Tuesday, November 25, 2014

मोदीको जनकपुर भ्रमण कन्फर्म

भारतीय न्युज च्यानल जी न्यूजमा मोदीको
जनकपुर भ्रमण सन्दर्भमा गरिएको समाचारको तस्वीर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मंसिर ९ मा जनकपुरमा  हुने भनिएको भ्रमण धरापमा परे पनि अन्ततः भ्रमण सुनिश्चित गरिएको छ । परराष्टू मन्त्री महेन्द्र बहादुर पाण्डेले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण बारह विघा मैदानमै कायम रहेको  बताएपछि मोदी भ्रमण सुनिश्चित रहेको दावी गरिएको छ । यस अघि मोदीलाई जनकपुरमा नेपाल सरकारको तर्फबाट औपचारिक रुपमा स्वागत गर्ने जिम्मा पाएका भौतिक तथा पुर्वाधार यातायात मन्त्री विमलेन्द्र निधिले औपचारिक रुपमा ४ मंसिरमा प्रेस विज्ञप्ति जारी गरी विवादका कारण मोदीको भ्रमण रद्द भएको जानकारी गराएका थिए । उक्त विज्ञप्ति जारी भएपछि जनकपुरमा स्थानीयवासीहरु आक्रोसित हुँदै मन्त्री निधि, गृहमन्त्री वामदेव गौतम र प्रधानमन्त्री सुशिल कोइरालाको पुतला दहन गरी विरोध जनाएका थिए । मोदीको भ्रमण हुनुपर्छ भन्दै सरकारको विरोधमा एकिकृत नेकपा माओवादीको नेतृत्वमा विपक्षमा रहेका २२ दलिय संघीय गणतान्त्रिक मोर्चाले ५ मंसिरमा जनकपुर बन्दको आह्वान ग¥यो । बन्द पुर्णतः सफल पनि भयो ।रोचक कुरा के हो भने जुन दिन मन्त्री निधिले मोदीको भ्रमण रद्द भयो भनेर विज्ञप्ति जारी गरेका थिए सोही दिन भ्रमणका लागि सुरक्षा व्यवस्थाको जिम्मा लिएका गृहमन्त्रालयका सचिव सुर्य सिलवाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्टिूय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका डिआजी प्रकाश अर्याल, सशस्त्रका डिआइजी शैलेन्द्र खनाल लगायतका उच्च सुरक्षा निकायहरुको टोली जनकपुर पुगेर सुरक्षा अवस्थाको अनुगमन गर्दै थिए । सोही दिन भिठ्ठामोड पुगि सुरक्षा अवस्था बुझेर जनकपुर फर्किएका उक्त टोलीले ५ मंसिरमा जनकपुरका पत्रकारहरुसँगको कुराकानीमा मोदीको भ्रमण रद्द भएको आधिकारिक जानकारी औपचारिक निकायबाट नआएको हुनाले भ्रमण हुने र सोही अनुसार आफुहरु सुरक्षा योजना तर्जुमा गरिरहेको बताएका थिए । गृहमन्त्रालयका सचिव सिलवालले पत्रकारहरुसँगको कुराकानीमा आधिकारिक निकाय भनेको परराष्टू मन्त्रालय हो, कुटनितिक विषय पनि भएकाले कुटनितिक नियोग मार्फत भारत सरकारले परराष्टू मन्त्रालयमा जानकारी गराउनु पर्ने हो, जब की त्यस्तो कुनै पनि सूचना भारत सरकार वा काठमाण्डौ स्थित भारतीय राजदुतावासबाट नआएकाले मोदीको सुरक्षा व्यवस्था अन्तिम समयसम्म अर्थात ९ मंसिरसम्म जनकपुरमा तैयारी अवस्थामा राखिने छ । 
मोदीको स्वागतका लागि जानकी मन्दिरको
उत्तर तर्फको गेटमा बनाइएको स्वागतद्वार ।
भारतको सुरसन्ड हुँदै महोत्तरीको परकौली स्थित नेपाली सेनाको व्यारेकसम्म मोटरबाटो हुँदै आएर, त्यहाँबाट नेपाली सेनाको ४ वटा हेलिकप्टर मार्फत मोदी जनकपुरको १२ विघा मैदानमा ल्याण्ड गर्ने, त्यहाँबाट मोटरबाट जानकी मन्दिर पुगी जानकी माताको पूजा आजा तथा दर्शन गरी सिधा १२ विघाको मैदानमै फर्किएर नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको गृहसचिव सिलवालले पत्रकार सम्मेलनमा जानकारी गराए । यस अघिसम्म मोदीको नागरिक अभिनन्दन कार्यक्रम जानकी मन्दिरमै नेपाल सरकारले तय गरेका थिए । सिलवालका अनुसार मोदीको नागरिक अभिनन्दनको कार्यक्रम सुरुमा १२ विघा मैदानमै तय गरिएको भएपनि विवाह पञ्चमी मेलाको अवसरमा खुल्ला ठाउँमा मोदीसँगै मोदीको सुरक्षा व्यवस्थामा उपयूक्त हुन नसक्ने ठहर गरी जानकी मन्दिरमै दोस्रो विकल्प रोजिएको थियो । तर, अहिले आएर सुरक्षाकर्मीहरुले १२ विघा मैदानमै कार्यक्रम तय गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि नेपाल सरकारको सुरक्षा निकायका सबै अंगहरु परिचालित भएका छन् । नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ । स्थान हेरी हेरी विभिन्न निकायले नेतृत्व लिने छ । गृह सचिव सिलवालका अनुसार १२ विघा मैदानमा हेलिकप्टरको सुरक्षाका लागि नेपाली सेना, भिभिआइपीको अगुवा सुरक्षाका लागि सेना, त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी रहनेछन् । बाटो, पुल, कलभर्ट, मैदान लगायत सबै ठाउँमा सुरक्षा व्यवस्था मिलाइने उनले बताए ।
हुन त नेपालका लागि भारतीय राजदूत रणजीत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिरको धार्मिक भ्रमण रद्द भएको बारे दूतावासलाई कुनै जानकारी नरहेको दाबी गरेका छन् ।
रिपोर्टस क्लब नेपालको साक्षात्कारमा शुक्रबार बिहान उपस्थित भएका राजदूत रेले पत्रकारको पटक(पटकको जिज्ञासापछि यसबारे दूतावासलाई जानकारी नभएको बताएको क्लबका अध्यक्ष ऋषि धमलालले बताए । ‘यसबारेमा नेपाल सरकारको कुरा जे आएको छ, मलाई आधिकारिक जानकारी छैन’ रेले भने, ‘हामी छलफलमै छौं, कसरी यस्तो कुरा बाहिर आयो हामी बुझ्दैछौं ।’
भारतीय राजदूतले मोदी भ्रमण स्थगनको सूचना नेपाल सरकारले जसरी बाहिर ल्यायो, त्यसप्रति असन्तुष्टि जनाएको धमलाले बताए । राजदूत रेलाई प्रधानमन्त्री कार्यालयमा यसबारे जानकारी दिन बोलाइएको स्रोतले जनाएको छ । अब मोदीको सार्क सम्मेलनको सम्पूर्ण कार्यक्रम नै अदल(बदल हुने संकेत राजदूतले गरेका छन् ।
मोदी आउँदा हुने फाइदा
भारतको सिमावर्ती क्षेत्रबाट मोटरबाटो हुँदै मोदी महोत्तरीको परकौलीसम्म आउँदा नेपाल र भारत बीचको खुल्ला सिमाको अवस्था र एक अर्का बीचको सम्बन्धलाई मोदीले आफ्नो आँखाले हेर्न पाउने छन् । नेपाल र भारतको इतिहासमा यो अवसर पहिलो पटक हुनेछ । किनभने यस अघिका भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमण सिधा दिल्लीबाट हवाई मार्ग हुँदै काठमाण्डौसम्म सिमित हुने गरेको थियो । यति मात्र होइन, नेपाल सम्बन्धि भारतले नीति बनाउँदा भारतका कर्मचारीतन्त्र हाबी रहेको साउथ ब्लक र नर्थ ब्लकको आँखाले मात्र भारतले मधेसलाई हेर्ने गथर््यो । वा भनौं, सिंगो नेपाललाई नै । त्यसकारण पनि सिमावारि र पारीका जनताहरुको समान सभ्यता, संस्कृति, भाषा, भेषभुषा, रहनसहन आदि हेर्ने पहिलो प्रधानमन्त्री बन्नेछन् । 
नेपालको औपचारिक भ्रमणमा आएका बेला नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै राजर्षी जनकको चरणमा शिर निहुराउने आफ्नो इच्छा रहेको र सार्क भ्रमणका क्रममा आफु नेपाल आउँदा जानकी मातासँगै भगवान बुद्धको दर्शन गर्न लुम्बनी जाने मोदीले इच्छा जाहेर गरेका थिए । त्यसपछि औपचारिक रुपमै भारत सरकारले भारतीय दुतावास मार्फत नेपालको परराष्टू मन्त्रालयलाई जानकारी गराएर जनकपुर र लुम्बनी जाने सूचना प्रदान गरिएको थियो । जसलाई नेपाल सरकारको गृहमन्त्रालयका सचिव सिलवालले जनकपुरको पत्रकार सम्मेलनमा पुष्टि गरेको थियो । महत्वपुर्ण कुरा के हो भने भिठ्ठामोड देखि जनकपुरधामसम्म मोदी जनकपुर भ्रमणका लागि सडक मार्ग नै प्रयोग गर्ने उनको इच्छालाई साकार पार्न भौतिक योजना तथा निर्माण मन्त्रालयले उक्त सडक खण्डलाई कालो पत्रे गर्न बजेटको समेत चाँजोपाँजो मिलाईसकेको थियो । तर, नेपाल सरकारको सुरक्षा निकायले सडक बाटोमा पुरापुरी सुरक्षा दिन असहज हुने अभिव्यक्ति सार्वजनिक गरेपछि उक्त सडकलाई मर्मत तथा सम्भार गर्ने काम मात्र गरियो । मोदी भ्रमणले जहिले पनि धुलाम्य र हिलाम्य हुने उक्त सडक खण्ड अब कालो पत्रे हुने भनेर गरिएको जनकपुरवासीहरुको सपना चकनाचुर भयो । यद्यपि उक्त सडक खण्डलाई पक्की गर्नका लागि भारत सरकारले अनुदान लगानी गर्ने पहिले नै तय भईसकेको भएपनि भारतीय ठेक्केदार फरार भएपछि उक्त सडकको निर्माण कार्य सँगसँगै धनुषाको हुलाकी सडकको निर्माण कार्य समेत हालसम्म अलपत्र परेको छ ।
केही दिन अघि मात्र भारत सरकारका एक जना पुर्वाधार मन्त्री नितिन गडकरी नेपाल भ्रमणमा आउँदा नेपालका मन्त्री निधिले हुलाकी सडक निर्माण कार्यका लागि अबिलम्ब पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा मन्त्री गडकरीले पनि भारत फर्किए लगत्तै आफुले बुझेर त्यसको पहल कदमी लिने बताएका थिए ।
जनकपुरधाम राजर्षी जनक, जगत जननी माता सिता, ऋषिहरुको तपोभुमि, ज्ञानभुमि, दर्शनभुमि आदि नामले प्रख्यात भएपनि त्यसले अन्तर्राष्टिूय पहिचान बनाउन सकेको छैन । समस्त हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न जनकपुरवासीले नेपाल सरकारलाई बर्षौं देखि अनुरोध गरेपनि राज्यको संकुचित सोचका कारण त्यसो हुन सकेको छैन । मोदी आउँदा उनलाई कभरेज गर्न भारतका थुप्रै मिडियाहरु सँगै आउने भएकाले जनकपुरधामको अन्तर्राष्टिूय स्तरमा व्यापक प्रचार प्रसार हुने भएपछि जनकपुरधाम एक धार्मिक पर्यटक स्थल हो, भन्ने पहिचान स्थापित हुन सक्छ । परिणाम स्वरुप भारतको कुल जनसंख्याको एक प्रतिशत मात्र भएपनि पर्यटक एक वर्षमा जनकपुर आईदियो भने करिब १ करोड २५ लाख पर्यटक स्वतः जनकपुर भित्रिने भएपछि जनकपुरधाम समृद्धिको दिशामा अगाडी वढ्न सक्नेछ ।
मोदी भारतको बनारस अर्थात काशी क्षेत्रका सांसद हुन । गंगालाई सरसफाई गरी सौन्दर्यीकरण गरेर जापानको राजधानी क्योटो सहर जस्तै स्मार्ट सिटी बनाउन जापानका आर्थिक र प्राविधिक सहयोग जुटाई उनले अभियान चलाईसकेका छन् । जनकपुरमा पनि गंगासागर नामक पवित्र सरोवर छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको उक्त सरोवरलाई नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष राम अशिष यादवको अगुवाईमा स्थानियवासीहरुले सरसफाई अभियान संचालन गरेर अहिले त्यहाँ प्रत्येक दिन साँझ गंगा आरती हुने गरेको छ । संयोग के पनि हो भने गंगा आरती सुरु गर्न बनारसको गंगाकै पुजारीहरु आएका थिए । त्यसैले जसरी उनले भारतको गंगालाई सांस्कृतिक राजधानीको रुपमा विकसित गर्न लागेका छन्, जनकपुरधामलाई पनि सांस्कृतिक राजधानीको रुपमा विकास गर्न आवश्यक पर्ने पुर्वाधार निर्माणका लागि अनुदानको घोषणा समेत गर्न सकिने जनकपुरबासीले आशा राखेका छन् । 
के पनि भनाई छ भने राजर्षी जनक प्रत्येक दिन गंगामा गएर स्नान गरी शिव धनुषको पुजा गर्ने गर्थे । हातीमा चढेर उनी जनकपुरधामबाट प्रत्येक दिन गंगा जाने आउने गर्थे । जब सिताको विवाह भयो, सिताले जनक चढने गरेको हाती रामलाई दिनुस भनेर अनुरोध गरिन । अनि जनकले आफु गंगा स्नान गर्न कसरी जाने भनेपछि सिताले रामलाई गंगा यही ल्याई दिनुस भनेर भनेपछि रामले धनुष बाण चढाएर प्रहार गर्दा गंगा आयो र गंगा सागरको उत्पति भयो भनेर भन्ने गरिन्छ । त्यसकारण भारतको गंगा र जनकपुरको गंगा सागर सम्मको मार्ग निर्धारण गरिए राम्रो हुन्थ्यो । किनभने कुनै बेला नेपालकै प्राचिन सहरहरु मध्येको एक रहेको जनकपुरधामको विकासका लागि नेपाल सरकारले खुल्ला ह्दयले कहिल्यै पनि उदार भई बजेट विनियोजन गरेनन् । पछि स्थापना भएका सहरहरु विकासको नाउँमा धेरै अगाडी उक्लिनुले पनि राज्यको बजेट विनियोजनमा भएको भेदभावलाई पुष्टि गर्छ ।
अर्को महत्वपुर्ण कुरा के हो भने जनकपुरधाम राजनीतिक वृतमा समेत महत्वपुर्ण स्थान राख्दछ । नेपालमा भएका हरेक राजनीतिक परिवर्तनहरुमा जनकपुरले आफ्नो अहम योगदान मात्र पु¥याएको छैन, बलिदानी र सहादत दिनबाट समेत पछि परेको छैन । संघीयताको समेत केन्द्र विन्दु मानिएको जनकपुरधाममा मोदीको भ्रमण भयो भने नेपालको अब बन्ने संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित हुन सक्ने र एउटा प्रान्तको राजधानी जनकपुरधाम नै हुने भन्ने संकेत समेत मिल्ने छ ।
जानकी दर्शन गर्ने भारतीय भिआईपीहरुको इतिहास
मोदीले जनकपुरको जानकी मन्दिर दर्शन गर्ने कुराले व्यापक चर्चा लिएको भएपनि भारतका पुर्व राष्टूपतिद्वय निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंह, भारतका पुर्व प्रधानमन्त्री अटल विहारी बाजपेयी, विश्व हिन्दु परिषदका अध्यक्ष अशोक सिंघल लगायतका व्यक्तिहरुले जानकी माताको दर्शन गरिसकेका छन् । यसका अतिरिक्त योग गुरु स्वामी रामदेव, चारवटै पिठहरु जगरनाथपुरी, कान्छीकोटी, काशीवद्रीका आश्रमका शंकराचार्यहरु, रामानन्दाचार्य, लगायतका साधुहरुले समेत जानकी मन्दिरको दर्शन गरिसकेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनाए ।
२५ जुलाई १९७७ देखि २५ जुलाई १९८२ सम्म भारतको राष्टूपति रहेका निलम संजिवा रेड्डी राष्टूपति रहेकै बेला जनकपुरको जानकी मन्दिर दर्शन गरेका थिए । जनकपुर विमान स्थलमा ओर्लने वित्तिकै खुट्टाको जुत्ता खोली जनकपुरको माटो उठाई टाउकोमा टिका लगाएका थिए । उनलाई स्वागत गर्न जनकपुरबाट हजारौं मानिसहरु विमान स्थल पुगेका थिए । विमान स्थल देखि जानकी मन्दिरसम्म स्थानीयवासीहरुले लाईन लागेर उनलाई स्वागत अभिनन्दन गरेका थिए । स्वागतका लागि हजारौं व्यक्तिहरुको भिडलाई देखेपछि उनी केही दुरीसम्म पैदल नै हिंडेका थिए । जानकी मन्दिरको दर्शन गरेपछि उपस्थित हजारौं व्यक्तिहरुको सामु जानकी मन्दिरमा आउने तिर्थालुहरुको लागि एउटा धर्मशाला निर्माणका लागि भारत सरकारले अनुदान दिने घोषणा गरेका थिए । तर, भारत एउटा धर्म निरपेक्ष राष्टू रहेका कारण कुनै खास धर्मका लागि अनुदान दिन गाह्रो भएपछि तत्कालिन प्रधानमन्त्रि पिभी नरसिंहा रावलाई जसरी पनि व्यवस्थ ागर्न उनले आग्रह गरेका थिए । रेड्डी आन्ध्रप्रदेशको पहिलो मुख्य मन्त्रि समेत भएका कारण प्रधानमन्त्रि राउलाई आन्ध्रप्रदेशको तिरुमल तिरुपति देवस्थानम टूस्ट मार्फत रकम दिलाइएको राराब क्याम्पस जनकपुरका तत्कालिन क्याम्पस प्रमुख प्राध्यापक डा. महेन्द्र नारायण मिश्रले बताएका छन् । उक्त धर्मशाला अहिले बृहत्तर जनकपुर विकास क्षेत्र परिषदको मातहतमा यात्री निवासको नाउँले परिचित छ । त्यसैगरी रेड्डीको कार्यकाल समाप्त भएपछि २५ जुलाई १९८२ देखि २५ जुलाई १९८७ सम् मभारतको राष्टूपति रहेका ज्ञानी जेल सिंह पनि राष्टूपति रहेकै बेला जनकपुरको जानकी मन्दिरमा पुजा अर्चना गरेका थिए ।
विक्रम सम्बत २०४९ सालमा भारतको लोकसभामा विपक्षी दलका नेता रहेका अटल विहारी बाजपेयी जनकपुर आई जानकी मन्दिरको दर्शन गरेका थिए । बाजपेयी जनकपुरमा एक रात बसेका पनि थिए । जानकी मन्दिरको दर्शन गरी उपस्थित भीडलाई सम्बोधन गर्दा ठुलो आँधि बेहुरी र पानी पनि पर्न थालेपछि मान्छेहरु ओत लाग्न अन्यत्र जानै लाग्दा बाजपेयीले हिन्दीमा भनेका थिए कि यो शरीर कागजको होइन कि पानीले भिजेपछि गलिहाल्छ । उनको उक्त अभिव्यक्तिपछि सबै मान्छे पानीमा भिज्दै उनको कुरा सुनेका थिए । त्यतिबेला जानकी मन्दिरमै इन्जिनियर सत्य नारायण साहको अध्यक्षतामा गठन गरिएको मिथिला सांस्कृतिक केन्द्रमा गई मिथिला संस्कृति बारे उनलाई जानकारी गराइएको थियो । उक्त केन्द्रका तत्कालिन सचिव रहेका राम भरोस कापडीका अनुसार बाजपेयीलाई सिक्किको परालबाट बनेको सिल्प हाथी र केही उपहार सामग्रीहरु दिएर सम्मान गरिएको थियो । कापडीका अनुसार जनकपुरधाम धार्मिक नगरी भएका कारण सांस्कृतिक र अध्यात्मिक विकास हुनु पर्ने र त्यसका लागि भारत सरकारले समेत ध्यान दिने भनेर मिथिला सांस्कृतिक केन्द्रको माइनुटमा समेत बाजपेयीले आफ्नै हाथले लेखेका थिए । मिथिला लोकाचित्र र लोक सिल्प नेपालको मिथिलाञ्चलमा पनि बन्ने गरेको कुराबाट आफु धेरै हर्षित भएको र त्यसलाई व्यवसायिक रुप दिनुपर्ने बाजपेयीले बताएका थिए । बाजपेयी जनकपुर चुरोट कारखानाको गेस्ट हाउसमा एक रात बसेका थिए । त्यसैगरी भारतीय प्रधानमन्त्री समेत भईसकेका चन्द्रशेखर २०४९ सालमा आई जानकी मन्दिरको दर्शन गर्नुका साथै जनकपुरको बारह विघा मैदानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधित गरेका थिए । त्यस अतिरिक्त चन्द्रशेखर पञ्चायतकालमा पनि धु्रव शर्माको घरमा आएको बताइन्छ ।
भारतीय स्वास्थ्य टोलीद्वारा अस्पतालको अनुगमन
भारतीय स्वास्थ्यकर्मीहरुको एक टोलीले जनकपुर अञ्चल अस्पतालमा पुगेर स्वास्थ्य सुविधाहरुको अवस्थाबारे जानकारी लिएको छ । भारतीय राजदुतावासमा काम गर्ने चिकित्सक जयकुमार ठाकुर र एक जना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खास चिकित्सकले अस्पतालको सेवा सुविधाबारे जानकारी लिएको हो । उक्त टोलीले अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.कल्पना बछाड, पुर्व मेसु डा.गौराङ मिश्रलाई अस्पतालमा भेटेर अस्पतालमा रहेका चिकित्सकहरु, सेवा सुविधाहरुको बारेमा जानकारी लिएर फर्केको छ । जनकपुर भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदीलाई यदि कहिँ कतैबाट आक्रमण भयो भने उपचारको लागि व्यवस्था तन्दरुस्त राख्नका लागि पुर्व तैयारी स्वरुप उक्त टोलीले अस्पतालको अनुगमन गरेको थियो । उक्त टोलीले खास गरी आइसियू भवन, सर्जन, अपरेशन थिएटर र जाँचका लागि उपकरणहरु के के उपलब्ध रहेको तथा के के अभाव रहेको भन्ने जानकारी लिएर फर्किएका छन् ।
जनकपुरधाम सिङ्गारिदै
मोदीको आसन्न भ्रमणलाई लक्षित गरेर जनकपुरका प्रमुख मन्दिरहरुलाई सजाउनको लागि संस्कृति तथा पर्यटन मन्त्रालयले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद मार्फत रु. १ करोड निकासा गरेको छ । वृहत्तरले जनकपुरको जानकी मन्दिरको व्यवस्थापनका लागि रु. ५० लाख छुट्याएको छ । जसमध्ये जानकी मन्दिर परिसरमा जुत्ता राख्ने ¥याक राख्नका लागि रु.५ लाख, मन्दिरको पुर्व तिर नाला निर्माणका लागि रु. ५ लाख, मन्दिरको कम्पाउन्ड वालको रंगरोगनको लागि रु. १० लाख र मन्दिरमा सौर्य उर्जा जडान गर्नको लागि रु. १० लाख र जानकी मन्दिरको परिसरमा रु. २० लाखको टायल्स विछाउनको लागि रकम निकासा गरिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक उमेश यादवले द एक्सक्लुसिभलाई जानकारी दिएको छ ।  त्यसैगरी राम मन्दिरको सौन्दर्यीकरण तथा रंगरोगनका लागि रु. १५ लाख, जानकी मन्दिरको विवाह मण्डपको रंगरोगनका लागि रु. ५ लाख, जनक मन्दिरमा सौर्य उर्जा जडान गर्नका लागि रु. १० लाख, जनक मन्दिरको मर्मत सम्हार तथा रंगरोगनका लागि रु. १० लाख र तिरहुतिया गाछीको सामुनेमा रहेको बाल उद्यान पार्कलाई मर्मत तथा सम्हार र रंगरोगनका लागि रु. १० लाख बजेट निकासा गरिएको छ । ती सबै कार्यहरु उपभोक्ता समिति मार्फत गर्न लागिएको छ । त्यसैगरी मोदीको भ्रमण तथा नागरिक अभिनन्दन कार्यक्रमको लागि जनकपुरको रंगभुमि मैदानमा मञ्च, पण्डाल तथा स्वागतद्वार बनाउने तयारी वृहत्तरले थालेको यादवले बताए ।


जानकी मन्दिर दर्शन गर्नेहरु बायाँबाट क्रमशः भारतका पुर्व राष्ट्रपतिद्वय निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंह, विश्व हिन्दु परिषदका अध्यक्ष अशोक सिंघल र योग गुरु स्वामी रामदेव ।
२०७१ मंसिर ०७ गते आईतबार,

Monday, November 24, 2014

धनुषामा भारतको लगानी


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
ब्रोडगेज निर्माणमा लगानी
राणाकालमा महोत्तरीको विजलपुरा देखि जनकपुर हुंदै भारतको जयनगर सम्म सञ्चालनमा रहेको हालको न्यारोगेजको नेपाल रेल्वे सेवा जनकपुर (जयनगर सम्म सिमित भएको नकारात्मक खबरका बावजुद भारतीय सरकारको लगानीमा ब्रोडगेज निर्माणको कार्य अगाडी वढेको छ । जनकपुरवासी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्टूपति डा. रामवरण यादवको औपचारिक रुपमै पहिलो पटक भारत भ्रमण हुंदा जयनगर बाट महोत्तरीकचो बर्दीबास सम्म ब्रोडगेज सेवा विस्तार गर्ने नेपाल र भारत सरकारका प्रतिनिधी बिच सम्झौता भएको थियो । सन २००८ मा नेपाल सरकार तर्फबाट भ्रमणटोलीमा प्रतिनिधिमण्डलमा सहभागी भएका तत्कालीन मन्त्री शरदसिंह भण्डारीले उक्त सम्झौतामा हस्ताक्षर गरेको ६ वर्ष वितिसक्दा पनि नेरौगेज हालसम्म ब्रोडगेजमा परिणत हुन सकेको छैन । सम्झौता अनुसार जयनगर देखि बर्दीबाससम्म ६९ किलोमिटर जग्गा अधिग्रहण गरी भारतीय कन्टूयाक्टर इरकोन कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने थियो । नेपाल सरकारले जग्गा अधिग्रहण कार्यसँगै ब्रोडगेज निर्माणको कार्य अगाडी वढेको छ । तत्काल प्रथम चरणमा महोत्तरीको सीतापुर भंगहा सम्मका ५२ किलोमिटर सम्म ब्रोडगेज सेवा निर्माण भइ दोस्रो चरणमा वर्दीवास सम्म ब्रोडगेज निर्माण भए जयनगरबाट बर्दीबास सम्मको दुरी तय गर्न नेपाल रेल्वेलाई १ घण्टा भन्दा पनि कम समय लाग्नेछ ।
 भारतको जयनगरमा भारतीय भन्सार र स्टेशन भवन निर्माण , इनरवामा नेपाली भन्सार र हल्ट , खजुरीमा साविककै स्थानमा स्टेशन , महिनाथपुरमा साविककै स्थानमा हल्ट , वैदेहीमा साविककै स्थानमा हल्ट , कुर्थामा स्टेशन , खुट्टा पिपराढीमा स्टेशन , लोहारपट्टीमा हल्ट , सिंग्याहीमा स्टेशन र भंगहामा स्टेशन भवन निर्माणको कार्य प्रथम चरणमा हुनेछ । नेपाल सरकारले मात्र जग्गा उपलब्ध गराउनु पर्ने छ र बांकी पुल निर्माण देखि स्टेशन भवन निर्माण , ब्रोडगेज निर्माण सहित भारत सरकारको जिम्मेवारी रहेको छ जसका लागि भारत सरकारले करिब ८ अर्ब नेपाली रुपैंया अनुदान दिएको रेल तथा मेटूो विकास आयोजना जयनगर देखि बर्दीबास खण्डका प्रारम्भिक अधिकृत टेकराज बोहराले जानकारी दिएका छन् । ब्रोडगेज निर्माण भए पछि ७० देखि ८० कि.मि. घण्टाका दरले नेपाल रेल्वे दगुडनेछ । पछि एक्सप्रेस र लोकल टूेन सञ्चालन गर्न सकिने छ । 
हुलाकी राजमार्गमा लगानी अलपत्र   
१५ जनवरी २०१० मा नेपालका तर्फबाट उप(प्रधान तथा परराष्टूमन्त्री सुजाता कोइराला र भारतका तर्फबाट विदेशमन्त्री एस.एम.कृष्णा बीच नेपालको तराई क्षेत्रमा सडक विस्तार गर्नुका साथै मजबुती प्रदान गर्न हुलाकी राजमार्ग अन्तरगत विभिन्न सडक खण्डहरु निर्माण गरिदिने भनेर भारत सरकारले सम्झौता गरेको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउनुका साथै पुल निर्माण गरेर दिने र भारत सरकारले उक्त जग्गामा राजमार्ग , नाला तथा फूटपाथ समेत निर्माण गरिदिने गरिएको द्धिपक्षीय सम्झौता भएको दुई वर्ष भन्दा बढी समय बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन् । तर पछिल्लो समयमा नेपाल सरकारले धमाधम पूल निर्माण गर्नुका साथै जग्गा अधिग्रहणका लागि मुआब्जा वापतको रकम समेत जग्गा धनीलाई वितरण गर्न थालियो । हुलाकी राजमार्ग आयोजना योजना कार्यालय जनकपुर अन्तरगत भारत सरकारले धनुषा , महोत्तरी र सर्लाही जिल्लाका लागि दुइवटा प्याकेज अन्तरगत कुल २०१ किलोमिटरका आठ वटा सडक निर्माण गर्ने भएका छन । प्याकेज नम्बर ४ अन्तरगत सर्लाहीमा नयारोड (वरहथवा (मधुवनी सडक , नवलपुर देखि मलंगवा सम्म सडक , जलेश्वर गरी प्याकेज नम्बर ५ अन्तरगत धनुषामा विरेन्द्रबजार देखि यदुकोहा हुदैं महिनाथपुर सम्म , जनकपुरदेखि यदुकोहासम्म जनकपुर देखि जटही सम्म र जनकपुर देखि महोत्तरीको भिढठामोड सम्म सडक निर्माण हुने भएको छ । भारत सरकारले उक्त आठ वटै सडक निर्माणका लागि हायदरावादका विश्वा वि.भि.एस.आर.जे.भि नामक कम्पनीलाई कन्टूयाक्ट समेत दिइयो । सुरुमा उसले केही काम पनि ग¥यो । तर, पछि उक्त ठेक्केदार गायव भएपछि हुलाकी सडक निर्माणको कार्य हालसम्म अधुरो रहेको छ । 
नवलपुर देखि मलंगवा सम्म र जनकपुर देखि भिढठामोड सम्म दुई सडकका लाग नेपाल सरकारले मुआब्जा तिर्नु पर्ने छैन् । सडक निर्माणका लागि भारतीय कन्सल्टैन्टलाई २२ जुलाई २०११ ,७ अगस्त २०११ र २३ अगस्त २०११ मा हैण्ड ओभर गरिसकेको र ३० महिना भित्र सडक निर्माण गर्नु पर्ने हुन्छ । अब बांकी रहेको १७(१८ महिनामा जसरी पनि उक्त कम्पनीले सडक निर्माण सम्पन्न गरिसक्नु पर्ने छ ।  ७ मीटर भन्दा तलको पुलेसाहरु भारत सरकारले नै बनाउनु पर्ने हुन्छ ।सवै पुल निर्माण गर्न १ अर्ब रुपैंया र जग्गा अधिग्रहण वापत कुल ९५ करोड रुपैंया मांगिएको छ । सडक निर्माणमा भारत सरकारले पनि मोटामोटी २ अर्ब रुपैंया जति खर्च हुने अनुमान गरिएको छ । 
विद्यालय भवनमा लगानी
भारतीय सरकारले जनकपुरमा विद्यालय भवन निर्माणहरुमा समेत लगानी गरेको पाइन्छ । जनकपुर नर्सिङ क्याम्पसको भवन, छात्रावास भवन र प्रिन्सिपल क्वार्टरमा भारतीय सरकारले लगानी गरेको छ । त्यसैगरी अहिले धनुषाको क्षेत्र नं. ३ मा ६ वटा प्रावि भवन निर्माणका लागि रु. २ करोड ९१ लाख २९ हजार बजेट निकासा गरेका छन् । नगराईनको जटही, नगराईनको राघोपुर, घोडघासको गंगुली, घोडघासको गंगुली दक्षिणवारी टोल, फुलगामाको खडका, लगमाको पछवारीटोल स्थित प्राथमिक विद्यालय भवनको लागि २ भदौ २०६८ मै सम्झौता भएको थियो । जय ओम ÷यू.के.एन.जेभी माइती देवी ३३ काठमाण्डौले सम्झौता गरेको १५ महिनामा कार्य सम्पन्न गर्नु पर्ने थियो तर, हालसम्म ती विद्यालयहरुको २५ प्रतिशत निर्माण कार्य मात्र सम्पन्न भएको बताइन्छ ।
त्यसैगरी लक्ष्मीनिया जनता उच्च मावि कुम्हरौरा बगेवाको भवन निर्माणका लागि भारत सरकारले रु. २ करोड ६५ लाख २८ हजार अनुदान दिएको छ । दाप्चा सियास धर्मा एस÷सिद्धगडी काठमाण्डौले २३ अषाढ २०७० मा सम्झौता गरेको हो । १५ महिना भित्र उक्त कार्य सम्पन्न हुनुपर्नेमा म्याद सकिसके पनि ५५ प्रतिशत निर्माण कार्य मात्र सम्पन्न हुन सकेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाका इन्जिनियर कृष्ण देव झाको भनाई छ । त्यसैगरी सहरी विकासकै मार्फत विगतमा भारतीय सरकारको अनुदानमा जानकी मन्दिर परिसरमा सांस्कृतिक संग्रहालय, संकटमोचन देवशरण रामरत्ती मावि भवन निर्माणमा रु. ३÷३ करोड लगानी गरिएको छ ।
जिल्ला विकास समिति धनुषाद्वारा भारत सरकारले विपी मावि सपही, राप्रावि लक्ष्मीपुर, तपसी बाबा मावि टिल्ही सोनिगामा, के.एस.एच. मावि खजुरीको भवन निर्माणमा लगानी गरेको छ । त्यसैगरी राजेश्वर निधि मावि नगराइन, राधाकृष्ण पुस्तकालय मुजेलिया र खजुरी महुवा लगमाको ७ किलोमिटर पक्की सडक निर्माणका लागि लगानी गरेको छ ।
वृहत्तर मार्फत पनि लगानी
भारत सरकारले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका मार्फत गंगा सागर र धनुषसागरको सौन्दर्यीकरणका लागि रु.३ करोड ५८ लाख १८ हजार लगानी गरेको छ । जस अन्तरगत गंगा सागर र धनुषसागरको घाट निर्माण, बोडिङ, शौचालय निर्माण, हाइमास्ट लाईट जलान लगायतको कार्य रहेको छ । त्यसैगरी स्थानीय रंगभुमि मैदान बारह विघाको सौन्दर्यीकरणको लागि समेत ३ करोड ६४ लाख ८९ हजार रुपैयाँ लगानी गरेको छ । जस अन्तरगत बारह विघा मैदानको बाउण्डूी वाल निर्माण, गेट निर्माण, यज्ञशाला निर्माण, शौचालय निर्माण, भेहिकल पार्क, वृक्षारोपन, सडक निर्माण, हाइमास्ट लाइट जडान गर्ने लगायतका कार्यहरु छन् । २९ डिसेम्बर २०१० मा सम्झौता भएपनि सम्झौता मिति १५ महिना वितिसक्दा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
यसका अतिरिक्त भारत सरकारले जनकपुरमा विमान स्थल निर्माणमा समेत लगानी गरेको छ । तपसी बाबा मावि टिल्ही र मिट क्याम्पसलाई भारत सरकारले बस समेत उपलब्ध गराएको छ । सँगै केही क्लवलाई एम्बुलेन्स वितरण समेत गरेका छन् ।


२०७१ मंसिर ०७ गते आईतबार,

डाउरी इज अ ‘सोसल करप्सन’ -धर्मेन्द्र कुमार झा


धर्मेन्द्र कुमार झा
अंग्रेजी शव्द ‘डाउरी’ लाई ‘दहेज’ वा तिलक वा दाइजो भन्ने गरिन्छ । दाइजोको प्रचलन सत्तयूग, त्रेतायूग र द्वापरयूगमा पनि रहेको कुरा विभिन्न हिन्दु धर्म ग्रन्थहरुले प्रमाणित गरेको छन् । दहेजको परिभाषा सत्तयूग देखि कलयूग अर्थात वैज्ञानिक यूगसम्म उस्ता उस्तै रहेपनि ‘दहेजको’ तात्विक अर्थमा भिन्नता आएको छ । वर्तमान अवस्थामा दहेजको बुझाई व्यक्ति, परिवार, समुदाय, समाज, क्षेत्र, लिङ्ग, उमेर जात र धर्म अनुसार पनि फरक फरक देखिन्छन् । सारमा “विहेको उद्देश्यले विवाहको समयमा प्रायः केटी पक्षबाट केटा पक्षलाई दुल्ही सँगै जिन्सी वा नगद दिने प्रचलनलाई दहेज वा दाइजो वा तिलक वा डाउरी भनिन्छ । दहेज दिनुपर्ने कि नदिनु पर्ने । कम दिने कि वढी दिने । केटीको नाममा दिने कि केटाको परिवारलाई दिने । नगद दिने या जिन्सी दिने । दिएको सबै दहेजको रकम खर्च गराउने कि बचाउन लगाउने । यस्ता अनेकौं तर्क वितर्क बीच ‘दहेज’ समाजमा आफ्नो अस्तित्व कायम गरेको छ । आर्य समाजमा ‘दहेज’ एउटा बहसको ‘हट केक’ नै हुन । तर विड्म्बना जति बहस गरे पनि यो एउटा इन्डलेस बहसको रुप लिई सकेको छ । वास्तवमा यो हो के त ?
दहेजको सामाजिक विश्लेषण ः
प्राचिन समाजमा स्वेच्छाले दुल्हीलाई सुन, चाँदी, कपडा लत्ता, दासी, हाथी, घोडा, गाई आदि सहित विदा गरिने चलनलाई तत्काल समाजमा दहेज भनिन्थ्यो । जसलाई कौटिल्य अर्थशास्त्रले ‘स्त्रीधन’ भन्थ्यो । यस भनाईबाट पनि दहेजको अर्थ र दहेज माथिको अधिकारलाई पुष्टि गर्दछ । प्राचिन समाजको बुझाईका आधारमा ‘दहेज’ लाई विभिन्न विद्धानहरुले भिन्ना भिन्नै शव्द दिएका छन् । कसैले यसलाई ‘सिड मनी’ त कसैले ‘फैमिली इन्सेन्टिभ’ त कसैले ‘सब्सीक्वेन्ट मनी’ भनेका छन् । जसका साझा कुरा नयाँ विवाहित जोडीको लागि नयाँ किसिमले जीवन शुभारम्भ गर्न दिइएको अर्थात सहयोग हो भन्ने बुभिन्छ । शायद त्यसैले होला यूरोप अमेरिका जस्ता महादेशहरुमा पनि यसको प्रचलन रहेको पाइन्छ । यूरोपमा ५ औं शताव्दीमा होमरकै समय देखि डाउरीको चलन थियो । शेक्सपियरको नाटक ‘किंग लियर’ मा पनि डाउरीको सन्दर्भ देखाइएको छ । ती समाजहरुमा डाउरी कुनै समस्या बनेन, किनभने त्यो स्वेच्छामा रह्यो तर नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका जस्ता एसियन देशमा डाउरी एउटा सामाजिक भ्रष्टाचारको रुपमा सामाजिक विकृति बनेको छ । भारतको एक तथ्याङ्क अनुसार १००० पुरुषमा ९३३ महिलाको जनसंख्यिक अनुपात भइसकेको छ । यो पछि एउटा ठुलो अन्तराल बन्न पुग्छ । यस्तो हुनुमा ‘दहेज’ प्रमुख कारण रहेको बताइन्छ । त्यसैले होला, भारत सरकार सन् १९६१ मा दहेजमा प्रतिबन्ध ऐन पारित गर्यो र सेक्सन ३०४ ‘बी’ तथा ४९८ ‘ए’ मा दहेज विरुद्ध कानुनी व्यवस्था गर्यो । बैज्ञानिक युगको आरम्भ सँगै बैज्ञानिक स्रोत साधन र शिक्षाको पनि प्रवेश भयो । जसले मानवको सोंच विचार रहनसहन भेष भुषा, खानपिन समाजिक स्तर, धर्म आदिमा व्यापक परिवर्तन ल्यायो । तर जुन समाजमा सामानान्तर रुपमा साइन्स अफ टेक्नोलोजीसँग सौंच विचार र संस्कृतिमा परिवर्तन ल्याउन सकेन त्यो समाजमा ‘कल्यरल लेग’ हुन गयो । र त्यसले समाजमा अनेक समस्या उत्पन्न गरायो । पश्चिमी राष्टूहरु समय सापेक्ष परिवर्तन भए आज दुनियाँमा राज गरिरहेको छ बाँकी राष्टूहरु हामीलाई थाहै छ । भ्रष्टाचारले जसरी देशका अफिसियल कामहरुलाई प्रभावित गरी राष्टूलाई नै खोकला बनाई सक्यो । त्यसैगरी ‘दहेज’ ले सामाजिक संरचनालाई चुनौती दिइरहेको छ । दहेज आफैमा समस्या होइन यसलाई समस्या बनाएर सामाजिक क्रप्सनको रुप दिइएको छ । जसले गर्दा हजारौं परिवार बर्वाद भइरहेका छन् । जसका उदाहरण सम्बन्ध विच्छेदका घटना वा घरेलु हिंसा बढोत्तरी संख्यालाई लिन सकिन्छ ।
सर्बोच्च अदालतको तथ्याङ्कले वर्तमान नेपाली समाजको अनुहारलाई चित्रित गरेको छ । दिन प्रति दिन वढ्दै गएको छ । जवकी १० वटा घटनामा मुश्किलले एउटा घटना अदालत सम्म पुग्छ । यसले अनुमान गर्न सक्छौं हामी । यो सब दहेजकै कारण होइन । बेमेल विहेको कारण हो । बेमेल विहेको सबभन्दा प्रमुख कारण ‘दहेज’ चाहीं हो । दहेजको परम्परागत उद्देश्य नयाँ जोडीलाई स्वेच्छाले दिएको सहयोगी ‘सिड मनी’ हो । न की दहेजको लोभमा बेमेल विहे वा कर लगाएर लिने रकम ।
समाजमा भ्रष्टाचारको विरोध सबैले गर्छन तर भ्रष्टाचार नगरेको व्यक्ति विरलै भेट्छन् । मात्रै फरक हुन्छ भ्रष्टाचार गर्ने तरिका  र मात्रामा । कोही हसाएर लिन्छ र कोही झुक्याएर । कोही रुवाएर लिन्छ त कोही डराएर । कोही दिन आएकोबाट लिन्छ त कोही मागेर । तर नलिने शायदै भेट्छ । कोही सयमा लिन्छ त कोही हजारमा । कोही लाख लिन्छ त कोही करोडमा । तर इक्स्टूा मनि सबैलाई चाहिएको छ । अपवाद हरेक कुरामा हुन्छ । यसरी भ्रष्टाचार व्यक्ति वा कार्यालयमा होइन सामाजिक संरचनामा छिरिसकेको छ । जसलाई हटाउनु पर्दैन सबै जना आफु हट्नुपर्छ । सबैजना अरुलाई सुधार्न खोज्छन आफुलाई कसैले सुधार्न चाहँदैन । जबकी आवश्यक छ आफुलाई सुधार्ने । आर्थिक भ्रष्टाचार जस्तै दहेज पनि समाजको टाउको दुःखाई भएको छ । सबैले यसको विरोध गर्छ । तर दिन प्रति दिन यसको चर्चा वढ्दै गएको छ । घटेको छैन । किन ? यसको एक मात्र कारण हो । सबैले विरोध गरेका छन् तर दहेज लिन कसैले छोडेका छैनन । यदि सबैले विरोधनै गरेको छ भने कसले लिने गरेको छ त ? यो एउटा ठुलो प्रश्न उठ्छ । दहेज लाई समाजले प्रतिष्ठाको रुपमा लिएको छ । जसले गर्दा यो सामाजिक भ्रष्टाचारको रुपमा लिएको छ । दहेजलाई सुदुपयोगको साटो दुरुपयोग बढी भइरहेको पाइन्छ । दहेजलाई विकृतिबाट कसरी संस्कृति बनाउने यो एउटा समाजको अगाडीमा ठुलो चुनौति बनेर आएको छ ।
आफुले गरेको भ्रष्टाचार आफैलाई थाहा हुँदैन । कुनै भेकेन्सी भर्ने सोर्स कहाँबाट लाग्छ भनेर व्यागमा पैसा लिएर खोज्न थालिन्छ । कार्यालयमा आफु भन्दा अगाडी मान्छे लाइनमा हुन्छ तर हामी १००(५० दिएर चोर बाटो जान खोज्छौं । हरेक कुरामा हामीलाई हतार हुन्छ हामीमा धैर्यता र आत्मविश्वासको कमि भएको छ । जसले गर्दा हामी जहिले पनि सजिलो बाटो खोजिरहेका हुन्छौं । यदि कसैले घुस दिँदैन भने के सम्बन्धित कर्मचारी काम गर्दैन । पक्कै पनि गर्छ । हामी घुस दिएर विगारेका छौं । दश जना दिने भए पछि नब्बे जनाको काममा उसले आलटाल गर्छ नै । तर कोही दिएन भने उसले रित पुगेका कागज वा प्रस्तावमा काम गर्छ नै । त्यसैले कसैले घुस माग्दिैन बरु हामी दिन्छौं । नहुने काम पनि घुस दिएर गराउँछौं । त्यो व्यक्ति सबभन्दा ठुलो अपराधी हुन । किनभने उसले कुनै न कुनै निर्दोषलाई नोक्सान पुरयाएको हुन्छ । त्यही भएर कर्मचारी नेता लगायतका अधिकारिक व्यक्ति सहि काम भन्दा गलत काम गर्न रुचाउँछ ।
ठीक त्यसैगरी दहेज कोइ माग्न जाँदैन, व्यक्ति स्वयम दिन जान्छन । आफ्नो कुनै कमजोरीका कारण । बरावरीमा विहे गर्यो भने दवावमा दहेज दिनु पर्दैन । आफु खुशी छोरीलाई सहयोग हुने गरी उसले पाउनुपर्ने अशंको हाराहारीमा स्वेच्छाले दिँदा पनि वढी हुन्छ । राजा जनकले सीताको विहे दहेजको आधारमा होइन । सीताको सक्षमताको आधारमा रामले स्वयं रोजे पछि गरेका थिए । तर आफु खुशी दहेज संस्कृतिको रुपमा दिएका थिए । न की सामाजिक विकृतिको रुपमा समाजको प्रकृति कस्तो भएको छ भने छोरीको विहेको बेला दहेज बोझ हुने तर छोराको विहेको बेला दहेज नभई नहुने । केटीलाई पनि एउटा जीवन साथी भन्दा स्पोन्सर साथी प्रतिष्ठा साथी बाउन्सर साथी बरानिया साथी आदि के के साथीको रुपमा श्रीमान (हस्वैन्ड) चाहिन्छ । यसरी भौतिक आधारमा खोजिएको जीवन साथी कति दिन सम्म टिक्छ त ? त्यो टिकाउन दहेजले कुनै काम गर्दैन । सम्बन्ध पैसाले होइन सम्बन्धले नै बलियो हुन्छ । समग्रमा भन्दा ‘घुस’ र ‘दहेज’ संरचना भित्र नै समावेश भइसकेको छन् र समाजका व्यक्तिहरु नै सामाजिक भ्रष्टाचारी भएका छन् । यसको निराकरण सामाजिक तवरबाट नै गर्न सकिन्छ ।
निष्कर्ष
परम्परागत सोंचका आधारमा केटी भन्दा हरेक कुरामा सुप्रिम भएको केटा खोजेर उसलाई ऋण बोक्ने गरी दहेज दिनु भन्दा छोरीलाई शिक्षित र सक्षम बनाई उसँग अलि तल माथि भएर पनि वैचारिक रुपमा मिल्ने केटासँग विहे गराई स्वेच्छाले सक्ने जति आर्थिक सहयोग गरी दहेज लाई संस्कृतिमा मात्रै सिमित गरी दहेज माथि लागेको दाग विकृति वा कुरितीलाई हटाउनु पर्छ ।


२०७१ मंसिर ०७ गते आईतबार,

आध्यात्मिक मार्गको केन्द्र ‘जनकपुरधाम’

 एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सुष्टिको अस्तित्वमा रहेका जीवन र जगतको विकासको दर्शनका दुई मार्ग छन आध्यात्मिकमार्ग एवं भौतिकमार्ग । आाध्यात्मिकमार्गले सृष्टिकर्ताको शक्तिलाई प्रधानता दिन्छ र विकासको क्रमलाई अवतारको (योनि) शृङखलामा राख्दछ भने भौतिक मार्गले जीवमा निहित अन्तरशक्तिको क्रमिक विकासलाई प्रधानता दिई जीव र जगतको विकास भएको ठान्दछ । जनकपुरको जीवन र जगतको विकासको क्रम पनि यी मान्यताबाट अलग रहन सक्दैन । यी दुई मार्गको परिवर्तनका असर एकै पुस्ताले अनुभव गर्न सत्तैन । आध्यात्मिक आधार श्रुति, स्मृति, पुराण हुन्छन भने भौतिक आधार अवशेषहरुको क्रमिक अध्ययन हुन्छन । जनकपुरजस्ता दुवै दृष्टिले महत्व भएका प्राचिन सभ्यताका भण्डारको भौतिक विश्लेषण गर्न आजसम्म अन्वेषण, उत्खनन आदि कार्य हुन नसकेकोेले प्रौराणिक रुपमा पुस्ट्याई पु¥याउने स्थिति छैन भने आध्यात्मवादको पुस्टयाई गर्ने श्रुति, स्मृति, पुराण आदि शास्त्रीय ग्रन्थले पनि यथार्थताको क्रमिकता समेटन सकेको छैन । त्यो क्रमवद्धताका आभाव नै भावी पुस्ताको लागि सोचिएको अनुसन्धानात्मक पक्ष हुनेछ । 
ती शास्त्रीय ग्रन्थलाई आधार मानेर सार खिच्दा जनकपुर नगरी तथा मिथिला नगरी जगतजननी सीताको जन्मभूमि, याज्ञवल्क्य, मैत्रेयी जस्ता विद्धान(विदुषीहरुको ज्ञान भुमि, राजा निमिले घोर तपस्या गरेको तपोवन ठुलो जङ्गल भएकोले “वृहखारण्य” सुनखानी भएकाले “सुवर्ण का बन” अर्थात “काञ्चन बन” राजा निमिको देह मन्थन गरी बालक उत्पन्न गराएकोले “मिथिला” माता(पिता विना उत्पन्न बालक भएकोले “जनक” अचेतन (देह नभएको शरीर मथेर बालक उत्पन्न गराएको हुँदा “विदेह” आदि पर्यायी आवरणले युक्त भएको नगरी बुझिन्छ । परिदृश्यले जनकपुरको आदिम सभ्यता र विकासको स्पष्ट झलक दिन खोजिएको आभास हुन्छ । 
राम मन्दिर ।
त्रेता युगका राम, सीता, जनक याज्ञवल्वय,मैत्रेयीजस्ता पौराणिक व्यक्तित्वकोे राज्य राजधानी तथा नगरको युगान्तरमा खोजी गरिने क्रम शुरु भयो । पौराणिक कालको वर्णनको आधारमा कोशी, पश्चिम, गण्डकी पुर्व, गंगा उत्तर हिमालय दक्षिणको यो भागलाई मिथिला भुमि भनिएको छ । यसको राजधानीको हकमा कमला नदी पश्चिम, जलेश्वरनाथ महादेव पुर्व, गिरिजा भवानी मन्दिर उत्तर, धनुषाधाम दक्षिण, यति किल्ला उल्लेख भएको हुँदा यही परिधिभित्र प्राचिन जनकपुर रहेको विश्वास गरी  जनकपुरको खोजी गर्दै आएका चतुर्भुज गिरीले आफ्नो आध्यात्मिक साधनाद्धारा उत्खनन् गर्दा राम पञ्चायतनको मूर्ति भेटिएको र सो मुर्ति विश्वकर्माले स्वहस्तवाट निर्माण गर्दा राजा जनकलाई दिएको भन्ने जनश्रुति छ । सोही मुर्ति भेटिएको स्थानमा हालको राम मन्दिर अवस्थित छ । मुर्ति भेटिएका स्थानमा वरको रुख (कल्पवृक्ष) रहेको छ । त्यस्तै केही कालपछि सन्त सुरकिशोर दासले जानकीजीको जन्मभुमि पनि आध्यात्मिक शक्तिबाट पत्ता लगाउनु भएको र सोही स्थानमा जानकी मन्दिरको स्थापना भएपछि जनकपुरको पुनःउत्थान ९च्भबउउभबचबलअभ० शुरु भएको भन्ने मैथिल साहित्यहरुमा उल्लेख भएको छ । 
यसरी प्राप्त मुर्तिलाई सामान्य मन्दिर बनाई पुजा(आजा हुँदै जाँदा तत्कालीन मकवानी राजा माणिकसेन, इन्दुविधाता र हेमकर्ण सेनले राममन्दिर र जनक मन्दिरको नित्य नैमितिक पूजा(पर्व(जात्रा तथा सन्तहरुको भण्डारा (भोजन) का लागि जग्गा गुठीको रुपमा (कुश विरता) प्रदान गरेका र त्यसपछि तत्कालिन प्रधान सेनापति अमरसिंह थापा र राणा प्रधानमन्त्री जनकपुर आई राममन्दिर र जनक मन्दिर निर्माण गराएको भनी उल्लेख भएको अस्पष्ट शिला लेख राम मन्दिरमा सुरक्षित छ । त्यस्तै मकवानी सेनराजाको पालामा बनेको सानो जानकी मण्डपलाई गर्भगृहमा राखी हिन्दु(मुस्लिम स्थापनाकालको सम्मिश्रण गरेर वि.सं. १९६७ मा भारत, टीकमगढकी महरानी वृषभानु कुँवरले जानकी मन्दिर निर्माण गरी दिएकोले सो मन्दिरको भव्यताले जनकपुरको विशेष मूल्य बढाएको छ । मन्दिर बनाई दिने, पुजा(आजा तथा भण्डाराको लागि जग्गा दिने क्रम वढदै जाँदा राम जानकी, हनुमान, लक्ष्मण आदिका थुप्रै स(साना मन्दिर, सन्त महन्तको लागि कुटी तथा आश्रम र धेरै पोखरी निर्माण भएको तथा ती मन्दिर सञ्चालनार्थ दाताहरुले थुप्रै जग्गा प्रदान गरेका अभिलेखबाट देखिन्छ । पोखरीको हकमा भने कसले कहिले खनाएका हुन कुनै भरपर्दो अभिलेखबाट खुलेको छैन । धेरै पोखरीहरु गुठीसँग आवद्ध देखिन्छन र तिनीहरुको परिसरमा हुने कुटी, आश्रम तथा कुञ्जहरुले पोखरीको संरक्षण तथा सदुपयोग हुँदै आएको पाइएको छ । यी मन्दिरहरुका लागि प्राप्त जग्गाको अभिलेख अनुसार गुठी संस्थानको जनकपुर शाखा अन्तर्गत मात्र पनि २३ गुठी सञ्चालन भई झण्डै ६ हजार विगाहा जग्गा गुठीको रुपमा भएको साविक लगतमा देखिन आएको छ । मिथिला महात्म्य लगायतका साहित्य एवं कृतिहरुमा मिथिला क्षेत्रको महिमा वर्णन गर्दा ७२ तलाब, १५ कुप, १५ शिवालय, २४ देवीका प्रसिद्ध पीठ, ५ उपवन, २६ ऋषि आश्रम, ५ पर्वत र सुप्रसिद्ध १५ नदीहरु भएको क्षेत्रको रुपमा वर्णन गरिएको छ । यी प्राचिन सम्पदाहरु युगान्तकारी परिवर्तनमा केही लोप भएका, केही अद्यापि रहेका केही उत्खननबाट मात्र प्राप्त गर्न सकिने अवस्थामा रहेका छन । प्रमाणिक आधारमा राजा जनकको राजधानी किल्ला पनि यकीन हुन बाँकी नै देखिन्छ । 
धनुषाधाम मन्दिर ।
जगतजननी माता जानकीको जन्मभुमि, प्राचिन विदेह जनकको राजधानी, आधुनिक जनकपुर हिन्दु सभ्यताको उषाकालदेखि नै हिन्दु सामाजिक सिद्धान्त र दर्शनलाई समस्त आर्यावर्तमा व्यवस्थित र विकसित गर्न योगदान पु¥याउने राजर्षि जनक, याज्ञवल्क्य , गार्गी र मैत्रेयी आदिको कर्मभुमि र अध्यात्म चिन्तनको केन्द्र रहेको छ । प्राचिनकालदेखि नै ऋषि(मुनि र विशेष गरेर वैष्णव सन्तहरुको लागि आकर्षणका केन्द्र रहेको यस स्थानमा मठ(मन्दिर र कुटीहरुका एवम् सांस्कृतिक परम्पराले गर्दा नेपालका अन्य स्थानभन्दा वढी महत्वपुर्ण यो ठाउँ धार्मिक एवम सांस्कृतिक पर्यटकीय गन्तव्य स्थलको रुपमा प्रसिद्ध छ । उपनिषदको जटिल बौद्धिक सिद्धान्त, इस्लामी आक्रमण, स्वतन्त्र उपासना पद्धतिमा अवरोध बौद्ध र जैनका कठिन आत्मसंयमको पृष्ठभुमिमा भक्ति मार्ग विकसित भई वैष्णव शैव, शाक्त संप्रदायका अनुयायीहरुसँग सम्वन्धित अनेकौ उपसंप्रदायहरु उत्पन्न र विकसित भए । यी संप्रदायका अनुयायीहरुले आ(आफ्ना देवी देवतासँग सम्वन्धित साहित्यहरुको रचना गर्नुका साथै ती देवी देवताहरुसँग सम्वन्धित पवित्र स्थलहरुको महत्व बुझि भ्रमण अर्थात तीर्थाटन गर्ने व्यवस्था गरे ।  वैष्णव धर्ममा राम र कृष्ण सर्वाधिक लोकप्रिय भए । सर्वप्रथम वाल्मिकिले रामको महत्व र गरिमालाई केन्द्रबिन्दु बनाएर रामायणको रचना गरेका थिए । रामको देवत्व र परमपुरुषत्वको वर्णन गर्दै अध्यात्म रामायणको रचना भयो । स्वामी रामानन्दले राम र सीताको उपासना प्रारम्भ गरे । यो उपासना पद्धति एउटा क्रान्तिकारी धार्मिक परम्परा थियो । किनभने यस उपासना पद्धतिमा जात(पात र उच(नीचजस्ता कुनै व्यवस्था थिएनन । यसमा मात्र रामानन्दले राम सम्वन्धि समस्त स्थलहरुको भ्रमण गरे । उनलाई धर्म र समाज दुवैको चिन्ता थियो । स्वामी रामानन्द हतास, श्रीमान एवम् विखण्डित हिन्दु धर्मलाई मानवतावादी धार्मिक भावनाद्धारा एकीकृत गर्न थाहन्थे । उनी हिन्दुहरुमा बिरता, त्याग र कष्ट सहने प्रवृति विकास भएको देख्न चाहन्थ्ये । यसका लागि उनले भगवान रामलाई केन्द्रविन्दु बनाए । हाल तीनै रामानन्दको नाममा रामानन्दद्धार बनाई उनको शालिक माथिल्लो भागमा राखिएको छ । आदर्श चरित्र एवम सर्वंगुण सम्पन्न श्री रामको सम्पुर्ण व्यक्तित्वलाई उदघाटित गर्नमा जनभाषामा रामचरित मानसको रचना गरेर तुलसीदासले महत्वपुर्ण योगदान पु¥याएको प्रशंग पनि स्मरणयोग्य छ । 
माता जानकीको अभिभावभुमि मिथिला (जनकपुर) नगरीको चर्चा विभिन्न हिन्दु, जैन एवम बौद्ध वाङ्मयहरुमा विस्तृतरुपमा भएको पाइन्छ । पौराणिक कालका विदेह राजा सिरध्वज जनकको दरवार दार्शनिक चिन्तनको केन्द्रको रुपमा  प्रसिद्ध भएको र राम सीताको विवाहका उपलक्ष्यमा विभिन्न देवी, देवता, ऋषिमुनिहरुको आगमनद्धारा पवित्र भएको यो स्थल धार्मिक गृहस्थ तथा संतहरु समेतका लागि प्राचिनकालदेखि नै आकर्षक रहेको छ । सीता स्वयम्वरको समयमा रामद्धारा भाँचिएको शिव धनुषको एउटा टुक्रा धनुषाधाममा रहेको जनविश्वास छ । यस पौराणिक स्थल र यस वरिपरिका अन्य धार्मिक स्थलहरुलाई पुनः प्रकाशमा ल्याउने काम महात्मा चतुर्भुज गिरि र सुर किशोर दासले गरेका थिए । यी दुवै सन्तहरुलाई विर्ताको रुपमा जग्गा प्रदान गरेपछि यो स्थान महत्वपुर्ण वैष्णव हिन्दु तीर्थस्थलको रुपमा विकसित हुँदै गयो । तीर्थाटन गर्ने क्रममा वैष्णव सम्प्रदायका अनेकौ साधु सन्तहरुले यस पवित्र स्थलको भ्रमण  गरे । जसले गर्दा उनीहरुकै सत्प्रयासले यहाँ अनेकौ कुटी मठ(मन्दिर र पोखरीहरुको निर्माण भयो । माध्यमिकी र लघु परिक्रमा जस्तो महत्वपुर्ण धार्मिक परम्पराको विकास भयो । यस परिक्रमा पथभित्र राम र सीतासँग सम्वन्धित अनकौ मठमन्दिरहरुको स्थापना भयो । पछि यहाँ विभिन्न जातिहरुका कुटीहरु स्थापना भए जुन जातिय एकताको अनुपम उदाहरण हो । यी नै केही तथ्य, केही श्रुति र केही रहस्यलाई सके यथार्थ र परमार्जित रुपमा नसके यथास्थितिमा भावी पुस्तालाई हस्तान्तरण हुन सक्ने वातावरणको सृजना वर्तमानको कर्तव्य बनेर आएको छ । यथास्थितिमा राख्न मात्र पनि ठुलो चुनौति समाजले नै महसुस गरेको छ । सम्पदाको रुपमा रहेका पोखरी तथा पोखरीका डिलहरु अतिक्रमित एव लोप हुँदै गएका दाताले दिएका जग्गाहरु हिनामिना मात्र होइन अभिलेखको अभावमा यकिन सम्म पनि हुन नसकेका कुटी, आश्रम, कुप आदि लोप हुँदै गएका, मठ मन्दिरको सम्पति दुरुपयोग एवं पुजा(आजामा सनातनता हुन छाडेपछि यथास्थितिमा अरु गुम्ने खतराप्रति नागरिक समाजको चासो बढनु आबश्यक छ ।  



२०७१ मंसिर ०७ गते आईतबार,

वढ्दो सवारी दुर्घटना

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पुर्व पश्चिम राजमार्ग अन्तरगत धनुषाको नक्टाझिज ८ स्थित एउटा वसले ट्याक्टरलाई ठक्कर दिँदा नक्टाझिज ८ निवासी २३ वर्षिय गोपाल महत्तोको मृत्यु हुनुका साथै ११ जना दुर्घटनामा परि घाइते भएका थिए । जसमध्ये ९ जना सख्त घाइते भएका थिए । पुर्वबाट काठमाण्डौ जाँदै गरेको ना ४ ख ३४४ नम्बरको बसले विपरित दिशा तर्फबाट आइरहेको ज १ त ४५८३ नम्बरको ट्याक्टरलाई गत शनिवार अवेर साँझ ठक्कर दिँदा दुर्घटना भएको थियो । तिव्र गतिका कारण बस र ट्याक्टर पुर्णतः क्षतिग्रस्त भएको थियो ।
सवारी ज्यानमा फरक फरक सजाय
सवारी दुर्घटनाले धनुषामा विकराल समस्याको रुप लिँदैछ । पछिल्लो ३ वर्षमा  र ४ महिनामा मात्रै सवारी दुर्घटनामा परेर धनुषामा १ सय ४५ जनाले ज्यान गुमाउनु परेको छ भने ३ सय १५ जना गम्भीर घाइते भई अंगभंग समेत हुनु परेको छ । ३ सय ७ वटा सवारी दुर्घटना हुनुले पनि अब यो समस्या झनै भयावह हुँदै गएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६८÷०६९ मा ५२ जना, २०६९÷०७० मा ४५ जना, २०७०÷०७१ मा ३० जना र चालु आ.ब. २०७१÷०७२ को कार्तिक मसान्तसम्म मात्र १८ जना गरी १ सय ४५ जनाले सवारी दुर्घटनामा परि अकालमै ज्यान गुमाउनु परेको छ । यस आर्थिक वर्षमा मात्रै ४ वटा यात्रुबाहक बस नै पल्टियो ।
सवारी साधनको बढ्दो उच्च चाप, सडक विभागले राजमार्गमा सडक रेखा विभाजन नगर्नु, राती अँध्यारोमा सवारी चालक निदाउनु मादक पदार्थ सेवन गरी चालकद्वारा सवारी साधन चलाइनु, क्षमता भन्दा अधिक यात्रु सवारी साधनमा चढाउनु, सडकको अवस्था जीर्ण हुनु आदि सवारी दुर्घटनाका प्रमुख कारण रहेको जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक ज्ञान कुमार महत्तोको भनाई छ ।
२१ जेष्ठ २०७१ मा जनकपुर ७ स्थित माछा बजार सडक खण्डमा ना. २ ख. ११९५९ नं. को टूकले किच्दा भईमा लडेकी ३० वर्षिया रेणु देवी झाको मृत्यु भएको थियो । टूकको पछाडी चक्काले किची टाउको समेत कचाककुचुक भईसकेको अवस्थामा उनको मृत्यु भएको थियो । 
प्रहरीले टूकको चेकजाँच गर्दा चालक बसेको सीट मुनि औफिसर्स च्वाइस लेखिएको सिसाको बोतल १, रोयल स्टाग ७५० एम एल सिसाको बोतल १ बरामद भएको थियो । सर्लाही सिसौटका रामदयाल महरा चालक रहेको थियो । किरिया खर्च वापत रु. २५ हजार मृतकका पति डा.विवेकानन्द झालाई उपलब्ध गराए पनि क्षतिपुर्ति रकम उपलब्ध गराईएको छैन ।
१८ अषाढ २०७१ मा धनुषा जिल्ला अदालतले चालक महरालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो भने २४ कार्तिक २०७१ मा न्यायाधिश कृष्ण बहादुर थापाको इजलासले २ वर्षको कैद सजाय तथा मृतकका परिवारलाई क्षतिपुर्ति समेत उपलब्ध गराउन आदेश गरेको छ । अदालतले गरेको फैसलाबाट आफु संतुष्ट नरहेको पीडित डा.विवेकानन्द झाले द एक्सक्लुसिभ सामु गुनासो व्यक्त गरे । अभियोग दावी गरिए अनुसार दुई वर्ष देखि दश वर्ष सम्म कैद सजाय माग दावी गरिएको थियो । पहिलो चक्का हातमा र त्यसपछि दायाँ काटेर टाउकोमा टूकको चक्काले किचेको थियो । त्यसकारण अधिकत्तम सजाय नगरी न्यूनत्तम सजाय गर्नुले आफुलाई न्याय नमिलेको पीडित झाले बताए ।
२० असोज २०७१ मा कजरा रमौलका भोला यादव अन्दाजी १० बजेको समयमा आफ्नो घरबाट निस्की आफ्नो साइड भई किराना पसलमा सामान खरिद गर्न गइरहेको थियो सार्वजनिक सडकमा विपरित दिशा तर्फबाट धनुषाको हरिहर ७ बस्ने नरेन्द्र पासवानले ज १ त ६७०८ नम्बरको ट्याक्टरमा बालुवा र सिमेन्ट लोड गरी लापरवाही पुर्वक चलाउँदै गरेको अवस्थामा ट्याक्टरले भोलालाई किच्दा आन्द्रा समेत निस्किए पछि उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा लैजाँदै गर्दा यादवको मृत्यु भएको थियो ।
ट्याक्टर लिएर गईरहेको बेलामा पछाडी तर्फबाट अचानक गाई भैसी दौड्दै आउँदा भोला यादव अस्तिएर एक्कासी दौडेर बाटो काट्न खोज्दा ट्याक्टरको दायाँ पट्टीको चक्का लागेर मृत्यु भएको चालक पासवानले प्रहरी समक्ष बयान गरेका थिए । किचिए पछि गाउँलेले लखेटेर कुट्ने डरले आफु ट्याक्टर घटनास्थलमै छोडी   फरार भएको उनले बताए ।
धनुषा जिल्ला अदालतमा सवारी ज्यान मुद्दा चलाइए पछि सवारी धनीको तर्फबाट मृतक यादवका हकदार महन्थी यादवलाई किरिया खर्च र क्षतिपुर्ति वापत जिल्ला प्रशासन कार्यालय धनुषाको मार्फत रु. ५ लाख प्रदान गरियो । 
१६ कार्तिक २०७१ मा धनुषा जिल्ला अदालतका न्यायाधिश भरत लम्सालको इजलासले पासवानलाई १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकेको छ । उनी जरिवाना र कैद सजाय काटी अहिले रिहा भइसकेका छन् । 
१४ जेष्ठ २०७१ मा महोत्तरीको गौरीवाण २ बस्ने सोम बहादुर विकको सवारी दुर्घटनामा परि मृत्यु भयो । चियापसलबाट चिया खाई निजले काम गरिरहेको स्थान निर्मानाधिन स्लाइन पानी फैक्टूी तर्फ आफ्नो साइडमा गइरहेको अवस्थामा ज ५ प ३२२० नम्बरको मोटरसाइकलले अचानक ठक्कर दिँदा विकको घटनास्थलमै मृत्यु भएको थियो । सुनसरीबाट घर फर्कि आउने क्रममा विपरित दिशाबाट एकिन नम्बर नाम थाहा नखुलेको गाडीको लाइट आँखामा पर्दा आँखा अचानक बन्द भई देखिएन  र सोही समयमा अचानक विक आएपछि मोटरसाइकल अनियन्त्रित भई ठक्कर लागि विकको मृत्यु भएको र आफु पनि घाइते भई बेहोस भएको प्रहरी समक्ष महोत्तरी सिंगयाही १ का मोटरसाइकल चालकले बयान दिए ।
१५ जेष्ठ २०७१ मा मृतकका भाई रामबहादुर विकले किरिया खर्च वापत रु. २५ हजार, २६  जेष्ठमा क्षतिपुर्ति वापत मोटरसाइकल धनीको तर्फबाट रु. ४ लाख ७५ हजार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत मृतककी श्रीमति चन्द्रकला कामीलाई दिइएको थियो । धनुषामा जिल्ला अदालतको न्यायाधिश भरत लम्सालको इजलासले ५ दिन कैद र ५ सय जरिवाना आदेश गरेको थियो । उक्त सजाय काटेर अहिले चौधरी रिहा भइसकेको छन् । यसरी हेर्दा कसैलाई वढी र कसैलाई कम सजाय किन भएको हो भन्ने सवालमा धनुषा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद श्रेष्ठ भन्छन,“ सवारी तथा यातायात व्यवस्था ऐन अनुसार लापरवाही पुर्वक जानी जानी सवारी चालकले दुर्घटना गराएको छ र कसैको मृत्यु भएको छ भने जन्मकैद, मनसाय जानी जानी नभएपनि लापरवाही पुर्वक चलाइएको छ भने दुई देखि दश वर्षसम्म कैद र यदि लापरवाही पनि छैन र मनसाय पनि छैन र पनि कसैको मृत्यु भएको छ भने एक महिनासम्म कैद र २ हजार सम्मको जरिवाना गरिने प्रावधान छ ।” अदालतमा आउने मुद्दाहरुमा अभियोग दावी, अपराधको प्रकृति, चालकको उमेर, नियत लगायतका कुराहरुलाई आधार बनाई न्यायाधिशहरुले स्वविवेकको आधारमा दण्ड र सजाय दिने गरिएको श्रेष्तेदार श्रेष्ठले बताए ।
हुन त जिल्ला प्रहरी कार्यालय धनुषामा सवारी ज्यान मुद्दा अन्तरगत आर्थिक बर्ष २०६८ मा ५५, २०६९ मा ४७, २०७० मा ४८ र चालु आर्थिक वर्षको कार्तिक सम्म १६ थान मुद्दा दर्ता भएको छ । त्यसैगरी अंगभंगमा विगत ३ वर्षमा ७ वटा मुद्दा मात्र दर्ता भएको छ । सवारी ज्यान मुद्दाको अनुसन्धान प्रहरीले राम्रो ढंगले सम्पन्न गर्दै गर्दैनन्, सवारी अंगभंगको मुद्दा त प्रहरीले बाटोमै रफ्फा दफ्फा गरिदिने प्रवृति  रहेको वताउँछन, अधिवक्ता विमल कुमार मिश्र । अधिवक्ता मिश्र भन्छन,“ हुन त धनुषामा कुनै पनि मुद्दामा प्रहरीले विज्ञान सम्मत र बस्तु परक अनुसन्धान गरेको पाइदैन । सवारी ज्यान मुद्दामा सवारी धनीबाट प्रलोभनमा पर्ने गुन्जाइस हुनाले पनि सवारी ज्यान मुद्दाको दुर्घटना जाँच प्रतिवेदन तथा अनुसन्धान खुकुलो हुने गरेको छ । यसका अतिरिक्त सवारी अंगभंगको मुद्दा नै प्रायः दर्ता हुँदैन । किनभने ती मुद्दा बाटो मै प्रहरीले मिलापत्र गराई रफादफा गरिदिने गरेका छन् ।” हुन त सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले जे जस्तो प्रयास गरेपनि दुर्घटना न्यूनिकरण हुन सकेको छैन ।

२०७१ मंसिर ०७ गते आईतबार

धुमधामका साथ विवाह पञ्चमी मनाईदै

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजभोलि कर्णप्रिय गितहरु सुन्न पाइन्छ । विवाह, स्वागत र मङ्गल गान सहितका गितहरु अहिले घर घरमा गुन्जयमान छन् । कारण के हो भने रामजानकी विवाह महोत्सवले यति बेला मिथिला क्षेत्रको जनकपुरधाम गुन्जयमान भएको छ ।
  मिथिला संस्कृतिको प्रमुख पर्व मानिने यो उत्सवमा सहभागी हुन प्रत्येक वर्ष नेपाल र भारतका हजारौ भक्तजन र तीर्थालुहरु जनकपुरधाम आउने गर्दछन् । राजा जनकद्वारा धनुष भाँच्ने प्रस्ताव राख्नु, धनुष भाँच्नेसंग सीताको विबाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा सितासंग स्वमवयर गर्नु आदि स्मृतिमा सिताराम विबाह महोत्सब मनाईने चलन परापूर्वकाल देखि नै जनकपुरधाममा चलिआएको छ । सीतालाई छोरी र बहिनीका रुपमा मान्ने मिथिलाबासी उत्सवमा अनिवार्य सहभागी हुन्छन् । विवाहपञ्चमीमा देबीदेउताको उपस्थिति हुने विश्वासका साथ उत्सवमा  उपस्थित भएकाहरु जन्तीको आगमनदेखि बिहे नटुंगिएसम्म नै सामेल हुन्छन् । महोत्सवमा मिथिला संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयम्बर आदि गरिने चलन रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताएका छन्  । 
विवाहपञ्चमी महोत्सव फुलबारी प्रसंगबाट सुरु भई, स्वयमवरसम्मको आयोजनापछि देवी बिवाह महोत्सवका रुपमा रुपान्तरण  हुंँदैआएको छ । विवाह महोत्सवका अवसरमा जानकी मन्दिर , राम मन्दिर ,अग्नीकुण्ड, बिहारकुण्ड लगायतका दर्जनौ मठ मन्दिरहरुबाट निस्कने डोला शोभायात्रामा देशका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय गाउँबाट आएका श्रद्धालूहरु पनि सहभागी हुने गर्छन् । अयोध्या नरेश दशरथ पुत्र भगवान राम र मिथिलाका राजा जनक पुत्रि जानकीको स्वयमवरको अबसरमा जनकपुरको ऐतिहासिक रगंभुमि बाह्रबिघा मैदानमा प्रत्येक बर्ष लाखौं श्रद्धालुहरु सहभागि हुदै आएको छ । 
जनकपुरधाममा प्राचीन काल देखि नै रामजानकी बिवाह पञ्चमी, राम नवमी, जानकी नवमी, मध्यमा मिथिला परिक्रमा, झुलनोत्सब लगायतका उत्सबहरु भइरहेका छन् । यसमा स्वस्फूर्त धार्मिक पर्यटकहरुको लर्को पनि लाग्ने गरेको छ । सरकारले यस्ता धार्मिक पर्वलाई पर्यटन अवसरमा परिणत गर्न कुनै रुचि नदेखाउनु दुःखदायी रहेको राम मन्दिरका महन्थ राम गिरीको भनाई छ । पर्यटकको स्वागत, सत्कार र पर्यटन प्रवद्र्धनकै लागि भनेर खोलिएका संस्थाहरु पनि मौन बसेको पाइन्छ  । तिर्थाटनमा आउने श्रद्धालु भक्तजनहरुका लागि सरसफाई, विजुली, पानी, पण्डाल र बासस्थानको समस्या नै हुने गरेको छ ।   
यसवर्ष पनि भारतको अयोध्याबाट श्रीराम विवाह जयन्ती धेरै धुमधामका साथ जनकपुरधामको लागि प्रस्थान गरिसकेको छ । १ मंसिरबाट निस्केको जयन्ती मंसिर ९ गते जनकपुर आईपुग्ने छन् । मंगलबार तिलक उत्सव, बुधबार मटकोर, विहिबार विवाह महोत्सव, शुक्रबार राम कलेवा हुँदै शनिबार उक्त ज्यन्तीहरु भारत फर्किने छन् ।

२०७१ मंसिर ०७ गते आईतबार

जनकपुर दोस्रो पटक ‘च्याम्पियन’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
क्षेत्र नं ७ जनकपुरले यो बर्षको वाइवाइ यू–१९ महिला क्रिकेटको उपाधि जितेर जनकपुरलाई पुनः गौरवान्वित गर्न सफल भएको छ । जनकपुरले डिफेन्डिङ च्याम्पियन क्षेत्र नं १ बिराटनगरलाई २७ रनले पराजित गर्दै तीन बर्षमा दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।
शुक्रबार भएको फाइनल खेलमा त्रिबि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ममता चौधरीको ५५ रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाउँदै १३१ रन बनायो । उनले ५० बलमा ८ चौका प्रहार गरिन । त्यस्तै अनुराधा चौधरीले ५५ बलमा ४ चौकाको मद्दतले ३३ तथा सरस्वती चौधरीले १३ बलमा ३ चौकाको मद्दतले आक्रामक पारी खेल्दै अबिजित २३ रन बनाइन् ।
जनकपुरको सुरुवातमै दुई बलमा सवनम राईको बलमा शान्ति चौधरी खाता पनि खोल्न नपाई एलबिडवलुको शिकार भएपछि जनकपुरका लागि दुर्भाग्यपुर्ण रह्यो । शुन्य रनको स्कोरमा जनकपुरले १ विकेट गुमाईसकेको थियो । तर, अनुराधा चौधरीले पारीलाई सम्हाल्दै ममता चौधरीसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेपछि जनकपुरको प्रदर्शन सम्हलेको थियो । त्यसपछि अनुराधा चौधरी पनि सन्झना बुढाथोकीको बलमा रोमा थापाले अनुराधालाई क्याच आउट गरिन । त्यसपछि कप्तान सरस्वती चौधरी र ममताका बीच पनि १९ रनको मात्र साझेदारी हुन सक्यो । सवनम राईकै बलमा ममता ५५ रनको निजी स्कोरमा सन्झनालाई क्याच थमाएर पवेलियन फर्केकी थिइन । अन्तिम ओभरमा खेल्न आएकी रितु भण्डारीले खेल्ने मौका पनि पाएनन् ।
बिराटनगरका लागि सबनम राईले २ विकेट लिइन् । १३२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १०४ रन मात्र बनायो । बिराटनगरका लागि रोमा थापाले अबिजित २४ तथा संगिता राईले ३२ रन बनाए पनि हार टार्न सकेनन् । संगिता राइले ४० बलको सामना गर्दै २ चौकाका मद्दतले ३२ रन बनाएकी थिइन भने रोमाले ३० बलमा एक मात्र चौका प्रहार गरि २४ रन बनाई आउट भएकी थिइन । यसका अतिरिक्त विराटनगरकी काजल श्रेष्ठले ११ बलमा ४ रन, रोशना राईले ६ बलमा शुन्य रन, सन्झना बुढाथोकीले ८ बलमा ५ रन, गिता प्रसाईले ११ बलमा ५ रन बनाई आउट भएकी थिइन । त्यसैगरी सवनम राई ९ बलमा ७ रन र सोनुकला खेतीलाई ४ बलमा २ रनको स्कोरमा क्रमशः सृजना र रितुले रन आउट गरेकी थिइन । त्यसैगरी रोमा थापा २४ रन र सुजाता क्षेत्री ३ रन बनाई नट आउट रहेकी थिइन ।
जनकपुरकी आरति चौधरीले २ विकेट, सरस्वती चौधरी, अनुराधा चौधरी र ममता चौधरीले क्रमशः १÷१ विकेट हात पारिन् । सरस्वतीले ४ ओभरमा १ मेडेन सहित ८ रन दिई १ विकेट लिएकी थिइन् । अनुराधा चौधरीले ४ ओभरमा १७ रन खर्चिएर १ विकेट, ममता चौधरीले ४ ओभरमा २२ रन दिएर १ विकेट, आरती चौधरीले ४ ओभरमा १८ रन दिएर २ विकेट लिएकी थिइन् ।  त्यसैगरी शान्ति चौधरीले दुई ओभरमा १२ रन र गिता कार्कीले २ ओभरमा २७ रन खर्चिए पनि कुनै पनि सफलता हात पार्न सकिनन् ।
जनकपुरको आक्रामक बलिङका कारण विराटनगरको कुनै पनि प्लेयर क्रिजमा टिक्नै सकेनन् । विराटनगरको दुई रनको स्कोरमा पहिलो विकेट, १० रनको स्कोरमा दोस्रो विकेट, २० रनको स्कोरमा तेस्रो विकेट, ४२ रनको स्कोरमा चौथो विकेट, ६८ रनको स्कोरमा पाँचौ विकेट, ८८ रनको स्कोरमा छठौ विकेट, ९२ रनको स्कोरमा सातौ विकेटको पतन भएको थियो । यसरी जनकपुरले निरन्तर अन्तरालमा विकेट लिएका कारण विराटनगर लक्ष्य सामु पुग्नै सकेनन् ।
 उपाधिसँगै पुरस्कार वापत जनकपुरले २५ हजार र बिराटनगरले १५ हजार रुपैयाँ पाए ।
जकपुरकी ममता चौधरी प्लेअर अफ दि टुर्नामेन्ट भइन् । उनले १० हजार नगद पुरस्कार समेत पाइन् । त्यसैगरी जनकपुरकी ममता चौधरी प्लेयर अफ दि फाइनल घोषित भईन् । उनले नगद पाँच हजार पुरस्कार पाइन् । त्यसैगरी पाँच हजार नगद पुरस्कार सहित बैतडीकी विन्दु रावल व्याट्स ओमेन अफ दि टुर्नामेन्ट र नेपालगञ्जकी रेखा विसी रु. ५ हजार नगद पुरस्कार सहित बेस्ट बलर अफ दि टुर्नामेन्ट चुनिइन् ।

२०७१ मंसिर ०७ गते आईतबार