Sunday, January 26, 2014

अस्ताए ‘कमाण्डर निरगुनजी’


नेपालको १ सय ४ वर्षको जहानियाँ राणा शासन विरुद्ध २००७ सालको क्रान्तिका तत्कालिन धनुषा महोत्तरी कमाण्डर ‘निरगुन यादव’ को ९८ वर्षको उमेरमा गत ६ माघमा निधन भएको छ । तत्कालिन राजा महेन्द्रको ‘शाही कु’ का विरुद्ध ०१७ सालको जनक्रान्तिमा समेत अग्र स्थानमा भुमिका निर्वाह गर्नुभएका नेपाली कांग्रेसका संस्थापक नेता निरगुनजीको निधनले देशले एउटा प्रजातन्त्र सेनानी गुमाएको छ । दुवै क्रान्तिमा उनले कसरी लडाई लडे ? निरगुनजीले आफ्नै हातले लेख्नुभएको उक्त कथा पहिलो पटक यहाँ जस्ताको तस्तै प्रस्तुत छ ।
मेरो जन्म विक्रम सम्बत १९७२ सालमा धनुषाको नरहिया मनिपट्टी गाउँमा भएको हो । मेरो बुवाको नाउँ लगनी यादव र आमाको नाउँ सम्ती यादव हो । मेरो तीन जना छोराहरु र एक छोरी छन् । जेठो छोराको नाउँ हिमालय यादव, माइलो छोराको नाउँ साहित्यानन्द यादव र छोरीको नाउँ विणा यादव हुन् । तेस्रो कान्छो छोराको नाउँ क्रान्ति यादव हो । क्रान्ति नाम किन परेको हो भने २०१७ सालको क्रान्तिको बेलामा उसको जन्म हिन्दुस्तानमा भयो । त्यहाँ सुवर्ण शम्सेर जीले क्रान्ति नाम राखि दिनु भयो ।
राम चन्द्र अधिकारी, मनमोहन अधिकारी र नरोत्तम अधिकारीको बुवा हुनुहुन्थ्यो । राम चन्द्र अधिकारी सरकारी काठमहलको सुब्बा भएको हुनाले सरकारी कामको लागि अर्थात रेलको पटरी निर्माण र मकान निर्माणका लागि जंगलका सखुवा कटाउने जिम्मा थियो । उहाँले मेरा बुवालाई चौधरीको पद दिएर लकडी कटवाउने कामको सम्पुर्ण जिम्मा दिनु भयो । सुब्बा साहव आफ्नो परिवारसाथ सधै मेरा बुवाको घर आउनुहुन्थ्यो । मेरा बुवा  र सुब्बा साहवको राम्रो मित्रता थियो । त्यसैकारण सुब्बा साहव म संग राम्रो कुरा गर्नूृ हुन्थ्यो । मेरा बुवा जयनगरमा काठको ओहरदोहर गराउने काम गर्नुहुन्थ्यो । म पनि आफ्नो बुवासँग ओहरदोहर गर्थे ।
नेपाल प्रजातन्त्र सेनानी निरगुन यादवको शवलाई पार्टीको झण्डा ओढाउँदै नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव ।
 त्यही समयमा राजनीतिले गर्दा भागेर आएका रुद्र प्रसाद गिरी र सरोज प्रसाद कोइराला जयनगरमा बस्नुभएको थियो । उहाँहरुसँग मेरो बराबर राजनीतिक कुराहरु हुनथाल्यो । सरोज कोइरालाको हातबाट २००४ सालमा राष्टिूय कांग्रेसको सदस्यता लिएँ । त्यसपछि मैले पार्टी संचालनका लागि चन्दा संकलन गरी रुद्र प्रसाद गिरीलाई सहयोग गर्ने काम गर्थे । केही महिना पछि सरोज प्रसाद कोइरालाजी जेल पर्नु भयो । रुद्र प्रसाद गिरी बराबर मसंग पत्र व्यवहार गर्नूहुन्थ्यो । एक समयमा रुद्र प्रसाद गिरीको पत्र आयो, तुरुन्त तपाई रुपैयाँ लिएर जयनगर आउनुस । मिटिङ हुन्छ । म पत्र पाउनासाथ जयनगर जाने क्रममा खजुरी स्टेशन पुगें । त्यहाँ गाडीमा धेरै पुलिसहरु थिए ।
निरगुन यादवले डायरीमा लेखेको आफ्नो संक्षिप्त इतिहास ।
म रेल गाडीको डिब्बामा गएर बसें । म वसेको ठाउँमा पुलिस पटक पटक आउन जान लागेकोले शंका लागिसकेको थियो कि मलाई पुलिसले समात्ने छ । हिम्मतले सहास गरेर बसीरहें । खजुरी स्टेशनमा गाडी पुग्दा पुलिस इन्सपेक्टर बद्री प्रसादले मलाई रेलबाट ओरालेर स्टेशनमा लग्यो । कहाँ जान लागेको भनेर उनले म सँग सोधे ? मैले भने जयनगर । म तपाईको खोज तलासी गर्छु भनेर भन्यो । मैले भने गर्नुस् । खोज तलासी गर्दा रुद्र प्रसाद गिरीले मलाई पठाएको चिठ्ठी, २ सय रुपैयाँ मसँग फेला प¥यो । चिठ्ठीले गर्दा मेरो दिमाग वडा गम्भीर भयो । म अच्चभित भएँ । मलाई के विश्वास थियो भने मैले त्यो चिठ्ठी घरमै छोडेर आएको छु । मेरो साथमा त्यो चिठ्ठी छैन् । पुलिस इन्सपेक्टरले त्यो चिठ्ठी हेर्दा मलाई धेरै नराम्रो सँग व्यवहार ग¥यो । अब यो चिठ्ठीले तपाईलाई त जलेश्वर जेल पुगाउँछ भनेर उनले भने । मैले भने ठिक छ पठाइदिनुस् ।
जलेश्वर जेलबाट फरार
मलाई जलेश्वर जेल पु¥यायो । त्यहाँ वडा हाकिम राम शम्शेर रहेछ । मलाई उहाँको जिम्मा लगाईदियो । चिठ्ठी हेरेर मलाई तुरुन्त जलेश्वर जेल पठाइदियो । जेलमा तलमाथि हात खुट्टामा नेल (जंजिर) हालेर मलाई जलेश्वर जेलमा पठाइदियो । जेलमा मलाई सोरा भएको ठाउँमा राखिदियो । त्यसकारण केही दिनमै मेरो जिउमा फफोला निस्कयो । त्यो हेरेर कैदीहरुपनि आश्चर्यचकित थिए । उनीहरुलाई पनि के थाहा थियो भने म राजनीतिको कारण जेलमा आएको हो । कतिपय कैदीले मलाई पहिलेदेखि पनि चिनेका थिए । त्यसैले जेलका कैदीहरुले मसँग धेरै राम्रो व्यवहार ग¥यो । जेलमा तुल्सीको बोट रोपेर पूजा पाठ पनि गर्थे । २००४ सालको जेलपछि २००६ सालमा म जेलबाट भाग्छु, जेलमा बसेर केही फाइदा छैन् । बाहिर गएर प्रजातन्त्र विरोधी दुश्मनहरुलाई परास्त पार्छु भन्ने अठोट लिएर भाग्ने मन बनाएँ । अब भाग्ने कसरी ? धेरै बेला सम्म सोचें । होलीको दिन थियो । जेलका सबै कैदीलाई रुपैयाँ खर्च गरेर रक्सी र मासुको व्यवस्था गरिदिएको थिएँ । किन भने मलाई भाग्नु थियो । मस्तसँग सबै खाएर सुते । त्यही राति १२ बजे डिएन परियारको सहयोगमा हामी दुवै जना १८ फिट उचाई भएको जेलको पर्खालबाट धोतीको डोरी फन्याएर जेलबाट फरार भयौं । हामी भागेको खबर पाएर जेलका पहरेदारहरुले आकाशमा बन्दुकको गोली छोड्न थाल्यो । ती बेला हामीहरु खेतै खेत लुकदै सडकको छेउमा सुरसंडसम्म पुग्यौं ।
आफ्नो परिवारका साथ महान योद्धा निरगुन यादव ।
बन्दुकको राजनीतिको सुरुवात
सितामढीमा हथकडी कटाएर हामी दरभंगा पुग्यौं । त्यहाँ गएपछि हामी आफ्नो साथी रुद्र प्रसाद गिरीसँग भेट ग¥यौं । हामी उनको घरमा दुई दिन वास बस्यौं । पछि हामी विशेश्वर प्रसाद कोइरालासँग भेट गर्न जोगबन्नी पुग्यौं । त्यहाँ मात्रिका बाबु हुनुहुन्थ्यो । तर, विशेश्वर प्रसाद कोइरालाज्यू भेट हुनुभएन । बाहिर जानुभएको थियो । मात्रिका बाबुले भन्नुभयो यहीं बस्नुस, दुईचार दिन पछि उहाँ आउनुहुन्छ । दुई चार दिन पछि पनि उहाँ नआएपछि मात्रिका बाबुको फोन आयो । खबर आयो कि हाम्रो पार्टी राष्टिूय कांग्रेस र डेमोक्रेटिक पार्टी महेन्द्र बीर विक्रम साहको कलकतामा मिटिङ हुन्छ । त्यसैले आफ्नो आफ्नो पार्टीको प्रतिनिधि लाई लिएर कलकता पुग्नुस भनेर फोन मार्फत उहाँले भन्नुभयो । त्यसपछि म र गिरीजी जयनगर पुगें । तर, जयनगरमा हामीलाई कुनै साथी फेला परेनन् । निराश भएर म कलकतामा पुगें । कलकतामा जम्मा साथीहरुमध्ये ५०÷६० जना साथीहरु मात्र रहेछन । महाविर शमशेरको घरमा मिटिङ भयो । साथीहरुको व्यवस्था सुवर्ण शमशेरज्यूले गर्नुभएको थियो । तिन चार दिनसम्म मिटिङ चल्यो । तिनमा निर्णय भयो कि दुबै पार्टी हटाएर नेपाली कांग्रेस पार्टीको नाउँ राख्नु प¥यो । उक्त निर्णय सर्वसम्मतले पारित भयो । उक्त पार्टीको सभापति मात्रिका प्रसाद कोइराला र डेमोके्रटिक पार्टीको अघिकै झण्डा चार तारा राख्ने निर्णय भयो । त्यहाँबाट आ(आफ्नो इलाकामा फर्कि आदेश अनुसार काम गर्ने निर्देशन भयो । मसँग विपी कोइरालाले कुरा गर्नूभयो । मैले भने अब म झण्डा लिएर काम गर्दिनँ । बन्दुक लिएर काम गर्छु ।
भारतीय समाजवादी नेता लोहियासँगको सम्पर्क
कलकताबाट फर्केर जयनगर आएँ । बन्दुक अनुसार संगठन गर्न थाले । १५ दिन पछि विपी कोइराला जयनगर पुग्नुभयो । उहाँले म सँग भेटेर सोध्नुभयो । तिम्रो संगठन कस्तो छ मलाई देखाऊ । मैले भने महिनाथपुर जानुपर्छ । उहाँले भन्नुभयो म जान्छु । मैले आफ्नो घरबाट हात्ती मगाएँ । विपी कोइरालालाई हात्तीमा चढाएर म र रुद्र प्रसाद गिरी रातोरात महिनाथपुर पुगें । पंडित गुनेश्वर झाको घरमा बास बस्यौं । त्यहाँ मैले आफ्नो साथीहरुलाई बोलाएर विपी कोइराला समक्ष लडाईको कुरा गरें । साथीहरुको कुरा सुनेर विपी कोइराला धेरै खुसी हुनुभयो । विपी कोइरालाले भन्नुभयो निरगुन जीले जस्तो भन्नु हुन्छ त्यसतै गर्नु । त्यहाँबाट विपीले मलाई लिएर दिल्ली पुग्नुभयो । भारतीय समाजवादी नेता डा.राममनोहर लोहियासँग सम्पर्क गराउनु भयो । विपीले लोहियासँग मेरा बारेमा लडाई लडने तरिका, बम बनाउने तरिका र गोली गठ्ठा चलाउने सम्बन्धमा प्रशिक्षणको लागि भन्नु भयो ।
दोस्रो संविधानसभाको चुनाव अघि नेपाली कांग्रेसका नेता सशांक कोइराला, रामकृष्ण यादव, सन्तोष यादव निरगुन यादवको परिवारसँग फोटो खिचाउँदै ।
बम्बईमा गोरिल्ला यूद्धको तालिम
 त्यसपछि लोहिया र विपी सँगै म पटना पुगें । पटनामा उहाँहरुले मलाई सोसलिस्ट पार्टीका नेता बसावन सिंहको जिम्मा लगाइदिनु भयो । लोहिया जीले वसावन सिंहलाई भन्नुभयो( निरगुन जीलाई गोरिल्ला यूद्ध गर्ने तरिका, बन्दुक चलाउने र बम बनाउने तरिका सिकाउन के के गर्नुपर्छ गर्नुस् । बसावन सिंहले मलाई बम्वई टेूनिङ हलमा लग्नुभयो । उहाँले टूेनिङ दिने साथीहरुलाई मेरो बारेमा भन्नुभयो कि उहाँलाई राम्ररी तालिम दिएर म कहाँ फर्काइ दिनुहोला । मैले चार महिना सम्म त्यहाँ तालिम लिएर निपुण भएँ । तालिम सकेपछि म फर्केर पटना आएँ । बसावन सिंहलाई आफ्नो टेूनिङका कुरा सुनाए र देखाएपनि । उहाँ धेरै खुशी हुनुभयो । मलाई भन्नु भयो अब जाउ, विपी कोइरालासँग भेटेर जे गर्नुपर्छ गर । म जयनगर आएँ । पार्टीको आदेशको प्रतिक्षामा थिएँ । जयनगरबाट दरभंगा र पटना साथीहरुसँग भेटन बारम्बार जान्थे ।
सशस्त्र जनक्रान्ति गर्ने घोषणा
२००७ साल कार्तिक २६ गते पार्टीले देशैभरी प्रजातन्त्र स्थापनाका लागि सशस्त्र जनक्रान्ति गर्ने घोषणा ग¥यो । विपी कोइरालाले पटनामा मलाई भन्नुभयो पार्टीले निर्णय गरेको छ । तपाई बोर्डर किनारमा जे जे गर्नुपर्छ गर्नुस् । अब क्रान्ति गर्नुप¥यो । फर्केर आउँदा सोसलिस्ट पार्टीका नेता देवनारायण यादव गृहमन्त्री मसँगै जोकि आइपुग्यौं त्यहाँका साथीहरुलाई बोलाएर सम्झाई बुझाई भन्नुभयो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि ज्यानको बाजी लगाउने निरगुन जीलाई तपाईहरु सहयोग गरेर नेपाल भित्र क्रान्तिमा भाग लिनुस् । साथीहरुबाट सहयोगको आश्वासन पाएपछि देवनारायण यादव आफ्नो घर जानुभयो ।
खजुरी थाना माथि आक्रमण
भोली पल्ट नै म त्यहाँबाट १२÷१३ जना साथीहरुलाई लिएर खजुरी थाना माथि आक्रमण गरें ।  मैले त्यहाँको इन्सपेक्टरलाई थाना भित्र पसेर ७ नाल राइफल र धेरै गोलीहरु (कारतुस) फेला पारें । साथीहरुले त्यो बन्दुक लिएर गोली फायर गर्न थाले । मैले इन्सपेक्टरको रिभलबर झिकेर आफ्नो हातमा राखें । त्यहाँ भएको पुलिसहरु भाग्यो । साथीहरु त्यहाँ नारा लगाउन थाल्यो । नाच्न गाउन थाले । गाउँलेहरु पनि आए । हामीलाई लाग्यो प्रहरी आउँदैछ र हिन्दुस्तान तर्फ लाग्यौं । सुरक्षित ठाउँमा बन्दुक र गोलीहरु राखेर म सानदाई विपीसँग  भेटन पटना पुगें । सबै कुराहरु उहाँलाई बताए । विना हातहतियार लडाई लडेर प्रहरीको हतियार लुटेकोमा उहाँले मलाई बधाई दिनुभयो । कलकताबाट विद्यार्थीहरु त्यहाँ आए । विद्यार्थी मध्ये सुरेशमान जोशी, नारायण प्रसाद, बनारसी महत्तो, मनमोहन अधिकारी सहित सात जनालाई विपीले मेरो साथ लगाईदिनुभयो ।
रेल गाडी कब्जा
हामी जयनगर आयौं । खजुरी थाना लुट्दा जिल्ला भर जय जयकार  भएको थियो । मैले उक्त कुरा थाहा पाएपछि धेरै खुसी भए र मेरो जोश झन बढ्यो । म र रुद्र प्रसाद गिरीले नेपाली रेल गाडीलाई कब्जा गर्ने विचार गर्यौं । म जोंकी महिनाथपुर पुगें । हामीलाई भेटन जिल्लाबाट धेरै साथीहरु आउन थाल्यो । म र गिरी विचार गरें कि भोली रेल गाडी आफ्नो अधिनमा लिनुपर्छ । नेपालका साथीहरुलाई भेट गर्न पठाएँ । साथीहरु आइपुग्नु भो । खजुरी थाना लुट्ने साथीहरुले कलकताबाट आएका विद्यार्थीहरुलाई लिएर महिनाथपुर स्टेशन नजिक बोर्डर किनारमा बसेका थिए । उनीहरु रेल आउने बाटो कुर्न लागे । ठिक समयमा रेल गाडी स्टेशनमा आईपुग्यो । मैले एक जना साथीलाई रेलमा कति जना पुलिस छन् हेर्न पठाए । दुई जना पुलिस रेलमा रहेको कुरा थाहा पाएँ । सबैलाई साथ लिएर मैले आप्mनै नेतृत्वमा रेलका पुलिस, गार्ड, टिटी र डूाइभरलाई आफ्नो कब्जामा लिए । मैले भने तिमीहरु मेरो कुरा मान नत्र गोली हान दिन्छु । मेरो हातमा रहेको रिभलवर देखेर सबैले हात माथि उठाएर समर्पण गरे । उनीहरुले भने हजुरको आदेश मानेर म रेल चलाउछु । मैले भने ठिक छ । अब तिमीहरु स्टेशनको कोठामा गएर बस भनेर मैले भने पछि तिनीहरु सबै जना स्टेशन घरमा गए । जनताहरु इन्कलाव जिन्दावाद ! राणा शाही मुर्दावादको नारा लगाउन थाले । यात्रुहरुलाई मैले भने तपाईहरुलाई अहिले निकै कष्ट भइरहेको होला तर, जनतालाई शोषण गर्ने प्रजातन्त्रको हत्यारा निरंकुश जहानिया राणा शासनलाई जडैबाट उखेलेर फ्याक्ने र देशमा प्रजातन्त्रको बहाली गरी समाजवादी व्यवस्था ल्याउने मेरो उद्देश्य रहेको छ । मेरो संघर्ष तपाईहरुसँग नभएर राणा सरकार सँग छ । त्यसैले तपाईहरु चित्त नदुखाउनुस् । त्यसपछि यात्रीहरुलाई मैले आग्रह पुर्वक भने तपाईहरु आफ्नो आफ्नो घर गइहाल्नुस् । यो गाडी अब कहिँ जाँदैन । यात्रीहरु आ(आफ्नो घर तिर लागे ।
रेल गाडीको इन्चार्ज काजी साहवलाई बनाइयो
रेल गाडीलाई मैले कब्जामा लिएका कारण जिल्ला भरि नै मेरो चर्चा हुन थाल्यो । मैले साथीहरुसँग विचार गरे कि रेललाई यहाँ राख्न ठिक हुँदैन । खजुरी लिएर जानुपर्छ । दुई घण्टा पछि रेल गाडीलाई खजुरी लगे । रुद्र प्रसाद गिरीसँग बिचार गरेको थिए कि खजुरी पुगेर तपाईलाई फोन गर्छु र अनि तपाई आउनु होला । फोन गरेपछि तुरुन्तै गिरी जी टूली चढेर खजुरी आउनु भयो । नारायण काजी साथीसँगै आए । उहाँले रेल कब्जाको कुरा सुनेपछि हातमा लामो तलबारको साथ आइपुगेका थिए । इन्कलाव जिन्दावाद ! नेपाली कांग्रेस जिन्दावाद ! राणा साही मुर्दा वाद ! नाराका साथ जुलुस लाग्यो । म सँग काजी साहवले हातमा हात मिलाए । मैले भने काजी साहव अब तपाई रेल गाडीको इन्चार्ज बन्नुस र उहाँले स्वीकार गर्नु भयो ।
जनकपुरमा मनेजरी अड्डामा आगजनी
 जिल्ला भरी नै राणा विरोधी आवाजहरु गुञ्जिन थाल्यो । चौकीहरुबाट पुलिसहरु आ(आफ्नो सामान लिएर जलेश्वर भाग्न लागे । क्रान्तिकारी साथीहरुसँग विचार गरी रेललाई जनकपुर लग्ने निधो भयो । रुद्र प्रसाद गिरीले सबै साथीहरुलाई लिएर रेलमा चढ्नु भयो । गाडी खजुरी स्टेशनबाट खुल्यो र जनकपुर पुग्यो । म आफ्नो हातमा बन्दुक लिएर क्रान्तिकारी साथीहरुसँगै जनकपुर बजारमा पुगें । दोकानदारहरु हामीलाई देखेर धेरै खुशी भए । हामी जनकपुर घुमेर मनेजरी अड्डा पुग्यौं । र अड्डा पनि कब्जामा लियौं । गरिब जनता, मजदुर, किसान कर्जा लिन बाध्य हुन्थे । समय समयमा राणा सरकारले मालपोत पनि वृद्धि गथर््यो । जनताको आर्थिक अवस्थालाई कमजोर पारी त्यस्ता मालपोत तिर्ने कागजातहरु त्यही अड्डा भित्र रहेका कारण ती सबै कागजसहित अन्य सरसमानहरुमा पनि मैले आगो लगाई दिए । सबै जलेर भष्म भयो । अड्डाको सुब्बा हेमबहादुर रहेछ । उहाँलाई समाति पेस्तोल देखाई मैले भने तिमीलाई गोली हान दिन्छु । उहाँ रुन थाल्नु भयो । मैले उनलाई राणा साही मुर्दावाद ! भन्न लगाए । उसले त्यो कुरा भन्यो पनि ।
जनसरकारको प्रहरी प्रमुखमा नियूक्त
यस किसिमले देशैभरी २००७ सालमा जनक्रान्तिको लहर फैलियो । र, राणाहरुको निरंकुश शासन समाप्त भयो । जनक्रान्तिमा जनकपुरलाई कब्जा गरेपछि नेपाली कांग्रेसले स्थानिय जनसरकारको स्थापना ग¥यो । जनसरकारको प्रहरी प्रमुख मलाई बनाइयो । देशमा राजाले २०१४ सालसम्म सम्पुर्ण अधिकारहरु आफ्नो हातमा लिएका थिए । देशमा संविधान बनेको थिएन । राजाले शासनका बागडोर आफ्नो हातमा लिएका थिए । राजाको नियत खराब थियो ।
टिकट लिन इन्कार
२०१४ सालमा नेपाली कांग्रेसले भद्र अवज्ञा आन्दोलन शुरु ग¥यो । देशमा आन्दोलनको गति तिब्र भएपछि राजाद्वारा २०१५ सालमा महा निर्वाचन गर्ने तिथीको घोषणा गर्नुभयो । राजाद्वारा २०१५ साल फागुन ७ गते चुनाव गराउने घोषणा भयो । चुनावमा पार्टीको उम्मेदवारी तय गर्न विपी कोइरालाको अध्यक्षतामा एउटा संसदीय समिती बनेको थियो । चुनावको लागि कसलाई टिकट दिने निर्णय गर्न विपीले सरोजवाबुको घर ब्रह्मपुरीमा कार्यकर्ताहरुको मिटिङ बोलाउनु भयो । त्यस मिटिङमा करिब ५०÷६० जना कार्यकर्ताहरु उपस्थित भएका थिए । विपीले भन्नुभयो , यस क्षेत्रबाट कसलाई टिकट दिने ? रामनारायण मिश्रले भन्नुभयो, धेरै बलियो विरोधि सँग मुकाविला गर्न हामीले तराईकै मान्छेलाई उठाउनु पर्छ । यो यादवहरुको बाहुल्य क्षेत्र रहेकोले कुनै यादवलाई नै टिकट दिनु पर्छ । विरोधीहरुले सामन्ती प्रभावशाली राजपुत जमुना प्रसाद सिंहलाई उठाएको थियो । त्यसैले यादवलाई नै टिकट दिने कुरा उठ्यो । त्यसैले टिकटको लागि मेरो नाम सिफारिस गरियो । मैले आफ्नो नाउँ सुन्ने वित्तिकै भने सरोजबाबुको ही टिकट मिल्ना चाहिये । क्यँुकि हमलोग जितने भि कार्यकर्ता हैं उनके ही बनाए है । जातके आधार पर टिकट देना है तो नेपाली कांग्रेसको क्यूँ बनाया आपने ? विपीले विचार गरेर सरोजबाबुलाई नै टिकट दिनुभयो । चुनाव भयो र देशमा नेपाली कांग्रेसको पुर्ण बहुमत भन्दा वढी सिट आयो । विपी प्रधान मन्त्री बन्नु भयो ।
राउत गुवारबाट यादव
हिन्दुस्तान प्रवेश गर्दा मेरो नाउँ निरगुन राउत गुवार थियो । हिन्दुस्तानका मान्छेहरु त्यो नाउँ सुनेर हाँस्थे । त्यसैबेला देखि म राउत गुवार हटाएर आफ्नो नाउँमा यादव राखें । हिन्दुस्तान बाट नेपाल आएपछि जिल्लाका सम्पुर्ण राउत गुवारहरुको सम्मेलन गराई केही निर्णयहरु गराएँ । राउत गुवार हटाएर थरमा यादव राख्ने, मासिक कर्म एक महिना गर्दा धेरै कष्ट हुने हुनाले त्यसलाई द्वादश कर्म १५ दिनमा गर्ने, विवाहमा दाइजो नलिने, रु.२ लिएर विवाह गर्ने,विवाह भइसके पश्चात आफ्नो इच्छाले दाइजो दिन सक्ने, विवाहमा ११ जना ज्यन्ती मात्र जाने, विवाहमा नाच गान वाजाहरु नगर्ने, यादव महिलाहरु दुध वेच्न नजाने लगायतका निर्णयहरु गरें । मैले अखिल नेपाल यादव संघको गठन गरें । उक्त संघको महाधिवेशनका लागि विपीलाई बोलाउने विचार गरें । परवाहा रेल्वे स्टेशनमा महाधिवेशन गर्ने निर्णय भयो । विशेश्वर बाबु रेल चढेर परवाहा स्टेशन आउनु भयो । विशेश्वर बाबुको भाषण पछि यादव समुदाय खुशी भए ।
राजा महेन्द्र विरुद्ध आन्दोलन
२०१७ सालमा राजा महेन्द्रले नेपाली कांग्रेसका नेताहरुलाई समातेर जेलमा राख्न थाल्यो । देशमा हाहाकार मच्यो । मैले आफ्नै गाउँ नरहियामा अखिल नेपाल यादव संघको मिटिङ राखें । मिटिङ पुराना पोखरको डिलमा पिपलको रुख मुनि राखिएको थियो । त्यसैबेला जनकपुरबाट रुद्र प्रसाद गिरीले एकजना साथीलाई म कहाँ पठाएका थिए । त्यो साथीले मलाई एकान्तमा लगेर देशको अवस्थाबारे जानकारी गराए । सुनेर म आश्चर्य चकित भएँ । मुझे जरुरी काम से जनकपुर जाना होगा भनेर मिटिङ छोडेर जनकपुर आए । जनकपुरमा गिरीजीसँग भेट भयो । अरु साथीहरु बाहिर गइसकेकाले भेट हुन सकेन ।
    मैले गिरीसँग सोधे अब क्या करना होगा ? जल्द से जल्द कहिये । हमलोग भी भाग चले भनेर गिरीले भन्नुभयो । मैले भने ठिकै छ ।
विपी, सुर्यप्रसाद उपाध्याय र गणेशमान सिंह लगायतका नेताहरु गिरफ्तार भए । सुवर्ण जी सैनिक काण्ड हुनुभन्दा पहिले भारत गईसक्नुभएको थियो । गिरीले मलाई भन्नुभयो, आप तबतक चलिए, फलाने जगह पर रहियेगा । मै श्याम गिरीसे भेट करकर आता हु । मैले रुद्र गिरीले भनेको ठाउँमा धेरैसमयसम्म प्रतिक्षा गर्दा पनि उनी आएनन । मलाई लाग्यो उहाँले मलाई धोका दिनु भयो । रात परिसकेको थियो । म बोर्डर क्रश गरी जोंकी गाउँमा साथी पशुपति झाको घरमा वास वसे । विहानै पख म जयनगरका लागि प्रस्थान गरे । जयनगरको उछाल टोलमा हाम्रो परिवारहरुसँग रामनाथ यादवको दोस्ती थियो । म उहाँकै घरमा पुगिहाले । रामनाथ ज्यूले मलाई देख्नेवित्तिकै आँलिङगन गरी भन्नुभयो रातमे कहाँ ठहरे थे ? मैले सबै कुरा सुनाए ।
जयनगरमा मिटिङ
२००६ सालमा जेलबाट भागेर भारत गएको थिए । मेरो दाई महन्थ यादवले उहाँँकै घरमा मेरो लागि एउटा कोठा बनाउनु भएको थियो । त्यतिबेला पनि म त्यही रहने गर्थे । खाना पनि रामनाथजीमै खान्थे ।
    जयनगर स्टेशन जाने मेरो दैनिक काम थियो किनभने नेपालबाट आउने साथीहरुसँग भेट गर्थे । साथीहरुलाई पनि मलाई देखेपछि साहस र हिम्मत वढ्छ । यस प्रकारले दुई र तिन नम्बरका पहाडका साथीहरु आउन लागे । आउने साथीहरुमा पदम शंकर अधिकारी, बलबहादुर राई, सवर्धन राई, रिवान मनि, भिम वहादुर तामाङ, उदयपुरको डम्बर बहादुर थापा गरी ५०÷६० जना साथीहरु थिए । सबै साथीहरुको वस्ने र खाने व्यवस्था गरें । महोत्तरी जिल्लाबाट चिन्ता हरन सिंह, महेन्द्र नारायण निधि, बलराम नायक, बोध प्रसाद,ठाकुर प्रसाद ढुङगाना, दिगम्बर झा, मकेश्वर सिंह, महाविर शर्मा, योगेश्वर शर्मा, ज्ञानी शंकर गिरी, भोज राज घिमिरे, देवनारायण झा, कपिलेश्वर झा, राजेन्द्र झा, राजेन्द्र पाण्डे, रुद्र नारायण झा, जलन्धर यादव, रामचन्द्र सिंह, नागेन्द्र सिंह, दुर्गा नन्द झा, अरविन्द ठाकुर, मदन सहगल, मुरली भुषण, कृष्ण वहादुर कार्की, र काठमाण्डौबाट तिन चार दिनमा सरोज प्रसाद कोइराला,सुरेशमान जोशीहरु जयनगर आइपुग्नुभयो । जयनगर स्टेशनमा यसरी साथीहरु आ(आफ्नो इलाकाबाट आउनु भयो ।
महेन्द्र नारायण निधि पुर्वाञ्चल क्षेत्रको कमाण्डर नियुक्त
केही दिनमै जनरल सुवर्ण शमशेर जीले सबै साथीहरुलाई पटनामा मिटिङ गर्न बोलाउनु भयो । नेपालबाट भागेर आउनुभएका सबै साथीहरु पटना पुग्नु भयो । खाना र वस्ने व्यवस्था सुवर्ण जीले मिलाउनु भयो । मिटिङ तिन दिनसम्म चल्यो । मिटिङमा उहाँले राजाका बारेमा बताउनु भयो । सुवर्ण पक्राउ हुनुभन्दा तिन दिन अगाडी नै कलकता आइपुग्नुभएको थियो । मिटिङमा राजा सँग संघर्ष गर्ने कुरा भयो । विशेश्वर बाबुले नेपाली कांग्रेसको सभापति सुवर्ण शमशेरजीलाई बनाई दिनु भयो । तत पश्चात सभापतिले केन्द्रिय कार्यसमितिको गठन गर्नु भयो । राजा सित लडाई लडनको लागि संघर्ष समिति बनाउनु भयो । जो सर्वसम्मतिबाट स्वीकृत भयो । ५ क्षेत्रबाट ५ वटा कमाण्डर चुनियो । जसमा मध्य पुर्वाञ्चल क्षेत्रबाट कमाण्डर महेन्द्र नारायण निधिलाई बनाइयो । मलाई पुलिस कमाण्डरको जिम्मा दिइयो । वैठक पुर्ण रुपले सम्पन्न भइ हाल्यो । सभापति सुवर्ण शमशेरज्यूले साथीहरुलाई तपाईहरु आफ्नो इलाका वा क्षेत्रमा गएर कुराहरुलाई इमान्दारी पुर्वक पालना गर्नुस, भनेर भन्नुभयो । साथीहरु वडो खुशीका साथ आफ्नो इलाकामा जानुभयो ।
महेन्द्र नारायण निधि ज्यान बचाउन स्वदेश फिर्ता
राजा महेन्द्रलाई पटनामा नेपाली कांग्रेसले गरेका मिटिङको बारेमा थाहा भइहाल्यो । राजा महेन्द्रले आह्वान गर्नुभयो । जो व्यक्ति देश छाडेर वाहिर जानुभएको छ त्यो १५ दिन भित्र आफ्नो ठाउँमा फिर्ता आएर शान्तिपुर्वक बसे उनीहरुमाथि कारवाही मुद्दा माफ गरिदिन्छु । राजा महेन्द्रको आदेश सुनेर पटना वैठकमा रहेका साथीहरु मध्ये केही साथीहरु नेपालमा प्रवेश गर्नु भयो । मैले जयनगर स्टेशनमा जनकपुर तर्फ जाने रेल गाडीमा महेन्द्र नारायण निधिलाई चढेको देख्दा भने, निधिजी कहाँ जा रहे है ? उनहो ने कहाँ नेपालके भितर घर जा रहा हुँ । मैले भने पटना मिटिङ के वात भुल गए आप । निधि जीले भन्नु भयो आप नेपाल नहि चलेगे । नेपाली कांग्रेसको छोडकर मै नेपाल नहि जाउँगा भनेर मैले भने । ठिक है आप रहिये । निधिजीले भन्नु भयो र उहाँ जानु भयो । निधिजीलाई हेरेर बोध प्रसाद जी, दिगम्बर झाजीहरु पनि नेपाल जानुभयो । नजाने साथीहरुमा सरोज प्रसाद कोइराला, सुरेशमान जोशी, चिन्ताहरन सिंह, दुर्गा नन्द झा, अरविन्द ठाकुर, ज्ञानी शंकर गिरी, मदन सहगल, मुरली भुषण, महाविर शर्मा, जुगेश्वर शर्मा, लगायतका व्यक्तिहरु हुनुहुन्थ्यो ।
नरहियामा राजा महेन्द्रको पुतला दहन
केही दिन पछि नेपाली कांग्रेसले नेपालमा निमुख दिन कालो दिवस मनाउने निर्णय ग¥यो । उक्त निर्णय पछि साथीहरु नेपाल आए । म र साथी ठाकुर प्रसाद ढुङगाना नेपालमा आएँ । नरहियामा हामी दुवैजना पुग्यौं । त्यहाँ पुरना पोखरीको डिलमा चार गाउँबाट आएका मानिसहरुसँगै राजा महेन्द्रको पुतला कालो रंगमा रंगिएको थियो ।
    ठिक चार बजेको समयमा हामीले पुतलामा मट्टीतेल छर्केर आगो लगाई दियौं । राजा महेन्द्र मुर्दावाद ! विशेश्वर बाबुको रिहा करो ! आदि नारा लगाइएको थियो । म र ठाकुरजीले राम्रो संग भाषण पनि ग¥यौं ।
नरहियामा प्रहरीद्वारा लुटपाट
दुई दिन पछि मान वहादुर एसपी मिलेटूी लिएर नरहिया गाउँलाई धेराउ ग¥यो । पुरै गाउँमा नेपाल कांग्रेसको झण्डा फहराइरहेको थियो । पुलिसले गाउँका मानिसलाई समातेर मारपिट शुरु गरेको थियो । मानिसहरु भाग्न थाल्यो । मेरो परिवार पनि बच्चाहरुलाई लिएर जयनगर भाग्यो । एसपीले तीन चार दिनसम्म मेरो गाउँलाई घेराउ गरेको थियो । मेरो घरको सम्पुर्ण सम्पत्तिहरु प्रहरीले लुटेर वैल गाडीमा लादेर जनकपुर लग्यो । मेरो घरमा ताला लगाइदियो । मेरो घरमा कोइ पनि प्रवेश नगर्ने भनेर सूचना टाँसि दियो । ५÷६ जनालाई समातेर परवाहा स्टेशन लगियो । जदु यादव र सुखदेव यादवलाई पिपलको रुखमा उल्टा लटकाएर खुट्टामा डोरीले बाँधेको थिया । झुन्डीरहेका यादवको मुखको मुनि आगो लगाई दियो । टाउकोको कपाल जलेर मुखबाट ¥याल निस्किरहेको थियो । त्यतिकै बेला रेल गाडी स्टेशनमा आइपुग्यो । दुवैजनाको पुलिसले गरिरहेको निरममता पुर्वक यातनालाई हेरेर रेलका यात्रुहरुमा हाहाकार मच्यो । मरनासन्न अवस्थामा पुगेपछि दुवैजनालाई जनकपुर अस्पतालमा भर्ना गराइयो । दुई महिना पछि घाँउ निको भएपछि उनीहरुलाई प्रहरीले छोडि दियो ।
सबैला थानामा आक्रमण
 नेपाली कांग्रेसले कलकताको मिटिङमा निर्णय ग¥यो कि जो साथी नेपालको जुन इलाकामा छन् त्यही ठाउँबाट राजा विरुद्ध लडाई लडेर थाना चौकीहरु जलाउने र बन्दुकहरु लुटेर लग्ने । लडाई सुरु भईहाल्यो । म पनि साथीहरुलाई लिएर नेपालमा प्रवेश गरी हाले । साथीहरु सुरेशमान जोशी, मदन सहगल, जंगली नदाफ, दाजु महन्थ यादव, जलन्धर यादव, परशुराम मानन्धर र बाहिरका साथीहरुलाई लिएर सबैला थाना पुगें । राति १२ बजेको समय थियो । १२÷१३ जना पुलिसहरु कोठामा थिए ।
        म बडो होसियारी पुर्वक उनीहरुको कोठा बाहिरबाट बन्द गरेर पुलिसहरुलाई थुनिदिए । अर्को कोठामा बन्दुकहरु थियो । बन्दुक रहेको कोठाको गेट बन्द थियो । मैले गेट तोडेर उक्त कोठामा प्रवेश गरे । ४ बन्दुक र एक रिभलबर गोली सहित लुटेर बाहिर आए । त्यतिकैमा पुलिसहरु जागिहाल्यो । मेरो साथीहरु सावधान भईहाल्यो । साथीहरु मेरो नाम लिएर हल्ला गर्न थाल्यो । किनभने पुलिस निरगुनको नाउँ सुनेर डराउँछन् भन्ने साथीहरुलाई लागेको थियो । र, भयो पनि त्यस्तै । मेरो नाउँ सुन्ने वित्तिकै पुलिसहरु डरले बाहिर निस्केनन् । मैले सोचे, पुलिसलाई मार्नु हुँदैन । पुलिसलाई मैले छोडिदिएँ । लुटेको बन्दुक र रिभलवर लिएर साथीसँगै हिंडिहाले । र, जयनगर पुग्यौं ।


मिति ः २०७० माघ १२ गते

अब त संविधान बन्नैपर्छ - सम्पादकीय


कअघिल्लो संविधानसभाका सफलता र असफलताबाट पाठ सिकेर संविधान निर्माणमा दलहरु सक्रिय हुन्छन कि हुँदैनन भन्ने अहिलेको आम चासोको विषय हो । यसपटक जसरी पनि संविधान बन्नुपर्छ र त्यो पनि झारा टार्ने किसिमको नभै सबैलाई समावेश गर्ने गरी, सबैको भावनाको प्रतिनिधित्व हुने गरी बन्नुपर्छ भन्ने चाहना आम नेपालीको छ । पहिलो संविधानले गरेका सहमति र त्यहाँ रहेका विमतीहरुबीचबाट नयाँ ढंगले संविधानसभा अगाडि बढ्नुपर्ने आवश्यकता छ । वितेको पाँच वर्षमा वाग्मतीमा धेरै पानी बगिसकेको छ । सुरुका दिनमा उठेका आवाज र प्रवाहित धारणाहरु अहिले धमिलिएको छ ।
    यसपटक संविधानसभाको शक्ति सन्तुलनमा व्यापक फेरवदल आएको छ । विशेषतः वर्तमान राजनीतिक घटनाक्रमको विपक्षमा रहेको, विगतमा उठेको माग र नाराको विपक्षमा धारणा राखिरहेका दलहरुको संख्या बढी देखिएको छ । संवैधानिक राजतन्त्र सहितको हिन्दु धर्म सापेक्ष राष्टू हुनुपर्ने राप्रपा नेपाल नयाँ शक्तिका रुपमा संविधानसभामा प्रवेश गरेको छ । विवादका मुद्दाहरुको विवादका मुद्दाहरुको छिनोफानो र असहमतहरुलाई सहमतिमा ल्याउने सवालमा संविधानसभा केन्द्रित हुनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । सुरुवातदेखि नै आआफ्नै अडानमा कायम रहेर वृहत छलफल गर्नुको साटो कोठे र रिसोर्टका बैठकहरुमा नेताहरु केन्द्रित हुने हो भने यसपटक पनि संविधान बन्दैन भनेर भन्न कुनै गाह्रो छैन । 
    संविधान कुनै राजनतिक दलको विधान नभएकाले यसमा दलीय आग्रह थोपर्ने प्रयास गर्न खोज्नु नै अघिल्लो संविभानसभा असफल हुनुको कारण हो । यही कारणलाई मध्यनजर गर्दै प्रमुख दलहरुले संविधानसभाको बैठक बसेको ६ महिनाभित्र सहमतिको प्रयास गर्ने र त्यसो नभए एक वर्षभित्र संवैधानिक प्रावधानबाट निर्णय गरी संविधानको मस्यौदा तयार गर्ने घोषणा गरेकाले यसपटक संविधान बन्छ कि भन्ने आशा गर्ने ठाउँ छ तर यसबीचमा विदेशीको चलखेल र राजनीतिक आग्रह(पूर्वाग्रहको खेल चर्कदैन भन्नसकिने स्थिति छैन ।
    त्यसैले मुलुकको यथार्थमा टेकेर संविधान निर्माण गर्नसके मात्र त्यसले सबैलाई स्थान दिनसक्छ र सबैले आफ्नो संविधान मानेर स्वामित्व ग्रहण गर्न सक्छन भन्ने वास्तविकताबाट कोही पनि पछिहट्नु हँदैन । क्षणिक स्वार्थका लागि जसले जे भने पनि त्यसलाई सडकमा पसार्ने चरित्रको त्याग अत्यावश्यक छ । जनता अब त संविधान बन्नैपर्छ भन्ने पक्षमा छन् । यसलाई संविधानसभाभित्र प्रवेश गरेका सबै राजनीतिक दलका टाउके नेताहरुले मनन गर्नुपर्छ ।

मिति ः २०७० माघ १२ गते

लाल किशोर झा हत्यामा १० लाखको डिल मुख्य योजनाकार बैकुण्ठ दास ः राजन मुक्ति


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
    जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लाल किशोर झा हत्याको मुख्य योजनाकार रत्न सागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव नै रहेको राजन मुक्तिले खुलासा गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गोविन्द पुरीले गरेको अनुसन्धानको सिलसिलामा राजन मुक्ति भन्ने रंजित झाले बयानको क्रममा उक्त कुरा खुलासा गरेका छन् । २१ मंसिर २०७० मा झा हत्या प्रकरणमा राजन मुक्तिसँग सोधिएको १७ वटा सवालहरुको जवाफका क्रममा उक्त कुरा खुलेको हो ।
    मृतक लाल किशोर झा मटिहानीका महन्थ जगरनाथ दासको भतिजो भएकोले निज महन्थको सम्पुर्ण कारोबार निज लाल किशोर झाले नै हेर्ने गरेको र जग्गा जमिन समेत बेच विखन गर्ने गरेको थियो । झा जिल्ला शिक्षा कार्यालय महोत्तरीको शाखा अधिकृत पदमा रही आर्थिक हिनामिना, अनियमितता र भ्रष्टाचार गरी धेरै रकम  जम्मा गरेका कारण आफुले झासँग चन्दा मागेको राजन मुक्तिले बताएका छन् । चन्दाको लागि आग्रह गर्दा झाले अटेर गरेको कारण आफुले उनलाई पटक पटक धम्की समेत दिएको राजन मुक्तिले बताएका छन् । झा हाम्रो लिस्टमा थियो । त्यसताका लाल किशोर झा र रत्नसागर कुट्टिका महन्थ बैकुण्ठ दास बीच जग्गा बेच विखनका सम्बन्धमा मनमुटाव, झै झगडा समेत भएको र सोही रिसइबीका कारण  वैकुण्ठ दासले झालाई मार्न चाहेको थियो । झालाई मार्नको लागि वैकुण्ठ दासले म र भाष्कर मुक्ति भन्ने दिपक सिंह समेतलाई सम्पर्क गरी तपाईहरुलाई चन्दा दिन्छु, मेरो काम गरिदिनुहोस्  भनी प्रस्ताव राखेको थियो । त्यस पश्चात घटना वारदातको १५÷२० दिन पहिले हामीहरुसँग वैकुण्ठ दासले भारतको सितामढीमा भेट गरी लाल किशोर झाको हत्या गर्ने सहमति भई रु.७ लाख रकम वैकुण्ठले हामीलाई पेस्की समेत दिएको राजन मुक्तिले बताएका छन् । लाल किशोर झालाई मार्नका लागि वैकुण्ठ दाससँग रु.१० लाखमा डिल भई हत्या गर्ने हामीले सहमति ग¥यौं र उक्त सहमति बमोजिम वैकुण्ठ दासले आफुलाई रु.७ लाख दिएको र बाँकी रकम मेरो कार्यकर्ताहरु सुनिल कुमार अधिकारीले रु. ५० हजार, विजुली सिंह भन्ने राकेश पाण्डेले रु.२५ हजार र शिवकुमार ठाकुरले रु.१५ हजार समेत लिएको आफुले सुनेको राजन मुक्तिले बताएका छन् । आफुले हत्याको लागि लिएको रकम समुह संचालन गर्ने क्रममा खर्च भईसकेको राजन मुक्तिले बताएका छन् ।
    राजनका अनुसार वैकुण्ठ दास सँगै भारतको मधुवनीका २५ वर्षिय जैसवाल भन्ने मनिष चौधरीले सबै बन्दोवस्त मिलाउने भनेर बैकुण्ठले आफुलाई मनिष सँग चिनजान गराएको थियो । त्यस पश्चात मेरो स्थानिय कार्यकर्ता शशि मुक्ति भन्ने सुनिल अधिकारीलाई जैसवालसँग भेटगराई जैसवालले नै हतियार समेत उपलब्ध गराउने र भाष्करले सुनिल अधिकारीलाई टेलिफोन सम्पर्क गरी आदेश दिएको राजन मुक्तिले बताएका छन् । उक्त आदेश पश्चात सुनिल अधिकारीले राकेश पाण्डे र शिवकुमार ठाकुर समेत सँग भिठ्ठामोडमा भेटघाट गरी उनीहरुलाई पैसा समेत उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । ११ कार्तिक २०६७ मा जनकपुर–७ स्थित लाल किशोर झालाई गोली हानी हत्या गरिसकेपछि सुनिल अधिकारीले आफुलाई फोन सम्पर्क गरी झालाई गोलि प्रहार गरिसकेको र उसको उपचारको लागि काठमाण्डौ लग्दा काठमाण्डौमै मृत्यु भएको भन्ने खबर पाएपछि जनकपुरका संचार माध्यमहरुमा उक्त घटनाको जिम्मेवारी टेलिफोन र एसएमएस मार्फत लिएको राजन मुक्तिले बताएका छन् । झालाई हत्या गर्नका लागि प्वाइन्ट ३१५ गोलि लाग्ने हतियार र गोली समेत जैसवाल भन्ने मनिष चौधरीले आफ्नो कार्यकर्ता सुनिल अधिकारीलाई उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । झा हत्यामा प्रयोग भएको हतियार र त्यसमा लाग्ने चार राउण्ड गोली भारत सितामढी वस्ने वर्ष ३८ का तुफेल खान सँग रु.२ हजारमा खरिद गरिएको कुरा राजन मुक्तिले बताएका छन् । उक्त हतियार अहिले कहाँ छ भन्ने कुरा भाष्कर मुक्तिलाई नै थाहा होला, राजन मुक्तिले बताएका छन् । अहिले सुनिल कुमार अधिकारी, शिवकुमार ठाकुर र राकेश पाण्डे उक्त हतियारको अभियोगमा पक्राउ परेको भन्ने कुरा थाहा पाएपनि मनिष चौधरी भन्ने व्यक्तिसँग आफ्नो सम्पर्क अहिले नरहेको र वैकुण्ठ दास अदालतको आदेशले तारेखमा रहेको भन्ने कुरा पत्र पत्रिका मार्फत थाहा पाएको राजन मुक्तिले बताएका छन् । २०६७ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका धनुषाका इन्चार्जको रुपमा भाष्कर मुक्ति भन्ने दिपक सिंह थिए । उक्त समयमा शशि मुक्ति उपनाम रहेको सुनिल अधिकारीले भाष्करलाई बचाउन आफुलाई भाष्कर मुक्तिको नाउँले चिनाएको हुन सक्ने राजन मुक्तिले बताएका छन् । भाष्कर मुक्ति भन्ने दिपक सिंह महोत्तरी साढाका कौशल किशोर सिंहको छोरा रहेको राजन मुक्तिले बताएका छन् ।     यस अघि पक्राउ परेका विजुली सिंह भन्ने राकेश पाण्डे र रौकी भन्ने शिवकुमार ठाकुरले तत्कालिन अधिकार प्राप्त अधिकारी समक्ष बयानको क्रममा समेत तिनीहरुले झाको हत्याका मुख्य योजनाकार बैकुण्ठ दास रहेको  बताएका थिए । राकेश पाण्डेले दुई दिन सम्म लागातार भेटी जसरी पनि लाल किशोर झालाई मार्न सहयोग गरिदिनुपर्छ भनेको कारण ११ कार्तिक २०६७ मा विहान मोटर साइकलमा निजसँग भिठ्ठामोड गई लागु औषध खाई सुनिल संग परिचय गराई राकेश पाण्डेले आफुलाई रु.५ हजार दिएको शिव कुमार ठाकुरले बयानको क्रममा बताएका थिए । त्यहाँ भिठ्ठामोडमा जैसवाल पनि आइपुगेको र जैसवालले देखाएको मान्छेलाई गोली हानी मार्नुपर्छ भनि आफुलाई सुनिल समेतले भनेपछि म र राकेश एउटा मोटरसाइकलमा चढि जनकपुरको पगलाबाबा धर्मशालाको कुट्टि नजिक पुगि बसेका थियौं । सोही स्थानमा सुनिल र जैसवाल मोटरसाइकलमा आए । राकेश र सुनिलले जैसवालले देखाएको मान्छेलाई गोली हान्नु भनि आफुलाई एउटा गोली लोड गरेको एउटा कटुवा पेस्तोल र तीन वटा गोली दिए । जैसवाल मोटर साइकलमा अघि अघि गए र म पछि पछि गएँ । जैसवालले देखाएको लाल किशोर झाको छेउमा पुगेपछि मैले पिठ्यूमा गोली हानें । निज ढलेपछि म र जैसवाल मोटरसाइकलबाट भाग्यौं । वारदातको दुई दिन पछि मलाई रु. १० हजार राकेशले दिएको थियो ।     यसरी रौकी भन्ने शिवकुमार ठाकुरले प्रहरी समक्ष बयान कागज गरेका थिए । जैसवाल र सुनिलका बीचमा सहमति भई आफुले हत्या गरेपछि सुनिलले रु. २ लाख पाउने र सोही टेन्डर राकेश पाण्डेलाई कुल रु.१ लाख ६० हजारमा दिइएको राकेश पाण्डेले बताएका थिए । उनीहरुको बयान पश्चात धनुषा जिल्ला अदालतले १८ पुषमा बैकुण्ठ दासलाई पक्राउ गर्न पक्राउ आदेश जारी गरेको थियो । जिल्ला वकिल कार्यालय धनुषाको अभियोग पत्रमा त्यसबेला महन्थ वैकुण्ठ दासले लाल किशोर झालाई मार्न योजना र रकम सहित व्यक्ति परिचालन गरेको अभियोग लगाइएको थियो । बैकुण्ठ दासले जग्गा विवादका कारण आफ्नो छोरा मार्न मान्छे खटाएको भन्दै मृतक लाल किशोरका पिता पशुपति झाले ५ पुष २०६७ मा जाहेरी दिएका थिए ।

बैकुण्ठ महन्थको आवरणमा आतंकवादी ः महन्थ रामतपेश्वर दास
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले रत्नसागर कुट्टीका महन्थ वैकुण्ठ दास वैष्णव महन्थको आवरणमा आतंकबादी रहेको आरोप लगाएका छन् । पैसा दिएर राजन मुक्तिद्वारा लालकिशोर झाको हत्या गराएका वैकुण्ठले  आफुलाई पनि ज्यान मार्ने धम्की दिईरहेको उनले आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा महन्थ राम तपेश्वर दासले विभिन्न व्यतिmको माध्यमबाट वैकुण्ठ दासले आफुसँग मिलेर काम गर्नुपर्ने र त्यसो नगरे जनधनको समेत क्षति गराईदिने भन्दै ज्यान मार्ने धम्की दिदै आएको उनले बताए । वैकुण्ठ भारतिय गुण्डा रहेको उल्लेख गर्दै उनले भने,‘दर्जनौ हत्या तथा विभिन्न घटनामा उनको संलग्नताका धेरै प्रमाणहरु छन् । तर पनि पैसाको चलखेलका कारण उनलाई प्रशासनले पनि उन्मुक्ति दिइरहेको छ ।’ वैकुण्ठ महन्थको आवरणमा भुमाफिया,तस्कर तथा गुण्डाहरुको नाइके रहेको दावि गर्दै उनले भने,‘यस्ता हत्यारा, भुमाफिया तथा तस्करलाई जनकपुरबाट नभगाए जनकपुर नै समाप्त हुन्छ, अव जनकपुरबासीलाई वैकुण्ठलाई खेदेर भगाउनुको विकल्प छैन ।’
    आजीवन अविवाहित रहेका रत्नसागर कुट्टीका तत्कालिन महन्थ रामप्रकाश वैष्णवको नक्कली छोरा भई किर्ते नेपाली नागरिकता लिएका वैकुण्ठ विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषमा दर्जनौं उजुरी परेका छन् । विवाह नै नगरेका रामप्रकाशले कसरी छोरा जन्माए ? अव वैकुण्ठले होइन, जिल्ला प्रशासन कार्यालयले जवाफ दिनुपर्छ भन्दै महन्थ रामतपेश्वरले भने ,“तर गृह प्रशासनका केहि भ्रष्ट कर्मचारीहरुसँगको आर्थिक लेनदेनका कारण वैकुण्ठको नागिरता सम्बन्धी छानविन प्रक्रिया अगाडी बढन सकेको छैन ।”  भारत विहारको मुज्जफ्रपुर जिल्ला मधेपुरा,पोस्ट अम्भा, कठरा पञ्चायत निवासी रामश्रेष्ठ तिवारीका जेठा छोरा वैकुण्ठ तिवारी रत्नसागर मन्दिरको महन्थ भएपछि गुठी अन्तर्गतको करिव तिन सय करोड बरावरको जग्गा अवैध तरिकाले विक्री वित्तरण गरेको तपेश्वर दासले बताए ।
१७ कार्तिक २०५० मा तत्कालिन जिविस उपसभापति दिपनारायण महत्तोको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत मुरारी नेपालले जनकपुर–८ का रामप्रकाश दास वैष्णवको छोराको रुपमा नेपालको नागरिकता प्रमाण पत्र जारी गरेका छन् । वैकुण्ठले नागरिकता पाइसकेपछि आफ्नो भाई अनिल कुमार तिवारीलाई पनि १६ फागुन २०६३ मा धनुषाबाट नागरिकता प्रमाण पत्र दिलाएका छन् ।
    राधा कृष्ण मन्दिरको बहुमुल्य मुर्ति बेचेका वैकुण्ठले जनकपुरका विभिन्न कुट्टीका जमिन आफैले अतिक्रमण गरेर र अरुद्वारा पनि गराएर जमिन विक्री गर्दा स्थानिय प्रशासन र गुठी संस्थानले पनि उनलाई भरपुर सहयोग गर्दै आएको महन्थ रामतपेश्वर दासको आरोप छ । गुठी संस्थानका केहि कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर दिनरात उनको चाकरीमा लागेको महन्थ दासले आरोप लगाए । उनले गर्ने अवैध कार्यमा अवरोध पुर्याउने जिल्ला शिक्षा कार्यालय महोत्तरीका तात्कालिन अधिकृत लालकिशोर झा, महन्थ जानकी शखी र विरख कुट्टीका तात्कालिन महन्थ रामभद्र दासको वैकुण्ठले नै हत्या गराएको रामतपेश्वरले दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा राजन मुतिm भनिने रंजित झाले समेत बयान गर्दा लालकिशोर झाको हत्याको प्रमुख योजनाकार वैकुण्ठ नै रहेको बताएका छन् । तर पनि हाल सम्म स्थानिय प्रशासनले वैकुण्ठलाई सहयोग गरिरहेको महन्थ दासले बताए ।     बैकुण्ठलाई प्रशासनले कारवाही नगरे आफुहरुले धर्ना र प्रदर्शन समेत गर्ने महन्थ रामतपेश्वर दासले चेतावनी दिएका छन् ।



मिति ः २०७० माघ १२ गते

पत्रकार महासंघ धनुषाको संचार गृहका लागि जग्गा उपलब्ध


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल पत्रकार महासंघ धनुषाको संचार गृह निर्माणका लागि गुठी संस्थान कार्यालयले १० धुर जग्गा उपलब्ध गराएको छ । नेपाल गुठी संस्थानका बोर्ड अध्यक्ष पंचलाल महर्जनको अध्यक्षतामा शुक्रवार साँझ बसेको बोर्डको बैठकले महासंघ धनुषालाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । देशका विभिन्न जिल्लाहरुमा पत्रकार महासंघले आफ्नो भवन निर्माण गरिसकेको भएपनि धनुषामा जग्गा अभावकै कारण संचार गृह निर्माण हुन सकेको थिएन ।  नेपाल पत्रकार महासंघ धनुषाका निर्वतमान उपाध्यक्ष एवम् जग्गा खोजविन समितिका संयोजक अनिल मिश्रका अनुसार जनकपुर नगरपालिका वडा नं. ४ स्थित गुठी संस्थानको स्वामित्वमा रहेको सिट नं. १३९५१५ को कित्ता नं. ३६ अन्तर्गत  कृषी बजार र नेपाल राष्टू बैंकको मध्य तथा तिरहुतिया गाछीको पश्चिममा रहेको ०(५(३(३ क्षेत्रफलको जग्गा मध्ये ०(०(१०(० (१०) धुर जग्गा नियमानुसार महासंघ धनुषालाई उपलब्ध गराईएको हो । धनुषा जिल्लाको सर्वपक्षीय बैठकको निर्णय, नेपाल पत्रकार महासंघ धनुषा कार्य समितिको निर्णय तथा सिफारिस ,गुठीको जग्गा धनी प्रमाण पुर्जा, नापी कार्यालयको फिल्ड बुक उतार फारम , नक्सा, पत्रकार महासंघ केन्द्रिय समितिको सिफारिस, गुठी संस्थान जनकपुरको सिफारिस तथा भूमी सुधार मन्त्रालायको सिफारिस आदिलाई आधार मानि गुठी बोर्डले महासंघ धनुषालाई जग्गा उपलब्ध गराएको हो ।   जग्गा खोजबिन समितिका संयोजक मिश्रका अनुसार जग्गा प्राप्तीका लागि धनुषाका पत्रकारहरुले ठूलै संघर्ष गर्नु परेको थियो । उहाँले आफूलाई मात्र २ बर्ष भन्दा बढी समय खर्च गर्नु परेपनि अन्ततः महासंघले जग्गा प्राप्ती गरेकोमा धेरै खुशी लागेको प्रतिक्रिया दिएका छन् । 
महासंघ धनुषाका लागि गुठी संस्थानले जग्गा उपलब्ध गराउनु धनुषाका संचारकर्मीहरुका लागि ऐतिहासिक उपलब्धी रहेको क्रान्तिकारी पत्रकार महासंघ धनुषाका अध्यक्ष किरण कर्णले बताएका छन् । मधेशी पत्रकार समाजका पूर्व अध्यक्ष घनश्याम मिश्रले अब जनकपुरको पत्रकारिताका विकासका लागि महासंघको संचार गृह निर्माण कार्यका लागि बाटो खुलेको प्रतिक्रिया दिएका छन् । महासंघ धनुषाका निवर्तमान सह(सचिव विकास कुमार साहले समग्र पत्रकारका लागि ठूलो उपलब्धी रहेको तथा पत्रकारहरुको आफ्नै भवन निर्माण भएपछि जनकपुरको पत्रकारितामा एउटा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् । महासंघले आफ्नै संचार गृह निर्माण गरे समाजका व्यक्तिहरुका लागि संचारमा पहुच हुन समेत सहज हुने महिला पत्रकार गायत्रि मिश्रले बताएका छन् । यता , जनकपुर  नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रले राज्य र समाजका लागि महत्वपूर्ण योगदान पु¥याउने संचारकर्मीका लागि जग्गा उपलब्ध गराईनु स्वागत योग्य रहको प्रतिक्रिया दिए ।

मिति ः २०७० माघ १२ गते

Tuesday, January 21, 2014

नारामा मात्र सिमित, महिला हि“सा बन्द गरौं


अनिल मिश्र
जनकपुरधाम.........
महिला हिंसा विरोधी नारा जति नै बुलन्द भए पनि महिलाहरुमाथि हुने अत्याचार बढदो छ । महिला हिंसामा समाज र राज्य दुबैले आंखा चिम्लिने काम गरेको छ ।  बलात्कृत महिलालाई न्याय दिनुको साटो उल्टै गाउँ  निकाला गरेर  थप पीडा दिएको घटना समेत भएको छ तर पनि कसैको ध्यान त्यसतर्फ गएको छैन ।
२०६७ साल मंसिर १० गते शुक्रवार साँझ घाँस दाउरा लिन र बारीमा तरकारी टिप्न गएका बेला धनुषा दिगम्बरपुरकी पम्फुलदेबी महतोको सामुहिक बलात्कारपछि हत्या भयो । यस्ता जघन्य अपराधमा संलग्न भएकाहरुलाई प्रहरीले कारवाही गरेपनि आमा गुमाएका यी अबोध बालकहरुको भविष्य अन्योलमा परेको धनुषा दिगम्वरपुरका सुनिलकुमार सिंहको भनाई छ । सिंह भन्छन् – यी बालक अनाथ झै भएका छन् । यिनीहरुको पालनपोषण र पढाइलेखाइको बारेमा कसैले सोचेको छैन । बुवाको मानसिक अवस्था ठीक छैन । आर्थिक अबस्था कमजोर छ । पेट भर्नकै लागि यी कलिलाबालकहरु अहिले अर्काको घरमा मजदुरी गर्न बाध्य छन् । आमा गुमाएर असहाय बनेका यी अबोध बालबालिकाको अवस्थाप्रति कसैले चासो दिएको छैन । मरेकी आमा र विरामी बुवाका यी सन्तानलाई कसले हेर्ला ?
धनुषामा भएको घटना पछि बलात्कारको साक्षी बन्यो महोत्तरी जिल्लाको कोल्हुवावगेया ।  वर्ष दिन भएको छ यिनको सिउंदो पुछिएको । हाटबजारमा फलफुल बेचेर गुजारा गर्दै आएकी छन् । २०६७ साल पुस २८ गते यिनको लागि कालो दिन बन्यो । साँझ एकडारा बजारबाट फलपूmल बेचेर घर फर्किरहेका बेला युवाहरुले उनीमाथि जबर्जस्ती करणी गरेका थिए ।  
घटनालगत्तै बसेको स्थानीयवासीको भेलाले महिला र करनी गर्ने दुबैलाई सजाय सुनायो । दोषीलाई जनही ३० हजार जरिवाना र पीडित महिलालाई गाउँ निकाला गर्ने निर्णय गरियो । यसलाई सामाजिक न्याय भन्ने की तालिवानी आदेश ? जसको इज्जत लुटिएको छ उसैले गाउं छोड्नु पर्ने ? यो कस्तो न्याय हो ? कुरेशा खातुन दोहोरो पीडामा परेकी छन् ।
दोषीले तिरेको जरिवाना त पीडित महिलाले नै पाउनु पथ्र्यो । तर त्यस रकमलाई गाउं विकासमा खर्च गर्ने निर्णय गरे टाउकेहरुले । समाजबाट बहिष्कृत गरिएकी महिलाको अस्मितामाथि खेलवाड भइरहदा प्रहरी प्रशासन रमिते मात्र बन्यो । महिला ंिहसाका यी दुई घटना उदाहरण मात्र हुन् । बोक्सीका आरोपमा मलमुत्र खुवाउने, दाईजो नल्याएको झोकमा जिउदै जलाउने सम्मका घटना भएका छन् ।
महिला ंिहंसामा संलग्न दोषीमाथि कारवाही नै हुन्न । यसले गर्दा पनि हिंसक प्रवृत्तिभएकाहरु महिलाहिंसा गर्न प्रोत्साहित भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्याङ्क अनुसार गतवर्ष महिला हिंसाका का १ सय ८० वटा घटना दर्ता भएका छन् । यद्यपि अधिकांश महिला हिंसाका घटना प्रहरीसम्म पुग्दैन । जनचेतनाको अभाव, शिक्षाको कमी र लोकलाजका कारण महिलाहरु हिंसा सहेर बस्छन् । न्यायका लागि आवाज उठाउनुको सटटा लुकाउंछन् । घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ ले शारीरिक हिंसा, मानसिक ंिहसा, आर्थिक हिंसा र यौनजन्य हिंसालाई दण्डनीय मानेको छ । तर, कार्यान्वयन पक्ष फितलो देखिएको छ ।
प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेबा निर्देशनालयले महिला हिंसाको घटनाका कारणहरु बारे सत्यतथ्य बुझ्न र यस्ता घटनामा कमी ल्याउने उद्देश्यका साथ जनकपुरमा जनचेतना ¥याली गरेको छ । प्रहरीको चेतनामूलक कार्यक्रम भएको चार दिन नबित्दै धनुषा जिल्लाको जटहीकी एक १४ बर्षिया बालिका झारफुकको नाउमा झाक्रीबाट बलात्कृत भइन् ।
अर्को तर्फ धनुषाकै दिगम्पुरमा छोरीले साहुलाई अस्मिता चढाइ ऋण तिनुै प¥यो । बुवाले ऋण चुक्ता गर्न नसक्दा उनले इज्जतले त्यसको भर्पाइ गर्नु परयो । भनिन्छ कामपिपासु साहुले ऋणीकी १८ बर्षिया छोरीलाई आफु संग बस्न पटक पटक दवाब दिदै आएका थिए । यस्ता सामन्तीहरुमाथि जबसम्म कारवाही हुन्न तबसम्म महिलाहरु पीडित भइरहन्छन् ।
नेपालमा महिला हिंसा विरोधी आवाज धेरै सुनिन्छन् तर पनि महिलाहरु सुरक्षित हुन सकेका छैनन् । हुन त कतिपय सरकारी तथा गैरसरकारी संस्थाहरुको महिला हिंसा विरोधी आवाज पांचतारे होटलमा नै सिमित हुन्छ । के महोत्तरी इस्लामपुरकी कुरेसा खातुन आफ्नैै घरमा बस्ने वातावरण बन्ला ? के धनुषा दिगम्बरपुरकी पम्फुलदेबीका सन्तानले आमा गुमाएको क्षतिपुर्ति पाउलान् ? यस्ता प्रश्नको जवाफ खोज्ने प्रयास भएमात्र वास्तवमा महिला अधिकारको वकालत मानिनेछ ।
महिला हिंसा अन्त्यका लागि बार्षिक करोडौ रुपैयाँ खर्चिने संघ संस्थाहरुले शहर केन्द्रित कार्यक्रममा  मात्र सिमित न रहि ग्रामिण क्षेत्रमा पनि केन्द्रित हुनु जरुरी छ । पिडकलाई कारबाहि र पिडितलाई समाजमा पुनस्र्थापना गराउने तर्फ सबैपक्षले गम्भीरता पुर्बक सोच्नु पर्दछ ।


मिति ः २०६८ अषाढ १२ गते

विदेशमा महत्व बढे पनि स्वदेशमा मिथिला चित्रकलाको उपेक्षा


अजय अनुरागी
जनकपुरधाम.........................................................
मिथिला चित्रकला धेरै प्राचीन भएपनि मिथिलाञ्चलको गाउँ घरमा अब यसको प्रचलन घटदै जानु चिन्ताको विषय वन्दै गएको छ ।
बिबाह, व्रतवन्ध (उपनायन) मा भितेचित्र, लिखिया लेख्नु अनिवार्य नै हुन्थ्यो । त्यस्तै सम्पुर्ण माँगलिक साँस्कृतिक उत्सव समारोह, पूजा अर्चनामा समेत अरिपनको परम्परा लोप नभएपनि लोपोन्मुख अवस्थामा पुग्नु भने चिन्ताकै विषय बनेको देखिन्छ ।
मिथिला चित्रकलाको परम्परा तथा प्रचलनको स्वरुप अब आधुनिकतामा प्रवेश गरिसकेको छ । आधुनिक चित्रकला अर्थात अमूर्तकलाका साथै मिथिला पेन्टिङ्गको प्रर्दशनी स्वदेशमा मात्रै नभई विदेश सम्म लाग्ने गरेकाले आज व्यापारिक स्वरुप त ग्रहण गरेकै छ, यसको वजारिकरणको पहुँच भने वैश्वीकरणको रुप पनि धारण गर्न सफल भएको छ । मिथिला कलाको मूल्य पनि अब डलरमा हुन थालेको छ ।
यति हुँदा हुँदै पनि गाउँ घरमा यसको परम्परा भने उठान  हुँदै गएको छ भने अर्को तर्फ मिथिला चित्रकलाको    महत्व अब गाउँ घरका निरक्षर महिला सम्म मात्र नभई शहरको होटल तथा ठूला ठूला कारखाना, ठूल ठूलो भवनको चम्किलो भित्ताको शोभा बन्न पुगेको छ ।
वैश्वीकरणको प्रभाव मिथिला कलाक्षेत्रमा प्रष्ट देखिन थालिएको छ । कलामा हुनर, तालमेल तथा बिचारको सबैभन्दा बढी महत्व हुने गर्दछ । सवै दिन नया नवीन सोच्नु, सृजना गर्नु, फरक हेराइ तथा दृष्टिकोण हुनु कलाकारको लागि प्रमुख गुण हो ।                     अहिले कला उपर व्यवसायवाद लादिएको छ । व्यावसायिक प्रतिष्ठान, सार्वजनिक तथा पर्यटकिय संस्था, समाजको उच्च दर्जाका व्यापारीहरुले यसलाई व्यवसायिकरण गर्ने तर्फ भरपुर प्रयास गर्दै आएका छन् ।
मिथिला चित्रकला लोकजीवनसंग गाँसिएको छ । दुर्लभ कला तथा संस्कृतिलाई कल्पना शक्तिका साथ लोकचित्रकला निर्माण गरि बजार तर्फ बढावा दिन खोजिएको छ । युवा कलाकारहरुको सृजना तथा चेतना बाजारवादी तर्फ उन्मुख हुँदा बैचारिक प्रतिक्रिया केही हदसम्म कमजोर भएको छ । बजारमा माँग बढन थालेपछि नव युवाहरुको प्रवेश फस्टाए पनि मिथिला पेन्टिङ्ग भने, मेड फर अर्डरमा मात्र सिमित भएको छ ।
त्रिभुवन विश्वविद्यालयका मैथिली केन्द्रीय विभागका सह प्राध्यापक परमेश्वर कापडीको विचारमा मिथिला कलाको संग्रहालय बनाई संरक्षण गर्नु अहिलेको प्रमुख आवश्यकता हो । व्यवस्थित रुपले संरक्षण तथा सम्र्वद्धन गर्दै मिथिला चित्रकलालाई बजारवाद तर्फ लग्न सकिए आगामी दिनमा मिथिला समाजले आर्थिक लाभ भने अवश्य नै पाउनेमा कापडी विश्वस्त छन् ।
बजारवाद
मिथिलाबासीले विशेष साधन तथा प्रशिक्षणको अभावमै भए पनि जुन अदभूत चित्रकलालाई सुरक्षित राख्न सफल भएको छ त्यहि मिथिला लोक चित्रकला मिथिला पेन्टिङ्गको नाउँले                        अन्तराष्ट्रिय ख्याति प्राप्त गरी एउटा व्यवसायिक रुप धारण  गरिसकेको छ । स्वदेशी बजारमा मिथिला पेन्टिङ्गको माँग नभए पनि अन्तराष्ट्रिय बजारमा भने यसको माँग अत्यधिक नै छ । मिथिला चित्रकला घर आँगन बाट निस्केर अहिले कागज, कपडा, कार्यालय सनमाइकाको शोभा बढाउन थालेको छ ।                        ती सामग्रीहरुमा अरिपण, देवीदेवता, चराचुरुङी, पशुपक्षीहरुको चित्रमा समेत रंग भर्नुका साथै तान्त्रिक, गोदना बनाई व्यवसायिक रुप दिन थालिएको छ ।
मिथिलाको अनुपम चित्रकलालाई विश्वव्यापारमा परिचित गराउनुको मुख्य श्रेय जनकपुर लगायत सप्तरी, महोत्तरी, सिरहा, काठमाण्डौं, तथा भारत बिहारको मिथिलावासीका साथै विभिन्न व्यवसायीहरुको तथा केही अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई जान्छ । मिथिला चित्रकलाले बजार पाउँदा निरक्षर महिलाहरुलाई केही आशा तथा आय समस्याको निदान भएपनि पूर्णतः सन्तुष्ट गर्न सकेको छैन् । मिथिलाको पौराणिक, ऐतिहासिक तथा साँस्कृतिक धरोहरलाई माथि उकास्नको लागि राज्य पक्षले खासै ध्यान नदिदा उचित स्थान पाउन सकेको छैन् ।
मैथिली चित्रकलाकर्मीहरुले आफ्नो कलालाई रोजगारीको लागि उपयोग गर्न पाउँदा पारिवारिक आर्थिक उन्नतिमा खासै वृद्धि नभए पनि वेरोजगारीको समस्या तत्कालका लागि टरेको छ । सँस्कृतिविद प्रा.डा.राजेन्द्र विमल भन्नुहुन्छ, “व्यवसायिक रुपमै प्रवद्र्धनका निम्ति प्रशिक्षण तथा प्रवद्र्धन शिविरको आयोजना गर्नुका साथै इन्टरनेटको मद्दतले वेवसाइटमा हालेर विश्वव्यापिकरण गर्नु पर्दछ ” ।
तर मिथिला चित्रकला वस्तु तथा उत्पादन नभई धार्मिक, माँगलिक उत्सव तथा अवसरमा चढाइने प्रसादको संज्ञा दिदैं विमल भन्नुहुन्छ,“ यो विकाउ होइन, मनमस्तिष्कमा निष्ठापूर्वक राखिने वस्तु हो” । हाम्रो समुदायमा विद्या नभए त्यत्ति हानी हुर्दैन जति हानि कला र आत्मकता नभए हुन्छ ।
संस्कृतिविद रमेश रंजन झाको बुझाईमा आधुनिक कलाको चित्रकलामा नवक्रान्ति उत्पन्न भएको छ । विषयवस्तुको यथार्तवादी चित्रणका साथै भावहरुको अनुकुल वातावरण पनि निहित छन् । विषयका अतिरिक्त रंगहरुमा पनि नवपरिवर्तन गरिएको छ । पाश्चात्य शैलीको आधारमा एउटा नया किसिमको टेक्निक आरम्भ भएको छ भने ओरिएण्टल आर्टशैलीमा केही परिवर्तन गरी यर्थातवादी प्रयोगको समावेश हुँदै आएको छ । पाश्चात्य प्रभावित विचारधाराको प्रभाव यहाँको चित्रकलामा नवीन प्रयोगको रुपमा पर्याप्त पाइने गरिएको झा भन्छन् ।
चित्रकलाको व्यवसाय धरापमा
विदेशी पर्यटकहरु को आर्कषण गर्न मिथिला आर्ट बाट  निर्माण भएका हस्तकलाका सामानहरु  बिक्री बितरण बन्द भएपछि नारी  बिकास केन्द्र जनकपुर को अवस्था दिनप्रति दिन खँस्कदैगएको छ ।
तराईमा बढ्दै गएको हत्या ,हिंसाका कारण जनकपुरमा पर्यटक आउन छाडेपछि केन्द्रमा काम गर्ने महिलाहरु बिचल्लीमा परेको केन्द्रका अध्यक्ष प्रेम मिश्रले बताइन । जापान, अमेरिका, थाइलैन्ड लगायतका मुलुकबाट आएका पर्यटकहरु यहाँका प्रमुख ग्राहक रहेको अध्यक्ष मिश्रले बताइन् । उहाँका अनुसार मिथिला संस्कृतिलाई मmल्काउन साड़ी,तन्ना, रुमाल,पर्स,टोपी लगायत बिभिन्न खालका माटोका कप,कचौरा,सुराही,मिथिला पेन्टिङ्ग आदि लगायतका सामानहरु थोक तथा खुद्रा रुपमा बिक्री हुने गरेको छ ।
स्थापना कालमा यस केन्द्रमा दुई बर्ष पहिला ९६ जना महिलाले काम गरिरहेका थिए । तर अहिले समानहरु बिक्री नभएका कारण  ४४ जना महिला मात्रै काम गरिरहेका छन ।
यहाँ काम गर्ने महिलाले महिनौदेखि तलब पाउन सकेका छैनन् । २०५१ सालदेखि निरन्तर काम गरिरहेकी मिथिलेश्वरी कर्ण भनिन – मिथिला पेन्टीङ्ग बाहेक आफ्mुसँग अरु सीप नभएकोले अन्यत्र जान सकेकी छैन । बिगत दुई बर्ष देखि प्रत्येक ६ महिना पछि एक महिना बराबरको तलब पाउने गरेकी उनले दुखेसो पोखिन ।
संस्थाको आम्दनी नै बन्द भएको हुनाले कामदारहरुलाई परिश्रमिक दिन समस्या भएको केन्द्रका अध्यक्ष प्रेम मिश्रले बताइन । जनकपुर स्थित कुवा १६ मा पर्ने यस केन्द्रमा काम गर्ने महिलाहरु २० देखि ३० किलोमिटर सम्म दिनहु साईकल चलाएर आउने गर्छिन । हामीलाई तलब समयमा नदिएपछि आफ्mैपनि दुख लागछ, तर के गर्ने अध्यक्ष मिश्रले बताइन् । केन्द्रमा काम गर्ने मधुमाला मंडलका अनुसार यहाँ कार्यरत कतिपय महिलालाई दुई छाक टार्न धौ धौ परेको छ । बर्षाै देखि काम गरी संस्थाको गरिमा कायम राखेकी छु । अहिले काम गर्न छोडिदियौ भने हाम्रो संस्था हराउँछ । त्यही भएर हामी जुन सुकै अबस्थामा पनि संस्थामा काम गर्छाै । उहाँ भनिन्– “हामी र हाम्रो संस्थालाई हेरी दिने कोही भएन”। सबै अधिकारको लागि लड्छन,हाम्रो अधिकार कसले दिने ? उहाँले प्रश्न गर्नुभयो । नारी बिकास केन्द्रको अवस्थाप्रति चिन्ता ब्यक्त गर्दै जनकपुर नागरीक समाजका अध्यक्ष मुरली मनोहर मिश्रले भने –   केन्द्रले विपिन्न महिलालाई रोजगारी मात्रै दिएको छैन, मिथिला  संस्कृतिलाई संरक्षण तथा सम्बर्धन गर्ने गरेको छ । यसलाई जिबित राख्नु हामी मिथिलाबासीको कर्तव्य हो । यस बिषयमा समाजका  हरेक पक्ष गम्मभीर  हुनु पर्दछ । प्रचार प्रसारको अभाबमा समेत केन्द्रको अवस्था दयनीय हुदै गएको धारणा ब्यक्त गदै अध्यक्ष मिश्रले केन्द्रमा निमार्ण भएको हस्तकलाका सामग्रीहरुको लागि बजारको ब्यबस्था गर्न सम्बन्धित निकायले अबिलम्ब पहल गर्नु पर्ने आबश्यकता रहेको बताउनु भयो ।
कच्चापदार्थको अभाव, सिमित बजार, अन्तराष्ट्रिय बजारमा निर्यात गर्न प्रत्यक्ष कारोबार नहुनु, नेपाल सरकारले कुनै किसिमको आर्थिक सहयोग प्रदान नगर्नु, प्रचारप्रसारमा कमि जस्ता प्रमुख कारणहरुका साथ साथै मधेशमा जारी सशस्त्र द्धन्द्धको प्रभावले २०४८ सालमा स्थापित जनकपुर नारी विकास केन्द्रको कार्यालय कुनै पनि बेला बन्द हुने अवस्थामा आइपुगेको छ । मिथिलाको संस्कृति तथा धरोहरलाई संरक्षण गर्ने ध्येयले दक्ष व्यवस्थापक समेत नभएको उक्त केन्द्र अहिले भगवानै भरोसे चल्दै आएको छ । कुशल व्यवस्थापकको अभावमा मानसिक रुपले अक्षम ती ४२ जना महिलाहरु प्रायः निरक्षर भए पनि घटदै गएको आत्मविश्वास तथा आत्मवल जगाउन राष्ट्रपति डा.रामवरण यादवले पनि केही गर्छु भनेर दिएको आश्वासन पनि पुरा नगर्नुले भरोसा समाप्त हुँदै गएको छ । केन्द्रले उत्पादन गरेको चित्रकला यु.एस., बेल्जियम, इटली, जापान, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, औष्ट्रिया, स्विटरजरलैण्ड जस्ता अन्तराष्ट्रिय बजारमा निर्यात गरिए पनि विक्री परिणाममा वर्षेणि कमि आएको छ । जनकपुरबाट उत्पादित ती चित्रकलाहरु काठमाण्डौं स्थित कुपनटोलको साना हस्तकला गुठीमा पठाइन्छ र त्यहाँबाट बढी मुनाफा आर्जन गरि तिनीहरुले विदेश निर्यात गर्दछन् । जनकपुरबाट उत्पादित ती चित्रकलाहरु काठमाण्डौं स्थित कुपनटोलको साना हस्तकला गुठीमा पठाइन्छ र त्यहाँबाट बढी मुनाफा आर्जन गरि तिनीहरुले विदेश निर्यात गर्दछन् ।ती चित्रकलालाई अन्तराष्ट्रिय बजारमा पहिचान दिलाउनकै लागि जनकपुर नारी विकास केन्द्रकी इन्दु कर्णले २०५१ म वेइजिङ्गमा स्की्रन पेन्टिङ्गको, २०६० मा सिता कर्ण र सुधिरा कर्णले वेल्जियममा वाल पेन्टिङ्ग तथा सोही वर्ष स्पेनमा मंजुला ठाकुरले प्रदर्शनी समेत गरिसकेकी छन् । तैपनि उत्पादन व्यवस्थापक, बजार व्यवस्थापक तथा अन्य सुविधायुक्त आधुनिक प्रशिक्षण नपाउनुले बजारलाई व्यवस्थित गर्न सकिएको छैन ।
आपूmहरुले पैसाको लागि नभई संस्कृति बचाउनकै लागि चित्रकला बनाएकोले राज्यपक्षले पनि नेवार आर्टलाई संरक्षण तथा सम्वद्र्धन गर्नका लागि किर्तीपुरमा संग्रहालय वनाइदिए जस्तै आफुहरुको लागि त्यसका उपयुक्त पूर्वाधार तथा ठाउँ भएकोले संग्रहालय बनाइदिए आपूmहरुको जीवन सफल हुने केन्द्रकी अध्यक्ष विधवा प्रेम मिश्रले बताइन् ।

मिति ः २०६८ अषाढ १२ गते

कुष्ठरोगी अहिले पनि समाजबाट तिरस्कृत


जितेन्द्र झा
नेपाल सरकारले देशबाट कुष्ठरोग निवारण भएको घोषणा गरिसकेको छ । अहिले नेपालमा २ हजार बढी कुष्ठरोगी उपचाररत छन् । उपचार गरे निको हुने र नसर्ने रोग हो यो । तर गरिबी र अशिक्षाका कारण चेतना विस्तार हुन सकेको छैन ।
उमेश माझी । ललितपुरको आनन्दवन अस्पतालमा उपचाररत छन् । कुष्ठरोगको पीडा उमेशलाई अरु भन्दा बढी थाहा हुनु पर्छ किनभने यिनी बुबासंगै भर्ना छन्, दुबैजना कुष्ठरोगी हुन् । नेपालमा नयां पत्ता लागेका कुष्ठरोगीमध्ये ६ प्रतिशत बच्चा नै छन् । कुष्ठरोगको उच्च जोखिममा रहेको तराईका जिल्लामा पर्ने रौतहट घर भएका उमेश भन्छन् थाहै नपाई हात तन्किन थाल्यो । 
“यहाँ अप्रेसन गराउन आएको हुं । मेरो दुबै हात बांगिएको छ । यहां आएको एक वर्ष भयो । हात नै तन्किन थाले पछि यस्तो भएको हो । यसलाई निको पार्न व्यायाम गरिरहेको छु । कहिले निको हुन्छ थाहा छैन ।”  उमेश माझी
कुष्ठरोग निवारण भएको मुलुकको सूचिमा पर्छ नेपाल पनि । विश्व स्वास्थ्य संगठनले सन् २००० सम्ममा विश्वबाटै कुष्ठरोग उन्मूलन गर्ने घोषणा गरे पनि नेपालमा गरिएको थिएन । सरकारले अन्तर्राष्ट्रिय समुदायसामु तीनतीन पटकसम्म नेपाललाई कुष्ठरोग मुक्त मुलुक घोषणा गर्ने समयसीमा माग गरेपछि मात्र नेपालमा घोषणा भयो । सरकारले निवारण घोषणा गरे पनि र नयां संक्रमितको संख्या घटेको सरकारी तथ्यांक भए पनि नयां रोगी पत्ता लाग्ने क्रम जारी छ । ग्रामीण भेगमा त रोगीको पहिचान गर्नु नै ठूलो चुनौती बनेको छ । निवारण पश्चात पनि तराईका २० जिल्लामा कुुष्ठरोगीको संख्या धेरै छ । कुल नेपाली कुष्ठ रोगीमध्ये तराईका २० जिल्लामा ८० प्रतिशत भन्दा विरामी छन् । रोग लुकाउने कारणले महिलाहरुमा अझै बढी देखिएको छ कुष्ठरोग । नयां विरामीमध्ये ३३ प्रतिशत महिला नै छन् ।
नयां पत्ता लागेका विरामी मध्ये कुष्ठरोगको कारणबाट ३ प्रतिशत विरामी अशक्त भएका छन् । उनीहरुको पुनस्र्थापना तथा जीवीकोपार्जनको समस्या यथावत छ । रोग निको भइसकेपछि पनि समाजले घृणाको नजरले हेर्ने हुनाले रोगीहरु रोगभन्दा समाजको हेराइबाट पीडित छन् । कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले नेपालमा सरकारले कुष्ठरोग निवारण घोषणा गरिसकेको तर उन्मुलन हुन निकै समय लाग्ने बताउंछन् ।
सरकारको दाबी विपरीत कुष्ठरोग विशेषज्ञ भन्छन् देशबाट यो रोग निवारण भएको भन्न मिल्दैन । कुष्ठरोग विशेषज्ञ प्रा.डा. अनिल झाका अनुसार नयां रोगीको संख्या बढदो छ, त्यसैले निवारण भन्न सकिन्न ।  सरकारले कुष्ठरोग निवारणको प्रचार गर्नुभन्दा पनि प्रभावित संख्या घटाउने अभियान थाल्न सक्नुपर्छ । कुष्ठरोग आखाले देख्न नसकिने सुक्ष्म किटाणुबाट लाग्ने ज्यादै कम मात्रामा सर्ने रोग हो । औषधिको नियमित सेवन गर्नाले यो रोग निको हुने चिकित्सक बताउंछन् ।
नेपालका ७५ ओटै जिल्लामा सरकारले कुष्ठरोग निवारण कार्यक्रम सन्चालन गरेको जनाएको छ । कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०६७–६८ को कात्तिक महिनाको अन्त्यसम्ममा २३ सय बिरामी उपचार गराइरहेका छन् ।
नेपाल कुष्ठरोग निवारणको प्रयासमा रहेको भए पनि तराईका जिल्ला कुष्ठरोगको उच्च जोखिममा छ । नेपालको ६२ जिल्लामा यो रोगको प्रभाव रहेकोमा अहिले शुन्य दशमलव ८६ प्रतिशत मात्र कुष्ठरोगीको संख्या देखिनुले निवारणको प्रयास सफल हुदै गएको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ । आगामी ५ वर्षमा प्रति १ लाख जनसंख्यामा कुष्ठरोगको कारणले हुने अपांगता ३५ प्रतिशतले कम गर्ने राष्ट्रिय लक्ष्य राखिएको छ ।
निवारणको घोषणा पछि विदेशी सहायता पनि कम हुंदै गएको छ । कुष्ठरोगीको पहिचान, निःशुल्क औषधिउपचार जस्ता काम विदेशी संस्था तथा क्रिश्चियन मिसनहरुबाट हुंदै आएको छ । कुष्ठरोगीकै लागि भनेर खोलीएका अस्पताल विदेशीले नै सहयोग स्वरुप संचालन हुंदै आएको छ । सरकारले समयमै ध्यान नदिने हो भने कुष्ठरोगले झन विकराल रुप लिन सक्छ । डा. झाले सरकारले कुष्ठ रोगलाई प्राथमिकता नदिए भविष्यमा यो झन बढ्न सक्छ । कुष्ठरोग माइक्रो ब्याकटेरियम लेप्रे नामक सूक्ष्म किटानुबाट लाग्दछ । तर अन्धविश्वासमा जकडिएको समाजले यसलाई बंशानुगत वा पापको फल भनेर बुझ्छ । कुष्ठरोगको उपचार पूरा गरेका व्यक्तिमा अपांगता, अशक्तता वा कुरुपता भएपनि उनीहरु विरामी होइनन् । उनीहरुबाट रोग सर्ने कुरै भएन । निको भइ सकेपनि घृणा गर्ने मानसिकता भने कायमै छ समाजमा । ललितपुरको आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार गराइरहेका बालाजु निवासी एकनाथ भन्छन्–पहिला जस्तो समाजमा घृणाको भाव हटेको छ । नियमित औषधि सेवन गरे यो रोग निको हुन्छ एकनाथ भन्छन् ।
रोगबारे समाजमा चेतना विस्तार र समाजमा रोगीको सम्मानित जीवनका लागि सबैले पहल गर्नुपर्छ । कुष्ठरोगको बारेमा यथार्थ भन्दा भ्रम नै बढी छ समाजमा । त्यसैले रोगप्रभावितहरु रोग भन्दा सामाजिक विभेदबाट पीडित छन् । नियमित औषधि सेवनले कुष्ठ रोग निको हुन्छ । तर यसलाई पूर्वजन्मको पापको फल ठान्ने कुरीतिका कारण रोगीले समाजमा तिरस्कृत हुनु परेको छ । रोगी स्वयं पनि उपचार गराउन अघि बढेको पाइन्न ।

मिति ः २०६८ अषाढ १२ गते