेकेदारको लापरवाहीले भवन निर्माणमा अनेकन समस्या र चलखेल भईरहेतापनि हामी भने चुप लागरे बस्नु पर्ने अवस्था भएको समयमा न्यायको पहुच सर्वसाधारणसम्म कसरी हुने हो अति नै जटिल विषय बन्दै गएको दुखेसो पाखे । उनले अदालत अहिलेसम्म सांघुरो रहेकोले अदालतले चाहेको काम सेवाग्राहीले गर्न सकि रहेको छैन बताए । यस कार्यक्रममा थर्ड एलायन्सका मानवअधिकार अधिकृत किरण कुमार कर्णले स्वागत मन्तव्य सहित कार्यपत्र प्रस्तुत गरेका थिए भने कारागार कार्यालय प्रमुख शोभेन्द्र ठाकुर, वरिष्ठ अधिवक्ता महेन्द्र प्रसाद सिंह, अधिवक्ता उद्धवबहादुर क्षेत्री, मालपोत कार्यालयका अधिकृत अमरेन्द्र कुसियैत, पत्रकार नागेन्द्र कर्ण, राकेश चौधरी र रंजन भण्डारी लगायतकाले आ( आफ्ना मन्तव्य राखेका थिए भने अधिवक्ता विकरु यादवले कार्यक्रम संचालन गरेका थिए ।

२०७३ आषाढ ०५ गते आईतबार

Sunday, June 12, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह

न.पा. बाट ज.उ.न.पा. हुँदा विकासकै चिन्ता थियो अब बल्ल केपी फरमुलाले ताल पा¥यो बा !

२०७३ जेष्ठ ३० गते आईतबार

कांग्रेस धनुषा सभापति राम सरोज यादवका भाई राम लक्षण यादवलाई जन्मकैद, जलेश्वर कारागार चलान

राम लक्षण यादव । नेपाली कांग्रेस धनुषाका सभापति
 तथा पुर्व सांसद राम सरोज यादवका उनी भाई हुन ।
अजय अनुरागी
जनकपुरधाम............
अपराधमा कसुरवार ठहरिएका ५७ बर्षिय व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरी अन्ततः उनलाई आफ्नो जिवनको उत्तरार्धमा जेल पठाएका छन् । जन्मकैद सजाय ठहर भएको १० बर्षपछि अदालतको फैसला कार्यान्वयन भएको छ । हुन त उनी प्रहरीको मोस्टवाण्टेड सूचिमा फरार अपराधि रहेको भएपनि राजनीतिक प्रभावकै कारण तिनलाई प्रहरीले पक्राउ गरिरहेको थिएन । यहाँसम्मकी अदालतबाट कसुरवार अपराधिको रुपमा ठहर भईसकेपनि उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट दोस्रो संविधानसभाको चुनावमा सदभावना पार्टीबाट चुनावसम्म लडेका थिए । प्रहरीले उनलाई देखेपनि नदेखेजस्तो गथर््यो । तर, अन्ततः धनुषा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।
को हुन ती व्यक्ति ?
धनुषा बहेडाबेलाका ५७ बर्षिय रामलक्षण यादव नेपाली कांग्रेस धनुषाका सभापति तथा पुर्व सांसद राम सरोज यादवका साखै भाई हुन । राम लक्षण यादवलाई धनुषा जिल्ला अदालतले कर्तव्य ज्यान भएको मुद्दामा कसुरवार ठहर गर्दै २० बर्ष कैद सजायका लागि जलेश्वर कारागार चलान गरेको छ । २६ चैत्र २०६३ मै उनलाई जन्म कैदको  अदालतले सजाय तोकेको भएपनि २४ जेष्ठ २०७३ मा मात्र उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न सफल भएको थियो । अदालतले २४ जेष्ठ २०७३ देखि २३ जेष्ठ २०९३ सम्मका लागि कैदमा राखि अन्य मुद्दा वा निकायबाट कैद वा थुनामा राख्नु नपर्ने भए २४ जेष्ठ २०९३ का दिन प्रस्तुत मुद्दाबाट कैद मुक्त गरिदिनु भन्दै धनुषा जिल्ला अदालतले कारागार कार्यालय महोत्तरी जलेश्वरलाई पत्राचार गरेको छ ।

२०३६ सालको आन्दोलन पछि ३७ सालमा गरिएको जनमत संग्रहको चुनावका दिन धनुषा बहेडाबेलाको लक्ष्मीपुर प्राथमिक विद्यालय स्थित मतदान केन्द्रमा पञ्चायती समर्थक प्रहरी प्रशासनले नेपाली कांग्रेसका तत्कालिन नेता महेन्द्र नारायण निधिका छोरा बिमलेन्द्र निधिलाई आक्रमण गर्न खोज्दा राम लक्षण यादवले आफ्नो ज्यानमा खेलेर विमलेन्द्र निधिलाई जोगाउन सफल त भए तर निधिको हात भाँचियो । ट्याक्टरमा लादेर निधिलाई जनकपुर अञ्चल अस्पतालमा ल्याई उपचार गराएका थिए उनले । अर्थात विमलेन्द्र निधिका लागि काम गर्ने राम लक्षण पछि गएर दोस्रो संविधान सभाको चुनावमा विमलेन्द्र निधि विरुद्ध सदभावनाको टिकट पाई संविधान सभाको चुनावमा धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव पनि लडेका थिए । उनी पराजित भए । निधिसँग अलगिएका राम लक्षण अहिले जुन अपराधमा जेल गएका छन् त्यो पनि राजनीतिक कारण नै रहेको बताइन्छ । विमलेन्द्र निधिका लागि तत्कालिन पञ्च नेता भोला यादव विरुद्ध संघर्ष गर्ने क्रममा एक जना महिलाको हत्या गरेको कसुरमा उनलाई जन्मकैद सजाय अदालतले सुनाएको हो ।

राम लक्षणको अपराध
२७ बैशाख २०५६ सालमा दिउँसो १२ बजेको समयमा रामरतन यादव, रामनन्दन यादव, राम लक्षण यादव, बुद्धेश्वर यादव, रामप्रित यादव, रंजित यादव, जयनारायण महतो, राम बहादुर मण्डल, राकेश यादव, बेचन यादव, रामराजी यादव, निर बहादुर मण्डल, रविन्द्र प्रसाद यादव, देव नारायण यादव, छोटैया भन्ने छोटन प्रसाद यादव समेतका व्यक्तिहरु मेरो घरमा आई हुरहुज्जत गरी म लगायत मेरो छोरा राम नरेशलाई लाठी समेतले कुटपिट गरिरहेको अवस्थामा मेरो श्रीमति रामरति घरबाट बाहिर निस्की गुहारपुकार गरी छोरालाई माथीबाट आफुले बचाउन छोपेकोमा विपक्षी रामरतन र रामलक्षण यादवले यो आईमाई वरता बदमास छन्, यसलाई पहिले मार्नुपर्छ भनि निजहरुसमेत सबै विपक्षीहरुले कुटपिट गरी मेरो श्रीमतिलाई अमानविय ढंगबाट घटना स्थलमा नै प्रतिवादीले कुटपिट गरेपछि मरेजस्तो भईसकेपछि सबै प्रतिवादीहरु भागी गएको र छोरी गुहारीहरुले मेरो श्रीमतिलाई आँगनबाट उठाई भित्र औछ्यानमा लान लाग्दा लाग्दै मृत्यु भएकोले विपक्षीहरुको बचन एवम कुटाईबाट ज्यान मर्न गएको हुँदा कानुन बमोजिम कारवाही गरि पाउ बारे भन्ने समेत व्यहोराको मृतक रामरति यादवका श्रीमान ब्रम्हदेव यादवले जाहेरी दरखास्त दिएको थियो । घटनामा तत्कालै रामराजी यादव र रंजित यादवलाई प्रहरीले पक्राउ गरी उक्त मुद्दाको अभियोग पत्र धनुषा जिल्ला अदालतमा दर्ता गरेको थियो । बाँकी प्रतिवादीहरु फरार अवस्थामा थिए । एक जेष्ठ २०५८ मा धनुषा जिल्ला अदालतले अभियोग पत्र साथ हाजिर भएका रामराजी यादव र रंजित यादवको हकमा जन्म कैद र अन्य फरार रहेका प्रतिवादीहरुको हकमा मुल्तवीमा राखि दिने भन्दै धनुषा जिल्ला अदालतले फैसला गरेको थियो । उक्त मुद्दामा पुनरावेदन अदालत जनकपुरले  धनुषा जिल्ला अदालतबाट गरेको सुरुको इन्साफलाई सदर गरी प्रतिवादी रामराजी र रंजित यादवलाई जन्मकैद ठहराएको थियो । त्यसपछि उक्त घटनामा फरार रहेका प्रतिवादीहरु मध्ये झपसी भन्ने जयनारायण महतो सुडी ८ साउन २०५९ मा हाजिर गराई पाउ भनि धनुषा जिल्ला अदालतमा निवेदन साथ हाजिर भएको थियो । मैले जाहेरवालाको श्रीमतिलाई मारेको छैन, त्यस दिन मेरो क्षेत्रको सांसद महेन्द्र नारायण निधिको घरमा मिटिङ्ग भएकोले म त्यही थिए, जाहेरवालाको श्रीमति टिभी रोगी हुँदा सोही रोगबाट मरेकी हुन, राजनीति चालले हामीलाई फसाउन जाहेरी दिएको हो, हामीले कुटपिट गरेको छैन तसर्थ अभियोग दावीबाट सफाई पाउ भन्ने समेत व्यहोराको प्रतिवादी झपसी भन्ने जयनारायण महतोले धनुषा जिल्ला अदालतमा बयान गरेको थियो । ८ बैशाख २०६० मा धनुषा जिल्ला अदालतले प्रतिवादी झपसी भन्ने जयनारायण महतोलाई १ बर्ष ६ महिनाको कैद सजाय ठहर गरेको थियो । त्यसपछि १४ पुष २०६० मा पुनरावेदन अदालत जनकपुरले धनुषा जिल्ला अदालतकै फैसलालाई झपसीको हकमा सदर गरेको थियो । त्यसपछि ३ फागुन २०६१ मा प्रतिवादीहरु मध्येका इन्द्रदेव यादवलाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा उपस्थित गराएपछि मुलतवीबाट उनको हकमा पनि मुद्दा दायर भएको थियो । २७ बैशाख २०५६ मा मेरो घरमा भगवानको पुजा भएकोले म आफ्नै घरमा थिएँ घटना भनिएको ठाउँमा म गएको छैन, राजनीतिक रिसइवीबाट मात्र मेरो नाम राखिएको हो, रामरति देवीलाई मैले कुटपिट गरी मारेको हैन, म निर्दोष व्यक्ति हुँदा झुठा अभियोग माग दावीबाट सफाई पाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्रदेव यादवले धनुषा जिल्ला अदालतमा बयान गरेको थियो । त्यसैगरी ८ अषाढ २०६२ मा जिल्ला सरकारी वकिल कार्यालयले छोटे भन्ने छोटेन्द्र प्रसाद यादवलाई धनुषा जिल्ला अदालतमा हाजिर गराएको थियो ।  फरार रहेका प्रतिवादीहरु रामरतन यादव र राम लक्षण यादव समेत १२ जनाको हकमा धनुषा जिल्लाको ३ चैत्र २०६१ को आदेशानुसार मुलतवीबाट जागी दायर भएको थियो ।

२७ बैशाख २०५६ विहान ८ बजेसम्म घरमै थिए । त्यसपछि खाना खाई घरबाट हिँडी आफ्नो अफिस जिल्ला विकास समितिको कार्यालय ग्रामिण सामुदियक पुर्वाधार कार्यक्रमको कार्यालय धनुषामा हाजिर भई ५ बजे काम गरेको छु, सो कार्यालयबाट साढे ५ बजे छुट्टी बेलुका ७ बजे आफ्नो घर पुगेको हुँ मैले कसुर नगरेको हुँदा अभियोग दावीबाट सफाई पाउ भनि भन्दै छोटेन्द्र प्रसाद यादवले धनुषा जिल्ला अदालतमा बयान गरेको थियो । धनुषा जिल्ला अदालतले प्रतिवादीद्वय इन्द्रदेव यादव र छोटेन्द्र प्रसादको हकमा ५ बर्षको मात्र सजाय गर्न मनासिभ देखि आफ्नो राय सम्म जाहेर गरेको छु भन्दै धनुषा जिल्ला अदालतले २६ चैत्र २०६३ मा फैसाला गरेको थियो । 

पुनरावेदन अदालतको ठहर
प्रतिवादीहरुले रामरति देवीलाई कुटपिट गरेको कारण घटनास्थलमै मरेको तथ्य निरविवाद पुष्टि हुन आएको हुँदा अभियोग पत्र दायर भएको देखियो । प्रतिवादीहरु उपर किटानी जाहेरी परेको, जाहेरवाला लगायत घटना देख्ने, प्रहरीमा कागज गर्ने र बस्तु स्थित मुचुल्काको मानिसहरु मनोज यादव समेतले जाहेरी व्यहोरा समर्थन हुने गरी सुरु अदालतमा बकपत्र गरेको देखियो । यसरी मृतक रामरति देवीको मृत्यु यी प्रतिवादीहरुको कुटाईबाट भएको तथ्यमा विवाद रहेन । प्रतिवादीहरुले मृतक रामरति देवीलाई निर्ममता पुर्वक कुटपिट गरेको कारणबाट निजको मृत्यु भएको तथ्य मिसिल संलग्न प्रमाणबाट शंकारहित तवरले पुष्टि भएको देखिन आएको हेर्दा सुरु धनुषा जिल्ला अदालतबाट प्रतिवादीहरुलाई जन्मकैद गर्ने गरि भन्ने फैसला अन्याथ गरेको भएन । यसर्थ यी प्रतिवादीहरु रामरतन यादव, रामलक्षण यादव संलग्न भई कुटपिट गरेको कारणबाट मृतक रामरतिको मृत्यु भएको हुँदा प्रतिवादी रामरतन यादव, राम लक्षण यादवलाई जन्म कैद गर्ने गरि भएको धनुषा जिल्ला अदालतको २६ चैत्र २०६३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर छ भन्दै पुनरावेदन अदालत जनकपुरको न्यायाधिशद्वय पुरुषोत्म भण्डारी र रिता गौतम दिक्षितको संयूक्त इज्लासबाट २ अषाढ २०७२ मा फैसला भएको थियो । 

सर्बोच्च अदालतको ठहर
प्रतिवादी रामराजी यादव र रंजित यादवको हकमा पुनरावेदन अदालत जनकपुरद्वारा गरिएको फैसलाको विरुद्धमा सर्बोच्च अदालतमा गरिएको पुनरावलोकनको मुद्दामा सर्बोच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र प्रसाद कोइराला र रणबहादुर बमको संयूक्त इजलासले धनुषा जिल्ला अदालत र पुनरावेदन अदालत जनकपुरद्वारा गरिएको फैसलामा कुनै त्रुटि नदेखिँदा उक्त फैसला सदर हुने ठहर छ भन्दै फैसला गरेको थियो ।

२०७३ जेष्ठ ३० गते आईतबार

बहेडाबेलाका तत्कालिन गाविस अध्यक्ष भोला यादवको हत्याको आरोपमा राम लक्षणलाई सफाई

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२५ जेष्ठ २०५९ मा धनुषा बहेडाबेला तत्कालिन गाविस अध्यक्ष तथा राष्टिूय प्रजातन्त्र पार्टी समर्थक ५५ बर्षिय भोला यादवको हत्या गरेको अभियोगमा राम लक्षण यादवलाई धनुषा जिल्ला अदालतले सफाई दिएको छ । धनुषा प्रहरीले राम लक्षणलाई पक्राउ गरी थुनछेक मुद्दाका लागि अदालतमा उपस्थित गराउँदा अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासले २७ जेष्ठ २०७३ मा उक्त मुद्दामा सफाई दिएको हो ।

भोला यादवको हत्यामा भएका कुराहरु
२५ जेष्ठ २०५९ मा राति सवा ९ बजेको समयमा भोला यादवलाई आफ्नै घर देखि अन्दाजी २० मिटर दक्षिणमा रहेको बाटोको छेउको खाली जमिन खरियानमा खाट माथि बसिरहेको अवस्थामा १०÷१२ जना व्यक्तिहरु आई गोली मारी भाग्दै गर्दाको अवस्थामा माओवाद जिन्दावाद जस्ता नाराहरु लगाउँदै भागेको भनि स्थानीय जनताले खबर गरेपछि इलाका प्रहरी कार्यालय फुलगामाबाट अन्दाजी साढे १० बजेको समयमा जिल्ला प्रहरीमा खबर भएपछि प्रहरी नायव उपरीक्षक माधव प्रसाद जोशी समेतको टोली घटना स्थलमा खटेको थियो । बारदात गर्ने अपराधिहरु गाउँ देखि उत्तर तर्फ भागी गएको भनिए बुझिएपछि अपराधिहरु खोजतलास गर्दा कोही पनि फेला नपरेको निजहरुको खोजतलास जारी रहेको, २६ गते विहान मृतक भोला यादवको लाश जाँच तथा घटना स्थल मुचुल्का समेतको कार्य पुरा गरी लाश पोस्टमार्टम गरी जनकपुर अञ्चल अस्पतालमा पुर्याई भन्दै २६ जेष्ठ २०५९ मा जिल्ला प्रहरी कार्यालयमा प्रहरी संचार गरेको देखिन्छ । २६ जेष्ठमै डिएसपी माधव प्रसाद जोशीले इलाका प्रहरी कार्यालय फुलगामाका प्रहरी नायव निरीक्षक तपेश्वर राय यादवलाई अपराधिहरु पत्ता लाग्यो लागेन, उक्त घटना वारदात सम्बन्धमा विस्तृत विवरणको लागि अबिलम्ब प्रतिवेदन निर्देशन गरिएको पाइन्छ । २७ जेष्ठमा प्रनानी तपेश्वर राय यादवले जिल्ला प्रहरी कार्यालय धनुषामा पेश गरेको प्रतिवेदनमा बहेडाबेला गाविस वार्ड नम्बर ५ बस्ने तत्कालिन गाविस अध्यक्ष भोला यादव आफ्नो नावालक नाती समेत सँगै खाटमा बसेको समयमा १०÷१२ जना अज्ञात व्यक्तिहरु कोही लुङ्गी लगाएको कोही हाफ कट्टु समेत लगाएको अवस्थामा आई भोला यादवलाई गोली प्रहार गरी मारी पछि माओवादी जिन्दावादको नारा लगाउँदै उत्तर तर्फ भागी गएको बारदात हुँदा जेनरेटरको बत्ती बलिरहेको कारण गोली प्रहार गर्ने व्यक्तिहरुलाई गाउँका मानिसहरुले प्रष्ट रुपमा देखेको को कहाँका थिए भनि कोही कसैले कोही कसैलाई चिन्न नसकेको, के कुन कारणबाट उक्त घटना को कसले घटाएको भन्ने खुलन नसकेको, अपराधिहरुको पत्ता लगाउने एवम खोजतलास र अनुसन्धानको कार्य जारी रहेको उल्लेख गरेको पाइन्छ ।

२९ जेष्ठमा जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त घटनाको अनुसन्धान गर्नका लागि प्रहरी उपरीक्षक विश्व जवराले प्रहरी नायव उपरीक्षक माधव प्रसाद जोशीलाई अनुसन्धान अधिकृतको रुपमा तोकेको पाइन्छ । २९ जेष्ठ २०५९ मा  भोला यादवका छोरा अशोक कुमार यादवले जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी सहित जाहिर दरखास्त गराएको पाइन्छ । उक्त जाहेरीमा बहेडाबेला ५ लक्ष्मीपुर टोल बस्ने ४० बर्षिय रुदल यादव, राम सरोज यादव (कांग्रेस धनुषाका हालका सभापति तथा पुर्व सांसद), राम बाबु यादव, झपसी भन्ने जयनारायण सुडी,छोटे भन्ने रविन्द्र यादव, राम लक्षण यादव, छोटे यादव भन्ने छोटेन्द्र यादव, जुगेश्वर यादव, अंगद यादव, रामवृक्ष मण्डल सहितलाई विपक्षी बनाई जाहेरी दिएको पाइन्छ । राजनीतिक रुपमा राम सरोज यादव मुख्य रुपमा विपक्षी रहेको तथा राम सरोज यादव र रुदल यादवले आ आफ्नो हातमा लिएको थ्रिनटा जस्तो देखिने कटुवा बन्दुक तथा सिक्सर जस्तो देखिने पेस्तोलले मेरो पितालाई मुखमा छातीमा, पाखुरामा, पेटमा, तिघ्रामा लगायत अन्य भागमा गोली हान्न थाले, अन्य विपक्षीहरु त्यहाँ बसेका उपर ताकी ति बन्दुकहरु देखाई बसेको ठाउँबाट यताउती भाग्ने वा हल्ला गर्ने कोशिशमा ज्यान मारिदिने भनि धम्की दिएको उक्त जाहेरीमा उल्लेख छ । विपक्षीहरुको मुख्य रुपमा रहेको राजनीतिक प्रतिद्धन्दी तथा निजहरुसँग रहेको विभिन्न मुद्दा मामिलाका कारण संकटकाल र माओवादी आतंकबाट लाभ लिने उद्देश्यले मौका छोपी मेरो पितालाई गोली हानी हत्या गरेकोले विपक्षीहरुलाई पक्राउ गरी हदैसम्म दण्ड सजाय गरी पाऊ भनि मृतक भोला यादवका छोरा अशोक यादवले गरेको जाहेरीमा उल्लेख छ ।

५ अषाढ २०५९ मा जिल्ला प्रहरी कार्यालय धनुषाले केन्द्रिय प्रहरी बैज्ञानिक प्रयोगशाला महाराजगञ्ज काठमाण्डौलाई घटना स्थलमा फेला परेको खोका कस्तो हतियारबाट फायर भएको खोका हो, उक्त गोली कस्तो हतियारमा लाग्ने गोलीको खोका हो, मृतकको शरीरबाट निकालिएको गोली तथा घटना स्थलमा निकालिएको खोका समेत एउटै हतियारमा लाग्ने गोलीको खोका तथा गोली हो वा होइन, मृतकको शरीरबाट निकालिएको गोली घटना स्थलमा फेलागरेको खोका बाटै फायर गरेको गोली हो वा होइन भनि परीक्षणका लागि पठाएको पाइन्छ । ७ साउन २०५९ मा केन्द्रिय प्रहरी बैज्ञानिक प्रयोगशालाले परीक्षण प्रतिवेदन पठाएको पाइन्छ ।  २४ माघ २०५९ मा उक्त घटनाका अभियूक्त धनुषा बहेडाबेलाका रुदल यादवलाई प्रहरीले पक्राउ गरेको पाइन्छ । २९ माघ २०५९ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायधिवक्ता राधा कृष्ण उप्रेती समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक मोहन कुमार शेर्पाले रुदल यादवसँग गरेको बयानमा रुदलले आफु घटनामा संलग्न नरहेको बयान गरेको पाइन्छ । महेन्द्रनगरमा पनि आफ्नो घर भएको र घटना भएका दिन गाउँका मानिसहरुले फोन गरेर जानकारी दिएको भनि बयान गरेको पाइन्छ । १ फागुन २०५९ मा राम सरोज यादव, रामबाबु यादव, रविन्द्र यादव, राम लक्षण यादव, छोटेन्द्र यादव, जुगेश्वर यादव र अंगद यादवलाई उक्त घटनाका अनुसन्धानका शिलशिलामा पक्राउ गरी दाखिला गर्न भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले इलाका प्रहरी कार्यालय फुलगामालाई निर्देशन दिएको पाइन्छ । त्यसैगरी जलेश्वर कारागारमा थुनामा रहेका झपसी भन्ने जयनारायण महतोलाई अनुसन्धानका लागि उपस्थित गराई दिन भन्दै धनुषा प्रहरीले जलेश्वर कारागारलाई पत्राचार गरेको पाइन्छ । घटना भएको दिन आफु महोत्तरी जिल्लाको आवर बदोहा भन्ने ठाउँमा रहेको र भोली पल्ट जनकपुर आउँदा गाउँका मानिसहरुले माओवादीहरुले भोला यादवलाई मारेको भनी गाउँका मानिसले जानकारी दिएको प्रहरी समक्ष उनले बयान गरेका छन् । मृतक भोला यादव र आफु पहिले एउटै पार्टीका मानिस भई भोला यादवसँग आफ्नो राम्रो सम्बन्ध रहेको पछि कांग्रेस पार्टीमा म आएँ र भोला यादव राप्रपामा बसेपनि कुनै किसिमको रिसइवी नरहेको भन्दै बयान गरेपछि झपसी यादवलाई ४ फागुन २०५९ मा कारागारमा फिर्ता पठाएको पाइन्छ ।

 १२ फागुन २०५९ मा फरार रहेका अभियूक्तहरु हालसम्म फेला नपरेको तथा फेला पर्ना साथ उपस्थित गराउने भन्दै इलाका प्रहरी कार्यालय फुलगामालाई जिल्ला प्रहरी कार्यालयलाई जवाफ दिएको पाइन्छ । १८ फागुन २०५९ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका सहायक जिल्ला न्यायधिवक्ता शंकर बहादुर रायले राम सरोज यादव समेत गरी १० जना विरुद्ध मुद्दा दर्ता गराएको पाइन्छ । २० फागुन २०५९ मा धनुषा जिल्ला अदालतको न्यायाधीश नारायण प्रसाद दाहालको इजलासले प्रतिवादी जयनारायण महतो र रुदल यादवलाई थुनछेक मुद्दाको प्रयोजनमा मुद्दा पर्पक्षका लागि थुनामा राखिनु भनि आदेश गरेको पाइन्छ ।

१९ चैत्र २०५९ मा जयनारायण महतो र रुदल यादवले धनुषा जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन अदालत जनकपुरमा मुद्दा पुनरावलोकनका लागि निवेदन दर्ता गरेको पाइन्छ । यता ६ साउन २०६० मा राम सरोज यादव समेत ८ जनाको नाउँमा वारेन्ट सहितको म्यादी पुर्जी धनुषा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय धनुषालाई दिएको पाइन्छ । १२ साउन २०६० मा धनुषा प्रहरीले प्रतिवादी अंगद यादवलाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा उपस्थित गराएको पाइन्छ ।  १३ अषाढ २०६१ मा उक्त घटनाका फरार रहेका प्रतिवादीहरु मध्ये बहेडाबेला १ का ४० बर्षिय जुगेश्वर यादवलाई धनुषा प्रहरीले पक्राउ गरी धनुषा जिल्ला अदालतमा उपस्थिति गराएको पाइन्छ । १५ अषाढ २०६१ मा धनुषा जिल्ला अदालतका न्यायाधीश एकराज आचार्यको इजलाशबाट प्रतिवादी जुगेश्वर यादवलाई मुद्दा पुर्पक्षको लागि जलेश्वर कारागारमा थुनामा पठाईदिनु आदेश गरेको पाइन्छ ।

 १८ मंसिर २०६१ मा पुनरावेदन अदालत जनकपुरले प्रतिवादी अंगद यादवलाई थुनामा राख्न भनि जिल्ला अदालतले गरेको आदेशलाई सदर गरेको पाइन्छ । ८ अषाढ २०६२ मा फरार रहेको प्रतिवादी मध्येका धनुषा बहेडाबेला छोटे भन्ने छोटेन्द्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराइएकोमा ३० जेष्ठ २०६२ मा प्रतिवादीहरु राम सरोज यादव, राम बाबु यादव, छोटे भन्ने रविन्द्र यादव, राम लक्षण यादव, छोटे यादव भन्ने छोटेन्द्र यादव, विमल भन्ने रामवृक्ष यादव समेतले सुरु म्याद गुजारी हाजिर नभई फरार रहेको देखिँदा निजहरुको कानुन बमोजिम अंश रोक्का गरी नियमानुसार गरी पेश गर्नु भनि धनुषा जिल्ला अदालतले आदेश गरेको पाइन्छ । ९ अषाढ २०६२ मा छोटे यादव भन्ने छोटेन्द्र यादवलाई मुद्दा पुर्पक्षको क्रममा जलेश्वर कारागारमा थुनामा राख्नु भनि धनुषा जिल्ला अदालतले आदेश गरेको पाइन्छ । १७ भादौ २०६२ मा प्रतिवादीहरु मध्येका धनुषा बहेडाबेला ७ का राम सरोज यादव अदालतमा उपस्थित गराई पाउ भनि निवेदन दिएको पाइन्छ । अदालतमा राम सरोजले गरेको बयान कागजमा घटना बारदातका दिन आफु जनकपुर नगरपालिका वडा नम्बर १२ मा पार्टीको साथीहरु भेला भई वार्डको विषयमा छलफल गर्न साँझ ७ बजे गई मोहन साहकै घरमा खाना खाएर रातको साढे ९ बजे तिर आफ्नो घर जनकपुर नगरपालिका वडा नम्बर १२ मा आएको राम सरोज यादवले बयान दिएका छन् । घटना भएको दिन विहान घरमा खाएर त्यसपछि नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यालयमा दिनभरी बसी साँझ ५ बजे तिर पार्टी कार्यालयबाट घर गएको बयान गरेको पाइन्छ । राजनीतिक कारणले आफुलाई पोल गरी जाहेरी दिएको र उक्त जाहेरी झुठो रहेको बताउँदै मृतक भोला यादव राप्रपासँग सम्बन्धित भएपनि आफुहरु बीच कुनै रिसिभि नरहेको तथा कागज गर्ने मानिसहरु भोला यादवका मानिसहरु रहेकाले कागज गरेको हुन सक्ने राम सरोजले बयान गरेको पाइन्छ । राजनीतिक कार्यक्रममा वयस्त भएर समयको अभावले गर्दा हाजिर हुन नसकेको उनले बयान गरेको पाइन्छ । 

१७ भदौ २०६२ मा धनुषा जिल्ला अदालतले राम सरोज यादवलाई तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको पाइन्छ । ५ असोज २०६२ मा पुनरावेदन सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता नारायण प्रसाद श्रेष्ठले राम सरोज यादवलाई साधारण तारेखमा राख्ने गरी धनुषा जिल्ला अदालतद्वारा आदेश त्रुटिपुर्ण रहेको बदर गरी पाऊँ भन्दै पुनरावेदन अदालत जनकपुरमा निवेदन दर्ता गरेको पाइन्छ । १० चैत्र २०६२ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय प्रेम शर्मा र राजेन्द्र राज पन्तको संयूक्त इजलासले थुनछेक गर्दा जिल्ला अदालतबाट लिएका आधार प्रमाणहरुबाट प्रतिवादी राम सरोज यादवलाई तारेखमा राख्ने गरी गरिएको आदेशमा कुनै परिवर्तन गरिरहनु परेन भन्दै उक्त आदेशलाई नै सदर गरेको पाइन्छ । २० अषाढ २०६३ मा धनुषा जिल्ला अदालतका न्यायधीश भिम कुमार ओझाको इजलासले उक्त घटनाका प्रतिवादीहरु उपरको दावी वादी पक्षले ठोस एवम सवुत प्रमाणद्वारा शंकारहित तवरले पुष्टि गर्न नसकेको अवस्थामा यी प्रतिवादीहरु रुदल यादव, झपसी भन्ने जयनारायण महतो, रामसरोज यादव , छोटे यादव भन्ने छोटेन्द्र यादव, जुगेश्वर यादव र अंगद यादव समेतले आरोपित कसुरबाट सफाई पाउने ठहर छ, बादी नेपाल सरकारको अभियोगदावी पुग्न नसक्ने ठहर छ, सो ठहर्नाले अरु कुरामा तपसील बमोजिम फैसला गरेको पाइन्छ । त्यसैगरी फरार रहेका अन्य प्रतिवादीहरुको फरारी लगत राखि सो को जानकारी जिल्ला प्रहरी कार्यालय धनुषामा दिनु भनि फैसला गरेको पाइन्छ ।

त्यसैगरी ४ भदौ २०६५ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय प्रेम शर्मा र भोला प्रसाद खरेलको संयूक्त इजलासले प्रतिवादीहरुलाई आरोपित कसुरबाट सफाई दिने गरी धनुषा जिल्ला अदालतबाट भएको फैसलालाई नै सदर गरेको पाइन्छ ।

२०७३ जेष्ठ ३० गते आईतबार

चुरे संरक्षणमा लगानी, वृक्षारोपणमा बालुवामा पानी

करोडौं रकम खर्चिएर वृक्षारोपन गरिएपनि वृक्ष देखिँदैनन ।
मनिका झा
जनकपुरधाम............
नांगो डांडालाई हराभरा बनाई तराईलाई मरुभूमी हुनबाट जोगाउन राष्टूपति चुरे तराई मधेश संरक्षण समिति मार्फत करोडौं रकम खर्चेर वृक्षारोपण गरिएपनि धनुषामा प्रभावकारी हुन सकेको छैन ।
जिल्लाको चुरे भावर क्षेत्रमा वन कार्यालयबाट वृक्षारोपण गरिएपनि रेखदेख र संरक्षणको अभावमा बिरुवाहरु मरेर गएका छन् । तराईमा चुरे विनाश र अतिक्रमणको क्रम बढ्दै गएर खोलाहरु सुख्न थालेपछि र पानी नपरि अनिकालको समस्या उत्पन्न भएको अवस्थामा चुरे क्षेत्रलाई संरक्षण गर्ने अभिप्रायले सरकारले विशेष प्राथमिकताका साथ २०६८ देखि राष्टूपति चुरे संरक्षण कार्यक्रम लागु गरेको हो । 

यो कार्यक्रम अन्र्तगत चुरे क्षेत्रलाई संरक्षण सम्वद्र्धनको लागि वृक्षारोपण सबैभन्दा बढि प्राथमिकतामा राखेर यसका लागि प्रत्येक वर्ष बजेट समेत थप्दै कार्यक्रम अघि बढाईएको हो । यस जिल्लामा रहेको २७, ५७८.६ हेक्टर वन मध्ये जलाध नदि प्रणाली, रातु नदि प्रणाली, चारणाथ खोला नदि प्रणाली र औरही खोला नदि प्रणाली अन्र्तगत नांगो डांडाहरुमा आ.व.२०७०÷०७१ देखी चालु आर्थिक वर्ष सम्ममा २ सय ३८ हेक्टर क्षेत्रफलमा लगाईएको बिरुवा मध्ये अधिकांश मरेर गएका छन् । 

    तीन वर्षको अवधिमा ८ लाख बिरुवाहरु रोपिएपनि वन कार्यालयबाट उचित रेखदेख र समयमा सिंचाई सुविधा उपलब्ध नहुंदा बिरुवाहरु सुखेका छन् । जिल्ला वन कार्यालय धनुषाले दिएको जानकारी अनुसार वृक्षारोपणको लागि एउटा बिरुवाको मुल्य ८ रुपैंया र प्रतिहेक्टर रोपाईको लागि ६० हजार रुपैंया बजेट छुट्याईएको हो । यस प्रकार तीन वर्षमा १ करोड ९२ लाखको बिरुवा उत्पादन गरिएको हो भने रोपाई खर्च बापत १ करोड ४२ लाख खर्च भईसकेको छ । तर, एति धेरै रकम खर्चिएका बिरुवाहरु भने डांडामा खोजेपछि कहिं कहिं मात्रै फेला पर्ने गरेका छन् । 

जलाध खोला अन्तर्गत चमेनिया माई स्थान नजिकै रहेको वन क्षेत्रमा घेरालुको रुपमा काम गर्दै आएका जुल बहादुर बुलनले सुखिसकेका बिरुवाहरु देखाउंदै भने, रोपेपछि हेरचांह नभए बिरुवा सपार्नु अतिनै गाहे छ त्यो माथिबाट पानि पनि पर्दैन अनि बिरुवा नमरी के हुन्छ । 

कार्यक्रम अन्र्तगत प्रथम वर्षमा आ.व.२०६८÷०६९ मा ५९ हेक्टरमा साढे ७ लाख बिरुवा रोपिएको थियो जसबापत ११ लाख रकम खर्चिएको थियो । आ.व.०६९÷०७० मा ९५ हेक्टर क्षेत्रफलमा ६ लाख २० हजार बिरुवा रोपेर ८९ लाख ८१ हजार   रुपैंया खर्चिएको थियो । 

क्रमशः २०७१÷०७२ मा जलाध नदि प्रणालीमा ८० हेक्टर क्षेत्रफलमा २ लाख बिरुवा, रातु नदि प्रणालीमा १८ हेक्टरमा १ लाख बिरुवा, चारनाथ खोला प्रणालीमा ३५ हेक्टरमा १ लाख बिरुवा रोपिएका हुन् । भने चालु आर्थिक वर्षमा ८ लाख बिरुवा उत्पादन गरेर ४५ हेक्टरमा वृक्षारोपण गर्ने लक्ष्य रहेको जनाईएको छ ।
यता, बिरुवाहरु रोप्दै सुख्दै गएपनि वन कार्यालयले २०७१÷०७२ मा प्रकाशित गरेको वार्षिक समिक्षा पुस्तिकामा वृक्षारोपणको प्रगति सय प्रतिशत उल्लेख गरेको पाईएको छ । 

    यस विषयमा जिल्ला वन कार्यालय धनुषाका प्रमुख विरेन्द्र साहले सरकारी तवरबाट भईरहेको वृक्षारोपण कार्यक्रम अन्तर्गत संरक्षण र रेखदेखको लागि अतिनै न्युन बजेट छुट्याईएको हुनाले समस्या भएको बताए । उनले भने, निजि प्रोजेक्टहरु मार्फत हुने वृक्षारोपण कार्यक्रमहरुमा बिरुवा स्यहार र रेखदेखको लागि पांच वर्ष सम्मको कार्यक्रम हुन्छ तर, सरकारी कार्यक्रममा रोपेपछि मेन्टीनेन्सको विशेष व्यवस्था नहुंदा समस्या भएको हो । अर्को तर्फ चुरे क्षेत्रमा सिंचाईको समस्या र खडेरीले  गर्दा बिरुवाहरु   सुखेको साहको भनाई रहेको छ । 

विगतमा वृक्षारोपण बापत रकम दिएपनि तारबार वा रेखदेखको लागि केही रकम थिएन । तर, गत वर्षदेखी रेखदेख बापत डेढ कठ्ठामा १० हजार रुपैंया उपलब्ध गराईएको साहले जानकारी गराए । बढ्दो महंगी र कामदारहरुको ज्याला समेत बढेको अवस्थामा १० हजारले रेखदेख सम्भव नरहेको भनि आफुहरुले आवाज उठाएपछि आगामि आर्थिक वर्षदेखि रेखदेख रकमलाई प्रति हेक्टर २५ हजार     सम्म   गर्ने सुझाव  दिईएको हो । 

अतिक्रमणको अवस्था
चुरेक्षेत्रमा वनजंगल विनाशको सबैभन्दा ठूलो कारण अतिक्रमण र काठ तस्करी रहेको छ । जसको नियन्त्रणको लागि समेत चुरे संरक्षण कार्यक्रम अन्र्तगत बजेट छुट्याएरै कार्यक्रम संचालन गरिएको छ । तर, अतिक्रमण हटाउन तर्फ विगत दुई वर्षदेखि जिल्ला वन कार्यालयको तर्फबाट कुनै खास पहल भएको छैन । २७,५७८ हेक्टर क्षेत्रफलमा फैलिएको वन मध्ये ८७२ हेक्टरमा अतिक्रमण भईसकेको अवस्था रहेको छ । जसमध्ये चुरे संरक्षण कार्यक्रम लागु भएको चार वर्षको अवधीमा १३२७ जनाले अतिक्रमण गरि वनक्षेत्रको जग्गामा घर बनाएका छन् । अतिक्रमित जग्गामा घर बनाउनेहरुको संख्या वन कार्यालयको तथ्यांक अनुसार २१६२ रहेको छ ।  चौतर्फी दबावका कारण तीन वर्ष पुर्व वन कार्यालयले चिसापानी वनक्षेत्रमा ६७ वटा घरटहरा हटाउनुको साथै १० हेक्टर वन अतिक्रमण मुक्त गराएको थियो । 

    त्यसैगरी भाटाबारी सामुदायिक वन उपभोक्ता समिति, पुष्पवलपुर सामुदायिक वन उपभोक्ता समिति, वालाझार, मटियर्वा, हरिहरपुर, औरही बाबा र वेगाडावर क्षेत्रमा वन क्षेत्रमा कृषिवाली लगाएकोलाई समेत फडानी गरि अतिक्रमण मुक्त बनाईएको थियो । तर, त्यसपछि दुईवर्ष एतादेखि वन अतिक्रमण खाली गराउन कुनै विशेष पहल भएको छैन । वन कार्यालय प्रमुख विरेन्द्र साह राजनीतिक असमझदारी र प्रशासनिक असहयोग सहित विभिन्न प्रकारको समस्याहरुको कारण अतिक्रमण मुक्त गराउने अभियान सुस्त भएको बताउंछन् ।

२०७३ जेष्ठ ३० गते आईतबार

Wednesday, June 8, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


हावादारी प्रम भनेर कुरा काट्न मिल्छ .... ल हेर मेरो हावादारी विकासको कमाल !

२०७३ जेष्ठ २३ गते आईतबार

बढ्दो बलात्कारका घटनाले असुरक्षित हुँदैछन् महिला

अजय अनुरागी
जनकपुरधाम............
एक जना महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले ४ जनालाई पक्राउ गरेका छन् भने ती घटनामा संलग्न रहेको भनिएको अन्य ३÷४ जना व्यक्तिहरुको खोजतलास गरिरहेको छ ।
१० जेष्ठ २०७३का दिन अन्दाजी राति ७ः३० बजेको समयमा जनकपुर उपमहानगरपालिका २३ स्थित बेलाकुट्टीको पर्ती जग्गामा करिब ६÷७ जनाको समुहमा रहेका मानिसहरुले एक जना आईमाईलाई सामुहिक रुपमै जबरजस्ती करणी गरेको जाहेरी दर्ता भएपछि धनुषा प्रहरीले उक्त आरोपमा संलग्न रहेको अभियोगमा महोत्तरी गौशाला ७ का २० बर्षिय राजेश साह, धनुषाको जनकपुर उपमहानगरपालिका २३ स्थित लादोबेलाका १८ बर्षिय फिरोज राईन, लादोबेलाकै २० बर्षिय अमर कुमार साह र जनकपुर उपमहानगरपालिका ९ बस्ने १९ बर्षिय आकाश सहनीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको तथा अन्य नचिनेका भनिएका ३÷४ जनालाई समेत खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बताएका छन् ।
 घरेलु काम काज खोज्नका लागि जनकपुरको शिव चौकबाट घर तर्फ फर्किरहेको बेला जनकपुर ७ स्थित पुग्दा बाटोमा विपक्षी राजेश साह समेतले पछाडीबाट चयाप्प समाती बारदात स्थलको प्रति जग्गामा लगी मुख थुनी हात समाती सामुहिक रुपमा पालैपालो जवरजस्ती करणी गर्दै गरेको अवस्था रोईकराई गुहार मागेपछि स्थानीय मानिसहरुले हो हल्ला सुनेपछि तत्कालै सो स्थानमा आई राजेश साह र फिरोज राईन समेतलाई पक्राउ गरी प्रहरीमा बुझाइएको तथा अन्य प्रतिवादी फरार रहेको भन्दै उक्त महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएकी थिईन । तत्कालै ती महिलाको जनकपुर अञ्चल अस्पतालमा लगि धनुषा प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो ।
पीडित भनिएका ती महिलाको ५ वटा छोरी र एउटा छोरा समेत रहेका छन् । करिब ४ बर्ष पहिले ती महिलाको पतिको मानशिक सन्तुलन विग्रेपछि घरबाट निस्केर भागेपछि बताइएको छ । घटना बारदात हुन भन्दा ५ दिन अघिसम्म ती पीडित भनिने महिला जनकपुरकै एउटा संस्थागत विद्यालयमा काम गर्दै आएकी थिईन ।
ती पीडित महिलाले गरेको उजुरी तथा जाहेरीको आधारमा ती महिला माथि अत्यन्तै अन्याय भएको देखिन्छ । ती महिलालाई सामुहिक बलात्कार गर्नेहरुलाई साँच्चै कडा भन्दा कडा कारवाही गरिनुपर्दछ । तर, घटनाको बास्तविक्ता भने अर्कै रहेको पाइएको छ । प्रहरी स्रोतका अनुसार धनुषा प्रहरीले गरेको अनुसन्धानको आधारमा के देखिएको छ भने त्यो सामुहिक बलात्कारको घटना होइन । पक्राउ परेका ती प्रतिवादीहरुसँग गरिएको अनुसन्धानबाट खुलेको तथ्य अनुसार ती महिलाको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको, श्रीमान घरबाट बाहिर हिँडेको र चार छोरी र एक छोरा गरी पाँचवटा सन्तानहरुको पालन पोषण गर्नमा मुस्किल परेपछि ती महिलाले आफ्नो र आफ्नो परिवारको गुजारा चलाउनका लागि यौन व्यवसाय पेशा नै अन्गालेको देखिन्छ । घटना भएको दिन समेत पाँच हजार रुपैयाँमा आपसी सहमतिमै ती ६ जनाले ती महिलालाई पालैपालो करणी गरेको भन्ने कुरा पनि सत्य नै हो । तर पछि हल्ला हुँदा स्थानीय मानिसहरुले घटना बुझ्न खोज्दा आफु जोगिनका लागि र समाजमा बदनामी हुने डरबाट बच्नका लागि ती महिलाले सामुहिक बलात्कारको घटना सम्बन्धमा जाहेरी दिएको प्रहरी स्रोतको दावी छ ।
यसरी हेर्ने हो भने सबै बलात्कारका मुद्दाहरुमा जवरजस्ती करणी गरेको हुँदैन । आफ्नो नाउँ बदनाम हुने डरले आपसी सहमतिमै गरिएको करणीलाई पनि महिलाहरुले पुरुषहरुलाई बलात्कारको मुद्दालाई हतियारको रुपमा प्रयोग गरी फसाउने काम समेत गर्ने गरिएको पाइएको छ । यसको अर्थ यो पनि होइन कि हरेक बलात्कारका घटनाहरुमा आपसी सहमति नै हुन्छन् । प्रायः जसो घटनाहरुमा विभिन्न प्रलोभनमा पारी जवरजस्ती करणी गर्ने गरेको पाइएको छ ।
बढ्दो बलात्कारका घटना
मध्य तथा पुर्वी तराई मधेसका जिल्लाहरुमा महिलाहरु प्रायः असुरक्षित देखिन्छन् । विहान बेलुका महिलाहरु एक्लै हिँड्न नसक्ने अवस्था छ । घरबाट हिँडेकी महिलाहरु सुरक्षित आफ्नो घरमा फर्किने हो कि होइन भन्ने चिन्ता र आशंका घरमा सहि सलामत नफर्किन्जेलसम्म रहिरहन्छ । किनभने महिलाहरुको अस्मिता नै खतरामा रहेको हुन्छ । धनुषामा महिलाहरु बलात्कृत हुने घटना बढ्दै गएको पाइन्छ ।
३ साउन २०७२ मा धनुषाको उमाप्रेमपुर ९ हाल धनुषाधाम ५ स्थित सोही गाउँका प्रगास भन्ने ५५ बर्षिय प्रकाश मण्डलले आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै ती पीडित १३ बर्षिय बालिकाले जवरजस्ती करणीको मुद्दा ३१ साउन २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गरेको पाइन्छ । ती प्रतिवादी सुरुमा फरार रहेपनि पछि पक्राउ परेको बताइएको छ ।
१४ भदौ २०७२ मा जनकपुर २२ बस्ने ३० बर्षिय राम अशिष मुखियाले विहान ६ बजेको समयमा एक जना २३ बर्षिय महिलालाई बलात्कार गरेको भन्दै २२ भदौ २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरिएको छ ।
१४ माघ २०७२ मा धनुषाको नौवाखोर परसाही ४ का २४ बर्षिय दिपक कुमार साहले सोही गाउँका एक जना ३ बर्षिय बालिकालाई चकलेट खुवाई प्रलोभनमा पारी प्रतिवादी दिपकले ती बालिकालाई आफ्नो घरमा लगि ढोका बन्द गरी जवरजस्ती करणी गर्न खोजेको बेला ती बालिकाकी जेठी दिदीले थाहा पाई समाजले समेत देखेपछि फरार भएको भन्दै २० माघ २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरेको छ ।
२१ माघ २०७२ का दिन धनुषाको सिनुरजोडा ८ स्थित पीडितको घरमा अन्दाजी २ बजेको समयमा सोही गाउँका १९ बर्षिय प्रतोस कुमार साहले ती पीडित महिला घरमा एक्लै भएको अवस्थामा पीडितलाई घर भित्र ढोका लगाई जवरजस्ती करणी गरेको भन्दै २१ माघ २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरिएको छ । ७ बर्षिय नाबालिक महिलालाई जवरजस्ती करणी गरेको अभियोग अन्तरगत धनुषा जिल्ला अदालतले मुद्दा पुर्पक्षको क्रममा जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको अनुसन्धान गर्न भनि १८ फागुन २०७२ मा आदेश गरेको छ ।
१६ फागुन २०७२ मा धनुषाको माची झिट्कैया ६ लगमा गाउँमा लगमा ६ बस्ने एक जना १६ बर्षकी बालिकालाई सोही गाउँका माची झिट्कैया ७ बस्ने १८ बर्षका सरोज कुमार नुनियाले पीडित बालिका आफ्नो घर आँगनमा भाडा धोईरहेको अवस्थामा विभिन्न किसिमको प्रलोभन देखाई ती बालिकालाई उचाली पीडितको आफ्नो घरको पछाडी लगी जवरजस्ती करणी गरेको भन्दै २२ चैत्र २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको पाइन्छ । उक्त घटनामा धनुषा जिल्ला अदालतले २१ बैशाख २०७३ मा थुनछेक मुद्दाको क्रममा प्रतिवादी सरोज कुमार नुनियालाई जलेश्वर कारागार चलान गरिएको छ ।
५ चैत्र २०७२ मा धनुषाको फुलगामा ७ बस्ने बर्ष २५ का अमर महतो र नाम थाहा नभएका एक जनाले धनुषाको बौहर्वा ६ स्थित एक जना १५ बर्षिय बालिकालाई फोन गरी बोलाई रातभरी जवरजस्ती करणी गरी फरार भएको भन्दै १९ चैत्र २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गरिएको बलात्कार मुद्दाको तथ्याङ्क हेर्ने हो भने प्रत्येक बर्ष जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका मुद्दाहरु वृद्धि भएको पाइन्छ । आर्थिक बर्ष २०६९÷०७० मा ६ थान, आर्थिक बर्ष २०७०÷०७१ मा १२ थान, आर्थिक बर्ष २०७१÷०७२ मा २० थान र चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख महिनासम्ममा १४ थान गरी कुल ५२ थान जवरजस्ती करणीका मुद्दाहरु दर्ता भएका छन् ।
ठीक त्यसैगरी आर्थिक बर्ष २०६९÷०७० मा ४ थान, आर्थिक बर्ष २०७०÷०७१ मा ७ थान, आर्थिक बर्ष २०७१÷०७२ मा ८ थान र चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख महिनासम्ममा ३ थान गरी कुल २२ थान जवरजस्ती करणी उद्योगका मुद्दाहरु दर्ता भएको पाइन्छ । यसरी हेर्ने हो भने महिलाको अस्मिता लुटिएको र  लुटिने प्रयास भएको घटनाहरु प्रत्येक बर्ष बढ्दै गएको पाइन्छ ।
अदालतबाट प्रायः थुनिने गरिन्छ
जवरजस्ती करणी अन्तरगत धनुषा जिल्ला अदालतमा पुगेको प्रायः मुद्दाहरु मध्ये अधिकांश आरोपितहरुको कसुर ठहर गरी कैद सजाय हुने गरेको पाइएको छ । २३ माघ २०७१ मा धनुषा जिल्ला अदालतमा बलात्कार सम्बन्धि दर्ता भएको एउटा मुद्दाको फैसलामा प्रतिवादी बलराम महतोले ३० पुष २०७१ का दिन उपचार गराउने सन्दर्भमा एक जना महिला प्रतिवादी महतोको क्लिनिकमा आफ्नो लोग्ने सहित आएकी पीडितलाई जवरजस्ती करणी गर्ने उद्देश्यले निजको लोग्नेलाई औषधि (इन्जेक्सन) ल्याउने बहानामा प्रतिवादीले बाहिर पठाई आफ्नो क्लिनिक भित्र जवरजस्ती करणी गर्न खोज्दा निज पीडितले कराई आफनो बल लगाई प्रतिवादीले क्लिनिकबाट बाहिर निस्किएको प्रष्ट देखिँदा निज प्रतिवादी बलराम महतोलाई जवरजस्ती करणी कसुरको उद्योग गरेको देखिँदा तीन बर्ष कैद हुने ठहर्छ भन्दै धनुषा जिल्ला अदालतले १२ फागुन २०७२ मा फैसला गरेको पाइन्छ ।
त्यस्तै अर्को एउटा बलात्कार सम्बन्धि मुद्दाको फैसलामा ८ बैशाख २०७१ का दिन राति ७ बजेको समयमा प्रतिवादी राम श्रेष्ठ ठाकुर मेरो कोठामा आई मलाई समाती मेरो मुख थुनि घरबाट जवरजस्ती बोकी घर नजिकको कोल्ड स्टोर्समा लगि जवरजस्ती करणी गर्न खोजेको र मेरो गालामा थिचोडी दिएकोले म त्यो ठाउँबाट भाग्न सफल भई आफ्नो आमालाई सबै कुरा बताएपछि किटानी जाहेरी गरेको भन्दै बलात्कृत उक्त १२ बर्षिय पीडितको मुद्दामा धनुषा जिल्ला अदालतले प्रतिवादी ठाकुरलाई ४ बर्ष कैद सजाय गरेको छ ।
१३ फागुन २०७२ मा धनुषा जिल्ला अदालतले गरेको फैसलामा समेत बलात्कारीलाई दण्ड सजाय गरेको पाइन्छ । प्रतिवादी संजीव भनिने संजय कुमार मण्डलले जवरजस्ती करणी गरेको साथै अप्राकृतिक मैथुन समेत गरेको हुनाले पीडितको उमेर र वारदातको अवस्था समेतलाई विचार गर्दा ११ बर्ष कैद र थप एक बर्ष कैद गरी कुल १२ बर्ष कैद सजायका साथ साथै पीडितको उमेर र निजलाई पर्न गएको मर्का समेतलाई विचार गर्दा पीडितलाई प्रतिवादीबाट रु. २५ हजार क्षतिपुर्ती समेत भराई दिन अदालतले फैसला गरेको पाइन्छ ।
एक्कादुक्कालाई मात्र सफाई
१५ बैशाख २०७३ मा धनुषा जिल्ला अदालतले गरेको एउटा फैसलामा प्रतिवादीलाई सफाई दिएको पाइन्छ । प्रतिवादी विक्रम यादवले पीडितलाई जनकपुर लान्छु, फकाई जनकपुर नलगि ढल्केवर स्थित श्रीराम गेष्ट हाउसमा लगि सोही गेस्ट हाउसको कोठा नम्बर १०२ को कोठामा ज्यान मार्ने धम्की समेत दिई डर त्रास देखाई पीडित १३ बर्षकी नवालिकाको संवेदनशिल अंग समेत चलाई जवरजस्ती बेडमा लगि करणी गरेको भन्दै पीडितले अदालतमा मुद्दा दर्ता गरेको थियो ।
मिसिलमा संलग्न तथ्य स्वयम प्रमाणलाई हेर्दा पीडितको शारिरीक परीक्षण अनुसन्धानको चरणमा बुझिएका व्यक्तिको बक पत्र, पीडित तथा जाहेरबाला समेतको बक पत्र, समेत प्रमाणहरुबाट अभियोग दावी बमोजिमको कसुर नै स्थापित भएको नदेखिएकोले यी प्रतिवादीले जवरजस्ती करणीको कसुर गरेको भन्ने अभियोग दावी नपुग्ने ठहर्छ , तसर्थ प्रतिवादी विक्रम यादवले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्दै अदालतले फैसला गरेको पाइन्छ ।
घटनापछि जोगाउनुपर्ने प्रमाण
बलात्कार भएपनि प्रमाण अभावका कारण कतिपय बलात्कारका मुद्दाहरुमा पीडकहरुले सजाय पाउनुको साटो सफाई पाएका हुन्छन् । त्यसैले घटनापछि जोगाउनुपर्ने प्रमाणहरुका विषयमा पीडितहरु सचेत हुनु जरुरी हुन्छ । प्रहरी पुगुन्जेल घटनास्थल जोगाउने, प्रमाणहरू नष्ट हुन नदिने, संघर्षका क्रममा शरीरमा लागेका चोट, रौं, रगत, वीर्य नपखाली स्वास्थ्य परीक्षण गराउने, प्रहरीमा तत्काल उजुरी गर्ने, प्रहरीलाई स्वतन्त्रपूर्वक अनुसन्धान गर्न दिने र प्रहरीले प्रमाण जस्ताको तस्तै अदालतसमक्ष पुर्याउने ।
 कानुनी व्यवस्था
नेपालको बर्तमान कानुनमा बलात्कारलाई जघन्य अपराधको रुपमा लिइएको छ । १० बर्ष उमेर भन्दा मुनिका बालिकालाई जबरजस्ती करणी गरेको खण्डमा १० देखि १५ बर्षसम्म कैद सजाय, १० देखि १४ बर्षको बालिकालाई जवरजस्ती करणी गरेको खण्डमा ८ देखि १२ सम्म कैद सजाय, १४ बर्ष देखि १६ बर्षसम्म उमेरको बालिकालाई जवरजस्ती करणी गरेको खण्डमा ६ देखि १० बर्षसम्मको कैद सजाय, १६ देखि २० बर्षसम्मको यूवति वा महिलालाई बलात्कार गरेको खण्डमा ५ देखि ८ बर्षसम्मको कैद सजाय र २० बर्षको उमेर भन्दा माथिको महिलालाई जवरजस्ती करणी गरेको खण्डमा ५ देखि ७ बर्षसम्मको कैद सजाय व्यवस्था गरिएको कानुन व्यवसायी तथा नेपाल बार एसोसिएशन जनकपुरका पुर्व अध्यक्ष चन्द्र कुमार शर्मा मैनाली बताउछन् ।
कानुन व्यवसायी मैनालीका अनुसार यदि कुनै पनि महिलालाई सामुहिक रुपमा जवरजस्ती करणी गरिएको छ भने तोकिएको सजायमा थप ५ बर्ष कैद सजायको व्यवस्था कानुनमा गरिएको छ । उनका अनुसार कुनै पनि महिलालाई प्रलोभनमा पारी करणी गरिएको छ भने त्यसलाई ती महिलाको मन्जुरी मानिदैन र जवरजस्ती करणीको सजाय ठहरिन जान्छ । यहाँ सम्मकी कुनै पुरुषले आफ्नो स्वास्नी लाई समेत स्वास्नीको मन्जुरी विना करणी गर्दछ भने पनि जवरजस्ती करणी अन्तरगतको मुद्दा चलाई ती स्वास्नी मानिसले आफ्नो श्रीमानलाई ३ बर्षसम्म कैद सजाय गराउन सक्छन् ।
मुलुकी ऐनले कुनै आश्वासन वा प्रभावमा पारेर लिएको मञ्जुरी सहमति नमानिने व्यवस्था गरेको छ । १६ वर्ष नपुगेकी बालिकालाई मञ्जुरी लिई गरेको करणीलाई पनि सहमति मानिंदैन । भारतीय प्रमाण ऐन १८७२ ले ’सहमति र असहमतिको प्रश्न उठेको मुद्दामा पीडितले सहमति थिएन भनेको अवस्थामा अदालतले त्यस्तो यौनकार्य पीडितको असहमतिमा भएको अनुमान गरी मुद्दा अगाडि बढाउनुपर्छ’ भनेको छ । भारतमा प्रहरीले बलात्कार मुद्दाको जाहेरी अनिवार्य रूपमा दर्ता गर्नुपर्ने आदेश पनि जारी भएको छ ।
‘सहमति’ बारे नेपालकै अदालतबाट पनि नयाँ व्याख्या आएको छ । ठमेलका होटल व्यवसायी र विदेशी महिलाको यौन सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ‘कण्डम लगाएर मात्र यौन सम्बन्ध राख्न अनुमति दिएकोमा नलगाई राखेको सम्बन्धमा पीडितको सहमति भएको नठहर्ने’ फैसला आएको थियो । भारत, अमेरिका लगायत देशमा जबर्जस्ती करणीमा सहमति भएको दाबी गर्ने पक्षले नै त्यसलाई प्रमाणित गर्नुपर्ने कानून छ । ‘प्रमाणको भार’ भनिने यस्तो दायित्व नेपालमा लागूऔषध, मानव बेचबिखन जस्ता मुद्दामा मात्र अभियुक्तमाथि हुन्छ ।
हिंस्रक आक्रमण नै भएका घटनामा बाहेक अधिकांश अवस्थामा बलात्कारपछि पीडक र पीडितलाई शारीरिक क्षति पुगेको हुँदैन । महिलाको स्वाभिमान, मर्यादा र इज्जतमा भने त्यसले अपूरणीय क्षति पुर्याएको हुन्छ । महिलाको आत्मसम्मानको हत्या हुने भएकैले यौनका विषयमा निकै उदार समाजमा पनि बलात्कारलाई मानवता विरुद्धको अपराध मानिन्छ ।
वैवाहिक बलात्कार, कार्यस्थलमा हुने यौन दुवर््यवहार, आसय करणी, ‘सहमति’ बारेका नयाँ फैसला र सर्वोच्चका नजिरमा अग्रणी हुँदाहुँदै पनि नेपालमा बलात्कारका अभियुक्तहरू कानूनका छिद्रहरूबाट उम्किरहेका छन् र त्यस्ता छिद्रहरू टाल्ने प्रभावकारी प्रयास हुनसकेको छैन । ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने विधिशास्त्रीय मान्यता भए पनि सरकारसँग आफ्ना नागरिकलाई कानून शिक्षा दिने कार्यक्रम छैन । अधिकांश स्थितिमा बलात्कारलाई ’शारीरिक सम्बन्ध’ को रूपमा     बुझने गरिएको छ ।

२०७३ जेष्ठ २३ गते आईतबार